June 14, 2009
Created by nepalarchives

निर्णय नं. ८०९३ – खून डाँका ।

निर्णय नं.८०९३    २०६६ असार अङ्क ३   सर्वोच्च अदालत, संयुक्त इजलास का.मु. सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अवधेशकुमार यादव फौ.पु.नं....

निर्णय नं.८०९३    २०६६ असार अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

का.मु. सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा

माननीय न्यायाधीश श्री अवधेशकुमार यादव

फौ.पु.नं. ०६५CR०२८३

फैसला मितिः २०६६।२।३१।१

 

मुद्दा : खून डाँका 

 

पुनरावेदक/वादीः  नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः जिल्ला मोरङ धनीगाउँ गा.वि.स. वडा नं. १ बस्ने रामरुप सरदार समेत

 

शुरु फैसला गर्नेः

जि.न्या.श्री ठाकुरप्रसाद शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री ओमप्रकाश मिश्र

मा.न्या. श्री सुरेन्द्र वीरसिंह बस्न्यात

 

§  घटना भएको तथ्य पुष्टि हुँदैमा अभियुक्तको कसूर प्रमाणित नहुने 

§  घटना घटेको कुरामा विवाद नहुँदा नहुँदै पनि सो घटना घटेको तत्कालपछि दिइएको जाहेरी दरखास्त र मौकामा कागज गर्ने व्यक्तिको भनाईमा अपराध गर्ने व्यक्ति स्पष्ट नभएको अवस्थामा घटना घटेको लामो अबधि व्यतीत भैसकेपछि परेको जाहेरी र मौकामा कागज गर्ने व्यक्तिको बकपत्रमा व्यक्ति किटान गरिएको भन्ने मात्र आधारमा कसैलाई कसूरदार ठहर्‍याउन नमिल्ने 

§  मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र अनिश्चयात्मक कथन कसूरदार ठहर्‍याउने आधार बन्न नसक्ने 

§  फौजदारी मुद्दामा शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न नमिल्ने 

 (प्रकरण नं.५)

 

पुनरावेदक वादी तर्फबाटः

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  प्रमाण ऐन, २०३१ को दफा १०, २५

§  सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६७(३)

 

फैसला

    का.मु.प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

    जिल्ला मोरङ, केराबारी९ बस्ने टेकबहादुर गुरुङको घरको तलामाथि वरण्डामा रगतको पोखरी भएको, उत्तरतर्फको कोठामा कागजपत्र तथा लत्ता कपडा जत्रतत्र छरपष्ट भएको, घटनास्थलका रुपमा रहेको सो कोठामा गोली थान१ र गोलीको खोका थान१ समेत फेला परेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का 

    तराईवासी जस्ता देखिने, मुखमा पटृी बाँधेका अन्दाजी १५/१६ जना नाम, थर वतन समेत खुल्न नआएका सशस्त्र डाँकाहरू आई मिति २०५९।७।१७ गते राति अन्दाजी १२ बजे तिर टेकबहादुर गुरुङलाई गोली प्रहार गरी घाइते बनाएकोले उपचारको लागि धरान घोपातर्फ लाँदा लाँदै मृत्यु भएको र देउमान गुरुङ, लक्ष्मी गुरुङ समेत घाइते भएको र धनमाल के कति लगे यकीन भएन, सो वारेमा पछि छुट्ट्रै उजूर दिनेछु, मृतक लास कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको दीर्घमान गुरुङको जाहेरी   दरखास्त 

    धरान घोपा क्याम्पको शवगृहमा रहेका मृतक टेकबहादुर गुरुङको निधारको बीच भागमा धारिलो हतियार प्रयोग गरेको जस्तो देखिएको, पछाडि पातामा गोली लागेको देखिएको र शरीरको सबै भागमा रगत लागेको भन्ने समेत व्यहोराको घटनास्थल लास प्रकृति मुचुल्का 

    गोली तथा काटेका घाउ चोटबाट रक्तश्राव भएको कारण मृत्यु भएको भन्ने समेत व्यहोराको पोष्टमार्टम रिपोर्ट 

    मिति २०५९।७।१७ गते राति अन्दाजी १२ बजेको समयमा टेकबहादुर गुरुङलाई मारी खून डाँका अपराध गरेको मुद्दामा हालसम्म बुझ्दै जाँदा मोरङ बाहुनी ३ बस्ने वीसेसमेतको व्यक्तिहरूले वारदात घटाई घरपरिवारमा भएका नगद रु. १२,००,०००।बराबरको नगद तथा सुन २४ तोला लगेको हुँदा निज वीसे खवासलाई पक्राउ गरी अन्य अभियुक्तहरू कोको छन् निजबाटै खुलाई कानूनबमोजिम गरी विगो बराबरको धनमाल दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको अमृतकुमार गुरुङको जाहेरी 

    मिति २०५९।७।१७ गते राति बाहुनी३ बस्ने वीसे खवास समेतका सशस्त्र डाँकाहरूले टेकबहादुर गुरुङलाई हत्या गरी नगद तथा सुन समेत लगेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको देउमान गुरुङ र लक्ष्मीमाया गुरुङको कागज 

    प्रतिवादी वीसे खवासको घर खानतलासी गर्दा अपराधसँग प्रमाण लाग्ने नगद तथा सुन फेला नपरेको भन्ने समेत व्यहोराको खानतलासी मुचुल्का 

    मिति २०५९।७।१७ राति अन्दाजी १२ बजेको समयमा बेलबारी बजारदेखि केहीमाथि अमृत गुरुङको घरका धनीगाउँ१ बस्ने रामरुप सरदार, कसेनी बस्ने कुमार भन्ने भरत चौधरी, वीसे खवास, रामप्रसाद ऋषिदेव, रमेश ऋषिदेव, रामदेव ऋषिदेव, नुनुलाल ऋषिदेव, भारत पटना बस्ने दिलीप मोची, धने मोची, मने मोची समेतका हामी ११ जना भई उक्त घरमा भएको सम्पूर्ण नगद तथा सुन समेत डाँका गरी लिएका हौं, सो वारदातमा म बाहिर बसेँ, मैले लाठी लिएको थिएँ, घरभित्र  कटुवा बन्दुक बोक्न कुमार भन्ने भरत चौधरी समेत ३ जना बसेका थिए, के कस्तो गोली प्रहारबाट टेकबहादुर गुरुङको मृत्यु भएको हो खुलाउन सक्दिन, सो डाँका वारदातबाट मैले नगद रु.८,०००।पाएको हुँ भन्ने समेत व्यहोराको अभियुक्त वीसे खवासले गरेको साविती  बयान 

    मिति २०५९।७।१७ गते रातको अन्दाजी १२ बजेको समयमा जाहेरवाला अमृत गुरुङको घरमा बाहुनी३ बस्ने वीसे खवास, म र अन्य मैले नाम, थर, वतन समेत थाहा नभएको ९ जना समेत हामी ११ जना भई डाँका गरेको हो, घरभित्र बन्दुक पड्केको आवाजसम्म सुनेको हो र को कसले सो वारदातमा गोली प्रहार गरी टेकबहादुर गुरुङको मृत्यु भएको हो मलाई थाहा भएन, डाँका गरी लगेको नगदबाट मेरो भागमा नगद रु ८,०००।मात्र परेको थियो भन्ने समेत व्यहोराको अभियुक्त रामरुप सरदारको साविती बयान कागज 

    अभियुक्त रामरुप सरदारको घर खानलासी गर्दा दशीको समान फेला नपरेको भन्ने समेत व्यहोराको खानतलासी मुचुल्का 

    मिति २०५९।७।१७ गते राति अन्दाजी १२ बजेको समयमा बाहुनी३ बस्ने वीसे खवास समेतका अन्य डाँकाहरू भई मेरो घरमा डाँका गरी छोरा टेकबहादुर गुरुङलाई गोली हानी मेरो कोठामा भएको नगद रु. १६,०००।तथा करीव १२ तोलाका सुनका गरगहना समेत लगे, निजहरूबाट उक्त नगद र सुन समेत दिलाई भराई हदैसम्मको कानूनी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको देवीमाया गुरुङको कागज 

    हाल पक्राउ परी आएका बाहुनी३ बस्ने वीसे खवास र धनीगाउँ१ बस्ने रामरुप सरदार समेतले मेरो कोठामा रहेको नगद रु. ७,०००।र डेढ तोलाको सुनको सिक्रीका साथै घरमा भएका अन्य सम्पूर्ण नगद तथा सुन समेतका जाहेरीमा उल्लेख भएका धनमाल डाँका गरी जेठाजु टेकबहादुर गुरुङलाई मारी खून डाँका गरी लाने व्यक्तिहरू यी देखाइएका नै हुन्, देखेँ चिनेँ भन्ने समेत व्यहोराको विष्णुमाया गुरुङले लेखाई दिएको सनाखत कागज 

    जाहेरवाला अमृतकुमार गुरुङको दाजु टेकबहादुर गुरुङलाई मिति २०५९।७।१७ गते राति अन्दाजी १२ बजेको समयमा बाहुनी३ बस्ने वीसे खवास, धनीगाउँ१ बस्ने रामरुप सरदार समेतका डाँकाहरूले कटुवा बन्दुक प्रहार गरी मारी जाहेरवालाको नगद रु १२,००,०००।–, सुन २४ तोला लगेका हुन् । उक्त वारदातमा वीसे खवास र रामरुप सरदार संलग्न हुन्, अन्य को को छन् निजहरू नै जानून्, निजहरूबाट उल्लिखित नगद र सुन जाहेरवालालाई दिलाई भराई कानूनी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको चन्द्रवीर गुरुङ समेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का 

    मिति २०५९।७।१७ गते वारदात हुँदा धारिलो हतियार कसले बोकेका थिए यकीन थाहा भएन, भित्र पस्ने भरत चौधरी, दिलीप मोची समेतले धारिलो हतियार बोकेका होलान्, उल्लिखित वारदातमा वीसे खवाससमेतका व्यक्तिहरू आएपछि निजले बोलाएको ठाउँमा म समेत भई डाँका गरेको हो, योभन्दा अगाडि झरीलाल राय अमातको जाहेरीले खून डाँका मुद्दामा १४ वर्ष ६ महिना ६ दिनको कैद सजाय पाएको छु भन्ने समेत व्यहोरा उल्लेख गरी मिति २०६०।५।१२ मा रामरुप  सरदारले गरेको ततिम्बा बयान 

    मिसिल संलग्न आधार प्रमाण समेतबाट यी प्रतिवादीसमेतको प्रत्यक्ष संलग्नतामा उक्त मिति र समयमा जाहेरवालाको घरमा खून डाँकाको वारदात भएको भन्ने घटनाका प्रत्यक्षदर्शी वारदातमा पीडित भएका व्यक्तिहरू समेतले चित्रण गरी रहेको अवस्थामा यी पक्राउ परेका प्रतिवादीहरूले कडा सजाय हुनबाट बच्न डाँका वारदातमा संलग्न  भई लाठी लिएर बाहिर मात्र बसेको भनी बयानमा उल्लेख  गरेको भएतापनि डाँका गर्नका लागि योजनावद्ध रुपमा गएका यी प्रतिवादी समेत जाहेरवालाको घरभित्र पसी मृतक टेकबहादुर गुरुङसमेतलाई धारिलो हतियारसमेत प्रहार गरी घाइते बनाई साथै गोलीसमेत फायर गरी त्रासदीपूर्ण वातावरण बनाई जाहेरवालाले जाहेरीमा उल्लेख गरेको नगद रु. १२,३९,०००।र सुन तथा सुनका विभिन्न गरगहना समेत जम्मा २६ तोलाको रु. २,६०,०००।समेत गरी जम्मा विगो रु. १४,९९,०००।– (चौध लाख उनान्सय हजार) बराबरको  नगद धनमाल डाँका गरी लगेको र उक्त वारदातमा यी प्रतिवादीहरूले प्रहार गरेको चोट पीडाबाटै मृतक टेकबहादुर गुरुङको मृत्यु भएको तथ्यसमेत पुष्टि भई प्रतिवादी वीसे खवास, रामरुप सरदार,कुमार भन्ने भरत चौधरी , वीसे खवास, रामप्रसाद ऋषिदेव, रमेश ऋषिदेव, रामदेव ऋषिदेव, नुनुलाल ऋषिदेव, दिलीप मोची, धने मोची, मने मोचीले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(३) नं. र ऐ. ऐन चोरीको महलको १ र ६ नं. विपरीत कसूर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई ऐ. ऐन ज्यानसम्बन्धी महलको  १३(३) नं. बमोजिम तथा ऐ. ऐन चोरीको महलको १४(४) नं. बमोजिम प्रतिवादी मध्येका रामरुप सरदारको हकमा झरीलाल राय कामतको जाहेरीले वादी श्री ५ को सरकार भएको मुद्दामा यसै अदालतबाट मिति २०३९।३।२९ मा पहिला पटक कायम भै फैसला भएको र प्रस्तुत मुद्दामा दोस्रो पटक कायम गरी साथै अन्य विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूको हकमा पहिला पटक कायम गरी सजाय हुन तथा जाहेरवालाको घरबाट डाँका गरी लगेको नगद धनमाल जम्मा विगो रु. १४,९९,०००।ऐ. ऐनको चोरीको महलको १०(३) नं. बमोजिम सबै प्रतिवादीहरूबाट दामासाहीले जाहेरवाला अमृतकुमार गुरुङलाई दिलाई भराई पाउन, फरार रहेका प्रतिवादी कुमार भन्ने भरत चौधरी, वीसे खवास, रामप्रसाद ऋषिदेव, रमेश ऋषिदेव, रामदेव ऋषिदेव, नुनुलाल ऋषिदेवलाई कानूनबमोजिम म्याद जारी गरी कारवाही गरी पाउन र साथै भारत पटना बस्ने भनिएका दिलीप मोची, धने मोची र मने मोचीको हकमा निजहरू नेपाल सरहदभित्र फेला परी वा पक्राउ परी आएका बखत सम्मानीत अदालतसमक्ष पेश गरिने व्यहोरा समेत सादर अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको मिति २०६०।५।२१ को अभियोगपत्र 

    मिति २०५९।७।१७ को रात म आफ्नो घरमा नै छु डाँका गर्न गएको होइन, छैन । टेकबहादुर गुरुङलाई चिन्दिन, निजको मृत्यु के भएर भयो मलाई थाहा छैन, जाहेरवालाको घरमा डाँका  भएको कुरा मलाई थाहा छैन । जाहेरवालालाई पनि चिन्दिन मृतकलाई पनि चिन्दिन । जाहेरी व्यहोरा झुठा हो, म निर्दोष भएको हुँदा मउपरको झुठा दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका वीसे खवासले मिति २०६०।५।२२ मा अदालतमा गरेको बयान 

    मिति २०५९।७।१७ गते तेतरिया गा.वि.स. वडा नं. थाहा नभएको ठाउँमा नाम नजानेका व्यक्तिको घर ढलान कार्यमा दिनभरि काम गरी बेलुकी ८.३० बजेतिर म आफ्नो घरमा गएको थिएँ । उक्त दिन रात म समेत भएर जाहेरवालाको घरमा डाँका गरेको होइन । ढलानको काममा थाकेर आई आफ्नो घरमा सो रात कहिँ कतै नगई सुतेको हुँदा जाहेरवालाको घरमा कोको भई के कति धनमाल डाँका गरी कसले टेकबहादुर गुरुङलाई के कुन हतियार प्रहार गरी घाइते बनाई मारे मलाई थाहा छैन । अभियोग माग दावीअनुसारको कसूर अपराध नगरेको हुँदा दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीमध्येका रामरुप सरदारले मिति २०६०।५।२३ मा अदालतसमक्ष गरेको बयान 

    प्रतिवादीमध्येका नुनुलाल ऋषिदेव, रामदेव ऋषिदेवको तामेली म्याद मिति २०६०।१०।२२ मा, कसेनी ३ का वीसे खवासको म्यादी पूर्जी मिति २०६०।१०।२३ मा बेपत्ते तामेल भएको 

    प्रतिवादीमध्येका रामप्रसाद ऋषिदेव र रमेश ऋषिदेवको म्यादी पूर्जी मिति २०६०।७।३० तथा प्रतिवादी कुमार भन्ने भरत चौधरीको म्यादी पूर्जी मिति २०६०।७।१६ मा तामेल भएकोमा निजहरू म्यादमा अदालतमा हाजिर नभई शुरु म्यादै गुजारी बसेका 

    आदेशानुसार वादी पक्षका प्रहरीमा कागज गर्ने देवीमाया गुरुङले तथा प्रतिवादी रामरुप सरदारका साक्षी नवराज पोखरेलले गरेको बकपत्र मिसिल सामेल रहेको 

    यसमा प्रतिवादीमध्येका दिलीप मोची, धुने मोची र मने मोची विदेशी देखिएको रामदेव, नुनुलाल र वीसे खवासका नाउँको म्याद बेपत्ते तामेल भै आएको देखिँदा निजहरूका हकमा हाजिर भै वा पक्राउ भई आएका बखत वा अर्को वतन खुली आएका बखत कारवाही गर्ने गरी हाललाई जिल्ला अदालत नियमावली, २०५२ को नियम १९  (क)४ बमोजिम लगत कट्टा गरी तामेलीमा राखी दिने, प्रतिवादी मध्येकाकुमार भन्ने भरत चौधरी, रामप्रसाद ऋषिदेव र रमेश ऋषिदेवको नाममा जारी भएको म्याद घरद्वारको ढोकामा टाँस भै आएकोमा निजहरूले म्याद गुजारी बसेको देखिँदा निजहरू तीनै जनाका हकमा अ.बं. १९० नं. बमोजिम मुलतबी राखी दिएको छ, प्रतिवादी वीसे खवासको हकमा चोरीका १४(४) नं. अनुसार कैद वर्ष ६ र विगोको डेढी जरीवाना रु ३,००,०००।जरीवाना हुन्छ । ज्यानतर्फ ज्यानसम्बन्धी महलको १३(३) नं. ले सर्वश्वसहित जन्मकैद हुन्छ । प्रतिवादी रामरुप सरदारको हकमा चोरीका १४(४) नं. अनुसार दोस्रो पटक डाँका वारदातमा कैद वर्ष ९ र विगोको डेढी जरीवाना रु. ३,००,०००।हुन्छ । ज्यानतर्फ ज्यानसम्बन्धी महलको १३(३) नं. ले सर्वश्वसहित जन्मकैद हुन्छ भन्ने समेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति २०६१।१२।८ को फैसला 

    आफैँमा द्विविधायुक्त, शंकास्पद र संदिग्ध जाहेरीलाई किटानी भनी शुरु अदालतले कसूरदार ठहर गर्ने गरी लिइएको आधार प्रमाणको मान्य सिद्धान्तबमोजिम नभई त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू वीसे खवास र रामरुप सरदारका तर्फबाट संयुक्त दावी लिई दायर हुन आएको पुनरावेदनपत्र 

    बिनाआधार अभियोग माग दावीभन्दा कम विगो कायम गरी भएको शुरु फैसला सो हदसम्म बदर गरी अभियोग माग दावीबमोजिम विगो कायम गरी सोबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकार पक्षबाट पर्न आएको पुनरावेदन पत्र 

    वादी र प्रतिवादी दुवै पक्षबाट शुरुको फैसलाउपर पुनरावेदन परेको देखिँदा दुवै पक्षलाई परस्पर जानकारी दिनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६३।६।४ को आदेश 

    प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको रहनेछ भनी उल्लेख रहेको हुँदा वादी पक्षबाट प्रतिवादीहरूको कसूर प्रमाणित गर्न सकेको देखिएन । शंकाको आधारमा मात्र कसूर ठहर गर्न मिल्ने अवस्था नहुँदा शुरु मोरङ जिल्ला अदालतबाट मिति २०६१।१२।८ मा यी पुनरावेदक प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. तथा चोरीको १४(४) नं. बमोजिम सजाय गर्ने गरेको फैसला मिलेको नहुँदा उल्टी हुने ठहर्छ । यी प्रतिवादीहरू उपरको अभियोग पत्र माग दावी नपुग्ने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको विगोतर्फको पुनरावेदन जिकीर समेत पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६४।३।२० को फैसला  

    प्रतिवादीहरू अदालतमा उपस्थित भै बयान गर्दा इन्कारी रहेता पनि मौकाको जाहेरी र पछि दिएको दुवै जाहेरी दरखास्तमा रु. १४,९९,०००।को विगो खूनडाँका गरी लगेको भनी किटानी जाहेरी परेको र मौकामा बयान गर्दा दुवै प्रतिवादीले एक आपसमा पोलापोल गरी जाहेरवालाको घरमा डकैती गरी उल्लिखित विगो लगेकोमा साविती भै बयान गरेको देखिएको सो बयानलाई प्रस्तुत फैसलामा अन्यथा भन्न सकेको नदेखिएबाट प्रतिवादीहरूले टेकबहादुर गुरुङको हत्या गरी डाँकासमेत गरेको वारदात पुष्टि भै रहेको अवस्थामा आत्मनिष्ट आधारहरू लिई गरेको प्रस्तुत फैसला त्रुटिपूर्ण रहेको छ । जाहेरवालाकी आमा देवीमाया गुरुङले मौकामा र अदालतमा समेत उपस्थित भै बकपत्र गर्दा प्रतिवादीहरू समेतका डाँकाहरूले छोरा टेकबहादुरले विदेश बहराइनबाट ल्याएको तथा घरमा समेत भएको धनमाल डाँका गरी लगेका र डाँकामध्येका वीसे खवासलाई देखेँ चिनेँ भनी बकपत्रसमेत गरिदिएको देखिन्छ । प्रतिवादीहरू स्वयम्ले बकपत्र गर्दा दुवै प्रतिवादीहरू डाँका चोरी जस्ता मुद्दामा सजाय पाएको कुरामा विमती राखेका छैनन् । उक्त वारदातमा टेकबहादुर गुरुङ समेत घाइते भएको र उनीहरूले समेत मौकामा वीसे खवाससमेतका डाँकाहरूले जाहेरीमा उल्लिखित धनमाल डाँका गरी टेकबहादुर समेतलाई मारेको भनी लेखाई दिएको पाइन्छ भने वीसे खवासको अदालतसमक्षको इन्कारीभन्दा अन्य कुनै प्रमाण पेश गर्न समेत सकेको देखिँदैन । तसर्थ अभियोग माग दावी वस्तुनिष्ट आधारमा पुष्टि भइरहेको र प्रस्तुत फैसला गर्दा पुनरावेदन अदालतबाट लिएका आधारहरू त्रुटिपूर्ण हुँदा बदरभागी छ बदर गरी प्रतिवादीहरूलाई अभियोग माग दावीअनुसार सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन पत्र 

    नियमबमोजिम पेशीसूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा सो घटना सम्बन्धमा मिति २०५९।७।१८ मा परेको जाहेरी दरखास्तमा अपराध गर्ने व्यक्तिका रुपमा तराइवासी जस्तो देखिने अन्दाजी २५/२६ वर्ष उमेर भएका मुखमा पट्टी बाँधेका शारीरिक अवस्था सामान्य पातलो भएका १५/१६ जना डाँकाहरू भन्ने उल्लेख गरिएको देखिन्छ । जाहेरीमा मिति २०५९।७।१७ गते नै वहराइनबाट आएका टेकबहादुर गुरुङलगायत घरका अन्य परिवारसमेत सुतिसकेपश्चात् राति अन्दाजी १२.०० वजेको समयमा डाँकाहरूले घर घेरी घर भित्र प्रवेश गरी दुई राउण्ड गोली फायर गरी निज टेकबहादुर, निजको बाबु देउमान र श्रीमती लक्ष्मी गुरुङसमेतलाई लाठी तथा धारिलो हतियार प्रहार गरी सख्त घाइते पारी टेकबहादुरले वहराइनबाट ल्याएको हाल यकीन हुन नसकेको धनमाल तथा घरमा रहेको अन्य धनमालसमेत डाँका गरी लगेका र घाइतेहरूलाई उपचारका लागि लगिएकोमा टेकबहादुरको उपचार हुन नपाउँदै मृत्यु भएको र अन्य घाइतेहरूको घोपा क्याम्प धरानमा उपचार भैरहेको भन्ने व्यहोरा उल्लेख गरिएको छ 

    प्रस्तुत मुद्दाका प्रतिवादीहरूमध्ये पक्राउ परेका वीसे खवास र रामरुप सरदार अधिकार प्राप्त अधिकारी समक्ष कसूर गरेको कुरामा सावित भै वयान गरेको देखिन्छ भने अदालतसमक्ष उपस्थित भै वयान गर्दा घटनाप्रति नै अनभिज्ञता प्रकट गरी घटनामा आफ्नो संलग्नता रहेको कुरालाई पनि पूर्ण रुपमा इन्कार गरेको अवस्था छ । अभियोगपत्रमा मृतक टेकबहादुर गुरुङसमेतलाई धारिलो हतियार प्रहार गरी घाइते बनाई गोलीसमेत फायर गरी त्रासदिपूर्ण वातावरण बनाई नगद रु.१२,३९,०००।र सुन तथा सुनका विभिन्न गरगहनासमेत जम्मा २६ तोलाको रु.२,६०,०००।समेत गरी जम्मा विगो रु.१४,९९,०००।– (चौध लाख उनान्सय हजार) बराबरको नगद धनमाल डाँका गरी लगेको र उक्त वारदातमा यी प्रतिवादीहरूले प्रहार गरेको चोट पीडाबाटै मृतक टेकबहादुर गुरुङको मृत्यु भएको तथ्यसमेत पुष्टि भई प्रतिवादी वीसे खवास, रामरुप सरदार,कुमार भन्ने भरत चौधरी, वीसे खवास, रामप्रसाद ऋषिदेव, रमेश ऋषिदेव, रामदेव ऋषिदेव, नुनुलाल ऋषिदेव, दिलीप मोची, धने मोची, मने मोचीले मुुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(३) नं. र ऐ. ऐन चोरीको महलको १ र ६ नं. विपरीत कसूर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई ऐ. ऐन ज्यानसम्बन्धी महलको  १३(३) नं. बमोजिम तथा ऐ. ऐन चोरीको महलको १४(४) नं. बमोजिम सजाय हुनुपर्ने समेतको माग दावी लिइएकोमा शुरु अदालतबाट प्रतिवादी वीसे खवासको हकमा चोरीका १४(४) नं. अनुसार कैद वर्ष ६ र विगोको डेढी जरीवाना र ज्यानतर्फ ज्यानसम्बन्धी महलको १३(३) नं. ले सर्वश्वसहित जन्मकैद र अर्का प्रतिवादी रामरुप सरदारको हकमा चोरीका १४(४) नं. अनुसार दोस्रो पटक डाँका वारदातमा कैद वर्ष ९ र विगोको डेढी जरीवाना रु. ३,००,०००।र ज्यानतर्फ ज्यान सम्बन्धी महलको १३(३) नं. ले सर्वश्वसहित जन्मकैदको सजाय हुने गरी फैसला भएको देखिन्छ । सो फैसलाउपर वादी प्रतिवादी दुबैतर्फबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालत विराटनगरबाट वादी पक्षबाट प्रतिवादीहरूको कसूर प्रमाणित गर्न नसकेको र शंकाको आधारमा मात्र कसूर ठहर गर्न मिल्ने अवस्था नभएको भन्ने समेतका आधारमा अभियोग माग दावी पुग्न नसक्ने ठहर्‍याई फैसला भएको अवस्था छ । पुनरावेदन अदालतले सफाई दिने गरी गरेको फैसलाउपर वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा परेको पुनरावेदनमा किटानी जाहेरी, प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको साविती वयान र जाहेरवालाकी आमा देवीमाया गुरुङले मौकामा गरेको कागज समेतका आधारमा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग माग दावीअनुसार सजाय हुनुपर्ने जिकीर लिइएको सन्दर्भमा हेर्दा वादी पक्षबाट प्रस्तुत गरिएका प्रमाणहरूले वादीको दावी प्रमाणित गर्न सक्ने क्षमता राख्दछन् वा राख्दैनन् ? भन्ने प्रश्नको निरुपण गरी पुनरावेदन अदालत विराटनगरको फैसला मिले नमिलेको के रहेछ ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने भएको    

    २.   निर्णयतर्फ विचार गर्दा मिसिल संलग्न घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन समेतबाट मिति २०५९।७।१७ गते राति अन्दाजी १२.०० बजेको समयमा मोरङ जिल्ला केरावारी९ घंघरु टोल बस्ने टेकबहादुर गुरुङको घरमा डाँका गरी निज टेकबहादुरलाई गोलीसमेत प्रहार गरी घाइते बनाइएको र घाइतेलाई उपचारको लागि धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचार हुन नपाउँदै निज टेकबहादुर गुरुङको मृत्यु भएको भन्ने समेतको तथ्यमा विवाद देखिँदैन । घटना भएको तथ्यमा विवाद नरहेको सन्दर्भमा अब वादी पक्षबाट प्रस्तुत गरिएका प्रमाणहरूले वादीको दावी प्रमाणित गर्नसक्ने क्षमता राख्दछन् वा राख्दैनन् ? भन्ने प्रश्नमा विचार गर्नुपर्ने भएको छ । वादी पक्षले मुख्य रुपमा किटानी जाहेरी, प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारी समक्षको साविती वयान, जाहेरवालाकी आमा देवीमाया गुरुङले मौकामा गरेको कागजलाई नै अभियोग प्रमाणित गर्ने आधारका रुपमा प्रस्तुत गरेको पाइन्छ । जाहेरी दरखास्तलाई हेर्दा दीर्घमान गुरुङले मौकामा दिएको जाहेरी दरखास्तमा अपराध गर्ने व्यक्तिका रुपमा तराइवासी जस्तो देखिने अन्दाजी २५/२६ वर्ष उमेर भएका मुखमा पट्टी बाँधेका शारीरिक अवस्था सामान्य पातलो भएका १५/१६ जना डाँकाहरू भन्ने उल्लेख गरिएको छ भने मिति २०६०।४।२६ मा अमृतकुमार गुरुङले दिएको अपराधको सूचनामा अपराध गर्नेको नाम, ठेगाना र हुलियामा शरीर मोटो (डल्लो), अनुहार ठूलो, वर्ण श्याम्लो, केश लामो, उचाई ५ फीट १ इञ्च भएको वीसे खवाससमेत १५/१६ जना भन्ने व्यहोरा उल्लेख गरिएको पाइन्छ । यी दुई जाहेरी दरखास्तमा उल्लिखित अपराध गर्ने व्यक्तिहरूको हुलिया एक आपसमा मिलेको अवस्था देखिँदैन । मौकामा दिएको जाहेरी दरखास्तमा व्यक्तिको पहिचान भएको देखिँदैन भने घटना घटेको साढे नौ महिनापछि परेको अर्को जाहेरी दरखास्तमा एक जना व्यक्तिको नाम समेत किटान गरिएको  देखिन्छ 

३.   जहाँसम्म प्रतिवादीहरूको अधिकार प्राप्त अधिकारीसमक्षको साविती वयानको सन्दर्भ छ, खून डाँका जस्तो गम्भीर अपराधमा त्यस्तो वयान मात्रका आधारमा कसूरदार ठहर्‍याउन मिल्ने हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरालाई निरपेक्ष प्रमाणका रुपमा लिन नमिल्ने कुरा प्रमाण ऐनको दफा ९(१)(क) को कानूनी व्यवस्थाले पनि स्पष्ट गरेको छ । उक्त कानूनी व्यवस्थाबाट पनि अभियुक्तको त्यस्तो वयानलाई प्रमाणमा ग्रहण गर्नका लागि केही शर्तहरू तोकिएको देखिन्छ । तर प्रस्तुत मुद्दाका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्षको वयानमा कसूर गरेको कुरामा सावित रहेको पाइएता पनि अदालतसमक्ष उपस्थित भै गरेको वयानमा घटनाप्रति अनभिज्ञता प्रकट गर्दै आफ्नो संलग्नतालाई पनि पूरै इन्कार गरेको देखिन्छ । प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको वयानलाई समर्थन हुने खालका अन्य प्रमाणहरू वादी पक्षबाट प्रस्तुत हुन सकेको पनि पाईंदैन । मौकामा जाहेरी दिने दीर्घमान र घटना घटेको लामो समयपछि किटानी जाहेरी दिने अमृतकुमार दुबैलाई अदालतमा उपस्थित गराई उनीहरूबाट आफूले दिएको जाहेरी व्यहोराको पुनर्पुष्टी गराउने दायित्व पनि वादी पक्षले वहन गर्न सकेको पाईंदैन । लामो समयको अन्तरमा परेका दुईवटा जाहेरी दरखास्तहरूका बीचमा नै सामञ्जस्यता कायम हुन नसकी विरोधाभाषपूर्ण देखिएको स्थितिमा जाहेरवालाले अदालतसमक्ष उपस्थित भै स्पष्ट नपार्दासम्म त्यस्तो जाहेरी दरखास्तको प्रामाणिक मूल्य शून्यको स्थितिमा पुगेको छ । त्यसैगरी वादी पक्षले आफ्नो अभियोग दावी प्रमाणित गर्ने आधारका रुपमा प्रस्तुत गरिएको जाहेरवालाकी आमा देवीमाया गुरुङले मौकामा गरेको कागजलाई हेर्दा निजले मानिस प्रष्ट नचिनिने र अनुहार हेर्न समेत नदिइएको भन्ने जस्तो व्यहोरा उल्लेख गरेको पाइन्छ भने अदालतसमक्ष उपस्थित भै गरेको वकपत्रमा कहिँ चौधरी खवासलाई र कहिँ मोटे खवासलाई चिनें भनी उल्लेख गरिएको छ । यसरी एकै व्यक्तिबाट मौकामा गरिएको कागज र अदालतसमक्षको वकपत्रमा फरकफरक अभिव्यक्ति आएको हुँदा त्यस्तो अभिव्यक्तिको प्रामाणिक आधार स्वतः कमजोर हुन पुगेको   । यस सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा १० लाई हेर्नु सान्दर्भिक हुन आउँछ । सो दफामा रहेको कानूनी व्यवस्था यस प्रकार रहेको छः

 

(१) कुनै काम घटना वा अवस्थाका सम्बन्धमा देहायका कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छः

(क) सो काम गर्ने वा सो काम, घटना वा अवस्था प्रत्यक्ष रुपमा देख्ने वा थाहा पाउने व्यक्ति, वा

(ख) सो काम, घटना वा अवस्थाबाट पीडित भएका व्यक्ति 

    ४.   यसरी घटना घटाउने, घटना प्रत्यक्ष रुपमा देख्ने, थाहा पाउने र घटनाबाट पीडित भएका व्यक्तिले घटनाको तत्काल अघि वा पछि व्यक्त गरेका कुरा प्रमाणमा लिइने प्रकृतिको प्रमाण हो र त्यस्ता व्यक्ति प्रत्यक्ष प्रमाण हुन् भन्ने देखिन्छ । तर, प्रस्तुत मुद्दामा प्रत्यक्ष प्रमाणका रुपमा रहेकी देवीमाया गुरुङले मौकामा व्यक्त गरेको भनिएको कुरा घटनाको तत्काल अघि वा पछि व्यक्त गरिएको नभै घटना घटेको लामो समय व्यतीत भैसकेपछि मात्र व्यक्त गरेको अवस्था छ भने त्यसरी व्यक्त गरिएको कुरा र अदालतसमक्ष व्यक्त गरेको कुराका बीचमा कुनै किसिमको सामञ्जस्यता समेत देखिँदैन । त्यसैगरी घटनामा परी आफैँ घाइते भै पीडितका रुपमा रहेका देउमान गुरुङ र लक्ष्मीमाया गुरुङले घटना घटेको करीव साढे नौ महिना व्यतीत भएपछि व्यक्त गरेको कथनलाई मौकामा व्यक्त गरेको कुरा अन्तर्गत राख्न मिल्ने अवस्था छैन भने निजहरू अदालतमा उपस्थित भै वकपत्र गरेको अवस्था पनि देखिँदैन  

    ५.  यसरी वादी पक्षबाट प्रमाणका रुपमा प्रस्तुत गरिएका जाहेरी दरखास्त, प्रतिवादीहरूको अधिकार प्राप्त अधिकारीसमक्षको वयान र देवीमाया गुरुङको मौकाको कागजहरू आफैँमा विरोधाभाषपूर्ण रहेको अवस्थामा त्यसैलाई आधार मानेर कसूरदार ठहर्‍याउन मिल्ने अवस्था देखिँदैन । फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादीको हुने प्रमाण ऐन, २०३१ को दफा २५ को व्यवस्था र यससम्बन्धी मान्य सिद्धान्तलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा वादी पक्षबाट पेश हुन आएका प्रमाणहरूले दावी प्रमाणित गर्ने हैसियत ग्रहण गर्न सक्ने आधार देखिँदैन । घटना भएको तथ्य पुष्टि हुँदैमा अभियुक्तको कसूर प्रमाणित हुँदैन । घटनाको तथ्य र त्यसमा संलग्न रहेका व्यक्तिहरू भनेका फरकफरक कुरा हुन् । कुन घटनामा कसको संलग्नता रहेको छ भन्ने कुरासँगै संलग्नताको मात्रा पनि जोडिएर आउँछ । घटना घटेको कुरामा विवाद नहुँदानहुँदै पनि सो घटना घटेको तत्कालपछि दिइएको जाहेरी दरखास्त र मौकामा कागज गर्ने व्यक्तिको भनाईमा अपराध गर्ने व्यक्ति स्पष्ट नभएको अवस्थामा घटना घटेको लामो अबधि व्यतीत भैसकेपछि परेको जाहेरी र मौकामा कागज गर्ने व्यक्तिको वकपत्रमा व्यक्ति किटान गरिएको भन्ने मात्र आधारमा कसैलाई कसूरदार ठहर्‍याउन   मिल्दैन । कसूर प्रमाणित गर्ने भार सँगै वादीले पेश गरेका प्रमाणहरू शंकारहित हुनुपर्छ भन्ने कुरामा पनि विवाद हुन सक्दैन । मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र अनिश्चयात्मक कथन कसूरदार ठहर्‍याउने आधार बन्न सक्दैन । फौजदारी मुद्दामा शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न मिल्दैन, त्यसो गर्नु कानून र न्यायका मान्य सिद्धान्तहरूको प्रतिकूल हुन जान्छ 

    ६.   तसर्थ माथि गरिएको विश्लेषण समेतका आधारमा वस्तुनिष्ठ आधार र प्रमाणको अभाव रहेको स्थितिमा आशंकाको भरमा कसूरदार ठहर गर्न मिल्ने अवस्था नरहेको भन्ने समेतका आधारमा प्रतिवादीहरू उपरको अभियोग माग दावी पुग्न नसक्ने ठहर्‍याई प्रतिवादीहरू वीसे खवास र रामरुप सरदारलाई सफाई दिने गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६४।३।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीरपुग्न सक्दैन 

    ७.  साथै प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले यस अदालतमा पुनरावेदन गरेको देखिन्छ । मुद्दा सुनुवाईका दिन आफूले उठाएको विषयका सम्बन्धमा इजलासलाई प्रष्ट पारी सहयोग गर्नु सम्बन्धित कानून व्यवसायीको कर्तव्य हो र यो कानून व्यवसायीको व्यावसायिक निष्ठासँग जोडिएको विषय पनि हो । त्यसै प्रयोजनका लागि प्रस्तुत मुद्दामा समेत यस अदालतको मिति २०६६।१।१६ को पत्रबाट महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको जानकारी दिइएको देखिन्छ । तर मुद्दा इजलाससमक्ष पेश भै इजलासबाट मिसिल अध्ययन गरिसक्दा पनि वादी पक्षको उपस्थिति इजलासमा नरहेको कारणले गर्दा पटकपटक महान्यायाधिवक्ताको कार्यालयमा जानकारी गराईंदा समेत महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित सरकारी वकीलको उपस्थिति भएन । यो अवस्थाले एकातर्फ वादी पक्षले अदालत र इजलासप्रति उचित मर्यादा, अदालतका काम कारवाहीमा सहयोग र इजलास व्यवस्थापनमा मद्दत पुर्‍याउनु पर्ने जिम्मेवारी वहन नगरेको अवस्था देखियो भने अर्कोतर्फ इजलासको महत्वपूर्ण समय व्यय हुन पुग्यो । यसरी इजलासबाट पटकपटक सूचित गर्दा समेत सुनुवाई प्रक्रियालाई सुचारु बनाउन र आफूबाट उठाइएको विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रक्रियामा सहभागी नहुने प्रवृत्तिलाई कुनै पनि दृष्टिले उपयुक्त मान्न सकिँदैन । प्रस्तुत मुद्दामा महान्यायाधिवक्ताको कार्यालयबाट रहनु भएका सरकारी वकीलबाट आफ्नो कर्तव्य पालनामा गम्भीर लापरवाही गरेको अवस्था देखिँदा प्रस्तुत घटनालाई गम्भीरतापूर्वक लिई यस किसिमको त्रुटिको पुनरावृत्ति हुन नदिनका लागि महान्यायाधिवक्ताको कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने देखिएकाले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६७  (३) बमोजिम यो न्यायिक टिप्पणी गरिएको छ, यसको जानकारी महान्यायाधिवक्तालाई दिनू । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू  

 

उक्त रायमा म सहमत छु 

 

न्या.अवधेश कुमार यादव


इति संवत् २०६६ जेठ ३१ गते रोज १ शुमभ्