November 30, 1970
Created by nepalarchives

निर्णय नं. ५६२ – गैरकानूनी पुस्तिका बिक्री गरेको

निर्णय नं. ५६२         ने.का.प. २०२७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२६ सालको फौ.पु.नं. २६२ पुरावेदक :...

निर्णय नं. ५६२         ने.का.प. २०२७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२६ सालको फौ.पु.नं. २६२

पुरावेदक : स.अ.सप्तरी लाहान बजार घर भई हाल का.जि.भाटभटेनी बस्ने रामप्रसाद उपाध्याय समेत

विरुद्ध

विपक्षी     : काठमाडौं डि.एस.पी. कार्यालयको पत्रले श्री ५ को सरकार

मुद्दा : गैरकानूनी पुस्तिका बिक्री गरेको

(१)  छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७कुनै पुस्तिका गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गर्दा उक्त बिक्रीलाई गैरकानूनी पुस्तिका बिक्री गरेको भनी निर्णय गरेमाउक्त निर्णय मिलेको नदेखिने ।

          तर, प्रस्तुत केशमा पुनरावेदकहरुले मिति ०२६।२।८ मा बिक्री गरेको पुस्तिका मिति ०२६।२।१२।१ मा मात्र बागमती अञ्चलाधीशबाट गैरकानूनी ठहरिएको देखिएकोले गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गरेकोमा गैरकानूनी पुस्तिका बिक्री गरेको भनी बागमती अञ्चलाधीशको निर्णय छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ अनुसार मिलेको देखिएन ।

(प्रकरण नं. १२)

(२)  छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १०कुनै पत्रिकाको प्रकाशकले उक्त पत्रिकाको निम्ति कसैसंग लिखित अन्तरवार्ता लिएको देखिएमा निज प्रकाशककै प्रकाशनमा उक्त अन्तरवार्ता छापिएको स्पष्ट हुने, उक्त पत्रिकाकै मोलमा उक्त पुस्तिका (अन्तरवार्ता) बिक्री गरेमाउक्त पुस्तिका उक्त पत्रिका कै अंग हुने ।

          बागमती अञ्चलाधीशको उक्त निर्णयमा छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १० ले कुनै पनि किताबमा प्रकाशक, मुद्रक र छापाखाना समेतको नाम समेत उल्लेख हुनुपर्नेमा सो उल्लेख भए गरेको नदेखिएको हकमा उक्त पुस्तिकाको शिरमै श्री विशेश्वरप्रसाद कोइरालासंग कल्पनाका प्रकाशक श्री केदारनाथ श्रेष्ठले कल्पनाको निमित्त हालै लिनु भएको लिखित अन्तरवार्ता भनी लेखिएको देखिएकोले कल्पनाकै प्रकाशक केदारनाथ श्रेष्ठको प्रकाशनमा छापिएको स्पष्टै देखियो र कल्पनाकै मोल रु.१। मै बिक्री गरेकोले उक्त पुस्तिका कल्पना पत्रिकाकै अंग देखिएको समेतबाट बागमती अञ्चलाधीशको मिति २०२६।२।१२।१ को निर्णय गल्ती ठर्हछ ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट :

उल्लेखित मुद्दा :

आदेश

          न्या.श्री नयनबहादुर

          १.   कल्पना त्रैमासिक पत्रिका भित्र लुकाई विश्वेशवरप्रसाद कोइरालासंगको अन्तरवार्ता शिर्षक छापिएको बुकलेट बिक्री बितरण गरेकाले सो बुकलेट समेत पेश गरेको छु भन्नेसमेत काठमाडौं डि.एस.पी. कार्यालयको मिति २०२६।२।१०।६ को पत्र ।

          २.   कल्पना पत्रिकाको म सहयोगी भएकोले सो पुस्तिका र कल्पना पत्रिका समेत साथै रु.१। मा बिक्री गरेको हुँ, यो पस्तिकालाई कल्पनाकै पाना सम्झी छापाखाना, मुद्रक, प्रकाशक, सम्पादकको नाम नलेखिएको भए पनि बिक्री बितरण गरेको हुँ भन्नेसमेत रामप्रसाद उपाध्यायको बयान ।

          ३.   म कल्पना पत्रिकाको सहयोगी भएकोले कल्पना पत्रिका र यो पुस्तिका साथै रु.१। मा बिक्री गरेको हुँ, छापाखाना, मुद्रक, प्रकाशक, इत्यादीको नाम यस पुस्तिकामा नलेखिए पनि सो पत्रिकामा लेखिएको छभन्नेसमेत लक्ष्मणप्रसाद उपाध्यायको बयान ।

          ४.   ग्राहकहरुले लिई दे भनेका नाउँ नजानेका केटाहरु ३ थान कल्पना पत्रिका रु.१। का दरले खरीद गरी रु.१। मै बिक्री गरेको हुँ, कल्पना भित्रै यो पत्रिका भएको मलाई थाहा भएन, मैले अरु पत्रिका बिक्री गर्ने काम गरेको छु भन्नेसमेत जितमानको बयान ।

          ५.   योपुस्तिका मैले देखेको पनि थिएन, बिक्रीगरेको पनि होइन भन्नेसमेत अष्टमानको बयान ।

          ६.   कल्पना पत्रिका भित्र देखाइएको पुस्तिका पनि बिक्री भएको छ भन्ने सुनेकाले अ.स.इ.रत्नबहादुर डंगोललाई रु.१। दिइ खरीद गर्न पठाई मैले आफ्नो अफीसमा पेश गरेको हुँ, पत्रिका बिक्री गर्ने काम गर्दछु । तर, यो पत्रिका मैले बिक्री गरेको छैन भन्नेसमेत चन्द्रलालको बयान ।

          ७.   कल्पना पत्रिका भित्र देखाइएको पुस्तिका थियो भन्ने सुनेको हुँ । मैले देखेको थिईनँ । गुप्तचर विभागबाट पठाई दे भनेकाले खरीद गरी पठाई दिएको हुँ । अरु कुरा थाहा छैन भन्नेसमेत ठूलो भाइ भन्ने पूर्णबहादुर थापा क्षेत्रीको बयान ।

          ८.   छापाखाना प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १० ले कुनैपनि किताबमा प्रकाशक, मुद्रक र छापाखाना समेतको नाम उल्लेख हुनुपर्नेमा सो उल्लेख भए गरेको नदेखिएको रीत नपुगेको भन्ने जानीजानी लक्ष्मणप्रसाद, रामप्रसादले बिक्री बितरण गरेमा स्वीकार गरेको हुँदा निजहरुले छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ अन्तर्गत कसूर गरेको ठर्हछ । चन्द्रलाल ठूलो भाइ भन्ने पूर्णबहादुर, अष्टमान र जितमान समेतले गैरकानूनी पुस्तिका जानी जानी बिक्री गरेको देखिएकोले निजहरुले छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ अन्तर्गतको कसूर गरेको ठर्हछ भन्नेसमेत बागमती अञ्चलाधीश कार्यालयको फैसला ।

          ९.   उक्त इन्साफमा चित्त बुझेन भनी प्रतिवादी रामप्रसादको र लक्ष्मणप्रसादको यस अदालतमा परेको पुनरावेदन ।

          १०.  पुनरावेदकहरुका वा. इश्वरलाल श्रेष्ठ रोहवरमा रही विपक्षी श्री ५ को सरकारको प्रतिनिधि पठाउन सूचना गर्दा पनि उपस्थित हुन नआई पुनरावेदकतर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस समेत सुनी हेर्दा बागमती अञ्चलाधीशको मिति ०२६।१२।१ को निर्णयले पुनरावेदकहरुलाई गरेको सजाय कानूनी गैरकानूनी के छ भन्ने बिषयको नै निर्णय गर्नुपर्ने देखिन्छ ।

          ११.   प्रस्तुत केशमा मिति ०२६।२।८ का दिन कल्पना नामक पत्रिकामा श्री विश्वेश्वरप्रसाद कोइरालासंग कल्पनाका प्रकाशक श्री केदारनाथ श्रेष्ठले कल्पनाको निम्ति हालै लिनु भएको लिखित अन्तर्वाता भन्ने पुस्तिका राखी बिक्री गरेको भनी बिक्री गर्ने मानिसहरुका नामसमेत उल्लेख गरी डि.एस.पी. कार्यालयबाट बागमती अञ्चलाधीश कार्यालयमा मिति ०२६।२।१० का दिन दिएको रिपोर्ट र बागमती अञ्चलाधीश कार्यालयबाट मिति ०२६।१२।२।१ मा उक्त लेखिएका पुस्तिका छापाखाना रजिष्ट्रेशन ऐन, २०१९ को दफा १० को बिपरित गरी छापिएकोले गैरकानूनी भनी आजैका मितिमा फैसला भएकोले सो बिक्री गर्ने भनिएका व्यक्तिलाई खोजतलास गरी उपस्थित गराई दिन डि.एस.पी. कार्यालय काठमाडौंलाई लेखेकोमा सोही दिन डि.एस.पी. कार्यालयबाट पुनरावेदकहरु सहितका ६ जनालाई अञ्चलाधीश कार्यालयमा उपस्थित गराई सोही दिन अञ्चलाधीश कार्यालयबाट माथि उल्लेखित पुस्तिका गैरकानूनी ठहरिएको र सो जानी जानी बेचेकोमा निजहरु स्वीकारै गरेकोले छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ अन्तर्गतको कसूर गरेको ठर्हछ भनी सजाय गरेको देखियो ।

          १२.  यसमा छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ कसैले गैरकानूनी ठहरिएको किताब, समाचारपत्र समाचार पत्रिका वा लिखत वा अनाधिकृत प्रकाशन जानी जानी बेचेमा बितरण गरेमा प्रकाशित गरेमा वा प्रदर्शन गरेमा निजलाई स्थानीय पदाधिकारीको तजविजले नौ महिनासम्म कैद वा पन्ध्र सय रुपैयाँ सम्म दण्ड वा दुवै सजाय हुनेछ ।भन्ने उल्लेख भएकोले यस दफा अनुसार गैरकानूनी ठहरिएको पत्र पत्रिका वा पुस्तक बिक्री बितरण वा प्रकाशन गर्न मनाही गरेको देखियो । तर, प्रस्तुत केशमा पुनरावेदकहरुले मिति ०२६।२।८ मा बिक्री गरेका पुस्तिका मिति ०२६।२।१२।१ मा मात्र बागमती अञ्चलाधीशबाट गैरकानूनी ठहरिएको देखिएकोले गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गरेकोमा गैरकानूनी पुस्तिका बिक्री गरेको भनी बागमती अञ्चलाधीशको निर्णय छापाखाना प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७ अनुसार मिलेको देखिएन र बागमती अञ्चलाधीशको उक्त निर्णयमा छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन, २०१९ को दफा १० ले कुनै पनि किताबमा प्रकाशक, मुद्रक र छापाखाना समेतको नाम समेत उल्लेख हुनुपर्नेमा सो उल्लेख भए गरेको नदेखिएको हकमा उक्त पुस्तिकाको शिरमै श्री विश्वेश्वरप्रसाद कोइरालासंग कल्पनाका प्रकाशक श्री केदारनाथ श्रेष्ठले कल्पनाको निम्ति हालै लिनु भएको लिखित अन्तरवार्ता भनी लेखिएको देखिएकोले कल्पनाकै प्रकाशक केदारनाथ श्रेष्ठकै प्रकाशनमा छापिएको स्पष्टै देखियो र कल्पनाकै मोल रु.१। मै बिक्री गरेकोले उक्त पुस्तिका कल्पना पत्रिकाकै अंग देखिएको समेतबाट बागमती अञ्चलाधीशको मिति २०२६।२।१२।१ को निर्णय गल्ती ठर्हछ । सो ठहर्नाले तपसीलका कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

तपसील

अञ्चलाधीशको कार्यालयको बागमती अञ्चलका ०२६।२।१२।१ का फैसलाले देहायका मानिसहरुलाई देहायका दरले गर्नेगरेको कैददण्ड नलाग्ने हुँदा व्यहोरा जनाई लगतकट्टा गर्नु भनी का.श्र.अदालत तहसिलमा लगत दिनु……….१

 सगरमाथा अञ्चल सप्तरी लाहान बजार घर भई हाल का.जि.भाटभटेनी बस्ने रामप्रसाद उपाध्याय के कैद महिना ३ र दण्ड रु.१५०। कलम एक १ ऐ. ऐ. बस्ने लक्ष्मणप्रसाद उपाध्याय कै कैद महीना ३ दण्ड १५० को कलम एक २ का.जि ओम बहाल बस्ने अष्टमान कपालीले कैद दिन १५ र जरिवाना रु.२५। को कलम ३ जनकपुर अञ्चल दोलखा मकैबारी घर भई हाल सिलखान लगन बस्ने जितमान खत्री के कैद दिन १५ र जरिवाना र १२५। को कलम ४ का.जि.कमल पोखरी बस्ने चन्द्रलाल श्रेष्ठके कैद दिन ।१५ र जरिवाना रु२५। को कलम ५ का.जि झोंछे बस्ने ठूलो भाइ भन्ने पूर्णबहादुर थापा क्षेत्री के कैद दिन ।१५ र जरिवाना रु.२५। को कलम एक ६

पुनरावेदक रामप्रसाद उपाध्याय १, लक्ष्मणप्रसाद उपाध्याय १ समेत २ जनाले हकमा का.जि.बानेश्वर बस्ने शिवबहादुरले यस अदालत मार्फत मिति ०२६।३।६।६ मा काठमाडौ श्रेस्ता अदालत तहसिलमा अञ्चलाधीशको फैसलाले गर्ने गरेको कैद दण्ड वापत दाखिल गरेको रु.४९२। पुरनवेदक २ जनालाई नै बराबरका दरले फिर्ता दिनु भनी काठमाडौं श्रेस्ता अदालत तहसिलमा लगत दिनु………………….२

 

न्या.श्री झपट सिं रावल

 

म सहमत छु ।

 

इति सम्वत् २०२७ साल मार्ग १५ गते रोज २ शुभम ।