September 9, 1970
Created by nepalarchives

निर्णय नं. ५५९ – ज्यान

निर्णय नं. ५५९           ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२६ सालको फौ.फु.नं....

निर्णय नं. ५५९           ने.का.प. २०२७

फुल बेञ्च

प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री रङ्गनाथ उप्रेती

सम्वत् २०२६ सालको फौ.फु.नं. ४२

पुनरावेदक : श्री ५ को सरकार

विरुद्ध

विपक्षी : प.१ नं.नुं. इगडखार बस्ने पशुपति राई समेत

मुद्दा : ज्यान

(१)  प्रहरीमा भएको साविती कागज शंकारहित तवरले परिपुष्टि नभएमाउक्त सावितीलाई अकाट्य प्रमाण मान्न नमिल्ने ।

          अतः अन्य प्रमाणहरुबाट निज मुरलीको प्रहरीमा भएको साविती कागज शंकारहित तवरले परिपुष्टि हुनसकेको नदेखिएकोले त्यस्तो सावितीलाई अकाट्य प्रमाण मान्न मिलेन ।

(प्रकरण नं. १३)

(२)  विशेषज्ञबाट जाँच नभैकन कहिं लागेको दाग मानिसको रगत भन्ने कल्पना गर्न नसक्नाको साथै कहीं लागेको रगतमा विद्यमान मानिसको पाइतालाको चिन्ह अभियुक्तकै भन्ने अनुमान गर्न नमिल्ने ।

          विशेषज्ञबाट जाँच हुनसकेको हुनु बेगर मुरली कृष्णबहादुरले लगाएको कपडामा लागेको दाग मानिसकै रगतको हो भन्ने कल्पना गर्न र पानामा चुरोटको पेटीमा रगत लागेकोमा मानिसको पाइतालाको चिन्ह भएको अभियुक्तहरुकै हो भन्ने अनुमान गर्न नमिल्ने समेत हुँदा ति कुराहरुलाई प्रमाणमा लिन मिल्ने देखिंदैन ।

(प्रकरण नं. १४)

(३)  अभियुक्त कसूरमा इन्कार रहेमानिजले कर्तव्य गरी मारेको भन्ने किटानसाथ पोल उजूर नभएमामौका तहकिकात र सरजमिन समेतले अभियुक्त उपर कसूरमा शंकासम्म पनि गर्न नसकेमामौकैमा देखें सुनें भन्ने कसैको भनाई नभएमाचस्मदिद सबूद प्रमाण र ठोस परिबन्दको अभावमाशंकाको भरले कसूरदार ठहराउन नमिल्ने ।

          प्रतिवादीहरु सबै कसुरमा इन्कार रहेका, प्रतिवादीहरुले नै कर्तव्य गरी मारेको भन्ने किटानी पोल उजूर नभएको, मौका तहकिकात र पछि बुझिएका समेत सरजमिनले प्रतिवादीहरु उपर कसुरमा शंकासम्म पनि गर्न नसकेका, प्रतिवादीहरुले रातमा वारदात गरेको भए रुपैयाँ सापटमा गरेको बिषयमा भनाभन भई हल्ला भएको, मर्ने नरबहादुरको पसल नजिक घर हुने सूर्यबहादुरले जरुरै सुनेको हुनुपर्नेमा निजले थाहा छैन भनेको समेत भई मौकामा देखे सुनेको भन्ने कसैको भनाई नभएको यस्तो अवस्थाको वारदातमा चस्मदिद सबूद प्रमाण र ठोस परिबन्दको अभावमा शंकाको भरले कसूर ठहराउन नमिल्ने ।      

(प्रकरण नं. १५)

पुनरावेदक वादीतर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल

विपक्षी तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट

उल्लेखित मुद्दा :

फैसला

          प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

          १.   ०१९।७।११ गते दाजु नरबहादुर कहाँ सदस्य बुद्धीबहादुरले लिन पठाएकोले जाँदा दाजु कर्तव्यका मरेको देखी ऐं १० गतेका दिन मुरली मगर १, कृष्णे मगर १, जेठो थपलिया १, पशुपति राई १, समेत दिउँसो तास खेली बेलुकी ६ बजे उठेको रहेछन् । दाजुलाई कर्तव्य गरी मारेको हुनुपर्छ, को को भई कसरी मारे, निजहरुलाई कुन कानूनले सजाय हुने हो, मार्ने व्यक्ति पत्ता लगाई अपराधीहरुलाई ऐनबमोजिम सजाय होस् भन्नेसमेत कृष्णबहादुर थापा क्षेत्रीको ०१९।७।१२।१ को जोहरी दरखास्त ।

          २.   मुरली मगर १, कृष्णबहादुर मगर १, धन बाबु भन्ने टिकाबहादुर थापा १ समेतले ज्यान मारेको मैले हेरेको हुँ भनी पैसा भाग बण्डा लिएमा समेत मुरली सावित भई कागज गरी दिएको समेतबाट धनको लोभ लालचामा परी उल्लेखित अभियोग ३ जना भएर नर बहादुरलाई कर्तव्य गरी ज्यानमारेको अभियोगमा निजहरुउपर ज्यानसम्बन्धीका २५ नं.दण्ड सजायको ९० नं.अन्तर्गत हालै कारवाई हुनुपर्ने र पशुपतिको हकमा अन्य सबूद प्रमाण संकलन भएमा उसैबखत मुद्दा चलाउन उपयुक्त हुने भन्नेसमेत ०१९।७।२।१को आरोपपत्र ।

          ३.   कार्तिक १० गतेमा दिन अन्दाजी १२ बजेतिर ढिकुरे बजारमा आई सखर किनी फर्की नरबहादुरको घरमा तास खेल्न भनी गएको थिएँ । सो घर पसलमा पशुपति राई १, कृष्णबहादुर १, धनबहादुर थपलिया १, मर्ने नरबहादुरको घर नजिकको सूर्यबहादुर १, निज नरबहादुर १ समेत गफ गरेर बसेका रहेछन् । म पुगेपछि तास खेलुँ भने, हुन्छ भन्दा मोहरको ५ गट्टी त्रुप खेल्ने भनी सल्लाह भई म समेत चारजना भई खेल्यौं । खेल्दा खेल्दै पशुपति राईले हार्‍यो र मर्ने नरबहादुर थापासंग दुई रुपैयाँ लेउ भनी निजले भन्यो । नरबहादुरले मसंग पैसा छैन भन्ने । त्यसो भए, भैगो भनी दस पैसाको खुर्सानी लिएर पशुपति अं.४ बजेतिर घरतर्फ गयो । हामी ३ जनाले खेलिरहेका थियौं । अन्दाजी २ घडी जति रात गएपछि निज पशुपति सोही ठाउँ अर्थात हामी खेली रहेको ठाउँमा आइपुग्यो र मैले पनि पैसा ल्याएको छु । म पनि खेल्छु भनी निजले भन्दा हुन्छ भनी फेरि चारैजना भई खेल्न थाल्यौं । खेल्दा खेल्दै पशुपतिले हार्‍यो । त्यतिबेला अन्दाजी सात आठ घडी रात भएको थियो । मैले पैसा हारें, चारको पाँच दिन्छु, चारै रुपैयाँ लेउ भनी नरबहादुरसंग माग्यो । मसंग पैसा छैन भनी मर्ने थापाले भन्यो । पशुपतिले दिन्नस् त भन्यो । थापाले दिँदै, दिन्न भन्यो । एक दिन्नस्, दुई दिन्नस्, भनी फेरि भन्यो । तँलाई काटी दिन्छु भनी पशुपतिले भन्यो । तेरो तागत भए काट् भनी थापाले भन्यो । थापा खाटैमा सुतिरहेको थियो । अब काट्नै पर्छ भनी सल्लाह गरी मैले हुँदैन भन्दा त्यसो भन्छस् भने तँलाई पनि काटी दिन्छौं भनी भनेर कृष्णबहादुरले देव्रेपट्टि पाखुरामा समात्यो, धनबहादुरले दाहिनेपट्टि समात्यो, घोक्राई भुईमा पछारी घाँस काट्न भनी धनबहादुरले खुर्पा ल्याएको रहेछ, सो खुर्पा उठाई पशुपति राईले थापाको दाहिनेपट्टि भुँडिमा हिर्काएको देखें । अब जेसुकै गर भनी म हिड्न लाग्दा जान पाउँदैनस् भने । म बाटोमा बसें । कहाँ कहाँ हिर्काए मलाई थाहा छैन । करिब एउटा चुरोट खाने बेला सम्ममा मारी सकेछन् । म बसेको बाटोनिरको आपँको बोटको छहारीनिरबाट देखिने हुँदा अब सुतेको जस्तो पारेर लुगा ओडाएर खाटमा राख्नुपर्छ भनी सल्लाह गरी खाटमा लगी राखी पछेउरा ओडाई दिए । अब धेरै बेर अलमल गर्न हुन्न भनी म भएमा आएर सबै जना थान्छीङ जानेपट्टि भोगटे खोलामा गयो र खुर्पा कपडामा लाएको रगत धोई धनबहादुरको खेतमुनी बसी यो कुरा कसैलाई नभन्नु एउटा घडी रु.६०। रुपैयाँ दाम ल्याएको हामीहरुले काटेको हुँदा २८।२८ रुपियाँ लिन्छौं । तँलाई ४ रुपैयाँ नपुग धनबहादुरले घडी लिएको हुँदा रु.१८। दिने भनेर धनबहादुरले मलाई ४ रुपैयाँ दाम दिएको हो भन्नेसमेत मुरली पुलामी मगरको प्रहरीमा साविती र सो कार्तिक १० गते दिउँसो तास खेली ५ बजे घर गएको हुँ । म समेत भई कसूर गरेको होइन । प्रहरीले कुटपिट गरी साविती कागज गराएका हुन् भन्नेसमेत निजको अदातलको इन्कारी बयान । कार्तिक १० गते अन्दाजी ११।। बजेतिर लिखुपारी मेरो बारी भएको हुँदा सो वारीमा बोडी टिप्न खुर्सानी किन्न गएको थिएँ, मर्ने नरबहादुरको पसलमा अन्दाजी १२ बजे पुगेको थिएँ । त्यहाँ मुरली १ कृष्णे भन्ने कृष्णबहादुर १, धन बाबु भन्ने टिकाबहादुर १, मर्ने नरबहादुर समेत रहेछन् । म पुगेपछि तास खेलौं भनी भने ।५ जना दश पैसा गट्टी गरेर तुरुप खेलें । ४० पैसा हारी अब पैसा दिन्छौं भने खेल्छु नत्र खेल्दिन भन्दा थापाले दिन्न भन्यो । बाँकी ।१० पैसाको खुर्सानी किनेर १२ बजेतिर त्यहाँबाट घर गएं । भोलिपल्ट २ बजेतिर मात्र थापा मरेछ भन्ने कुरा थाहा पाएँ । मैले कसूर गरेको छैन भन्नेसमेत पशुपति राईको प्रहरी र अदालतमा समेत इन्कारी बयान ।

          ४.   १२।। बजेतिर बिंडी खान मन लागी नरबहादुरको पसलमा जाँदा पशुपति १, मुरली मगर १, कृष्णे भन्ने कृष्णबहादुर १, मर्ने थापा समेत रहेछन् । तास खेलौं भनी मुरलीले भने । हुन्छ भनी ४ जनानै खेल्यौं । एकछिन खेलेर पैसा सकियो । ।१० पैसा बाँकी छ, सुर्खानी लान पर्छ भनी पशुपति उठ्यो । बाँकी ।१० पैसाको खोर्सानि किनेर अं. २ बजे पशुपति घरतर्फ गयो । हामी ३ जना खोल्न थाल्यौं । अन्दाजी ४।। बजेतिर खेल्न छोडेर म हिडें । मुरली कृष्ण थापाकै घरमा थिए । म घर पुग्दा ५।। बजेको टायम हुँदो हो, भोलिपल्ट ११ गते मात्र नरबहादुर कर्तव्य गरी मारेछन् भन्ने कुरा थाहा पाएँ । मैले कसूर गरेको छैन भन्नेसमेत टिकाबहादुर थपलियाको प्रहरी र अदालतमा समेत इन्कारी बयान ।

          ५.   ०१९।७।१० गते टिकाको सार्दम किन्न भनी ढिकुरे जान आउँदा धनबहादुर भन्ने टिका बहादुरलाई भेट भयो । थापाको घरमा एकछिन तास खेलुँ भनेकाले नरबहादुरको घरमा आउँदा पशुपति १, मुरली १, मर्ने थापा समेत ३ तीन जना रहेछन् । अन्दाजी ११ बजेको हुँदो हो, तास खेल्न थाल्यौं । २। रुपैयाँ दाम हारी ६ बजेतिर पशुपति हिड्यौ । एक रंग झिकी तीनजना खेल्न थाल्यौं । ३।। बजेको टायममा तीनैजना घर गयौं । मैले कसूर गरेको छैन भन्नेसमेत कृष्णबहादुरको प्रहरी अदालतमा समेत इन्कारी बयान ।

          ६.   कार्तिक १० गते नरबहादुरको दोकानमा मुरली, धनबहादुर, कृष्णबहादुर र पशुपति समेत तास लेखी रहेका रहेछन् । साँझमा म घर आएँ भनी मौका तहकिकातमा सूर्यबहादुरले लेखी दिएको प्रतिवादीहरु १२।। बजे २ बजे ४।। बजे गएको भन्ने सत्य कुरा दवाई लेखेको, मुरलीको पुलिसमा भएको बयानबाट घटना घटी सकेपछि मात्र घरमा सुतेको भन्ने मुरलीको कागज । टिकाबहादुरको साक्षीले घरमा सबै थियो भनी बके पनि ती साक्षीको बकाईबाट एक दुई घडी रात भएको थियो । हामी पुगेको १ घडीपछि टिकाबहादुर आई पुगेको भन्ने देखिएकोले कुरा नमिली फरक परेको, यसैको चोटबाट मरेको भन्ने खुल्न नसकेको, निज ४ जनाहरुकै कर्तव्यबाट नरबहादुरको मृत्यु भएको ठर्हछ । ज्यान सम्बन्धीको १३ नं.बमोजिम प्रतिवादी ४ चारै जनालाई सजाय हुने ठर्हछ भनी समेत रसुवा तथा नुवाकोट जिल्ला अदालतको ०२२।७।२६।५ को जाहेरी फैसला ।

          ७.   उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीहरुको पुनरावेदन ।

          ८.   साक्षीहरुले घरमै थिएँ भनी बकी दिएका पशुपति, बेलुका तास खेल्न गएको देखिन नआउने मुरली, कृष्णबहादुर, टिकाबहादुरले अदालतमा इन्कारी बयान गरेको, अभियुक्तहरुको लुगामा लागेको रगत मानिसकै हो भन्नालाई जाँच हुन नसक्ने भनी फिर्ता भएको, मुरलीले प्रहरीमा गरेको साविती कागजलाई मान्यता दिन नमिल्ने, टिकाबहादुर, कृष्णबहादुर, पशुपति, इन्कार भई सो रात घरै छौं भनी बयान गरेको, नरबहादुरलाई कर्तव्य गरी मारेको भए छिमेकीहरुले पनिथाहा पाउनु पर्ने, सर्जजमिनले शंका पनि नगरेको, प्रतिवादी हरुले ज्यान मार्नुपर्ने इवि भएको पनि देखिन नआएकोले प्रतिवादीहरुले ज्यान मारेको र भागबण्डा खाएकोसमेत ठहर्दैन भन्नेसमेत बा.अं.अदालतको ०२४।५।३०।६को फैसला ।

          ९.   पहिले साधक तहबाट पेश भएकोमा प्रतिवादीहरुले वारदात गरी नरबहादुरलाई मारेका हुन् भन्ने कुरामा मुरली मगरको पुलिसमा गरेको साविती कागज बाहेक अन्य सबूद प्रमाण बिलकुल नभएको, मुरलीको साविती कागजलाई प्रमाण लिन पनि दिउँसो तास खेली पशुपति घर गएपछि बेलुका पुनः फर्की नरबहादुरको दोकानमा आएको थियो भन्ने कुनै सबूद प्रमाण नभएको, मुख्य वारदात गर्ने भनेका पशुपति उपर सबूद नलाग्ने भनी वादीले मुद्दा नचलाएबाट वारदात गर्ने गराउनेमा मुख्य देखिएको पशुपति उपर मुद्दा नचल्ने किसिमबाट गरेको साविती कागज तथ्यहीन देखिन आउने, उसमा पनि निजको साविती कागज बमोजिम नरबहादुर समेत रहेको अवस्थामा वारदात गरेको साँचो भए नरबहादुरले हल्ला गरी नजिक घरको सूर्यबहादुरले थाहा पाउनु र निजबाट पनि प्रतिवादीहरुले वारदात गरेको कुरा खुल्न आउनु पर्ने संभव भएकोमा सो भएको नदेखिएको र प्रतिवादीहरुले ज्यानै मार्नु पर्ने सम्मको रिसइवी भएको परेको पनि नदेखिएको, अर्कोलाई दोषी देखाई आफुले केही गरेको छैन भन्ने मुरलीको पुलिसमा गरेको उक्त कागजलाई प्रहरीको कसूर कायम गर्नामा प्रमाणयुक्त कागज हो भनी भन्न मिल्दैन । वादी पक्षबाट पुनरावेदन गर्न नआएकोबाट प्रहरीलाई रिहाई दिई बागमती अञ्चल अदालतले गरेको इन्साफ मनासिव ठर्हछ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२५।१।२६।४ को फैसला ।

          १०.  प्रतिवादीहरुलाई सफाई दिने गरेको इन्साफमा चित्त बुझेन भन्ने वादी श्री ५ को सरकारको बागमती अञ्चल अदालत उपर पुनरावेदन परेकोमा पुनरावेदन तहबाट पुनः पेश हुँदा मर्ने नरबहादुर थापाको दाहिने कोखाबाट केही आन्द्रा भुडी निस्कीएको, भूइमा रगत जमेको, ज्यूभरी रगत लागेको, दाहिने कोखामा अगाडि नाभीदेखि कोखासम्म चार इन्च जति काटिएको, सो ठाउँबाट आन्द्राहरु निस्किएको, पछाडिपट्टि दाहिने करङ्गको ढाडको बीचमा खुकुरी वा खुर्पी जस्ता हतियारको टुप्पाले हानेको आकारको १। इन्च लामो काटेको जस्तो चोट, पछाडिपट्टि ४ चोट लागेको भन्नेसमेत ०१९।७।१२।१ मा भएको लासजाँच मुचुल्कामा उल्लेख भएको र मर्ने नरबहादुर कर्तव्यबाटै मरेको भन्ने कुरामा सरजमिन अभियुक्त प्रतिवादीहरु नै स्वीकार गरिसकेकोले नरबहादुर कर्तव्यबाट मरेको भन्ने कुरा कुनै शंका रहेन । अब मर्ने नरबहादुरलाई कोको भई कहाँ के परिबन्धबाट मारेका हुन भन्नेतर्फ हेर्दा वरदात भएको दिन अभियुक्त प्रतिवादीहरु मर्ने नरबहादुरको घर पसलमा तास खेली बसेका सबैले स्वकिारै गरेका र मर्ने नरबहादुुुरको घरपसल नजिकको सूर्यबहादुरले पनि वारदातको दिनमा तास खेलेको देखेको भनी मौकामा भएको सरजमिन मुचुल्कामा लेखी दिएको र अभियुक्त मध्येका पशुपति राईले तास खेल्दा खेल्दै पैसा हारेको भन्ने कुरामा स्वयं पशुपति नै सावित देखिन्छ । अभियुक्त मध्येका मुरली पुलामि मगरले अदालतमा बयान गर्दा इन्कार लिएको छ तापनि, पुलिसमा निजकै इच्छा विरुद्ध कागज गराईएको भए अदालतमा यस परिबन्धबाट मलाई गराएको कागज बदर गरिपाउँ भनी भन्न देखाउन नसकेको र नरबहादुरलाई मारी रुपैयाँ भाग बण्डा नलिएको भए आफूले मारिन पशुपति, टिकाबहादुर, कृष्णबहादुरले मारेका हुन् भनी निजहरुलाई पोल्न पर्ने कुनै रिसइवी पनि नदेखिएको र पोलिनेहरुले पनि यस रिसइविबाट हामीलाई पोलेको हो भन्ने भन्न समेत नसकेको, अभियुक्तहरुको कपडामा लागेका रगत विशेषज्ञद्वारा जाँच भएको नदेखिए तापनि उक्त घटना घटी सकेपछि भोगटे खोलामा गई लुगामा लागेको रगत धोई रुपैयाँ भाग बण्डा लिई गयो भन्ने मुरली पुलामिले गरेको बयान समर्थिक हुने र मौकामा भएको सरजमिनका कुनै पनि मानिसले प्रतिवादीहरुलाई शंका नगरेको भन्ने हकमा पनि उक्त घटना मौकैमा उनीहरुले प्रत्यक्ष देखेका नभए भोलिपल्ट मात्र मुरलीबहादुरले देखेपछि मात्र गाउँ घरमा थाहा भएको भन्ने मिसिलबाट देखिन्छ । उक्त घटना घटेको दिन अभियुक्तहरु तास खेलेको देखेको हुँ भन्ने मर्ने नरबहादुर थापाको घर नजिकको सूर्यबहादुरको भनाई, मुरलीको पुलिसमा गरेको साविती कागज र अन्य प्रतिवादीहरु उक्त दिनमा तास खेलेको कुरामा सबैले स्वीकार गरेबाट प्रतिवादीहरुले सफाई पाउनु पर्छ भन्ने विद्वान अधिवक्ताको बहस जिकिरसंग यसबेञ्च सहमत हुन सक्दैन । अतः माथि उल्लेख भए बमोजिम नरबहादुर कर्तब्यबाटै मरेको ठहरेकाले मुरलीको पुलिसमा भएको साबिति कागजका भरले कृष्णबहादुर, टिकाबहादुरले समाई पशुपतिले हिर्काएको चोटबाट मरेको भन्ने ठहराउन मौकामा देख्ने चश्मदिद साक्षीको अभावमा निजको बयानलाई मात्र सत्य मान्न नसकिने हुँदा अभियुक्तहरु सबैका कर्तव्यबाट नरबहादुरको ज्यान मरेको ठर्हछ । मौकामा भएको लास प्रकृति मुचुल्काबाट लासमा देखिएको चोट पटकैबाट धारा भएकै हतियार प्रयोगमा ल्याई ज्यान मारेको ठहरेमा ज्यानसम्बन्धीका १३ नं.बमोजिम सबै प्रतिवादीहरुलाई सर्वश्व सहित जन्मकैद गर्नुपर्ने ठर्हछ । तर, साधकको लागि पेश हुँदा प्रतिवादीहरुलाई सफाई दिने ठहराई ०२५।१।१६।४ मा डिभिजन बेञ्चबाट भएको निर्णयसंग रुलिङ्ग वाझिएकोले फुल बेञ्च बाट निर्णय भएपछि ठहरेबमोजिम हुनेगरी प्रस्तुत केश निर्णयार्थ स.अ.नियमावली, २०२१ को नियमबमोजिम फुल बेञ्चमा पेशगर्नु भन्ने ०२७।२।९।६को डिभिजन बेञ्चको फैसला ।

          ११.   यसमा तारेखमा रहेका प्रतिवादीहरु रोहवरमा रही ०२७।५।२३।३ मा पेश भई पुनरावेदक वादीतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले र प्रतिवादीहरुतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा पहिले साधक तहबाट ०२५।१।२६।४ को डिभिजन बेञ्चमा पेश हुँदा प्रतिवादीहरुलाई रिहाई दिने गरी फैसला भएको र वादी श्री ५ को सरकारको पुनरावेदन तहबाट पुनः ०२७।२।९।६ को डिभिजन बेञ्चमा पेश हुँदा प्रतिवादीहरुले कसूर गरेकै ठहराई फैसला गरी उक्त २ डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भनी यसबेञ्चमा पेश हुन आएको रहेछ । उक्त दुई डिभिजनको रुलिङ्ग नमिलेको प्रतिवादीहरुले कसूर गरे नगरेको के हो भन्ने कुरामा यसबेञ्चबाट निर्णय दिनुपर्ने भएको छ ।

          १२.  सर्वप्रथम प्रतिवादी मुरलीले प्रहरीमा गरेको साविती कागजको सम्बन्धमा हेर्दा निजले प्रहरीमा गरेको कागजमा १९ साल कार्तिक १० गते राती मर्ने नरबहादरको पसलमा कृष्णबहादुर, धनबहादुर, पशुपति र म समेत तास खेली रहेको, पशुपतिले हारेकाले ४ रुपैयाँ लेउ भनी मर्ने नरबहादुरसंग मागेको, नदिएको कुरामा भनाभन भई यतिकोलाई काट्नै पर्छ भन्ने सल्लाह गरी कृष्णबहादुरले समाती भूईमा पछारी पशुपतिले खुर्पाले दाहिनेपट्टि भंूडीमा हिर्कायो । म चांही कोही मानिस आउँलान् भनी बाटोमा बसें । एक छिनपछि मरेछ । घडी १ र रु.६०। ल्याएको बण्डा गरेका हौं भन्नेसमेत उल्लेख गरेको देखिन्छ । तर, निज मुरलीले अदालतमा बयान गर्दा प्रहरीले कुटपिट गरी साविती कागज गराएका हुन् भनी कसुरमा इन्कार रहेको देखिन आयो ।

          १३.  निज मुरलीको प्रहरीमा भएको उपरोक्त साविती कागज अरु प्रमाणबाट कतिसम्म परी पुष्टि भएको छ भन्नेतर्फ हेर्दा सो कार्तिक १० गते दिउँसो मर्ने नरबहादुरको पसलमा तास खेलेको भन्ने कुरा सबै प्रतिवादीले स्वीकार गरेका भए पनि साँझको टायम फर्की आफ्नो आफ्नो घर गएको भनेका र सो कार्तिक १० गते राती निजहरु आफ्नै घरमा थिए भन्ने निजहरुका साक्षीहरुको बकाई भएको देखिन्छ । मुख्य गवाह जाहेरवाला कृष्णबहादुरको दरखास्त र प्रहरी हे.कं.पूर्णबहादुरको प्रतिवेदन समेतमा राती पनि प्रतिवादीहरु मर्ने नर बहादुरको पसलमा जम्मा भई तास खेलेको भन्ने नभई दिउँसो तास खेली ६ बजे उठेका भन्ने उल्लेख गरेको पाइन्छ । सो कार्तिक १० गते राती प्रतिवादीहरु पुनः जम्मा भई मर्ने नरबहादुरको पसलमा तास खेलेको देखेको भन्ने कसैको भनाई छैन । मर्ने नरबहादुरको घडी र रु.६० ल्याई बण्डा गरेको भन्ने निज मुरलीको साविती कागजमा लेखिएकोमा लासजाँच हुँदा पर्ने नरबहादुरले लगाई राखेको खल्तीमा नोट र पैसा समेत गरी जम्मा रु.२१।२२ त्यसै रहेको पाईएको छ । घडी रुपैयाँ ल्याएको भए मर्ने नरबहादुरको साथ उक्त रुपियाँ त्यसरी छोडेको हुनु नपर्ने । यसबाट उक्त कुरा मिलेको देखिन आउँदैन । पुशपतिले रुपैयाँ माग्दा नदिई निज र नरबहादुरको भनाभन भएको कुरामा अरु प्रतिवादीहरु समेत नर बहादुरलाई मार्न सारिक हुनुपर्ने कारण खुल्न आएको पनि पाईदैन । निज मुरली कार्तिक ११ गते पक्राउ भएको मानिसको कानूनबमोजिम तत्काल कागज नगराई लासजाँच मौका तहकिकात समेतको काम सकिएपछि ऐ.१८ गते मात्र कागज गराएकोबाट शुद्धरुपको साविती भन्ने शंकास्पद देखिन्छ । अतः अन्य प्रमाणहरुबाट निज मुरलीको प्रहरीमा भएको साविती कागज शंकारहित तवरले परिपुष्टि हुनसकेको नदेखिएकोले त्यस्तो सावितीलाई अकाट्य प्रमाण मान्न मिलेन ।

          १४.  मुरली कृष्णबहादुरले लगाएको कपडामा रगत लागेको भन्ने हकमा स्वास्नी सुत्केरी भएकोले कुखुरा काटेको रगत लागेको भन्ने मुरलीको र केराको चोप लागेको भन्ने कृष्ण बहादुरको बयान भएको सो जाँच गर्नपठाएकोमा बिर अस्पताल प्याथोलजी डिपार्टमेन्टबाट जाँच गर्ने व्यवस्था यस विभागमा नभएको भनी जाँच हुन नसकेको र त्यस्तै घटनास्थलमा फेला परेको पानामा चुरोटको पेटीमा रगत लागेकोमा मानिसको पाइतालाको चिन्ह भएको अभियुक्त प्रतिवादीहरुको पाइतालाको चिन्हसंग मिल्ने नमिल्ने जाँचगर्न पठाएकोमा जाँच्न नमिल्ने कारणहरु देखाई जाँच्नमिल्दैन भनी विशेषज्ञहरुले रायव्यक्त गरेको भन्ने प्रहरी हेडक्वाटरबाट लेखिआएकोसमेत रहेछ । विशेषज्ञबाट जाँच हुनसकेको हुनुबेगर मुरली कृष्णबहादुरले लगाएको कपडामा लागेकोदाग मानिसकै रगतकोहो भन्नेकल्पना गर्न र पानामा चुरौटको पेटीमारगत लागेकोमा मानिसको पाइतालाको चिन्ह भएको अभियुक्त हरुकै हो भन्ने अनुमानगर्न नमिल्नेसमेत हुँदा ति कुराहरुलाई प्रमाणमा लिनमिल्ने देखिंदैन ।

          १५.  प्रतिवादीहरु सबै कसुरमा इन्कार रहेका प्रतिवादीहरुले नै कर्तव्य गरी मारेको भन्ने किटानी पोल उजूर नभएको मौका तहकिकात र पछि बुझिएका समेत सरजमिनले प्रतिवादीहरु उपर कसुरमा शंकासम्म पनि गर्न नसकेको, प्रतिवादीहरुले रातमा वारदात गरेको भए रुपियाँ सापट मागेको बिषयमा भनाभन भई हल्ला भएको मर्ने नरबहादुरको पसल नजिक घर हुने सूर्यबहादुरले जरुरै सुनेको हुनुपर्नेमा निजले थाहा छैन भनेको समेत भई मौकामा देखे सुनेको भन्ने कसैको भनाई नभएको यस्तो अवस्थाको वारदातमा चस्मदिद सबूद प्रमाण र ठोस परिबन्दको अभावमा शंकाको भरले कसूर ठहराउन नमिल्ने समेत हुँदा प्रतिवादीहरुले रिहाई पाउने ठर्हछ । कसूर ठहराएको ०२७।२।९।६ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । रिहाइदिने ठहराईको बा.अञ्चल अदालतको सदरगरी ०२५।१।२६।४को डिभिजन बेञ्चले छिनेको मनासिव छ । नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

प्र.न्या.रत्नबहादुर र

न्या.श्री रङ्गनाथ

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल भाद्र २६ गते रोज ६ शुभम् ।