निर्णय नं. ५५६ – जग्गा तिरो जालसाजी
निर्णय नं. ५५६ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको दे.फु.नं. ५७ निवेदक...
निर्णय नं. ५५६ ने.का.प. २०२७
फुल बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०२५ सालको दे.फु.नं. ५७
निवेदक : कास्की स्याङ्जा बेसी बस्ने जमदार क्षेत्रबहादुर सापकोटा क्षेत्री
विरुद्ध
विपक्षी : ऐ.बस्ने रुद्रबहादुर कुँवर क्षेत्री समेत
मुद्दा : जग्गा तिरो जालसाजी
(१) तिरो कबूल गरी नतिरे जग्गा पाउँदैन भन्ने १९४२ सालको सनद र दर्तावालाबाट तिरो लिई जग्गा बुझाई दिनु भन्ने १९९२ सालको खड्गनिसाना–१९९२ सालको खड्गनिशानामा सन्धिसर्पनको लामपाटो छुचि भन्ने जग्गा दर्तावालाबाट तिरो लिई बुझाई दिनु भन्ने उल्लेख भएको कारण १९४२ सालको सनद (जसमा उक्त जग्गाको तिरो कबूल गरी तिर्दैनन् भन्या पाउँदैन भन्ने बोली परेको) बमोजिमको कबूलियत र तिरो तिरेको प्रमाणको अभावमा जग्गा बँझाई सन्धिसर्पन कायम रहेको मान्न नमिल्ने भन्ने तर्क मनासिव नपर्ने ।
उक्त १९४२ सालको सनद बमोजिम रैतिहरुले कबुलियत गरी तिरो तिरेको प्रमाण वादीहरुले दिनसकेका छैनन् । उक्त सनदमा तिरो कबुल गरी तिर्दैनन् भने पाउँदैनन् भन्ने बोली परेकोले कबुलियत र तिरो तिरेको रसिदको अभावमा जग्गा बँझिई सन्धिसर्पन कायम रहेको मान्न मिल्दैन भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा १९४२ सालको सनद पछि १९९२ सालमा सन्धिसर्पनको लामपाटो छुची भन्ने जग्गा दर्तावाला नरवीर धर्मराजबाट तिरो लिई बुझाई दिनु भन्ने अर्को खड्गनिशाना भएको भएपछि सो अघि १९४२ सालको सनदबमोजिम कबुलियत र तिरो तिरेको प्रमाण नभएको भन्ने तर्कगर्नु मनासिव नपर्ने र पछिको हकमा १९९२ सालको ख.नि.सवालमा दर्तावाला नरवीर धर्मराजबाट तिरोलिई बुझाइदिनु भन्ने प्रष्ट उल्लेख हुनाले विद्वान व.अधिवक्ताको उपरोक्तबहस जिकिरसंग सहमत हुनसकिएन ।
(प्रकरण नं. १९)
निवेदक प्रतिवादीतर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद
विपक्षी तर्फबाट :
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री नयनबहादुर
१. हाम्रो उपल्लो ह्याङ्गजा बेसीका ३ झुत्ताका रैतिको परापूर्वदेखि ८४ खेतको बियाड गौचरण पानीघाट रहेको लामपाटो ठूलो खोर माझको र डाँडो छुचि भन्ने जग्गाहरु ०२५ साल अगावै नैनसिं कुँवरका नाउँमा खर्चरी तिरो रु.१।५० दर्ता भई चलन गरी आएकोमा पूर्वपट्टि केही जग्गा खर्चरी कायम गरी पश्चिमपट्टिको जग्गा दर्ता गरेकोमा उजुरी पर्दा दर्ता बमोजिमको तिरो उजूरवालाहरुले तिर्न कबुल गर्छन भने सो जग्गाहरु बँझाई गोठ बियाड सन्धी राख्न पाउँछन दिनु भन्ने १९४२ सालमा पोखरा तहसिलका नाउँमा सनद भई तिरो कबूल गरी माझखोर ठूलोखोर छुचि समेत जग्गा दामासाईले तिरो चलाई सन्धिसर्पन चलन गरी आएको ९० सालको माहाजाँचमा चन्द्रबहादुर, मानध्वज, बलबहादुर, हर्षबहादुर समेतको नाउँमा जिम्बा बाली खान्गी भनी साविक गोडा भिडाई दर्ता भएको साविक बमोजिम दामासाहीले तिरो तिरी साविकै बमोजिम गोठ बियाड चलन बर्तन गरी आएको सो जग्गा मध्ये लामोपाटो माझखोर ठूलोखोर मेरो एकलौटी जग्गाको बाली नोक्सान पारी दिए, बिगो भराई पाउँ भनी अन्याय मध्येको चन्द्रबहादुरले पोखरा अदालतमा उजूर गर्दा यही भएको व्यहोराको हाम्रो प्रतिउत्तर परी ०१०।२।७ गते पोखरा अदालतबाट फैसला भएकोमा ०९ सालको तिरो नबाफ सिंलाई बुझाउन जाँदा बुझी नलिएकोले पोखरा तहसिलमा धरौट राखेकोमा निज हर्षबहादुरले छुचि खेत २।५ जिम्बा बाली खान्गी जानी मैले र भाइ क्षेत्रबहादुरले आधी भोग तिरो गरेका छौं, अरु कलमको हकमा दर्तावालाबाट बुझी लिने गरी आएको हुँदा दर्तावालाबाट बुझेको छु भन्नेसमेत बयान तेरो मेरो हुन आएकोले ३५ दिनभित्र इलाका अदालतमा गई नालिस गर्नु भनी पोखरा तहसिलले १०।३।२९ गते पर्चा गरेको छुचि खेत २।५ आधी अन्यायको क्षेत्रबहादुरले रु.७५० मा सोमकुमारीलाई बिक्री गर्ने सोमकुमारी लिने हर्षबहादुर, दुर्गानारायण साक्षीमा र रिपुमर्दन मेहरमान सनाखत साक्षीमा बस्ने गरी लिखत ०९।१२।६ मा पास समेत गरी सकेका रहेछन् । ४२ सालको सनद कायम रही पछि पोखरा तहसिलका नाउँमा खड्गनिशाना सवाल पनि भएको छ । हक नपुग्नेबाट लिनु दिनु गरेको जालसाजी राजीनामा बदर गरी तिरो बुझाई रैतिको साविक बमोजिम सन्धिसर्पन बियाड राखी चलन वर्तन गर्न हाम्रो हक सदर थामी पाउँ भन्नेसमेत कृष्णबहादुर खत्री समेत जना ६३ र आफ्नो हकमा समेत असमान सिं कुवँरको ०१०।४।३२ को फिरादपत्र ।
२. ४२ सालमा भएका सनदबमोजिम तिरो नतिरेका र ९० सालका जाँचमा हर्षबहादुर समेतका नाउँमा दर्ता भएको त्यसउपर उजूर नभएको समेत हुँदा क्षेत्रबहादुरको हकको जग्गा म सोमकुमारीले लिएको राजीनामा सदर गरी जग्गा दर्तावालाकै सदर गरिपाउँ भन्नेसमेत सोमकुमारी, हरमान, रिपुमर्दन, दुर्गानारायण, चन्द्रबहादुर समेतको प्रतिउत्तर ।
३. बाबुसमेतका नाउँमा ९०सालमा जाँचमा दर्ता भई भोग आएकोमा मेरो अंश भागको जग्गा सोमकुमारीलाई बिक्री गरेको हो भन्नेसमेत क्षेत्रबहादुर, हर्षबहादुरको एउटै प्रतिउत्तरपत्र ।
४. हाम्रो ३ झुक्ताका रैतिको बियाड राख्ने, बस्तु सुकाउने, मोठ राख्ने सन्धिसर्पनको जग्गा भन्ने वादीहरु र सो जग्गा ३२ सालका सनदले तालुकी खान्गी पाएको अघि मुद्दा परी आखिरी तहबाट जिती पाएको भन्ने प्रतिवादी जिकिर भएको र छिनुवा मिसिलमा ०५।२।२० गते भएको आखिर तहको फैसला र चलन चलाई पाउँ भन्ने क्षेत्रबहादुरको दरखास्तबाट दशौंद लिई चलन चलाएको समेत देखिन्छ तापनि, ४२ सालमा अर्को सनद भएको त्यसमा सरकारबाट ३ झुत्ताका रैतिलाई सन्धिसर्पन परेको देखिनाले र उस मौका तहसिल इटाचपली समेतबाट कारवाही भई तिरो तिर्छन्, कबुलियत गर्छन् भने जग्गा सन्धी नै राखी दिनु, तिरो तिर्दैन भने पाउँदैनन् भन्ने लेखिएको देखिएबाट र ९२।८।३।२ मा पोखरा तहसिलका नाउँमा भएको खड्गनिशाना सवालको ९२।९३ दफामा सन्धिसर्पनको लामपाटो छुचि भन्ने जग्गा दर्तावाला नरविर धर्मराजबाट तिरो लिई सन्धिसर्पनको जग्गा बँझाई दिनु भन्ने लेखिएको समेत हुनाले प्रतिवादीको हक भोग ठहर्याई बिक्री गरी लिए दिएको सदर मान्न नहुने समेत हुँदा झगडा परेको छुचि भन्ने नं. ६।७ को जग्गामा प्रतिवादीको दावी पुग्न सक्दैन । वादी दावी बमोजिम ३ झुत्ताका रैतिहरुको सन्धिसर्पनको ठर्हछ । वादी दावीको ३ झुक्ताको रैतीको सन्धिसर्पनको जग्गाको तिरोको हकमा वादी प्रतिवादीका समेतका ३ झुक्ताको रैतीबाट बुझ्नु पर्ने वादी दावीको छुची खेत मुरी २।५ का हकमा क्षेत्रबहादुरबाट सोमकुमारीले राजीनामा गरी लिएको रु.७५० को राजीनामाको हकमा बदर हुन्छ । थैलीका हकमा उजूर परेका बखत ठहरे बमोजिम हुने हुँदा सन्धी रही बझिएको जग्गा हारजित भई तालुक अड्डाबाट समेत ठहर भई लुकेको सो फैसला काट्नलाई जाहेर हुने ठर्हछ भन्ने पोखरा अदालतको ०१२।२।४।४ को फैसला ।
५. हाम्रो साविक आवादी भोग तिरोको जग्गा गोश्वरा सन्धिसर्पन ठहराएको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरुको र सन्धिसर्पनको जग्गा सुक्री बिक्री गरी खाने तालुकदारलाई वर्खास्त गर्नुपर्ने सो नभएकोले चित्त बुझेन भन्नेसमेत वादीवालाहरुको पुनरावेदक दर्ता उतारमा ३२ सालको सनद र २००१।६ बेमितिको बिन्तिपत्र, पोताको पर्चा बमोजिम हाल मोही बलबहादुर भन्नेसम्म लेखिएको त्यसमा ४२ सालको सनद ९२ सालको खड्गनिशाना उपरेको अर्को खड्गनिशाना सनद बमोजिम दर्ता भएको नदेखिई खाली बिन्तिपत्र र पर्चा बमोजिम भन्नेसम्म लेखिएको सो मिसिलबारे पाटन लगत फाँटले दिएका जबाफ बमोजिम जाउलाखेल तहविल समेत बुझेमा कुही मर्की जिर्ण भई पत्ता लाउन नसकेको भनी जबाफ दिएको र पेश भइराखेको सनद नक्कल उतारबाट तिरो लिई बँझाई दिनु भन्ने लेखिएको नक्सामा पनि बाँझो कुनिएकोले वादी प्रतिवादी समेतले दर्तावालाहरुलाई तिरो बुझाई पालमा दाखेल गराउनु भनी सुनाएको र अरु अपीलाटहरुको अंश मुद्दा परी हारजित भएको देखिएकोले इन्साफ शुरुले ठहराई जाहेर गरेको मनासिव ठर्हछ भन्ने अपील पहिलाको ०१३।९।३।२ को जाहेरी फैसला ।
६. सो फैसला उपर चित्त बुझेन भन्ने प्रतिवादी हर्षबहादुर, क्षेत्रबहादुरको पुनरावेदन परेको र वादीहरुको पनि पुनरावेदन परेकोमा वादी तर्फको वारेससमेत रुद्रबहादुरले ०१५।२।२१ को तारेख गुजारेकोले पुनरावेदन डिसमिस हुन्छ, सनदले बाँझो रही हामीहरुले तिरो भरो गरी आएका जग्गाको तिरो नबुझी बिक्री गर्न नपाउने जग्गा बिक्री गरेको बदर गराई पाउँ भन्नेसमेत वादी ४२ सालको सनद बमोजिम तिरो बुझाएका र ९० सालका जाँचमा पनि हाम्रै नाउँमा दर्ता भएको तिरो गरेको जग्गा सदर थामी पाउँ भन्ने प्रतिवादी जिकिर, तिरो कबुलियत लेखी तिर्छन भने भन्ने लामपाटो छुचि भन्ने जग्गा बझाई दिनु, तिरो कबुल गर्दैनन् भने अर्काले कबूल गरी तिरो तिरी आएको जग्गा नरबिरहरुले पाउँदैनन् भन्ने र ९२ सालको खड्गनिशानामा सन्धिसर्पनको लामपाटो छुचि भन्ने जग्गा दर्तावाला नरविर धर्मराजबाट तिरो लिई सन्धिसर्पनको जग्गा बँझाई दिनु भन्ने लेखिएको, त्यस्तो सनद खड्गनिशानीले बुझिएका सन्धिसर्पन जग्गा प्रतिवादीको दर्ताको नाताले मात्र एकलौटी हक ठहराउन नहुने हुँदा शुरुको सदर गरी जाहेर गरेको इन्साफ अपील पहिलाको मनासिव छ भन्नेसमेत सर्वोच्च अदालत सिगंल बेञ्चको ०१५।४।२ को फैसला ।
७. वादीहरुको पुनरावेदनतर्फ डिसमिस जागी इन्साफ हुँदा प्रतिवादीहरुको पुनरावेदनतर्फ शुरुको इन्साफ सदर भई सिंगलबेञ्चबाट ०१५।४।२।५ मा फैसला भएकोले तालुकीबाट बर्खास्त गरी कीर्ते कागजका ऐनबमोजिम सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकिरतर्फ पनि शुरुको सदर गरी जाहेर गरेको इन्साफ अपील पहिलाको मनासिव छ भन्ने ०१५।६।१५।४ सिंगलबेञ्चको फैसला ।
८. सिंगलबेञ्चको इन्साफ दोहर्याईपाउँ भन्ने प्रतिवादी क्षेत्रबहादुरले चढाएको निवेदनमा यसमा व्यहोरा साँचोभए रिभ्यू गरिदिनु भन्ने हुकुमबक्सेको छ भनी श्री ५को महाराजाधिराजको प्रमुखनिजी सचिवालयबाट लेखिआएको०१५।११।२७।३को हुकुम प्रमांगी ।
९. झगडा पर्न आएको जग्गाहरुमा अघि पनि सन्धिसर्पन राखी पाउँ भन्नेतर्फ उजूर पर्दा दर्ता बमोजिम तिरो तिर्छन् भने बँझाई दिनु भन्ने ४२ सालमा सनद भएको भन्ने कुरा देखिन आएको र तिरो बाँकीमा जग्गा लिलाम भएको भन्न निवेदकले नसकेको सन्धी राखी पाउँ भन्ने वादीहरुको दावी भएको सनद खड्गनिशानाले बँझिएको जग्गा व्यक्तिगत राजीनामा गरी लिनुदिनु गरेको सदर गरिपाउँ भन्नेसमेत निवेदकको जिकिर मनासिव नभएकोले स.अ. सिंगलबेञ्चको इन्साफ मुनासिवछ भन्नेसमेत स.अ.सिंगलबेञ्चको ०१७।४।६।५को फैसला ।
१०. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्रतिवादी क्षेत्रबहादुरले चढाएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेरी हुँदा एकपटक नियम बमाजिम डिभिजन बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०२०।१।३।३ मा विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको हुकुम प्रमांगी ।
११. ४२ सालको रुक्का सनदको नक्कल हाम्रो जग्गा बिगो मुद्दामा पेश भएको छिनुवा मिसिल पो.अ.मा छ भनी वादी भिमबहादुर समेतले प्रमाण दिएको सो ४२ सालको सनदको नक्कल समेतको मिसिल र क्षेत्रबहादुरको र हर्षबहादुरको अंशमुद्दा ०५ सालमा पोखरा अदालतबाट बण्डा छुट्याएको भन्ने मिसिलबाट देखिएको सो अंशमुद्दाको मिसिल समेत झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२२।१२।११।५ को डिभिजन बेञ्चको आदेश ।
१२. सो बमोजिम आएको नदेखिएकोले उक्त सनद त्यहाँ भए पठाई दिनु भनी अर्थ मन्त्रालय मालपोत विभाग लगत फाँटमा लेखी पठाई आएपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने ०२४।३।२०।३ को डिभिजन बेञ्चको आदेश ।
१३. यही झगडा परेको लामपाटी छुचि भन्ने जग्गा सन्धिसर्पन राखी पाउँ भनी उजूर पर्दा दर्ता बमोजिमको तिरो तिर्छन् भने जग्गा बँझाई दिनु भन्ने १९४२ सालमा सनद र ९२ सालमा खड्गनिशाना भएको देखिएको सो सनद खड्गनिशाना बदर भई अर्को सनद खड्गनिशाना भएको छ भनी त्यसतर्फ कुनै सबूद प्रमाण निवेदकले दिन नसकेको ४२ सालको सनद बमोजिम रैतिहरुले तिरो नतिरेका भए ९२ सालमा खड्गनिशाना पनि हुन नपर्ने झगडा परेको जग्गा अहिलेसम्म पनि बाँझो नै रहे भएको मिसिलसाथ रहेको नक्साबाट देखिने, त्यस्तो सनद खड्गनिशानाबाट बँझिएको जग्गालाई व्यक्तिगत लिनु दिनु गरेको राजीनामा सदर गरिपाउँ भन्नेसमेत निवेदकको जिकिर मनासिव भन्न नहुने हुँदा सर्वोच्च अदालत सिंगलबेञ्चको इन्साफ सदर गरी ०१७।४।६।५ मा सर्वोच्च अदालत सिंगलबेञ्चबाट भएको इन्साफ मनासिव ठर्हछ भन्ने ०२४।११।३०।६ को डिभिजन बेञ्चको फैसला ।
१४. सो फैसलाउपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्र.क्षेत्रबहादुरको निवेदन परेको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो हो र एकपटक पनि फुल बेञ्चबाट नदोहरिएको मुद्दाहरु रहेछन भने फुल बेञ्चबाट दोहराई हेरी रुल नियमबमोजिम गरिदिनु भन्ने हुकुम बक्सेको छ भनी विशेष जाहेरी विभाग राजदरबारबाट २५।६।११।५ मा लेखी आएको हुकुम प्रमांगी ।
१५. बक्स भई आएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्न फाँटमा बुझाई दिनु भन्ने माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।६।१८।१ को आदेश ।
१६. ९२।८।३।२ मा पोखरा तहसिलका नाउँमा भएको ख.नि. सवालको ९३ दफामा सन्धिसर्पनको लामपाटो छुची भन्ने जग्गा दर्तावाला नरवीर धर्मराजबाट तिरो लिने भनी लेखिएकोले सो दर्ताको उतार बुझ्नु पर्दा मौजे ह्याँजा बसेकी जि.मु.बलबहादुर वा अरु जिम्मावालाको जिम्मा हेरी मोठ २६ कित्ता २६२२ को वरपरका कित्ताहरु खोजी दर्तावाला नरवीर धर्मराजको दर्ता उतार गरी पठाई दिनु वा सो कित्ता कै मोठ २६ कित्ता २६२२ हो भन्ने केबाट देखिन आउँछ, सो खुलाई पठाउनु भनी पोखरा माल कार्यालयमा लेखी पठाई सो आएपछि पेश गर्नु भन्ने ०२६।३।१३।६ को फुल बेञ्चको आदेश ।
१७. यसमा तारेखमा रहेको निवेदक प्रतिवादी क्षेत्रबहादुर र वादीहरुको वा. मकरमान रोहवरमा रही ०२६।११।३०।६ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्माले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको जग्गामा निवेदक प्रतिवादीको व्यक्तिगत हक पुग्छ पुग्दैन, निजले सोमकुमारीलाई राजीनामा गरी दिएको भनेर हुने नहुने के हो भन्ने प्रश्नको मुख्य निर्णय दिनुपर्ने भएको छ ।
१८. हाल झगडा परेको छुची भन्नेसमेत जग्गा अघि राजबर धर्म सिं धर्मराजहरुले कबोल गरी दर्ता गरेकोमा रैतिहरुको उजूर पर्दा राजबर धर्म सिं धर्मराजहरुले कबूल गरेको तिरो बुझाउँछौं भनी कबुलियत लेखी तिर्छन् भने लामपाटो छुची भन्ने जग्गा समेत बाँझो राखी गोठ बियाड राख्न पाउँछ ज–जसको जे जे व्यहोराको कबुलियत गर्नुपर्छ गराई सो लामपाटो छुची भन्ने जग्गा समेतको तिरो नरबीर समेतबाट असूल गरी सो जग्गा यै सालदेखि बुझाई गोठ बियाड राख्न निजहरुलाई दिनु तिरो कबुल गरी तिर्दैनन् भनी अर्कोले कबोल गरी तिरो तिरी आएको जग्गा निजहरुले पाउँदैन भन्नेसमेत १९४२ सालमा सनद भएको र सन्धिसर्पनको लामपाटो छुची भन्ने जग्गा दर्तावाला नरवीर धर्मराजबाट तिरो लिई सन्धिसर्पनको जग्गा बँझाई दिनु भन्ने पोखरा तहसिलको नाउँमा भएको १९९२।८।३।२ को खड्गनिशाना सवालको ९३ दफामा उल्लेख भएको समेत देखिन आयो ।
१९. उक्त १९४२ सालको सनद बमोजिम रैतिहरुले कबुलियत गरी तिरो तिरेको प्रमाण वादीहरुले दिनसकेको छैनन् । उक्त सनदमा तिरो कबुल गरी तिर्दैनन् भने पाउँदैनन् भन्ने बोली परेकाले कबुलियत र तिरो तिरेको रसिदको अभावमा जग्गा बँझिई सन्धिसर्पन कायम रहेको मान्न मिल्दैन भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको मुख्य बहस जिकिर भएको हकमा १९४२ सालको सनदपछि १९९२ सालमा सन्धिसर्पनको लामपाटो छुची भन्ने जग्गा दर्तावाला नरवीर धर्मराजबाट तिरो लिई बँझाई दिनु भन्ने अर्को खड्गनिशाना भएको भएपछि सो अघि १९४२ सालको सनद बमोजिम कबुलियत र तिरो तिरेको प्रमाण नभएको भन्ने तर्क गर्न मनासिव नपर्ने र पछिको हकमा १९९२ सालको ख.नि.सवालमा दर्तावाला नरबीर धर्मराजबाट तिरो लिई बँझाई दिनु भन्ने प्रष्ट उल्लेख हुनाले विद्वान वरिष्ठ अधिवक्ताको उपरोक्त बहस जिकिरसंग सहमत हुन सकिएन ।
२०. यसै मुद्दामा भएको ०११।८।१३।१ को नक्सा हेर्दा झगडा परेको न.नं.६।७ को जग्गा आवादी नभई बाँझो भन्ने जनिएको र न.नं.७ को कित्तामा पोखरी गोठ कटेरा भएको देखिएको समेतबाट १९४२ सालको सनद र १९९२ सालको खड्गनिशाना सवालबमोजिम जग्गा सन्धिसर्पन नै राखी आएको प्रमाणीत हुन्छ । वादी चन्द्रबहादुर कंँुवर प्रतिवादी नरबहादुर कुवँर समेतको लामपाटो समेत कित्तामा मुद्दा परेकोमा उक्त १९४२ को सनद बमोजिम जग्गा सन्धिसर्पन कायम हुने ठहराई पोखरा अदालतले ०१०।२।७।४ मा छिनेको इन्साफ सदर गरी अपील पहिलाबाट ०१०।९।४।६ मा फैसला भएको सौ फैसला अन्तिम भइरहेको समेत प्रमाण मिसिलबाट देखिन्छ ।
२१. तसर्थ, उपरोक्त उल्लेखित प्रमाणहरुबाट झगडा परेको जग्गा दर्ताबमोजिम मेरो व्यक्तिगत हकभोगको राजीनामा लिनु दिनु गरेको सदर हुनुपर्ने भन्नेसमेत निवेदक प्रतिवादीको जिकिर पुग्न सक्दैन । जग्गा सन्धिसर्पन कायम हुने र त्यस्तो सन्धिसर्पनको जग्गा किनबेच गरेको बदर हुने समेत ठहराई शुरुदेखि सिंगलबेञ्च लगायत तह तह फैसला भएको सदर गरी ०२४।१२।३०।६ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव छ । कोर्ट फी राखेकोले मुद्दा दोहर्याएमा निवेदकलाई अरु सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या.श्री हेरम्बराज र ]
न्या.श्री धनेन्द्रबहादुर
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२६ साल चैत्र ७ गते रोज ६ शुभम् ।