निर्णय नं. ५५४ – हक सफा
निर्णय नं. ५५४ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री प्रकाशबहादुर के.सी...
निर्णय नं. ५५४ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
न्यायाधीश श्री प्रकाशबहादुर के.सी
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०२६ सालको दे.फु.नं. ८६
पुनरावेदक : गुल्मी जोगी गाडे बस्ने अम्बरबहादुर खत्री
विरुद्ध
विपक्षी : ऐ उप्रीकोट अर्खले बस्ने चेहर सिं खत्री क्षेत्री
मुद्दा : हक सफा
(१) लेनदेन व्यवहारको १६ नं.–जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भएपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिमको म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने ।
तसर्थ, जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिम म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने सिद्धान्त कायम गर्न उपयुक्त देखिंदा प्रस्तुत मुद्दामा ०२५।१२।२६।२ को डिभिजन बेञ्चले व्यक्त गरेको रायसंग मेरो राय सहमत हुन्छ ।
(प्रकरण नं. ९)
फैसला
न्या.श्री वाशुदेव शर्मा
१. मेरो ३ पुस्ता भित्रको भनिजा तिलकबहादुर ऋणी, विपक्षी चेहर सिं धनी भई रु.४०००। को २०।११।१६ मा राजीनामा गरी लिनु दिनु गरेछन् । मैले थाहा पाई उजूर गर्दा उक्त पास भएको थैली कायम भइरहेको र विपक्षीको पुनरावेदन परी लुम्बिनी अञ्चल अदालत समेतबाट फैसला भएकोले कायम भएको थैली रु.४०००। बुझी फैसला बमोजिम हकसफा गरी दिनु पर्यो भन्दा गर्दिन भन्ने जबाफ दिएबाट थैली धरौट राख्न ल्याएको छु । रुपैयाँ बुझाई जग्गा हक सफा गरिपाउँ भन्ने अम्बरबहादुरको ०२२।९।१२।२ का दरखास्त ।
२. रु.३४००। लेनदेन गरी जालसाजीबाट रु.४०००। को लिखत पास गरेको भनी जालसाजी तर्फ छुट्टै नालेस गरेको हुनाले जालसाज मुद्दाबाट ठहरेको थैली तिराई निखनाई पाउँ भन्ने हक सफा मुद्दामा वादीको दावी भएको जालसाजी मुद्दामा थैली बढाई जालसाज गरेको भन्ने दावी पुग्न सक्दैन भन्ने ०२२।३।२७।१ मा अर्घाखाँची तथा गुल्मी इस्मा जिल्ला अदालतबाट फैसला भएको, सो उपर दुवै थरको पुनरावेदन परी चित्त बुझाई बसेको भएपछि उक्त फैसलाको मितिबाट ऐनले पुनरावेदन नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र लेनदेन व्यवहारको १६ नं.बमोजिम ठहरेको थैली रु.४००० धरौट राख्न सक्नुपर्ने म्याद भित्र धरौट राख्न नसकेकाले निखन्न दिनु नपर्ने भन्ने प्रतिवादीको बयान ।
३. हक सफा मुद्दाको पुनरावेदनको टुंगो नलागी हक सफा गर्न पाउने नपाउने तर्फ यकिन नहुँदा धरौट राख्न नसकेको भनी ठहराउन ठिक नपरी अञ्चल अदालतबाट टुंगो लागेको मितिले ३५ दिनभित्र दरखास्त साथ धरौट राखेको मनासिव देखिएकोले उजुरी बमोजिमको रुपैयाँ प्र.लाई रजिष्ट्रेशनका ३५ नं.बमोजिम पुनरावेदनको अवस्था नाघेपछि थैली बुझाई वादीलाई चलानी पूर्जी गरी दिने भन्ने गुल्मी मालको २३।३।३१ को फैसला ।
४. वादीले म्याद गुजारी राखेको धरौटलाई बुझ्नु पर्ने ठहराई फैसला गरेको हुँदा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
५. जालसाजी मुद्दामा ०२२।३।२७ मा गुल्मी जि.अ.बाट भएको फैसलाउपर दुवै थरी पुनरावेदन नपरी चित्त बुझाइ बसेको देखिएबाट थैली यकिन हुन नआएको भन्ने मनासिव नपर्ने । थैली ठहर भई फैसला भैसकेपछि थैली थाहा नभएको भन्न नहुने । जालसाजी मुद्दामा पुनरावेदन लाग्ने अवस्था पुगेको ३५ दिनभित्र लेनदेन व्यवहारको १६ नं.बमोजिम थैली धरौट राख्नु पर्नेमा सोम्यादभित्र थैली धरौट राखेको नदेखिएको समेत हुँदा खारेज गर्नुपर्नेमा प्र.चेहर सिंलाई थैली बुझाई अम्बरबहादुरलाई पूर्जी गरिदिनुपर्ने ठहराई गुल्मीमालले गरेको इन्साफ गल्तीठर्हछ भन्ने लु.अञ्चलाधीश कार्यालय शाखा नं.२ तम्घासको०२४।३।२०।३को फैसला ।
६. हकसफा मुद्दामा लुम्बिनी अं.अ.बाट अन्तिम फैसला भएको ३५ दिनभित्र लेनदेन व्यहोराको १६ नं.बमोजिम धरौट राखेको हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
७. यसै सम्बन्धको जालसाजी निखनाई पाउँ भन्ने मुद्दाको मिसिल झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२४।१०।२९।२ को आदेश ।
८. यही वादीले पहिले प्रतिवादीहरुले रु.३४००। लेनदेन गरी ४०००।को लिखत खडा गरेछन् । थैली बढी राखी पास गरेको राजीनामा बदर गरी रु.३४००। थैली कायम गरिपाउँ भन्ने दावी लिई जालसाजीतर्फ र जालसाजी मुद्दाबाट कायम भएको थैली बुझाई हक सफा गरिपाउँ भन्ने दावी लिई हक सफातर्फ छुट्टा छुट्टै नालेस दिएकोमा हक सफा गर्न पाउने ठहराई ०२३।३।२७।१ मा भएको फैसला उपर प्रतिवादीको पुनरावेदन परी लुम्बिनी अञ्चल अदालतबाट ०२३।८।६।१ मा मात्र फैसला गरेको भए पनि जालसाजी मुद्दापट्टि उक्त जि.अ. बाट थैली बढाई जालसाजी गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहराई सोही ०२३।३।२७।१ मा भएको फैसला उपर वादीले पुनरावेदन गरी चित्त बुझाई बसेकोबाट अन्तिम भइरहेको समेत देखियो । थैली कायम गर्नेतर्फ मुख्य सो जालसाजी मुद्दाबाट थैली रु.४०००। कायम भइसकेपछि लेनदेन व्यवहारको १६ नं.बमोजिम सो जालसाजी मुद्दामा पुनरावेदन नलाग्ने अवस्था पुगेको ३५ दिनभित्रै तिर्नुपर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्ने नराखी हक सफा मुद्दापट्टि लुम्बिनी अञ्चल अदालतबाट ०२३।८।६।१ मा फैसला भएपछि मात्र सो मितिले म्याद कायम गरी थैली धरौट राखेकोलाई म्यादभित्रै थैली धरौट राखेको मान्न नमिल्ने देखिन आएको समेत हुँदा उजुरी खारेज हुने ठहराई गुल्मी मालको उल्टी गरी लुम्बिनी अञ्चालाधी कार्यालय शाखा नं. २ तम्घांसबाट ०२४।३।२०।३ मा छिनेको इन्साफ मनासिव ठर्हछ । यस्तै पूर्णनाथ जोशीको र भिमबहादुर पाठक समेतको हक सफा निखनाई पाउँ भन्ने घटी थैली लिनु दिनु गरी बढी थैली राखी जालसाज गरेको लिखत बदर गरी थैली कायम गरिपाउँ भन्ने छुट्टा छुट्टै मुद्दा परेकोमा जालसाजी मुद्दापट्टि बढी अंक लेखी जालसाज गरेको नठहरी ०२५।४।१६।४ को डिभिजन बेञ्चबाट फैसला भई थैली कायम भइसकेपछि सोही मितिले ३५ दिनभित्र लेनदेन व्यवहारको १६ नं.बमोजिम थैली धरौट राखेको भएमात्र निखनाई पाउने कुरामा हक सफा निखनाईपाउँ भन्ने मुद्दामा ०२५।७।९।६ को डिभिजन बेञ्चबाट फैसला गर्दा कायम हुन आएको थैली धरौट राखे निखन्न पाउने ठर्हछ । जनाउ पाएको मितिले ३५ दिनभित्र धरौट राखे निखनाई दिने भन्नेसमेत ठहर गरेको देखिएकोले उक्त ०२५।७।९।६ को डिभिजन बेञ्चसंग यो बेञ्चको राय सहमत नभई रुलिङ्ग नमिलेको हुँदा सर्वोच्चअदालत नियमावली, ०२१ को नियम ३३ बमोजिम निर्णयार्थ फुल बेञ्चमा पेश गर्नु भन्ने ०२५।१२।२५।२ को डिभिजन बेञ्चको फैसला ।
९. यसमा ०२६।४।१३।३ मा पेश भई निर्णयको लागि आजको कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । प्रस्तुत मुद्दा ०२५।१२।२५।२ को डिभिजन बेञ्चबाट फैसला हुँदा पूर्णनाथ जोशीको र भिमबहादुर पाठक समेतको हक सफा निखनाई पाउँ भन्ने मुद्दामा ०२५।७।९।६ को डिभिजन बेञ्चबाट भएको फैसलासंग रुलिङ्ग नमिलेको भनी पेश हुन आएको मुख्य बिषय घटी थैली लिनु दिनु गरी बढी थैली राखी जालसाज गरेको लिखत बदर गरी थैली कायम गरिपाउँ भन्ने र हक सफा निखनाई पाउँ भन्ने छुट्टा छुट्टै मुद्दा परेकोमा जालसाजी मुद्दा पहिले छिनिई थैली कायम भएकोमा पहिले नै थैली धरौट राख्नु पर्ने वा हक सफा निखनाई पाउँ भन्ने मुद्दा छिनिएपछि मात्र थैली धरौटी राख्नु पर्ने के हो भन्ने कुरामा यसबेञ्चबाट निर्णय दिनुपर्ने भएकोछ । तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा लेनदेन व्यवहारको १६ नं.मा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा थैली समेत ल्याई धरौट राख्नु पर्छ, थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नुपर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । उक्त ऐनमा बुझाउन पाउने ठहरी फैसला भई भन्ने वाक्यांश रहेको र बुझाउन पाउने नपाउने कुरा हक सफा निखनाई पाउँ भन्ने मुद्दाबाटै निर्णय हुने हुनाले थैली घटी बढीतर्फ छुट्टै परेको जालसाजी मुद्दा पहिले छिनिएको भए पनि हक सफा निखनाई पाउँ भन्ने मुद्दा फैसला भई बुझाउन पाउने ठहरेपछि मात्र थैली धरौट राख्नु पर्ने हो कि भन्ने तर्क उठ्न सक्छ । तर, उक्त ऐन बनाउँदा विधायिकाले थैली घटी बढी र हक निखनाई पाउँ भन्नेसमेत एउटै मुद्दा परेको अवस्थासम्मलाई ध्यानमा राखेर होला बुझाउन पाउने ठहरी फैसला भई भन्ने वाक्यांश राखेको भए पनि वास्तवमा थैलीमा मुख नमिलेकोमा अड्डाबाट फैसला नभई यकिन नहुने हुनाले पहिले धरौट राख्न नमिल्ने हुँदा मुख्य थैली यकिन हुनलाई अड्डाबाट फैसला हुनुपर्ने र फैसला भई थैली यकिन भएपछि थैली धरौट राख्नु पर्ने उक्त ऐनको खास मनसाय देखिन आउँछ । कुनै ऐनको व्याख्या गर्दा एउटा वाक्यांश सम्मलाई लिएर होइन कि त्यस नम्बरमा उल्लेख भएको सम्पूर्ण कुरालाई लिई व्याख्या गर्नुपर्ने कानून व्याख्या सम्बन्धी सिद्धान्त हो । थैली घटी बढीतर्फ जालसाजीमा छुट्टै र हक सफा निखनाइ पाउँ भन्नेपट्टि छुट्टै मुद्दा परेको र थैलीमा मुख नमिली पहिले धरौट नराखेको । यस्तो अवस्थामा जालसाजी मुद्दा पहिले फैसला भई थैली कायम भइसकेपछि उक्त लेनदेन व्यहारको १६ नं.बमोजिम ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने देखिन्छ । किनकी, ऐनको वाक्यांशको त्यसरी अर्थ नगरेमा १ पटक एउटा मुद्दाबाट यकिन भइसकेको थैलीको हक सफा मुद्दाबाट पुनः यकिन गर्नुपर्ने अवस्था उत्पन्न हुनजान्छ, जो निरर्थक हो । त्यसकारण हक सफा निखनाई पाउँ भन्ने मुद्दा फैसला भई थैली बुझाउन पाउने ठहरेपछि मात्र धरौट राख्नु पर्ने भन्न मिल्ने देखिन आउँदैन । तसर्थ, जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भैसकेपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिम म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने सिद्धान्त कायम गर्न उपर्युक्त देखिंदा प्रस्तुत मुद्दामा ०२५।१२।२६।२ को डिभिजन बेञ्चले व्यक्त गरेको रायसंग मेरो राय सहमत हुन्छ । उक्त ०२५।१२।२५।२ को डिभिजन बेञ्चको फैसला बमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
प्र.न्या.श्री रत्नबहादुर विष्ट,
न्या.श्री प्रकाशबहादुर र
न्या.श्री रङ्गनाथ उप्रेती
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
न्या.श्री बब्बरप्रसाद सिंहको राय
१. यसमा घटी थैलीलाई बढी अंक लेखी जालसाज गरे भन्ने र हक सफा निखनाई पाउँ भन्ने छुट्टै मुद्दा परेको पहिले मुख नमिली थैली धरौट नराखेकोमा, जालसाजी मुद्दा पहिले छिनिई थैली कायम भयो भने थैली धरौट राखी हाल्नु पर्नेमा हक सफा निखनाई पाउँ भन्ने मुद्दा छिनिई बुझाउन पाउने ठहरेपछि मात्र थैली धरौट राख्नु पर्ने के हो भन्ने प्रश्नको मुख्य निर्णय गर्नु परेको छ । यस सन्दर्भमा हेर्दा लेनदेन व्यवहारको १६ नं.मा मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनको अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नु पर्ने थैली अड्डामा ल्याई धरौट राख्नु पर्छ भन्ने उल्लेख भएको पाइन्छ । बुझाउन पाउने नपाउने कुराको ठहर जालसाजी मुद्दाबाट हुने नभई हकसफा निखनाई पाउँ भन्ने मुद्दाबाटै हुने हुनाले पहिले मुख नमिली थैली धरौट नराखेकोमा हक सफा निखनाई पाउँ भन्ने मुद्दाबाट बुझाउन पाउने ठहरी फैसला भएमा सो फैसला भएपछि मात्र म्यादभित्र थैली ल्याई धरौट राख्नु पर्ने उक्त लेनदेन व्यवहारको १६ नं.को मनसाय प्रष्ट छ । ऐनमा यसरी प्रष्ट उल्लेख भइराखेकोमा त्यसको अन्यथा व्याख्या गर्न मिल्ने देखिन आउँदैन । जालसाजी मुद्दा फैसला भई थैली कायम भएपछि धरौट राखी हाल्नु पर्छ भन्दा उक्त लेनदेन व्यवहारको १६ नं.मा उल्लेख भएको बुझाउन पाउने ठहरी फैसला भई भन्ने वाक्यांशको प्रतिकुल हुन जाने देखिन्छ । तसर्थ, जालसाजी मुद्दा पहिले फैसला भई थैली कायम भएपछि उक्त लेनदेन व्यवहारको १६ नं.को म्यादभित्र थैली धरौट राख्नु पर्ने भन्ने प्रस्तुत मुद्दामा ०२५।१२।१२।२ को डिभिजन बेञ्चले व्यक्त गरेको राय मनासिव ठहर गर्नुभएको यसबेञ्चका सहयोगी माननीय न्यायाधीशहरुको रायसंग म सहमत हुन सकिन । दे.पु.नं. २२५३ को पूर्णनाथ जोशी विरुद्ध भिमबहादुर पाठकको हक सफा निखनाईपाउँ भन्ने मुद्दामा सोमुद्दा फैसलाभएको जनाउपाएको मितिले लेनदेन व्यवहार को १६नं.को म्याद ३५दिनभित्र थैली धरौट राख्न ल्याएमा निखनाई दिने गरेको ०२५।७।९।६ को डिभिजन बेञ्चको रायसंग म सहमत भएकोले आफ्नो राय छुट्टै व्यक्त गरेको छु ।
इति सम्वत् २०२७ साल श्रावण २० गते रोज ३ शुभम् ।