निर्णय नं. ५४९ – राजीनामा बदर
निर्णय नं. ५४९ ने.का.प. २०२७ फुल बेञ्च का.मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२६ सालको दे.फु.नं. ८५...
निर्णय नं. ५४९ ने.का.प. २०२७
फुल बेञ्च
का.मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०२६ सालको दे.फु.नं. ८५
निवेदक : बुटवलतर्फ पाल्ही तप्पे जवा मौजे बास बस्ने चिराकदिन मियाँ
विरुद्ध
विपक्षी : ऐ. बस्ने मोतहरा मुसलमाननी समेत
मुद्दा : राजीनामा बदर
(१) कसैले बेहकमा बिक्री गरेमा बदर भई तत्काल प्रचलित साहू आसामीको ऐन अनुसार वादीको हकमा जाने र विधवा अंशधनको ऐन अनुसार जसको हकमा थियो उसैको रहने, पछिल्लो ऐन अन्तर्गत लिखत बदर गर्ने गरेको फिरादमा–पहिलो अन्तर्गत बिक्री गरेको सम्पत्ति थामिन्छ भनी दावी र विवाद नउठाएको कुरामा निर्णय गर्न नमिल्ने ।
तत्काल प्रचलित साहू आसामीको ऐनमा कसैले बेहकमा बिक्री गरेको बदर भई वादीको हकमा रहन जाने र विधवा अंशधनको ऐनमा भने लिखत बदर भई जसको हकमा थियो, उसैको हकमा रहन जाने कानूनी व्यवस्था भएकोमा विधवा अंशधनको ऐन अन्तर्गत लिखत बदर गरिपाउँ भन्ने मात्र फिराद परेको यो मुद्दामा लिखत बदर भएमा वादीको हक भोगमा हालै जग्गा रहन नआउने हुनाले लेनदेन व्यवहार बदर गरिपाउँ भन्ने फिराद सरह गरी वादीको हकमा सो बिक्री भएको जग्गा थामिन्छ भनी पहिले दावी र विवाद नउठाएको कुरामा यस मुद्दामा निर्णय गर्न मिल्दैन ।
(प्रकरण नं. ११)
निवेदक वादीतर्फबाट :
विपक्षी :
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री हेरम्बराज
१. मोतहरा मेरी सौतेनी आमा हुन् । बाबु आबुदिन ०११ सालमा देहान्त भएकोले कान्छी आमा मोतहरालाई बाबु छँदै जस्तो हेरविचार पालन–पोषण मैले गरी आएको छँदा छँदै ऐनले अंश पाउने उमेर नपुगेकी निजले उमेर ढाँटी ४५ वर्षकी उमेर देखाई अंश पाउँ भनी म र मेरी आमाका नाउँमा फिराद दिएकोमा इतलायको म्याद गुज्रेको थामी पाउँ भनी बिन्तिपत्र परी रहेको हाम्रो प्रतिउत्तर दाखिल हुन नपाउँदै एकतर्फी फैसला भई अंश दिने गरी सर्वोच्च अदालत पश्चिम दौडाहा डिभिजन बेञ्चबाट ०१५।११।५।२ मा फैसला गरी दिएकोमा मेरो निवेदन परी रहेको छ । निज कान्छी आमाले मौजे वासाको जिमिदारी हिस्सा ।। मध्येबाट निज मोतहराले मेरो हकको भनी हिस्सा । को शिर विगाहा १९।।४।।४ को जिमिदारी । मध्ये विगाहा ९।।।=।२ जिमिदारी हिस्सामा भा.रु.१५०००। मा ०१९।९।२०।१ मा र लेवरी जग्गा विगाहा ६।।२।।।४ मध्ये विगाहा ३।२।।। भा.रु. ३८०१। मा ०१९।९।५ मा विपक्षी लक्ष्मीप्रसादलाई राजीनामा रजिष्ट्रेशन पास गरी दिएकी रहेछन । मैले हेरविचार गरी आएकै र अचलको आयस्ताले वर्ष दिन खान लाउन समेत पुग्ने भई सो जग्गा जिमिदारी बिक्री गर्ने अवस्थै नभएकोमा विधवा अंशधनको १ नं.को १ दफाले पिता पुर्खाको अचल सम्पत्ति ४० वर्ष नपुगेको कान्छी आमाले ४ खण्डको १ खण्डसम्म आफू खुसी गर्न पाउनेमा ३ पुस्ता भित्रको नजिकको हकवालाको मञ्जुरी बेगर बेचविखन गरेको सदर नहुने हुँदा उक्त राजीनामा लिखत बदर गरिपाउँ भन्नेसमेत चिराकदिन मियाको ०१९।११।८।४ को फिरादपत्र ।
२. यो वादीले हेरचाह खान लाउन समेत नदिई दुःख दिएबाट अंशमा नालिस गरी मैले अंश पाएकी हुँ । पिता पुर्खाको आर्जन नभई लोग्नेको पालाको आर्जन भएको र मेरो उमेर समेत पुगी सकेकोले विधवा अंशधनको १ नं.को १ दफा बमोजिम मैले बिक्री गरेको हो, सदरै हुने भन्नेसमेत मोतहरा मुसलमाननीको ०२०।१।३०।२ को प्रतिवादी ।
३. दाता मोतहराले पाएकी अंश मध्ये आधी जग्गा मलाई बिक्री गरी दिएकोमा विधवा अंशधनको १ नं. १ दफा बमोजिम लोग्नेको पालाको हुँदा वादीको मञ्जुरी समेत लिन नपर्ने ऐ. बिक्री गरेको सदरै हुने हुँदा मैले गराई लिएको लिखत बदर हुन पर्ने होइन भन्नेसमेत लक्ष्मीप्रसाद यादवको ०२०।१।३०।२ को प्रतिवादी ।
४. अंश मुद्दा परी मोतहराले पाएको आधी अंशबाट आधीसम्म बिक्री गरेको देखिएको भई कानूनबमोजिम बिरोध परेको नदेखिएकोले समेत मोतहराले लक्ष्मीप्रसादलाई गरी दिएको राजीनामा बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्नेसमेत इ.अ.परासीको ०२१।१।२ का फैसला ।
५. मोतहरालाई मैले बाबुको पालामा झैं हेरविचार गरी आएकै र निजको उमेर ४० वर्ष नपुगेको समेत हुँदा मेरो उजुरी बमोजिम लिखत बदर हुनेमा सदरै राखेको इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
६. हेरविचार गरेको भनेमा अंश मुद्दा समेत परी झगडिया भैसकेको देखिएको र पिता पुर्खाका धनले खरीद गरेको भनेमा लोग्ने साबुदिनले आफ्नो आर्जनले खरीद गरेको भन्ने प्रतिवादी जिकिर भएको । वादीले पिता पुर्खाको पालाको धनले खरीद गरेको कुनै सबूद दिन नसकेको । लेनदेन व्यवहार भएको अवस्थाको मुलुकी ऐन विधवा अंशधनको १ नं. ले खुस गर्न पाउने आधा मात्रा बिक्री गरेको देखिनाले इन्साफ शुरुको मनासिव छ भन्ने जिल्ला अदालत तौलिहवाको ०२१।६।१९।१ को फैसला ।
७. ४ खण्डको १ खण्ड मात्र आफु गर्न पाउने । उस बखतको विधवा अंशधनको १ नं.को १ दफामा व्यवस्था छ । इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।
८. मोतहरालाई वादीले हेरविचार गरी आएको थियो कि भन्नालाई अंश मुद्दा समेत परी झगडा परेको देखिएकोले त्यस्तो झगडा परेको मानिसले हेरविचार गरे होला भन्न नमिल्ने र मोतहरा ४० वर्ष नपुगेको भन्ने जिकिरलाई अंश मुद्दामा वादीले ४५ वर्ष उमेर लेखाएकी सो कुरामा पुनरावेदकले उस मुद्दामा प्र्रतिवाद गर्न नसकेको, उमेर नपुगेको भन्ने जिकिर अनुसार सबूद नदेखिएकोले ४० वर्ष उमेर नपुगेकी भन्न पनि नभएको यस्तो अवस्थाकी विधवाले आफ्नो हक पुग्ने सम्पत्तिमा विधवाका अंशधनको १ नं. १ दफाले चलमा सबै र अचलमा आधिसम्म आफु खुस गर्न पाउने र सो बमोजिम आधी भन्दा केही घटी नै बिक्री गरेको देखिएकोले बिक्री गर्न नपाउने गरको भनी उक्त बिक्री व्यवहार बदर गर्न मिलेन । इन्साफ शुरुको सदर गरी तत्कालिन तौलिहवा जिल्ला अदालतले छिनेको मनासिव छ भन्ने ०२४।३।२९।५ को डिभिजन बेञ्चको फैसला ।
९. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा प्र.मोतहराले आफ्नो हक पुगेको सम्पत्ति मात्र राजीनामा दिएकी हुन कि भन्नालाई निज वादी मोतहरा र प्र.चिरागदिन भएको अंशबण्डा छुट्याई पाउँ भन्ने मुद्दामा डोर खटिई बण्डा छुट्याई दिएको मिति ०२६।४।१९।२ को मुचुल्का हेर्दा २९ नं. निज कित्ता सो पूर्व, सुक सो दक्षिण लेखिएकोमा ।=।।२ दरले दुवै थरलाई भाग बण्डा लगाई दिएको देखिएको, तर यस मुद्दाको मिसिल सामेल ०१९।९।२०।६ मा रजिष्ट्ररी पास भएको लिखत हेर्दा सो बण्डा बमोजिम आफ्नो हक पुग्ने जमिन ।ऽ।।२ मात्र बिक्री गरेको देखिन नआई ।।१।४ बिक्री गरेको देखिनाले आफ्नो हक नपुग्ने जमिन प्र.मोतहराले बेचविखन गरे जति बदर गरी दिनुपर्नेमा वादीका अंश भागको जमिनलाई निराधार प्रतिवादीको हक पुग्ने ठहर्याई लिखत बदर नहुने ठहर्याएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनु भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा, श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२५।९।१९।४ को हुकुम प्रमांगी ।
१०. बक्स भई आएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय श्री प्र.न्या.ज्यूबाट भएको ०२६।९।१९।५ को आदेश ।
११. यसमा तारेखमा रहेका दुवैपक्षका वारेस रोहवरमा रही ०२७।३।३० मा पेश भई आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०१६।४।१९।२ को बण्डापत्रमा मेरो भागमा परेको कि.नं.२९ को विगाहा ।।१=४ मध्ये ।ऽ।२ जग्गा पनि राजीनामा गरी दिएकी सदर नहुने भन्ने निवेदन जिकिर उपर सर्वप्रथम विचार गर्नु परेको छ । तत्काल प्रचलित साहू आसामीको ऐनमा कसैले बेहकमा बिक्री गरेको बदर भई वादीको हकमा रहन जाने र विधवा अंशधनको ऐनमा भने लेखत बदर भई जसको हकमा थियो उसैको हकमा रहन जाने कानूनी व्यवस्था भएकोमा विधवा अंशधनको ऐन अन्तरगत लिखित बदर गरिपाउँ भन्ने मात्र फिराद परेको यो मुद्दामा लिखित बदर भएमा वादीको हक भोगमा हालै जग्गा रहन नआउने हुनाले लेनदेन व्यवहार बदर गरिपाउँ भन्ने फिराद सरह गरी वादीको हकमा सो बिक्री भएको जग्गा थामिन्छ भनी पैले दावी र विवाद नउठाएको कुरामा यस मुद्दामा निर्णय गर्न मिल्दैन । वादीको हकको जग्गा अरुले लेनदेन गरी व्यवहार गरेपछि वादीले आफ्नो हक कायम गराई पाउँ भनी फिराद नदिएमा अ.बं.९९ नं.बमोजिम एकै पटक एउटै फिराद दिए हुनेमा नदिएकोले फिरादपत्रमा नलेखिएकोले वादीको हक कायम गराई पाउँ भनी विधवा अंशधन ऐन अन्तर्गतको फिराद संशोधन गर्न उचित देखिंदैन । साहू आसामीको ऐन सरह वादीको हक रहन जाने भनी फिराद नपरेको कुरामा डिभिजन बेञ्चबाट फैसला भएन भन्ने ठान्नु भएन । वादीले सौतेनी आमा मोतहरालाई लोग्ने छँदैका हिसाबसंग हेरविचार गरी राखेको प्रमाणित नभएको र पहिले ०१३ सालमा परेको अंश मुद्दाको फिरादमै ४५ वर्ष उमेर लेखेकीले ४० वर्ष नपुगेकी भन्न नमिल्ने । यस्तो अवस्थाकी विधवाले तत्काल प्रचलित विधवा अंशधनको १ नं. १ दफा बमोजिम लोग्नेका पालाको अचलमा आधी आफू खुस गर्न पाउने नै देखिन आएको समेत हुँदा वादी दावी पुग्न नसक्ने ठहराई ०२४।३।२९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवैछ । कोर्टफि राखेकोले इन्साफ दोहराएमा वादीलाई अरु सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनू ।
का.मु.प्र.न्या. श्री रत्नबहादुर,
न्या.श्री नयनबहादुर
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल श्रावण २ गते रोज ६ शुभम् ।