निर्णय नं. ५४२ – फट्टा दिलाई पाउँ भन्ने
निर्णय नं. ५४२ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२६ सालको दे.फु.नं....
निर्णय नं. ५४२ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
सम्वत् २०२६ सालको दे.फु.नं. ६८
पुनरावेदक : ल.पु.जि.नगर पञ्चायत अन्तर्गत ननटोल बस्ने नन्दकिसोर महर्जन
विरुद्ध
विपक्षी : का.जि.न.पं.अन्तर्गत त्रिपुरेश्वर बस्ने नेत्रबहादुर राउत क्षेत्री
मुद्दा : फट्टा दिलाई पाउँ भन्ने
(१) साहु आसामीको ४ नं.–शिर व्यहोरामा “उल्लेखित देहायमा लेखिएबमोजिमको रीत पुर्याई लिनु दिनु पर्छ सो बमोजिमको रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन“ भन्ने भित्र दफा १।२।३।४ अनुसार रुपैयाँ लिंदा बुझाउँदा पुर्याउनु पर्ने रीतको सबै अंगहरु पर्ने ।
शिर व्यहोरामा देहायमा लेखिए बमोजिमको रीत पुर्याई लिनु दिनु गर्नु पर्छ, सो बमोजिमको रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन भन्ने उल्लेख भएको त्यसभित्र देहायका दफा १।२।३।४ मा रुपैयाँ लिंदा बुझाउँदा रीत पुर्याउने अंगका जे जति कुरा उल्लेख छन् ती सबै पर्न आउने प्रष्टै छ ।
(प्रकरण नं. १४)
(२) साहु आसामीको ४ नं. र कागज जाँचको २०,२० (ग)–रुपैयाँ बुझेको रसिद भरपाईहरु साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई लिनु पर्ने समेत साहू आसामीको ४ नं.को बिशेष व्यवस्थाको रीत नपुर्याई कागज जाँचको २०,२० (ग) मा उल्लेखित कागजमा सहिछाप गर्दा गराउँदा रीत पुर्याउनु पर्ने साधारण व्यवस्था मुताविक कारणीको सहिछाप सम्म गराएको कागजलाई मान्यता दिन नमिल्ने ।
जहाँसम्म कागज जाँचको २०,२० (ग) नं.हरुको कुरा छ, त्यसमा उल्लेख भएका कुराहरु कागजमा सहिछाप गर्दा गराउँदा रीत पुर्याउने बिषयको एउटा साधारण व्यवस्था हो र साहू आसामीको ४ नं.मा रुपैयाँ बुझेको रसिद भरपाईहरु साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई लिने समेत जुन व्यवस्था छ, त्यो कागज लेखाउने कुराको एउटा छुट्टै बिशेष व्यवस्था हो, उक्त साहू आसामीको ४ नं.मा त्यस किसिमको बिशेष व्यवस्था भइराखेको कुरामा सो अनुसार रीत पुर्याइएको छैन भने यस्तो अवस्थामा कागज जाँचको २०,२० (ग) नं.समेत बमोजिम कारणीको सहिछाप सम्म गराइएको हुँदैमा त्यस्तो कागजलाई मान्यता दिन मिल्दैन ।
(प्रकरण नं. १५)
प्रतिवादी पुनरावेदक तर्फबाट : अधिवक्ता श्री होराप्रसाद जोशी
विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा
उल्लेखित मुद्दा :
फैसला
प्र.न्या.श्री भगवतीप्रसाद
१. मेरो का.त्रिपुरेश्वरको घर रु.२१,०००। कर्जा लिई भोगबन्धकी दिएको घरमा ९।१० सय देखि अरुले बहालमा कबूल गर्दै नगर्नेमा मलाई सयकडा १० का दरले ब्याज नभई हुन्न भनी मलाई नै बहाल कबूलियत समेत गराएको साहूको दवाव र प्रेरणाले गर्दा सो बहाल कबूलियत गरी दिन मजबुरी साथ बाध्य हुन करै लाग्यो, ६।६ महिनामा कपाली तमसुक गराउँदै गएको र ब्याजको स्याज पनि खाएको, ०१८।९।२ गते कानून विरोध रु.७०००। को कपाली तमसूक गराएको र हाल लेनदेन गरेको हो भन्ने अघि ०१६।११।१।७ मा झुठ्ठा गरी गराई लिए पछि भोगबन्धकी तमसुक समेत गाँसिएको र कपाली फट्टा गराई थप भोग बन्धकीमा गाँसी पास गराई आए अनुसार मेरो घर ४५।४६ हजार मोल जानेमा त्यति नै रुपैयाँबाट फार्छे गराउने नियत गरेकाले अन्यायवालासंगको व्यवहार फस्र्याउन भोगबन्धकी साँवा रु.२१,०००। त्यस्तो बहाल सयकडा १० को दरले ०१६।११।९ गतेदेखि ०१९।१०।१४ तकको रु.४०६०। समेत जम्मा रु.२५,०६०। रुयैयाँ ०१८।१०।१५ का दिन बुझाउन जाँदा रुपैयाँ बुझी लिनु भई भोगबन्धकी तमसुक अहिले राखेको ठाउँमा खोजी गर्दा फेला नपरेको हुँदा अहिलेलाई रीतपूर्वकको भरपाई गरी दिन्छु एक हप्ता भित्र खोजी गरी भोगबन्धकीको कागज फट्टा गरी दरपिठ गरी दिन्छु भनी भनेको हुँदा अघि देखिको विश्वासले गर्दा त्यस अवस्थामा पनि विश्वास मान्न निश्चित हुनै करै लाग्यो र फर्की आएँ । पछि फट्टा गरी देउ भन्न जाँदा दरपिठ गरी दिन लगत समेत कटाउन सक्तिन भनी भनेकाले रजिष्ट्रेशन पास भएको सक्कल भोगबन्धकी तमसुसकमा व्यहोरा जनाई फट्टा दिलाई पाउँ भन्नेसमेत तेजबहादुर राउत क्षेत्रीको ०१८।११।१६ को फिरादपत्र ।
२. वादी लेखाई झुठ्ठा फरेवी मात्र हो । वादी लेखाई बमोजिम साँवा बहाल समेत जम्मा रु.२५,०६०। मलाई ०१८।१०।१८।७ मा बुझाउन ल्याएको होइन । मैले भरपाई गरिदिएको समेत होइन छैन, मलाई भोगबन्धकी लेखी दिएको घर गोठ समेत रु.३,१५०। सालको बहाल बुझाउने गरी कबुलियत गरी भाखापत्र समेत गरी दिएको छँदा छँदै कबुलियतका मिति ०१६।११।९ देखि ०१८।१०।१४ तकको बहाल रु.६०९०। र साँवा समेत रु.२७१९१। बुझाई भरपाई लिएको छु भन्न नसकी २५०६०। बुझाई भरपाई लिएको भनी लेखिएकोले रु.२१३१। नोक्सानी हुने गरी रु.२५०६०। मात्र बुझी भरपाई गरी दिएको होला भन्न किमार्थ नठहर्ने रुपैयाँ बुझी भरपाई दिनेले तमसुकमा दरपिठ गरी फट्टा गरी दिनु नपर्ने कुनै कारण नभएकोमा मेरो तमसुकी र बहाल समेत पचाई खाने नियत गरी भरपाई गरी दिएको छ भन्ने धम्की देखाई झुठ्ठा नालेस गरेको हो भन्ने प्रष्ट देखिएको छ, झुठ्ठा नालेस दिनु भएकोमा विपक्षीलाई नै सजाय गरिपाउँ । भरपाई भनेको कागज देख्न पाएमा नामाकरण गर्ने छु भन्नेसमेत ख.कृष्णनरसिंको ०१९।२।३१।४ को प्रतिउत्तरपत्र ।
३. ०१८।१०।१५ को रु.२५०६०। को सक्कल भरपाई कीर्ते हो, त्यस्तो भरपाई लिँदा दिँदा साहू लेख्न जान्ने भए साहूकै हस्ताक्षरबाट लेखाई लिनु पर्छ भन्ने साहू आसामीको ४ नं.मा लेखिएको पनि छ, लेख्ने म साहूको हस्ताक्षरबाटै भरपाई गराउनु पर्ने सद्दे कीर्तेमा मैले बयान गर्नै नपर्ने भन्नेसमेत प्र.वा.यज्ञबहादुरको बयान ।
४. ०१८।१०।१५ के भरपाई सद्दे नै हो भन्नेसमेत वादी वा. अर्जुनबहादुरको बयान ।
५. ०१५।१०।१५को मु.रत्नमान भनी लेखिएको हस्ताक्षरको सहि मेरो होइन वादी नेत्रबहादुरले नै कीर्ते खडा गरेको हुनु पर्छ भन्नेसमेत भरपाईको अन्तर साक्षी मु.रत्नमानको बयान।
६. रुपैयाँ बुझी रसिद भरपाई दिनेमा साहू लेख्न जान्ने भएमा उसको हस्ताक्षरबाट लेखाई सहिछाप पनि गराउने र लेख्ने नजान्ने भएमा अरुबाट लेख्न लगाई ल्याप्चे समेत गराउन पर्छ । सो रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन भन्ने तत्कालिन प्रचलित मुलुकी ऐन सा.अ.४नं.मा प्रष्ट व्यवस्था भएको देखिन आएको र भरपाई गरी दिने साहू लेख्न जान्ने भन्ने कुरामा वादी पक्ष सहमत नै छन, यस्तोमा भरपाई सद्दे कीर्तेतर्फ इन्साफ तहकिकात गर्नपर्ने आवश्यक नपर्ने हुँदा भोगबन्धकी तमसुकमा व्यहोरा जनाई फट्टा दिलाई पाउँ भन्ने फिराद खारेज हुने ठर्हछ । खारेज हुने भन्नेसमेत ल.पु.जि.अ.को ०२२।८।१५।३को फैसला ।
७. कागजजाँचको २० नं.बमोजिम रीतपूर्वक भएको भरपाईलाई लाग्नै नसक्ने साहूआसामीको ४नं.लगाई मुद्दा खारेज गरिदिएकोले चित्तबुझेन भन्नेसमेत वादीको ०२३।१।५।२को पुनरावेदन ।
८. सो भरपाई तत्कालिन प्रचलित साविक मुलुकी ऐन सा.अ.को ४ नं. ऐनले भरपाई दिनेको हस्ताक्षरको लिखत नभएकोले प्रमाण नलाग्ने भनी मुख्य शुरुले बुँदा लेख गरेको वादीतर्फबाट र प्र.तर्फ बाट नजिरको रुपमा सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला नक्कल समेत पेश हुन आएको वादीले दाखिल गरेको भरपाई तत्कालिन मुलुकी ऐन कागज जाँचको २० नं. ऐनबमोजिम प्रमाण लाग्ने नै देखिन आएको हुँदा शुरुले खारेज गर्ने गरेको मनासिव देखिन नआएकोले इन्साफ तहकिकात गर्नु भनी शुरुमा पठाई दिने ठर्हछ भन्नेसमेत बागमती अञ्चल अदालतको ०२५।१०।१५।३ को फैसला ।
९. यस्तो भरपाई लेख्न जान्ने साहूले आफ्नै हस्ताक्षरले नलेखेको सदर नहुने साहू आसामीको ४ नं.मा प्रष्ट व्यवस्था हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
१०. तत्काल प्रचलित साहू आसामीको ४ नं.को ४ दफामा रसिद भरपाई दिनेमा साहू लेख्न जान्ने भए उसैको हस्ताक्षरले लेखाई सहिछाप पनि गराउने भन्ने र त्यसको शिर व्यहोरामा यो ऐन जारी भए उप्रान्तलाई साहू ऋणीले ब्याज व्यहोरा सावाँ समेत लिँदा बुझाउँदा देहायमा लेखिएकोमा देहाएबमोजिमको रीत पुर्याई लिनु दिनु गर्नुपर्छ । सो बमोजिम रीत पुर्याई नगरेको सदर हुँदैन भन्ने लेखिएको पाइन्छ । सोही दफा ४ को अन्तिममा ब्याजको ब्याज भनी खान हुँदैन खाएको भए फिर्ता गराई सजाय पनि गर्नु भन्ने लेखिएकोलाई शिर व्यहोरामा लेखिएको रीत पर्याउने भन्ने शब्दले कुनै महत्त्व नराख्ने हुँदा रीत पुर्याउने शब्द भित्र पर्ने बाहेकको बिषय पनि तल दफामा पनि गएको प्रतित हुन्छ, त्यसकारण रीत पर्याउनु पर्ने के हो कुन रीत नपुगेको सदर नहुने हो भनी निर्णय गर्नु पर्ने हुन आयो । साहू लेख्न जान्ने भए पनि कुनै शारिरीक वा बौद्धिक अवस्थाले रसिद भरपाईको सम्पूर्ण व्यहोरा लेख्न नसक्ने भएको रहेछ भने के गर्ने ? सो कुरा उक्त ऐनमा प्रष्ट उल्लेख नभएकोले साहूबाटै लेखाएको नभए जुनसुकै हालतमा पनि सदर नहुने भन्नेतर्फ बिवादास्पद छंदैछ । उसमा पनि दफा १।२।३ मा अन्य रीत पुर्याउनु पर्ने कार्य उल्लेखका साथै रीतपूर्वक सहीछाप गराउने कुरा उल्लेख भएको दफा ४ मा रीत पुर्याउने शब्दको उल्लेख नभई हस्ताक्षर लेखाउने सही गराउने सम्म भनेको र त्यसै दफामा रीत पुर्याउने कुरा बाहेकको ब्याजको ब्याज खाएको फिर्ता गरी सजाय गर्ने व्यहोरा पनि लेखिएकोले उक्त दफा ४ शिर व्यहोरामा लेखिएको रीत पुर्याउने शव्दभित्र आउंदैन, लिखत भएको होइन भन्ने विवाद उठ्ने संभावनालाई कम गराउन वा त्यस्तो विवाद उठेमा निर्णय दिन सजिलो पार्नका निमित्त सम्म लेख्न जान्नेबाटै लेखाउने कुरा उल्लेख भएको रीत पुर्याउने भनेको १।२।३ दफाका बिषय मात्र हुन भन्ने उपयुक्त देखिन्छ । रीतपूर्वकको सहिछाप परेको वा सहिछापै नपरेको भए पनि सहिछाप गर्नुपर्ने कारणीले आफ्ना हस्ताक्षरले लेखेको कागजबाट नालेस उजूर सुनी निर्णय हुन सक्ने तत्काल प्रचलित कागजजाँचको २० नं.ऐनमा लेखिएको पाइन्छ । उक्त ऐनमा साहू आसामीको ऐनबमोजिम भरपाई गरी दिनेमा बाहेक भन्ने नलेखिएको र यस्तोमा कागजजाँचको ऐन लाग्दैन भन्दा सम्पूर्ण व्यहोरा कारणीले लेखेको भए पनि प्रमाणमा लिन नहुने अवस्था पर्न आउनुको साथै साहू आसामीको ४ नं.को ४ दफामा रीतपूर्वकको सहि गराउने भन्ने नलेखिएकोबाट वेरितकै भए पनि सहिछाप भए प्रमाण लिनु पर्ने अवस्था पर्न आउने भएकोले लिखतको हस्ताक्षर र सही छापको वारेमा कागजजाँच कै ऐनबमोजिम हुनुपर्छ भन्न न्यायोचित र कानूनको मनसाय बमोजिम हुन आउने पनि देखिएको छ । तसर्थ पुनरावेदन जिकिर पुग्न सक्तैन । तहकिकात गर्न शुरुमा पठाउने गरेको इन्साफ बागमती अञ्चल अदालतको मनासिव छ । जि.मु.माधव आचार्यको र खगराज कोईराला समेतको दे.अ.नं.२२१९।२४६ को लेनदेन मुद्दा २०२०।३।५।४ मा डिभिजन बेञ्चबाट फैसला हुँदा प्रतिवादीले पेश गरेका भरपाईहरु वादीको हस्ताक्षर नभएको र साहू लेख्न जान्ने मानिस भएको लेख्न जान्ने भएमा उसैको हस्ताक्षरले लेखी सहिछाप पनि गराउने र लेख्न नजान्ने भएमा अरुबाट लेख्न लगाई ल्याप्चे सहीछाप समेत गराउनु पर्छ भन्ने सा.अ.को ४ नं.४ दफामा उल्लेख भएको ऐ.सिर व्यहोरामा सो बमोजिम रीत नपुगेको सदर हुँदैन भन्ने लेखिएकोले भरपाई सदर नहुने भनी फैसला भएको उक्त डि.बे.को रुलिङ्गसंग योबेञ्च सहमत नभएकोले स.अदालत नियमावली, २०२१ को नियम ३३ (ख) अनुसार फुल बेञ्चमा पेशगर्नु भन्ने ०२६।५।२२।१ को डिभिजन बेञ्चको फैसला ।
११. वादी दावीको भोगबन्धकी तमसुक बमोजिम साँवा व्याज रुपैयाँ बुझी लिई गरी दिएको भन्ने भरपाई लेख्न जान्ने साहू कै हस्ताले लेखिएको हुनुपर्ने सो नभएकोले सदर नहुने भन्ने पुनरावेदक प्रतिवादीको मुख्य जिकिर भएको देखियो, तत्सम्बन्धमा हेर्दा तत्काल प्रचलित साविक मु.ऐ.साहू आसामीको ४नं.मा त्यस्तो भरपाई साहू लेख्नजान्ने भएमा उसैको हस्ताक्षरले लेखाई सहिछाप पनि गराउने र लेख्न नजान्ने भएमा अरुबाट लेख्न लगाई ल्याप्चे सहिछाप समेत गराउनु पर्छ । सो बमोजिमको रीत नपुर्याई लिन दिनु गरेको सदर हुँदैन भन्नेसमेत र कागजजाँचको २० र २० (ग) नं.मा त्यस्तो कागजमा सहिछाप गर्दा गराउँदा लेख्न जान्नेले आफ्नो हस्ताक्षरले सहि आफ्नो नाम थर वतन दर्जा भए दर्जा समेत प्रष्ट बुझिने पढ्न सक्ने गरी लेखी लेखाई दायाँ बायाँ दुवै हातको बुढी औंलाको शंंख वा चक्रको रेखा प्रष्ट देखिने गरी ल्याप्चे सहिछाप समेत गर्नु गराउनु पर्ने समेत व्यवस्था भएको पाइन्छ । उक्त कागजजाँचको २० र २० (ग) नं.मा व्यवस्था कागजमा सहिछाप गराउने सम्बन्धसम्मलाई लिएर भएको हो कागज लेख्ने सम्बन्धमा साहू आसामीको ४ नं. मा छुट्टै व्यवस्था गरेको हुँदा सोहीअनुसार हुनुपर्छ भन्ने पुनरावेदक प्रतिवादी तर्फका विद्वान अ.ले बहसमा जिकिर लिनुभएको समेतबाट वादीसमेतलाई राखी छलफल गर्नुपर्ने देखिन आएको हुँदा अ.बं.२०२ नं.बमोजिम छलफलको निमित्त वादीलाई रुल नियमबमोजिम गरी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने ०२६।१०।१४।३ को फुल बेञ्चको आदेश ।
१२. यस्मा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।१।१५।३मा पेशभई पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री होराप्रसादले र वादीतर्फबाट विद्वान व.अ.श्री देवनाथप्रसाद वर्माले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०२६।५।२२।१ को डि.बे.बाट भएको र वादी जि.मु. माधवप्रसाद आचार्य प्र्र.खगराज कोइरालाको लेनदेन मुद्दामा ०२०।३।५।४ को डि.बे.बाट भएको फैसलाले रुलिङ्ग नमिलेको भनी निर्णायार्थ यसबेञ्चमा पेश हुन आएको लेख्न जान्ने साहूले आफ्नै हस्ताक्षरले नलेखेको भरपाई सदर हुनसक्ने नसक्ने के हो भन्ने बिषयमा यसबेञ्चबाट निर्णय दिनुपर्ने भएकोछ ।
१३. तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साहू आसामीको ४ नं.को शिर व्यहोरामा यो ऐन जारी भए उप्रान्तलाई साहू ऋणीले ब्याजवट्टो साँवा समेत लिंदा बुझाउँदा देहायमा लेखिए बमोजिमको रीत पुर्याई लिनु दिनु गर्नुपर्छ । सो बमोजिमको रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन भन्ने र त्यसको देहाय दफा १ मा साँवा जम्मै भर्ना गरी लिनु दिनु गर्दा लिखत फट्टा गरी लिनु दिनु केराउनु मेटाउनु वा लिखत नपाएकोमा सोही व्यहोरा जनाई भरपाई समेत गरी ऐनबमोजिमको रीतपूर्वकको सहिछाप गराई लिनु दिनु गर्नुपर्ने दफा २ मा साँवा मध्ये केही मात्र भर्ना दिंदा लिंदा लिखतमा दरपिठ वा लिखत नपाएकोमा १ दफा बमोजिम भरपाई लिनु दिनुपर्ने दफा ३ मा साँवा बाहेक व्याजमा मध्य गरी व्याजमा नै बुझाएकोमा लिखतको पिठमा ब्याज भनी जनाई दरपिठ गरी आसामीको ऐनबमोजिम रीतपूर्वकको सहिछाप गरी लिनु दिनु वा रसिद भरपाई गरी लिनु दिनु गरेकोमा सो रसिद भरपाईको नक्कल गरी यो बमोजिमको सक्कल बुझी लिएँ भन्ने आसामीको सहिछाप गराई लिनुपर्ने समेत कार्यहरुको उल्लेख हुँदै आखिरी दफा ४ मा दफा १।२।३ मा लेखिए बमोजिम दरपीठ वा रसिद भर्पाइ गरी लिंदा दिंदामा समेत दरपीठ गर्नेमा र रसिद भरपाई बुझिलिएँ भनी नक्कलमा वा सही छाप गरी दिनेमा आसामी लेख्न जान्ने भए उसैको हस्तक्षरले लेखाई सहिछाप पनि गराउने र लेख्न नजान्ने भएमा अरुबाट लेख्न लगाई ल्याप्चे सहिछाप समेत गराउनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ ।
१४. उक्त साहू आसामीको ४ नं.को देहाय १।२।३ दफामा अन्य रीत पुर्याउने कार्य उल्लेखको साथै रीतपूर्वक सहिछाप गराउने कुरा उल्लेख भएको र दफा ४ मा रीत पुर्याउने शब्दको उल्लेख नभई हस्ताक्षरले लेखाउने सहिछाप गराउनेसम्म भनिएकोले उक्त ४ नं.को शिर व्यहोरामा लेखिएको रीत पुर्याउने शब्द भित्र दफा ४ पर्न आउँदैन । रीत पुर्याउने भनिएको १।२।३ दफाका बिषयमात्र हुन भन्ने ०२६।५।२२।१ को डिभिजन बेञ्चको मूल तर्क रहेछ । यस तर्कको विवेचनाको लागि हेर्दा दफा ४ मा कागज लेखाउने सम्बन्धी जुन कुराहरु उल्लेख छ, त्यो दफा १।२।३ कै रसिद भरपाई दरपिठ समेत कागजहरुको सम्बन्धमा उल्लेख भएको देखिन्छ । लिखत फट्टा रसिद भरपाई लिने लिखतमा दरपिठ गराउने इत्यादि दफा १।२।३ मा उल्लेख भए जस्तै दफा ४ मा उल्लेख भएको उक्त रसिद भरपाई दरपिठहरु लेखाउने कुरा पनि रीत पुर्याउने कार्यकै एउटा अंग हो, उक्त ४ नं.को शिर व्यहोरामा लेखिएको रीत पुर्याउने भन्ने शब्द भित्र देहायको दफा १।२।३ मा रीत पुर्याउने भनिएको कुराहरु मात्र सिमित रहेको सम्झने हो भने उक्त दफा १।२।३ मै पनि सहिछाप गराउनेसम्म कुरामा ऐनबमोजिमको रीतपूर्वकको भन्ने बोली रहेकोले सोही दफाहरुमा उल्लेखित लिखत फट्टा र रसिद भरपाई लिने दिने लिखतमा दरपिठ गराउने आदि कुरा पनि शिर व्यहोरा रीत पुर्याउने शब्द भित्र पर्न नआउने हुन्छ । उक्त शिर व्यहोराको त्यस्तो सिमित मनसाय हो भन्ने अर्थ गर्न मिल्दैन, वास्तवमा दफा १।२।३ मा ऐनबमोजिम रीतपूर्वकको भन्ने उल्लेख भएको चाँहि सोही दफाहरुमा उल्लेख भएको सहिछाप गराउने कुराहरु सम्मको लागि हो । शिर व्यहोरामा देहायमा लेखिए बमोजिमको रीत पुर्याई लिनु दिनु गर्नुपर्छ । सो बमोजिमको रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन भन्ने उल्लेख भएको त्यसभित्र देहायका दफा १।२।३।४ मा रुपैयाँ लिंदा बुझाउँदा रीत पुर्याउने अंगका जे जति कुरा उल्लेख छन् ती सबै पर्न आउने प्रष्टै छ । त्यसकारण ०२६।५।२२।१ को डिभिजन बेञ्चको उपरोक्त तर्कसंग सहमत हुन मिलेन ।
१५. जहाँसम्म कागजजाँचको २०, २० (ग) नं.हरुको कुरा छ, त्यसमा उल्लेख भएका कुराहरु कागजमा सहिछाप गर्दा गराउँदा रीत पुर्याउने बिषयको एउटा साधारण व्यवस्थासम्म हो र साहू आसामीको ४ नं.मा रुपैयाँ बुझेको रसिद भरपाईहरु साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई लिने समेत जुन व्यवस्था छ, त्यो कागज लेखाउने कुराको एउटा छुट्टै विशेष व्यवस्था हो । उक्त साहू आसामीको ४ नं.मा त्यसकिसिमको बिशेष व्यवस्था भइराखेको कुरामा सो अनुसार रीत पुर्याईएको छैन भने यस्तो अवस्थामा कागजजाँचको २०, २० (ग) नं.समेत बमोजिम कारणीको सहिछापसम्म गराईएको हुँदैमा त्यस्तो कागजलाई मान्यता दिन मिल्दैन, किनकी त्यस्तो कागजलाई मान्यता दिने हो भने साहू आसामीको ४ नं.को बिशेष व्यवस्था निस्कृय हुन जान्छ ।
१६. कारणीको सहिछाप सम्म भएको र कारणीकै हस्ताक्षरले लेखिएको कागजहरुको महत्त्वको बिचार गर्दा कागजजाँचको २० नं.को तपसील खण्डको २ दफामा सहिछाप नै नपरेको भए पनि सहिछाप गर्नुपर्ने मुख्य कारणीले आफ्नो हस्ताक्षरले लेखेको लिखत भए जुनसुकै मितिको भए पनि सो कागजबाट नालेस उजूर सुनी इन्साफ गरी दिनु पर्छ भन्ने उल्लेख भएकोबाट तुलनात्मक दृष्टिबाट विवेचना गरी हेर्दा कारणीको सहिछापसम्म भएकोलाई भन्दा कारणीकै हस्ताक्षरले लेखिएको कागजलाई बढी महत्त्व दिएको देखिन आउँछ । रुपैयाँ लिनु दिनुको व्यवहार पक्का गर्न सोही अनुरुप साहू आसामीको ४ नं.दफा ४ मा रसिद भरपाईहरुमा साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई सहिछाप पनि गराई लिने दिने समेत व्यवस्था भएको पाउँछौं । उपरोक्त उल्लेख भए बमोजिम साहू आसामीको ४ नं.मा साहूले लेख्न जान्ने भएमा साहूको हस्ताक्षरबाटै लेखाई लिनु पर्ने सो बमोजिम रीत पुर्याई लिनु दिनु नगरेको सदर नहुने प्रष्ट व्यवस्था भएको सो अनुसार वादीले पेश गरेको ०१८।१०।१५ को भरपाई लेख्न जान्ने साहू प्रतिवादीकै हस्ताक्षरले लेखिएको नदेखिएकोले उक्त साहू असामीको ४ नं.बमोजिम सदर हुन नसक्ने रीत नपुगेको त्यस्तो भरपाईबाट नालेस उजूर सुनी इन्साफ दिन मिल्ने देखिन आएन।
१७. तसर्थ, उपरोक्त कारणहरुबाट वादीको नालेस खारेज हुने ठहराई ०२२।८।१५।३ मा ललितपुर जिल्ला अदालतले छिनेको इन्साफ मनासिव ठर्हछ । इन्साफ तहकिकात गर्ने ठहराएको बागमती अञ्चल अदालतको सदर गरी ०२६।५।२२।१ को डिभिजन बेञ्चले छिनेकोसंग योबेञ्च सहमत भएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी नन्द किशोर महर्जनको पुनरावेदन गर्दा ०२५।११।१४ मा सर्वोच्च अदालतमा दाखेल परेको कोर्ट फी रु.१।५० वादी नेत्रबहादुर राउतबाट भराई पाउँ भनी कोर्ट फी ऐन, २०१७ को दफा १५ (११) बमोजिम ३ वर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु …………………….१
ललितपुर जि.अ.का.का.मु.जि.न्या. केदारप्रसाद श्रेष्को बागमती अञ्चल अदालतको ०२५।१०।१५।३ को फैसला बमोजिम इन्साफ गर्नुपर्ने खारेज गरेको रिकर्ड राख्ने गरेको लगत काटी दिनु भनी बागमती अञ्चल अदालतलाई सुचना दिनु ……………………..२
बागमती अञ्चल अदालतका अतिरिक्त अञ्चल न्यायाधीश बृषबहादुर थापाको इन्साफ उल्टीको रिकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा लेखी पठाई दिनु……………………..३
नियमबमोजिम मिसिल बुझाई दिनु………………………..४
न्या.श्री नयनबहादुर
उपरोक्त ठहरमा मेरो सहमत छ ।
माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेतीको राय
१८. यसमा साहूले आसामीसंग बुझी लिएको रुपैयाँको छुट्टै गरी दिएको भरपाई लेख्न जान्ने साहूले आफ्नै हस्ताक्षरले नलेखेको सदर हुने नहुने के हो भन्ने प्रश्नमा निर्णयको लागि साहू आसामी को ४ नं.को व्यवस्था हेर्दा उक्त ४ नं.को शिर व्यहोरामा देहायमा लेखिएको रीत पुर्याई लिनु दिनु गर्नुपर्छ सोबमोजिम रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन भन्ने र देहायको १ दफामा साँवा जम्मै भर्ना गरी लिनु दिनु गर्दा अघि गरी दिएको लिखत फट्टा गरी लिनु दिनु केराउनु मेटाउनु वा लिखत नपाएकोमा सोही व्यहोरा जनाई भरपाई समेत गरी ऐनबमोजिमको रीतपूर्वकको सहिछाप गराई लिनु दिनु गर्नु भन्ने र २ दफामा साँवा मध्ये केही मात्र भर्ना दिँदा लिँदा लिखतमा दरपिठमा लिखत नपाएकोमा १ दफा बमोजिम भरपाई गरी लिनु दिनु गर्नु भन्ने, ३ दफामा सावाँ बाहेक ब्याजमा मध्ये गरी वा जम्मा नै बुझाएकोमा लिखतको पिठमा ब्याज भनी जनाई दरपिठ गरी आसामीको ऐनबमोजिम रीतपूर्वकको सहीछाप गरी लिनु दिनु वा रसिद भरपाई गरी लिनु दिनु गरेकोमा सो रसिद भरपाईको नक्कल गरी यो बमोजिमको सक्कल बुझी लिएँ भन्ने आसामीको सहीछाप गराई लिनु भन्ने र दफा ४ मा दरपिठ गर्नेमा र रसिद भरपाई बुझी लिएँ भनी नक्कलमा सहिछाप गरी दिनेमा आसामी लेख्न जान्ने भए उसैको र रसिद भर्पाइ दिनेमा साहूल लेख्न जान्ने भएमा उसैको हस्ताक्षरले लेखाई सहीछाप पनि गराउने र लेख्न नजान्ने भएमा अरुबाट लेख्न लगाई ल्याप्चे सहीछाप समेत गराउनु पर्छ । ब्याजको ब्याज खान हुँदैन खाएको भए पनि फिर्ता गराई सजाय पनि गर्नु भन्नेसमेत प्रत्येक दफामा छुट्टा छुट्टै कुराहरुको व्यवस्था भएको देखिन आउँछ । दफा १।२।३ मा अन्य रीत पुर्याउने कार्यहरु उल्लेख गरी ऐनबमोजिम रीत पुर्याई सहीछाप गराउनु पर्छ भन्नेसमेत उल्लेख भए जस्तै दफा ४ मा रीत पुर्याउने शब्द उल्लेख नभएकोले दफा ४ को कुरा शिर व्यहोराको रीत पुर्याउने शब्द भित्र पर्न आउँदैन । किन कि दफा ४ को कुरा पनि शिर व्यहोराको रीत पुर्याउने शब्द भित्र परेको सम्झने हो भने उक्त दफा ४ मा कारणीकै हस्ताक्षरले लेखाउने कुरा मात्र उल्लेख नभई ब्याजको ब्याज खाएको भए फिर्ता गरी सजाय पनि गर्नुपर्छ भन्नेसमेत उल्लेख भएको कुराहरु पनि त्यस भित्र परेको मान्नु पर्ने हुन्छ । उक्त ऐनको त्यस्तो मनसाय हो भन्न मिल्ने देखिंदैन, कुनै साहू साधारण अक्षर सम्म लेख्ने जान्ने तर शारिरीक वा वौद्धिक कारणले दरपिठ रसिद भरपाईको पूर्ण व्यहोरा लेख्न नसक्ने पनि हुन सक्छ, लेख्न जान्ने भएमा उसकै हस्ताक्षरले नलेखेको सदर नहुने हो भन्ने उपरोक्त अवस्था परेमा के गर्ने ? उक्त साहू आसामीको ४ नं.मा उल्लेख नभएकोले व्यवहारमा बाधा पर्न जाने हुन्छ, त्यस्तो हुने गरी उक्त ऐन बनेको हो भन्ने अर्थ गर्न मिल्दैन, जहाँसम्म रुपैयाँ लिनु दिनु व्यवहारलाई पक्का गर्न उक्त साहू आसामीको ४ नं. ४ दफामा दरपिठ रसिद भरपाईहरु कारणी लेख्न जान्ने भएमा कारणीकै हस्ताक्षरले लेखाउने व्यवस्था गरिएको सम्म हो, यदि कारणीको हस्ताक्षरले लेखिएको छैन भने पनि अरु रीत पुगेकोमा त्यतिकै कारणले मात्र लिखतै सदर नहुने भन्न नमिल्ने देखिन्छ । उक्त साहू आसामीको ४ नं आफू स्वतन्त्र रुपमा नभई कागजजाँचको २०।२०ग. नं. समेतमा आश्रित भएकोले उक्त कागजजाँचको ऐनलाई पनि ध्यान दिनु पर्छ, वादीले पेश गरेको ०१८।१०।१५ को भरपाईमा उक्त कागजजाँचको २० र २० (ग) नं.को रीत पुर्याई साहूको हस्ताक्षरको सहि र दायाँ बायाँ ल्याप्चे सहीछाप समेत भइराखेको देखियो, त्यस्तो सहीछाप भएको कागज रीतपूर्वकको मानिने र त्यस्तो कागजबाट नालेस उजूर सुनी इन्साफ दिन मिल्ने उक्त कागजजाँचको २० (ग) नं.को देहायका कर्जा दिएको बुझी तमसुक कागजको पिठमा दरपिठ नगरी छुट्टै गरी दिएको भरपाई भन्ने उल्लेख भइराखेको समेतबाट प्रष्ट गरेकै छ। तसर्थ उक्त भरपाई ऐनले सदर नहुने अवस्थाको भन्न नमिल्ने हुँदा वादीको नालेस खारेज गर्ने गरी यसबेञ्चमा सहयोगी माननीय प्रधान न्यायाधीश माननीय न्यायाधीशज्यूहरुले व्यक्त गर्नुभएको रायसंग मेरो राय सहमत भएन, इन्साफ तहकिकात गर्ने ठहराई ०२६।५।२२।१ को डि.बे.को माननीय न्यायाधीशहरुले व्यक्त गर्नुभएको रायसंग मेरो सहमत छ, उपरोक्त उल्लेख भएबमोजिम आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।
इति सम्वत् २०२७ साल बैशाख २९ गते रोज ३ शुभम् ।