June 14, 1970
Created by nepalarchives

निर्णय नं. ५४० – लुटपिट

निर्णय नं. ५४०              ने.का.प. २०२७ डिभिजन बेञ्च न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह सम्वत् २०२५ सालको दे.वि.नं. २८८ वादी :   पूर्व...

निर्णय नं. ५४०              ने.का.प. २०२७

डिभिजन बेञ्च

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह

सम्वत् २०२५ सालको दे.वि.नं. २८८

वादी :   पूर्व १ नं सिम्पाई थंसिपा मौजे ३ घरै बस्ने पूर्णप्रसाद पाध्या

विरुद्ध

प्रतिवादी : ऐ.ऐ. बस्ने राममाया कमिनी समेत

मुद्दा : लुटपिट

(१) लुटपिट मुद्दामा जग्गाको हक बेहक गर्न परेमा वादी र प्रतिवादीलाई बयान गराई जग्गा मुद्दाको वादी हुनेसंग कोर्ट फी लिई जग्गाको हक बेहक र लुटपिट गरे नगरेको ठहर गर्नुपर्ने ।

          लुटपिट मुद्दामा जग्गा हक बेहक गर्नु पर्‍यो भने वादीको सबूद खुलाई बयान गराई प्रतिवादीलाई प्रतिवादी सरह बयान गराई लुटपिट मुद्दाको वादी जो जग्गा मुद्दामा वादी हुन आएको छ, उसंग कोर्ट फी लिई जग्गा मुद्दाको कुरा समेत पारी प्रतिवादीको जग्गामा हक पुग्छ पुग्दैन लुटपिट गरेको ठर्हछ ठहर्दैन ऐनबमोजिम किनारा गर्नु भनी यो मुद्दा सिन्धुपाल्चोक अदालत पठाई दिनु ।

(प्रकरण नं. ३)

आदेश

          न्या. श्री हेरम्बराज

          १.   मेघबहादुरले ०१९।८।२५।२ मा मलाई राजीनामा गरेको धुम्के बारी समेत कित्तामा प्रतिवादीले मकै समेतका बाली लुटपिट गरी लगेको बिगो रु.६५१। भराई पाउँ भनी इलाका अदालत सिन्धुपाल्चोकमा ०२० साल मार्ग २९ गते रोज १ मा पूर्णप्रसादले फिराद गरेको सो जग्गा मेघबहादुरसंग भोगबन्धक लिई राममाया कमिनीलाई कमाउन दिएकोले बिगो बुझाउनु पर्ने होइन भन्ने प्रतिवादी चेतनाथ भई जग्गातर्फ हक बेहक गर्नु परेकोले कोर्ट फी लिई जग्गातर्फ किनारा गर्नु भनी बागमती अञ्चल अदालतले आदेश गरी पठाएकोमा बाधा पर्‍यो भनी प्रतिवेदन साथ मुद्दा आएकोछ ।

          २.  प्रतिवेदनमा लेखेअनुसार अ.बं.७२ नं. ले देवानी मौज्दारीको छुट्टा छुट्टै फिराद दर्ता गर्नु फैज्दारीमा दर्ता हुन्छ भने साक्षी आदी प्रमाणले वादीले हार्ने भयो भने त्यस्तो शंका हुँदैन, जुन तहकिकात गर्दा एक तर्फले जित्ने मात्र हुन्छ त्यस्तो गर्न नहुने हुँदा जुनसुकै तर्फबाट जित हुने भए पनि प्रमाण नछुटाई बुझ्ने अदालतको परम्परा हो । फैसला पर्दै जाँदा कदाचित प्रतिवादीले लुटेको ठहर्‍यो भने सो जग्गा भोगबन्धकी हक हो भन्ने निज प्रतिवादीको जिकिरलाई उपेक्षा गरेको हुन्छ, वादी वा प्रतिवादीको जिकिरलाई उपेक्षा गरी दिनु हुँदैन परेको लुटपिट मुद्दा जेसुकै होस भनी रहन दिनु नहुने हुनाले लुटपिट गरेको हो वा होइन भनी किनारा गर्नु पर्‍यो, त्यस बेलामा प्रतिवादीको जिकिरको निजको बन्धकी हकको जग्गा हो भन्ने कुरा पुग्न सक्छ सक्तैन भन्नु पर्‍यो । त्यस निमित्त प्रतिवादीले बाँकीको के प्रमाण दिने हो त्यस्तो प्रमाणलाई वादीलाई सुनाई सद्दे कीर्तेमा तहकिकात गर्न अ.बं.७८ नं. ले दिएकै छ, तर लुटपिट गरेको हो भन्ने वादीको दावी शिद्व हुन्छ हुन्न मेघबहादुरको राजीनामा प्रमाण हुँदैन, त्यो राजीनामाले प्रतिवादीको जग्गा हो रहेछ भन्नेसम्म देखिन्छ, यस्तो प्रमाणलाई लाग्ने दावी भए मात्र त्यस्तो सद्दे कीर्तेको तहकिकात उचित हुन्छ नत्र भने एक मुद्दामा अर्को प्रमाणको तहकिकात गर्नु बेकार हुन्छ, यस कारणले जग्गाको दावी लिने पर्न भयो परेको लुटपिट मुद्दा किनारा गर्न प्रतिवादीले अलमल गर्न नपाओस भनी यस्तो कारवाही गर्नुपर्छ । लुटपिट मुद्दा परेको बिगोलाई नै हक बेहक गरेको होईन, त्यस्तो लुटपिट मुद्दामा सम्बन्धित हुन आएको जग्गाको हक बेहक गर्नु परेको हो, त्यस निमित्त अ.बं.१३३ नं.बमोजिम जहिलेसुकै पनि मनासिव कागज गराउन हुने हुनाले प्रतिवादीले बिरोध गरेको कुरालाई वादीसंग सोधी दावी बनाउन केही अडचन हुँदैन, जब दावी लिनु पर्‍योफ्नो बयानमा सबूद प्रमाण लेख्नु स्वभाविक हुन्छ । वादीको बयान गराउन सबूद लिन त्यस्तै प्रतिवादीले बयान लिन र सबूद लिन ऐनले दिइको छ । जग्गाको हक बेहक गर्नु परेपछि कोर्ट फी ऐन अनुसार लाग्ने कोर्ट फी लिनै पर्छ ।

          ३.  माथि लेखिएबमोजिम लुटपिट मुद्दामा जग्गा हक बेहक गर्नु पर्‍यो भने वादीको सबूद खुलाई बयान गराई प्रतिवादीलाई प्रतिवादी सरह बयान गराई लुटपिट मुद्दाको वादी जो जग्गा मुद्दामा वादी हुन आएको छ उसंग कोर्टफी लिई जग्गा मुद्दाको कुरा समेत पारी प्रतिवादीको जग्गामा हक पुग्छ पुग्दैन, लुटपिट गरेको ठर्हछ ठहर्दैन ऐनबमोजिम किनारा गर्नु भनी यो मुद्दा सिन्धुपाल्चोक अदालतमा पठाई दिनु ।

          ४.  यस्तो कानून व्यवस्था गर्न निमित्त स्पेशलबेञ्चमा यो प्रतिवेदन पठाउन श्री माननीय प्रधान न्यायाधीश समक्ष पेश गर्नु ।

 

इति सम्वत् २०२७ साल जेष्ठ ३२ गते रोज १ शुभम् ।