June 5, 1970
Created by nepalarchives

निर्णय नं. ५३९ – अंश

निर्णय नं. ५३९    ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२६ सालको दे.फु.नं. ७३।७४ निवेदक  ...

निर्णय नं. ५३९    ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

सम्वत् २०२६ सालको दे.फु.नं. ७३।७४

निवेदक   : भ.पु.जितपुर बस्ने कान्छी कर्केनी

विरुद्ध

विपक्षी    : ऐ ऐ बस्ने थलबहादुर कार्की क्षेत्री समेत

मुद्दा : अंश

(१)  जेठी आमालाई बाबुले अगाडि घर जग्गा समेत छुट्याई बाहिर राखेको भन्ने स्वीकार गरी सकेको देखिएमाप्रकाश नगरी बाहिर राखेकी स्वास्नी भन्ने जिकिर खम्बिर मान्न नमिल्ने ।

          यिनै प्रतिवादी थलबहादुर टंकबहादुरको अंश मुद्दामा टंकबहादुरले दिएको प्रतिवादीमा बाबाले जेठी आमा र म मेरी आमा समेतलाई छुट्याई जेठी आमा पट्टि छोरा नभएकोले केही घर जग्गा दिइराखेको भन्ने र प्रतिवादी थलबहादुरले यो मुद्दाको प्रतिवादीमा जेठी आमालाई ९८ सालमै घर जग्गा समेत छुट्याई बाहिरै राखेको स्वसिद्धै छ भन्नेसमेत उल्लेख गरी राखेको देखियो । यसरी बाबुले जग्गा दिइराखेको समेत भएपछि प्रकाश नगरी राखेको भन्ने प्रश्नै उठ्न नसक्ने हुँदा निवेदक प्रतिवादीको उपरोक्त जिकिर खम्बिर मान्न मिलेन ।

(प्रकरण नं. १५)

 (२) साविक मुलुकी ऐन, अंशबण्डाको ३५ नं.विवाह गर्न नहुने कम जातकी स्वास्नी मानिस भन्ने भनाई नभएमा ल्याईते भन्ने कुराको सबूद गुज्रन पनि नआएमाअ.बं.३५ नं.बमोजिम अंश पाउने ।

          अब के कति अंश पाउने हो भन्नेतर्फ वादीकी आमा विवाह गर्न नहुने कम जातकी भन्ने प्रतिवादीको भनाई नभएको र ल्याईता भन्ने कुराको सबूद गुज्रन पनि नआएकाले साविक मुलुकी ऐन, अंशबण्डाको ३५ नं.बमोजिम आफू मिल्दाको भाइ प्रतिवादी थलबहादुरले पाउने सरह अंशमा वादीले आधा भाग पाउने देखिन्छ ।

 (प्रकरण नं. १६)

निवेदक वादीतर्फबाट : अधिवक्ता श्री होराप्रसाद जोशी

निवेदक प्रतिवादीतर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट

उल्लेखित मुद्दा  :

फैसला

          न्यायाधीश श्री नयनबहादुर

          १.   बाबु बमबहादुरको ३ स्वास्नीमा जेठी मैयाँ भन्ने सन्तकुमारी म वादीको आमा माहिली विष्णुकुमारी प्र.टंकबहादुरको आमा कान्छी मैया प्र.थलबहादुरको आमा हुन् । बाबु ०१२।२।३ मा र आमाहरु त्यस अघिनै परलोक भएको हामी ३ जनाको चित्त नबुझी ०१३।४।२४ देखि मान्नु छुट्टिभिन्न बसेको म माहारोगी बुढी कन्या भई बसेकिले अंश देउ भनी प्रतिवादीहरुलाई भन्दा तँ उमेर नपुगेकी रोगी भनी आलटाल गरी नदिएको र मलाई अंश दिनु पर्ला भनी प्रतिवादी २ जना मिली बुढी कन्या भई बसेकी म अंशियार छँदाछँदै छ भन्ने नदेखाई अंश मुद्दा गरी स.अ.डिभिजन बेञ्च लगायतबाट २ जनाले मात्र अंश खाने गरी ०१९।१०।२।३ मा फैसला गराएको छ भनी प्रमाणका मानिसले ०१९।११।१९ मा भनेको बाट थाहापाएको ३५ दिनभित्र नालिस गर्न आएको छु । सो फैसला बदर गरी मानु छुट्टिएको ०१२।४।२३ को मिति कायम गरी जम्मा ३ अंश हुनुपर्नेमा स्वास्नी मानिस हुँदा जम्मा ५ खण्ड गरी २।२ खण्ड प्रतिवादीहरुलाई र १ खण्ड प्रतिवादीहरुबाट मलाई दिलाई पाउँ भन्ने ०१९।१२।२५ को कान्छी कर्केनीको फिरादपत्र ।

          २.   बाबु बमबहादुरको २ स्वास्नीमा जेठी ल्याइता गुरुङसेनीबाट प्र.टंकबहादुर, कान्छी विवाहिताबाट म थलबहादुर जन्मेको, म वर्ष ३ को नाबालकमै आमा र ११ सालमा जेठी आमा म्याकु ०१२।२।६ मा बाबु समेत परलोक भएको, ०१३।१।१५ गते मलाई खान लाउन नदिई निकाला गरी दिएकोले टंकबहादुरको अंश खण्डे कटाई मेरो अंश पाउँ भनी नालेस दिएकोमा आमा ३ वटी छन् सौता सौताको चित्त नमिली ९८ साल बिजया दशमीको दिन जेठी आमाका सन्तान नहुँदा निजलाई धान बिउ ।३।४ पाथी जाने खेत ।९।११ को घर ३ रोपनी जति बारी छुट्याई दिएको हो र हामीपट्टि आमा छोरा पनि छुट्टी बसेको टंकबहादुर उपर मैले दिएको अंश मुद्दामा ०१२।१२।४ गते नै मानु छुट्टिएको कायम भई तायदाती लिई टंकबहादुरले ६ खण्डको १ खण्ड मात्र अंश पाउने ठहरी स.अ. डिभिजन बेञ्चबाट ०१९।१०।२।३ मा फैसला भएको छ । उक्त अंश मुद्दामा प्र.टंकबहादुरले दिएको प्रतिवादी जिकिरबाट पनि जेठी आमा ल्याइता र प्रकाश नगरी ९८ सालमै घर जग्गा छुट्याई बाहिर राखेको भन्ने स्वसिद्वै छ, निजतर्फबाट यो वादी जायजन्म भएको भन्ने टंकबहादुरले आफ्नो प्रतिवादीमा उल्लेख पनि नगरेको निजका साक्षीले पनि जेठीपट्टि सन्तानै छैन भनेको छ, उक्त अंश मुद्दा ०१५ सालमा दायर भई ०१९।१०।३ मा फैसला भएको ४ वर्षसम्म मुद्दा परेको कुरा एकै गाउँमा बसी थाहा भएन भन्ने र ०१९।११।१९ गते मात्र थाहा पाएको भन्ने उल्लेख भएकोले यो वादीको आमाले आफूले पाउने अंश छुट्याई लिई बाहिर बसी आएको देखिएको हुनाले मेरो हकबाट कुनै परिवन्दले वादीलाई अंश दिनुपर्ने होइन भन्नेसमेत ०२०।६।२०।४ को थलबहादुरको प्रतिउत्तरपत्र ।

          ३.   टंकबहादुरले प्रतिवादी नदिई म्याद गुजारेको ।

          ४.   वादी दावी अनुसार कान्छी कर्केनी अंशियार भएकै भएता पनि प्र.टंकबहादुर उपर यहि थलबहादुरको फिराद परेको अंश मुद्दा स.अ. डिभिजन बेञ्चका फैसला बमोजिम बण्डा छुट्याउने काम बाँकीमा यसै अदालतमा आइरहेको मिसिल दुवै थरिले प्रमाण दिएको भई प्रमाण निमित्त हेरेमा ९८ सालमा बाबुले जेठी आमाको सन्तान नहुँदा निजलाई घर खेत र बारी समेत छुट्याई हामी समेतको बेग्ला बेग्लै बसेकोमा थलबहादुरको आमा मरी सकेपछि अरु छुट्टिएको ठिकै छ, टंकबहादुर, थलबहादुर, मानु छुट्टिएको भन्ने देखिन आएबाट सो ९८ सालमा भिन्न भई अंश पाइसकेका जेठी आमा पट्टिको छोरो यो वादी कान्छीले अंश पाउँछ भन्न कानूनमा व्यवस्था भएको देखिंदैन, तर उक्त मुद्दामा जेठी आमाका सन्तान नभएको भन्ने प्र.टंकबहादुरको प्रतेवादी जिकिर र निजको तायदातीमा पनि सो वादी कान्छी अंशियार छ भन्ने खुल्न नआएको र साथै निजै टंकबहादुरकै साक्षी लोकबहादुर समेत जना ३ ले पनि अंशियार कान्छी भएको भए सोही बमोजिम बक्नु पर्ने नसकी जेठी आमापट्टि सन्तान नहुँदा घर खेत बारी समेत छुट्याई दिएको भन्ने बकसपत्र भएकोबाट समेत यो वादी कान्छी कर्केनी अंशियार छ भन्ने खुल्न नआएकोबाट अंशियार रहेछ भन्ने देखिन आउँदैन । टंकबहादुर, थलबहादुरको ०१५ सालमा दायर भएको अंश मुद्दा ०१९ सालमा आखिरी निर्णय भएपछि मात्र थाहा पाएको भनी यो वादीका अंशमा दावी पर्न आएको भई ४ वर्ष सम्म मुद्दा परेको थाहा रहेनछ भन्ने अनप्रतित देखिन्छ । प्र.टंकबहादुरले प्रतिवादी समेत नदिई साविती भई बसेबाट पनि थलबहादुरको प्रतिउत्तर जिकिर मुताविक निजहरुकै अंश मुद्दा लम्याउन निमित्त मात्र टंकबहादुरले अघि सारी फिराद गराएको भन्ने प्रमाणित हुन आउँछ । उपरोक्त मुद्दा प्रमाणहरुबाट स.अ.बाट फैसला हुँदासम्म अर्को अंशियार छ भन्ने मिसिलबाट देखिन नआएकोले फैसला सदर गरी अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्नेसमेत भक्तपुर इलाका अदालतको ०२०।९।३।३ को फैसला ।

          ५.  भक्तपुर इलाका अदालतको इन्साफमा चित्त बुझेन भन्ने कान्छी कर्केनीको वारेस मंगलबहादुर कार्कीको पहिलो पुनरावेदन ।

          ६.   प्र. थलबहादुर टंकबहादुरको अंश मुद्दामा निज दुवै जनाले पनि ति आफैं २ जना मात्र अंशियार कायम गरी अंशमा दावी जिकिर गरेको हुँदा निजहरु २ जनाको मात्र अंशबण्डा छुट्याई दिने ठहराएको स.अ.को अन्तिम फैसलाको नक्कल झिकाई आएको प्र.थलबहादुरको साथ लिई आएकोमा हेर्दा देखिएको र सो फैसला भएको कुरा मौकैमा वादीलाई थाहा खवर भएको लिखत सबूद प्रमाण प्रतिवादीहरुले दिन देखाउन नसकेकोले मौकामा थाहा पाएको भन्ने भक्तपुर अदालतको फैसला बूँदा जायज भन्न मनासिव नपर्ने हुनाले वादीको यो अंशमा दावी फिराद गरेपछि मात्र वादी जेठी आमाकी छोरा हो निजकी आमालाई अघि नै बाबुले अंश छुट्याई दिएको लिखत प्रमाण निज प्रतिवादीले दिन नसकी जेठी आमाकी छोरी हुन भन्नेमा थलबहादुर प्रष्ट सावित देखिएको, प्र.टंकबहादुरले वादीको दावीमा होइन भन्ने कुनै इन्कार गर्ने आउन नसकी प्रतिवादी नै नदिई म्याद गुजारी वादीको दावीमा सावित सरह भई बसेको देखिएकोले ३५ वर्ष नाघी विवाह नभई कन्या भई बसेकी वादी प्रतिवादीका जेठी आमाको छोरी वादी कान्छी कर्केनीले प्रतिवादीहरुसंग अब नेपाल मुलुकी ऐन अंशबण्डाको १६ नं.बमोजिम भाइसरहको अंशमा आधी अंश पाउने ठहर्छ । सो बमोजिम दिनुपर्नेमा नपाउने ठहराई भ.पु.इ.अ.बाट फैसलागरेको गल्ती ठर्हछ भन्ने बा.अं. अदालतको ०२२।१।२५।६ को जाहेरी फैसला ।

          ७.  मलाई जिताई अन्तिम तहबाट सदर भई आएपछि प्रतिवादीबाट सगोल सम्पत्तिको तायदाती लिई ऐनबमोजिम अंश छुट्याई दिने भन्ने बागमती अञ्चल अदालतको फैसलामा चित्त बुझेन भन्नेसमेत कान्छी कर्केनीको पुनरावेदन ।

          ८.   विपक्षीको आमालाई बाबुले प्रकाश नगरेको र यिनी छोरी हुन भन्ने कुराको अघिको अंश मुद्दाबाट नदेखिएको बाबु छँदै अंशमा दावी नगरेकोले फिराद दावीबाट फुर्सद भई अञ्चल अदालतको फैसला बदर गरिपाउँ भन्ने थलबहादुरको पुनरावेदन ।

          ९.   जाहेरी फैसला उपर कान्छी कर्केनीको र थलबहादुरको अपील परेको देखिएकोले अ.बं. २१५ नं. ऐनबमोजिम अपील तहबाट हेरिने हुँदा साधकको लगत कट्टा गरी दिनु भन्ने स.अ.डिभिजन बेञ्चको ०२२।७।१८।४ को आदेश ।

          १०.  डिभिजन बेञ्चको आदेश बमोजिम तायदाती लिई रु.६,८७४।३३ को जेथा वादीले अंश पाउने ठर्हछ भन्ने बागमती अञ्चलको अदालतको फैसला ।

          ११.  बाबु बमबहादुरको जेठी श्रीमति मैयाँ कर्केनी तर्फको छोरा म र माहिली कान्छी तर्फका छोरा प्रतिवादीहरु भई म अंशियारा हुन भन्ने वादीको भनाई भएकोमा त्यसो होइन भनी भन्न टंकबहादुर उपस्थित नभई म्याद गुजारी बसेको थलबहादुरले वादीको दावीमा इन्कार लिएको भए पछि वादी कान्छी कर्केनीलाई आफ्नू बाबु बाहेक अरु यो व्यक्तिको छोरी हुन भनी भन्न प्रमाण दिन समेत नसकी मसंग परेको अंश मुद्दामा टंकबहादुरले दिएको प्रतिवादीबाट पनि निज जेठी आमा विवाहिता नभई ल्याइते र उसमाथि प्रकाश नगरी बाहिर राखेको भई ९८ सालमै घर जग्गा समेत छुट्याई बाहिरै राखेको भन्ने स्वसिद्ध छ । बाहिर राखेकी स्वास्नीले लोग्ने छँदै अंशवापत घर जग्गा समेत लिई बाहिर बसेकी भए पनि निज र निजका छोरा समेतको बाबुका शेषपछि अंशमा दावी गर्न अंशबण्डाको ८ नं. ऐनले नपाउने भन्नेसमेत प्रतिवादीमा लेखेकोले वादीलाई आफ्नु बाबुको छोरी हुन भन्ने कुरा स्वीकार गर्दै प्रकाश नगरी बाहिर राखेकोले अंश नपाउने भन्ने जिकिर लिएको र टंकबहादुरको थलबहादुरसंगको अंश मुद्दामा प्रतिवादी दिंदा पनि जेठी आमापट्टि सन्तान नै नभएको भन्ने लेखी छोरा नभएको भन्नेसम्म उल्लेख गरेको देखिन्छ । प्रस्तुत मुद्दामा साक्षी बुझ्दा वादीलाई बमबहादुरको छोरी हुन् भनी मिनबहादुर भण्डारी समेत ४ जनाले र बमबहादुरको छोरी हुन होइनन् थाहा छैन भनी सन्तबहादुर १ जनाले वादी कसकी छोरी हुन थाहा छैन भनी भैरवबहादर समेत २ जनाले बकेकोबाट भनी अर्के व्यक्तिको छोरी हुन भन्ने नदेखिएको यस परिस्थितिमा साक्षीको बहुमतको भनाई अनुसार वादीलाई बमबहादुरको जेठी श्रीमतिपट्टिको छोरी हुन् भन्नु पर्ने देखिन आएको छ । त्यसो भए पनि थलबहादुरको जिकिर अनुसार बाहिर राखेकी स्वास्नीको सन्तान हुनाले अंश नपाउने हो कि भन्नालाई निजकै भनाई अनुसार घर जग्गा समेत दिइराखेको हो भन्ने भनाई भए पछि प्रकाश नगरी बाहिर राखेको भन्ने प्रश्नै नउठ्ने उसमा पनि अंश दिने टंकबहादुरले त्यस्तो जिकिर लिन नआएको समेतबाट वादी बमबहादुरको जेठी श्रीमति तर्फको छोरी विवाहा नभई ३५ वर्ष उमेर नाघेकी र ल्याईता तर्फको सन्तान भन्ने सबूद नभएकोले तत्काल प्रचलित अंशबण्डाको ३५ नं बमोजिम भाइ सरहमा आधा अंश पाउने भन्ने प्रष्ट देखिएको छ । अंश पाउने भए के कति पाउने हुन भन्नेतर्फ टंकबहादुरले तायदातीमा लेखी दिएको रु.२४,७५९।६० को जेथा मध्ये टंकबहादुर थलबहादुरको अंश मुद्दाबाट ६ भागको १ भाग टंकबहादुरले पाउने ने.रु.४,१३६।६० को जेथा कटाई बाँकी थलबहादुरले पाउने रु.२०,६२३। को जेथाबाट ३ भागको १ भाग रु.६,८७४।३३ को जेथा पाउने गरी अञ्चल अदालतले निर्णय गरेको रहेछ । उक्त अंशबण्डाको ३५ नं ऐनमा घटी बढी अंश पाउने अवस्थाको कुरा उल्लेख नभएकोले त्यस ऐनले सबै भाइलाई बराबर अंश पाउने सम्झी छोरी भाइ सरहमा आधी पाउने भनेकी भन्ने देखिन आउने हुँदा टंकबहादुर थलबहादुरले के कति अंश पाउने हुन, सो कुरा उनीहरुकै अंश मुद्दाबाट ठहरे बमोजिम हुने भए पनि यस मुद्दाको वादी छोरीलाई अंश दिलाउँदा २ भाइ छोरा र १ बहिनी छोरी भएको नाताले वादीका दावी अनुसार जम्मा जेथाको ५ भागको १ भाग नै अंश पाउने भन्ने कानून अनुसार हुने भएकोले जम्मा जेथा रु.. २४,७५९।६० को ५ भागको १ भाग रु.४,९५१।९२ को जेथा वादीले अंश पाउनेमा रु.६,८७४।३३ को जेथा दिलाउने गरेको सम्म अञ्चल अदालतको निर्णय नमिलेको देखिन्छ । यस प्रसंगमा टंकबहादुर थलबहादुरको अंश मुद्दा परेको थाहा पाएका ३५ दिन भित्र उजूर नगरेकिले तत्काल प्रचलित अ.बं.१११ नं. ऐनले वादीको उजूर नलाग्ने भन्ने र अंशबण्डाको ३५ नं. ऐनमा चल वा अचल दिन अंश दिनेको खुस भन्ने लेखिएकोले अञ्चल अदालतले जेथा दिलाउने गरेको मिलेन भनी विद्वान वकिलले बहस जिकिर गर्नुभएको छ । टंकबहादुर, थलबहादुरको अंश मुद्दा अहिलेसम्म अन्तिम निर्णय नभई सर्वोच्च अदालत फुल बेञ्चको विचाराधीनमा रहेको देखिएको र त्यस मुद्दामा वादीले अंश नपाउने भनी किटानी निर्णय नगरिएको अंशियारले अंश पाउने भन्ने कुरामा जहिले सकै पनि उजूर गर्न पाउने अंशबण्डाको ६१ नं. ऐनमा लेखिएको समेत देखिंदा म्याद नाघेको उजूर नलाग्ने भन्ने नमिल्ने र चल अचल दिने कुरामा अंश दिने कर्तव्य भएको मानी तायदाती दिने टंकबहादुरले त्यस्तो जिकिर गर्न नआएको । थलबहादुरले प्रतिवादी दिँदा पनि त्यस किसिमको जिकिर नलिएकोले तायदातीमा लेखिएको जेथा अंश भाग लगाई छुट्याई दिने गरेको अञ्चल अदालतको निर्णय नमिलेको भन्ने नमिल्ने समेत हुँदा विद्वान वकिलको उक्त बहस जिकिर सहमत हुन मिलेन तसर्थ माथि उल्लेख भए बमोजिम रु.४,९५१।९२ को चल अचल जेथा वादीले अंश पाउने भा.रु.६,८७४।३३ को अंश पाउने गरेको अंकसम्म नमिलेको हुँदा वादीले अंश पाउने ठहराएको इन्साफ बागमती अञ्चल अदालतको मनासिव छ भन्ने ०२५।११।२६।१ को डिभिजन बेञ्चको फैसला ।

          १२.  सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादी कान्छी कर्केनी प्रतिवादी थलबहादुरको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा थलबहादुरले वादीलाई बाबुले प्रकाश नगरी बाहिर राखेको अंश नपाउने भन्ने जिकिर लिएतर्फ त्यस्तो प्रकाश नगरी बाहिर राखेको तथ्य सबूद केही नभएकाले वादीले अंश पाउने ठहर गरेको सर्वोच्च अदालतको निर्णय त्यसतर्फ मिलेकै देखिन आएको, चल अचल दिन मेरो खुस भएको अचल अंश नै दिने कानूनले कर नलाएको भन्ने प्रतिवादी थलबहादुरको निवेदन जिकिरका हकमा पनि तायदाती दिने टंकबहादुरले केही जिकिर नलिएको देखिन आएको समेतबाट सो तर्फको पनि सर्वोच्च अदालतको निर्णय मिलेकै भन्नु पर्ने । अब सर्वोच्च अदालतको निर्णयमा वादीले अंश के कति पाउने हुन भन्ने ठहर गर्दा अंशबण्डाको ३५ नं.मा घटी बढी अंश पाउने अवस्थामका कुरा उल्लेख नभएकोले त्यस ऐनले सबै भाइलाई बराबर अंश लाग्ने सम्झी छोरीले भाइ सरहमा आधा पाउने भनेको भन्ने देखिन आउने हुँदा टंकबहादुर, थलबहादुरले कति अंश पाउने हुन सो कुरा उनीहरुकै अंश मुद्दाबाट ठहरे बमोजिम हुने भए पनि यस मुद्दाको वादी छोरीलाई अंश दिलाउँदा २ भाइ छोरा र १ बहिनी छोरी भएको नाताले वादीको दावी अनुसार ५ भागको १ भाग नै अंश पाउने भन्ने कानून अनुसार हुने भएकोले जम्मा जेथा रु.२४,७५९।६० को ५ भाग को १ भाग रु.४,९५१।९२ को जेथा वादीले अंश पाउनेमा रु.६,८७४।३३ को जेथा दिलाउने गरेको सम्म अञ्चल अदालतको निर्णय नमिलेको देखिन्छ भन्ने उल्लेख भएको देखियो । अंशबण्डाको ३५ नं मा हेर्दा ३५ वर्ष मुनिका उमेरकी विवाह नभएकी छोरीले भाइ भिन्न हुँदा ऐनबमोजिम विवाह खर्च मात्र पाउँछे, ३५ वर्ष नाघेपछि पनि विवाह नभई माईत रहेकी छोरीले भाइ भिन्न हुँदा ऐनबमोजिम भाइ सरहको अंशमा आधी अंश पाउँछे भन्ने लेखिएको उता टंकबहादुरले थलबहादुरको सर्वोच्च अदालत फुल बेञ्चको विचाराधीनमा रहेको भनेको अंश मुद्दाबाट थलबहादुरले ६ भागको १ मात्र अंश पाउने ठहर हुन गएको खण्डमा सो ६ खण्ड छुट्याई बाँकी रहेकोमा उक्त ऐनबमोजिम भाइ सरहको अंशमा आधी अंश पाउँछे भन्ने शब्द वाक्यांशले थलबहादुरले पाउने अंशको आधी अंशको आधी पाउने हुन जान्छ, यस स्थितिमा सर्वोच्च अदालतले गरेको उपरोक्त निर्णय मिल्न पाउने देखिदैन । तसर्थ दोहर्‍याई बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको श्री राजप्रतिनिधि परिषद्मा पेश हुँदा श्री अध्यक्षबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरबारबाट लेखी आएको ०२६।६।१।४ को हुकुम प्रमांगी ।

          १३.  बक्स भई आएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२६।६।१।४ को आदेश ।

          १४.  यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही २०२७।२।१३।३ मा पेश भई निवेदक वादी कान्छी कर्केनीतर्फबाट विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले र निवेदक प्रतिवादी थलबहादुरतर्फबाट विद्वान अधिवक्ता श्री लवेदव भट्टले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादीले अंश पाउने हो होइन पाउने भए के कति पाउने हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १५.  निवेदक प्रतिवादी थलबहादुरले वादी आफ्नी जेठी आमा पट्टिको छोरी नै होइन भन्न नसकी प्रकाश नगरी बाहिर राखेको स्वास्नीपट्टिको छोरी वादीले बाबुको शेषपछि अंशमा दावी गर्न नपाउने भन्ने मुख्य जिकिर लिएको पाइन्छ । यस प्रसंगमा हेर्दा यिनै प्रतिवादी थलबहादुर र टंकबहादुरको अंश मुद्दामा टंकबहादुरले दिएको प्रतिवादीमा बाबाले जेठी आमा र म मेरी आमा समेतलाई छुट्याई जेठी आमापट्टि छोरा नभएकाले केही घर जग्गा दिइराखेको भन्ने र प्रतिवादी थलबहादुरले यो मुद्दाको प्रतिवादीमा जेठी आमालाई ९८ सालमै घर जग्गा समेत छुट्याई बाहिरै राखेको स्वसिद्वै छ भन्नेसमेत उल्लेख गरी राखेको देखियो । यसरी बाबुले जग्गा दिइराखेको समेत भएपछि प्रकाश नगरी राखेको भन्ने प्रश्नै उठ्न नसक्ने हुँदा निवेदक प्रतिवादीको उपरोक्त जिकिर खम्बिर मान्न मिलेन । वादीको उमेर ३५ वर्ष नाघिसकेको र विवाह नभई माइत बसेको भन्ने कुरामा विवाह नभएकोले तत्काल प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ३५ नं.बमोजिम वादीले अंश पाउने प्रष्ट छ ।

          १६.  अब के कति अंश पाउने हो भन्नेतर्फ वादीकी आमा विवाह गर्न नहुने कम जातकी भन्ने प्रतिवादीको भनाई नभएको र ल्याईता भन्ने कुराको सबूद गुज्रन पनि नआएकोले साविक मुलुकी ऐन अंशबण्डाको ३५ नं.बमोजिम आफू मिल्दाको भाइ प्रतिवादी थलबहादुरले पाउने सरह अंशमा वादीले आधा अंश भाग पाउने देखिन्छ । अंश दिनै पर्ने ठहर भएपछि पनि उक्त अंशबण्डाको ३५ नं. मा उसले पाएको अंशमा चल दिन र जग्गा दिन अंश दिनेको खुस भन्ने लेखिएकोले अचल सम्पत्ति दिन कर नलाग्ने भन्ने प्रतिवादी थलबहादुरको निवेदन जिकिर भएको हकमा निजले जग्गा दिन खुस छैन भन्ने कुरा पहिले प्रतिवादी समेतमा कुनै जिकिर लिन नसकेको र मुख्य प्रतिवादी टंकबहादुरले त्यस्तो कुनै जिकिर लिन नआई प्रतिवादी नै नदिई बसेको समेत हुँदा त्यसतर्फ अरु विचार गरी रहन परेन । यो मुद्दा साथै पेश हुन आएको वादी थलबहादुर प्रतिवादी टंकबहादुरको अंश मुद्दामा अरु २ आमा पट्टिका छोराहरुमा साविक मुलुकी ऐन अंशबण्डाको ६ नं.बमोजिम ६ भागको १ भाग टंकबहादुरले र ५ भाग थलबहादुरले पाउने ठहरी आजै यसबेञ्चबाट फैसला भएकोले यो मुद्दामा मानु छुट्टिएको कायम भएको मिति ०१२।४।२३ सम्मको बिगो रु.२४,७५९।६० को ०२३।१०।२०।१ मा तायदाती आइराखेको ६ भागको १ भाग टंकबहादुरको ५ भाग थलबहादुरको थलबहादुरले पाउने ५ भागको आधी २।। भाग वादी कान्छी कर्केनीको समेत जम्मा ८।। भाग लाग्ने हुँदा वादीको २।। भागमा पर्न आउने रु.७२।२।२२ को सम्पत्ति वादीले अंश पाउने ठर्हछ । वादीले ५ भागको १ भाग बण्डा पाउने ठहराएको सम्म ०२५।११।२६।१ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी कान्छी कर्केनीके निजले बिगो रु.७,२८८।२३ को अंश भाग पाउने ठहरेकोले नयाँ कोर्ट फी ऐन, २०१७ लागु भइसकेपछि तायदाती आई पहिले कोर्ट फी लिएको समेत हुँदा उक्त ऐनको दफा ६ (क) बमोजिम २००० सम्मको सयकडा ५ बडीको सयकडा ४ ले शुरु कोर्ट फी रु.३११।२९ र शुरु र अञ्चल अदालत उपर पुनरावेदन गर्दा त्यसको सयकडा १५ ले रु.४६।६९ दरले रु.९३।३८ समेत जम्मा रु.४०४।६७ कोर्ट फी लाग्नेमा नालेस गर्दा ०९।१२।२५।१ मा रु.१५ र बागमती अञ्चल अदालतको ०२५।३।११ को फैसला बमोजिम रु.२९४।९८ शुरु उपर पुनरावेदन गर्दा रु.१। अञ्चल अदालत उपर पुनरावेदन गर्दा रु.२५। समेत रु.३३५।९८ मात्र कोर्ट फी आएको देखिएकोले नपुग रु.६८।६९ रुजु हुँदा असुल गरी का.श्रे.अ.त. मा लगत दिनु……………………..१

ऐ. ऐ. कै ०२५।११।२६।१ को डिभिजन बेञ्चको फैसलाले बढी भनी फिर्ता दिने गरेको कोर्ट फी रु.१५।२० फिर्ता दिनु पर्दैन । सो कलम लगत काटी दिनु भनी ऐ…………………….२

ऐ.ऐ कै निजलाई लाग्ने ठहरेको शुरु र पुनरावेदन गर्दा समेत रु.४०४।६७ र मुद्दा दोहर्‍याउँदा ०२६।७।२० मा सर्वोच्च अदालतमा दाखेल गरेको रु.९।६१ समेत जम्मा कोर्ट फी रु.४१४।२८ र नालिस गर्दा दाखेल गरेको अरु दस्तुर रु.२।४ समेत जम्मा रु.४१६।३२ प्रतिवादी टंक कार्की थलबहादुर कार्की जम्मा २ वाट वरावर रु.२०८।१६ का दरले भराई पाउँ भनी कोर्ट फी ऐन, २०१७ को दफा १५(११) बमोजिम ३ बर्ष भित्र दरखास्त दिएमा प्रतिवादी थलबहादुरबाट भरी पाउने रु.२०८।१६ का हकमा निज थलबहादुरले ०२५।६।५।६ मा सर्वेच्च अदालतमा धरौट राखेको रु.२९४।९८ मध्येबाट र टंकबहादुरबाट भरी पाउने रु.२०८।१६ निजको जेथाबाट दस्तुर केही नलिई कानूनबमोजिम भराइदिनु भनीऐ ऐ………३

प्रतिवादी थलबहादुर कार्की के निजले ०२५।६।५।६ मा सर्वोच्च अदालतमा दाखेल गरेको धरौट रु.२९४।९८ मध्ये वादीलाई भराई दिने रु.२०८।१६ कटाई बाँकी रु.८६।८२ को हकमा कोर्ट फी ऐन, २०१७ को दफा १७ बमोजिम ३ बर्ष फिर्ता लिन आएमा कानूनबमोजिम फिर्ता दिनु भनी ऐ………………..४

०२३।१०।२०।१ को तायदाती बमोजिम जम्मा रु.२४,७५९।६० मा ।। भागको २।। भाग रु.७२८२।२३ को बण्डा वादी कान्छी कर्केनीले पाउने गरी दुवैपक्षलाई झिकाई बण्डापत्र खडा गरी सो रु.७२८२।२३ को सम्पत्ती प्रतिवादीहरुबाट बण्डा छुट्याई पाउँ भनी वादी कान्छी कर्केनीले दण्डसजायको ४६ नं.को म्याद २ बर्ष भित्र दरखास्त दिएमा कोर्ट फी ऐन, २०१७ को दफा १३ बमोजिम सयकडा २।५० ले लाग्ने दस्तूर समेत लिई कानूनको रीत पुर्‍याई वादीको भागबण्डा छुट्याई दिनु भनी कानूनबमोजिम तहसिलमा लगत कसाउन समेत भक्तपुर जि.अ. लाई लेखी पठाई शुरु मिसिल समेत उक्त भ.पु.जि.अ.मा पठाई दिनु………………………५

वादी कान्छी कर्केनी के निजले दाखेल गरेको कोर्ट फी रु.३२१।८२ मध्ये रु.२९५।२ प्रतिवादी थलबहादुरले ०२५।६।५।६ मा दाखेल गरेको धरौटबाट र रु.२९।८० प्रतिवादीको जायजेथाबाट भराई दिने गरी ०२५।११।२६।१ को डिभिजन बेञ्चको फैसला बमोजिम दिएको लगत र रु.२९।८० लाई रु.२६।८० कायम गर्नु भनी डिभिजन बेञ्चको ०२६।२।१।४ को आदेश बमोजिम दिएको लगत काटी दिनु भनी का श्रे.अ.त. मा लगत दिनु……………………..६

प्रतिवादी थलबहादुर कार्की के बागमती अञ्चल अदालत उपर पुनरावेदन गर्दा शुरुमा लाग्ने कोर्ट फी रु.३११।२९ को कोर्ट फी ऐन, २०१७ को दफा १८ बमोजिम सयकडा १५ ले रु.४६।६९ मुद्दा दोहर्‍याउँदा शुरु कोर्ट फी रु.३११।२९ को सयकडा १० ले रु.३१।१३ समेत जम्मा रु.७७।८२ कोर्ट फी लाग्नेमा निजले २२।५।४।६ मा रु.२५। र ०२५।६।५।६ मा रु.१९।२५ समेत रु.४४।२५ र मुद्दा दोहर्‍याउँदा ०२६।७।२० मा रु.२१।८१ समेत जम्मा रु.६६।६ मात्र दाखेल गरेको देखिएकोले नपुग रु.११।७६ रुजु हुँदा असुल गरी का.श्रे.अ.त.मा लगतु दिनु…………………………७

देहायका प्रतिवादीहरु के बागमती अञ्चल अदालतको ०२२।१।२५।६ को फैसला ले रु.१० दरले जरिवाना गर्ने गरेकोमा कोर्ट फी लागेकोले सो जरिवाना नलाग्ने हुँदा असूल भएको फिर्ता बाँकीको लगत कट्टा गरी दिनु भनी ऐ……………८

थलबहादुर कार्की के.रु.    १०।टंकबहादुर कार्की के.रु. १०।

बागमती अञ्चल अदालतको २२।१।२५।६ को फैसलाबमोजिम वादी कान्छी कर्केनीलाई जम्मा रु.२७।५४ लाग्ने कायमगरी त्यसमा निजवादीबाट आएको रु.१६। कटाई नपुग कोर्टफीसमेत लिई बण्डा छुट्याई दिनेगरेको कलमको लगत काटीदिनु भनी ऐ ……………………….९

नियमबमोजिम मिसिल बुझाई दिनु…………………..१०

 

न्या.श्री प्रकाशबहादुर र

न्या.श्री धनेन्द्रबहादुर

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल जेष्ठ २३ गते रोज ६ शुभम् ।