निर्णय नं. ५३४ – अंश
निर्णय नं. ५३४ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सि. सम्वत् २०२० सालको दे.फु.नं. १६१...
निर्णय नं. ५३४ ने.का.प. २०२७
फुल बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री प्रकाशबहादुर के.सि.
सम्वत् २०२० सालको दे.फु.नं. १६१
निवेदक : भ.पू.ई. जितपुर बस्ने टंकबहादुर कार्की क्षेत्री
विरुद्ध
विपक्षी : ऐ ऐ बस्ने थलबहादुर कार्की क्षेत्री
मुद्दा : अंश
(१) साविक मुलुकी ऐन, अंशबण्डाको ६ नं.–तागाधारीले विवाह गर्न हुने जातका कन्या ल्याएमा–२० को १९ खण्ड अंश पाउने व्यवस्था ।
साविक मुलुकी ऐन अंशबण्डाको ६ नं.मा विवाह गर्न हुने र विवाह गर्न नहुने २ किसिम राखी तागाधारी जातले विवाह गर्न हुनेमा आफु मिल्दाका कन्या ल्याएकोमा र आफू बराबर नमिल्दाका कन्या ल्याएकोमा सम्म २० को १९ पाउने व्यवस्था भएको पाइन्छ ।
(प्रकरण नं. १३)
(२) साविक मुलुकी ऐन, विहावारीको २ नं.–तागाधारी जातले विवाह गर्न नहुनेमा चालिस रुपैयाँसम्म विवाह खर्च पाउने, जातको कन्या (जस्तोः गुरुङ जातको) कन्या ल्याएमा ६ को १ खण्ड र चालिस रु. देखि घटी विवाह खर्च पाउने, पानी चल्ने जातको कन्या ल्याएमा ७ को १ खण्ड अंश पाउने ।
साविक मुलुकी ऐन, विहावारीको २ नं. मा विवाह गर्दा तागाधारीले आफू बराबर अथवा आफू भन्दा कम तागाधारी सम्ममा विवाह गर्न हुन्छ भन्ने उल्लेख भएको, तागाधारीले विवाह गर्न हुने भित्र गुरुङ जात पर्न नआउने समेत हुनाले गुरुङसेनी पट्टिको छोरा निवेदक प्रतिवादीले २० को १९ पाउन सक्ने देखिंदैन । विवाह गर्न नहुनेमा चालिस रुपैयासम्म विवाह खर्च पाउने जातको कन्या ल्याएकोमा ६ को १ र चालिस रुपैयादेखि घटि विवाह खर्च पाउने पानी चल्ने जातका कन्या ल्याएकोमा ७ को १ पाउने उक्त ऐनले व्यवस्था गरेको, गुरुङ जात चालिस रुपैयासम्म विवाहखर्च पाउने भित्रपर्न आउनेसमेत हुँदा उक्त ऐन अनुसार निवेदक प्रतिवादीले ६ खण्डको १ खण्ड नै अंश पाउने देखिन्छ ।
(प्रकरण नं. १३)
निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी वादीतर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट
उल्लेखित मुद्दा : धनकुमारी खत्रिनी वि.पखनकुमारी खत्रीनी, दे.फु.नं.३३६ मुद्दा : अंश धनमाल, फु.बे.
फैसला
न्या.श्री नयनबहादुर
१. बाबु बमबहादुरको २ स्वास्नी जेठी ल्याइता गुरुङसेनीबाट टंकबहादुर भएको कान्छी विवाहिताबाट म जन्मेको ३ वर्षको हुँदा आमा र २०११ सालमा अन्यायको आमा म्याकु २०१२।२।६ गते बाबु समेत परलोक भएको अंशीयार अन्याय र म बाहेक अरु कोही नभएको मलाई खान लाउन समेत नदिएबाट २०१३।१।१५ गतेका अघिल्ला दिन ऐ १४ गते तकको अन्यायवाला खण्डि अंश पाउने मानिस हुँदा श्री सम्पत्तिको तायदाती फाँट लिई अंश गरी दिलाई पाउँ भन्नेसमेत व्यहोराको थलबहादुरको फिराद ।
२. बाबुहरु २ भाइमा जेठा हाम्रो बाबु, कान्छा बाबु चन्द्रबहादुर सगोलै बसी आएकोमा १९९८ साल बैशाख महिनामा मानु छुट्टी भिन्न भई अंशबण्डा भयो । कागज भएको छैन । बाबु र कान्छा बाबु भिन्न भई बसेपछि सौता सौती आमाहरुको मेल नभएबाट ९८ साल विजया दशमीको दिन जेठी आमाको सन्तान नहुँदा निजलाई धानको ब्यू ।३।४ जाने खेत ९।११ को घर र ३ रोपनी जति बारी छुट्याई दिएको, हामीपट्टि मेरो आमा र म समेत दुईजना वादीपट्टि बाहिर वादीका आमा भई २।२ जना भएकोले ल्याइता–विवाहिता भेदभाव राख्दिन धान मुरि २३। गँहु २। दुवैतर्फका जग्गाबाट आएस्ता लिन्छु, दान धर्मलाई रु.५०००। हजार राख्छु । मरेपछि दुवै छोराले आधी खानु भनी बण्डा लगाई दिएको, आफ्नु आफ्नु व्यवहार छुट्टै गरी आएकोमा वादीको आमा परलोक भएपछि बण्डा भइसकेको कायमै राख, बस्नलाई एकै ठाउँमा बसौं भन्नु भएकोले २००२ साल माघ महिनादेखि एकै ठाउँमा खानपीन र सगोलबाटै व्यवहार गर्ने लाभ हानी छुट्टा छुट्टै व्यहोर्ने गरी आएका थियौं । ९ सालमा जेठी आमा, १० सालमा मेरो आमा, २०१२।२।३ गते बाबु समेत परलोक भएको, बाबुको काजकृया सगोलबाट गरेको, ०१२।१२।४ देखि साविकमा बाबुले लगाई दिएको आफ्नु आफ्नु अंश समाली दुई भाग गरी बाँडीचुँडी आफ्नो आफ्नो भाग बेहोरी छुट्टाछुट्टै गरी चलाई आएको छु । २०१३।१।१५ गते मानु छुट्टिएको र दाजुले अंश दिएन भन्ने कुरोसमेत वादी लेखाई झुठ्ठा हो भन्नेसमेत व्यहोराको टंकबहादुरको प्रतिउत्तर ।
३. २०१२।१२।४ गते फेरि मानु छुट्टिएको भन्ने प्रतिवादीले लेखेको साक्षीहरुबाट समेत प्रष्ट यही हुन आएकोले ०१२।१२।४ गते नै मानु छुट्टिएको सिद्ध हुन आएको, अंशतर्फ अंशबण्डाको ६ नं.मा विवाह गर्न हुने र विवाह गर्न नहुने दुई कलम रही तागाधारी बाहेक ४०। रुपैयाँ सम्म विवाह खर्च पाउने जातको कुरामा जारीको ४३ नं. ले गुरुङ जातको स्वास्नीको ६० रु.विवाह खर्च भराउने लेखिएको ४० रु.सम्म विवाह खर्च ठहराउन नहुने, गुरुङ जातलाई तागाधारी जातले विवाह गर्न हुँदैन भन्ने कानूनमा नलेखिएकोले कन्या ल्याएको भन्नु परी २० को १९ अर्थात ३९ भागमा २० भाग वादीले जम्मा धन २७५१२ मध्ये ने. रु.१४१०।७२ पाउने ठर्हछ भन्नेसमेत व्यहोराको २०२७।७।२३।३ मा भक्तपुर इलाका अदालतबाट गरेको फैसला ।
४. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी थलबहादुरको पुनरावेदन ।
५. विहावारीको २ नं. ले विवाह गर्न नहुने गुरुङसेनी देखिएको जहाँ विवाह गर्न नहुने देखियो अंशबण्डाको ६ नं. ले विवाह गर्न हुने तागाधारी जात र विवाह गर्न नहुने तागाधारी बाहेक चालिस रुपैयाँसम्म विवाह खर्च पाउने जातको कन्या ल्याएको महल मिल्न आएकोले २० को १९ पाउने गरेको शुरुको गल्ती ठर्हछ । ६ को १ भाग पाउने ठर्हछ । अरु मानु छुट्टिएको मिति कायम गरेको र अंश पाउने ठहराएको शुरुको मनासिव भन्नेसमेत व्यहोराको २०१८।९।१३।४ को जिल्ला अदालत काठमाडौंको फैसला ।
६. मानु छुट्टिएको मिति बिना सबूद ०१२।१२।४ कायम गरेकाले चित्त बुझेन भन्नेसमेत वादी थलबहादुरको पुनरावेदन ।
७. कन्या ल्याएको देखिए पछि अंशबण्डाको ६ नं. ले २० को १९ पाउने भन्ने सरासर देखिएकोले चित्त बुझेन भन्नेसमेत प्रतिवादी टंकबहादुरको पुनरावेदन ।
८. ९८ सालमै आधी आधी अंश लगाई बाबुले छुट्याई दिएको भनी प्रतिवादीले जिकिर लिएकोमा सो बमोजिम बण्डा भएको लिखत प्रमाण छ भनी पेश गर्न नसकेको र ९८ सालमा छुट्टिए पछि फेरि २००२ सालमा एकैसाथ सगोलमा वादी प्रतिवादीहरु बसी आएको भन्ने कुरा प्रतिउत्तरमा लेखिएको हुनाले अघिनै अंश छुट्टी बेग्लै बसेको भन्न नमिल्ने र सो छुट्टिएको नठहराई शुरु भक्तपुर अदालतले फैसला गरेकोमा प्रतिवादीले चित्त बुझाई पुनरावेदन नगरेकाले जिल्ला अदालतले ठहर गरेका कुरामा पर्न आएको प्रतिवादीको पुनरावेदनबाट अघि छुट्टिई आधा अंशबण्डा भइसकेको हो कि भन्नेतर्फ अब विचार गर्न नमिल्ने र ६ खण्डको १ खण्ड प्रतिवादीको अंश कायम गरेतर्फ पनि साविक मुलुकी ऐन अंशबण्डाको ६ नंम्बर हालसम्म बहाल नै रहेको उक्त ६ नं को तपसीलमा विवाह गर्न हुने र नहुने २ कलम छुट्याई तागाधारी जातले विवाह गर्न हुने जातको कन्या ल्याएमा २० को १९ र विवाह गर्न नहुने जातको ४० रुपैयाँ सम्म विवाह रु.४०। देखि घटी विवाह खर्च पाउने जातको कन्या ल्याएकोमा ७ को १ अंश पाउने लेखिएको विवाहवारीको २ नं.मा तागाधारीले आ¬फ्नु बराबर अथवा आफूभन्दा कम तागाधारीसम्ममा विवाह गर्नु हुन्छ भन्ने र सोही महलको १ नम्बरमा ऐनले विवाह गर्न हुन्छ भनेकोमा मात्र विवाह गर्न हुन्छ, हुदैन भनेकोमा विवाहावारी गर्न हुँदैन भन्ने लेखिएकोले तागाधारी क्षेत्री जातले गुरुङ जातसंग विवाह गर्न ऐनले नहुने हुनाले प्रतिवादीको पुनरावेदन जिकिर र वादीका भनाई अनुसार मानुु छुट्टिएको मितिको प्रमाण नहुँदा वादीको पनि पुनरावेदन जिकिर पुग्न सक्दैन । इन्साफ काठमाडौं जिल्ला अदालत दोश्रोफाँटले ठहराई छिनेको मनासिव छ भन्ने डिभिजन बेञ्चको ०१९।१०।२।३ को फैसला ।
९. सोउपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्रतिवादी टंकबहादुर कार्कीले चढाएको निवेदनको व्यहोरा श्री ५ महाराजाधिराजको हजुरमा हुँदा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट छिनिएको जति नियमबमोजिम फुल बेञ्चबाट एकपटक दोहर्याई हेरी इन्साफ जाँची ऐन सवाल बमोजिम निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको ०२०।७।२६।३ को हुकुम प्रमांगी ।
१०. बक्स भई आएको हु.प्र. बमोजिम गर्ना निमित्त दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्न लगतमा दर्ता गरी फाँटमा बुझाई दिनु भन्ने माननीय भु.पु.प्र.न्यायाधीश ज्यूबाट भएको २०२०।८।१३।६ को आदेश ।
११. यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।२।१३।३ मा पेश भई निवेदक प्रतिवादी टंकबहादुरतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र वादी थलबहादुरतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०१९।१०।२।३ को डिभिजन बेञ्चले गुरुङसेनी पट्टिको छोरा प्रतिवादी टंकबहादुरले साविक मुलुकी ऐन, अंशबण्डाको ६ नं.बमोजिम ६ खण्डको १ खण्ड अंश पाउने ठहराएकोमा चित्त बुझेन भन्ने प्रतिवादी टंकबहादुरको मुख्य निवेदन जिकिर भएकोले निजले के कति भाग अंश पाउने हो भन्ने तर्फनै मुख्यतया विचार गर्नुपर्ने भएको छ ।
१२. साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. ले खण्डे अंश पाउने भए पनि २० साल भाद्र १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन अंशबण्डाको २ नं.मा सबैले बराबर अंश पाउने व्यवस्था भएको र नयाँ ऐन लागु भएपछि सो अनुसारनै हुने मेरो पक्षले वादी सरह बराबर अंश पाउनु पर्छ भन्ने निवेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ताको बहस जिकिर भएको हकमा वादी निवेदक धनकुमारी खत्रीनी विरुद्ध पखनकुमारी खत्रीनीको दे.फु.नं. ३३६ को अंश धनमाल मुद्दामा ०२२।९।१३।३ को फुल बेञ्चबाट कानून व्याख्या सम्बन्धि सिद्धान्त अनुसार वादीले अदालतमा प्रवेश गरी नालेस गर्दाको अवस्था जुन ऐन चालु थियो साधारणतः सोही ऐनबमोजिम पक्षहरुको हक बेहकको निर्णय भएको देखिएको समेतबाट पुरानो मुलुकी ऐन अंशबण्डाको ६ नं.लागू छँदैको अवस्था ०१५।२।३१।६ मा नालेस दायर भएको प्रस्तुत मुद्दामा सोही ऐन अनुसार बण्डा हुने प्रष्टै हुँदा तत्सम्बन्धमा अरु विवेचना गरी रहनु परेन ।
१३. प्रतिवादी टंकबहादुर ल्याइता गुरुङसेनी तर्फको छोरा भन्ने कुरामा विवाद नभएको र २० को १९ पाउने व्यक्तिलाई ६ को १ पाउने गरेको भन्ने निवेदन जिकिरको हकमा साविक मुलुकी ऐन अंशबण्डाको ६ नं.मा विवाह गर्न हुने र विवाह गर्न नहुने दुई किसिम राखी तागाधारी जातले विवाह गर्न हुनेमा आफू मिल्दाका कन्या ल्याएकोमा र आफू बराबर नमिल्दाका कन्या ल्याएकोमा सम्म २० को १९ पाउने व्यवस्था भएको पाइन्छ, साविक मुलुकी ऐन विवाहवारीको २ नं. मा विवाह गर्दा तागाधारीले आफू बराबर अथवा आफू भन्दा कम तागाधारी सम्ममा विवाह गर्न हुन्छ भन्ने उल्लेख भएको तागाधारीले विवाह गर्न हुने भित्र गुरुङ जात पर्न नआउने समेत हुनाले गुरुङसेनी पट्टिको छोरा निवेदक प्रतिवादीले २० को १९ पाउन सक्ने देखिंदैन । विवाह गर्न नहुनेमा चालीस रुपैयाँ सम्म विवाह खर्च पाउने जातको कन्या ल्याएकोमा ६ को १ र ४० रुपियाँदेखि घटि विवाह खर्च पाउने पानी चल्ने जातका कन्या ल्याएकोमा ७ को १ पाउने उक्त ऐनले व्यवस्था गरेको गुरुङ जात चालीस रुपैयाँ सम्म विवाह खर्च पाउने भित्र पर्न आउने समेत हुँदा उक्त ऐन अनुसार निवेदक प्रतिवादीले ६ खण्डको १ खण्ड नै अंश पाउने देखिन्छ ।
१४. तसर्थ उपरोक्त काराणहरु समेतबाट निवेदक प्रतिवादी टंकबहादुरले ६ भागको १ भाग पाउने ठहराई ००१९।१०।२।३ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै छ । यो मुद्दामा मानु छुट्टिएको मिति ०१२।१२।४ कायम भई सो मितिको अघिल्लो दिन ०१२।१२।३ सम्मको बिगो रु.२७५१२। को ०१७।३।२।४ मा तायदाती आएकोमा ६ भागको १ भाग रु.४५८५।३३।२ प्रतिवादीले र बाँकी रु.२२९२६।६६।२ वादीले पाउने गरी राखेको हकमा यो साथै पेश हुन आएको वादी कान्छी कर्केनी प्रतिवादी टंकबहादुर, थलबहादुरको अंश मुद्दामा ३५ वर्ष नाघी सकेको विवाह नभई माईत बसेकी कान्छी कर्केनी समेत अंशीयार कायम भई निजले तत्कालीन प्रचलित अंशबण्डाको ३५ नं.बमोजिम आफू मिल्दाको भाइ थलबहादुरले पाउने सरहमा आधी भाग अंश पाउनेमा सो मुद्दामा मानु छुट्टिएको मिति ०१२।३।२३ सम्मको ०२३।१०।२०।१ मा आई राखेको तायदाती बमोजिम जम्मा बिगो रु.२४७५९।६० मा रु.७२८२।२३ को सम्पत्ति निज कान्छी कर्केनीको बण्डा पाउने समेत ठहरी आज यसबेञ्चबाट फैसला भएको र यो मुद्दामा आएको ०१७।३।२।४ को तायदातीमा कान्छी कर्केनीसंगको अंश मुद्दाको तायदातीमा उल्लेख भएको सबै र अरु थप कलमहरु समेत परेको देखिएकोले यो मुद्दामा आएको तायदाती बमोजिम रु.२७५१२। मा कान्छी कर्केनीसंगको अंश मुद्दाबाट निजले पाउने ठहरेको अंश भाग रु.७२८२।२३ कटाई बाँकी रु.२०२२९।७७ मा ६ खण्डको १ खण्ड रु.३३७१।६३ निवेदक प्रतिवादी टंकबहादुरले बाँकी रु.१६८५८।१४ वादी थलबहादुरले अंश पाउने समेत ठर्हछ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी थलबहादुर कार्कीके निजले रु.१६८५८।१४ को अंश पाउने ठहरेकोले पहिलेको कोर्ट फी नियमावली लागू छँदै तायदाती आई कोर्ट फी लिएको समेत देखिएकोले सो अनुसार नै कोर्ट फी लिनु पर्ने समेत हुँदा ५००० सम्मको सयकडा ५ र बाँकीको सयकडा ४ का दरले शुरु कोर्ट फी रु.७२४।३३ र शुरुउपर पुनरावेदन गर्दा त्यसको दशौंद कोर्ट फी रु.७२४३। समेत जम्मा रु.७९६७६। कोर्ट फी लाग्नेमा शुरुमा रु.६१४।९६ शुरुउपर पुनरावेदन गर्दा रु.६१।५० जिल्ला अदालत काठमाडौं दोश्राको ०१८।९।१३।४ को फैसला बमोजिम रु. २९०६१। समेत जम्मा रु.९६७७। निज वादीसंग कोर्ट फी आएको देखिएकोले त्यस मध्ये खुद लाग्ने ठहरेको रु.७९६।७६ को हकमा प्रतिवादी टंकबहादुरबाट भराई पाउँ भनी कोर्ट फी ऐन, २०१७ को दफा १५(११) बमोजिम ३ वर्ष भित्र दरखास्त परेमा प्रतिवादी टंकबहादुरले ०१८।११।१९।६ मा सर्वोच्च अदालत नगदी विभागमा धरौट दाखेल गरेको रु.९६७।७ दस्तूर केही नलिई सो रु.७९६।७६ वादीलाई भराई दिनु थलबहादुरबाट रु.९६।७।७ मा बडी आएको रु.१७०।३१ मध्ये निजले १९।९।२।२ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्दा शुरु कोर्ट फी रु.७२४।३३ को रु.३६।२२ लाग्नेमा रु.३०।७५ मात्र कोर्ट फी दाखेल गरेको देखिएकोले नपुग रु.५।४७ कटाई सदर स्याहा गरी बाँकी रु.१६४।८४ निज वादीले र प्रतिवादी टंकबहादुरले ०१८।११।१९।६ मा धरौट दाखेल गरेको रु.९६७।७ मा बडी भएको रु.१७०।३१ निज प्रतिवादीले कोर्ट फी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र फिर्ता लिन आएमा कानूनबमोजिम फिर्ता दिनु भनी का.श्रे.त.मा लगत दिनु…………………………१
देहायका कलमको लगत काटी दिनु भनी ऐ……………………२
काठमाडौं जिल्ला अदालतको ०१८।१०।१८।४ को आदेश बमोजिम वादीले पाउने अंश बिगो रु.२२९२६।६६।२ र कोर्ट फी रु.९६७।७ वादी थलबहादुरलाई प्रतिवादी टंकबहादुरबाट भराई दिने गरी लगत दिएको कलम १ डिभिजन बेञ्चको ०१९।१०।२।३ को फैसला बमोजिम प्रतिवादी टंकबहादुरले ०१८।११।१९।६ मा स.अ.ल.न.वि.मा धरौट राखेको रु.९६७।७ वादीलाई भराई दिने गरेको ऐ २ प्रतिवादी टंकबहादुर कार्कीके सर्वोच्च अदालतमा ०१८।११।१९।६ मा पहिलो पुनरावेदन गर्दा शुरु कोर्ट फी रु.७२४।३३ को दशांैद रु.७२।४४ मात्र कोर्ट फी लाग्नेमा रु.९६७२। दाखेल गरेको देखिएकोले बढी रु.२४।२८ फिर्ता पाउँ भनी कोर्ट फी ऐन, २०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र फिर्ता लिन आएमा फिर्ता दिनु भनी ऐ…………………….३
०१७।३।२।४ को तायदाती बमोजिम रु.२७५१२। को सम्पत्तिका वादी कान्छी कर्केनी प्रतिवादी थलबहादुर समेतको अंश मुद्दाबाट कान्छी कर्केनीले पाउने ठहरेको रु.७२८२२३ कटाई बाँकी रु.२०२९९।७७ को ६ भागको १ भाग रु.३३७१।६३ प्रतिवादी टंकबहादुरले र बाँकी ५ भाग रु.१६८५८।१४ वादीले पाउने गरी दुवैपक्षलाई झिकाई रीतपूर्वक बण्डापत्र खडा गरी प्रतिवादी टंकबहादुरबाट आफ्नो अंश भाग छुट्याई पाउँ भनी दण्डसजायको ४६ नं.को म्याद २ वर्ष भित्र वादी थलबहादुरले दरखास्त दिएमा कोर्ट फी ऐन, २०१७ को दफा १३ बमोजिम सयकडा २।५० दस्तुर लिई कानूनबमोजिम वादीको अंश भाग छुट्याई दिनु भनी कानूनबमोजिम लगत कसाउन समेत भ.पु.जि.अ.लाई लेखी पठाई शुरु मिसिल उक्त भ.पु. जि.अ. मा पठाई दिनु……………………….४
वादीले पाउने अंश भागको बिगो अंकतर्फ डिभिजन बेञ्चको फैसलामा केही परिवर्तन भएको इन्साफ दोहर्याएमा निवेदक प्रतिवादी टंकबहादुरलाई केही गर्नु पर्दैन । नियमबमोजिम मिसिल बुझाई दिनु…………………५
न्या.श्री प्रकाशबहादुर र न्या. श्री धनेन्द्रबहादुर
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल जेष्ठ २३ गते रोज ६ शुभम् ।