निर्णय नं. ५३२ – चाँदी निकासी
निर्णय नं. ५३२ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उपे्रती सम्वत् २०२६ सालको फौं.फु.नं....
निर्णय नं. ५३२ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री रङ्गनाथ उपे्रती
सम्वत् २०२६ सालको फौं.फु.नं. ३७
पुनरावेदक : बाग्लुङ भिमा पोखरा उप्रेतथोक बस्ने नारायणदत्त उपाध्याय समेत
विरुद्ध
विपक्षी : स.इ. कृष्णमान श्रेष्ठ समेतको जाहेरीले श्री ५ को सरकार
मुद्दा : चाँदी निकासी
(१) विदेशमा निकासा गर्न मनाही भएको मालसामान (जस्तोः विदेशी चाँदी सिक्का) विदेशमा निकासा गर्ने उद्देश्यले लिई गएको भन्ने सबूद प्रमाणको अभावमा–उक्त माल लुकाई लगेको भन्ने आधारमा सिमाना भन्दा टाढा स्वदेश (नेपाल) भित्रै पक्राउ गरेमा–उक्त मालसामान विदेश निकासी गर्न लागेको कसूर गरेको भन्न नमिल्ने ।
निजहरुले भारत निकासी गर्ने उद्देश्यले नै लिइगएको भन्न मिल्ने भरपर्दो सबूद वादी पक्षबाट कुनै आउन नसकेको र कम्मरमा बाँधी कसैले नदेख्ने गरी लुकाई लगेको भन्ने तर्कको हकमा त्यस्तो नगदी जस्तो चीज सुरक्षाको लागि कसैले नदेख्ने गरी कम्मरमा बाँधी छिपाई लग्नु स्वभाविकै हुनाले सबूद प्रमाणको अभावमा शंकासम्मको भरमा भारत निकासी गर्ने उद्देश्यले नै लिई गएको भन्न मिल्ने देखिंदैन । प्रतिवादीहरुले अबाटोबाट लुकी छली हाम्रो देशको भंसार समेत नाँघी बाहीर लगी सकेको समेत नभई बुटवल खस्यौलीमै प्रहरीले पक्राउ भए गरेको भन्ने देखिएको र बुटवल खस्यौलीबाट भैरहवा त्यसपछि भंसार अनि मात्र नेपाल भारतको सिमाना बोर्डर आउने समेत भई प्रतिवादीहरुलाई पक्राउ गरेको ठाउँ बुटवल खस्यौलीबाट बोर्डर टाढा पर्ने समेत हुनाले यस्तो अवस्थामा प्रतिवादीहरुले भारत निकासी गर्न लागेको कसूर ठहराउन नमिल्ने प्रष्टै छ ।
(प्रकरण नं. १५)
निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षी वादी श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल
उल्लेखित मुद्दा : x
फैसला
न्यायाधीश श्री नयनबहादुर
१. २०२५ साल पौष ४ गतेको साँझ ५।। बजेको टायममा पहाड बागलुङका ६ जना मानिसले चाँदीको सिक्का तिनाउ नदीको किनारा हुँदै भारततर्फ निकासी गर्न लागेका छन् भन्ने गोप्य खबर पाई पिछा गर्दै हिंड्दा तिनाउ नदीको किनार हुँदै ६ जना मानिस खस्यौली बालमन्दिर पछाडि आएको देखी शंका लागी बोलाई थानामा लगी तलासी लिँदा कम्मरमा हरेक मानिसले कपडाको लोतो गराई नारायणदत्त उपाध्याले चाँदीको सिक्का १ रुपैयाँ वाला रु.४७०। अठन्नी सिक्काको हुने रु.१३२। चउन्नी सिक्काको हुने रु.४३।५० समेत ६४५।५० तक्मा चाँदीको सिक्का ८ चन्द्रमणीले भारतीय सिक्का १ रुपैयाँ वाला रु.१०७। ऐ अठन्नीको रु.१३। समेत रु.१२०।, खडानन्दले भारतीय सिक्का चाँदीको रु.१ बाला रु.१३३। चाँदीको तक्मा सिक्का १ हकबहादुरले चाँदीको सिक्का १ रुपैयाँ बाला ४०० मोतीलालले भारतीय सिक्का चवन्नीको रु.८६ ऐ अठन्नीको रु.३५। जयबहादुरले भारतीय सिक्का १ रुपैयाँबाला २८४ चाँँदीको टुक्रा तोला ११८ समेत बोकेको निस्केकाले दाखिल गरेका छौं, भारततर्फ निकासी गर्न लागेमा कानूनबमोजिम भई पक्राउ गर्नेलाई कमिसन दिलाई दिने व्यवस्था गरिपाउँ भन्नेसमेत बुटवल प्रहरी ठानाका स.ई. कृष्णमान श्रेष्ठ हे.कं.रङ्गनाथ शर्माको प्रतिवेदन ।
२. मैले र हर्षबहादुर पुन, चन्द्रमणी, खडानन्दले बोकेको समेत सिक्का रुपैयाँ तक्मा सबै मेरो हो । घरमा नै थियो, मेरो कपडाको दोकान हुँदा कपडा समेतको माल दोकानमा सकिएकोले पुरानो कपडाको ऋण तिर्नु पर्ने बुटवल बस्ने अग्नीकुमार श्रेष्ठ, प्रेमलाल बाँडा समेत जना २ को मैले अघि लगी सकेको मालको अं.८००० तिर्नु पर्ने साहूहरुले ताकेता गरी रहेकोले यो सिक्का लगी खस्यौलीमा कुनै महाजन कहाँ राखी रुपैयाँ तिर्न पर्यो भनी भरिया लगाई बन्धकमा राख्न भनी लिई आउँदै थिएँ, हिजो ५।। बजे प्रहरीले पक्राउ गरी दाखेल गरेको हो । भारततर्फ निकासी गर्ने विचारबाट लिई आएको होइन नियत समेत छैन, माथि लेखिएका मानिसलाई कसैलाई ज्याला, कसैलाई कपडा नून, तेल, किनी दिउँला भनी बोकाई ल्याएको हुँ भन्ने नारायणदत्त उपाध्यायले प्रहरीमा गरेको ०२५।९।५ को कागज र भए भरिया समेतले घरबाट बोकी ल्याउँदा बुटवल खस्यौली पुलको मुखदेखि दक्षिण प्रहरी थानादेखि उत्तरपट्टी मूल सडकमा नै प्रहरीले पक्रेका हुन । बुटवलका महाजन प्रेमलाल बाँडा अग्नीकुमार श्रेष्ठ कहाँबाट अघि उधारो लिइराखेको कपडाको मोल रु. ८०००। तिर्नु पर्ने बाँकी हुनाले सो रुपैयाँ नतिरेसम्म फेरि उधारो नदिने हुँदा व्यवहार मिलाउनु पर्यो भनी घरबाट ल्याएको हुँ, उक्त सिक्काहरु खस्यौलीको कुनै साहूहरुले धरौट राखी नगदी रुपैयाँ दिन्थ्यो कि भन्ने उद्देश्य लिई सरासर खस्यौलीमा आउन लाग्दा बाटोमा नै पक्राउमा परेको हुँ । तिनाउ नदीको किनारामा गएकै छैनौं । भारत निकासी गर्ने उद्देश्य थिएन भन्नेसमेत निजै नारायणदत्तले लुम्बिनी अंचलाधीश कार्यालयमा गरेको ०२३।९।६।६ को बयान ।
३. मसित निस्केको सिक्का तक्मा नारायणदत्तको हो बुटौल खस्यौलीसम्म लगिदेउ भनेकाले कम्मरमा बाँधी लिई आएको हो कहाँबाट खरीद गरे वा आफ्नै घरको हो थाहा छैन भन्नेसमेत खडानन्दले ०२५।९।५ मा प्रहरीमा गरेको ठाडो कागज र बुटवल खस्यौलीमा सरासर आउँदा पुल चोक भन्दा दक्षिण पट्टी थानाको सामुन्ने नपुग्दै मुल सडकमा नै प्रहरी पक्रेका हुन । तिनाउ नदीको किनार बालमन्दिर पछाडि फक्रेको भन्ने प्रहरी प्रतिवेदन झुठ्ठा हो । नारायणदत्तले बुटवल खस्यौलीसम्म लगिदिनु होस भनी भनेकोले त्यतिमात्र थाहा छ किन ल्याएको हो थाहा छैन भन्नेसमेत निज खडानन्दले ०२५।९।८।१ मा लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान।
४. मैले बोकेको कम्पनी सिक्का नारायणदत्तको हो खस्यौलीसम्म लगिदेउ ज्याला दिउँला भनेकोले लिई आएको हो । कहाँबाट जम्मा गरे खुलाउन सक्दिन भन्नेसमेत चन्द्रमणी उपाध्याले ०२५।९।५ मा प्रहरीमा गरेको ठाडो कागज र बुटवल खस्यौली आउँदा पुल चोक र थानाको माझ मुल बाटोमै प्रहरीहरुले पक्राउ गरेका हुन् । नारायणदत्तले बुटवल खस्यौलीसम्म पुर्याई देउ फर्कंदा कपडाको भारी दिन्छु भनेकाले बोकी ल्याएको हुँ भन्नेसमेत निज चन्द्रमणीको ०२५।९।८।१ को लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।
५. मैले बोकेको भारतीय सिक्का नारायणदत्तको हो । बुटवल खस्यौलीसम्म लिई हिंड ज्याला दिउँला भनेकोले लिई आएको हुँ । कहाँबाट जम्मा गरे खुलाउन सक्दिन । भारत निकासी गर्न लाने नलाने खुलाउन सक्दिन भन्नेसमेत हर्षबहादुर मगरले ०२५।९।५ मा प्रहरीमा गरेको ठाडो कागज र सरासर खस्यौलीमा आइराखेको बखत पुल चोकदेखि दक्षिणपट्टि, थानादेखि उत्तरपट्टि मुल सडकमा नै प्रहरीले पक्रेका हुन् । बुटवल खस्यौलीसम्म लगिदेउ भनेकाले ल्याएको हुँ । के गर्न साहूले ल्याएका हुन उनै जानुन् भन्नेसमेत निज हर्षबहादुरले ०२५।९।८।१ मा लुम्बनी अन्चलाधीश कार्यालयमा गरेको बयान ।
६. मैले बोकेको र मोतीलालले बोकेको सिक्का र चाँदी समेत मेरो हो कतैबाट खरीद गरी ल्याएको होइन । मेरै घरमा थियो । पाहाडमा दोकान हुँदा माल सकिएकोले यो सिक्का लगी बुटवल खस्यौली बस्ने चिने जानेकी गुठी भन्ने मगर्नी कहाँ माल राखी दाजु गणेशबहादुर बाँगे कुसुममा हुँदा वहाँलाई भेटघाट गरी सल्लाह लिई यो सिक्का बैंकमा राख्नु पर्ला या कुनै महाजनकहाँ लगी बन्धकी राखी रुपैयाँ झिक्नु पर्ला भनी मोतिलाल समेतलाई बोकाई आएको थिएँ । भारत निकासी गर्ने विचारमै लिई आएको होइन भन्नेसमेत जयबहादुरले ०२५।९।५ मा प्रहरीमा गरेको ठाडो कागज र बुटवल खस्यौली पुलको मुख दक्षिण प्रहरी थानादेखि उत्तरपट्टि मुल सडकमा नै प्रहरीले पक्रेका हुन । बुटवलबाट माल खरीद गरी लैजान पैसा नभएकाले दाजु गणेशबहादुरसंग सोधपुछ गरी साहू महाजनलाई हुन्छ भनी बैंकमा राखेर भए पनि मालसामान खरीद गरी लैजाने उद्देश्यले लिई आएको हुँ । तिनाउ नदीको किनाराबाट जान लाग्दा बालमन्दिरको पछाडि पक्राउ गरेको भन्ने झुठ्ठा हो । भारत निकासी गर्ने उद्देश्य थिएन भन्नेसमेत निज जयबहादुरले ०२५।८।१ मा लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको बयान ।
७. मैले बोकेको सिक्का जयबहादुरको हो । बैंकमा राख्नु पर्ला या कहीं बन्धक राख्नु पर्ला भनी लिई आएका हुन् । भारततर्फ लैजाने कुरा गरेका थिएन भन्नेसमेत मोतिलालले ०२५।९।५ मा प्रहरीमा गरेको ठाडो कागज र कम्मरमा बाँधी आइरहेको बखत बुटवल मूलचोकदेखि दक्षिण थानादेखि उत्तरपट्टि मूल सडकमा नै प्रहरीले पक्रेका हुन् । भारततर्फ लैजाने कुरा मसंग गरेका होइन, बुटवल खस्यौलीमा लाने कुरा मात्र गरेकोले त्यतीमात्र थाहा छ भन्नेसमेत निज मोतीलालले ०२५।९।८।१ मा लुम्बिनी अञ्चलाधीश कार्यालयमा गरेको ०२५।९।८१ को बयान ।
८. उक्त चाँदी भारत निकासी गर्ने उद्देश्यले प्रतिवादीले ल्याएको होइन कि भन्नालाई प्रहरीले सुराक पाई पिछा गर्दै तिनाउ नदीको किनारा हुँदै जाँदा बालमन्दिरको पछाडि पक्री थानामा लगी तलासी गर्दा सबैको कम्मरबाट निस्केको भन्ने प्रहरी प्रतिवेदन भएकोमा बालमन्दिर पछाडि पक्राउ गरेकोमा प्रतिवादीहरु इन्कार भए पनि मूलचोक दक्षिण मूल बाटोमा नै पक्रेमा र लुकाई कम्मरमा बाँधेको चाँदीको सिक्का गहना निस्केमा समेत प्रतिवादीहरु सावितै भएको भारत निकासी गर्ने उद्देश्य नभएको भए कसैले थाहा नपाउने गरी लुकाई कम्मरमा बाँधी मुल बाटो छोडी अबाटो लैजानु पर्ने केही कारण थिएन । मूल सडकमा नै पक्राउ गरेको भए प्रहरीहरुले बालमन्दिर पछाडि पक्रेको भनी प्रहरीहरुले झुठ्ठा प्रतिवेदन दिनुपर्ने कारण प्रतिवादीहरुले खुलाउन नसकेको र भारत निकासी गर्नेमा इन्कार भए पनि कसूरबाट बच्नको लागि इन्कार गर्नु स्वभाविकै हुँदा यसरी प्रहरीको आँखा छली अबाटोबाट हिंडेको त्यसमा पनि निकासी गर्न नहुने मनाही माल चाँदी कम्मरमा बाँधी लुकाई लगेकोबाट भारत निकासी गर्ने उद्देश्यले लगेको होइन भन्न उपयुक्त नहुने र चन्द्रमणि, खडानन्द, हर्षबहादुर, मोतिलाल बुटवलसम्म पुर्याई दिने भरिया भई आएकोमा नारायणदत्त, जयबहादुरले समेत समर्थन गरेकाले निज भरियाहरु सो चाँदी भारत निकासी गर्नेमा मतियार छन् भन्नलाई कतैबाट पनि निजहरु सहमत मतियार भएको देखिन नआएकोले उक्त चाँदीका सिक्का गहनाहरु पु. नारायणदत्त, जयबहादुर समेत दुईजनाले निकासी पैठारी ऐन, २०१३ उल्लंघन गरी भारत निकासी गर्न लगेको ठर्हछ भन्नेसमेत लुम्बिनी अन्चलाधीश कार्यालयको ०२५।९।९।२ को फैसला ।
९. हामीलाई नेपाल राज्य बाहिर माल बस्तु लगी सके वा सिमानामा लगी लैजान लागेको भन्न विपक्षीले सकेको छैन । हामीलाई पक्राउ गरिएको ठाउँ भारत सिमाना देखि अं. २०/२५ माईल टाढा नेपाल सरहदको बुटवल पुलको मुखदेखि पश्चिमको मुल सडकमा पक्राउ गरिएको छ । पक्राउ गरेको ठाउँ समेतबाट निकासी गर्न लगेको भन्ने अवस्था छ, छैन सरजमिन बुझी पाउँ, नेपाल सरहद भित्रै बुटवल खस्यौली बजार जस्तो ठाउँमा पक्राउ गरी कसुर ठहराएकोले इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी नारायणदत्त, जयबहादुरहरुको पुनरावेदन ।
१०. भारत विदेश निकासी गर्न मनाही गरेका चाँदीका सिक्काहरु तिनाउ नदीको किनार खस्यौली बालमन्दिर पछाडि अर्थात भारत बोर्डर देखि धेरै यतै आफ्नो सरहदमा पाहाडको घारिघाँचमा पक्राउ गरेको देखिएको र कम्मर पेटी लोटोमा लुकाएको भन्ने हकमा सुन चाँदी देखाएर लैंजादा जिउज्यानको खतरा हुने देखिएकोले छिपाई लैजानु स्वाभिवकै हुनाले चोरी लैजान लागेको भन्ने हकमा अबाटो बाटो लगेको नदेखिनाले समेत विदेश निकासी गर्ने नियतले मात्र पाल्पाबाट लिई आएको प्रमाण परिबन्द नपुग्ने देखिएकोले समेत प्र.नारायणदत्त र जयबहादुर समेतले निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को उल्लंघन गरी भारत निकासी गर्न लागेको ठहराएको लुम्बिनी अन्चलाधीश कार्यालयको ०२५।९।९।२ को मनासिव ठहराई निर्णय गरेको बदर हुने ठर्हछ । सो कुरामा न्या. सहयोगी साथी राजा इश्वरी जगंबहादुरज्यूसंग सहमत हुनु नभएकोले सर्वोच्च अदालत नियमावलीको दफा ३३ अनुसार फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या. श्री रत्नबहादुर विष्टको राय, र
११. लेखिएका चाँदीका सिक्का र तक्माहरु ल्याएको जो बस्तु छ, सो बस्तुको विवरणबाट सो मनाही भएका सिक्काहरु बन्धक लिनेले पनि लिन नहुने लेला भन्ने सम्झी ल्याएको होला भन्ने पनि नहुने, मनाही भएका सिक्का चलनचल्तीमा लिन–लान नहुने बुटवलबाट पनि विदेश जान नजिकै पर्ने पनि देखिन आउँछ तर, मुख्य यस्तो पुराना मनाही भएका चल्ती बन्द भएका सिक्का र पुराना तक्मा समेत लिइआएका बाग्लुङ्गदेखि आएकोले धितो बन्धक राख्ने कपडा व्यापारीलाई दिने भन्ने कुरा बिना उसको स्वीकृति नचल्ने बस्तु लिई गयो भन्ने अपत्यार गर्ने कुरा हुन आयो र अब माननीय सहयोगीबाट बीचमा पक्राउ गरेकोबाट निकासी पैठारी भन्न नमिल्ने भनी इन्साफ दिन राय व्यक्त गर्नुभएको यस्ता मालहरु जो मनाही छ, यस जिल्लाबाट अर्को जिल्ला लान लेखाई देखाई गर्ने सूचना भएको मेरो उपरोक्त कुराबाट राय नमिली निजले भारत लैजाने उद्योग गरेको प्रष्टै ठहराएको अञ्चल कार्यालयले बिगो जफत गरी बिगो बमोजिम दण्ड गरेकोमा सो निकासी पैठारी ऐन, २०१३ को ५ दफामा नियम बर्खिलाप काम गर्नेलाई १ वर्ष कैद वा बिगो बमोजिम दण्ड वा दुवै हुनेछ भन्ने लेखिएको, तर बिगो जफत हुने कुरामा उल्लेख नभएकोले बरामद भई दाखिल हुन आएको चाँदी सिक्का गहनाहरु श्री ५ को सरकार दाखिल गर्नु भन्ने लुम्बिनी अञ्चलाधीशको फैसलामा लेखिएको छ तापनि उद्योगसम्म गरिएको ठर्हछ । बीचैमा भंसार छल्न नआँटेको देखिएकोले बिगो जफत गर्ने सो ऐनमा उल्लेख नभएकोले बरामद भएको बिगो फिर्ता दिने भन्ने ठर्हछ भन्ने मा.न्या. श्री राजा इश्वरी जंगबहादुर सिंहज्यूको ०२६।१०।१९।१ को डिभिजन बेञ्चको फैसला ।
१२. यसमा पुनरावेदक प्रतिवादी जयबहादुरको वारेस समेत नारायणदत्त उपाध्याय रोहवरमा रही ०२७।१।२२।३ मा पेसकै निवेदक प्रतिवादीहरुतर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले र वादी श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०२६।१०।२९।१ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको राय नमिली पेश हुन आएको, प्रतिवादीहरुले मनाही भएको विदेशी चाँदीको सिक्काहरु समेत भारत निकासी गर्न लागेको हो होइन भन्ने बिषयमा यसबेञ्चबाट निर्णय दिनुपर्ने भएको छ ।
१३. प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको ठाउँको सम्बन्धमा तिनाउ नदीको किनार हुँदै खस्यौली बालमन्दिर पछाडि आएको देखी शंका लागी पक्राउ गरेको भन्ने प्रहरीहरुको प्रतिवेदन र बुटवल खस्यौली पुलको मक्रेदेखि दक्षिण प्रहरी थानादेखि उत्तरपट्टि मूल सडकमा नै प्रहरीले पक्रेका हुन भन्ने प्रतिवादीहरुको बयान जिकिरमै विवादस्पद भएको पाइयो । आफूले लगाएको यस किसिमको अभियोग सावित गराउन सबूद पुर्याउने दायित्व वादीपक्षकै हुनेमा बाटो छली अबाटोबाट जान लागेको खस्यौली बालमन्दिर पछाडि प्रहरीले पक्राउ गरेको भन्नेसमेतको कुनै पनि सबूद वादी पक्षले दिन गुजार्न सकेको देखिन आएन ।
१४. सो पक्राउ गरेको ठाउँ प्रहरी प्रतिवेदन अनुसार खस्यौली बालमन्दिर पछाडि या थानदेखि उत्तरपट्टि मूल सडक नै जहाँ होस नेपाल सरहद बुटवल खस्यौलीको एरिया भित्रै हो भन्ने कुरा निर्विवाद छ, ०१८।९।१८ को संख्या ३७ को राजपत्रमा प्रकाशित अर्थ आर्थिक कार्य बिषय मन्त्रालयको सूचनाद्वारा मोहर रुपैयाँ सुकी पचन्नी र विदेशी चाँदीका सिक्काहरु नेपाल अधिराज्यबाट निकासी गर्न प्रतिवन्ध लगाएको र निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा २ (क) मा निकासी भन्नाले नेपाल राज्य बाहिर मालसामानहरु निकासी गर्ने काम सम्झनु पर्छ भन्ने परिभाषा दिएको समेत देखिन्छ, त्यस्तो विदेशी चाँँदीको सिक्काहरु समेत नेपाल सरहद भित्रै एक ठाउँबाट अर्को ठाउँमा लैजाने कुरालाई कानूनले प्रतिबन्ध लगाएको पाइएन ।
१५. पुनरावेदक प्रतिवादीहरुले बरामद भएको विदेशी चाँदीका सिक्काहरु समेत भारत निकासी गर्नकै उद्देश्यले लिई गएको हो होइन भन्ने हकमा बुटवल बस्ने अग्नीकुमार श्रेष्ठ, प्रेमलाल बाँडा समेतको कपडाको रु.८०००। तिर्न पर्ने साहूहरुले तागेता समेत गरी रहेकोले खस्यौलीमा कुनै महाजनकहाँ राखी रुपैयाँ झिक्नु पर्यो भनी घरमा भएको भारतीय सिक्का समेत लिई गएको भन्ने नारायणदत्त र पहाडमा दोकान भएको दोकानमा माल सकिएकोले बुटवल खस्यौलीमा बैंकमा या कुनै महाजनकहाँ लगी बन्धक राखी रुपैयाँ झिक्नु पर्ला भनी घरमा भएको भारतीय सिक्का चाँदी समेत लिई गएको भन्ने जयबहादुरको भनाई भएको र बटवल खस्यौलीसम्म लैजान भरिया भई बोकी लगेका हौं भनी नारायणदत्तको भरिया भई जाने भनेका खडानन्द, चन्द्रमणी, हर्षबहादुर, जयबहादुरको भरीया भई जाने भनेको मोतिलाल समेतले बयान गरेको पाइन्छ । निजहरुले भारत निकाशी गर्ने उद्देश्यले नै लिई गएको भन्न मिल्ने भरपर्दो सबूद वादी पक्षबाट कुनै आउन नसकेको र कम्मरमा बाँधी कसैले नदेख्ने गरी लुकाई लगेको भन्ने तर्कको हकमा त्यस्ता नगदी जस्तो चिज सुरक्षाको लागि कसैले नदेख्ने गरी कम्मरमा बाँधी छिपाई लग्नु स्वाविकै हुनाले सबूद प्रमाणको अभावमा शंकासम्मको भरमा भारत निकासी गर्ने उद्देश्यले नै लिई गएको भन्न मिल्ने देखिंदैन । प्रतिवादीहरुले अबाटोबाट लुकी छली हाम्रो देशको भंसार समेत नाघी बाहीर लगी सकेको समेत नभई बुटवल खस्यौलीमै प्रहरीले पक्राउ भए गरेको भन्ने देखिएको र बुटवल खस्यौलीबाट भैरहवा त्यसपछि भंसार अनि मात्र नेपाल भारतको सिमाना बोर्डर आउने समेत भई प्रतिवादीहरुलाई पक्राउ गरेको ठाउँ बुटवल खस्यौलीबाट बोर्डर टाढा पर्ने समेत हुनाले यस्तो अवस्थामा प्रतिवादीहरुले भारत निकासी गर्न लागेको कसुर ठहराउन नमिल्ने प्रष्टै छ ।
१६. तसर्थ उपरोक्त प्रमाणहरु समेतबाट कसुर नठहराई ०२६।१०।१९।१ को डिभिजन बेञ्चमा मा.न्या.श्री रत्नबहादुर विष्ट व्यक्त गर्नुभएको राय मनासिव छ अरु तपसीलबमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरु के लुम्बिनी अंन्चलाधीश कार्यालयको ०२५।९।९।२ को फैसलाले गर्ने गरेको देहाय बमोजिम जरिवाना नलाग्ने हुँदा देहायका मितिमा लुम्बिनी अन्चलाधीश कार्यालयमा तिरे बुझाएको कानूनको रीत पुर्याई फिर्ता दिनु भनी लुम्बिनी अञ्चलाधीश कार्यालयलाई लेखी पठाउन का.श्रे.अ.त. मा लगत दिनु…………………१
नारायणदत्त उपाध्यायके २५।९।१२।५ मा तिरे बुझाएको रु.९२००। जयबहादुर खत्री क्षेत्री के २५।९।९।२ मा ऐऐ रु.३७००।
देहायका प्रतिवादीहरुबाट बरामद भएको देहाय बमोजिम लुम्बिनी अञ्चलाधीश कार्यालयको ०२५।९।९।२ का फैसलाले श्री ५ को सरकार दाखेल गर्ने गरेकोमा सो अनुसार गर्नु पर्दैन । देहायका प्रतिवादीहरुलाई कानूनबमोजिम फिर्ता दिनु भनी लुम्बिनी अञ्चलाधीश कार्यालयमा लेखी पठाउन ऐ ऐ…………………………………..२
प्रतिवादी नारायणदत्त उपाध्यायलाई फिर्ता दिने
निज नारायणदत्त उपाध्यायबाट बरामद देहाय बमोजिम १ भारतीय चाँदीको सिक्का १ रुपैयांवाला रु.४७०। ऐअठनी सिक्काको ऐऐ १३२।–ऐ चवन्नी सिक्काको ऐऐ ४३।५० तक्मा चाँदीको सिक्का आठ ८।–चन्द्रमणिबाट बरामद भएको ऐ २ भारतीय चाँदीको सिक्का १ रुपैयाँवाला १०७ ऐको. अठन्नीको ऐ १३ षडानन्दबाट ऐ ऐ ३ भारतीय सिक्का चाँदीका १ रुपैयाँवाला १३३ चाँदीको तक्मा सिक्का १ हर्षबहादुर बाट ऐ ऐ ४ भारतीय चाँदीको सिक्का १ रुपैयाँवाला रु. ४००।–
जयबहादुर खत्री क्षेत्रीलाई फिर्ता दिने
निज जयबहादुरबाट बरामद भएको देहाय बमोजिम १ भारतीय सिक्का १ रुपैयाँवाला रु. २८४।–चाँदीको टुक्रा तोला ११८।–मोतीलालबाट ऐ ऐ २ भारतीय सिक्कमा चवन्नीको हुने रु. ८६।–ऐको अठन्नीके ऐ ऐ ३५
नियमबमोजिम मिसिल बुझाई दिनु ……………………………….३
प्र.न्यायाधीश श्री भगवतीप्रसाद र न्यायाधीश श्री रङ्गनाथ
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल बैशाख २९ गते रोज ३ शुभम् ।