March 27, 1970
Created by nepalarchives

निर्णय नं. ५३० – जालसाजी

निर्णय नं. ५३०       ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज सम्वत् ०२६ सालको फौ.फु.नं. ३६ निवेदक ...

निर्णय नं. ५३०       ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री हेरम्बराज

सम्वत् ०२६ सालको फौ.फु.नं. ३६

निवेदक  : भ.पु.इ.तोलाछें टोल बस्ने पञ्चमाया प्रजापतिनी समेत

विरुद्ध

विपक्षी : ऐ बस्ने हेमलक्ष्मी प्रजापतिनी

मुद्दा : जालसाजी

(१) प्रचलित दान दातव्यको ९ नं.विधवा स्त्री पछि पोइल गए पनि निजले पास गरी दिएको फार्छेपत्र बदर नहुने भएमाउक्त फार्छेपत्र जालसाजी भन्न नहुने ।

          निज लतनबहादुर नाठो पुनकुमारको एकाघरको समेत नभई बीचको मानिस देखिएको र नातेदार भए पनि पछि पञ्चमाया पुनकुमार आफूहरुले खान पाउने गरी अघिल्लो लोग्ने पट्टिको सम्पत्ति निज लतनबहादुरका नाउँमा फार्छे पास भए गराएको परिबन्द पुगेको नदेखिएकोले तत्काल प्रचलित दान दातव्यको ९ नं. अनुसार रीतपूर्वकको फार्छे पास भइसकेपछि पोइल गएको जाहेर भए पनि बदर नहुने हुँदा यस स्थितिमा साहू लतनबहादुर समेत मिली जालसाजी लिखत खडा गरेको भन्न मिल्ने देखिन आउँदैन ।

 (प्रकरण नं. १९)

निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : अधिवक्ता श्री सर्वज्ञराज

फैसला

          न्यायाधीश श्री धनेन्द्रबहादुर

          १.   बाबु गोपालको छोरा प्र. पञ्चमायाको लोग्ने गोविन्द र छोरीमा जेठी गोमालक्ष्मी र म वादी हेमालक्ष्मी भएकी हामीहरुको विवाह भइसकेको बाबु गोपाल ०९७ सालमा परलोक भएको र भाइ गोविन्द २००७ सालमा परलोक भइसकेको श्री सम्पत्ति गैर बुहारी प.पञ्चमायाले स्याहारी बसेकीमा पुनकुमारसंग ०११ साल फाल्गुणदेखि लसपस गरी भँुडी बोकेको शंका लागि पक्रँदा हात हालाहाल मुद्दाको मिसिलमा शहर बस्ने खरदारलाई मोरु.६०००। मा फार्छे लेखी दिएको भनी र पोइला गएको ५ महिना जति भयो गर्भ रहेको छ भनी ०१२।११।२४ मा बयान गरेकीले ल.पु. पोता रजिष्ट्रेशनबाट ०१२।११।५ मा नक्कल लिई हेर्दा निज पञ्चमायाको सहोदर साहिला बाबु पञ्चमायाको हालको लोग्ने पुनकुमारको ससुरा प्र.लतनबहादुर धनी पञ्चमाया ऋणी भई ०१२।८।१९ मा र ०१२।९।१० गते घर जग्गा समेत पास गरी जालसाजी तमसुक खडा गरेको रहेछन्, अपुतालीको ३ नं. मेरो माईति पट्टिको हक खाने म बाहेक अरु कोही नभएकोले सो बेच बिखन गरेको विर्ता घर र पाताल बगैंचा समेत मैले अपुताली खान पाउने र ऐनले सो अपुताली परेको मेरो हक नपुग्ने भए सरकार लाग्ने हुँदा यस्तो पोईला गइसकेपछि अन्यायहरु मिलेमतो भई अघिको मिति पारी जालसाजी फार्छे कागज पास गरेमा निज अन्यायहरुलाई सजाय गरिपाउँ भन्ने हेमालक्ष्मीको ०२४।२।२५।६ को फिरादपत्र ।

          २.  पञ्चमायाले बराबर मसंग बेतमसुकी कर्जा पनि लिने गरेकी र ससुरा गोपाल लोग्ने गोविन्द बिरामी हुँदा औषधी खर्च र निजहरु मर्दा काजकृया खर्च गर्न समेत रुपैयाँ लिएकी हुँदा ०१२।८।१९।१ मा र ०१२।९।१०।१ मा वादी दावीको जग्गा पञ्चमायाबाट पास गरी लिएको हुँ, जालसाजी गरेको होइन भन्ने समेत लतनबहादुर र खुसीराजीबाट गरेको कागज हुँदा जालसाजी व्यवहार होईन भन्ने प्र.केदारनाथ समेतको प्रतिवादी ।

          ३.  ससुरा गोपाल परलोक भइसकेपछि ऋण धन बेहोरी आएको लोग्ने गोविन्द पनि २००८ साल चैत्र सुदी १० को दिन परलोक हुँदा लाग्नेले गरी राखेको ऋणहरु तिर्न र काजकृयामा लागेको साहू तिर्न ०१२।८।१९ मा र ०१२।९।१०।१ मा फार्छे पास गरी दिएको लाग्नेको घरमा बस्न नसकिने भएकोले ०१२।९।२९ गते पुनकुमारसंग पोईल गई बसेको जालसाज गरेको होइन भन्ने समेत प्र.पञ्चमाया र ०१२ सालको पौष महिनाको १ दिन बाँकीमा निज पञ्चमायालाई स्वास्नी तुल्याई राखेको हुँ म समेत भई प्र.लतनबहादुरलाई जालसाजी गरी फार्छे गरी दिएको होइन भन्ने समेत पुनकुमार समेतको एउटै प्रतिवादी ।

          ४.  पञ्चमाया पोइल गए पनि आफू नैं जात वर्णसंग पोइल गएकी दान दातव्यको ५ नं. जग्गा पजनिको ४ नं.बमोजिम हकवाला नभएकोमा अघिल्लो लोग्नेका सम्पत्ति निज पञ्च मायाको हक नछुट्नेसमेत देखिने हुँदा पञ्चमायाले विवाहिते लाग्नेको सत्यमा छँदा र पछि गरेको लेनदेन व्यवहारमा अ.बं.१०६ नं.बमोजिम वादीको दावी लाग्न सक्ने ऐनमा व्यवस्था भएको नहुनाले वादी दावी खारेज हुन्छ भन्ने समेत ०१।५।६।१९ को भ.पु. अ.को फैसला ।

          ५.  खारेज गर्ने गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत हेमालक्ष्मीको पुनरावेदन ।

          ६.  अपुतालीका ऐनबमोजिम इन्साफ गर्नुपर्नेमा खारेज गरेको शुरुको गल्ती ठर्हछ भन्ने समेत ०१६।५।२२ को अपील पैलाको फैसला ।

          ७.  खारेज हुनुपर्नेमा इन्साफ गर्ने गरेकोले चित्त बुझेन भन्ने समेत प्रतिवादी पुनरावेदन ।

          ८.  उजुर दावी ठिक बेठिक के हो भनी इन्साफ गरी दिनुमै मनासिव देखिएकोले इन्साफ तैकात गर्ने शुरुमा पठाउने गरेको अपील पैला फाँटको इन्साफ मनासिव छ भन्ने समेत ०१८।११।४।५ को डिभिजन बेञ्चको फैसला ।

          ९.  लतनबहादुर पञ्चमायाले लिएको कर्जा ४७०१ र १८०१ बाट साहू तिरेको देखिन नआएको र ०१२ साल भाद्रमा पोइल गएको मानिसले बिक्री गरेको सदरै नहुने हुँदा पोइल गइसकेपछि सुक्री बिक्री गरेको ठर्हछ । अपुतालीका ७ नं. अपुताली खान पाउने नपाए सरकार लाग्ने भन्ने वादी हुनाले इन्साफ सदर भएपछि हेमालक्ष्मीलाई जग्गा नाउँसारी गरी घर जग्गा समेत भोग चलन गर्न पाउने ठहराई जाहेर गरेको छु भन्ने समेत भ.पु.ई.अ.को ०१९।३।१९।३ को फैसला ।

          १०.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन ।

          ११.  वादीले आफ्नो बाबु भाइको अपुतालीमा दावी गरेको गोविन्द मरे पछि सम्पत्ति निजको स्वास्नी पञ्चमायाको हक प्राप्त भइसकेको देखिएकोले वादीले अपुतालीमा हक दावी गर्न पाउने कानूनी व्यवस्था नभएकोले हेमालक्ष्मीको हक दावी पुग्न नसक्ने देखिन आएको र जग्गा पजनीको ४ नं. दफा २ ले पोईल जाने स्वास्नी मानिसले नै हक गरी खान पाउने देखिएकोले आफ्नो हक पुग्ने जग्गा घर राजीनामा फार्छे गरी बिक्री गरेकोमा जालसाजी लिखत गरेमा सजाय गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत ०२२।८।१७।५ को बागमती अञ्चल अदालतको फैसला ।

          १२.  भाद्रमा पोइल गएकी त्यस पछि मार्ग पौषमा रजिष्ट्रेशन पास गरी पञ्चमायाको हकै नभएकोमा जालसाजी गरेको प्रष्ट हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत वादी हेमालक्ष्मीको पुनरावेदन ।

          १३.  ०१२ सालको इन्द्रजात्रा पुर्णिमाको २/३ दिन अगाडिदेखि पुनकुमारका घर गई करणी लेनदेन गरी बसेको हुँ भनी करणी मुद्दामा पञ्चमायाले बयान गरेकी वादीले जालसाजी भनी दावी गरेको खेतको फार्छे सो मिति भन्दा पछि पास भएको र घरपातालको फार्छे पनि सो मिति भन्दा पछि नै भएको र जग्गा मिच्नेको ४ नं. २ दफाले मेरो हक पुग्ने हो भनी पञ्चमायाले जिकिर गर्न नसकेकी त्यसरी उसै घरमा धुरी धुवाँई बसेको पनि देखिएको यस्तोमा उक्त ऐन प्रयोग गरी फार्छे समेत सदर गरेको अञ्चलको इन्साफ मिलेको नदेखिएकोले प्रतिवादीहरु सबैलाई अ.बं.२०२ नं. स.अ. नियमावली बमोजिम झिकाई पेश गर्नु भन्ने समेत ०२३।११।८।२ को डिभिजन बेञ्चको आदेश ।

          १४. पञ्चमाया भएको करणी मुद्दाको मिसिलमा पञ्चमायाको ०१२।११।२४।४ मा बयान हुँदा म पुनकुमारसंग पोइल जानु भन्दा २/३ महिना अगाडि मेरै घर चोटामा मेरो र निज पुनकुमारको हाँस ख्याल भएकोमा तिम्रो लोग्ने छैन दुःख छ, मेरो घरमा हिंड खान लाउन दिन्छु केही दुःख मान्नु पर्दैन भनेको र मेरो पनि लोग्ने नभई दुःख भइरहेको हुँदा हुन्छ, आउँछु भनी त्यसको २ महिनापछि २०१२ सालको इन्द्रजात्रा पूर्णेको २/३ दिन अगाडि म आफ्नो घरबाट बेलुकी भातसात खानुपिनु गरी ८ बजेको टायममा निस्की पुनकुमारका घर गई करणी लेनदेन गरी बसेको हुँ भनी लेखिदिएकी र प्रस्तुत मुद्दाको प्रतिउत्तर फिराउँदा लोग्ने गोविन्दको धर्म थामी बस्न नसक्ने भएकीले ०१२ साल पौष १९ गतेमा जात मिलेको पुनकुमार प्रजापतीसंग पोइल गएको भनी लेखिएकोले पञ्चमायाको बयान बाझिएको प्रष्ट देखिन आयो । यसरी बयानमा पोइल गएको मिति किन फरक हुन गएको हो भनी हेरिएमा ०१२।९।२९ मा पोइल गएको भनी लेखी दिएमा त्यसभन्दा अगाडि ०१२।८।१९।१ मा र ०१२।९।१०।१ मा गरी दिएको फार्छे सदर हुने उद्देश्यले लेखिएको रहेछ भन्ने प्रष्ट देखिन आउँछ । मिसिल सामेल रहेको धनी लतनबहादुर ऋणी पञ्चमाया प्रजापतिनी भएको ०१२।२।२९।१ मा घरसारमा ०१२।८।१९।१ मा रजिष्ट्रेशन पास भएको रु.४७०१। को तमसुकको वापतमा ससुरा गोपाल लोग्ने श्री गोविन्द विमारी हुँदा औषधी खर्च र निजहरु मर्दा काजकृया गर्नाके समेत भनी लेखिएको र करणी मुद्दामा निजै पञ्चमायाको बयान गर्दा अघिको साहू तिरी फट्टा लिएको छु भनी लेखिएको सो बयान बमोजिम अघिको साहूहरु तिरेको बोली यो लिखतमा परेको नदेखिएको हुनाले तमसुकी साहू तिरेको भन्ने साँचो मान्न नहुने र धनी लतनबहादुर ऋणी पञ्चमाया भएको ०१२।९।१०।१ मा रजिष्ट्रेशन पास भएको रु.१८०१। को लिखतमा घर बनाउन र चानचुन बेतमसुकी साहू तिर्नके भनी वापत जनिएकोमा घर बनाएको समेत नदेखिएको सो वापत जनिएको कुरा पनि सरासर मिथ्या देखिन आएकै छ । पञ्चमायाको ससुरा गोपाल ९७ सालमा र लोग्ने श्री गोविन्द ०७ सालमा परलोक भएको भन्ने कुरा मिसिलबाट देखिन आएको हुँदा गोपाल बिरामी हुँदा औषधी काज कृया खर्च समेतमा खर्च गर्नुपर्ने अवस्था पर्न आएमा त्यस बखत जिवित भएका पञ्चमायाको लोग्ने गोविन्दले नै गर्नु व्यहोर्नु पर्ने र निज गोविन्दले ऋण लिई खर्च गरेको रुपैयाँ तिरेको भनी यी पास भएका लिखतमा जनिएको कतै पनि देखिन आउँदैन । बुझिएका वादीका साक्षीले पनि आयस्ताले खान पुग्ने हुँदा बिक्री गर्नुपर्ने कारण छैन भनी बकी लेखिदिएकोले खान पाउने र ऋण तिर्न बेचविखन गरेको भन्ने पञ्चमायाको जिकिर मिल्दो जुल्दो देखिन आएन । पुनकुमारसंग पोइल जाने कुरा अघिदेखि चर्चा चली ०१२ सालको इन्द्रजात्रा पूर्णीमाको २/३ दिन अगाडिदेखि पुनकुमारका घर गई करणी लिनु दिनु गरी बसेको हुँ भनी करणी मुद्दामा पञ्चमायाले बयान गरेकी र वादीले जालसाजी भनी दावी गरेको ०१२।९।१०।१ मा पास भएको धनी लतनबहादुर ऋणी भएको रु.१८०१। को फार्छे थान एक र १२।८।१९।१ मा पास भएको धनी लतनबहादुर ऋणी पञ्चमाया भएको रु. ४७०१। को फार्छे थान १ समेत १ थान लिखत सो मितिभन्दा पछि नै भएको देखिएकोले तत्काल प्रचलित विधवा अंशधनको २ नं.बमोजिम पोइल गई बसेकी स्वास्नी मानिसले अघिल्ला लोग्नेका सत्यमा बस्दा आएको आफुले आर्जेको चल अचल समेत केही पनि लिई जान नपाउने हुँदा हकवालाको हुने श्री सम्पत्तिमा पोइल गइसकेपछि हक नपुग्ने पञ्चमायाको बेच विखन गरेको देखिएको र जग्गा पजनीको ४ नं.को २ दफाले मेरो हक पुग्ने हो भनी पञ्चमायाले अद्यपीतक जिकिर गर्न नसकेकी र निजले धुरी खडा राखी नाठो समेत त्यसै घरमा ल्याई बसेको पनि नदेखिएको यस्तो किसिमको मुद्दामा जालसाजी गरी दिनुपर्नेमा उक्त ऐन समेत प्रयोग गरी फार्छे समेत सदर गर्ने गरेको बागमती अञ्चल अदालतको इन्साफ गल्ती देखिन आउँछ । वादी हेमालक्ष्मीले अपुताली खान पाउने नपाउने के हो भनी हेरिएमा गोपाल प्रजापतीका छोरा गोविन्द १ छोरी २ मा जेठी गोमालक्ष्मी माहिली यो वादी हेमालक्ष्मी देखिएको र निजको विवाह भइसकेको भन्ने मिसिलबाट देखिनाले गोविन्द परलोक भएपछि अपुताली परेमा सो तत्काल प्रचलित अपुतालीका ५/७ नं.बमोजिम वादी हेमालक्ष्मीले आफ्नो बाबु दाजु भाइको श्री सम्पत्ति खान पाउने नै देखिएकोले हकवाला नभएकोले सरकार लाग्ने भन्ने प्रश्न उठ्न नसक्ने हुँदा अरु भक्तपुर ईलाका अदालतको ०१९।३।१९।३ का फैसलामा लेखिएको बुँदा प्रमाणबाट गोविन्दको अपुताली हेमालक्ष्मीले पाउने गरी पञ्चमायाले लतनबहादुरलाई गरी दिएको ०१२।८।१९।१ मा र ०१२।९।१०।१ मा पास गरेको लिखत फार्छे जालसाजी ठहराई भक्तपुर ईलाका अदालतले जाहेर गरेको इन्साफ मनासिव ठर्हछ भन्ने ०२४।५।२८।४ को डिभिजन बेञ्चको फैसला ।

          १५. सोउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने प्रतिवादीहरुको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा वादीले अपुतालीको आधार लिई उजूर गरेको देखिंदा अपुतालीको ऐनले सर्वप्रथम वादीको उजूर गर्ने हक छ छैन र सरकार वादी भई हेरीने हो होइन भन्ने कुरा कै समाधान गर्नुपर्ने प्रश्न उपस्थित हुन आएको छ । त्यस सम्बन्धमा विचार गर्दा पहिले अपुताली परेको नै हो होइन निरोपण गर्नुपर्ने हुन आएकोले तत्कालीन मुलुकी ऐन अपुतालीको महललाई दृष्टिगत गर्दा वादी विवाह भएकी छोरी भएको त्यस्तो विवाह भएकी छोरीले उजूर गर्ने हक अपुतालीको २, ३ र ५ नम्बरले प्रदान गरेको यो केश अपुताली परेको केश हो भन्ने सम्झने हो भने पनि पहिले बाबु मरे पछि छोरा मरेको भन्ने देखिने वादी बाबु गोपालको छोरी गोविन्दको दिदी भएकी छोराको छोरी नभएकीले उक्त उल्लेखित कुनै ऐनले पनि वादीलाई मद्दत गर्न नसक्ने देखिएकोले तत्कालीन अ.बं.को १०६ नम्बरले वादीलाई उजूर गर्ने हकै नभएको र उसमाथी यो केश मरी अपुताली परेको भन्ने सम्झनै हुँदैन । किनभने गोविन्द मर्दा स्वास्नी पञ्चमाया सजिवै हुँदा अपुतालीको ऐन १ नम्बरले स्वास्नी पञ्चमायाको हक हुनआएको । पञ्चमाया पोइल गएको कारणले योउजुर परेको । त्यसरी पोइल गएकोलाई मरी अपुताली परेको भन्ने संज्ञा दिन नमिल्ने सरकारवादी हुने हो कि भन्नालाई अपुताली को १७, १९, २१ नम्बरको मुद्दालाई तत्कालीन अ.बं.को १८ नम्बरले सरकार वादी भई हेर्नु पर्ने हो । यो केश उक्त उल्लेखित ऐनको परिभाषा भित्रको मरी अपुताली परेको शब्द वाक्यांश अनुरुपको केश नहुँदा उक्त उल्लेखित ऐन अनुसार सरकारवादी हुने पनि देखिएन, स्वास्नी मानिस पोइल गएको अवस्थामा विचार गर्नुपर्ने ऐन तत्कालीन गोश्वारा करणीको १२, २४ नम्बर हो । ति ऐनहरुले हक पुग्ने हकदार नभएको अवस्थाको भित्र पनि यो केश पर्न नआउने । यस्तो पोइल गएको अवस्थामा ऐनले हक पुग्ने हकदार नभएको स्वास्नी मानिसले तत्कालीन जग्गा पजनीको ४ नम्बर दान दातव्यको ९ नम्बरले त्यसै स्वास्नीले हक गरी खान पाउने उकास नठहर्ने । आफूले खान पाउने गरी बेचेको हो होइन भनी विचार गरी रहन पनि नपर्ने हक गरी बेचेको सदर हुने र श्री ५ को सरकार जग्गा कर (मालपोत) को मात्र भागि हुँदा जग्गा कर (मालपोत) बाँकी नभएमा अरु अधिकार गर्न नसक्ने देखिएको समेत प्रमाण परिवन्द तत्कालिन दण्डसजायको ५३ नम्बरले खारेज हुनेमा हकदार नठहर्ने हक नपुग्ने वादीको उजुरबाट इन्साफ गरी वादीको हक ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसूफको प्रमुख सचिवालय राजदरवारबाट ०२६।१।१९।५ मा लेखी आएको हुकुम प्रमांगी ।

          १६.  बक्स भई आएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीश ज्यूबाट भएको ०२६।१।२५।४ को आदेश ।

          १७. यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२६।१२।७।६ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अ.श्री कृष्णप्रसाद घिमिरेले र वादीतर्फबाट विद्वान अ.श्री सर्वज्ञरत्नले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो, बाबु गोपाल ९७ सालमा र भाइ गोविन्द ०७ सालमा परलोक भएका भाइ गोविन्दकी स्वास्नी अन्यायकी पञ्चमायाले जो भएको श्री सम्पत्ति स्याहार संभार गरी आएकीमा निज पञ्चमाया पुनकुमारसंग पोइल गइसकेपछि निज पञ्च मायाको माईला बाबु पुनकुमारको ससुरा लतनबहादुर धनी पञ्चमाया ऋणी भई अगाडिको मिति पारी घर जग्गाको जालसाजी फार्छे लिखत खडा गरी पास गरेछन, अपुतालीको ३ नं. ले मेरो माईत पट्टीको हक खाने म बाहेक अरु कोही नभएकोले मैले अपुताली खान पाउने र ऐनले सो अपुताली मेरो हक नपुग्ने भए सरकार लाग्ने हुँदा जालसाजी फार्छे खडा गरी पास गरेमा सजाय गरी जालसाजी लिखत ऐनबमोजिम गरिपाउँ भन्ने वादीको मुख्य दावी परी फौज्दारी तहबाट चलिआएको यो मुद्दा सरकारको सम्पत्ति हुने भन्ने कुरामा यही वादीकै उजुरीबाट पनि तत्काल प्रचलित अ.बं.१०६ नं. ले मुद्दा चल्ने भएकोले वादी दावी अनुसार लिखत जालसाजी हो होइन भन्नेसम्म कुराको यस मुद्दाबाट निर्णय दिनुपर्ने भएको छ ।

          १८.  प्रतिवादी पञ्चमाया पुनकुमारसंग करणीमा बिग्री पोइल गएकी कुरा कहिले प्रकाश भएको रहेछ भन्नेतर्फ हेर्दा वादीले यो मुद्दाको फिरादपत्रमा पञ्चमायाको पेट बोकिएको जस्तो शंका लागी तिम्रो पेट बोकेको छ लोग्ने को हो अघिल्लो लोग्नेको  सत्य डगाई यो घरमा बस्न पाउँदैनस् भनी सोही कुरामा हात मिसामिस हुँदा पुलिस आई पक्राउ गरी लगेको भन्ने उल्लेख गरेकी र ०१२।११।१५।२ को विहान हात मिसामिस भएको भन्ने कुरा सो हात मिसामिसमा पक्राउ गरी करणीतर्फ कारवाई चलाएको प्रमाण मिसिल सामेल अ.स.ई. पद्मबहादुरको पत्रबाट देखिन आएको समेत हुँदा वादीको उक्त लेखाईबाटै हात मिसामिस भएको पक्राउ गरे पछि १२।११।१५।२ भन्दा अगावै पञ्चमाया पुनकुमारसंग करणीमा बिग्री पोइल गएकी कुरा प्रकाश भएको प्रमाणीत हुँदैन । हात मिसामिस गरेकोमा प्रहरीले पक्राउ गरे पछि ०१२।११।१६।३ मा भक्तपुर डि.एस.पी. अफीसमा कागज गर्दा मात्र निज पञ्चमाया पुनकुमारसंग करणीमा बिग्री पोईल गएकी भन्ने कुरा लेखाएको देखिएको हुँदा अन्यथा प्रमाणको अभावमा निज पञ्चमाया पुनकुमारसंग करणीमा बिग्री पोइला गएकी भन्नेकुरा प्रकाश भएको मिति सोही ०१२।११।१६।३ लाईनै कायम मान्नुपर्ने हुनआएको छ ।

          १९.  वादी दावीका लिखतहरु सो ०१२।११।१६।३ भन्दा अगावै अर्थात रु.४७०१। को ०१२।२।२९।२ को फार्छे ०१२।८।२८।३ को फार्छेपत्र ०१२।९।१०।१ मा रजिष्ट्रेशन पास भए गराएको देखियो । हात मिसामिस गरेमा पक्राउ भई भ.पु.डि.एस.पी. अफीसमा ०१२।११।१६।३ मा कागज गर्दा र करणीतर्फ भक्तपुर अदालतमा ०१२।११।२४।३ मा बयान गर्दा निज पञ्चमायाले अगावै पुनकुमारसंग करणीमा बिग्री पोइल गएकी भन्ने लेखाएकी भए पनि सो कुरा साहू हुने लतनबहादुरलाई पहिले नै थाहा थियो भन्न प्रमाण दिन वादीले नसकेकी र प्रकाश हुनु बेगर पञ्चमाया पुनकुमार गुप चुपमा करणीमा बिग्री पोइल गएको बीचको मानिस निज लतनबहादुरलाई पहिले थाहा हुन पनि नसक्ने समेत हुनाले करणी प्रकाश भएको ०१२।११।१६।३ भन्दा अगाडि निज लतनबहादुरलाई थाहा भएको भन्न मिल्दैन । निज लतनबहादुर नाठो पुनकुमारको एकाघरको समेत नभई बीचको मानिस देखिएको र नातेदार भए पनि पछि पञ्चमाया पुनकुमार आफूहरुले खान पाउने गरी अघिल्लो लोग्ने पट्टीको सम्पत्ति निज लतनबहादुरका नाउँमा फार्छे पास भए गराएको परिवन्द पुगेको नदेखिएकोले तत्काल प्रचलित दान दातव्यको ९ नं. अनुसार रीतपूर्वकको फार्छे पास भइसकेपछि पोइल गएको जाहेर भए पनि बदर नहुने हुँदा यस स्थितिमा साहू लतनबहादुर समेत मिली जालसाजी लिखत खडा गरेको भन्न मिल्ने देखिन आउँदैन ।

          २०. तसर्थ उपरोक्त उल्लेखित कारणहरुबाट साहू हुने लतनबहादुर समेत मिली अगाडिको मिति हाली जालसाजी फार्छे लिखत खडा गरेको भन्ने वादी दावी पुग्न सक्दैन । अपुताली हक कायम गराई पाउँ भन्ने दावी परी कोर्ट फि समेत राखी चलेको यो मुद्दा नभएकाले त्यसतर्फ यस मुद्दाबाट हक बेहक छुट्याई निर्णय दिन नमिल्नेमा गोविन्दको अपुताली हेमालक्ष्मीले पाउने भन्ने र वादी दावीको लिखत जालसाजी ठहराएको समेत शुरु भ.पु.र्ई.अ.को सदर गरेको ०२४।५।२८।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी हेमालक्ष्मी प्रजापतिनी के बागमती अञ्चल अदालतको ०२२।८।१७।५ को फैसला गर्ने गरेको जरिवाना रु.५०। (पचास) डिभिजन बेञ्चको ०२४।५।२८।४ को फैसलाले नलाग्ने फिर्ता दिने गरेकोमा सो अनुसार गर्नु पर्दैन । बागमती अञ्चल अदालतको उक्त फैसला बमोजिम लगत कायमै राख्नु भनी का.श्र.अ.त.मा लगत दिनु………..१

देहायका मानिस के भक्तपुर ई.अ.को ०१९।३।१९ को फैसलाले गर्ने गरेको देहाय बमोजिम बागमती अञ्चल अदालतको ०२२।८।१७।५ को फैसलाले नलाग्ने असूल भएको फिर्ता बाँकीको लगत कट्टा गरी दिने गरेकोमा डिभिजन बेञ्चको ०२४।५।२८।४ को फैसलाले बागमती अञ्चल अदालतको फैसला बमोजिम लगत कायम गर्नु पर्दैन । भ.पु.ई.अ.को फैसला बमोजिम लगत कायम राख्नु भनी २४।६।१५।१ मा लगत दिएकोमा सो डिभिजन बेञ्चको फैसला अनुसार शुरु भु.पु.ई.अ.को फैसला बमोजिमको लगत कायम राख्नुपर्दैन । उक्त कलमनलाग्ने र असूल भएको फिर्ता बाँकीको लगत कट्टा गरीदिने गरेको बा.अं.अ.को ०२२।८।१७।५को फैसलाबमोजिम लगत कायमराख्नु भनी ऐऐ………………….२

लतनबहादुर प्रजापती के दण्ड रु.आठ सय बाह« रुपैयाँ सात पैसा रु. ८१२७।पञ्चमाया प्रजापतिनीके ऐ चारसय छ रुपैयाँ सैतिस पैसा दुई दाम रु.४०६।३७।२ पुनकुमार प्रजापति के जरिवाना वीस रुपैयाँ रु.२०। पुनबहादुर श्रेष्ठके ऐ पचिस रुपैयाँ २५। चन्द्रमान प्रजापतिके ऐ ऐ २५। केदारनाथ बैद्यके ऐऐ २५। कृष्णबहादुरके ऐऐ २५। वादी हेमालक्ष्मी प्रजापतिनीके जिताउरी रु.एक १। कान्छा कुसीके जरिवाना रु.एक १। जितबहादुर प्रजापतिके ऐ १। केदारनाथके ऐ १। पूर्णबहादुरके ए १।

लतनबहादुरले पञ्चमायाबाट लिखत गराएको घर जग्गा दर्ता गरी चलन चलाई पाउँ भनी वादी हेमालक्ष्मीले दरखास्त दिएमा दसौंद लिई चलन चलाई दिने भन्ने भ.पु.ई.अ.को ०१९।३।१९।२को फैसलामा उल्लेखभएको चलन चलाउनेतर्फ लगत कसिएको नदेखिएकोले फैसलाबमोजिम गर्नु भनी भ.पु.जि.अ.मा लेखीपठाउने भन्ने डिभिजन बेञ्चको ०२४।५। २८।४ को फैसलामा उल्लेख भएकोमा सोअनुसार गर्नुपर्दैन । उक्त चलनचलाउने कलमको लगत कसिएको भए लगतकट्टा गरीदिनु भनि भ.जि.अ.लाई लेखी पठाउने ऐ……………………३

डिभिजन बेञ्चको ०२४।५।२८।४ को फैसलाले बा.अं.अ.मा तत्कालित न्यायाधीश त्रैलोक्यराज उपाध्यायको इन्साफ उल्टीको रिकर्ड राख्नेगरेको लगत काटीदिनु भनी स.अ.जनरल विभागमा सूचना दिनु………………….४

नियमबमोजिम मिसिल बुझाई दिनु …………………..५

 

प्र.न्या.श्री भगवतीप्रसाद सिंह र श्री हेरम्बराज

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२६ साल चैत्र १४ गते रोज ६ शुभम् ।