December 19, 1969
Created by nepalarchives

निर्णय नं. ५२८ – जग्गा दर्ता

निर्णय नं. ५२८    ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२५ सालको दे.फु.नं. ६७...

निर्णय नं. ५२८    ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

०२५ सालको दे.फु.नं. ६७

निवेदक   : पं ३ नं. कास्की मौजे माझठाना पैरे बस्ने खडु गुरुङको हकमा स्वास्नी उदवेनी गुरुङस्यानी

विरुद्ध

विपक्षी : ऐ बस्ने लालसिरी गुरुङस्यानी

मुद्दा : जग्गा दर्ता

(१)  पारपाचुके भएको प्रष्टरुपमा लिखतमा खुलाउन नसक्नाको साथै माइत घर गई बसेकी सगोलमै छन भन्ने पहिले लेखेको देखिएमा पारपाचुके भएकोभन्ने भनाई जिकिर समर्थित हुन नआउने ।

          सर्वजित लालसिरीको पारपाचुके भएकै भए त्यो कुरा प्रष्टरुपले खुलाएको हुनुपर्ने राजीनामा लिखतमा दाजु सर्वजीतको स्वास्नी छोरा समेत कोही नभई अपुतालीबाट हक भएको भन्नेसम्म उल्लेख गरेको र राजीनामा गरी दिने दाता नैनसिंहले यो मुद्दामा प्रतिवादी नै नदिइ म्याद गुजारी बसेको, पहिले सर्भेमा परेको मुद्दामा कागज गर्दा सर्वजित लालसिरीको पारपाचुके भएको थियो भन्न नसकी हामी भाइ भाइ छुट्टिभिन्न भएका थिएनौ, दाजु सर्वजित परलोक भएपछि ऋण कर्जा लागी व्यवहार मिलाउँदा केही जग्गा सुक्री बिक्री गरेको हुँ । भाउजू माईत घरमा गई बसेकी थिइन सगोलमै छन भन्ने लेखी दिएको समेतबाट सर्वजीत लालसिरीको पारपाचुके भएको भन्ने प्रतिवादी खडुको भनाई जिकिर समर्थित हुन आउँदैन ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट :    भोजराज पाध्या

विपक्षी तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

उल्लेखित मुद्दा : x

फैसला

          प्र.न्या. श्री भगवतीप्रसाद सिंह

          १.   बाजे धनवीर गुरुङका ४ छोरामा जेठो गंगे, माहिला मेरा खसम सर्वजित, साहिला मनो गुरुङ, कान्छा नैनसिंह गुरुङ भएकोमा ९५ सालमा छुट्टिभिन्न भई जो भएको श्री सम्पत्ति अंशबण्डा गरी बेगल बसेको अवस्था मेरा खसम सर्वजितले आफ्नो अंश भागमा परेको जमिन ०७ सालमा दामोदर भाटलाई रु.२५००। मा भोगबन्धकी दिएकोमा लोग्ने सर्वजित परलोक भएकोले म मेरो माईत ज्यामिरेमा गई बसेको थिएँ । यसै अवस्था ०२० सालको सर्भे नापि हुँदा आफ्नो जग्गा नामसारी गर्न भनी सर्भे डोर भएको ठाउँमा जाँदा यो जग्गा मैले नैनसिंहबाट राजीनामा लिएको हुँ भन्ने खडु गुरुङ मैले बिक्री गरेको छु भन्ने नैनसिंह गुरुङ भई खिचोला गरेकोले मैले सो डोरमा निवेदन दिएकोमा कारवाई हुँदा पेश हुन आएका लिखतहरुमा मेरा खसम सर्वजितले दामोदरलाई दिएको रु.२५००। को फट्टा र दाजु सर्वजितको अंश हकको निज मर्दा निजको छोरा स्वास्नी कोही नहुँदा अपुतालीबाट मेरो हक हुन आएको भनी रु. ४०००। मा नैनसिंह राजीनामा दिने खडु गुरुङ राजीनामा लिने गरेको देखिँदा म खुद स्वास्नी छँदाछदै मेरो खसम पछि मेरो हक लाग्ने जमिन हकै नलाग्ने देवरले बिक्री गर्न नपाउने हुँदा सर्भेले ७ दिन भित्र हक बेहकमा जानु भनी ०२०।१२।१४ मा सुनाएकोले नालेश गर्न आएको छु । तिरो रु.१।१२ को कुखुरेपानी भन्ने खेत मुरी।१३।१० तिरो रु.।३२ को ऐ खेत मुरी।४ विजमाना।२ को पाखो १ विज माना।१ को टारपाखो १ समेत मेरो हक सदर थामी विपक्षीको दर्ता बदर गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत ०२०।१२।१८।४ को लालसिरी गुरुङसेनिको फिरादपत्र ।

          २.   वादी दावीको जग्गा मध्ये कुखुरेपानी खेत मुरी ।१३।१० को कित्ता १ ऐ भन्ने खेत मुरी।४ मध्ये खेत मुरी।२ को कित्ता १ बिजमाना।४ को जग्गा मध्ये बिज माना।३ को पेरेटार भन्ने पाखो कित्ता १ समेत ३ कित्ता जग्गा र अरुहरु जग्गा समेत सर्वजितले रु.२५००। मा दामोदर रानाभाटलाई ०६ सालमा भोगबन्धकी दिएकोमा निज सर्वजित गुरुङलाई महारोग उत्पत्ति भई निजकी श्रीमति यो वादीले छोडी गई माइत बसेकी र पछि ०८ सालमा दुवैको मञ्जुरीले पारपाचुके गरी छोडी गएकोले नैनसिंहले स्याहार गरी ०९ सालमा सर्वजित मरेबाट निजको काजकृया समेत गरी निजको हक समेत भोग गरी आएको मध्ये उक्त कुखुरेपानी खेत कित्ता २ बिजमाना।२ को टार भन्ने पाखो कित्ता १ समेत ३ कित्ता जग्गा रु.४०००। मा निज नैनसिंह दिने म खडुले लिने मञ्जुर भई ०१०।१२।१५ मा लेनदेन गरेको हो, सो बमोजिम म खडुका नाउँमा जग्गा दर्ता समेत भएको छ । वादी सर्वजितकै सत्यमा भई जग्गा वादीको हक भएको भए म्यादभित्र उजूर गर्न पर्ने नगरी ९।१० वर्षसम्म हामीहरुको अधिन भोग भइसकेकोमा पछि मात्र नैनसिंह गुरुङको जालबाट यो झुठ्ठा दावी गरे गराएको हो भन्ने समेत खडु गुरुङ उदवेनी गुरुङस्यानी समेतको ०२१।९।२५ को प्रतिवादी ।

          ३.   नैनसिंहले प्रतिवादी नदिई म्याद गुजारेको ।

          ४.   सर्वजितले वादीलाई छोडेको छोडपत्र दाखेल हुन नआएकोले लोग्नेको सम्पत्ति स्वास्नीको हक हुनेमा निजकी स्वास्नी जिबित छँदै भाइ नैनसिंहले भोगबन्धकी निखनी प्र.लाई मो.रु. ४०००। मा राजीनामा पास गरी दिएको सो बमोजिम दर्ता भएको समेत मान्यता दिन नमिल्ने हुँदा सर्वजितको भाइ प्र.नैनसिंहले भोगबन्धकी निखनी प्र.खडुलाई रु.४०००। मा राजीनामा गरी दिएको नाताले निज खडुका नाउँमा सर्भेमा दर्ता गरेको मान्यता दिन नमिलेकाले बदर हुन्छ । उक्त भोगबन्धकी तिरी निखनी ल्याई प्र.खडुलाई दिएको हुँदा लख सरह भन्नु परी उक्त मो.रु.२५००। वादीले तिरेपछि वादीका नाउँमा दर्ता गरी दिने र प्र.खडुको नपुग रु.१५००। को हकमा नैनसिंहउपर छुट्टै उजूर गरेका बखत ठहरे बमोजिम हनेछ भनी सुनाई दिने ठर्हछ भन्ने समेत काश्की जिल्ला अदालत पोखराको ०२२।१२।१८।५ को फैसला ।

          ५.  साक्षीहरुको बकाईबाट वादी लालसिरि लोग्ने सर्वजितबाट पारपाचुके गरे भएको प्रष्टै देखिएको छ । शुरु ईन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी खडु गुरुङको पुनरावेदन ।

          ६.   वादीलाई निजको लोग्नेले पारपाचुके गरेको भन्ने ठहराउन मिल्ने आधार कतैबाट केही नपाइएको र वादीको हक छुटेको लिखत समेत देखिन नआएकोले इन्साफ काश्की जिल्ला अदालतको मनासिव छ भन्ने समेत गण्डकी अञ्चल अदालतको ०२३।५।१६।५ को फैसला ।

          ७.  छोडपत्र भएकै हो म्याद भित्र उजूर नगरी राजीनामा कायम भइसकेपछि जग्गामा वादीको हक पुग्न नसक्ने समेत हुँदा शुरु कास्की जिल्ला अदालतले गरेको इन्साफ सदर गरी गण्डकी अञ्चल अदालतले गरेको इन्साफमा चित्त बुझेन भने समेत प्रतिवादी खडु गुरुङको पुनरावेदन ।

          ८.   वादीको लोग्ने सर्वजितलाई महारोग उठेपछि वादी सिरीमायाँ लोग्नेसंग नबसी माईत गई बसेकीबाट रोगीको स्याहार संभार गर्ने मानिस नभई गाउँको भलादमीहरुले वादीलाई झिकाई स्याहार सम्भार गर भन्दा पारपाचुके कागज गरी छोडेकोले निजको अरु छोरा सन्तान कोही नभई मरेपछि अपुताली भाइ नैनसिंहको हुन आई निजबाट मैले राजीनामा लिएको भन्ने प्रतिवादीले मुख्य जिकिर लिएको देखिएको त्यस्तो लिखत भएको भए नैनसिंहबाट वादीको लोग्ने सर्वजितको भागको जग्गा प्रतिवादी खडु गुरुङले राजीनामा लिँदा वादीलाई निजको लोग्ने छोडपत्र गरी सो अंश भागको दाता नैनसिंहको अपुताली पाको भएको निस्सा आफुले लिई राजीनामा लिखत गराएको हुनुपर्ने र उजूर परेका बखत निज खडुबाट त्यस्तो निस्सा पेश गर्न सक्नु पर्ने पेश दाखेल हुन नआएको राजीनामा गरी दिने नैनसिंहले शुरु म्याद गुजारी बसेको हुनाले छोडपत्र गरेको पक्का सबूद प्रमाण बेगर भनाईका भरमा स्वास्नीले लोग्नेको अंश जग्गामा हक गर्न पाउँदैन भन्न मनासिव नपर्ने हुनाले समेत प्रतिवादी खडु गुरुङको पुनरावेदन जिकिर पुग्न सक्तैन । कास्की जिल्ला अदालतको सदर गरी गण्डकी अञ्चल अदालतबाट भएको ईन्साफ मनासिव ठर्हछ भन्ने ०२४।३।२६।२ को डिभिजन बेञ्चको फैसला ।

          ९.   सोउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने खडु गुरुङको हकमा स्वास्नी उदवेनी गुरुङस्यानीले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो हो र १ एकपटक पनि फुल बेञ्चबाट दोहरिएको मुद्दा रहेनछ भने फुल बेञ्चबाट दोहर्‍याई हेरी रुल नियम बमाजिम गरी निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको ०२५।६।११।५ को हुकुम प्रमांगी ।

          १०.  बक्स भई आएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय श्री प्रधान न्यायाधीश ज्यूबाट भएको ०२५।६।२८।१ को आदेश ।

          ११.  यसमा तारेखमा रहेको दुवैपक्षका वारेस रोहवरमा रही ०२६।८।२७।६ मा पेश भई निवेदक प्रतिवादी खडु गुरुङतर्फबाट निजको वा. भोजराज पाध्याले र वादी सिरिमायाँतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी खडु गुरुङको नैनसिंहबाट गराई लिएको ०१०।१२।१५।१ को राजीनामा लिखत कायम हुने नहुने के हो ? भन्ने प्रश्नउपर मुख्य विचार गर्नुपर्ने भएकोछ ।

          १२.  उक्त राजीनामा लिनु दिनु गरेको जग्गा सर्वजितको अंश भागको हो भन्ने कुरा राजीनामा लिखतमै उल्लेख भएको समेत देखिन आयो । सर्वजितलाई माहारोग भई निजकी स्वास्नी वादी लालसिरिले छोडी माइत गई बसेकी पछि २००८ सालमा दुवैको मञ्जुरीले पारपाचुके गरेका हुँदा नैनसिंहले स्याहार गरी राखेको ०९ सालमा सर्वजित मरेबाट काज कृया समेत नैनसिंहले गरी सर्वजितको अंश भागको जग्गा अपुतालीबाट नैनसिंहको हक भई निजबाट मैले राजीनामा गराई लिएको भन्ने प्रतिवादी खडु गुरुङको मुख्य जिकिर भएको हकमा निजकै साक्षी कुम्भ सिंह र वादी प्रतिवादीको दोहोरो साक्षी बुदीबल समेतले सर्वजितले लालसिरीलाई छोडपत्र गरेको होइन भन्ने बकेको खास गरी यस्तो पारपाचुके भए गरेको भन्ने कुरामा आवश्यकता पर्ने कानूनबमोजिम लिखत सबूद प्रतिवादी खडु गुरुङले दिन पेश गर्न सकेको देखिन आएन ।

          १३.  सर्वजित लालसिरीको पारपाचुके भएकै भए त्यो कुरा प्रष्ट रुपले खुलाएको हुनुपर्ने राजीनामा लिखतमा दाजु सर्वजितको स्वास्नी छोरा समेत कोही नभई अपुतालीबाट हक भएको भन्नेसम्म उल्लेख गरेको र राजीनामा गरी दिने दाता नैनसिंहले यो मुद्दामा प्रतिवादी नै नदिई म्याद गुजारी बसेको पहिले सबैमा परेको मुद्दामा कागज गर्दा सर्वजित लालसिरिको पारपाचुके भएको थियो भन्न नसकी हामी भाइ भाइ छुट्टिभिन्न भएका थिएनौं, दाजु सर्वजित परलोक भएपछि ऋण कर्जा लागी व्यवहार मिलाउँदा केही जग्गा सुक्रीविक्री गरेको हुँ भाउजू माईत घरमा गई बसेकी थिइन् सगोलमै छन भन्ने लेखी दिएको समेतबाट सर्वजित लालसिरीको पारपाचुके भएको भन्ने प्रतिवादी खडुको भनाइ जिकिर समर्थीत हुन आउँदैन ।

          १४.  सर्वजितको अंश भागको जग्गा नैनसिंहबाट राजीनामा गराई लिँदा राजीनामा लिखतमा मेरो हक भोग तिरोको दाजु सर्वजित मरी अपुतालीबाट मेरो हक भएको भन्ने उल्लेख गरे अनुसार दाता नैनसिंहको हक पक्का भई निजले भोग तिरो गरेको प्रमाण आफूले खोजी गरी लिनु आवश्यकता पर्ने साहू प्रतिवादी खडु गुरुङले त्यस्तो कुनै प्रमाण लिएको छु भन्ने पेश गर्न सकेको पनि पाईदैन ।

          १५.  तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट सर्वजित लालसिरिको पारपाचुके भएको भन्न ठहराउन नमिल्ने र सर्वजितको अंश लालसिरि खडा छँदै अपुतालीबाट हक भएको भनी नैनसिंहबाट प्रतिवादी खडुले गराई लिएको ०१०।१२।१५।१ को राजीनामा र सो आधारमा सर्भे नापीमा गराएको दर्ता बदर हुने ठहराएको समेत शुरु कास्की जिल्ला अदालत र गण्डकी अञ्चल अदालतको सदर गरी ०२४।३।२६।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै छ कोर्टफी राखेकोले इन्साफ दोहर्‍याएमा निवेदक प्रतिवादी खडु गुरुङलाई अरु सजाय गर्नु परेन । नियमबमोजिम बुझाई दिनु ।

 

न्यायाधीश श्री धनेन्द्रबहादुर र न्यायाधीश श्री नयनबहादुर

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२६ साल पौष ४ गते रोज ६ शुभम् ।