निर्णय नं. ५२७ – बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
निर्णय नं. ५२७ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री...
निर्णय नं. ५२७ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
सम्वत् २०२५ सालको दे.फु.नं. २०
निवदेक : गण्डकी अञ्चल पश्चिम ४ नं. स्याङ्गजा जिल्ला पुतलीखेत घर भई नारायणी अञ्चल चितवन भरतपुर बस्ने हाल चितवन कारागारमा थुनामा रहेको वर्ष २९ को भोलाकुमार शेरचनको निमित्त निजका एकाघर सगोलका बाबु हर्षबहादुर शेरचन
विरुद्ध
विपक्षी : चितवन जिल्ला अदालत भरतपुर चितवन, नारायणी अञ्चल वाइल्ड लाईफ मेनेजमेण्ट डिभिजन कार्यालय, वनविभाग चितवन समेत
बिषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांश–बन्दीकोतर्फबाट अरुले दिएको निवेदनपत्रमा निज बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने उल्लेख भई कारवाई चलिसकेको परिस्थिति नपरेकोले अरुबाट निवेदन दिन लगाएको भनी अनुरोध गरेमा–उक्त निवेदनपत्र खारेज गर्न नमिल्ने ।
उक्त नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांशमा अरुले निवेदनपत्र दिंदा त्यस्तो निवेदनपत्रमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण पनि उल्लेख हुनु पर्छ भन्ने व्यवस्था छ । सो अनुसार बाबुको नामबाट प्रस्तुत निवेदनपत्र दर्ता गर्दा बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने निवेदनमा परेकैले उक्त नियमको मनसाय पुरा भएको मानी कारवाई चलिसकेको र भोलाकुमार शेरचनलाई उपस्थित गराउने ०२६।२।७।३ को फुल बेञ्चबाट आदेश भई उपस्थित गराइएको निज भोलाकुमार शेरचन भन्नेलाई यसबेञ्चबाट सोधनी गर्दा म जेलमा बन्दी भैरहेको म आफैंले सहीछाप गरी निवेदनपत्र दिन परिस्थिति नपरेकोले मेरो बाबुबाट निवेदन दिन लगाएको हुँ भनि बेञ्च समक्ष अनुरोध गरेको समेत यस स्थितिमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण नखुलेको बेरीत भनी प्रस्तुत निवेदनपत्र खारेज गरी दिन मनासिव देखिएन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया
उल्लेखित मुद्दा :
आदेश
न्या. श्री रत्नबहादुर विष्ट
१. २०२४ साल आषाढ १६ गते विहान छोरा भोलाकुमार शेरचनलाई नारायणगढतर्फ जान लाग्दा प्रहरीले पकडाउ गरी चितवन कारागारमा थुनामा राखिएको थियो । २०२४।३।२९ मा कारागार कार्यालय मार्फत निज भोलाकुमार शेरचनलाई चितवन जिल्ला अदालतबाट जारी गरेको भनी दिइएको पुर्जीमा थाकखोला घर भई प.३ नं. लामाचौर बस्ने भोला थकाली के वादी श्री ५ को सरकार भएको गैंडा चोरी मुद्दामा २०२४।२।७ का फैसला पुरानो मुलुकी ऐन चौपायाको २३ नं. ले हालको अड्डाको फौ.नं. ११७ का लगतले लागेको जरिवाना रु.२०,०००। बिगो रु. ८,४००। समेत जम्मा रु.२८,४००। मा वा. लामेडिका चलानीसाथ आएको चौपायाको २३ नं. ले हुने कैद वर्ष ३। मा निज परेको ०२४।३।१९ ले २०२७ साल आषाढ १८ गते तक कैदमा बसी ऐ १९ गते छुटी जाने भएकोले तपाईलाई यो सूचना पूर्जी गरी दिएको छ भन्ने रहेछ । हाल थुनाम रहेको मेरो छोराको नाम भोला थकाली होइन र निजको नाम भोलाकुमार शेरचन हो । थाकखोलामा वा पश्चिम ३ नम्बर लामाचौरमा निज छोरो समेत हामी कसैको घरबास छैन र कहिल्यै रहे बसेको सम्म पनि छैन । हाम्रो घर पश्चिम ४ नं. स्याङ्गजा पुतलीखेतमा छ । मेरो छोरो भोलाकुमार शेरचनलाई थाकखोला घर हुने तथा पश्चिम ३ नं. लामाचौर बस्ने भोला थकाली भन्ने संज्ञा दिई निरपराध व्यक्ति जसमाथि एकपटक यस्तै मुद्दा चलाइएकोमा सफाई समेत पाइसकेको व्यक्तिलाई बिनाकारण तिन वर्षको कैद सजाय भएको भनी गैरकानूनी तबरबाट कैद म्याद ठेकी थुनामा राखिएको छ । उक्त मुद्दामा मेरो छोरो पोलिएको भए नाम थर वतनसमेत मिल्नु पर्ने र निजलाई हातैमा वा वतन भएको ठाउँमा समाव्हान तामेल हुनुपर्नेमा सो केही भएको छैन । थाकखोला बस्ने भोला थकाली नाम भएको कुनै व्यक्तिका नाउँमा अर्कै जिल्लामा समाव्हान तामेल भएको भन्ने सुनिन्छ । नामको २ अक्षर मिल्दैमा एक ठाउँ बस्ने व्यक्तिलाई भएको समाचार अर्को ठाउँ बस्ने अर्कै मानिसलाई पक्री कैद ठेक्नु असंवैधानिक र गैरकानूनी हो, छोरोलाई कैद म्याद ठेकी खान दिई झेलखानामा राखेको हुनाले निजका हकमा निवेदन गर्न आएको छु । यस बिषयमा बन्दी–प्रत्यक्षीकरणको निवेदन अन्यत्र गरेको छैन । नेपालको संविधानको धारा ७१ र सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम विपक्षी समेत जे जो बुझ्नु पर्ने बुझी छोरो भोलाकुमारलाई गैरकानूनी बन्दीबाट छुटकारा गराई पाउँ भन्ने समेत हर्षबहादुर शेरचनको ०२४।५।३०।६ को निवेदनपत्र ।
२. विपक्षीहरुसंग लिखित जबाफ लिई पेश गर्नु भन्ने समेत ०२४।६।२।२ को डिभिजन बेञ्चको आदेश ।
३. वादी श्री ५ को सरकार भएको गैंडा चोरी अभियोगमा भोला थकाली समेतलाई हराई मिति ०२४।२।७ मा चि.जि.अ.बाट फैसला भएको भन्ने बुझिएको र निज भोला थकाली भरतपुर हवाई ग्राउण्डदेखि नारायणगढतर्फ जान लागेको फेला परेकोले दाखिल गरेको छु, वा.ला.मे.डि. कार्यालय बुझी कानूनबमोजिम होस भन्ने हे.कं. नरबहादुर मगरको प्रतिवेदन साथ यस कार्यलयमा उक्त भोला थकाली दाखिल हुने भएको र तत्सम्बन्धी कारवाईहरु तहाँ कार्यालय अन्तर्गत परेको हुँदा निज पक्राउमा आएको श्री भोला थकालीलाई यसैसाथ पठाई दिएको छु । रुल नियमबमोजिम गर्न हुन अनुरोध गरेकोछु, भनी प.सं. १।२०।४९५ मिति ०२४।३।१८।१ मा यस कार्यालयबाट उक्त श्री भोला थकालीलाई वा.ला.मे.डि. टिकौली (चितवन) मा बुझाइदिएको हुँदा तत्तसम्बन्धी हे.कं.नरबहादुरको प्रतिवेदन तथा यस कार्यालयबाट बा.ला.मे.डि.का.लाई लेखेको पत्रको नक्कल समेत संलग्न राखी व्यहोरा अनुरोध गरिएको छ भन्ने समेत जि.प्र.इ.कार्यालय चितवन भरतपुरको लिखित जबाफ ।
४. लगत किताब हेर्दा थाकखोला घर भई पं. ४ नं. स्याङ्गजा पुतलीखेत बस्ने अरथारे भन्ने थकालीको छोरा पद्मे थकालीको भाइ पं. ३ नं. पोखरा लामा चौतारा बस्ने भोला थकाली के दस गोटा गैंडा मारेमा रु.२०,०००। जरिवाना र बिगो रु. ८,४००। समेत जम्मा रु.२८,४००। लिने भन्ने लगत कसिएको देखिन आएको श्री ५ को सरकार वादी भएको गैंडा चोरी अभियोगमा भोला थकाली समेतलाई हराई ०२४।३।७ मा फैसला भएको भन्ने बुझिएको र निज भोलालाई फेला पारी हे.कं. नरबहादुरले प्रतिवेदन बमोजिम जि.पु.ई. कार्यालय भरतपुरको पत्रसाथ लेखी पठाए बमोजिम यस कार्यालयमा प्राप्त भई तहाँ लेखी पठाएमा निज भोला थकालीलाई जरिवाना बिगो लागेको भन्ने जबाफ आएकोले निज सरकारी बाँकीवाला भोला थकालीलाई पठाइएको छ, निज भोलाबाट असूलउपर गर्नुपर्ने बिगो जरिवानामा रुल नियमबमोजिम गर्नु हुन अनुरोध छ भन्ने ०२४।३।१९ को बा.ला.मे.डि. कार्यालयको पत्रसाथ यस अदालतमा दाखिल हुन आएकोले न्यायाधीशको अनुपस्थितिमा उक्त दाखिल हुन आएको व्यक्तिलाई ०२४।३।१९ गते कैद म्याद ठेकिएको श्रेस्ताबाट देखिएकोले भएको व्यहोराको प्रतिवेदन जाहेर गरेको छु भन्ने समेत चितवन जिल्ला अदालतको प्रतिवेदन ।
५. सरकार वादी गैंडा सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतका फैसला बमोजिम जरिवाना लागेको बुझिएको भोला थकाली पक्राउमा परेकोले पठाएका छौं भन्ने जिल्ला प्रहरी इ. कार्यालय भरतपुरका पत्र साथ यस कार्यालयमा भोला थकालीलाई दाखिला गर्न ल्याएबाट भोला थकालीलाई गैंडा चोरी मुद्दामा हराई फैसला भएको छ, छैन भए के कति सजाय भएको छ र सो असुलउपर भएको छ छैन भनी चि.जि. अदालतलाई ०२४।३।१८ मा सोधी पठाउँदा श्री ५ को सरकार वादी भएको गैंडा चोरी मुद्दा ०२४।२।७ मा भएको फैसलाले निम्न व्यक्तिलाई निम्न बमोजिम सजाय भएकाले सुचित गरेको छु भनी ०२४।३।१९।२ मा चितवन जिल्ला अदालतबाट लेखी आएको प्राप्त पत्रमा भोला थकाली जरिवाना बिगो समेत रु.२८,४००। लेखी आएको देखियो । अदालतको पत्र प्राप्त भएपछि प्रहरी मार्फत दाखिल हुन आएको भोला थकालीलाई सोद्धा अघि मलाई गैंडा मुद्दा लागेको थियो, थकालीहरुको मुख्यतः ४ थर हुन्छ–शेरचन, तुलाचन, गौचन र भट्टचन भन्छन । म शेरचन हुँ र मेरा बाबुको नाम हर्षबहादुर थकाली हो, म ३ नं. पोखरा लामाचौरमा बसेको थिएँ । हाल चितवनमा बसेको छु भनी जवानी भएकोले निज भोला थकाली होइनन् भनी छुट्कारा दिन कुनै प्रमाण नपाई दण्डनीय व्यक्ति पक्राउमा आएको निज भोला थकाली नै देखिंदा जरिवाना बिगोको लगत रहेको चितवन जिल्ला अदालतमा भोला थकालीलाई चलान गरी पठाएको हो, अघि समेत गैंडा चोरीमा परेको व्यक्ति हाल जरिवान बिगोमा कैद म्याद ठेकी कारागारमा परिसकेपछि सरकारी बाँकीबाट उम्कने उद्देश्य लिइ कानूनको आडमा आफ्नो नाम भोला थकालीमा कुमार भन्ने शब्द थपी झुठ्ठा रिट दायर गरेको देखिन आउँदछ । थकालीहरु स्वभावत थाक आदीवासी नै हुन् । हाल त्यस ठाउँबाट अन्यत्र बस्न गए तापनि निजहरुको त्यस ठाउँमा घर जग्गा समेत केही नहुनु वा मेरो घरै त्यस ठाउँमा होइन भन्ने भोला थकालीको बाबु हर्षबहादुर शेरचनको जिकिर तथ्यहीन देखिन्छ भन्ने समेत श्री वाइल्ड लाइफ मेनेजमेन्ट डिभिजन चितवनको लिखित जबाफ ।
६. थाकखोला घर भई पं. ४ नं. स्याङ्गजा पुतलीखेत बस्ने अरथारे भन्ने थकालीको छोरा पद्मे थकालीको भाइ प. ३ नं. पोखरा लामा चौतारा बस्ने भोला थकाली भन्ने अघि र हाल समेत सो पोखरा लामा चौतारामा बसी आएको छ छैन ? भोला थकाली र भोलाकुमार शेरचन भन्ने एउटा वा वेग्लै समेत के हो, लामा चौतारामा बस्ने मानिसहरुको सरजमिन मुचुल्का गरी पठाई दिनु भनी जि.अ. पोखरालाई लेखी पठाउने, थाकखोला घर भई प. ४ नं. स्याङ्गजा पुतलीखेत बस्ने अरथारे वा आरथरे भन्ने थकाली पद्मे थकालीको बाबु र भोला थकाली अघि र हाल सो ठाउँमा बसी आएको छ छैन उक्त अरथारे थकाली र हर्षबहादुर शेरचन भन्ने र भोलाकुमार शेरचन वा भोला थकाली भन्ने छुट्टाछुट्टै वा एउटै व्यक्ति के हो उक्त पुतलीखेतका व्यक्तिहरुको सरजमिन मुचुल्का पनि पठाई दिनु भनी जि.अ. स्याङ्गजालाई लेखी पठाउने, प.३ नं. पोखरा लामा चौतारा बस्ने भोलाकुमार शेरचन समेत भएको गैडा चोरी मुद्दामा काठमाडौं जि.अ. बाट फैसला भई स.अ.बाट समेत किनारा भएको छ भन्ने समेत बहसमा निवेदक तर्फको विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले बहस गर्नुभएकोले उक्त मुद्दाको मिसिल हाल कहाँ छ प्रमाणलाई झिकाउने, जि.अ. चितवन अन्तर्गत थुनमा रहेको भोला थकाली भनिएको व्यक्तिको न्यायाधीशकै रोहवरमा ल्याप्चे सहीछाप लिई पठाई दिनु भनी जि.अ. चितवनलाई लेखी पठाउने र सो सबै कार्य तामेल भई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने समेत २०२४।८।१३।४ को डिभिजन बेञ्चको आदेश ।
७. थुनाबाट छुटकारा गरिपाउँ भनी बन्दी–प्रत्यक्षीकरणको रिट दिएकोमा बुझ्ने भइराखेको रिटको किनारा नलागेसम्म धन जमानी वा जेथा जमानी लिई थुनाबाट मुक्त गरी दिनु भन्ने आदेश पाउँ भन्ने समेत बन्दी भोलाकुमार शेरचनको निमित्त निजका एकाघर सगोलको बाबु हर्षबहादुरको ०२४।८।१९ को निवेदनपत्र ।
८. निवेदकले माग गरे बमोजिम धन जमनी वा जेथा जमानी दिए छुट्न पाउँछ भनी आदेश दिन मिल्दैन भन्न न्यायोचित नपर्ने हुनाले रिटको निर्णय नभएसम्म लागेको फैसलाबमोजिमको बिगो जरिवाना कानूनबमोजिम रीतपूर्वकको धनजमानी वा जेथाजमानी दिए लिई निवेदकलाई छाडी दिनु भनी चितवन जिल्ला अदालतलाई आदेश दिन उचित देखिन्छ । बेञ्चका सहयोगी माननीय न्यायाधीश श्री वाशुदेव शर्मासंग यो निवेदनमा उक्त आदेश दिन राय नमिलेकोले स.अ नियमावली ३३ (क) बमोजिम निर्णय निमित्त फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री नयनबहादुरको आदेश र चितवन जिल्ला अदालतको फैसलाले लाग्ने गरेको बिगो जरिवानामा रिटको निर्णय नभएसम्म धनजमानी वा जेथाजमानी लिई थुनाबाट मुक्त गरी दिनु भनी आदेश दिने कानूनमा व्यवस्था नेदिखएकोमा पनि यो यस्तो कानूनबाट मैले जेथाजमानी धनजमानी दिन पाउने भन्ने जिकिर समेत निवेदकले लिन सकेको नदेखिनाले समेत निवेदनपत्रमा कुनै विचार गर्नु नपर्ने हुनाले आदेश दिने गरेको सहयोगी माननीय न्यायाधीश नयनबहादुरको आदेशको रायसंग समहत नभएकोले स.अ. नियम ३३ (क) बमोजिम निर्णय निमित्त फुल बेञ्चमा पेश गर्नु भन्ने समेत ०२४।९।७।६ को माननीय न्यायाधीश श्री वाशुदेव शर्माको आदेश ।
९. निवेदन जिकिर बमोजिमको गैंडा चोरी मुद्दामा ०२४।२।७ को फैसलाबाट लाग्ने गरेको जरिवाना र बिगो समेत रु.२८,४००। मा नै निवेदक भोलाकुमारलाई थुनामा राखेको भन्ने देखिन आएको र यदि सो जरिवाना बिगो नगदै बुझाएको अवस्थामा कानूनले थुनामा राख्न नपाउने छाडी दिनुपर्ने समेत हुनाले सो जरिवाना बिगो लागेको भोला थकाली म होइन म भोलाकुमार शेरचन हुँ, थुनेको गैरकानूनी छ, छुटानी पाउँ भनी रिटको निवेदन दिई कारवाही चली राखेको समेत यस्तो अवस्थामा रिटको किनारा नलागेसम्म उक्त नियम ५६ बमोजिम जमानतमा छाड्न नमिल्ने देखिन आउँदैन । तसर्थ धनजमानी जेथाजमानी राख्न निवेदकले मञ्जुर गरेकोले रिटको निर्णय नभएसम्म फैसला बमोजिम लागेको बिगो जरिवाना समेतमा कानूनबमोजिम रीतपूर्वकको जेथाजमानी दिए लिई निवेदकलाई छाडी दिनु भनी चितवन जिल्ला अदालतलाई आदेश दिने गरी ०२४।९।७।६ को डिभिजन बेञ्चमा माननीय न्यायाधीश श्री नयनबहादुरले व्यक्त गर्नुभएको राय मुनासिव छ, सो अनुसार गर्नु भनी उक्त डिभिजन बेञ्चको आदेश र यो आदेश समेतको प्रतिलिपी १ चितवन जिल्ला अदालत पठाई यो आदेश सहितको निवेदन सम्बन्धित रिटको निवेदन फाइल सामेल राखिदिनु भन्ने समेत २०२४।९।२१।६ को फुल बेञ्चको आदेश ।
१०. ०१५ साल चैत्रमा भोला थकालीले २ पटक गरी जम्मा १० गोटा गैंडा मारेको भनी शिवनारायण समेतले पोल गरेको भन्ने चितवन जिल्ला अदालतबाट ०२४।२।७।१ मा भएको फैसलामा उल्लेख भएको देखिनाले निज भोला थकालीलाई पोल गर्ने व्यक्ति जो जो हुन सो सबैलाई झिकाई हाल त्यस जिल्ला अदालतको फैसलाले लागेको सजायमा कैद ठेकी थुनामा राखेको व्यक्तिलाई सो पोल गर्ने व्यक्तिलाई देखाई तिमीहरुले पोल गरेको व्यक्ति यही हो होइन भनी देखाई पक्राउ गरी थुन्ने विपक्षी वाइल्ड लाईफ मेनेजमेन्ट डिभिजन कार्यालय, वन विभाग, चितवन, श्री ५ को सरकार जिल्ला प्रहरी इन्सपेक्टर कार्यालय, चितवन भरतपुरको मुख्य अधिकृतलाई समेत राखी जिल्ला अदालतमा न्यायाधीशका रोहवरमा सनाखत गरी गराई पठाई दिनु भई मिसिल समेत जिल्ला अदालत चितवनमा पठाई दिनु र उक्त कार्य सम्पन्न भएपछि मिसिल समेत यसै अदालतमा पठाई दिनु भनी लेखी पठाई दिनु भन्ने समेत ०२४।१२।१३ को डिभिजन बेञ्चको आदेश ।
११. गण्डकी अञ्चल प. ४ नं. स्याङ्गजा जि. पुतलीखेत घर भई नारायणी अञ्चल चितवन भरतपुर बस्ने भोलाकुमार शेरचनको बाबु हर्षबहादुर शेरचनले उत्प्रेषणको आदेश जारी गरिपाउँ भनी दिएको निवेदनमा ०२४।१२।१२ को डिभिजन बेञ्चको आदेश बामेजिम भोलाकुमार शेरचनलाई पोल गर्ने व्यक्ति जो जो हुन सबैलाई झिकाई सनाखत कारवाई गरी पठाई दिनु भन्ने मिति ०२४।१२।१८ पत्र संख्या ४५२३ को पत्र बमोजिम बुझ्न नोटिस समेत जारी गरी पठाउँदा शिवराज मरी सकेको भन्ने र सिखाराम विष्णु नगरमा निजको घरद्वार समेत नभएको भनी नवलपरासी जिल्ला अदालतबाट तामेल भई मिति २०२५।७।२२।५ मा लेखी आएको निज इन्द्रबहादुर ज्यारचनको हकमा पाल्पा मस्याँङ्ग डाँडामा भट्टी थापी बस्ने भनी वतन लेखिएको र नोटिस तामेल गर्न पठाउँदा यस ठाउँबाट यस साल भन्दा ५ वर्ष जति भयो नमालुम कहाँ छ हामीलाई थाहा छैन भनी ०२५।७।२४।७ मा पाल्पा जिल्ला अदालतबाट ०२५।८।२४ को पत्र बमोजिम यस अदालतमा प्राप्त भएको र निजको थाकखोला मार्फा घर हुने भनी मिसिलबाट देखिएको मार्फा गाउँमा म्याद जारी गरी पठाउँदा मार्फा गाउँमा इन्द्रबहादुर ज्यारचन पत्ता खवर नहुँदा थाहा छैन भनी मुस्ताङ जिल्ला अदालतबाट बेपत्ता भई ०२५।१०।७।२ मा लेखी पठाएको र प्रतिवादी भोलाकुमारलाई सनाखत गराउन सम्बन्धित व्यक्तिहरु फेला नपरी वेपत्ते भई म्याद तामेल भई आएको र सो बिना सनाखत गराउन नमिल्ने हुँदा सम्बन्धित मिसिल यसै साथ राखी पठाई अनुरोध गर्छु भन्ने समेत चितवन जिल्ला अदालतको जबाफ ।
१२. बन्दी–प्रत्यक्षीकरणको निवेदनपत्र परेमा साक्षी प्रमाण बुझ्न सकिने नियमावलीको नियम ५२ मा व्यवस्था भएकोले आवश्यक परेमा तथ्यको समेत छानवीन गरी उचित आदेश दिन मिल्न नै देखिन्छ । तसर्थ यस निवेदनपत्रले तथ्यको विवाद उत्पन्न गरेको र यो रिटको निवेदनपत्रको बाहिरको बिषय हुन आएको छ भन्ने विद्वान सरकारी अधिवक्ताको बहस जिकिरसंग म सहमत हुन सकिंन । नेपालको संविधानको भाग ३ द्वारा प्रदत्त हकको प्रचलनका लागि धारा १६ धारा ७१ अनुसार कारवाई चलाउन सर्वोच्च अदालत नियमावली, ०२१ को परिच्छेद ५ मा निवेदनपत्र दिने लिने बिषय उल्लेख भएको त्यस्तो प्रत्येक निवेदनपत्र नियम ४५ अनुसार डिभिजन बेञ्चबाट हेरिने निवेदनपत्रको दस्तुर नियम ४६ अनुसार लिइनेमा बन्दी–प्रत्यक्षीकरणको लागि दिइने निवेदनपत्रमा कुनै पनि दस्तुर नलाग्ने र सो धारा अन्तर्गतको अरु निवेदनपत्रहरुमा पचास रुपैयाँ दस्तुर लाग्ने नियम ४७ को उपनियम (१) अनुसार बन्दी–प्रत्यक्षीकरणको आदेशको लागि लिइने निवेदनपत्रहरुमा कुनै किसिमसंग र कुन अवस्थामा बन्दी गरिएको हो सो सबै व्यहोरा खोली बन्दी गरिएको व्यक्तिको सहीछाप परेको हुनुपर्ने, बन्दी गरिएको व्यक्ति सहीछाप गर्न नसक्ने अवस्थामा भए निजको नातेदार अन्य कुनै व्यक्तिले पनि त्यस्तो निवेदनपत्रमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण पनि उल्लेख भएको हुनुपर्ने उपनियम (२) अनुसार यस प्रकारको निवेदन कुनै जिल्ला अदालतमा दिएको छ, छैन र दिएको भए त्यस्तो नतिजा समेत निवेदनपत्रमा स्पष्ट तवरले लेख्नु पर्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत रिट निवेदनपत्रको प्रकरण (६) मा छोरालाई कैद म्याद ठेकी खान दिई झेलखानामा राखेको हुनाले निजका नामबाट दिन परिस्थिति नपरेकोले निजका हकमा निवेदन गर्न आएको छु भनी कैदी भोलाकुमार शेरचनका हकमा बाबु हर्षबहादुर शेरचनको निवेदन परेको देखियो । उक्त नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांशले निर्देश गरे अनुसार बन्दीले सहीछाप गर्न नसक्नाको कारण निवेदनपत्रमा उल्लेख गरेको पाइन्छ । नियमले बाध्यात्मक रुपबाट निर्देश गरेको शर्त यदि कुनै निवेदनपत्रले पूरा गर्दैन र त्यस्तो निवेदनपत्रउपर यस अदालतले विचार गर्छ भने आफूले बनाएको नियम विरुद्ध आचरण गर्न प्रोत्साहित गरेको हुन जान्छ जो अवाञ्छनीय हो । री.पु.नं. १४ निवेदक रामप्रसाद पोखरेल विपक्षी सहायक अञ्चलाधीश भद्रपुर झापाको केशमा ०२५।१०।२२ मा निर्णय गर्दा म समेतको फुल बेञ्चबाट नियम ४७ को रीत पुगेको बन्दी–प्रत्यक्षीकरणको निवेदनपत्र हुनुपर्छ भन्ने व्यक्त भइसकेकोले समेत बेरीतको निवेदनपत्रबाट विचार गर्न नमिल्ने समेत हुँदा प्रस्तुत रिटको निवेदनपत्र खोरज हुने ठर्हछ भन्ने माननीय न्यायाधीश श्री वाशुदेव शर्माको राय, र
१३. कुलबहादुर राणा मगर, सिखाराम थारु समेतले पोलेको चपटेको नाति आरथरेको छोरा थाकखोला घर भई लामाचौर बस्ने भोला थकालीका नाममा गैंडा चोरी मुद्दामा समन म्याद तामेल गर्न पोखरा डिभिजन अफीसमा पठाएकोमा तपाईले पठाएको म्यादमा थकाली भन्नेसम्म लेखिएको थर वतन नखुलेको हुँदा म्याद तामेल गर्न बाधा पर्यो, जसमा थकालीहरुको थर यो किसिमको हुँदारहेछन् शरेचन, तुलाचन, गौचन र भट्टचन समेत भएको, क–कस्को कुन थर रहेछ पोलाहाबाट खुलाई पठाई दिनु होला भनी पोखरा डिभिजन अफीसबाट चितवन डिभिजन अफीसमा लेखी पठाएको र चितवन डिभिजनको मिति ०१७।८।१०।६ को पत्र अनुसार वीरगञ्ज जेल अफीसबाट ०१७।८।१७।६ मा ति थुनिएका कुलबहादुर समेतका व्यक्तिहरु बुझिंदा हाम्रो गाउँ नजिकको मानिस नभई नमालुम कहाँ बस्ने हुन निजहरुसंग जान पहिचान र निजहरुलाई कुनै मौका टायममा पनि नचिनेको मानिस भएको बयान लिने अड्डाले निजहरुलाई पोल्नु पर्छ भनी हामीलाई मारपिट गर्न सम्म गरी मारपिटको चोट वेदना सहन नसकी नमालुम के कस्तो कागज लेखी सहीछाप गरेका हुँ नचिनेको हुनाले निजहरुको वतन र नाम थर समेत केही लेखाउन सक्तिन भन्ने लेखिएकोबाट पोलिएका भोला थकाली समेतका व्यक्तिहरुको वतन एकीन हुन सकेको नदेखिए पनि आखिर प. ३ नं. लामाचौर थाक टुकुचेमा समन तामेल गर्दा पनि भोला थकाली भन्ने व्यक्तिको गाउँ घर समेत पत्ता नभएको भनी ०१९।५।२३।७ को तामेलीमा जनिएको त्यसपछि ०२४।२।७।१ मा चितवन जिल्ला अदालतको फैसलाबाट पोलिए मध्येका भोला थकालीलाई समेत दोषी ठहराई जरिवाना बिगो गरी जम्मा २८,४००। को सजायको लगत कसिएको रहेछ, वादी श्री ५ को सरकार भएको गैंडा चोरी मुद्दामा गैंडा चोरीको अभियोगमा भोला थकालीलाई हराई ०२४।२।७ मा वा सो अघिपछि त्यहाँबाट फैसला भएको छ छैन भए निज भोला थकालीलाई कुन सजायको के कति भएको छ र सो असुलउपर भएको छ छैन सो समेत खुलाई आजै उत्तर पठाई दिनु हुन आग्रह गरिन्छ भनी श्री ५ को सरकारवाला मे.डि. कार्यालयबाट मिति ०२४।३।१८।१ मा चितवन जिल्ला अदालतलाई सोधी पठाएकोमा भोला थकालीलाई जरिवाना र बिगो गरी जम्मा रु.२८,४००। मिति ०२०।२।७।१ को फैसलाले लागेको सूचित गर्दछु भनी ०२४।३।१९।२ मा जबाफ दिएको र श्री ५ को सरकार वादीको गैंडा चारी मुद्दामा ०२४।२।७ का फैसलाले निज भोला थकालीलाई जरिवाना बिगो समेत २८,४००। लागेको भन्ने ०२४।३।१९ को पत्रबाट देखिँदा सरकारी बाँकीवाला भोला थकालीलाई सुरक्षित साथ बुझाउन पठाएका छौं, निजबाट असूलउपर गर्नुपर्ने बिगो जरिवाना रुल नियमबमोजिम हुन अनुरोध गरिन्छ भनी श्री ५ को सरकारवाला मे.डि. कार्यालयबाट ०२४।३।१९।२ मा चितवन जिल्ला अदालतमा लेखी पठाई भोला थकाली भनी पक्राउ गरी थुनामा राखी ०२४।३।१९।२ मा थुनुवा पुर्जी समेत दिएकोले हाल थुनुवामा रहेको मेरो छोराको नाम भोला थकाली होइन र निजको नाम भोलाकुमार शेरचन हो । छोरालाई कैद म्याद ठेकी खान दिई झेलखानामा राखेको हुनाले निजको नामबाट दिन परिस्थिति नपरेकोले निजको हकमा बन्दी–प्रत्यक्षीकरणको रिट निवेदन गर्न आएको छु, गैरकानूनी बन्दीबाट छुटकारा गराई पाउँ भन्ने निजको बाबु हर्षबहादुरको निवेदन परी भोला थकाली र भोलाकुमार शेरचन एउटै वा बेग्लै मानिस के हो निज प. ३ नं. लामाचौर बस्ने वा थाकखोला कहाँ बस्ने हो सरजमिन बुझ्नेबारे भएको आदेश बमोजिम निजको हाल दुवै ठाउँमा घरद्वार नभएको भन्ने लेखिएको र स्याङ्गजा पुतलीखेतमा बुझ्दा भोला थकाली भन्ने मानिस हामीले चिने जानेका छैनौं भन्ने ०२४।९।५।४ मा मुचुल्का आएको देखियो । भोला थकाली वा भोलाकुमार शेरचन के हो भन्नेतर्फ हेर्दा भोला थकाली भन्नेको यकीन वतन पोल्नेहरुले नै खोलाउन नसकेको मात्र होइन सो व्यक्तिको घरद्वारै नभएको भन्ने तामेलीबाट देखिने हालको भोलाकुमार शेरचनको घर पुतलीखेत स्याङ्गजा भएको र बाबु बाजेको नाम इत्यादी पनि मिलेको हुँदा निवेदकको परिचय निवेदन बमोजिम यकीन हुन आएकोले घरद्वारको ठेगाना नलागेको भोला थकाली जसलाई सजाय भइराखेको छ, यदि भोलाकुमार शेरचन नै हो अर्थात भोला थकाली भन्ने र भोलाकुमार शेरचन एउटै व्यक्ति हो भन्न मिल्ने आधार केही देखिंदैन । निवेदनमा राम्रो खुलाएर नलेखी बन्दीको सहीछाप गराउने परिस्थिति नपरेको भन्नेसम्म लेखी दिएको निवेदनबाट कारवाई गरिनु हुन्न । स.अ. नियमावलीको नियम ४७ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नभई कारवाही गरिनु हुन्न भन्ने विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाको बहस थियो । बन्दी–प्रत्यक्षीकरण जस्तो निवेदनमा सानो तिनो अनियमितताले कारवाई नगर्ने भन्दा असाधारण अधिकारक्षेत्रको राम्रो प्रयोग भए जस्तो नहुने देखिनाले त्यतिकैबाट निवेदन खारेज गर्न विद्वान अधिवक्तासंग सहमत हुन सकिंन । अतः माथि लेखिएका कारण प्रमाणबाट भोलाकुमार शेरचनलाई बन्दी–प्रत्यक्षीकरणको आदेशद्वारा मुक्त गरी दिनुपर्ने ठहर्छ, बेरीतको निवेदनबाट विचार गर्न नमिल्ने हुँदा रिट खारेज हुन्छ भन्ने सहयोगी माननीय न्यायाधीश श्री वाशुदेवसंग मेरो राय सहमत नुहँदा निर्णयार्थ स.अ. नियमावली नियम ३३ (क) अनुसार प्रस्तुत केश फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश नयनबहादुरको राय भएको २०२५।११।१५।४ को डिभिजन बेञ्चको फैसला ।
१४. भोलाकुमार शेरचनको हकमा हर्षबहादुरले ०२४।४।१९ मा श्री ५ महाराजाधिराजका हजुरमा चढाएको क ३०४४ को निवेदनमा गंगाराम महत समेतले मेरो नाउँमा बाटो खुलाई पाउँ भन्ने मुद्दामा ०२३।४।१८ मा फिराद गरेकोले प्रतिउत्तर दिई चितवन अदालतको तारेखमा रहेको भन्ने समेत उल्लेख भएको देखिएकोले उक्त गंगाराम महत समेतको र भोलाकुमार शेरचनको उक्त बाटो खुलाई पाउँ भन्ने मुद्दाको मिसिल हेर्नु पर्ने भएको हुँदा सो मुद्दाको मिसिल चितवन जि.अ. समेत जहाँ छ झिकाउनु । भोलाकुमार शेरचन पक्राउ भई आएपछि कैद ठेकी पठाउनु भन्दा पहिले यो गैँडा चोरी मुद्दामा ०२४।२।७ को फैसलाले जरिवाना बिगो लागेको मानिस निज भोलाकुमार शेरचन नै हो भन्ने सम्बन्धमा के कस्तो कारवाही गरी यकीन भई निजलाई कैद ठेकिएको हो सो सबै प्रष्ट खुलाई त्यस बिषयमा गरेको कारवाईको मिसिल समेत पठाउनु भनी चितवन जिल्ला अदालतलाई लेखी पठाउनु । भोलाकुमार शेरचन जमानीमा छुटिरहेको देखिएकोले यस सम्बन्धमा जसको तर्फबाट बन्दी–प्रत्यक्षीकरणको माग गरिएको छ, निजैको के भनाई छ सो बुझ्न भोलाकुमार शेरचनलाई नै उपस्थित गराउनुु भनी तारेखमा रहेको निवेदक हर्षबहादुरलाई मनासिव माफिकको तारेख तोकिदिनु र उपस्थित हुन आएपछि पेश गर्नु भन्ने ०२६।२।८।३ को फुल बेञ्चबाट भएको आदेश ।
१५. यसमा तारेखमा रहेका निवेदक हर्कबहादुर र भोलाकुमार शेरचन रोहवरमा रही ०२६।५।३१।३ मा पेश भई निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र विपक्षी तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडीयाले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा ०२५।११।१५।४ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको राय नमिलेको बिषय र विद्वान अधिवक्ताहरुको बहस जिकिर समेतबाट खास गरी निम्न प्रश्नहरुउपर यसबेञ्चको ध्यान जानु पर्ने देखिएको छ :
(१) प्रस्तुत रिटको निवेदनपत्र सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७ (क) को प्रतिबन्धात्मक वाक्यांश अनुसार रीत पुगेको छ छैन ?
(२) भोला थकाली र भोलाकुमार शेरचन भन्ने मानिस एकै हो होइन ?
(३) निवेदकको माग बमोजिम बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ?
१६. सर्वप्रथम पहिलो प्रश्नको हकमा प्रस्तुत निवेदनपत्रमा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांश अनुसार बन्दीले सहीछाप गर्न नसक्नाको कारण नखुलेको बेरीतको निवेदनबाट कारवाई गर्न नमिल्ने भन्ने ०२५।११।१५।४ को डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री वाशुदेव शर्मले राय व्यक्त गर्नुभएको रहेछ । अरुका माध्यमबाट दिइने निवेदनपत्रमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण खुलाउनै पर्ने उक्त नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांशले बाध्यता गरेको छ, सो नखुलेको बेरीतको निवेदनबाट कारवाई गर्न नमिल्ने हुँदा प्रस्तुत रिटको निवदन खारेज हुनु पर्छ भन्ने विद्वान सरकारी अधिवक्ताको मुख्य बहस जिकिर थियो । जहाँसम्म उक्त नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांशमा अरुले निवेदनपत्र दिंदा त्यस्तो निवेदनपत्रमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण पनि उल्लेख हुनु पर्छ भन्ने व्यवस्था छ, सो अनुसार बाबुको नामबाट प्रस्तुत निवेदनपत्र दर्ता गर्दा बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने निवेदनमा परेकैले उक्त नियमको मनसाय पुरा भएको मानी कारवाई चली सकेको र भोलाकुमार शेरचनालाई उपस्थित गराउने ०२६।२।७।३ को फुल बेञ्चबाट आदेश भई उपस्थित गराइएको निज भोलाकुमार शेरचन भन्नेलाई यसबेञ्चबाट सोधनी गर्दा म जेलमा बन्दी भइरहेको म आफैंले सहीछाप गरी निवेदनपत्र दिन परिस्थिति नपरेकोले मेरो बाबुबाट निवेदन दिन लगाएको हुँ भनी बेञ्च समक्ष अनुरोध गरेको समेत यस स्थितिमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण नखुलेको बेरीत भनी प्रस्तुत निवेदनपत्र खारेज गरी दिनु मनासिव देखिएन ।
१७. दोश्रो प्रश्नको हकमा गैंडा चोरी मारे भन्ने मुद्दामा पोल गर्ने शिवराजको बयानमा थाकखोला घर भई पोखरा बस्ने चेपटेको नाती भोला थकाली भन्ने र सिखारामको बयानमा पोखरातर्फबाट आएको भोला थकाली भन्ने र इन्द्रबहादुरको बयानमा प ४ नं. स्याङ्गजा पुतलीखेत बस्ने आरथारे भन्ने थकालीको छोरो पद्मे थकालीको भाइ प.३ नं. पोखरा लामा चौतारा बस्ने भोला थकाली भन्ने उल्लेख गरेको देखियो । पहिले पोखराको वतनमा जारी भएको समाव्हान तामेल गर्न पठाएकोमा थकालीहरुको थर शेरचन, तुलाचन, गौचन, भट्टचन हुँदोरहेछ, कुन थर हो खुलाई पठाई दिनु भनी पोखरा डिभिजन अफीसले फिर्ता पठाई दिएकोबाट तत्सम्बन्धमा पोल गर्ने व्यक्तिहरुलाई बुझ्न पोखरा डिभिजन अफीसबाट वीरगन्ज जेल अफीसलाई लेखी पठाएको पनि रहेछ, तर उक्त जेल अफीसले कागज गराउँदा नमालुम कहाँ बस्ने हो कुनै मौका टायममा पनि नचिनेको मानिस भएको बयान लिने अड्डाले मारपीट गरी नमालुम के कस्तो कागज लेखी सहीछाप गराएका छन् नचिनेको हुनाले नाम थर वतन केही लेखाउन सक्दैनौं, थाहा छैन भन्ने समेत सिखाराम, इन्द्रबहादुरहरुले ०१७।८।१७।६ मा कागज गरी दिएको पाइन्छ । पहिले पोखराको वतनमा जारी भएको समाव्हान तामेल हुन जाँदा भोला भन्ने थकालीको नाउँ थर वतन पत्ता लगाउन नसकेकोले सबैले देख्ने प ३ नं. गोश्वारा अड्डाको ढोका बाहिर भित्तामा टाँसी दिएको र पछि थाकखोलाको वतनमा अर्को समाव्हान जारी भई तामेल हुन गएकोमा भोला थकालीको गाउँ घर समेत पत्ता नभएको हुँदा सबैले देख्ने टुकचे धोम्बा चौतारामा टाँसी तामेल भएको त्यतिकैबाट निज भोला थकालीलाई सजाय तोकी चितवन जिल्ला अदालतले ०२४।२।७।१ मा फैसला गरेको समेत देखिन्छ । उक्त उल्लेख भए बमोजिम मुख्य पोल गर्ने व्यक्तिहरुले नै निज भोला थकाली भन्नेको यकिन वतन र थर समेत खुलाउन नसकी समाव्हान तामेल हुँदा मानिस घरद्वार पत्ता नलागेको भनी तामेल भएको समेत भई उक्त गैँडा चोरी मारे भन्ने मुद्दाको मिसिलबाट भोला थकाली भन्ने मानिस यही हो भनी यकिन गर्न सकिने परिचयात्मक कुनै ठोस आधार पाउन सकिएन ।
१८. इन्द्रबहादुरको पोलमा प ४ नं. स्याङ्गजा पुतलीखेत बस्ने आरथारे भन्ने थकालीको छोरा पद्मे थकालीको भाइ प. ३ नं. पोखरा लेखिएको सो प ४ नं. स्याङ्गजा चौतारा समेतमा सरजमिन बुझ्न ०२४।८।१३।४ को डिभिजन बेञ्चमा आदेशबमोजिम लेखी गएकोमा आरथारे थकालीको पुतलीखेतमा अघि र अहिलेसम्म घरबार छैन, भोला थकाली भन्ने मानिस हामीले चिने जानेका छैनौं । हर्षबहादुर शेरचन टुकुचे घर भई पछि यस पुतलीखेत बजारमा बसोबास गरेका थिए, निजका २ छोरा छन् । “प्रेमकुमार शेरचन र भोलाकुमार शेरचन,” भन्ने समेत प. ४ नं. स्याङ्गजा पुतलीखेतका मानिसहरुको र थाकखोला घर भई प. ४ नं. पुतलीखेत बस्ने आरथारे भन्ने थकालीको छोरा पद्मे थकालीको भाइ भोला थकाली भन्ने अघि र हाल समेत पोखरा लामा चौतारामा बसी आएको थाहा छैन भन्ने समेत प. ३ नं. पोखरा लामा चौतारा समेतका मानिसको सरजमिन मुचुल्का भई आएको र भोला थकाली भन्ने मानिस यो हो होइन पोल गर्ने मानिसलाई देखाई सनाखत गराई पठाई दिनु भनी ०२४।१२।१३।३ को डिभिजन बेञ्चको आदेश बमोजिम लेखी गएकोमा शिवराज भन्ने मरिसकेको सिखाराम इन्द्रबहादुरको वतन लेखिएको ठाउँमा घरद्वार मानिस नभएको भनी म्याद तामेल भई आएकोले सनाखत गराउन नमिलेको भनी चितवन जिल्ला अदालतले जबाफ पठाएको समेत देखियो । पोल गर्ने मध्ये इन्द्रबहादुरको बयानमा अरथारे भन्नेको छोरा भोला थकाली भन्ने लेखिएको र हालको भोलाकुमार शेरचन भन्ने हर्षबहादुर शेरचनको छोरा हो भन्ने कुरा हाल बुझिएका सरजमिनबाट देखिन आएको भई मुख्य बाबुकै नाम मिल्न नआएको समेत यस मिसिलमा बुझिएसम्मको प्रमाणबाट पनि गैंडा चोरी मारे भन्ने मुद्दामा सजाय लागेको भोला थकाली भन्ने र हाल पक्राउ गरेको भोलाकुमार शेरचन भन्ने मानिस एकै हो भन्ने कुरा समर्थित हुन आएन ।
१९. अतः तेश्रो प्रश्नको हकमा उपरोक्त प्रकरणहरुमा उल्लेख भए बमोजिम प्रथमतः पहिले मुद्दा चल्दैको अवस्थामा भोला थकाली भन्ने मानिस फलानो हो भन्ने सनाखत हुन नसकेको र हाल बुझिएसम्मबाट पनि सजाय लागेको भोला थकाली भन्ने मानिस यै भोलाकुमार शेरचन हो भन्ने प्रमाणित हुन आएन । सजाय लागेको भोला थकाली नै पक्राउमा परेको भोलाकुमार शेरचन हो भनी झुक्यानमा परेको विश्वासबाट पक्राउमा परेको देखिएकोले भोला थकाली भन्नेलाई लागेको सजाय वापतमा भोलाकुमार शेरचन भन्नेलाई बन्दी बनाई राख्न नमिल्ने समेत हुँदा निज भोलाकुमार शेरचनलाई बन्दी–प्रत्यक्षीकरणको आदेशद्वारा मुक्त गरी दिने ठहराई ०२५।११।१५।४ को डिभिजन बेञ्चमा माननीय न्यायाधीश श्री नयनबहादुर खत्रीले व्यक्त गर्नुभएको राय मनासिव छ । यो आदेशको प्रतिलिपी लगत रहेको विपक्षी चितवन जिल्ला अदालतमा पठाउन श्री महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम मिसिल बुझाई दिनु ।
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह, न्यायाधीश श्री प्रकाशबहादुर, न्यायाधीश श्री बब्बरप्रसाद र न्यायाधीश श्री हेरम्बराज
उपरोक्त ठहरमा हामीहरुको सहमती छ ।
इति सम्वत् २०२६ साल आश्विन १० गते रोज ६ शुभम् ।