June 2, 1972
Created by nepalarchives

निर्णय नं. ६८९ – जग्गा दर्ता

निर्णय नं. ६८९       ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर...

निर्णय नं. ६८९       ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिहंह

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री जयदेव भट्ट

सम्वत् २०२६ सालको दे.फु.नं. ७२

फैसला भएको मिति २०२९।२।२०।६

निवेदक   : प.३ नं.बन्दीपुर हिलेखर्क बस्ने मु.मेहरसिहं गुरुङसमेत

विरुद्ध

विपक्षी    : ऐ. बस्ने श्रीलाल गुरुङसमेत

मुद्दा : जग्गा दर्ता

(१)  मरिसकेको मानिसको कीर्ते वारेसनामा खडा गरी दाखिल गरेको भए त्यसतर्फ छुट्टै नालिस गर्नुपर्ने, परिरहेको मुद्दाबाट विचार गर्न नमिल्ने ।

          प्रस्तुत मुद्दामा मुद्दा दोहर्‍याउने भनिएका विपक्षीहरू मध्ये मरिसकेका मानिस ११ जनाको कीर्ते वारेसनामा खडा गरी झुट्टा व्यहोराबाट मुद्दा चलाएको हुँदा त्यसतर्फ कारवाहीमा मुद्दा दोहर्‍याई हेर्न नमिल्ने निर्णय हुनुपर्छ भन्ने वादीतर्फका विद्वान अधिवक्ताले आफ्नो वहसमा प्रारम्भिक आपत्ति व्यक्त गर्नुभएको हकमा त्यस किसिम मरिसकेका मानिसको कीर्ते वारेसनामा खडा गरी दाखिल गरेको समेत भए त्यसतर्फ कानूनबमोजिम छुट्टै नालिस गर्नुपर्ने कुरामा यस मुद्दाबाट विचार गर्न नमिल्ने र एकैजना मात्र निवेदक भए पनि बक्स भएका हुकूम प्रमांगीबमोजिम दोहर्‍याई हेरी निर्णय दिनुपर्ने स्थितिको मुद्दा हुँदा झगडा परेको जग्गा प्रतिवादीहरूका जिकिरबमोजिम साविकमा पाखा तिरो दर्ता भएको किल्लाभित्र पर्छ पर्दैन ? सो जग्गा वादीहरूका नाममा दर्ता हुन सक्ने नसक्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

(प्रकरण नं. १५)

(२)  वादी दावीभन्दा बढी कुराको निर्णय दिन नमिल्ने ।

          माथि उल्लेख गरिएअनुसार साविक यो यति तिराको पाखामा खेत बिराएको दर्ता गरिपाउँ भनी वादीहरूले दर्खास्त दिएको र सोहीअनुसार नालिसमा दावी लिएको समेत नभई वैलानी पर्तिमा खेत दर्ता गरिपाउँ भन्ने दर्खास्त परेको र वैलानी पर्ति जग्गा हुनाले खेत दर्ता भएको सदर कायम गरिपाउँ भन्ने नालिस दावी लिएको समेत यस्तो कुरामा वैलानी पर्ति भन्ने वादी दावी झुट्टा देखिन आएपछि वादी दावी नै नभएको साविक दर्ता आवादी पाखोमा खेत बिराएको कायम गरी वादीहरूका नाममा दर्ता गरिदिने भनी वादी दावीभन्दा बढी कुराको निर्णय दिन नमिल्ने र एउटाको दर्खास्त परेको जग्गा दर्खास्तवाला आफूले दर्ता आवाद गर्न मञ्जुर नगरी छाडेपछि अरुका नाममा दर्ता हवस् भनी आफ्नो हकै पुगी नसकेको जग्गा अरुलाई हक छाडिदिन पाउने र दर्खास्तवाला बाट त्यसरी पाउने व्यक्तिहरूका नाममा दर्ता हुनसक्ने कानूनी व्यवस्था नभएको, मुख्य कुरा वादीहरूसमेत २३ जनाको नाममा पाखापट्टि सामुहिक हक दर्ता भइराखेको जग्गामा बण्डा नछुट्याएको भएपछि सो दर्ता किल्लाभित्रको सबै जग्गामा सवैको सामुहिक हक कायम रहने, दर्तावाला मध्ये केही व्यक्तिले मात्र आफूखुसी कुनै जग्गा आफ्नो नाममा खेत दर्ता गराउन पनि नपाउने समेत हुनाले तत्काल प्रचलित जग्गा विराउनेको ५ नं.को आधार समेतबाट झगडा परेको जग्गा वादीहरुको नाममा खेततर्फ दर्ता हुन सक्ने देखिँन आउँदैन ।

 (प्रकरण नं. २१)

निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती

विपक्षी तर्फबाट : अधिवक्ता इच्छाहर्ष

उल्लिखित मुद्दा :    

फैसला

          प्र.न्या. रत्नबहादुर बिष्ट

          १.   पूर्व वतासे खोला पश्चिम तामे पँधेरा उत्तर यांक्रा दोभान दक्षिण बोक्से ढुंगा यति ४ किल्लाभित्रको पर्ति जग्गा खेत दर्ता गरिपाउँ भन्ने टेकबकादुर समेतले दर्खास्त गरी बन्दीपुर मालबाट ०११।३।४ मा डोरा आउँदा दर्खास्तवालाले दर्ता गराई माग्दैनौं पूर्ण गुरुङसमेत ४ जनाका नाउँमा दर्ता होस् भनी कागज गरेपछि हाम्रा नाउँमा धान मुरी १। घीउ रू.।३२ वा चा.रु. ।५ तिरो ठेकी नापजाँच गरी लगेपछि कीर्ते वारेसनामा खडा गरी मालमा हाम्रो ११।५० तिरोभित्रको जग्गा भनी छुट्टै भएकोले हाम्रो दर्ताको जग्गा सदर थामिपाउँ भन्नेसमेत श्रीलालसमेतको फिराद ।

          २.   म सुकुमवासी भएको हुँदा मेरो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत सु.बहादुरको र हिलेखर्क ताकमारे पाखोमा तिरो रू.११।५० लागि रणबहादुर समेतका नाउँमा दर्ता भए पनि दर्तामा नाउँ नलेखिएको अरु हामीसमेत गाउँलेको भागबण्डा लगाई जग्गा भोगचलन र तिरो दामासाही गरिआएको ९१ सालको दर्ताभित्रको जग्गालाई दर्ता गरेको हुँदा उजूर गरेका हौं कीर्ते वारेसनामा खडा गरी झुट्टा उजूर गरेको होइन भन्ने र दोहरा दर्ता गराएमा वादीहरूलाई नै सजाय गरिपाउँ भन्नेसमेत जुठे गुरुङसमेत ३२ जनाको र कीर्ते वारेसनामा नभई सद्दे साँचो नै भएको हुँदा झुट्टा दावीबाट फुर्सद गरिपाउँ भन्नेसमेत चेतनारायण समेतको प्रतिवादी ।

          ३.   बुझिएसम्मबाट कीर्ते वारेसनामा खडा गरेभन्नेतर्फ वारेस दिनेको उजूर बेगरको उजूरी हुँदा त्यसतर्फ खारेज हुने ठहर्छ । जग्गाका हकमा प्रतिवादीहरूका सीमाना भित्रको यो झगडा परेको जग्गा देखिन आएकोले पर्ति वादीहरूको साविक तिरोभित्रकै जग्गा ठहर्छ भन्नेसमेत बन्दीपुर अदालतको फैसला ।

          ४.   सो इन्साफमा चित्त बुझेन हाम्रो दर्ता सदर कायम गरिपाउँ भन्नेसमेत वादीहरूको पुनरावेदन ।

          ५.  वादीहरूको दर्ता गराएको जग्गा र प्रतिवादीहरूको पुरानो आवादी जग्गा कहाँकहाँ पर्ने रहेछ भनी शुरुबाट भइआएको नक्सा हेर्दा प्रतिवादीहरूको नाउँमा ९१ सालमा दर्ता भएको भनी बन्दीपुर मालबाट आएको दर्ताको ४ किल्लाभित्रमा उत्तरपट्टि वादीहरूको नयाँ आवादी जग्गा झगडा परेको भन्ने जनिएको देखिएको र सो नक्सामा प्रतिवादीहरूको पुरानो आवाद जग्गाको वादीको नाउँ खोली नलेखेको नक्सामा पनि प्रतिवादीहरूको पुरानो ९१ सालको दर्ता यहाँ यस ठाउँमा छ भनी लेखिएको नदेखिएको सो नक्सामा वादीहरूले मञ्जुर भई सही गरेपछि प्रतिवादीहरूकै पुरानो आवादी जग्गाभित्र वादीहरूले दर्ता गराएको रहेछ भन्ने देखिन आएबाट समेत इन्साफ शुरुको मनासिव ठहर्छ भन्नेसमेत ०१४।१०।१७ को अपील पहिला फाँटको फैसला ।

          ६.   सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीहरूको पुनरावेदन ।

          ७.  झगडा परेको जग्गामा धान कूत लागी खेत दर्ता भएको हाल आवादी मिसिलबाट देखिएको प्रतिवादीको साविक दर्ता भनेको जग्गा पाखा दर्ता भएको र रू.११।५० तिरोको नाताबाट सबै जग्गा खान खोजेको भन्ने देखिन आएकोबाट वादीहरूको हाल आवादीको जग्गालाई प्रतिवादीले ९१ सालको साविक दर्ताको भनी झुट्टा दावी गरेको ठहर्छ । वारिसनामा कीर्ते भन्नेतर्फ खारेज गरेको सुरु र अपीलको मनासिव भन्नेसमेत मध्यमाञ्चल उच्च अदालत सिंगल बेञ्चको ०१८।३।२३।६ को फैसला ।

          ८.   वादीहरूको हक पुग्ने ठहराई भएको फैसलामा चित्त बुझेन मुद्दा दोहर्‍याई इन्साफ जाँचीदिनु भन्ने सर्वोच्च अदालतका नाउँमा प्रमांगी पाउँ भन्नेसमेत प्रतिवादी मेहेरसिंह गुरुङसमेतको हकमा सुवे रुद्रबहादुर गुरुङले दिनुभएको विन्तिपत्रको व्यहोरा जाहेर हुँदा ०१७।०१८ सालमा छिनिएका राय नमिलेका जतिमा तपाईंलाई हेरी इन्साफ जाँची ऐनसवालबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको भनी माननीय प्रधान न्यायाधीशज्यूका नाउँमा मि.सु.मधुसुदनले राजदरवारबाट लेखी पठाउनुभएको ०१८।१।१३ को हुकूम प्रमांगीको व्यहोरा पेश हुँदा हामीहरूको ९१ सालको दर्ताको पाखो बन बुटेनभित्र त्यही जग्गा खेतमा दर्ता गराए पनि भोगचलन गरेको पनि छैन । निजहरूका दर्ताको भनेको जग्गा हाम्रै दर्ताका हुन र आजसम्म पाखा नै छ खेत भएको छैन दर्तासम्म गराएका रहेछन् । नक्सा सर्जमिन हुँदा धेरैले सन्धीसर्पन नै हो भनी लेखिदिएकोमा खालि दर्ता गराएका आधारले सिंगल बेञ्चबाट हामीलाई हराइदिए इलाका र जिल्ला अदालतसमेत तह तहबाट हामीले जिती पाएको विचार नगरी हराइदिए भनी निवेदन गरेकोले यो निवेदनको व्यहोरा साँचो हो र सन्धिसर्पन पर्ने रहेछ भन्ने हुकूम प्रमांगीबमोजिम दोहर्‍याई हेर्ने निस्सा दिएको छ । दर्ता गरी दुवैथरी राखी डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१९।२।१४ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

          ९.   ९१ सालको प्रतिवादीहरूको दर्तामा पूर्व नानी खसेको भिर दोभान खोला पश्चिम खहरे खोला डाँडा, उत्तर के वंपालको दोभान, दक्षिण खोलाको दोभान, समेत ४ किल्ला लेखिएको नक्सामा सो दर्ता किल्ला भिडाई हेर्दा हाल झगडा परेको जग्गा साविक दर्ताकै किल्लाभित्र परेको देखिएको र सोजग्गा प्रतिवादीहरूको प्रतिउत्तर लेखाइबाट गाउँ सबैले भागबण्डा लगाई भोगचलन गरी तिरो दामासाहीले तिरी गोश्वारा चलन गरी आएको भन्ने देखिनाले समेत इन्साफ शुरुको सदर गरेको अपील पहिलाको मनासिव छ मध्यमाञ्चल उच्च अदालतले केही गल्ती गरेको ठहर्छ भन्नेसमेत ०१९।११।१६ को सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

          १०.  हाल आवादी जग्गा नभए विपक्षीहरूले नै कायलनामा लेख्न नपर्ने सो कुरासमेत बुझ्दै नबुझी आठ वर्षको तिरो रैकरमा नम्बरी भइसकेको जग्गाबाट हामीले वञ्चित हुनुपर्ने गरी भएको फैसलामा चित्त बुझेन फुल बेञ्चबाट इन्साफ जाँचीदिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत वादी श्रीलाल गुरुङसमेतका हकमा हर्षबहादुर गुरुङ्गले दिनुभएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा १ पटक फुल बेञ्चबाट इन्साफ जाँची ऐनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभागबाट लेखिआएको ०२०।२।२१ को हुकूम प्रमांगी ।

          ११.  वादीहरूका नाउँमा खेत मुरी ।१६ दर्ता हुने गरी ११।३।४।६ मा नापी मुचुल्का भएको झगडा परेको न.नं.५१ को जग्गा निवेदक वादीहरूको दावी जिकिरबमोजिम निजहरूका नाउँमा दर्ता हुन सक्ने नसक्ने के हो भन्ने कुराको निर्णय गर्नुपर्ने देखिन्छ । सो जग्गा ९१ सालमै पाखातर्फ कोदाले रू.।५० का दरले हिलेखर्क समेतका रैती २३ जनाका नाउँमा रू.११।५० फटके दर्ता भई गाउँ सबैले बण्डा लगाई तिरो तिरी गोश्वारा चलन गरिआएको साविक दर्ता किल्लाभित्रैको भन्नेसमेत प्रतिवादीहरूको मुख्य जिकिर भएकोले सोअनुसार साविक दर्ता किल्लाभित्र पर्ने नपर्ने के रहेछ भन्नेतर्फ स्व.रु. ११।५० को दर्तामा लेखिएको पूर्व नानी खसेको भिर दोभान खोला, पश्चिम खहरे खोला डाँडा उत्तर केवनपालाको दोभान । दक्षिण खोलाको दोभानसमेत ४ किल्लाहरू नक्सामा भिडाई हेर्दा पूर्व किल्ला नानी खसेको भिर न.नं.३९ को पश्चिम किल्ला खहरे खोला न.नं.६५ को दक्षिण किल्ला खोलाको दोभान न.नं.१ को भन्ने कुरामा दुवै पक्षको मुख मिलेकै देखिएको र उत्तर किल्लाको केवनपालाको दोभान भन्ने न.नं.५४ को भनी प्रतिवादीहरूले देखाएकोलाई यो याक्रां दोभान हो न.नं.२ वनपालाको दोभान हो भनी वादीहरूले नक्सामा जिकिर लिएको भए पनि सो उत्तर किल्ला वादीको भनाइअनुसार कायम मानेमा त्यसबाट अरु ३ किल्ला विलकुलै अमिल्दो हुन गई किल्ला जग्गासमेत नभिड्ने हुनाले अरु ३ किल्लाको रुप समेतबाट सो उत्तर किल्लाको केवनरालाको दोभान न.नं.५४ भई मिल्न भिड्न आउँछ र झगडा परेको जग्गा उक्त ४ किल्लाभित्रैमा पर्ने नक्साबाट देखिन्छ । अब सो जग्गा वादीहरूका नाममा दर्ता हुन सक्ने नसक्ने के हो भन्नेतर्फ विचार गरेमा निवेदक वादीहरूको दावी जिकिरबमोमिज साविक दर्ता बाहेकको वैरानी देखिन नआए पनि वादीहरू बीचका उनाउ मानिस नभई वादीहरू समेत २३ जनाको नाउँमा कोदाले रू.।५० दरले सो रू.११।५० फड्के दर्ता भई रहेको सो दर्तावाला मध्येकै मानिस हुन भन्ने कुरा दुवै पक्षको लेखाइसमेतबाट देखिन आएको र अर्काको हक लाग्ने जग्गामा केही व्यहोरासँग बाँझोसमेत भनी विराउन आवाद गर्न नपाउने र आवादी तिरोभरोको पाखामा खेत विराएकोमा ०४ सालमा माफि दीई पाँचौ सालदेखि तिरो लिने गरी दर्ता गरी दिन हुनेसमेत उसबखत प्रचलित जग्गा विराउनेको ५ नं.मा व्यवस्था भइरहेकै कुरा हुनाले समेत अर्काको मात्र हक लाग्ने नभई आफूसमेतका नाउँमा दर्ता भएको आफ्नो समेत हक लाग्ने सो रू.११।५० दर्ता तिरो मध्येकै केही पाखामा दर्तावाला मध्येकै मानिस वादीहरूले खेत विराई खान नपाउने अवस्था देखिन नआएको हुँदा वादीहरूका नाममा खेततर्फ दर्ता हुन नसक्ने भन्न मिल्ने देखिएन । सो रू.११।५० दर्तामध्ये वादीहरूको हक हिस्साको जग्गा कति हो भन्नेतर्फ जग्गा घटिबढी भन्ने कुरामा झगडा चलिआएको प्रस्तुत मुद्दा नहुनाले विचार गरिरहनु नपरी ९१ सालमै वादीहरू समेतका नाममा रू.११।५० पाखातर्फ फटकेको दाले दर्ता भइरहेको र सोही पाखा दर्तामध्येको जग्गामा खेत मुरी ।१६। वादीहरूका नाउँमा दर्ता हुने गरी ११।३।४।६ मा नापी मुचुल्का भएको देखिएकोले समेत सोजग्गा वादीहरूका नाममा खेत दर्ता हुने ठहराएतर्फ इन्साफ ०१८।३।२३।६ को मध्यमाञ्चल उच्च अदालत सिंगल बेञ्चको मनासिव ठहर्छ । साविक दर्ताबाहेकको हाल आवादी ठहराएतर्फ मध्यमाञ्चल उच्च अदालत सिंगल बेञ्चको र वादीहरूका नाममा दर्ता हुन नसक्ने ठहराएतर्फ बन्दीपुर अदालत, अपील पहिला तथा सर्वोच्च अदालत डिभिजन बेञ्च समेतको इन्साफ मिलेको देखिएन भन्ने ०२२।३।१।३ को फुल बेञ्चको फैसला ।

          १२.  मु.मेहरसिहं गुरुङ्ग समेतको हकमा सुवे.रुद्रबहादुर गुरुङ्गले चढाएको निवदेनपत्र श्री ५ महाराजाधिराजका हजूरमा जाहेर हुँदा यसमा सर्वोच्च अदालत फुल बेञ्चको निर्णय हेर्दा झगडा परेको जग्गा रू.११।५० दर्ताको किल्लाभित्रै परेको नक्साबाट देखिन्छ । दर्ता हुन सक्ने नसक्नेतर्फ साविक दर्ताबाहेकको वैरानी देखिन नआए पनि वादीहरूबीचका उनाउ मानिस नभई वादीसमेत २३ जनाका नाउँमा रू.।५० का दरले रू.११।५० दर्ता भइरहेको र आवादी तिरोभरोको पाखामा खेत विराएकोमा दर्ता गरिदिन हुने उसबखत प्रचलित जग्गा विराउनेको ५ नं.मा व्यवस्था हुनाले आफ्नो समेत हक लाग्ने रू.११।५० मध्येकै केही पाखामा दर्तावाला मध्येकै वादीहरूले खेत विराई खान नपाउने अवस्था नदेखिएकोले दर्ता हुन नसक्ने भन्न मिल्ने देखिएन । रू.११।५० मध्ये वादीहरूको हिस्सा कति हो भन्नेतर्फ घटीबढी भन्ने कुरामा झगडा चलिआएको प्रस्तुत मुद्दा नहुनाले यसतर्फ विचार गरिरहनु नपर्ने भन्ने ठहर गरेको सो ठहरबाट झगडा परेको जग्गा दर्ता किल्लाभित्र परेकोमा वादीहरूको निवेदन पर्न नआएकोले त्यसबाट र नक्साको रुप अवस्था किल्लाबाट समेत किल्ला बाहिर रहेछ कि भन्ने शंका गरिरहन परेन । वादीहरूका नाउँमा खेतमा दर्ता हुन सक्ने भन्ने कुरामा जुन जग्गा बिराउनेको ऐनको ५ नं.को आधार लिई आवादी पाखोलाई खेत बिराई खान पाउने भनेको छ सोअनुसार आवादी पाखो जग्गालाई खेत बिराइखान पाउँ भनी दरखास्त दिएको नभई कसैको सन्धिसर्पन नपर्ने पर्ति वैरानी जग्गा हाम्रा नाउँमा खेतमा दर्ता गरिपाउँ भनी बेग्लै मानिस सुखबहादुर टेकबहादुको दरखास्त परेको र निजहरूले नै यो जग्गा वादीहरूका नाउँमा दर्ता भएमा हाम्रो मञ्जुर छ हामी दर्ता गराई माग्दैनौं भनी मञ्जुरी कागज लेखिदिएअनुसार वादीहरूका नाउँमा नापाजाँच दर्ता गर्ने कारवाही गरेको देखिएको, सो कारवाईबाट हाल आवादीमा दरखास्त दिने टेकबहादुर सुखबहादुरले आफ्ना नाउँमा दर्ता गराउने कारवाई छाडेको भन्नुपर्ने त्यस अवस्थामा निजहरूले अरुलाई दिएर दिइने कानून अनुकुल कारवाई भएको भन्ने पनि नदेखिने वादीका दावीमा पनि सोही नापी भएको जग्गा हाम्रो रू.११।५० तिरोभित्रको जग्गा हो भनी प्रतिवादी पक्षबाट उजूरी दरखास्त पर्दा तिरोभित्रको भन्ने र वैरानी भन्नेसमेत मिसिलबाट देखिएकोले हकबेहक गरी ल्याउनु भनी दर्तावालालाई सुनाई दिने भन्ने ०१२।१।१२ मा बन्दीपुर मालबाट पर्चा भई सोही पर्चाका म्यादभित्र हाम्रो नाउँमा दर्ता गरी ल्याएको जग्गा रू.११।५० तिरा भित्रको होइन । कीर्ते वारेसनामा समेत गरी उजूरी दरखास्त दिए दिलाएमा सजाय गरी हाम्रो दर्ता कायम गरिपाउँ भन्ने दावी देखिन आएकोले वादीले पाखा आवादी जग्गालाई खेत विराई राखेको दर्ता गरिपाउँ भनी भनेको देखिन आउँदैन । त्यस अवस्थाबाट सर्वोच्च अदालतको फैसलामा आफ्नो दर्ताको पाखोबारी जग्गालाई खेत विराई दर्ता गरिखान पाउने भन्ने अर्थ गरेको निराधार देखिन आएको जुन ११।५० को जग्गा पनि एकै व्यक्तिका नाममा दर्ता नदेखिई २३ जनाका नाउँमा रू.।५० का दरले फटके दर्ता भएको देखिएको र नक्साको रुप प्रकृति हेर्दा कहीँ जंगल कहीँ लोहसे खोरीया र कतै आवादी भन्ने देखिएको र त्यही सैजनाको दर्ता किल्ला एउटै भएको सो दर्ताभित्रकै आवादी पाखोभित्र ठाउँठाउँमा बस्ती र सोही लेखर्क ताकमारे जग्गाभित्र वादीहरू रही बसेको देखिन आएको यस्तो स्थितिको केशमा खुद वादीहरूले नै आफ्नो पुरानो दर्ताको जग्गा हो खेतमा दर्ता गराई पाउँ भन्न नसकी अर्काको दरर्खास्त सकारी पर्ति वैरानी जग्गा भनी उक्त उल्लिखित रू.११।५० तेइसजनाका नाउँमा सगोज किल्ला रही दर्ता भएका किल्ला भित्रको जग्गा हो अरुको मञ्जुरी बेगर कारवाई चलाएको कुरा कायम गरी खेतमा दर्ता गराउन पाउँछन् भन्ने र घटीबढी कुरामा झगडा चली आएको प्रस्तुत मुद्दा नहुनाले त्यसतर्फ विचार गरी रहन नपर्ने भन्ने ठहाराएको समेत ठहर निर्णय मिलेको नदेखिएकोले उपयुक्त बुँदाहरूको आधारमा यो मुद्दा पुनः एकपटक सर्वोच्च अदालत फुल बेञ्चले दोहर्‍याई हेरी दिनु भन्ने हुकूम बक्सेको भनी मौसुफका प्रमुख सचिवालय राजदरवारबाट ०२६।५।२८।६ मा लेखी आएको हुकूम प्रमांगी ।

          १३.  बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्न निमित्त लगत दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने तत्कालिन माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको ०२६।५।२३ को आदेश।

          १४.  डिभिजन बेञ्चको इन्साफ दोहर्‍याई पाउँ भनी मु.मेहरसिं गुरुङसमेत ७० जनाको वारेस भई आफ्नो हकमा समेत बिन्ति चढाउने भन्ने उल्लेख गरी सुवे.रुद्रबहादुर गुरुङले चढाएको निवेदनपत्रबाट न्यायिक समिति मार्फत उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएको र दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने तत्कालिन माननीय श्री प्र.न्या.ज्यूबाट आदेश भएको समेत रहेछ प्रतिवादी पक्ष निज मेहरसिं १ जनामात्र नभई निज समेतका ३४ जना भएको देखिन्छ तर सूचना दिँदा भने मेहरसिं १ जनामात्रलाई सूचना दिई झिकाई तारेखमा राखेको देखियो तसर्थ मुद्दामा प्रतिवादी भइराखेको अरु सबैलाई ७ दिने म्याद दिई झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२८।८।१०।६ को फुल बेञ्चको आदेश ।

          १५.  यसमा तारेखमा रहेका दुवैपक्षका वारेस रोहवरमा रही ०२९।२।१३।६ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती र विपक्षी वादी तर्फबाट विद्वान अधिवक्ता श्री इच्छाहर्षले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा मुद्दा दोहर्‍याउने भनिएका विपक्षीहरू मध्ये मरिसकेका मानिस ११ जनाको कीर्ते वारेसनामा खडा गरी झुट्टा व्यहोराबाट मुद्दा चलाएको हुँदा त्यसतर्फ कारवाहीमा मुद्दा दोहर्‍याई हेर्न नमिल्ने निर्णय हुनुपर्छ भन्ने वादीतर्फका विद्वान अधिवक्ताले आफ्नो वहसमा प्रारम्भिक आपत्ति व्यक्त गर्नुभएको हकमा त्यस किसिम मरिसकेका मानिसको कीर्ते वारेसनामा खडा गरी दाखिल गरेको समेत भए त्यसतर्फ कानूनबमोजिम छुट्टै नालिस गर्नुपर्ने कुरामा यस मुद्दाबाट विचार गर्न नमिल्ने र एकैजना मात्र निवेदक भए पनि बक्स भएका हुकूम प्रमांगीबमोजिम दोहर्‍याई हेरी निर्णय दिनुपर्ने स्थितिको मुद्दा हुँदा झगडा परेको जग्गा प्रतिवादीहरूका जिकिरबमोजिम साविकमा पाखा तिरो दर्ता भएको किल्लाभित्र पर्छ पर्दैन ? सो जग्गा वादीहरूका नाममा दर्ता हुन सक्ने नसक्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १६.  झगडा परेको जग्गा हामीहरूसमेतका नाममा पाखा तिरो दर्ता भएको सो दर्ताको ४ किल्लाभित्र पर्ने भन्ने प्रतिवादीहरूको मुख्य जिकिर भएकोमा मिसिल सामेल रहेको ९ सालको दर्ता उतार हेर्दा पूर्व नानीखरेको भीर दोभान खोला पश्चिम खहरे खोला डाँडा उत्तर केवनपालाको दोभान खोलाको दोभान यति ४ किल्लाभित्रको खर्क तकमारे भन्ने पाखा रणबहादुर पन्त क्षेत्रीसमेत २३ जनाका नाउँमा हिलेखर्कगाउँ तालुकमा रु. ५। का दरले तिरो रु. ११।५० सामुहिक दर्ता भइराखेको पाइन्छ ।

          १७.  सो दर्ताको जग्गा छुट्टै छ हाम्रो नाममा खेत दर्ता भएको वैरानी पर्ति हो भन्ने वादी पक्षको मुख्य जिकिर रहेछ सो दर्ताको उपरोक्त ४ किल्ला नक्सामा भिडाई हेर्दा पूर्व किल्ला नानी खसेको भिर न.नं.३९ को पश्चिम किल्ला खहरे खोला न.नं.६५ को दक्षिण किल्ला खोलाको दोभान न.नं.१ को हो भन्ने कुरामा दुवै पक्षको मुख मिली राखेकै देखियो उत्तर किल्ला कै वनपालाको दोभान न.नं.५४ को भन्ने प्रतिवादीहरू र न.नं २ को भन्ने वादीहरूको भनाई भई विवाद उठेको हकमा वादीले देखाएको न.नं.२ दक्षिण किल्ला खोलाको दोभान नगिच हाराहारीमा पर्ने भई त्यसलाई नै दर्ताको उत्तर किल्ला को वनपालेको दोभान मानेमा अरु ३ किल्ला एकदमै अमिल्दो हुन गई किल्ला जग्गासमेत मिल्न भिड्न नआउने र सो न.नं.२ मा दोभान भएको देखिन पनि नआएको प्रतिवादीले देखाएको न.नं.५४ मा र नं.४४ बहासे तायो भन्ने खोला न.नं.५३ विसंमली खोलाको दोभान समेत भई त्यसबाट अरु ३ किल्ला र जग्गासमेत मिल्न भिड्न आउने समेत हुनाले उत्तर किल्ला केवलपाल लामो दोभान प्रतिवादीहरूको भनाइअनुसार न.नं. ५४ कै रहेछ भनी मान्नुपर्ने हुन आएको छ त्यसबाट झगडा परेको जग्गा उपरोक्त दर्ताको ४ किल्ला भित्रै पर्ने भनी ०२२।३।१।३ को फुल बेञ्चले ठहराएकोमा वादीहरूले मुद्दा दोहर्‍याउन निवेदन समेत नदिई चित्त बुझाई बसेको हुँदा हाल बहसमा उक्त दर्ताको ४ किल्ला भित्र पर्दैन भन्नेसमेत तथाकथित जे जस्तो जिकिर लिए पनि सोकुरा नक्सासमेतबाट समर्थित हुँदैन ।

          १८.  अब रहृयो झगडा परेको जग्गा वादीहरूको नाममा खेत दर्ता हुन सक्ने नसक्ने के हो भन्ने कुराः यस प्रश्नमा ०२२।३।१।३ को फुल बेञ्चबाट झगडा परेको जग्गा वादी जिकिरबमोजिम साविक दर्ता बाहेको वैरानी देखिन नआए पनि वादीहरूसमेत पाखा दर्तावाला २३ जनामध्येकै मानिस हुन् भन्ने देखिन आएकोले त्यस्तो पाखा दर्तावालामध्येकै मानिस वादीहरूको नाममा खेततर्फ दर्ता हुन नसक्ने भन्न नमिल्ने भनी तत्काल प्रचलित जग्गा विराउनेको ५ नं.लाई आधार बनाई वादीहरूको नाममा खेत दर्ता हुने ठहराएको रहेछ ।

          १९.  २३ जना रैतीका नाममा रू.।५० दरले सामुहिक दर्ता भइराखेको पाखामा दर्तावाला सवैको भागबण्डा छुट्याई झगडा परेको जग्गा वादीहरूको भागबण्डामा पर्न आएको र हाम्रो भागबण्डामा पर्न आएको यो यति तिरोको साविक दर्ता आवादी पाखोमा खेत दर्ता गरिपाउँ भन्ने वादीहरूकै दर्खास्त परेको भए तत्काल प्रचलित जग्गा विराउनेको ५ नं.अनुसार वादीहरूको नाममा साविक दर्ताका यो यति तिरोको पाखामा खेत विराएको भन्ने जनाई खेततर्फ दर्ता हुन सक्ने पनि हो तर यहाँ त्यस किसिमसँग वादीहरूकै दरखास्त परेको समेत नभई यो यति ४ किल्लाभित्रको वैरानी पर्ति जग्गामा अं.खेत ।५ जति नापजाँच दर्ता गरिपाउँ भन्ने छुट्टै मानिस टेकबहादुर श्रेष्ठ सुखबहादुर श्रेष्ठ २ जनाको वन्दीपुर मालमा एउटै दर्खास्त परेकोमा डोर खट्टिई जाँदा सुखबहादुरको बाबु गणेशबहादुर श्रेष्ठ र टेकबहादुर श्रेष्ठ २ जनाले हामीहरूलाई सो जग्गामा खेत दर्ता गरी आवाद गर्न मनसुवा नभएको र पूर्णे गुरु श्री लालगुरु नरबहादुर गुरुङ रणबहादुर पन्त ४ जनाले हामी दर्ता गर्छौं भनेकाले निजहरूका नाममा दर्ता गरिदिएमा हाम्रो मञ्जुर छ भनी कागज गरिदिई सो जग्गा खेत आवाद लायककै भनी निजहरू ४ जनाको नाममा खेत मुरी ।१६ दर्ता हुने गरी नापजाँच दर्ता मुचुल्का भएगरेको देखिन्छ ।

          २०.  तत्काल प्रचलित पहाड मालका नाममा भएको सवालअनुसार वैरानी पर्ति जग्गा दर्ता गर्ने र साविक दर्ता तिरोको पाखामा खेत दर्ता गर्ने भिन्न भिन्न तरिका छन् जस्तो कि वैरानी पर्ति जग्गा दर्ता गर्नालाई आवाद गर्नुभन्दा पहिले नै दर्खास्त गर्नुपर्छ भने साविक दर्ता तिरोको पाखामा खेत दर्ता गर्नलाई खेत आवाद गरिसकेपछि मात्र दर्खास्त गर्नुपर्छ । माफि खान पाउनेमा पनि वैरानी पर्ति आवाद गरेकोमा भन्दा साविक दर्ता आवादी पाखामा खेत विराएकोमा बढी साल माफी खान पाउने सुविधा छ । वैरानी पर्ति दर्ता गर्नेमा भन्दा बढी कुरा साविक दर्ता आवादी पाखोमा खेत विराएकोमा पछि पाखा तिरो मिन्हा हुने हुनाले साविक यो यति दर्ता तिरोको भनी खुलाउनुपर्छ ।

          २१.  माथि उल्लेख गरिएअनुसार साविक यो यति तिराको पाखामा खेत बिराएको दर्ता गरिपाउँ भनी वादीहरूले दर्खास्त दिएको र सोहीअनुसार नालिसमा दावी लिएको समेत नभई वैलानी पर्तिमा खेत दर्ता गरिपाउँ भन्ने दर्खास्त परेको र वैलानी पर्ति जग्गा हुनाले खेत दर्ता भएको सदर कायम गरिपाउँ भन्ने नालिस दावी लिएको समेत यस्तो कुरामा वैलानी पर्ति भन्ने वादी दावी झुट्टा देखिन आएपछि वादी दावी नै नभएको साविक दर्ता आवादी पाखोमा खेत बिराएको कायम गरी वादीहरूका नाममा दर्ता गरिदिने भनी वादी दावीभन्दा बढी कुराको निर्णय दिन नमिल्ने र एउटाको दर्खास्त परेको जग्गा दर्खास्तवाला आफूले दर्ता आवाद गर्न मञ्जुर नगरी छाडेपछि अरुका नाममा दर्ता हवस् भनी आफ्नो हकै पुगी नसकेको जग्गा अरुलाई हक छाडिदिन पाउने र दर्खास्तवाला बाट त्यसरी पाउने व्यक्तिहरूका नाममा दर्ता हुनसक्ने कानूनी व्यवस्था नभएको, मुख्य कुरा वादीहरूसमेत २३ जनाको नाममा पाखापट्टि सामुहिक हक दर्ता भइराखेको जग्गामा बण्डा नछुट्याएको भएपछि सो दर्ता किल्लाभित्रको सबै जग्गामा सवैको सामुहिक हक कायम रहने, दर्तावाला मध्ये केही व्यक्तिले मात्र आफूखुसी कुनै जग्गा आफ्नो नाममा खेत दर्ता गराउन पनि नपाउने समेत हुनाले तत्काल प्रचलित जग्गा विराउनेको ५ नं.को आधार समेतबाट झगडा परेको जग्गा वादीहरुको नाममा खेततर्फ दर्ता हुन सक्ने देखिँन आउँदैन।

          २२.  तसर्थ उपरोक्त उल्लिखित कारणहरू समेतबाट झगडा परेको जग्गा हाम्रो नाममा खेत दर्ता हुनुपर्ने भनेसमेत वादीहरूको दावी पुग्न सक्दैन । वादीहरूको नाममा खेत दर्ता हुन नसक्ने ठहराई ०१९।११।१६ को डिभिजन बेञ्चले छिनेको मनासिवै ठहर्छ । ०२२।३।१।३ को फुल बेञ्चले झगडा परेको जग्गा प्रतिवादी जिकिरअनुसार साविक पाखा दर्ता ४ किल्लाभित्रकै ठहराएतर्फ इन्साफ मिलेको र सो जग्गा वादीहरूका नाममा खेत दर्ता हुने ठहराएको सम्म नमिलेको देखिन्छ, अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी देहायका मानिसको मध्यमाञ्चल उच्च अदालतको ०१८।३।२३।६ को फैसलाले रू.१। का दरले लिने गरेको सलामी १९।११।१६।५ को डिभिजन बेञ्चको फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेको लागत कायमै राख्नु २२।३।१।३ को फुल बेञ्चको फैसलाले उक्त डिभिजन बेञ्चको फैसलाबमोजिम गर्नुपर्दैन भनी दिएको लगत काटिदिनु भनी कानूनबमोजम लगत दिनु………….१

बन्दीपुर हिलेखर्क बस्ने पूर्ण गुरुङ १, ऐ.बस्ने नरबहादुर गुरुङ के १, ऐ.बस्ने श्री लाल गुरुङ के १, ऐ.ताकमारे बस्ने रणबहादुर पन्त के १।

वादी देहायका मानिस के देहायबमोजिम दण्डको लगत १९।११।१६।५ को डिभिजन बेञ्चको फैसलाबमोजिम कायमै राख्नु, म.उ.अ.को फैसलाबमोजिम उक्त दण्डको लगत कट्टा गरिदिने गरेको कायम राख्ने गरी २२।३।१।३ को फुल बेञ्चको फैसलाबमोजिम दिएको लगत काटिदिनु भनी ऐ………….२

असामी बन्दीपुर अदालतको १४।७ अपील पहिलाको १४।१०।५ को फैसलाबमोजिमको १७ को फैसलाबमोजिम

प.३ नं.बन्दीपुर हिलेखर्क बस्ने पूर्ण गुरुङ के १।२५।१३ ऐ बस्ने श्रीलाल गुरुङ के १।२५।१३ ऐ बस्ने नरबहादुर के १।२५१२ ऐ ताकमारे बस्ने रणबहादुर पन्त के १।२५।१२

प्रतिवादी देहायका मानिस के बन्दीपुर अदालतको ०१४।७।५।२ को फैसलाबमोजिम रू.१। दरले लिने गरेको सलामी लाग्ने नै हुँदा १९।११।१६।५ को डिभिजन बेञ्चका फैसलाबमोजिम सो लगत कायमै राख्नु मध्यमाञ्चल उच्च अदालतको ०१८।३।२३ को फैसलाले उक्त कलमको लगत काटिदिने गरेको कायम राख्नु भनी २२।३।१।३ को फुल बेञ्चको फैसलाबमोजिम दिएको लगत काटिदिनु भनी ऐ……………३

बन्दीपुर तेरविसे हिलेखर्क बस्ने विमा गुरुङ

स्यानी के रु. १, ऐ.एै बस्ने ऐतसिं गुरुङ के १।, ऐ.ऐ.बस्ने नैनसिं गुरुङ के रु. १।, ऐ.ऐ.बस्ने मु.मेहरसिंह गुरुङ १।, ऐ.ऐ.बना गुरुङ के १, ऐ.ऐ.बस्ने भक्त सिं गुरुङ के रु. १, ऐ.ऐ.बस्ने सुना सिंह गुरुङ के रू.१, ऐ.ऐ.बस्ने सुकुलाल गुरुङ के रू.१, ऐ.ऐ.बस्ने काले गुरुङ के रु. १। ऐ.ऐ.घनलाल गुरुङ के रु. १।, ऐ.ऐ.बस्ने कृष्ण गुरुङ के रु. १, ऐ.ऐ.बस्ने चन्द्रमनि गुरुङ के रु. १।, ऐ.ऐ.बस्ने मुने गुरुङ के रु. १, ऐ.ऐ.बस्ने लोकबहादुर गुरुङ के रु. १।, ऐ.ऐ.बस्ने श्रीनाथ गुरुङ के रु. १, ऐ.ऐ.बस्ने शंखपति गुरुङ के रु. १, ऐ.ऐ.बस्ने राम गुरुङ के रु. १।, ऐ.ऐ.चन्द्र सिंह गुरुङ के रु. १, ऐ.ऐ.बस्ने विलबहादुर गुरुङ के रु. १।, ऐ.ऐ.बस्ने पञ्चे गुरुङ के रु. १। ऐ.देउराली बस्ने देउबहादुर गुरुङ के १, ऐ.ऐ.बस्ने दुग्र गुरुङ के रु. १।, ऐ.ऐ.बस्ने थमनसिंह गुरुङ के रु. १, ऐ.ताकमारे बस्ने मानध्वज पन्तक्षेत्री के रु. १, ऐ.हिलेखर्क बस्ने नरजित गुरुङ के रु. १।, ऐ.बस्ने रुद्रमनि गुरुङ के रु. १, ऐ.बस्ने हर्षबहादुर गुरुङ के रु. १।, ऐ.देउराली बस्ने जोखे गुरुङ के रु. १। ऐ.बस्ने नराज गुरुङ के रु. १। ऐ.बस्ने जुठे गुरुङ के रु. १।, ऐ.हिलेखर्क बस्ने विश्ववीर गुरुङ के रु. १। ऐ.बस्ने भुवानसिं गुरुङ के रु. १।

वादी श्री लाल गुरुङ के म.उ.अ.को ०१८।३।२३ को फैसलाबमोजिम प्रतिवादी जुठे गुरुङसमेतबाट भराइदिने गरेको वकिल फि.रु. २४। को लगत काटिदिने गरेको ०१९।११।१६।५ को डिभिजन बेञ्चको फैसलाबमोजिम लगत कायमै राख्नु म.उ.अ.को फैसलाबमोजिम लगत कायमै राख्ने गरेको २२।३।१।३ को फुल बेञ्चका फैसलाबमोजिम गर्नुपर्दैन भनी ऐ………………..४

देहायका मानिस के इन्साफ केही उल्टीमा म.उ.अ.को ०१८।३।२३ का फैसलाले गर्ने गरेको देहायबमोजिम जरिवाना १९।११।१६ को डिभिजन बेञ्चका फैसलाले लगत कट्टा गरी दिने गरेको लगत कायमै राख्नु म.उ.अ.को फैसलाबमोजिम लगत कायमै राख्ने गरेको २२।३।१।३ को फुल बेञ्चका फैसलाबमोजिम गर्नुपर्दैन भनी एै……..५

बन्दीपुर अदालतका डि.दयानिधी पाध्या के रु. १। अपील पहिला का.मु.अ.ख.रामगोपाल श्रेष्ठ के १।

२०११।३।४।६ को नापी मुचुल्काबमोजिम याझां भन्ने खेत मुरी ।१६ साविक रू.११।५० दर्ता तिरो मध्येको पाखामा खेत आवाद कमोद गरी खाने व्यहोरा जनाई वादी श्री लाल गुरुङ, नरबहादुर गुरुङ पूर्णे गुरुङ, रणबहादुर पन्तसमेत जना ४ को नाममा दर्ता गरिदिनु भनी बन्दीपुर माललाई लेखिपठाउने भन्ने २२।३।१।३को फुल बेञ्चका फैसलामा उल्लेख भएकोमा सोअनुसार गर्नुपर्दैन भनी ऐ.ऐ………………६

वादी मेहरसिंह गुरुङ के मुद्दा दोहर्‍याउँदा निजले ०२६।७।१०।१ मा दाखिल गरेको कोर्टफी रू.१। वादी देहायका मानिसबाट भराइपाउँ भनी कोर्टफी ऐन, १७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी कानूनबमोजिम लगत लिनु……………..७

पूर्ण गुरुङ १, श्रीलाल गुरुङ १, नरबहादुर गुरुङ १, रणबहादुर पन्त १

नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

न्या. वासुदेव शर्मा

न्या. झपटसिंह रावल

न्या. राजा इश्वरी जङ्गबहादुर सिहं

न्या. जयदेव भट्ट

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल जेष्ठ २० गते रोज ६ शुभम् ।