निर्णय नं. ६८५ – बन्धकी जग्गा खिचोला
निर्णय नं. ६८५ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्याययधीश श्री रत्नवहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत्...
निर्णय नं. ६८५ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्याययधीश श्री रत्नवहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०२७ सालको दे.फु.नं. १२१
फैसला मिति : ०२९।२।२७।६
निवेदक : पूर्व ४ नं.भोजपुर बजार वस्ने उजिरबहादुर श्रेष्ठ
विरुद्ध
विपक्षी : ऐ.ऐ.काफ्ले बस्ने गंगाप्रसाद पाध्या
मुद्दा : बन्धकी जग्गा खिचोला
(१) भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गा धनी सरहै जग्गा भोग गर्न पाउने हक कायम हुने ।
भोगबन्धकीमा लिने साहूको जग्गामै हक कायम हुन नसक्ने हुनाले जग्गा तेरो मेरो भन्ने झगडा उठेकोमा बन्धकी दिने आसामीले नै नालिस गरी जग्गामा आफ्नो हक कायम गराउन सक्नुपर्ने बन्धकी लिने साहूको नालिसबाट तेरो मेरो हक बेहकको निर्णय दिन नमिल्ने भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनुभएको हकमा भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गाधनी सरहै जग्गा भोग गर्न पाउने हक साहूकै कायम हुने कुरा हो मैले भोगबन्धकी पास गराई लिएको जग्गामा प्रतिवादीले कोदोको बिउ लगाई रोपी खिचोला गरेको हुँदा मेरो थैलीउपर नभएसम्म जग्गामा विपक्षको खिचोला मेटाई मेरो भोगबन्धकी हक सदर गराई पाउँ भन्ने वादीको मुख्य दावी भएको र बन्धकी दिने भनेको आनन्दे भन्ने अम्बरबहादुर तामाङ पेट बोलीबाट बुझिएकोमा आफूले भोगबन्धकी पास गरिदिएको सकार गरी मेरो दर्ताको जग्गा थैली नतिरेसम्म गंगाप्रसादको बन्धकी कायम गरी खिचोला मेटाई पाउँ भन्ने दावी लिई बयान गरेको समेत यस स्थितिमा विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरसँग सहमत हुन मिलेन ।
(प्र.नं. १४)
निवेदक तर्फबाट : सुधानाथ पन्त
फैसला
न्या. झपटसिंह रावल
१. आसरानीका घर पूर्व जंगे झाँक्रीका घर पश्चिम बलेसी सिधा सडक भनी उजिरबहादुरका बारी साँध पश्चिम खोल्सा उत्तर सडकको दक्षिणको जग्गा साफा र ६। आनन्दको नाउँमा ०१६ सालदेखि बाली तिर्ने गरी दर्ता भएको जग्गामा उनीकाजिलाई बिक्री भई बाँकी रहेको उनीकाजिका घर पूर्व जंगे झाँक्रीको घर पश्चिम बलेसी सिधा सडक भनी उजिरबहादुरका बारी साँध पश्चिम खोल्सा उत्तर सडक दक्षिणको उक्त दर्ताको रू.।६ तिरोको घडेरी जग्गा दर्तावाला आनन्दले मबाट रू.१२५०। लिई ०२०।३।१९ मा भोगबन्धकी लिखत गरी ०२०।४।१८।६ मा पाससमेत गरिदिएको जग्गामा विपक्षले ०२०।४।२० का दिन कोदोको बीउ लगाई रोपी खिचोला गरेकोले खिचौला मेटाई मेरो बन्धकी सदर गरिपाउँ भन्नेसमेत वादी ।
२. जंगेको घरदेखि पश्चिमपट्टि आनन्दको घर भई रत्नकुमारीले लिई बनाएको घरको र हाल लक्षु भनेको लक्ष्मीदासले हाल बनाएको २ घरको छिंडी भई सो छिंडीबाट मलजाने केही खोल्सी परेको त्यही खोल्सीलाई वादीले भल वाडी पसी सडक भत्केको खोल्सी हो त्यसै खोल्सी देखि मेरो बारीको साँध भएकोले साँध खोल्सी पूर्वको जग्गा मेरो हो सो भलसम्म पश्चिम नम्बरी भई आनन्दबाट उनीकाजिले ।६ पैसा मध्ये कति लियो बाँकीमात्र वादीले पाउने जम्मा ।६ पैसाको जग्गा पाएको भन्ने कुरा पनि कानूनले नमिल्ने उल्लेख बमोजिम मेरो जग्गा जालसाजबाट काटिन नपाई उल्लेखको जग्गा मेरो सदर गरिपाउँ भन्नेसमेत प्रतिवादी ।
३. वादी गंगाप्रसादका फिराद दावीबमोजिम ०१६ सालमा मेरो नाउँमा दर्ता भएको घडेरी जग्गामध्ये उनीकाजिलाई राजीनामा बिक्री गरी बाँकी रहेको जग्गा गंगाप्रसादलाई रू.१२५०। मा भोगबन्धकी पास गरी दिएकोमा उजिरबहादुरले खिचोला गरेकाले गंगाप्रसादले फिराद गरेको हो, जग्गा मेरो कायम गरी गंगाप्रसादको बन्धकी सदर गरी जग्गामा खिचोला मेटाई पाउँ भन्ने पेटबोलीबाट बुझिएको आनन्दे भन्ने अम्बरबहादुर तामाङको बयान ।
४. उनीकाजिलाई ०१७ सालमा ।६ पैसा धुरी दर्ता मध्ये केही बाँकी राखी राजीनामा दिएको सफा ।३ पैसाको बाँकी र ४००। मा निज उनीकाजिलाई बन्धकी लेखी दिएको सो दुवै लिखतपास भएकोमा वादीलाई अम्बरबहादुरले दोहरा पारी ०२० सालमा पुनः बन्धकी दिएको पाससमेत भएकोले त्यसमाथि पनि उजूरी नभएको दोहरो समेतमा कसैको उजूरीसमेत भएको देखिएन जग्गा मिच्नेको २१ र जग्गा पजनिको ३४ नं.ले आफ्ना हकको जग्गा अर्काले दर्ता तिरो गरी खाएमा २ बर्ष भित्र उजूर गरी बदर गराउनुपर्ने ४ किल्ला किटी आनन्दका नाउँमा दर्ता भएकोमा ऐनबमोजिम म्यादभित्रको उजूर नभएकोले आनन्दका नाममा ०१७।४।२४ मा भएको दर्ता मुचुल्कामा हरिबहादुर भन्ने बसेको देखियो, निज हरिबहादुर प्रतिवादीको छोरा देखिन आएको छोरा साक्षी बसेको होइन भन्न प्रतिवादीले नसकेकोले दर्ता दुवैको भएतापनि प्र.आनन्दको ४ किल्ला किटिएर दर्ता भएको देखिएको त्यसउपर प्र.उजिरबहादुरको उजूर नदेखिएकोले समेतबाट झगडा जनिएको नक्सा नं.९ को जग्गा प्र.उजिरबहादुरको नभई आनन्द भन्ने अम्बरबहादुरको ठहर्छ यो वादी दावीको बन्धकी जग्गामा प्र.उजिरबहादुरले खिचोला गरेको ठहर्छ भन्नेसमेत ०२४।४।३०।२ को भोजपुर जिल्ला अदालतको फैसला ।
५. शुरुको इन्साफमा चित्त बुझेन भन्नेसमेत उजिरबहादुर श्रेष्ठको पुनरावेदन ।
६. वादीको दाता अम्बरबहादुर तामाङको दर्ताउपर ऐनको म्यादभित्र उजूर नभएको सो दर्तामा जड्डे झांक्रीको घर पश्चिमपट्टि बलेसीको सुर मूल सडक मुनी सिधा उजिरबहादुरको बारी साँध पश्चिम भन्ने किल्ला लेखिएको सो किल्लाबाट नक्सा नं.९ को झगडा परेको जग्गा अम्बरबहादुर दर्ता किल्लाभित्रको देखिनाले समेत इन्साफ शुरुको मनासिव भन्ने ०२४।८।१७।१ को सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसला ।
७. सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चले हदमुनी गरी छिनेको इन्साफ जाँचीपाउँ भन्ने प्रतिादीको निवेदन परेकोमा इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने हुकूम प्रमांगी बक्स भई आएको ।
८. प्रतिवादीको दर्तामा किल्ला नलेखिएको हुनाले दर्ताबाट प्र.को हक भोग ठहर्ने भन्न मिलेन अरु प्रमाणतर्फ माझ किराँत मालबाट आएको दर्ता उतारबाट ०१९ सालको नम्बरीमा १ सालमा धुरी खडा गरी सोहीसालदेखि बाली तिर्ने गरी आसरानीको घर बल्यसिं पूर्व जंगे झाँक्रीको घर पश्चिम पट्टि बलेसिको सुर मूलसडक मुनि सिधा उजिरबहादुरको बारी साँध पश्चिम खोल्सो साँध उत्तर मुल सडक दक्षिण यति चार किल्ला भित्रको जग्गा वादीको दाता आनन्दे तामाङका नाउँमा दर्ता भएको देखिएको सो किल्ला भित्रै झगडा परेको न.नं.९ को जग्गा देखिएको सो जग्गा प्रतिवादीको भए दर्ताउपर जग्गा मिच्नेको १८ नं.जग्गा पजनीको १७ नं.का म्याद २ वर्षभित्र उजूर गरी दर्ता बदर गराउन पर्ने सो गराएको नदेखिएकोले उक्त दर्ता अकाट््य प्रमाण मानिन्छ र सो दर्ताका किल्लाभित्र परेको झगडा परेको जग्गा लिखतबमोजिम भोग गर्न पाउने हक वादीको भएकोले सो जग्गा मेरो हक कायम गरिपाउँ भन्ने निवेदकको जिकिर पुग्न सक्दैन इन्साफ शुरुको सदर गरेको सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको मनासिव छ भन्नेसमेतमा न्या.श्री लोकराज जोशी मा.न्या.श्री बब्बरप्रसाद सिंहहको ०२६।१।१८।४ को डिभिजन बेञ्चको फैसला ।
९. उक्त डिभिजन बेञ्चको इन्साफ दोहर्याई पाउँ भन्ने प्रतिवादी उजिरबहादुरको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा झगडा परेको न.नं.९ को जग्गा वादीको दाता आनन्दे तामाङले उनीकाजिलाई पहिले ०१९।९।२८।७ मा बन्धकी दिएको लिखत ई.अ.भोजपुर फैसलाले मिति ०२१।१।१८।१ मा पास भए राखेकोले सो जग्गा उसै आनन्दे तामाङले ०२०।३।१९।४ मा अर्को घरसारको लिखत गरी मिति ०२०।४।१८।६ मा वादीलाई बन्धकीमा पास गरिदिएको देखिएको सो लिखत दोहरा पास भएको भन्ने कुरा पनि अञ्चल तथा सर्वोच्च अदालतले मनासिव ठहर्याएको शुरु भोजपुर जिल्ला अदालतको फैसलामा नै उल्लेख भइराखेको दोहरातर्फ उजूर नभएको भन्ने हकमा निज उनीकाजिलाई वादीले दिएको राजीनामा कागजसमेत सम्पूर्ण बुझी एकत्रित गरी पेश गर्नु भनी उसै जिल्ला अदालतले आदेश दिइराखेको कुरामा निजको बयान लिने र तारेखमा राख्ने नगरी, दरर्खास्त साथ कागजपत्र लिएको देखिएको, त्यसपछि ०२२।३।१६।४ मा नक्सा हुन जाँदा पनि निज उनिकाजीले सो जग्गा आफूले पास गरी लिएको कुरा उल्लेख गरिदिएको मुचुल्काबाट प्रष्ट छँदा पहिलो भोगबन्धकी साहू तर्फ कुनै निर्णय नदिई जग्गा पछिल्लोले भोग गर्न पाउने गरी गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन, दोहर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा, श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकूम बक्सको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२७।३।२५।५ को हुकूम प्रमांगी ।
१०. बक्स भई आएको हुकूम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीतपुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुई पक्षलाई म्याद दिई झिकाई फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजको प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने सम्माननीय श्री प्र.न्या.ज्यूबाट भएको ०२७।३।२१।४ को आदेश । यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२९।२।२०।६ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको न.नं.९ को जग्गा आनन्दे तामाङको नाउँमा तिरो रू.।६ दर्ता भएको निजबाट मैले ०२०।४।१८।६ मा भोगबन्धकी पास गराई लिएको सो जग्गामा प्रतिवादीले खिचोला गरेको भन्ने वादीको दावी र मेरो बिजंमाना ।.।४ दर्तामध्ये जग्गा हो भन्ने प्रतिवादीको जिकिर भई विवाद उठेको देखिन्छ ।
११. वादीको दाता भनेको आनन्दे भनेको अम्बरबहादुर तामाङ बुझिएकोमा ०१९ सालमा मेरो नाममा दर्ता नम्बरी भएको घडेरी जग्गामध्ये उनीकाजिलाई राजीनामा दिई घर बनाई बाँकी रहेको जग्गा वादीलाई मैले भोगबन्धकी पास गरी दिएकोमा प्रतिवादीले खिचोला गरेको हुँदा थैली नतिरेसम्म गंगाप्रसादको बन्धकी कायम गरी खिचोला मेटाई पाउँ भन्ने बयान गरेको पाइन्छ ।
१२. प्रतिवादीको दर्तामा ४ किल्ला नभएकोले वादीको दाता आनन्दे भन्ने अम्बरबहादुर तामाङका नाउँको तिरो रु. ।६ को दर्तामा लेखिएको ४ किल्ला नक्सामा भिडाई हेर्दा वादीको भोगबन्धकी लिखतबमोजिमको झगडा परेको जग्गा उक्त दर्ताको ४ किल्लाभित्र पर्न आउने नक्साबाट देखिन आयो ।
१३. झगडा परेको जग्गाको पूर्वपट्टिको अरुको जग्गा प्रतिवादीको दर्ताको भएकोले सोही जग्गाको साँधको झगडा परेको जग्गा पनि मेरो भनी प्रतिवादीले दावी गरेको रहेछ खास गरी झगडा परेको जग्गा पनि प्रतिवादीकै दर्ता मध्येकोलाई किल्लाभित्र पारी वादीको दाता आनन्दे भन्ने अम्बरबहादुर तामाङले ०१९ सालको नम्बरीमा दर्ता गराएकोमध्ये तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.ऐनको म्यादभित्र प्रतिवादीले उजूर गरी सो दर्ता बदर गराई जग्गामा आफ्नो हक कायम गराउन सक्नुपर्ने नसकेकोबाट वादीको दाता आनन्दे भन्ने अम्बरबहादुर तामाङको दर्ता कायम मान्नुपर्ने हुन आएको छ ।
१४. भोगबन्धकीमा लिने साहूको जग्गामै हक कायम हुन नसक्ने हुनाले जग्गा तेरो मेरो भन्ने झगडा उठेकोमा बन्धकी दिने आसामीले नै नालिस गरी जग्गामा आफ्नो हक कायम गराउन सक्नुपर्ने बन्धकी लिने साहूको नालिसबाट तेरो मेरो हक बेहकको निर्णय दिन नमिल्ने भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनुभएको हकमा भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गाधनी सरहै जग्गा भोग गर्न पाउने हक साहूकै कायम हुने कुरा हो मैले भोगबन्धकी पास गराई लिएको जग्गामा प्रतिवादीले कोदोको बिउ लगाई रोपी खिचोला गरेको हुँदा मेरो थैलीउपर नभएसम्म जग्गामा विपक्षको खिचोला मेटाई मेरो भोगबन्धकी हक सदर गराई पाउँ भन्ने वादीको मुख्य दावी भएको र बन्धकी दिने भनेको आनन्दे भन्ने अम्बरबहादुर तामाङ पेट बोलीबाट बुझिएकोमा आफूले भोगबन्धकी पास गरिदिएको सकार गरी मेरो दर्ताको जग्गा थैली नतिरेसम्म गंगाप्रसादको बन्धकी कायम गरी खिचोला मेटाई पाउँ भन्ने दावी लिई बयान गरेको समेत यस स्थितिमा विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरसँग सहमत हुन मिलेन ।
१५. उनीकाजिलाई पहिले ०१९।९।२८।६ मा बन्धकी दिएको लिखत ई.अ.भोजपुरको फैसलाले ०२१।१।१८।१ मा पास भइराखेकोमा वादीलाई अर्को लिखत गरी ०२०।४।१८।६ मा पासगरी दिएको देखिएकोले पहिलो भोगबन्धकी साहूतर्फ कुनै निर्णय नदिई जग्गा पछिल्लोले भोग गर्न पाउने गरी निर्णय दिएको मिलेको नदेखिएकोले भन्नेतर्फ उठाइएको हकमा दोहरो लिखत गरिदिए लिएको बदर गरिपाउँ भन्ने त्यसतर्फ सरोकार भएको व्यक्तिको कानूनबमोजिम दावी नालिस परी चलि आएको यो मुद्दा नहुनाले त्यस्तो नालिस दावी बेगर दोहोरा लिखत गरी दिए लिएको होइन भन्ने र उनीकाजितर्फ निर्णय दिनुपर्ने भन्ने कुरा यस मुद्दाबाट तहकिकात इन्साफ गर्न मिल्ने कुरा होइन ।
१६. तसर्थ उपरोक्त उल्लिखित कारणहरूसमेतबाट झगडा परेको न.नं.९ को जग्गा मेरो दर्ता मध्येको भन्ने निवेदक प्रतिवादीको जिकिर पुग्न सक्दैन वादीको दाता आनन्दे भन्ने अम्बरबहादुर तामाङ्गको दर्ता भित्रको निज आनन्दे भन्ने अम्बरबहादुर तामाङ्गले वादीलाई भोगबन्धकी पास गरी दिएको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराएको शुरु भोजपूर जि.अ.तथा सगरमाथा अञ्चल अदालतको भोजपूर बेञ्चका सदर गरी ०२६।१।१८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ निवेदक प्रतिवादी उजिरबहादुर श्रेष्ठले मुद्दा दोहोर्याएमा लाग्ने कोर्टफी राखेको देखिंदा अरु सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
प्र.न्या. रत्नबहादुर बिष्ट
न्या. धनेन्द्रबहादुर सिंह
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल जेष्ठ २७ गते रोज ६ शुभम् ।