March 25, 1971
Created by nepalarchives

निर्णय नं. ६७० – लेनदेन

निर्णय नं. ६७०       ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२६ सालको देवानी पुनरावेदन नम्बर २२९८ फैसला...

निर्णय नं. ६७०       ने.का.प. २०२९

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०२६ सालको देवानी पुनरावेदन नम्बर २२९८

फैसला मिति : ०२७।१२।१२।५

पुनरावेदक : का.जि.कालिमाटी बस्ने गोविन्दभक्त श्रेष्ठ

विरुद्ध

विपक्षी     : का.जि.कमलपोखरीको हाल न्यूअलिपुर कलकत्ता बस्ने ज.आनन्द शमशेर ज.व.रा.

मुद्दा : लेनदेन

(१)  तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.कस्तो व्यक्ति पेटबोलीको परिभाषा भित्र पर्ने ?

          तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.मा रहेको व्यवस्थाले वादी प्रतिवादीका पेटबोलीबाट मानिस बुझ्न हुने र त्यसलाई प्रतिवादी सरह देखिए प्रमाणसमेत खुलाई बयान लिनुपर्ने व्यवस्था भएको छ पेटबोलीको मानिस भने कस्तो हुन्छ भनी पहिल्याउँदा वादी वा प्रतिवादीले जोमाथि दायित्व देखाएका छन्, त्यो बाट जम्मै वा केही दायित्व हस्तान्तरणबाट पाएको व्यक्ति देखिन आउनेछ । प्रतिवादीले आफू माथि रहेको दायित्व अरु माथि सबै वा केही सरेको भनी देखाएको भए मुख्य प्रतिवादी माथि दायित्वको भार रहेको हो भनी प्रमाणित गरेपछि मात्र निजबाट दायित्व सबै वा केही सरेको हो होइन भनी भन्न सकिन्छ । लखबन्धकको आसामी वा बण्डापत्र गरेको अंशियार यसको उदाहरण हो जसबाट एकको गोलभित्र अर्को पर्न गएको हुनुपर्छ र पेटबोलीको मानिस हुन्छ । यदि दायित्व भएको व्यक्तिउपर फिराद परेको छैन भने फेरि अर्को प्रतिवादी अदालतले खडा गरेको मौका वादीलाई हुँदैन । कालान्तरमा दावी लाग्दैन । त्यसरी पेटबोलीबाट बुझेका व्यक्तिहरू सबूद वा प्रतिवादी हुन सक्छन् । वादीकै पेटबोलीबाट बुझेको भए पनि वादी हुन सक्दैन ।

(प्रकरण नं. १०)

पुनरावेदक तर्फबाट :  

विपक्षी तर्फबाट   :  

उल्लिखित मुद्दा :

फैसला

    न्या. हेरम्बराज

     १.   मिति २००८।३।२५ गतेको रू.३९४६ र मिति २००८।५।१६ गतेको रू.७८६७ को प्रतिवादीको छोराले (क) युधिष्ठिर शमशेर जवराले गरिदिएको लिखितहरूको जम्मै रुपैयाँ सावाँ ब्याजसमेत आफ्नैतर्फबाट तिर्ने गरी मञ्जुर गरी मिति २०१५।६।१६ मा लिखित गरिदिनुभएको सावाँ ब्याजसमेत रू.२२८।०९।७३ र मुद्दा फैसला हुँदासम्मको कूतसमेत प्रतिवादीबाट दिलाई भराइपाउँ भन्नेसमेतको गोविन्दभक्तको फिरादपत्र ।

     २.   मैले नै तिर्ने लिखित गरी दिएको छैन साहू आसामीका ७ नं. बमोजिम बाबुको लिखत नभई छोराले गरेको व्यवहारमा बाबुले खुसीले तिरी दिएको जतिमात्र लिन पाउँछ भन्ने प्रष्टै छ । कर लगाई मउपर दावा नालिस लाग्न नपर्ने वादी दावीबाट फुर्सद पाउँ भन्नेसमेतको आनन्द शमशेरको प्रतिउत्तरपत्र ।

     ३.   यो चिठ्ठीमा आनन्द शमशेरले लेखेको सद्दे हो वादी दावाबमोजिम रुपैयाँ मैले तिर्नु नपर्ने भन्नेसमेत वारेस मदन सिंह महत्त क्षेत्रीको बयान ।

     ४.   लिखतमा सो रुपैयाँपछि उनका अंश हुँदा उनको अंश भागबाट कट्टा हुने गरी मैले नै तपाईलाई दिनेछु भन्ने उल्लेख भएबाट छोराको लिखित सकार गर्नुभएको देखिने अब अंश लिइसकेपछिमात्र वादीले दावी गर्नुपर्ने हो कि भन्न अंश भइसकेपछि मात्र दिउँला भन्ने लिखित भई पछि उनको अंश हुँदा उनको अंशभागबाट कट्टा हुने गरी मैले नै दिलाउँला भन्ने लिखतमा लेखिएको भई अंश भएपछि मात्र पाउने भन्ने उल्लेख भएको रहेछ भन्न नभई प्रतिवादीबाट पाउँदैन भन्न मनासिव नभएकाले लिखितबमोजिमको ने.रु. १९५१८।१६ प्रतिवादीबाट वादीले भरिपाउने । लिखित भए लेखिएको ब्याज दिउँला भन्ने नलेखिएकाले ब्याज पाउँ भन्ने वादी दावी पुग्दैन भन्नेसमेत मिति २०१९।९।२०।६ को काठमाडौं देवानी इलाकाको फैसला ।

     ५.   अंशबण्डाका २८ नं.का ऐनबमोजिम अंशको म उपर दावी भएको बखतमा अंशबण्डा छुट्याउँदा त्यस बखतमा मात्र उक्त चिठ्ठीमा लेखिएको रू.१९५१८।१६ मैले कट्टा गरी विपक्षलाई दिलाई दिनुपर्ने हुँदा उक्त चिठ्ठी र ऐनकानूनबमोजिम इन्साफ पाउँ भन्नेसमेत आनन्द शमशेरको पुनरावेदन ।

     ६.   मेरो अंशमा मेरा हक त छ । सो हकमा अरु त्यस्तो व्यक्तिले खर्च तिर्न वा मेरो तर्फबाट कुनै दायित्व भुक्तानी गर्न पाउने दायित्व पनि होइन । मलाई फिरादमा प्रतिवादी नबनाई मलाई थाहा नभएको कुरामा मैले सत्य हो वा कीर्ते हो भनी बयान गरिरहन नपर्ने भन्नेसमेतको युधिष्ठिरशमशेरको वारेस देवीप्रसाद उपाध्यायको बयान ।

     ७.   वादीको रुपैयाँ पुनरावेदकले नै तिर्ने भनी कानूनको रीत पुर्‍याई लिखत भएको देखिन आएको कर्जा खाने युधिष्ठिर शमशेरउपर नालिस नगरी त्यस्तो लिखतको नाताबाट पुनरावेदकउपर नालेशै नलाग्नेमा शुरुले पुनरावेदकहरूबाट भराउने गरेको इन्साफ गल्ती ठहर्छ भन्नेसमेत मिति २०२६।८।५।५ को बागमती अञ्चल अदालतको फैसला ।

     ८.   खारेज भएको मुद्दामा कोर्टफी जफत गर्ने कानूनमा व्यवस्था नभएको मेरो सुरुमा रहेको कोर्टफीको उच्चारणै नगरी वा.अं.अ.ले हराएकोले सो इन्साफ उल्टाई न्याय पाउँ भन्नेसमेत मिति २०२६।१०।८।४ को गोविन्दभक्त श्रेष्ठको पुनरावेदन ।

     ९.   यसमा पुनरावेदकको वारेस पिताम्बर खरेललाई रोहवरमा राखी मिसिलसमेत हेरी निर्णयतर्फ विचार गर्दा प्रतिवादी ज.आनन्द शमशेरउपर विगो दिलाइपाउँ भनी वादीले फिरादमा दावी गरी ०१८ आषाढ २० गते रोज ३ मा फिराद दर्ता गरेको यो फिरादपत्रमा ०८।३।२५ र ०८।५।१६ को ले.क.युधिष्ठिरशमशेरको लिखित र ०१५।६।१६।५ को प्रतिवादीको लिखित प्रमाणमा पेश गरेको छ र ती तीनवटै लिखितलाई लिखितवालाले गरेको हो भनी सावित भएका छन् र त्यसमा लेखेको व्यहोरा र मितिले आफूमाथि दायित्व रहँदैन भनी इन्कार गरेका छन् र त्यसैले अब यी लिखतहरूले कसको दायित्व सिर्जना गर्छ भन्ने विचार गर्नुपरेको छ । ले.क.युधिष्ठिर आगे भएको ०८ सालका लिखतबाट प्रतिवादीलाई बाध्य गराउन सक्छ वा सक्दैन भनी हेरेमा युधिष्ठिरशमशेरका नाममा वादीले फिराद नगरी केवल आनन्दशमशेरका नाममा मात्र यो दावी परेको छ । प्रतिवादीले गरेका जिकिरबमोजिम पेटबोलीबाट युधिष्ठिरशमशेरलाई तत्काल प्रचलित अ.बं.१८१ नं. बमोजिम पेटबोलीबाट बुझी प्रतिवादी गराउन सकिन्न ।

     १०.  तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.मा रहेको व्यवस्थाले वादी प्रतिवादीका पेटबोलीबाट मानिस बुझ्न हुने र त्यसलाई प्रतिवादीसरह देखिए प्रमाणसमेत खुलाई बयान लिनुपर्ने व्यवस्था भएको छ पेटबोलीको मानिस भने कस्तो हुन्छ भन्ने पहिल्याउँदा वादी र प्रतिवादीले जोमाथि दायित्व देखाएका छन् त्योबाट जम्मै वा केही दायित्व हस्तान्तरणबाट पाएको व्यक्ति देखिन आउनेछ प्रतिवादीले आफूमाथि रहेको दायित्व अरुमाथि सबै वा केही सरेको भनी देखाएको भए मुख्य प्रतिवादीमाथि दायित्वको भार रहेको हो भनी प्रमाणित गरेपछि मात्र निजबाट दायित्व सबै वा केही सरेको हो होइन भनी भन्न सकिन्छ । लखबन्धकको आसामी वा बण्डापत्र गरेको अंशियार यसको उदाहरण हो जसबाट एकको गोलभित्र अर्को पर्न गएको हुनुपर्छ र पेटबोलीको मानिस हुन्छ यदि दायित्व भएको व्यक्तिउपर फिराद परेको छैन भने फेरि अर्को प्रतिवादी अदालतले खडा गरेको मौका वादीलाई हुँदैन । कालान्तरमा दावी लाग्दैन । त्यसरी पेटबोलीबाट बुझेका व्यक्तिहरू सबूत वा प्रतिवादी हुन सक्छन् । वादीकै पेटबोलीबाट बुझेको भए पनि वादी हुन सक्दैनन् ।

     ११.   तसर्थ आनन्द शमशेर उपर फिराद गरेर युधिष्ठिर शमशेर माथि दायित्वको सिर्जना हुन सक्दैन ।

     १२.  आनन्द शमशेर आगे भएको ०१५।६।१६।५ को लिखतको प्रमाण दिएको सो लिखतमा हेर्दा सो रुपैयाँ पछि अंश हुँदा उनको अंश भागबाट कट्टा हुने गरी मैले नै तपाईंलाई दिनेछु भनी लिखतमा बोली परेको देखियो । यो कागजले युधिष्ठिरशमशेरले बुझाउनुपर्ने रुपैयाँ उनको अंशभागबाट कट्टा हुने बोली परेको रहेछ । जसको अंशभागबाट कट्टा हुने हो उसलाई रोहवरमा राखी यो कागज गरेको देखिएन । तत्काल प्रचलित जमानी गर्नेका ऐन नं.५ बमोजिम जमानी रहेको भए त्यसको रीत पनि पुगेको छैन । यो कागज गर्नेले तिर्न मञ्जुर गरेको भनी फिराद गरेको हो भने यो लिखत गर्ने रुपैयाँ खाएको बोली देखिँदैन । एकाको ऋणमा अर्कालाई कागज गराइएको देखियो । तत्काल प्रचलित साहू आसामीको ६ नं. बमोजिम छोराले खाएको ऋण मञ्जुर गरेको हो भनौं भने गोश्वाराको धनबाट यो कर्जा भुक्तान गर्ने व्यवस्था गरेको देखिँदैन । त्यसरी खडा गरेको लिखतबाट प्रतिवादीले आफ्नो रुपैयाँ तिर्ने व्यहोरा लिखतमा लेखिएको देखिँदैन । अर्काको अंशबाट कट्टा हुने गरी दिनेछु भन्ने बोलीको अंशियार रोहवरमा नरहेको लिखतले प्रतिवादीलाई बाध्य गराउन नसक्ने हुँदा वादी दावी लाग्नै नसक्ने ठहराई वा.अं.ले गरेको फैसला मनासिव छ । यस अदालतमा पुनरावेदन गर्दा लाग्ने कोर्टफी ऐन, २०१७ सालको दफा १८ को ३ बमोजिम अरु थप सजाय केही गर्नु नपरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

न्या.त्रैलोक्यराज अर्याल

 

उक्त रायमा म सहमत छु ।

 

इति सम्वत् २०२७ साल चैत्र १२ गते रोज ५ शुभम् ।