निर्णय नं. ६६७ – हकसफा
निर्णय नं. ६६७ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२८...
निर्णय नं. ६६७ ने.का.प. २०२९
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नं. १११
फैसला भएको मिति : २०२८।११।१३।६ मा
निवेदक : अं.कोशी जि.धनकुटा पाताले बस्ने मदनबहादुर कार्की क्षेत्री
विरुद्ध
विपक्षी : धनकुटा खाल्सा चुङ्माङ बस्ने केवलराम तिमिल्सीनासमेत
मुद्दा : हकसफा
(१) माल तथा प्रमुख जिल्ला अधिकारीले निखन्न पाउने हक कसको ? थाहापाएको मिति कुन ? भन्ने छानविन गरी न्यायिक निर्णय गर्न नमिल्ने, नालेश गर्न सुनाउनुपर्ने ।
सर्वप्रथम प्रस्तुत केशमा हकवाला हुँदा हकसफा गरिपाउँ भन्ने निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुर दुवैको छुट्टाछुट्टै मालमा दरखास्त परेको बाट हकवालाले निखन्ने विषयमा लेनदेन व्यवहारको ११ नं.को कानूनी व्यवस्थाअनुसार निखन्न पाउने हकवाला ती तीनमध्ये कुन कायम भई कसले हक निखन्न पाउने हुन आउँछ भन्ने कुराको निर्णय गर्नुपर्ने प्रश्न उपस्थित हुन आउँछ र त्यस प्रश्नमा निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुरको बीचमा निखन्न पाउने कानूनी व्यवस्थाअनुसारको हकवाला म हुँ भन्ने कुराको परस्पर दावा गर्ने र प्रतिवाद गर्ने मौका पनि पाउनुपर्ने देखिन आउँछ । यस्तो विवाद उत्पन्न भएकोमा हक निखन्न पाउने हक कसको छ भनी ठहराई न्यायिक निर्णय गर्नुपर्ने स्थितिको विवाद खडा भएको प्रस्तुत केशमा विपक्षी चन्द्रबहादुर भन्दा नजिकको हकदार मदनबहादुर भनी निखन्न पाउने ठहराई मालले निर्णय गर्न पाउने र थाहापाएको मितिको प्रश्नसमेत समावेश गरी मदनबहादुरले दिएको दरर्खास्तबमोजिम थाहापाएको मितिको प्रश्नमा समेत रजिष्ट्रेशनको ३५ नं.अनुसार सबूद बुझी न्यायिक निर्णय गर्नपाउनेसमेत माल कार्यालयलाई अधिकार प्राप्त भएको देखिँदैन । मालबाटै ऐनबमोजिम नालिस गर्नु भन्ने सुनाउनुपर्ने थियो ।
(प्रकरण नं. १८)
फैसला
न्या.श्री धनेन्द्रबहादुर सिंह
१. भतिजो गोविन्दबहादुरले केवलरामलाई रू.६००० मा ०२३।१०।१९ मा जग्गा विगाहा २।।१।४।। राजीनामा गरिदिएको ०२४।४।१५ मा नक्कल लिँदा थाहा पाएँ । म हकदार र साँध जोडिएको समेत हुँदा सो थैली धरौट राख्न ल्याएको छु हकसफा गराइपाउँ भन्ने चन्द्रबहादुरको ०२४।४।१८ को दरखास्त ।
२. चन्द्रबहादुरले राखेको थैली बुझी जग्गा छाडिदन मञ्जुर छु । चन्द्रबहादुर गोविन्दबहादुरको के नाताका हुन् मलाई थाहा छैन भन्ने केवलरामको ०२४।५।२ को बयान ।
३. गोविन्दबहादुर सहोदर भाइ हो । निजले रू.६००० मा ०२३।१०।१९ मा विगाहा २।।१।४।। केवलरामलाई राजीनामा गरिदिएको ०२४।४।१८ मा थाहापाएकोले अहिले धरौट राख्न ल्याएको छु हकसफा गराइपाउँ भन्ने मदनबहादुरको ०१४।५।१८ को दरखास्त ।
४. भाइ गोविन्दबहादुरले जग्गा विगाहा २।।१।४।। रू.६४०० मा ०२३।१०।१९ मा इन्द्रप्रसादलाई राजीनामा गरिदिएछ । ०२४।४।१८ गते थाहा पाएकोले थैली धरौट राख्न ल्याएको छु निखनाइपाउँ भन्ने चन्द्रबहादुरको ०२४।५।१८ को दरखास्त ।
५. गोविन्दबहादुरले इन्द्रप्रसादलाई रू.६४०० मा ०२३।१०।१९ मा राजीनामा दिएको जग्गा विगाहा २।।१।४।। गोविन्दबहादुर मेरो भतिजो हुँदा थैली धरौट राख्न ल्याएको छु निखनाइपाउँ भन्नेसमेत चन्द्रबहादुरको ०२४।४।१८ को दरखास्त ।
६. उक्त दरखास्त मिसिल थान ४ एकैसामेल राखी पेश गर्नु भनी मोरङ माल कार्यालयको ०२४।७।१० को आदेश ।
७. दाता गोविन्दबहादुर मदनबहादुरको सहोदर दाजुभाइ भई हक निखन्न पाउने हुनाले निखन्न दिन मञ्जुर छु : चन्द्रबहादुर गोविन्दबहादुरको काका हुन् वा होइनन् म जान्दिन भन्ने इन्द्रप्रसादको ०२४।९।६ को बयान ।
८. गोविन्दबहादुरको यो मदनबहादुर हकदार दाजु होइन भन्न नसकेकाले आँतका दाजु मदनबहादुरले निखनी लिन साहूको थैली धरौट राखी निखन्न पाउने भएपछि निजले निखन्न पाउँदैन भनी अड्डाले भन्न नहुने समेत हुँदा गोविन्दबहादुरको राजीनामाबमोजिम जग्गा मदनबहादुरले निखन्न पाउने ठहर्छ भनी मोरङ माल कार्यालयले ०२४।१२।८।५ को पर्चा ।
९. ऐनले ६ महिनासम्ममा थाहापाएको ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने ६ महिना बाहिर सुनेको ३५ दिनभित्रै थैली धरौट राख्ने मदनबहादुरले निखन्न नपाउने हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत चन्द्रबहादुरको पुनरावेदन ।
१०. मदनबहादुरले राजीनामा पास भएको मितिले ६ महिना २९ दिनकै दिन थैली धरौट राखेको देखिएको नजिकको हकदार मदनबहादुर हुन् भन्ने कुरा चन्द्रबहादुरले समर्थन गरेकोले मदनबहादुरले निखन्न पाउने ठहराएको मोरङ माल कार्यालयको पर्चा मनासिव छ भन्ने जिल्ला प्रमुख अधिकारी जि.पं.कार्यालय मोरङ विराटनगरको ०२५।१२।११।२ को फैसला ।
११. मदनबहादुरले थाहापाएको भन्ने मिति नै ६ महिना नाघिसकेपछिको हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत चन्द्रबहादुरको आय र कर अदालतमा परेको पुनरावेदन ।
१२. यो मुद्दा आय र कर न्याय व्यवस्था ऐन, २०१६ को दफा (४) अन्तर्गत नपरेको हुँदा सर्वोच्च अदालतमा पठाइदिनु भन्ने आय र कर अदालतको ०२६।३।१५।१ को आदेश ।
१३. रजिष्ट्रेशन पास भएको ०२३।१०।१९ बाट ६ महिना पुग्ने ०२४।४।१८ गते र विपक्षीले थाहापाएको चाहीँ २४।५।१५ गते भन्नेमा आफै सावित हुँदा सो कुरा थाहा पाए नपाएको प्रमाण बुझी इन्साफ दिनुपर्ने कुरो भएकोले प्रतिवादी मदनबहादुरलाई अ.बं.२०२ नं. बमोजिम छलफलमा झिकाई पेश गर्नु भन्ने २६।१०।१६।५ को डिभिजन बेञ्चको आदेश ।
१४. असामी गोविन्दबहादुरको हकवाला हुँदा निखन्न पाउँ भनी चन्द्रबहादुर, मदनबहादुर दुवैजना वादीको रुपमा खडा भई दर्खास्त गरेको ती २ जना परस्परमा वादी प्रतिवादी भई मैले निखन्न पाउनुपर्ने भन्ने एकको भनाइमा अर्कोले प्रतिवाद गर्ने मौका पाई कारवाई चलेको नदेखिएको र यस किसिम हकवाला हुँ निखन्न पाउँ भन्ने २ जनाको छुट्टाछुट्टै दर्खास्त परी विवाद खडा हुन आएको विषयमा ती २ मध्ये कसले निखन्न पाउने हक छ भनी ठहराउनुलाई र मदनबहादुरले थाहापाएको मितिको उपस्थित प्रश्नमा समेत सबूद प्रमाण बुझी न्यायिक निर्णय दिनुपर्ने कुरा रजिष्ट्रेशनको ३५ नं.२ दफाले माल तहबाटै गर्न पाउने अधिकारक्षेत्र नभएकोसमेत हुँदा मोरङ मालले गरेको पर्चा र जिल्लाप्रमुख अधिकारी जिल्ला पञ्चायत कार्यालय मोरङ विराटनगरबाट गरेको फैसलासमेत अ.बं.३५ नं. बमोजिम बदर नहुने ठहर्छ । अब यसै मुद्दाबाट दुवै पक्षलाई उपस्थित गराई बयान लिई लाग्ने कोर्टफीसमेत असूल गरी जो जे बुझ्नुपर्ने बुझी कानूनबमोजिम न्यायिक निर्णय गरिदिनु भनी शुरु मिसिल न्यायप्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को दफा ५ (क) बमोजिम कोशी अञ्चल अदालतमा पठाइदिनु भन्ने ०२७।८।२१।१ को डिभिजन बेञ्चको फैसला ।
१५. उक्त फैसला दोहर्याइपाउँ भन्ने मदनबहादुर कार्की क्षेत्रीको निवेदनमा यसमा हकवालाले निखन्ने विषयमा भएको कानूनी व्यवस्था हेर्दा लेनदेन व्यवहारको ११ नं.मा कसैले आफ्नो हक पुग्ने चलअचल गैह्र विक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्न नपर्नेमा दाखिल खारेज भएका मितिले ६ महिनासम्ममा थाहापाएको ३५ दिनभित्र सो हकवालाले निखनी लिन पाउँछ सो म्याद नाघेपछि किने बेचेको पक्का हुन्छ । एकाघर सगोलमा मुख्यले थाहापाएकोमा सगोलमा भएका सबै हकवालाले थाहापाएको ठहर्छ । हकवालाले निखनी लिन पाउने अवस्थामा धेरै हकवालाले निखन्न चाहेमा सबैभन्दा नजिकको हकवालाले र त्यस्तो नजिकको बराबरका हकवाला पनि धेरैले निखन्न चाहेमा सोमध्ये सन्धीसर्पन पर्ने हकवालाले र त्यस्तो सन्धीसर्पन पर्ने हकवाला नभए नजिकका बराबरका हकवालामा सबैले दामासाहिले निखन्न पाउँछन् । नजिकको हकवालाले किनेकोमा भने यस नम्बरबमोजिम टाढाको अर्को हकवालाले निखन्न पाउँदैन भन्ने लेखिएकोले मुख्य कुरा उक्त ऐनले नजिकको हकवाला जो हो उसैले प्राथमिकता पाउने भएको र चन्द्रबहादुरले आफ्नो दर्खास्तमा जग्गा विक्री गर्ने भनेको गोविन्दबहादुरलाई मेरा जेठा बाबुको नाति मेरो भतिजो हुन् भनी उल्लेख गरेको निवेदक मदनबहादुरले गोविन्दबहादुर मेरो सहोदर भाइ नाताको हो भन्ने लेखाएको र निज मदनबहादुर गोविन्दबहादुरको भाइ होइन टाढाको हकदार हो भन्न चन्द्रबहादुरले नसकी मिसिल सामेल रहेको चन्द्रबहादुरले ०२४ साल आश्विनमा हुलाकद्वारा पठाई सो निवेदन मैले चढाएको हो भनी ०२४।१२।८।५ मा मोरङ मालमा सनाखत कागज गरेको निवेदनमा विपक्षी मभन्दा नजिकका हकदार हुन् भन्ने कुरा लेखिएकोबाट चन्द्रबहादुरभन्दा नजिकको हकदार मदनबहादुर हुन् भन्ने कुरामा कुनै विवाद नदेखिएको नजिक टाढाको हकदारमा प्रतिवाद गर्न नपाएको भनी फेरि मौका दिइरहनुपर्ने देखिएन । कसले निखन्न पाउने हो भन्ने ठहराउनलाई माल तकबाटै गर्न अधिकार नभएको भन्ने सर्वोच्च अदालतको अर्को जुन तर्क छ त्यसतर्फ विचार गर्दा त्यस तर्कलाई रजिष्ट्रेशनको ३५ नम्बरको २ दफाले टेवा दिएको देखिन्छ तर सो ऐनअनुरुप विवादको प्रश्न उठेको चन्द्रबहादुर र किन्नेसमेतको लेखाइबाट देखिँदैन किनभने उपरोक्त उल्लिखित चन्द्रबहादुरका लेखाइबाट नजिकको मदनबहादुर देखिएको र लिनेले निखन्न दिन मञ्जुर छु भनी लेखिदिएको देखिँदा सो रजिष्ट्रेशनको ३५ नं.को २ दफाले मालबाट कसले निखन्न पाउने हक छ भनी ठहराउन नपाउने भन्ने सर्वोच्च अदालतको तर्क युक्तिसंगत देखिँदैन । बल्की सोही ऐनको दफा १।२ ले बिरोध नजनाएको कुरामा माललाई निखन्ने विषयमा कारवाही गर्ने र निर्णय दिने पूर्णतया अधिकार प्रदान गरेको देखिन्छ । त्यसका अतिरिक्त उपरोक्त रजिष्ट्रेशनको ३५ नं.अनुसार बिरोध नभएको कुरामा लेनदेन व्यवहारको ११ नं.र १६ नं.ले निखन्ने विषयमा नजिक टाढा र निखन्न पाउने नपाउने रीत वेरीत इत्यादि कुराको ठहर गरी निखनाइदिने काम गर्न पाउने देखिन्छ । अब मदनबहादुरले थाहापाएको मितिको उपस्थित प्रश्न भन्ने सर्वोच्च अदालतको अर्को तर्क गरेतर्फ मदनबहादुरको धरौटी दाखिल गर्दाको दुवै दर्खास्त हेर्दा मलाई थाहै नदिई बीचबीचै राजीनामा पास गर्ने गराउने गरेछन् । सो कुरा मौकामा थाहा नभएको र ०२४।४।१८ गते गाउँघरमा यस्तो जग्गा खरीद विक्री गरे भन्ने सुनेको र मालमा आई उक्त राजीनामाको नक्कल सारी हेर्दा सम्पूर्ण थाहा भयो भन्ने उल्लेख भएको उल्लिखित लेखबाट ०२४।४।१८ मा थाहापाएको कुरा स्पष्ट छँदैछ । नक्कल भनेको जुनसुकै बखत पनि लिन सक्ने र अगाडि नै थाहा पाएको छु भन्दाभन्दै पनि यस्तो स्थितिमा नक्कल लिएको मिति कायम गर्नुपर्छ भन्न न्यायिक र व्यवहारिक दृष्टिसमेत कुनै कुराले पनि नहुने र कानूनी रीत पुगेको र म्यादभित्रको उजूर छ छैन विचार गरी लिन सक्ने अधिकार माललाई भएकै हुँदा थाहा पाएको मिति ०२४।४।१८ भन्ने कुरा दर्खास्तमा उल्लेख भएको कुरालाई कानूनी मानी मालले निखन्न पाउने नपाउने तर्क गरी मदनबहादुरले निखन्न पाउने ठहराएको कुरा कानूनी नै हुँदा कसैले कानूनी र न्यायिक हक अधिकारसम्बन्धी विवाद नउठाएको कुरामा अदालतले नै आपत्ति जनाई प्रश्न बनाई फेरि अञ्चल तहबाट मुद्दा गरी आउनुपर्ने परिपाटी रहँदा छिटो छरितोको बदला ढीलो, बोझिलो, खर्चिलो आदि परिपाटी पनि बस्न जाने देखिएको समेत प्रमाण परिवन्धबाट रजिष्ट्रेशनको ३५ नं.को २ दफाले मालबाट गर्न पाउने अधिकार नभएको भनी अ.बं.३५ नं.ले माल र जिल्ला प्रमुख अधिकरीको निर्णय बदर गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहर्याउन आदेश बक्सनुपर्ने भनी समितिबाट सिफारिस गरेकी जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधान धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइदिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२८।४।९।१ को हुकूम प्रमांगी ।
१६. बक्स भई आएको हुकूम प्रमांगीबमोजिम गर्नानिमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई विपक्षीलाई दिन १५ पन्ध्र र निवेदकलाई दिन ७ सातको म्याद दिई झिकाई फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभागमार्फत पठाइदिनु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको ०२८।४।२४।२ को आदेश ।
१७. यसमा निवेदक मदनबहादुरको वारेस कमलमान विपक्षी चन्द्रबहादुर रोहवरमा रही ०२८।११।३ गते पेश भई निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको वहस सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा निर्णयतर्फ हेर्दा गोविन्दबहादुरले केवलरामलाई र इन्द्रप्रसादलाई राजीनामा गरिदिएको जग्गा हकवाला हुनाले हक सफा गराइपाउँ भन्ने निवेदक मदनबहादुरको र विपक्षी चन्द्रबहादुरको छुट्टाछुट्टै दरखास्त परेकोमा साहू केवलराम र इन्द्रप्रसादले थैली बुझी निखन्न दिनमा मञ्जुरै गरेको देखिन्छ ।
१८. सर्वप्रथम त प्रस्तुत केशमा हकवाला हुँदा हक सफा गरिपाउँ भन्ने निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुर दुवैको छुट्टाछुट्टै मालमा दरखास्त परेकोबाट हकवालाले निखन्ने विषयमा लेनदेन व्यवहारको ११ नं.को कानूनी व्यवस्थाअनुसार निखन्न पाउने हकवाला ती ३ मध्ये कुन कायम भई कसले हक निखन्न पाउने हुन आउँदछ भन्ने कुराको निर्णय गर्नुपर्ने प्रश्न उपस्थित हुन आउँछ र त्यस प्रश्नमा निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुरको बीचमा निखन्न पाउने कानूनी व्यवस्थाअनुसारको हकवाला म हुँ भन्ने कुराको परस्पर दावा गर्ने र प्रतिवाद गर्ने मौका पनि पाउनुपर्ने देखिन आउँछ । यस्तो विवाद उत्पन्न भएकोमा हक निखन्न पाउने हक कसको छ भन्ने ठहराई न्यायिक निर्णय गर्नुपर्ने स्थितिको विवाद खडा भएको प्रस्तुत केशमा विपक्षी चन्द्रबहादुर भन्दा नजिकको हकदार मदनबहादुर भनी निखन्न पाउने ठहराई मालले निर्णय गर्न पाउने र थाहापाएको मितिको प्रश्नसमेत समावेश गरी मदनबहादुरले दिएको दरखास्तबमोजिम थाहापाएको मितिको प्रश्नमा समेत रजिष्ट्रेशनको ३५ नं.अनुसार सबूद बुझी न्यायिक निर्णय गर्न पाउनेसमेत माल कार्यालयलाई अधिकार प्राप्त भएको देखिँदैन । मालबाट ऐनबमोजिम नालिस गर्नु भनी सुनाउनु पर्ने थियो ।
१९. तसर्थ उपरोक्त उल्लिखित कारणले माल कार्यालयबाट उल्लिखित निर्णय गर्न नपाउने प्रस्तुत केशमा निर्णय गरेको मोरङ माल कार्यालयको र जि.प्र.अधिकारी जि.पं.का.मोरङको निर्णय अ.बं.३५ नं.ले समेत बदर हुने हुनाले सो बदर गरी अब यसै मुद्दाबाट दुवै पक्ष उपस्थित गराई बयान लिई लाग्ने कोर्टफीसमेत असूल गरी जो जे बुझ्नुपर्ने बुझी कानूनबमोजिम न्यायिक निर्णय गरिदिनु भनी कोशी अञ्चल अदालतमा पठाइदिने ठहराएको डिभिजन बेञ्चको ०२७।८।२१।१ को इन्साफ मनासिव ठहर्छ । मुद्दा दोहराएमा लाग्ने कोर्टफी दाखिल गरेको देखिनाले अरु केही गर्नु परेन । मिसिल नियमबमोजिम बुझाइदिनु ।
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
न्या. विश्वनाथ,
न्या. ब्रहृमदत्त तिवार
इति सम्वत् २०२८ साल फागुन १३ गते रोज ६ शुभम् ।