August 10, 1973
Created by nepalarchives

निर्णय नं. ७५७ – लेनदेन

निर्णय नं. ७५७           ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत्...

निर्णय नं. ७५७           ने.का.प. २०३०

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०२९ सालको दे.फु.नं. ११७

फैसला भएको मिति : २०३०।४।२६।६

निवेदक : का.जि.पकनाजोल बस्ने शुदर्शन पन्त

विरूद्ध

विपक्षी : का.जि.ठमेल भगवान बहाल बस्ने मायादेवी खत्री क्षेत्रिनी

मुद्दा : लेनदेन

(१)   ल्याप्चे सहिछाप आफ्नो हो भन्ने स्विकार गरेकै भएपछि विशेषज्ञलाई सहिछाप जँचाई रहन पर्ने प्रयोजन नहुने ।

            यसमा वादी दावीको तमसुकमा लागेको ल्याप्चे सहिछापको रेखा प्रष्ट नभएकोबाट कागज जाँचको ५ नं.ले नालेस खारेज हुने भनी बागमती अञ्चल अदालत र सोही सदर गरी ०२८।३।२४ को डिभिजन बेञ्चले छिनेकोले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नु पर्ने हुन आएको छ, सो तमसुकमा लागेको ल्याप्चे सहिछाप मेरो हैन कीर्ते हो भन्ने प्रतिवादीको भनाई नभई ल्याप्चे सहिछाप आफ्नो हो भन्ने कुरा प्रतिवादीले स्वीकार गरेकै भएपछि विशेषज्ञलाई सहिछाप जाँच गराई रहनुपर्ने प्रयोजन थिएन । उक्त तमसुकमा लागेको ल्याप्चे सहिछाप बुझिने नबुझिने के कस्तो रहेछ भन्नेतर्फ हेर्दा उक्त ल्याप्चे सहिछाप कत्ति पनि नबुझिने भन्ने विशेषज्ञको भनाई नभई राम्रो प्रष्ट नभएको भन्नेसम्म भनाई भएको र सक्कल तमसुक हेर्दा त्यसमा लागेको ल्याप्चे सहिछाप ऐन बमोजिम शंख चक्रको रेखा नै प्रष्ट नदेखिने र नबुझिने नभई लिखत शिरमा लागेको बायाँ ल्याप्चे बुझिने नै देखिएको हुनाले कागज जाँचको ५ नं. बमोजिम उक्त तमसुकबाट नालेसै नलाग्ने भन्न मिल्ने देखिएन, फ्नो लोग्ने जगतबहादुरसमेत मिली जालसाज गरी राती सुतेको टायममा सहिछाप गराएको भन्ने प्रतिवादीको मुख्य जिकिर भएको हकमा यिनै प्रतिवादी वादी मायादेवीको र निजको लोग्ने जगतबहादुरको यो भन्दा पहिले परेको अंश मानाचामल मुद्दामा जगतबहादुरले स्वास्नी नै होइन भनेमा यिनै प्रतिवादी मायादेवीले ०२०।४।३।५ मा का.दे.ई.अ.मा बयान गर्दा सुदर्शन पन्तलाई मैले ०१५।३।३ मा रू.१०२५। को भोगबन्धकी लिखत गरी दिएकोमा लोग्ने जगतबहादुर अन्त साक्षी बसेका छन् बुझी पाउँ भनी लेखेकी र उक्त मुद्दामा सोही तमसुकसमेतको प्रमाण लगाई प्रतिवादी मायादेवी जगतबहादुरकी स्वास्नी ठहरी ०२६।३।२०।६ मा बागमती अञ्चल अदालतबाट समेत फैसला भएको देखिएकोले पहिले प्रतिवादी मायादेवी आफैंले स्वीकार गरी सकेकी उक्त लेनदेनको तमसुकको सहिछाप जालसाज गरी राती सुतेको टायममा गराएको भन्ने यो मुद्दामा जिकिर लिएको कुरा साँचो मान्न नमिल्ने हुँदा वादी दावी बमोजिम कर्जा लिई प्रतिवादी मायादेवीले तमसुक गरी दिएको देखिन आउँछ । वादीमा ब्याजसमेत दावी गरेकोले ब्याज पाउने नपाउने के रहेछ भन्ने तर्फ हेर्दा यस्तो रजिष्ट्रेशन पास हुन नसक्ने तमसुकको सम्बन्धमा रजिष्ट्रेशनको ६ नं.मा लिखत बमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको ब्याजसमेत साहूले कपाली सरह भराई लिन पाउने व्यवस्था भइराखेकै पाइन्छ, भोगबन्धकी लेखिएको घर वादीले भोग गरेको भन्ने प्रतिवादीकै भनाई छैन भोग गर्न नपाएकोमा ब्याजसमेत बुझाउँला भन्ने शर्त तमसुकमा प्रष्ट रूपले उल्लेख नभएकोले लेनदेन व्यवहारको ६ नं.अनुसार ब्याज नपाउने हो कि भन्नालाई रजिष्ट्रेशनको ६ नं. लाई अलग राखी लेनदेन व्यवहारको ५ नं. लाई ध्यानमा राखी हेर्ने हो भने पनि उक्त तमसुकमा व्याजको कुरा उल्लेख नभएको नभई साहूले धितो चलन गर्ने साहूले रूपैयाँ ब्याज र आसामीले घर जग्गाको बहाल बाली खोज्ने छैनौं भनी लेखाएको साहूबाट धितो चलन नभएमा ब्याजसमेत तिर्ने मनसाय राखी उक्त लिखत भए गरेको देखिन आउँछ दे.फु.नं.१३३ वादी हरिप्रसाद प्रतिवादी रुकमिनादेवीको लेनदेन मुद्दामा ०२९।१।२०।३ को फुल बेञ्चबाट निर्णय हुँदा पास नभई कपाली भएको यस्तै किसिमको लिखतको ब्याजसमेत पाउने ठहर भइराखेकोसमेत हुँदा सो नजीरबाट समेत ब्याज नपाउने भन्ने मिल्ने देखिएन दावी बमोजिम सावाँ रू.१०२५। र लेनदेन व्यवहारको ४ नं.अनुसार पुनरावेदन फैसला भएका मितिसम्मको ऐन बमोजिम ब्याजसमेत थपी भराई दिनुपर्नेमा तमसुकको मिति १५।३।३ ले सो फैसला हुँदाको मितिसम्म १० बर्ष नाघिसकेको हुँदा लेनदेन व्यवहारको ७ नं. बमोजिम सावाँ बराबर ब्याज रू.१०२५। समेत जम्मा साँवा ब्याज रू.२०५०। दुई हजार पचास रूपैयाँ वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ दावी बमोजिम सावाँ ब्याज भरी पाउने ठहराई काठमाडौं जिल्ला अदालतले ०२२।१२।२१।१ मा छिनेको इन्साफ मनासिव छ वादी दावी नै खारेज हुने ठहराएको बागमती अञ्चल अदालतको सदर गरी ०२८।३।२४।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : वैतनिक अधिवक्ता सुरेन्द्रबहादुर प्रधान

उल्लिखित मुद्दा : (दे.फू.नं.१३३ वादी हरिप्रसाद प्रतिवादी रुकमिणा देवी, लेनदेन)

फैसला

            न्या. रत्नबहादुर बिष्ट

            १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको ०२९।२।९।२ को हुकुम प्रमांगी बमोजिम दोहोरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।

            २.    मुद्दाको विवरण यसप्रकार छ : विपक्षले मबाट ०१५।३।३ गते रू.१०२५। कर्जा लिई घर भोगबन्धकी दिएको लिखत पास नगरी कपाली भएकोले लिखत मिति ०१५।३।३ देखि ०२१।१।२।२ तक बर्ष ५।९ को ब्याज रू.५८९।३८ र सावाँ रू.१०२५। समेत जम्मा रू.१६१४।३८ र मुद्दा किनारा हुँदाको मितिको व्याजसमेत भराई पाउँ भन्ने सुदर्शन पन्तको फिरादपत्र ।

            ३.    वादीबाट रूपैयाँ सापटी लिएको छैन लिखत भएपछि पास हुनुपर्ने मेरो लोग्ने र वादी मिली जालसाजी झुक्याई गराएको हो सक्कल देख्न पाए जालसाजीमा बयान गर्नेछु भन्नेसमेत मायादेवीको प्रतिवादी ।

            ४.    लिखत सुनें १९ सालमा लेग्नेसँग मानाचामलमा मुद्दा परेको थियो लोग्नेले आफ्नो मेली मानिस सुदर्शनलाई साहू खडा गराई १५ साल आषाढ हो राती सुतेको बखतमा लेखे वा नलेखेको कस्तो कागज हो सहिछाप गराई तमसुक खडा गरे गराएको हुन । मैले जानाजान सही गरेको छैन । झुक्याई जालसाज गरेको हुन कि भन्ने लाग्छ सहिछाप भिडाई यकिन गरिपाउँ भन्नेसमेत प्रतिवादीको बयान ।

            ५.    वादीको र जगतबहादुरको मानाचामल मुद्दामा सुदर्शनबाट कर्जा लिएको छु भनेको निजले कर्जा नलिएको भए त्यस्तो लेख्नु नपर्ने जालसाजी गरेको होइन भन्नेसमेत सुदर्शनको बयान ।

            ६.    रूपैयाँ बुझी सहिछाप गरेको हुँ जालसाज गरेको होइन भन्नेसमेत विष्णुप्रसादको बयान ।

            ७.    मानाचामल मुद्दामा बयान गर्दा सुदर्शनसँग कर्जा लिई खाएको छु भनेको र सो तमसुकमा लोग्ने जगतबहादुरले मेरो स्वास्नी हो भनी साक्षी बसेको छ भनी प्रमाण दिएकोले तिर्न नपर्ने भन्न नहुने हुँदा वादी दावी बमोजिम सावा ब्याज वादीले भरी पाउने ठहर्छ भन्नेसमेत का.जि.अ.को फैसला ।

            ८.    उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा अञ्चल अदालतबाट निर्णय हुँदा सावा ब्याज भराई पाउँ भनेको लिखत रेखा विशेषज्ञसँग जाँच गराउँदा ल्याप्चेको फोटोसमेत बाट रेखाहरू प्रष्ट नभएकोबाट राय दिन नसक्ने भनी अपराध अनुसन्धान विभाग रेखा संग्रालयबाट रिपोर्ट प्राप्त भएको, वार्ड गठन गर्ने आदेश बमोजिम बुझ्दा रेखा विशेषज्ञ नभएको भन्ने जवाफ आएको, रेखा प्रष्ट नबुझिने लिखत कागज जाँचको ५ नं. ले प्रमाण नलाग्ने हुनाले त्यस्तो लिखतबाट वादीको उजूर लाग्न नसक्ने खारेज हुने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको हदमुनि गरी ०२५।१२।२६।३ मा फैसला भएको ।

            ९.    इन्साफ जाँच गरिपाउँ भन्ने वादीको निवेदनबाट सैकडी ५ मा इन्साफ जाँच हुने भई डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीले पेस गरेको लिखतमा लागेको सहिछाप प्रष्ट नभई जाँच हुन नसक्ने भन्ने रेखा विशेषज्ञको प्रतिवेदन देखिएको सहिछाप हेर्दा पनि अप्रष्टै नै देखिन आउँछ अस्प्रष्ट भए सोही व्यहोरा जनाई अरू औंठाको सहिछाप लगाउन सक्नुपर्ने सो केही नदेखिँदा तत्कालिन कागज जाँचको २० नं. र हालको मुलूकी ऐन कागज जाँचको ५ नं.ले प्रमाण नलाग्ने हुँदा वादी खारेज गरेको अञ्चल अदालतको मनासिव छ भन्नेसमेत ०२८।३।२४ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

            १०.    यस बेञ्च समक्ष निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले तमसुकमा लागेको ल्याप्चे सहीछापमा बायाँ हातको बुढी औंलाको चाहिँमा रेखा देखिने हुँदा सहिछाप नबुझिने भनी खारेज गरेको मिलेको छैन प्रतिवादीले सहिछाप मेरो होइन भन्न नसकेकी र यिनै प्रतिवादीले लोग्ने जगतबहादुरसँगको मानाचामल मुद्दामा २०।४।३।५ मा बयान गर्दा यो तमसुक आफूले गरिदिएको र त्यसमा लोग्ने जगतबहादुर साक्षी बसेकोसमेत कुरा खुलाई बयान गरिसकेकीले झुक्याई सही गराएको भन्ने भनाई झुठ्ठा देखिएकोसमेत हुँदा दावीबमोजिम सावाँ ब्याज भरी पाउनुपर्छ भन्नेसमेत र प्रतिवादी तर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री सुरेन्द्रबहादुर प्रधानले विशेषज्ञले तमसुकको सहिछाप नबुझिने भनी लेखी दिएको त्यस्तो सहिछाप नबुझिने कागजबाट कागज जाँचको ५ नं.ले नालेस लाग्न नसक्ने हुँदा अरू कुरा विचार गरी रहन पर्ने अवस्था छैन नालेस खारेज हुनपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

            ११.    यसमा वादी दावीको तमसुकमा लागेको ल्याप्चे सहिछापको रेखा प्रष्ट नभएकोबाट कागज जाँचको ५ नं.ले नालेस खारेज हुने भनी बागमती अञ्चल अदालत र सोही सदर गरी ०२८।३।२४ को डिभिजन बेञ्चले छिनेकोले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नु पर्ने हुन आएको छ, सो तमसुकमा लागेको ल्याप्चे सहिछाप मेरो हैन कीर्ते हो भन्ने प्रतिवादीको भनाई नभई ल्याप्चे सहिछाप आफ्नो हो भन्ने कुरा प्रतिवादीले स्वीकार गरेकै भएपछि विशेषज्ञलाई सहिछाप जाँच गराई रहनुपर्ने प्रयोजन थिएन । उक्त तमसुकमा लागेको ल्याप्चे सहिछाप बुझिने नबुझिने के कस्तो रहेछ भन्नेतर्फ हेर्दा उक्त ल्याप्चे सहिछाप कत्ति पनि नबुझिने भन्ने विशेषज्ञको भनाई नभई राम्रो प्रष्ट नभएको भन्नेसम्म भनाई भएको र सक्कल तमसुक हेर्दा त्यसमा लागेको ल्याप्चे सहिछाप ऐन बमोजिम शंख चक्रको रेखा नै प्रष्ट नदेखिने र नबुझिने नभई लिखत शिरमा लागेको बायाँ ल्याप्चे बुझिने नै देखिएको हुनाले कागज जाँचको ५ नं. बमोजिम उक्त तमसुकबाट नालेसै नलाग्ने भन्न मिल्ने देखिएन, फ्नो लोग्ने जगतबहादुरसमेत मिली जालसाज गरी राती सुतेको टायममा सहिछाप गराएको भन्ने प्रतिवादीको मुख्य जिकिर भएको हकमा यिनै प्रतिवादी वादी मायादेवीको र निजको लोग्ने जगतबहादुरको यो भन्दा पहिले परेको अंश मानाचामल मुद्दामा जगतबहादुरले स्वास्नी नै होइन भनेमा यिनै प्रतिवादी मायादेवीले ०२०।४।३।५ मा का.दे.ई.अ.मा बयान गर्दा सुदर्शन पन्तलाई मैले ०१५।३।३ मा रू.१०२५। को भोगबन्धकी लिखत गरी दिएकोमा लोग्ने जगतबहादुर अन्त साक्षी बसेका छन् बुझी पाउँ भनी लेखेकी र उक्त मुद्दामा सोही तमसुकसमेतको प्रमाण लगाई प्रतिवादी मायादेवी जगतबहादुरकी स्वास्नी ठहरी ०२६।३।२०।६ मा बागमती अञ्चल अदालतबाट समेत फैसला भएको देखिएकोले पहिले प्रतिवादी मायादेवी आफैंले स्वीकार गरी सकेकी उक्त लेनदेनको तमसुकको सहिछाप जालसाज गरी राती सुतेको टायममा गराएको भन्ने यो मुद्दामा जिकिर लिएको कुरा साँचो मान्न नमिल्ने हुँदा वादी दावी बमोजिम कर्जा लिई प्रतिवादी मायादेवीले तमसुक गरी दिएको देखिन आउँछ । वादीमा ब्याजसमेत दावी गरेकोले ब्याज पाउने नपाउने के रहेछ भन्ने तर्फ हेर्दा यस्तो रजिष्ट्रेशन पास हुन नसक्ने तमसुकको सम्बन्धमा रजिष्ट्रेशनको ६ नं.मा लिखत बमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको ब्याजसमेत साहूले कपाली सरह भराई लिन पाउने व्यवस्था भइराखेकै पाइन्छ, भोगबन्धकी लेखिएको घर वादीले भोग गरेको भन्ने प्रतिवादीकै भनाई छैन भोग गर्न नपाएकोमा ब्याजसमेत बुझाउँला भन्ने शर्त तमसुकमा प्रष्ट रूपले उल्लेख नभएकोले लेनदेन व्यवहारको ६ नं.अनुसार ब्याज नपाउने हो कि भन्नालाई रजिष्ट्रेशनको ६ नं. लाई अलग राखी लेनदेन व्यवहारको ५ नं. लाई ध्यानमा राखी हेर्ने हो भने पनि उक्त तमसुकमा व्याजको कुरा उल्लेख नभएको नभई साहूले धितो चलन गर्ने साहूले रूपैयाँ ब्याज र आसामीले घर जग्गाको बहाल बाली खोज्ने छैनौं भनी लेखाएको साहूबाट धितो चलन नभएमा ब्याजसमेत तिर्ने मनसाय राखी उक्त लिखत भए गरेको देखिन आउँछ दे.फु.नं.१३३ वादी हरिप्रसाद प्रतिवादी रुकमिनादेवीको लेनदेन मुद्दामा ०२९।१।२०।३ को फुल बेञ्चबाट निर्णय हुँदा पास नभई कपाली भएको यस्तै किसिमको लिखतको ब्याजसमेत पाउने ठहर भइराखेकोसमेत हुँदा सो नजीरबाट समेत ब्याज नपाउने भन्ने मिल्ने देखिएन दावी बमोजिम सावाँ रू.१०२५। र लेनदेन व्यवहारको ४ नं.अनुसार पुनरावेदन फैसला भएका मितिसम्मको ऐन बमोजिम ब्याजसमेत थपी भराई दिनुपर्नेमा तमसुकको मिति १५।३।३ ले सो फैसला हुँदाको मितिसम्म १० बर्ष नाघिसकेको हुँदा लेनदेन व्यवहारको ७ नं. बमोजिम सावाँ बराबर ब्याज रू.१०२५। समेत जम्मा साँवा ब्याज रू.२०५०। दुई हजार पचास रूपैयाँ वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ दावी बमोजिम सावाँ ब्याज भरी पाउने ठहराई काठमाडौं जिल्ला अदालतले ०२२।१२।२१।१ मा छिनेको इन्साफ मनासिव छ वादी दावी नै खारेज हुने ठहराएको बागमती अञ्चल अदालतको सदर गरी ०२८।३।२४।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी सुदर्शन पन्तके काठमाडौं जिल्ला अदालतको २२।१२।२१।१ को फैसलाले भराई दिने गरी लगत कसेको बिगो र कोर्टफी अरू दस्तूरसमेत रू.१९०५।४४ बागमती अञ्चल अदालतको ०२५।१२।२६ को फैसलाले लगत कट्टा गरी दिने गरेकोमा सो अनुसार गर्नु पर्दैन उक्त लगत कायम राख्नु र उक्त बिगो भराई पाउँ भन्ने वादीको दर्खास्त परेमा कोर्टफी रू.८०।६७ को हकमा प्रतिवादीले शुरु उपर वा.अं.अ.मा पुनरावेदन गर्दा ०२३।३।७।३ मा धरौट राखेको हुँदा सो रू.८०।६७ को हकमा उक्त धरौट रहेकोबाट बाँकी प्रतिवादीको जायजेथाबाट कानूनबमोजिम भराई दिनु भनी का.जि.अ.तहसील फाँटमा लगत दिनु…..१

प्रतिवादी मायादेवीले वा.अं.अ.मा पुनरावेदन गर्दा ०२३।३।७।३ मा धरौट राखेको रू.८०।६७ निज प्रतिवादीलाई नै फिर्ता दिने गरेको वा.अं.अ.को ०२५।१२।२६।३ को फैसला बमोजिमको लगत काटी दिनु भनी ऐन ऐ……………….२

वादी सुदर्शन पन्तके प्रतिवादी मायादेवीबाट भरी पाउने देहाय बमोजिम बिगो भराई पाउँ भनी देहायको म्यादभित्र दर्खास्त दिएमा देहाय बमोजिम गरी भराई दिनु भनी ऐ…………….३

यो फैसला बमोजिम भरी पाउने ठहरेको सावाँ ब्याज गरी रू.२०५०। मध्ये रू.१८२४।८ काठमाडौं जिल्ला अदालतको ०२२।१२।२१।१ को फैसलाले भराई दिने गरी सकेको हुँदा सो कट्टा गरी बाँकी रू.२२५।९२ को हकमा दण्ड सजायको ४२ नं.को म्याद ३ बर्ष भित्र दर्खास्त दिएमा सैकडा २।५० दस्तुर लिई भराई दिने कलम १, मुद्दा दोहर्‍याउँदा सर्वोच्च अदालतमा ०२९।६।५।५ मा दाखिल गरेको कोर्टफी रू.८।८ कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिने कलम १

वादी सुदर्शन पन्तले यो फैसलाबाट थप भरी पाउने ठहरेको बिगो रू.२०५०। को कोर्टफी ऐन, ०१७ को अनुसार कोर्टफी रू.१०२। लाग्नेमा शुरुमा दाखिल भएको रू.८०।६७ कटाई बाँकी रू.२१।३३ कानूनबमोजिम प्रतिवादी मायादेवीबाट असूल भए जति निजबाट असूल हुन नसकेमा वादी सुदर्शनबाट रुजु हुँदा असूल गरी ऐ.ऐ…………………४

नियमबमोजिम मिसिल बुझाई दिनू…………………५

 

न्या. झपटसिंह रावल,

 

मेरो सहमती छ ।

न्या. त्रैलोक्यराजको राय

            यसमा दावीको तमसुकका शिरमा लगेको ल्याप्चे सहिछाप बुझी नसक्ने अवस्थाकै देखिन आएको हुँदा वादीको नालेस लाग्ने नै र सावाँ भराई दिने गरेतर्फ उपरोक्त ठहरमा म पनि सहमत छु ब्याजको हकमा रजिष्ट्रेशनको ५ नं. बमोजिम साहूले म्यादभित्र नालिस गरी पास गराई लिनुपर्ने अभिभारा साहू उपर नै रहेको देखिन आएकोमा सो बमोजिम पारित गर्ने अभिभारा साहूले पत्याएको देखिन नआई लिखत कपाली हुन आएको देखिएको, रजिष्ट्रेशन ७ नं.ले साहूले पारित गर्ने दावी नगरेमा आसामीले पनि नालिस गर्न पाउने व्यवस्था भएको र सो बमोजिम आसामीले नालिस गरी पास हुने ठहरेकोमा पनि साहूले रजिष्ट्रेशन नगराएमा कपालीमासमेत दावी गर्न पाउँदैन भनी भन्ने व्यवस्था भएको देखिएको तदअनुसार आसामीले पनि नालिस गरी पास हुने गराएको नदेखिएकोबाट कपालीमासमेत दावी गर्न पाउँदैन भनी भन्न नमिल्ने हुन आएकोले कपालीतर्फबाट साहुले दावी गर्न पाएको देखिन आएको ।

            रजिष्ट्रेशन ६ नं.मा रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भने भोग गर्न नपाए जतिको ब्याजसमेत लिन पाउँछ भन्ने लेखिएको देखिन्छ । रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भन्ने ऐनको बोली अनुसार साहूले रजिष्ट्रेेशन गराई लिन नसक्ने स्थिति केही खडा भएको हुनु पर्दछ । जम्मै आसामीले कुनै किसिमको बाधा बखेडा गरी ऐन बमोजिम नालिस उजूर गर्दागर्दै पनि कुनै ऐनले नै पास हुन बाधा गरी पास हुन नसक्ने धितो कच्चा नकार इत्यादि कारण परी साहुतर्फबाट आफूले गर्नु पर्ने कानूनबमोजिमको प्रयास गर्दागर्दै पनि पारित हुन नसक्ने कारण परी पारित गराई लिन सकेको रहेनछ भने उक्त ६ नं. बमोजिम भोग गर्न नपाए जतिको ब्याजसमेत भराई लिन पाउने व्यवस्था भएको देखिन आएकोमा सो बमोजिम साहुले पारित गरिपाउँ भन्नेतर्फ आफूले गर्नु पर्ने कानूनबमोजिमको कुनै पनि उपचार नगरी आफैंले निचमारी कपाली गराई बसेको लिखतको उक्त ६ नं. बमोजिम ब्याजसमेत भरी पाउँछ भन्न कानूनसंगत देखिन नआउने र दावीको लिखत हेर्दा साहूले गर्नु पर्ने भोग चलन नगरी कपाली गराएमा ब्याजसमेत बुझाउँछु भन्ने बोली शर्त पनि केही भएको नदेखिएकोले लेनदेन व्यवहारको ६ नं.मा ब्याज बुझाउने लिखतको बोली शर्त नभएकोमा ब्याज पाउँदैन भन्ने प्रष्ट किटानी लेखिएको देखिएको र दावीको लिखतमा कपाली गराएमा ब्याजसमेत बुझाउँछु भन्ने शर्तको बोली पनि भएको नदेखिएकोले ब्याज भराउने गरेतर्फ मेरो राय सहमत नभएकोले छुट्टै राय गरेको छु ।

 

इति सम्वत् २०३० साल श्रावण २६ गते रोज ६ शुभम् ।