निर्णय नं. ६६५ – हाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने
निर्णय नं. ६६५ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७...
निर्णय नं. ६६५ ने.का.प. २०२९
फुल बेञ्च
माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२७ सालको देवानी फु.नं. १३०
फैसला मिति : २०२८।६।२६।३
पुनरावेदक : का.ई.नक्सालको हाल त्रिपुरेश्वर बस्ने क.प.मानशमशेर थापा क्षेत्रीसमेत जवान ३४ को वारेस भई आफ्ना हकमा समेत पद्मसुन्दर श्रेष्ठ
विरुद्ध
विपक्षी : जि.रौतहट प्र.झाझ दक्षिण मौजे पुनखा बस्ने बालकृष्ण गिरी समेत
मुद्दा : हाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने
(१) हक बेहकको प्रश्नै समावेश नभएमा माल र प्रमुख जिल्ला अधिकारीउपर पुनरावेदन नलाग्ने ।
सो माल र जिल्ला प्रमुख अधिकारीले गरेको पर्चाबाट पुनरावेदक र प्रमोदप्रसाद समेतका बीचमा जग्गा हकबेहक हुन जाने न्यायिक निर्णय भयो कि भएन भन्ने कुराको विषय नै मुख्य विषय हुन आएको छ र त्यसतर्फ विचार गर्दा पुनरावेदकहरूलाई सो ठाउँको जम्मै जग्गा हाल आवादी गर्न दिनु भन्ने हुकूम प्रमांगीमा उल्लेख भएको छैन । सो ठाउँको ६०० विगाहा आवाद गर्न दर्ता गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएको सो बक्स भएका हुकूम प्रमांगीबमोजिम पुनरावेदकसमेतका नाममा दर्ता हुनलाई नाप नक्सा भइरहेको बखत केही अंश पुरानो नम्बरी भनेको जग्गा छुट्याई बाँकी पर्ति जङ्गलबाट पुनरावेदकहरूलाई ६०० विगाहा जग्गा छुट्याई दिने आदेश गरेकोबाट कुनैको बीच हकबेहक छुट्टिनु पर्ने वा हकबेहक भएको भन्ने देखिएन र आवाद गर्न पाएको एरिया ४ किल्लादेखि बाहिरको जग्गा छुट्याई दिए भन्ने पनि पुनरावेदकको जिकिर नदेखिएको हुनालेसमेत हुकूम प्रमांगी भई बक्स पाएको एरियाभित्रको पर्ति जङ्गल जग्गा पुनरावेदकहरूलाई छुट्टयाई दिने गरेको पर्चामा हकबेहकको प्रश्न समावेश भयो भन्न नमिल्ने हुँदा हकबेहकको प्रश्नै समावेश नभएको हुँदा हकबेहकमा तहकिकात गर्न पठाउने भनी २७।९।२९।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्त तिवारीले गर्नुभएको राय मिलेको देखिएन । माथि लेखिएबमोजिम हकबेहकको प्रश्नै समावेश नभएको हुँदा उपरोक्त कारणहरूबाट पुनरावेदन नलाग्ने भनी गरेको रायसँग उक्त डिभिजन बेञ्चमा मा.न्या.श्री हेरम्बराजले व्यक्त गर्नुभएको राय मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।
(प्रकरण नं. ८)
पुनरावेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे,
विपक्षी तर्फबाट : अधिवक्ता मोतिकाजी स्थापित
फैसला
न्या.झपटसिंह रावल
१. जिल्ला रौतहट पत्रगाको विर्ता माल तालुक बागमती पूर्व ऐ.पश्चिम हरपुरवा कजरिया आवादीदेखि उत्तर वस्तदवालाप्रसादले पाएका जङ्गल पभिंगाको त्यस देखि माथि पुष्कर शमशेरले पाएको मलाहा जङ्गलदेखि दक्षिण यति ४ किल्लाभित्रको जग्गा आवाद गर्न पाउँ भन्ने क.प.मीनबहादुर बिष्ट क्षेत्रीसमेत जवान ४१ को मिति २०११।४।१८।२ को निवेदनपत्रमा व्यहोरा साँचो हो र कृषिको वन सीमाना बाहिरको हो भन्ने लेखिएको चार किल्लाभित्रको जग्गा कसैको सन्धिसर्पन नपरेको भए सवारी क्याम्प छाडी बाँकी रहेको विगाहा ६०० ऐनसवालबमोजिम दर्ता गरिदिनु भन्नेसमेत श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भएको ।
२. जि.रौ.प्र.चानी पूर्व मौजे हजरिया पञ्चायतको वडा नं.७ मा पर्ने जमीन मौजे हजरिया बैसटिको मेठबन्दीभित्रको ११ सालको हाल आवादी भई हामीले रौ.मालबाट रजिष्ट्रेशन पास गराई फार्छे गरी लिएको नरेन्द्रकुमारसे दक्षिण जिरायतसे पश्चिम चन्द्रकुमारी बाहुनीसे उत्तर यति चौहदीभित्रको ६ विगाहा र उक्त जग्गासे पश्चिम र टीकाप्रसादसे पश्चिम जङ्गलसे पूर्व हजरिया माल सीमानासे दक्षिण जिरायतसे उत्तर ८ विगाहा र बालकृष्ण गिरीका नाउँको नम्बरी माल सीमानासे दक्षिण नरेन्द्रकुमारसे उत्तर जिमिदारी जिरायतसे पश्चिमको ६ बिगाहामध्ये पश्चिमतर्फबाट ६ विगाहा र भुवनमञ्जरी (भुवनकुमारी) को नाउँको सोही ठाउँको कित्ता जोरी एकै मौजे हजरिया मालको जमीन निज हजरिया बासठ्ठीको सीमानासे उत्तर प्रेमादेवीको सो पश्चिम विक्रमबहादुरसे दक्षिणको २ विगाहा र सीमाना सो उत्तर प्रेममाया देवी सो पश्चिम विक्रमबहादुरसे दक्षिण उत्तरतर्फबाट २ विगाहा र अर्जुनकुमारसे दक्षिण प्रेमादेवीसे पश्चिम निज भुवनकुमारीसे उत्तर ७ विगाहा र मायादेवी श्रेष्ठनीको नाउँका नम्बरी विक्रमबहादुर सो उत्तर दक्षिण प्रेमादेवी सो पश्चिम ७ विगाहा र म भवानीदेवीको नाउँको ऐ.को नम्बरी धनवीरसे दक्षिण पर्ने सो पूर्व रामसुनरी सो उत्तर ९।।२ र परम सुनरी कुर्मिनीको नाउँको ऐ.को नम्बरी भवानीदेवीसे दक्षिण पैन सो पूर्व ५। र म रामबहादुर क्षेत्रीको नाउँको जेवप्रसादसे उत्तर ललनसे दक्षिण विश्वश्वरीसे पश्चिमको जग्गा विगाहा ६ समेत क.प.उतिमबहादुर समेतले पाउनु हुने भएको ६०० विगाहाभित्रको बुटेन जङ्गल देखाई खटिई गएका डोरले नापजाँच गरी ल्याउनुभएको र सर्भे टोलीले पनि हामीहरूको उजूरतर्फ ध्यान नै नदिई गैरकानूनी तरिकाबाट हामीहरूको नम्बरी जग्गाहरू ६०० विगाहाको बाउण्ड्री भित्र परी बाउण्ड्री गरिदिनु भएकोले हामीहरूको नम्बरी जग्गा हाम्रै दर्ता कायम गरिपाउँ भन्ने प्रमोदप्रसाद अर्यालले रौतहट मालमा चढाएको निवेदनपत्र ।
३. हजारिया मालको जम्मा विगाहा ५२।।१।।। वाउण्ड्रिभित्र परेको छ भनी प्र.चन्द्रपतिलालले प्रतिवेदन गरेको उजूरीबाट वासठ्ठीको नम्बरी जम्मा वि.४०।। परेको देखिएकोले जम्मा नम्बरी ज.वि.९३।१।।। जग्गा क.प.उत्तमबहादुरसमेतले पाएको ६०० विगाहाको वाउण्ड्रिभित्र परेको सर्भेको नापीनक्सा झिकाई हेरेमा ६०० विगाहाको उत्तरपश्चिम धेरै जग्गा देखिन आएको र सर्भेले गरेको वाउण्ड्रिभित्र पनि ६०० विगाहाभन्दा बढी विगाहा ४५।।३ देखिएकोले यो ६०० विगाहाको वाउण्ड्रीबाट कटाउनुपर्ने देखिन आएको यो ४५।।३ विगाहा उक्त ९३।१।।। मा कटाउँदा जग्गा वि.४७।।३।।। नपुग कट्टा गर्नुपर्ने देखिनाले सो टोली नं.१० को पत्रबमोजिम ७ वार्डको कि.नं.१३० को जग्गा जम्मा विगाहा ११२।।।२।।। मध्ये एकादशी नदीपूर्वको ज.वि.९७।।।२।। मध्ये दक्षिणपूर्व उत्तरबाट वि.७८।।। र ३ नं.ख वार्डको कि.नं.५० को जग्गा विगाहा १५२।।४।।। समेत जम्मा विगा ९३।१।।। कट्टा गरी अरु सर्भेले नापी गरेको फिल्डबुक नक्सा वाउण्ड्रीबमोजिम कायम गरिदिने र माथि बाउण्ड्रीभित्र परेको बढी ज.विगाहा ४५।।३ बाहेकको ४७।।३।।। को भर्ना ६०० विगाहा पुर्याउनलाई उत्तरपूर्वको वडा नं.३ को कि.नं.१३३ को प्लटको ज.वि.५८।२ मध्ये दक्षिणतर्फबाट विगाहा ४७।।३।।। समेत गरी क.प.उत्तमबहादुर समेतलाई ६०० विगाहा पुर्याइदिने र सर्भेको नापी फिल्डबुक नक्सा र यो पर्चासमेत बमोजिम जग्गा पाउने क.प. उत्तमबहादुर समेतलाई ०२३ सालको बालीदेखि आँठा सरह पोता लिने गरी मालबाट दर्ता गरिदिनेसमेत ठहर्याई खडा गरेको मिति ०२३।२।२०।५ को रौतहट प्रमुख जिल्ला अधिकारी र माल अड्डा प्रमुखको पर्चा।
४. जग्गा छुटाइदिने कटौती गर्न र कारवाही गर्न नहुनेमा गरेको गैरकानूनी पर्चालाई बदर गरी कानूनबमोजिम कार्यान्वित गरी जग्गा दर्ता गरिपाउँ भन्ने मिति ०२३।४।१२।४ को क.प.मानशमशेरसमेतको वारेस पदमसुन्दर श्रेष्ठको आय र कर अदालतमा परेको पुनरावेदन । उल्लेख गरिएको हाल आवादी मुद्दा नभई बागमती पूर्व बागमती पश्चिम हरपुर्वा कजरिया आवादीदेखि उत्तर वालाप्रसादले पाएका जङ्गल पभिंगाका त्यर्सोदेखि माथि पुष्करशमशेरले पाएको थलाहा जंगलदेखि दक्षिण यति चार किल्लाभित्रको जग्गा विगाहा ६०० निवेदकवालाहरूलाई छुट्याइदिनु भन्ने हुकूमको प्रमांगी बक्स भई आई उक्त प्रमांगीबमोजिम निवेदकवालालाई जग्गा छुट्याई आएकोमा हामीहरूको नम्बरी दर्ताको जग्गाभित्र परेकोले बदर गराइपाउँ भन्ने बालकृष्ण गिरी समेतको उजूर परी हकबेहक पर्न आएको तेरो मेरोको उजूर परेको मुद्दा आय र कर न्याय व्यवस्था ऐन दफा ४ अन्तर्गत यस अदालतको अधिकार क्षेत्रभित्र नपरेकोले मिसिल सर्वोच्च अदालतमा बुझाइदिनु भन्ने मिति ०२६।१२।१०।१ मा आय र कर अदालतबाट भएको आदेश ।
५. ६०० विगाहा निवेदकवालाहरूलाई छुट्याइएकोमा हामीहरूको नम्बरी जग्गाभित्र परेकोले बदर गराइपाउँ भन्ने बालकृष्ण गिरीसमेतको हकबेहक पर्न आएको सो तेरो मेरोको उजूर परेको मुद्दा आय र कर न्याय व्यवस्था ऐन दफा ४ अन्तर्गत आय र कर अदालतको अधिकारक्षेत्रभित्र नपरेको भनी यस अदालतमा आएको प्रस्तुत मुद्दामा प्रमुख जिल्ला अधिकारी र मालअड्डा प्रमुखको संयुक्त कारवाईउपरको पुनरावेदन स.अ.मा लाग्न सक्ने नसक्ने सो विषयमा विचार गर्नुपर्ने हुन आएको छ । आय र कर न्याय व्यवस्था ऐन, २०१६ को दफा ८ को २ र ३ तर्फ ध्यान आकर्षित गर्दा दफा ८ को उपदफा २ मा उपदफा १ अन्तर्गत वडा हाकिम छेउ अपील परी वा दफा ६ अन्तर्गत शुरु कारवाई गरी वडा हाकिमले गरेको जुनसुकै फैसला वा अन्तिम आदेशउपर आय र कर अदालतमा अपील लाग्नेछ भन्ने र दफा ८ को उपदफा ३ को प्रतिबन्धात्मक वाक्यांशमा आय र कर अदालतको फैसला वा आदेशमा प्रत्यक्षरुपबाट कुनै कानूनी त्रुटि हुन गएको छ भन्ने कुरामा आफ्नो चित्त बुझेमा सो फैसला वा आदेशउपर अपील सुनी अन्तिम फैसला वा आदेश गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ भन्ने भएपछि मालअड्डाको कारवाई उपर बडाहकिमको छेउ अपील लाग्ने बडाहाकिमको फैसला वा आदेशउपर आय र कर अदालतमा र आय र कर अदालतउपरको फैसला वा आदेशउपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने ऐनमा व्यवस्था भएकोमा स्थानीय प्रशासन ऐन, २०२२ को दफा ९ ले बडाहाकिमको सट्टा अञ्चलाधीश र गोश्वाराको सट्टा अञ्चलाधीश कार्यालय भन्ने भई अधिकार सुम्पिएको पाइयो । पाएको ६०० विगाहा जमीन छुट्याई दिने कार्य प्रमुख जिल्ला अधिकारी र मालअड्डाको प्रमुख रही पर्चा भई सो जमीन छुट्याइएकोमा प्रस्तुत पुनरावेदन पर्न आएकोमा आय र कर न्याय व्यवस्था ऐन, २०१६ को दफा ८ अन्तर्गतका अधिकारीहरू उपरको पुनरावेदन नभई प्रमुख जिल्ला अधिकारी र मालअड्डाको प्रमुख उपर जुन कि दफा ८ अन्तर्गत तोकिएको अधिकारीभन्दा भिन्न त्यस अड्डाको पर्चाउपरको पुनरावेदन भएको हुँदा प्रचलित ऐनमा यस्तो पर्चाउपरको पुनरावेदन सुन्ने व्यवस्था नभएकाले पुनरावेदन लाग्न सक्दैन खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हेरम्बराजको राय र स्थानीय प्रशासन ऐन, २०२२ को दफा ९ ले बडा हाकिमको सट्टा अञ्चलाधीश र गोश्वाराको सट्टा अञ्चलाधीशको कार्यालय भन्ने शब्द राखी परिवर्तन भएको उक्त ऐनको दफा ७ र ८ मा श्री ५ को सरकारले अधिकार सौंपन र प्रदान गर्न सक्ने व्यवस्था भएको नेपाल राजपत्र भाग ३ मिति २०२२।१२।१ संख्या ४७ को राजपत्रमा प्रकाशित सूचनाले अञ्चलाधीशलाई भएको आय र कर न्याय व्यवस्था ऐन, २०१६ को सम्पूर्ण अधिकार तथा कर्तव्य प्रमुख जिल्ला अधिकारीलाई सौंपेको छ । प्रमुख जिल्ला अधिकारीलाई आय र कर न्याय व्यवस्था ऐन, २०१६ को दफा ४ अन्तर्गत मालअड्डाले फैसला गरेका मुद्दाको दफा ८ (१) अनुसार पुनरावेदन सुन्न र दफा १० र उपदफा १० (ग) अनुसार तल्लो कार्यालयले हेर्न पाउने मुद्दामा आदेश फैसला गर्न पाउने र प्रमुख जिल्ला अधिकारीले गरेको फैसलाउपर उक्त ऐनको दफा ८ (२) ले आय र कर अदालतमा पुनरावेदन गर्ने व्यवस्था भएको देखिनाले प्रमुख जिल्ला अधिकारी समेतले गरेको उक्त पर्चाउपर आय र कर अदालतमा पुनरावेदन लाग्ने देखियो । बक्स भएका हुकूम प्रमांगीबमोजिम हाल आवादीका निमित्त जग्गा छुट्याएको भए पनि हाल आवादीका निमित्त दावी गरिएको किल्लाभित्रको जग्गामध्ये विगाहा ९३।१।।। जग्गा साविक नम्बरी दर्ता तिरोको भन्ने उजूर परेको देखिनाले तेरो मेरो मुद्दा हुन आयो उक्त आय र कर न्यायव्यवस्था ऐन दफा ४ को क्षेत्रभित्रको भन्न मिलेन जिल्ला प्रमुख अधिकारीसमेतले अनाधिकार पर्चा गरेको देखियो । यस्तो तेरो मेरो मुद्दा न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ४ ले जिल्ला अदालतका क्षेत्रभित्रको भएको सर्वोच्च अदालतको मातहत जिल्ला अदालतका क्षेत्रभित्रको मुद्दामा अनाधिकार प्रमुख जिल्ला अधिकारीसमेतले निर्णय पर्चा गरेको देखिनाले मुलुकी ऐन अदालती बन्दोबस्तको ३५ नं.ले बदर गरी ऐनकानूनबमोजिम गरी हेरी जो बुझ्नुपर्ने प्रमाण बुझी फैसला गर्न रौतहट जिल्ला अदालतमा पठाइदिनु पर्ने श्री मा.न्या.हेरम्बराजज्यूले पुनरावेदन खारेज गर्नुभएकोमा सहमत हुन सकिन सर्वोच्च अदालत नियमावलीको ३३ दफाअनुसार फुल बेञ्चमा पेश गर्नुभन्ने मा.न्या.श्री ब्रम्हदत्त तिवारीको राय भएको ०२७।९।२९।४ को डिभिजन बेञ्चको फैसला ।
६. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २८।६।१९।३ मा पेश भई पुनरावेदकहरू तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र विपक्षी भुवं मञ्जरीतर्फबाट विद्वान अधिवक्ता श्री मोतिकाजी स्थापितले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदन लाग्ने नलाग्ने सम्बन्धमा ०२७।९।२९।४ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको रहेछ ।
७. मुद्दाको वस्तुस्थितिलाई ध्यानमा राखी हेर्दा जिल्लै रौतहट पत्रगांविर्ता माल तालुक बागमती पूर्व ऐ.पश्चिम हरपुरवा कजरिया आवादीदेखि उत्तर वस्ताडवालप्रसादले पाएको जंगली पत्रींगाको त्यसदेखि माथि पुष्करशमशेरले पाएको थलाहा जंगलदेखि दक्षिण यति ४ किल्लाभित्रको ६०० विगाहा जग्गा आवाद गर्न दिनु भन्ने प्रमांगी बक्स गरिपाउँ भन्ने क.प.मीनबहादुर समेतको निवेदन परेकोमा निजहरूका नाममा उक्त ४ किल्लाभित्रको अं.विगाहा ६०० ऐन सवालबमोजिम आवादी गर्न निजहरूका नाममा दर्ता गरिदिनु भन्नेसमेत श्री ५ महाराजाधिराजबाट ११ साल श्रावण ३२ गते हुमुम प्रमांगी बक्स भई गए बमोजिम कृषिविशेषज्ञ समेतका प्रतिवेदनबाट सो जग्गा आवाद गराउन मनासिव ठहरी पुनरावेदकहरूका नाउँमा प्लट प्लट छुट्याई नापी भएकोमा सोभित्र हामीहरूको साविक नम्बरी जग्गा जम्मा ९३।१।।। पर्न जान्छ भन्ने प्रमोदप्रसाद समेतको उजूरी र पटवारी चन्द्रपतिलालको रिपोर्ट पर्न आएकोले सो ९३।१।।। कट्टा गरी अरु सर्भेले नापी गरेको फिल्डबुक नक्सा चौहदी कायम गरिदिने र माथि बाउण्ड्रीभित्र परेको बढी विगाहा ४५।। बाहेक ४७।।३।।। भर्ना गरी ६०० विगाहा जग्गा पुर्याउन वडा नं.३ क.को कि.नं.१३३ को प्लट जग्गा विगाहा ८५।२ मध्ये दक्षिणतर्फबाट विगाहा ४७।।३।।। थपी ६०० विगाहा पुर्याई जग्गा छुट्याई दिई मिसिल काम तामेलीमा राखिने भन्ने ०२३।२।२०।५ मा रौतहट माल र जिल्ला प्रमुख अधिकारी संयुक्त भई गरेका ०२३।२।२०।५ को पर्चाको विरुद्ध पुनरावेदन पर्दै आएको देखियो ।
८. सो माल र जिल्ला प्रमुख अधिकारीले गरेको पर्चाबाट पुनरावेदक र प्रमोदप्रसादसमेतका बीचमा जग्गा हकबेहक हुन जाने न्यायिक निर्णय भयो कि भएन भन्ने कुराको विषय नै मुख्य विषय हुन आएको छ र त्यसतर्फ विचार गर्दा पुनरावेदकहरू लाई सो ठाउँको जम्मै जग्गा हाल आवादी गर्न दिनु भन्ने हुकूम प्रमांगीमा उल्लेख भएको छैन, सो ठाउँको ६०० विगाहा आवाद गर्न दर्ता गरी दिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएको सो बक्स भएका हुकूम प्रमांगीबमोजिम पुनरावेदकसमेतका नाममा दर्ता हुनालाई नाप नक्सा भइरहेको बखत केही अंश पुरानो नम्बरी भनेको जग्गा छुट्याई बाँकी पर्ति जंगलबाट पुनरावेदकहरूलाई ६०० विगाहा जग्गा छुट्याइदिने आदेश गरेकोबाट कुनैको बीच हकबेहकहरू छुट्टिनुपर्ने वा हकबेहक भएको भन्ने देखिए, देखिएन र आवाद गर्न पाएको एरिया ४ किल्लादेखि बाहिरको जग्गा छुट्याइदिए भन्ने पुनरावेदकको जिकिर नदेखिएको हुनालेसमेत हुकूम प्रमांगी भई बक्स पाएको एरियाभित्रको पर्ति जंगल जग्गा पुनरावेदकहरूलाई छुट्याइदिने गरेको पर्चामा हकबेहकको प्रश्न समावेश भयो भन्न नमिल्ने हुँदा हकबेहकमा तहकिकात गर्न पठाउने भनी २७।९।२९।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्त तिवारीले गर्नुभएको राय मिलेको देखिएन । माथि लेखिएबमोजिम हकबेहकको प्रश्नै समावेश नभएको हुँदा उपरोक्त कारणहरूबाट पुनरावेदन नलाग्ने भनी गरेको रायसँग उक्त डिभिजन बेञ्चका मा.न्यायाधीश श्री हेरम्बराजले व्यक्त गर्नुभएको राय मनासिव छ । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
क.प.मानशमशेर थापा १, ले.क.मीनबहादुर बिष्ट १, कल्याणबहादुर बिष्ट १, रामबहादुर बिष्ट १, आ.सुन्दर बिष्ट १, शिवमान श्रेष्ठ १, गोपीलाल श्रेष्ठ १, हरिनाथ पाध्या १, गोपालबहादुर कार्की १, कान्छा मगर १, कालु भन्ने प्रदीपबहादुर बिष्ट १, हरिबहादुर पाण्डे १, शम्भुशमशेर थापा १, क.प.उत्तरबहादुर बिष्ट १, ह.गंगाबहादुर बिष्ट १, रत्नसुन्दर श्रेष्ठ १, कृष्णदेव ऐ.१, कालुलाल श्रेष्ठ १, सीताराम पाध्या १, लालबहादुर श्रेष्ठ १, कृष्णबहादुर कार्की १, सानुकाजी खत्री १, थारु घर्ती १, बाशुनाथ पाध्या १, जनशमशेर थापा १, क.प.सोमबहादुर बिष्ट, कृष्णबहादुर भन्ने वीरबहादुर ऐ.१, चेतसुन्दर ऐ.१, कालुचा श्रेष्ठ १, शिवजी पाध्या १, रामबहादुर कार्की १, कुमाले थापाक्षेत्री १, भीमबहादुर खत्री १, गोरे मगर, पदमसुन्दर श्रेष्ठ १,
नियमबमोजिम मिसिल बुझाइदिनु ………………. २
न्या. रंगनाथ उप्रेती,
न्या. जयदेव भट्ट
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२८ साल आश्विन २६ गते रोज ३ शुभम् ।