February 29, 1972
Created by nepalarchives

निर्णय नं. ६६४ – …

निर्णय नं. ६६४       ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...

निर्णय नं. ६६४       ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२६ सालको फौजदारी फुल बेञ्च नम्वर २३

फैसला भएको मिति : २०२८।११।१७।३

निवेदक : प.३ नं.जिल्लै कास्की मौजे उपल्लो हेला बस्ने नरमदा पौडेल्नी

विरुद्ध

विपक्षी    : ऐ.ऐ. बस्ने जि.मु.मनपति जैशी

(क) अघिदेखि नै बुढी औंलाको रेखा नबुझिने भए लेनदेन गर्दा व्यहोरा जनाई अर्को औंलाको प्रष्ट बुझिने सहिछाप गराउनुपर्ने कानूनी कर्तव्य ।

(ख) ल्याप्चे सहिछाप नबुझिएका राजीनामा प्रमाणयुक्त मान्न नमिल्ने ।

          उक्त वादी प्रतिवादीका दावी जिकिरबाट विवादग्रस्त जग्गा वादी मनपति पौडयालको उक्त १००। र १००। देखि मुनिका १६ थान राजीनामाबाट हक ठहर्ने हो वा प्रतिवादी नरमदाले पास गरिदिएका राजीनामाबमोजिम प्रतिवादी सानु देवीलालको हक ठहर्ने के हो भन्ने कुराको नै निर्णय दिनुपर्ने हुन आयो । यस कुराको निर्णयतर्फ विचार गर्दा विवाद उठेको जग्गाको स्वामित्व दर्तावाला कर्नाखरकी बुहारी प्रतिवादी नरमदाको भई निजसमेतका राजीनामाबाट मेरो हक भएको भन्ने वादी मनपति, नरमदाले नै पास गरी राजीनामा दिएको भन्ने प्र.सानुदेवीलाल र मैले प्र.सानु देवीलाललाई नै राजीनामा पास गरिदिएको भन्ने नरमदाले उल्लेख गरेको छ । वादी मनपति पौडेलले एउटै कित्ता जग्गा एउटै व्यक्तिबाट राजीनामा लिएको भनी धेरैजसो एउटै साल महिनाको १,२ दिन मात्र फरक पारेकोसमेत धेरै थान घरसारमा राजीनामा लिएको भन्ने वादीको भनाई छ सो राजीनामाहरूमा भक्तुले हरिकलाका नाउँमा गरिदिएको भनेका राजीनामा थान २ नरमदाले वादी मनपतिका नाममा गरिदिएको भनेका राजीनामा थान ११ को कारणीमा लागेको ल्याप्चे सहिछाप नबुझिने र देउरुपाले २००० साल जेष्ठ १ गतेमा र ऐ.जेष्ठ ४ गतेमा गरिदिएको भनेको २ थान राजीनामा निजको अरु प्रष्ट ल्याप्चे सहिछाप लिएमा भिडाउन सुविधा हुने मनपतिलाई लछिमाले गरिदिएको भनेको २००२ साल माघ २३ गतेको राजीनामाको ल्याप्चे सहिछाप निज लछिमाको सहिछापसँग मिल्ने भनी रेखा विशेषज्ञले पटकपटक राय व्यक्त गरेको पाइन्छ । लछिमाले गरिदिएको भनेको राजीनामाको हकमा प्र.नरमदाका ससुराका नाममा दर्ता भएका जग्गा निज ससुरा मरी नरमदाको हक भएको लछिमा, नरमदाकी अंशियार नभई नन्द भन्ने देखिएकी लछिमाले बकस पाएको जग्गा दण्डपाणिसमेत लाई पास राजीनामा दिइसकेकी छु, मनपतिलाई मैले राजीनामा दिएको छैन, सो लिखतको जग्गामा मेरो हकै छैन भनी लछिमाले बयान गरेको देखिएकाले राजीनामा किने भनेकी लछिमाले आफ्नो हक भन्न नसकेको जग्गा निजका लिखतबाट वादीको हक पुग्छ भन्न नमिल्ने भएकाले सो लछिमाको लिखत पनि प्रमाण लाग्ने भएन । माथि लेखिएका कारणीको ल्याप्चे सहिछाप नबुझिने भनी रेखा विशेषज्ञले राय व्यक्त, गरिएका राजीनामा थान १३ का हकमा भक्तु मरिसकेको नरमदाको अदालतबाट लिइएको ल्याप्चे सहिछापमा पनि रेखा नबुझिने भन्ने देखिन आउँछ, नरमदाको अघिदेखि नै बुढीऔंलाको रेखा नबुझिने थियो भने लेनदेन गर्दा सो व्यहोरा जनाई अर्को औंलाको प्रष्ट बुझ्ने सहिछाप गराई लिनुपर्ने वादी मनपतिको कानूनी कर्तव्य थियो । सो बमोजिम गराई लिन नसकेपछि त्यस्तो कारणीको ल्याप्चे सहिछाप नबुझिएका लिखतबाट प्रतिवादी नरमदाको सम्पत्तिमा हक छुट्छ र वादी मनपति पौडेलको हक पुग्छ भन्न मिल्दैन र सो ल्याप्चे सहिछाप नबुझिएको राजीनामा थान १३ तत्कालिन कागज जाँचको २०,२० (क) नम्बरले प्रमाणयुक्त मान्न मिलेन ।

(प्रकरण नं. २५)

निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ

विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

उल्लिखित मुद्दा :

फैसला

          न्या. झपटसिंह रावल

          १.   ०१ साल मार्ग १२ गते २००१।११।९ का र २०००।२।१ का र सोही २०००।२।१ का र २००० साल जेष्ठ ४ गते ऐ.भाद्र १० गते ०२ साल माघ २३ गते ०११ साल पुष ११ गतेका १६ साल माघ २ गते ०११ साल माघ ६ गते ०११ साल माघ ८ गते ऐ.माघ ९ गते ऐ.माघ १० गते ऐ.माघ १५ गते ऐ.१८ गते ऐ.ऐ.२२ गते ऐ.ऐ.२९ गते समेतका १६ थान राजीनामाको तिरो रू.५।४७।२ लागेको खेत मुरी ।६६।६।२ को जमीन घरसारका तमसुक गरी राजीनामा लिएको अन्याय मध्येको देवीलाल समेतका अन्यायवालाहरू सबैले देखे जाने थाहापाएकै र अन्यायकी नरमदालाई हात लिई अन्यायको ऋषिरामसमेत भई थाहा नपाउने गरी देवीलाल साहू बन्ने नरमदा आसामी बन्ने ऋषिराम खिमलाल साक्षी बस्ने गणेशभक्त लिखत साक्षी बस्ने गरी मो.रु. ४२५०। को वेदामे अड्ढ राखी उक्त लेखिएबमोजिम नरमदाकी सासू देउरुपा ससुरा भक्तु नरमदासमेत प्रत्येक प्रत्येकका अंश प्रत्येक प्रत्येकबाट घरसारमा राजीनामा लिएको सम्पूर्ण जमीन सो वेदामे मो.रु. ४२५०। तमसुकमा हाली जालसाजी राजीनामा अड्डा समेत भोर्‍याई ०१७।४।२१ का दिन पाससमेत गरी लिई दिइसकेको रहेछ ०१७ साल श्रावण २८ गते पोखरा तहसील रजिष्ट्रेशन फाँटमा आई बुझ्दा मेरा राजीनामा बमोजिम सम्पूर्ण जग्गाहरू दोहरा पारी मैले गरिदिएको भनी बिलकुलै कीर्ते रसिद खडा बनाई जालसाजी गरी बिक्री गरेको यकिन भएकोले फिराद गर्न आएको छु । सो जमीन मैले राजीनामा नलिई खाए भोगेको नभए म तालुकदारले गरिदिएको रसिद नरमदासँग रहनुपर्छ । नरमदाका सासू देउरुपाका अंशको मैले राजीनामा लिएदेखि बाहेकको जग्गा आफ्नी छोरी लक्षीमालाई ०२ साल भाद्र १० गते शेषपछिको बकसपत्र पास गरिदिँदा र नरमदाका जेठा ससुरा भक्तुले गरिदिएको राजीनामा देखिबाहेक अरु जमीन आफ्नो छोरीको छोरी बाटुली भन्ने हिमवतिलाई बकस दिँदा सो बकसमा यी जमीनहरू लेखिएको हुनुपर्ने सो बकसपत्र ०३ साल माघ २४ गते पास भई देउरुपाका बकसबमोजिम खाने लछीमाबाट मैले ०२ साल माघ २३ गते मो.रु. ६०। मा राजीनामा लिएको मेरो जमीन उत्तरपट्टि पर्ने भई सो बकसमा मनपतिका देखि दक्षिण भन्ने किल्ला लेखी बकसपत्र पास भएपछि मैले अघि नै राजीनामा लिएको देखिने र देउरुपी ०२ सालमा भक्तु ०५ सालमा परलोक हुनुभएको र वहाँहरूको सही परेको राजीनामा मसँग भएपछि पनि अघि नै राजीनामा लिएको भन्ने प्रष्ट देखिने नरमदाले आफ्नी छोरी द्रोणकुमारीलाई ०१२।१२।७।३ मा शेषपछिको बकसपत्र दिँदा मेरो जो भएको भन्ने शब्द लेखियो त्यसबाट पनि उक्त जमीन मौकैमा राजीनामा लिएको भन्ने देखिने यस्तो जानाजान दोहरा पारी जालसाजबाट गरेको मो.रु. ४२५०। को राजीनामा भनेको कागज बदर गराई मेरो राजीनामाको जमीन सदर थामी दोहरा पारी लेनदेन गर्ने साक्षी सनाखत लिखत हुने अरु अन्यायवाला समेतलाई सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको ०१७।५।८ को मनपति पौडेलको वादी ।

          २.   ०१७ साल श्रावण ३१ गतेका दिन देवीलाल नरमदा खिमलाल ऋषीराम मेरा घरमा आई हामीहरूको रुपैयाँ घरसारमा लेनदेन गरिसकेका छौं राजीनामाको कागज लेखिदिनु हवस् भनी भनेकाले ९० सालका जाँचमा जि.मु.यै वादी मनपतिका पिता जिम्मा नरमदाको ससुरा कर्नाखरका नाउँमा दर्ता भएको निज परलोक भई नरमदाको हक भएको गर्भे कुना भन्नेसमेत खेत कित्ता ३ को मो.रु. ४२५०। को पास गर्ने व्यहोराको राजीनामा लेखिदिएपछि पास गर्न सक्कलै रसिद पनि चाहिन्छ भनी भन्दा देवीलालले ल्याएको रहेछ मैले नक्कल सारी दिएको र सोही दिन पास गर्ने भएकोले मलाई पनि सनाखतमा बस्नुपर्‍यो भनी भनेकाले बसेको हुँ । मैले जालसाजी कीर्ते गर्नुपर्ने कारण केही नभएकाले गरेका छैन मेरोउपर कीर्ते जालसाजी रसिद राजीनामा गर्‍यो भनी झुट्टा उजूर गर्ने वादीलाई नै सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको गणेशभक्त श्रेष्ठको प्रतिवादी ।

          ३.   म नरमदाका ससुरा कर्नाखर परलोक भई सासू देउरुपा र म नरमदा सगोलैमा बस्दैमा सासुका र म नरमदाका सल्लाहबाट म नरमदाकी नन्द लछीमालाई २००० साल भाद्र १० गतेमा यही वादीसमेत साक्षी बसी शेषपछिको बकसपत्र दिएको सो बकसपत्रका मितिको अघिला दिनसम्म म नरमदा र म नरमदाकी सासू देउरुपा एकै भान्छा सगोल साथमै छौं । सो लक्षीमालाई बकस दिएका केही दिन भान्छासम्म अलग भए तापनि लेनदेन व्यवहार सबै सगोल सल्लाहमा गरिएको थियो । सो केही दिनपछि भान्छा पनि मिसी एउटै गरी सासू बुहारी एकैसाथ थियौं छुट्टिएको कानून मुताविक रजिष्ट्रेशनसमेतको बण्डापत्र खडा गरिएकै थिएन । म नरमदाको सासू २ सालमा देहान्त भएपछि म नरमदा र सासू छँदै अड्कल गरिदिएको जति जग्गा निज लछीमाबाट गजाधरले र टीकारामसमेतले लिएका छन् । वादीको श्रीमती हरिकलाबाट र वादीबाट समेत मैले र मेरा जेठा ससुरा भक्तु मेरै सासू देउरुपा समेतले कुनै ऋण कर्जा लिएको र वादीलाई राजीनामा दिएकोसमेत छैन । निज भक्तुबाट वादीले राजीनामा लिएको भनेकोमा ९० साल अगाडि नै छुटिसकेपछि दर्ता भएको ससुरा कर्नाखरका नाउँमा गर्भे कुनो भन्ने खेत मुरी ।४७।१० मा निज भक्तु भात नमिल्ने खण्डे अंश पाई लिई छुट्टिई बसेका मानिसले अर्काका नाउँको दर्ता सो ।४७।१० मध्येमा वादीलाई हक नपुग्ने भक्तुले दिनै नपाउने नरमदाकै ससुरा कर्नाखरको दर्ता गर्भे कुना ।४७।१० मध्येको जग्गा लिएदिएमा ऐनले सदरै नहुने खसम परलोक भएदेखि सबै जमीन आफूले मात्र कमाई खान नसकी ९९ सालमा खसम परलोक भएपछि गर्भेकुना खेत म नरमदाले निज वादीलाई अधियाँ कमाउन दिएको सालसालै अधियाँ धान वादीले दिँदा अधियाँ धान बुझेको भरपाईमा दायाँ बायाँ सहिछाप गर्नुपर्छ भनी देउरुपाको सासू छँदै २।३ पटक गरी अधियाँ धान वादीले दिने र पटकैपिच्छे कहिले म नरमदाको देउरुपाको दायाँबायाँ सहिछाप भरपाई भनी लिने र कहिले म नरमदाको भरपाई भनी पोहरसालसम्म सालसालै वादीले अन्यत्रै कागज लेखी ल्याई म नरमदाको सहिछाप गराउने र कुनै सालमा अहिले लेख्ने फुर्सत अनुकुल परेन मैले लेख्नुभएन लेख्न जान्ने कहाँ लगी लेखाउँछु । अधियाँ धान बुझ्दा खाली कागजमै पनि सही गर भनी लिफा सहिछापसमेत कुनै साल २।३ पटक गरी बुझाई दुई तीनैपटक र कहिले ४।५ पटक पारी बुझाई ४।५ पटक गरी वादीले लाने गर्दा अधियाँमा कागज लिनेदिने चलन छैन, सानुदेवीलालले मलाई छोरीको विवाह र सप्ताह गर्दा चाहिएको नगदी दिने र अरु भैपरी आएकोमा हेरविचार गर्ने पुगनपुग दिँदा खाताबहीमा हिसाव राख्दै गर्ने म देवीलालको सारा हिसाव बाँकि रहेको थियो । यो साल श्रावणमा मैले शुभकामहरू कन्यादानमा लगेको र भागवत बचाउँदासमेत लगेको र अरुसमेत सवैको ब्याजसमेत लगाई हिसाव गर् धेरै भइसक्यो मलाई भारा लाग्छ हिसाब नछिनी हुँदैन भनी म नरमदाले भन्न जाँदा पटकपटकका वहीमा टिप्न लेखिएका सावाँसमेतमा जम्मा ३२००। पुगेकोले गर्भे कुना भन्ने जम्मा माटो मुरी ।६४ को पञ्कृती गर्दा जम्मा रू.४२५०। मा हामी लिने दिने दुवैको चित्त बुझी बाँकी १०५०। को नरमदालाई कपाली तमसुक दिएपछि ४२५०। को उक्त ।६४ माटोको राजीनामा लेखी वही टिपनमा असुल जनाई ऐनबमोजिम रीतपूर्वक रजिष्ट्रेशन पास गरिदिए लिएको हुँ, वादीलाई राजीनामा दिएको होइन । वेइमान गरी झुक्याई राजीनामा बनाइराखेको रहेछ त्यस्तो झुक्यान गरेको हामीलाई थाहा थिएन, त्यत्तिको १४।१५ सय अंकसम्मको सच्चा कारवाई भए तुरुन्तै रजिष्ट्रेशन गरिने हुने थियो । त्यस्तो झुक्यानबाट परेका सहिछापका वादी लेखका १६ थान राजीनामा कागज बदर वातेल गरी हाम्रो सुधसच्चा ०१७।४।२१ मा पाससमेत गरेको रू.४२५०। को राजीनामा सदर गराई ससुरा कर्नाखरको दर्ता सबै र भक्तुको अपुतालीसमेत सबै म नरमदालाई सदर थामी झुट्टा वादी दिएमा सजाय गरिपाउँ भन्नेसमेत नरमदा पाध्यानीको र सानुदेवीलाल पौडेलको एउटै प्रतिवादी ।

          ४.   नरमदा पाध्यायनीले छोरीको विवाह गर्दा भैंसी किन्न र घरखर्च गर्नसमेत कर्जा लिई बहीमा टिपन सहिछाप गरिदिएकी रहिछन् । भक्तु मरी अपुतालीबाट हक भएको जम्मा माटो मुरी ।६४ का गर्भकुना भन्ने खेत ४२५०। मा लिनामा म देवीलालसमेत मञ्जुर भई उपरोक्त मिति मितिका १७।४।२० गते तकको दशौंदी ब्याजसमेत हर हिसावमा ३२००। पुगेकोले १०५०। को कपाली तमसुक नरमदालाई दिई उक्त ४२५०। मा राजी मञ्जुर भई राजीनामा गरी लिएदिएको हुँ । वादीले राजीनामा लिएको कुरा हामीलाई थाहै नभएको अधियाँमा कमाएकोसमेत जाने बुझेको समेत भई हामी साक्षी बसिदिएका हुँ झुट्टा फिरादी दिने निजै वादीलाई ऐनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत ऋषीराम पौडेल स्यानु खिमलाल पौडेलको एउटै प्रतिवादी ।

          ५.  वादीले दावा लिएको जग्गामा मेरो हक छैन भाउजू नरमदाको हकको हो वादीलाई राजीनामा गरिदिएको भनी वादीले कित्ता ३ लेख्नु भएकोमा राजीनामा मैले गरिदिएको सम्झना छैन भन्नेसमेत लछीमा सुवेदीको बयान ।

             रसिदका हकमा तालुकको मुठ रसिद तहसीलमा बुझाएको सद्दे हो राजीनामाहरूका हकमा भक्तुले गरिदिएको भनेको ०१।८।१२ को र ०१।११।९ को दुईथान राजीनामामा भक्तुको ल्याप्चे लागेको र नरमदा साक्षी बसेको भन्ने देखिएकोमा भक्तुले राजीनामा गरिदिएको होइन भक्तुलाई झुक्याई सहिछाप गराएका हुन् मनपति तालुकदार भएका र उनीको भर विश्वासमा पर्ने भक्तु भएकोले केकस्ता किसिमबाट हो झुक्याई सहिछाप गराई लिइराखेकोमा राजीनामा खडा गरेका हुन् मलाई वारेस दिन नरमदा साक्षी बसेको पनि होइन मनपतिले खेत नरमदाको हकको कमाएको थिए सो खेत नरमदाबाट म देवीलाललाई पास गरी राजीनामा गरिदिएको छ सो राजीनामा दिनुभन्दा अगावै वाली धान बुझाएको भनी सहिछाप गराई लिई झुक्याई राजीनामा खडा गरेकोमा साक्षीमा ल्याप्चे लगाएको जालसाजी हो र लछीमाले मनपतिलाई रू.६०। मा राजीनामा २००३।१०।२३ को भनेको सो राजीनामामा लछीमाको जग्गा हक होइन देउरुपाको छोरी लछीमा र छोराबुहारी नरमदा हुन् लछीमा बकसबाट खान पाउने हुन् देउरुपाको हकको जग्गा लछीमाले राजीनामा गरिदिन पाउने पनि होइन । राजीनामा गरिदिएको पनि होइन, हो भने लछीमालाई समेत सजायँ गरिपाउँ । नरमदा साक्षी बसेको भनेकोमा जालसाजीबाट सहिछाप गराएका हुन् देउरुपाले २०००।२।१ मा र ऐ.४ गतेमा गरिदिएको भनेको राजीनामा थान २ का हकमा लेखिएको जग्गा देउरुपाको हकको नभई नरमदाको हकको जग्गा हो र देउरुपाको हकको जग्गा बक्सबाट लछीमाले पाएकी छन् देउरुपाको ल्याप्चे सहिछाप के किसिमबाट हाली जालसाजी राजीनामा खडा गरेका हुन्, जानी जानी राजीनामा गरिदिएको होइन । नरमदाले मनपतिलाई दिएको २०००।२।१ को ११।१०।२९, ०११।१०।३० को ११।१०।१८ को ११।१०।१५ को ११।१०।९ को ११।१०।१० को ११।१०।८ को ११।१०।६ को ११।१०।२ को ११।९।११ को राजीनामाका हकमा नरमदाले राजीनामा भनी जानी जानी गरिदिएको नभई जालसाजीबाट राजीनामा खडा गरेका हुन् १ महिनाभित्र थान १० र ३ दिनको लगातारमा राजीनामा गराई लिएको देखिएको छ । अड्डामा गई पास गर्नुपर्ने नगरेकोबाट पनि खास जालसाजी भन्ने देखिने झुक्याई जालसाजीबाट खडा गरेको राजीनामाहरू बदर गराइपाउँ भन्नेसमेत नरमदा पाध्यायनीको वा.भई आफ्ना हकमा समेत देवीलाल पौडेलले गरेको बयान ।

          ७.  बहीलाई सद्दे कीर्ते भन्ने प्रयोजन नभएकोले साहू आसामी नै जानुन् । रसिदका हकमा नरमदाबाट मैलै जम्मा रू.३।९।२ बुझी लिनुपर्ने र ०१६ सालको तिरो रू.१७।१।२१ मा बुझी लिँदा पनि ३।९।२ भनी मैले रसिद गरिदिएकोमा पछिबाट ३ को अंक रू.भन्ने पारी ३ को पछाडि ८ को अंक र ९ को अगाडि २ को अंक थपी ३ को अंकलाई रू.भन्ने लवज मिल्ने गरी ८।२९।२ को रसिद गरिदिएको भन्ने गराएका हुन् । सो रसिदको अंक थपी जालसाजी कीर्ते गरेको र ०१६।१।१८ को रसिदमा पनि मैले ३।९।२ को रसिद गरिदिएकोमा १ को अंक अगाडि थपी १३ गराएको १ को अंक थपी कीर्ते जालसाजी गराएका हुन् । राजीनामाका हकमा राजीनामा २००० सालदेखि घर सारीमा गराई भक्तु देउरुपा लछीमा नरमदासमेतबाट मैले र मेरी श्रीमती हरिकलाले राजीनामा गराई लिएकोमा दोहरा पारी नरमदाबाट मात्र जालसाजी गरी लिनुदिनु गरेको हुनाले फिराद गरेको पनि छु राजीनामा बमोजिमको जग्गाहरू मेरै हक सदर गराई जालसाजी कीर्ते गर्ने प्रतिवादीहरूमध्ये गणेशभक्तले रसिदतर्फ कीर्ते जालसाजी गरेको होइन राजीनामातर्फ मात्र जालसाजी गरेको र अरु प्रतिवादीहरू मिली रसिदहरू राजीनामासमेत जालसाजी गरेका हुन् सजाय गरीपाउँ भन्नेसमेत जि.मु.मनपति पौडेल जैशीको बयान ।

          ८.   म गजाधरको व्यहोरा भक्तुले गरिदिएको २००१।११।९ को लिखतमा र नरमदाले गरिदिएको ११।१०।२९ र को ११।१०।२२ को ११।१०।१८ को ११।१०।१५ को ११।१०।९ को ११।१०।८ को ११।१०।२ को ११।९।११ को समेतका राजीनामा म साक्षी बसेको हुँ देवीलालका बयानबमोजिम जालसाजीबाट खडा गरेको नभई रुपैयाँ लिनुदिनु भई लिखत भएको र म साक्षी बसेको हुँ जालसाजी गरेको होइन । म श्यामबहादुरको व्यहोरा २०००।२।४ गते देउरुपाले गरिदिएको राजीनामा मैले लेखिदिएको हुँ जालसाजी गरेको होइन । म नरपतिको व्यहोरा देउरुपाले २०००।२।१ गते गरिदिएको राजीनामामा म साक्षी बसेको छु वा समेत देवीलालको बयान झुट्टा हो । म चेतभक्तको व्यहोरा २०००।२।४ गते देउरुपाले गरिदिएको राजीनामामा म साक्षी बसेको छु लेनदेन गरे नगरेको मलाई थाहा छैन जालसाजी गरेको होइन कामसमेतको देवीलालको बयान झुठ्ठा हो । म मनपतिको व्यहोरा २०००।२।१ को राजीनामामा साक्षी बसेको छु लेनदेन व्यहोर गरेको देखिन जालसाजी गरेको होइनन् । देवीलालको बयान झुट्टा हो मनपति देवीलाल झगडिया हुँदा जालसाजी नगरेकोमा जालसाजी गरेको भनेको हो भन्नेसमेत गजाधर श्यामबहादुर नरपति चेतभक्त मनपतिको एकै बयान भएको ।

          ९.   वादी तर्फबाट पेश भएको २००२।१०।२३ गतेको लछीमाले मनपतिलाई गरिदिएको राजीनामा १ र ११।१०।१५ को नरमदाले गरिदिएको ऐ.९ गतेको ऐ.१० गतेको ऐ.११।१०।६ को १ समेत मनपतिलाई गरिदिएको राजीनामा मैले लेखिदिएको हो र साहू आसामीले रुपैयाँ लिनुदिनु गरेका हुन् देवीलालको बयानबमोजिम जालसाजी गरेको होइन भन्नेसमेत सन्तमान श्रेष्ठको  बयान ।

          १०.  भक्तुले गरिदिएको राजीनामा थान २ मा र नरमदाले गरिदिएको राजीनामाहरू हस्ता सही भएको मेरो हो साक्षी बसेको छु जालसाजीबाट गरेको होइन भन्नेसमेत कृष्णलाल सापकोटाको बयान ।

          ११.  भक्तुले गरिदिएको राजीनामा २ र नरमदाले गरिदिएको राजीनामाहरूमा साक्षी बसेको छु झुक्याई जालसाजीबाट राजीनामा खडा गरेको नभई खुसीराजीबाट गराई लिएको हो भन्नेसमेत तुल्सीराम पौडेलको बयान ।

          १२.  १।८।१२ को र १।११।९ को रू.९५ को दरको लिखत २ भक्तुले मलाई वारेस दिने हरिकलालाई राजीनामा दिएको हो ।११।१०।८ को ११।१०।२ को ११।९।११। को ११।९।११ को नरमदाले गरी दिएको राजीनामा थान ३ लोकमान सिंहका हस्ताले लेखिएको हो, ११।१०।१२ को १।१०।१८ को नरमदाले गरिदिएको राजीनामा गंंगादासका हस्ताबाट लेखिएको हो भक्तुले र नरमदाले रुपैयाँको लिखत गरी दिएको हो वा समेतको देवीलालको बयानबमोजिम जालसाज गरेको होइन भन्नेसमेत वा.मनपति पौडेलको बयान ।

          १३.  २०००।२।१ गतेको र ऐ.मितिको नरमदा र देउरुपाले मनपतिलाई गरिदिएको राजीनामा मैले लेखी दिएको हुँ रुपैयाँ लिनु दिने भई साहू आसामीको रोहवरमा लिखत भएको हो भन्नेसमेत जैमान सिं र २००१।११।९ को र २००१।८।१२ को भक्तुले हरिकलालाई गरिदिएको राजीनामा मैले लेखिदिएको हुँ झुक्याई जालसाजीबाट खडा गरेको होइन पं.दशरथ पौडेलको र २००१।२।१ गते नरमदाले मनपतिलाई गरिदिएको राजीनामामा म साक्षी बसेको छु जालसाजी गरेको होइन हदमुनिको पास नभएको लिखत हुँदा बदर गराउन संकुलाकी भनी झुट्टा बयान गरेको हुन् भन्नेसमेत चुडामणि समेतको एकै बयान ।

          १४.  मलाई वारिस दिने झंकबहादुरले रू.१००। को नरमदाले गरिदिएको राजीनामा लेखेको हो लिनु दिनु भई लेखेको हो जालसाज होइन भन्ने वा.मनपति २००२।१०।२३ को लछीमाले रू.६०। मा गरिदिएको राजीनामामा साक्षी बसेको छु लिनु दिनु व्यवहार भएको सद्दे साँचो हो भन्ने चुडामणिसमेतको बयान ।

          १५.  बुझिएका साक्षी पिताम्बर पाध्या १ जना बाहेक जवान १४ ले २००० सालदेखि वादी मनपतिको भोग थियो र भक्तु नरमदासमेतबाट घरसारमा राजीनामा गरी लिई अद्यापी तक वादीको भोग छ वादीले राजीनामा लिएको जग्गा प्रतिवादीहरूले जालसाजी गरिदिएका हुन् भन्ने बकपत्र गरेका र सहिछाप गरिदिएमा सावितै भएको प्रमाण निमित्त आएको हिमावति साहू भक्तु आसामी भई २००३ साल माघ २३ गतेमा गरिदिएको राजीनामामा वादीको राजीनामाको जग्गा नभए मनपतिको साँध भनी लेखिन नपर्ने भोर झुक्यान पारी लिखत गराई लिएको भए मौकैमा उजूर गरी बदर गराउन सक्नुपर्ने प्रतिवादीबाट १६।१७ साल २ सम्मको रसिद पेश भएका राजीनामा लिएका २००० सालदेखि यताका रसिद पेश दाखिल गर्न सक्नुपर्ने नसकेकाले समेत प्र.देवीलाल र नरमदासमेत २ जनाले कीर्ते जालसाजी गरेको देखिने र अघि आफू समेतले वादीलाई राजीनामा गरी दिएको जग्गा दोहरा पारी बिक्री गरेको ठहर्छ अरु प्रतिवादीहरूले जालसाजी गरेको ठहर्दैन वादीका १६ थान राजीनामा सद्दे ठहर्छ भन्नेसमेत ०१९।६।८।२ को इलाका अदालत पोखराको फैसला ।

          १६.  एकै कित्ता जग्गा एकै महिनामा ११ थान राजीनामा गराई लिएकोले पनि झुक्याई गराई दिएको भन्ने देखिने भक्तु र देउरुपा अगावै मरीसकेको हुनाले सद्दे देखिने भन्नेलाई छुटाई लिएको सबूद प्रमाण वेगर हक छुटेको भन्न नमिल्ने ।२ थान रसिद बीचमा धर्को दिई २ को अंक थप्नलाई मिल्न नसक्ने हुँदा देवीलाललाई गरिदिएको राजीनामा सदर हुनुपर्छ वादीको लिखत जालसाजी हो भन्नेसमेत नरमदाको (अपील) पुनरावेदन ।

          १७.  इन्साफमा चित्त बुभेन भन्ने सानु देवीलाल मनपतिको पुनरावेदन ।

          १८.  प्रतिवादीबाट पेश भएको वादीले गरिदिएको मिति १६।१।१८ को र १७।११।२१ का तिरोका रसिदहरू सद्दे ठहर्ने र प्रतिवादीले अंक थपी कीर्ते गरेको ठहर्दैन, वादीबाट पेश भएका राजीनामाका कागजहरू अर्कै अभिप्रायले ल्याप्चे लगाई दिइराखेको कागजमा राजीनामाको लिखत खडा गरी कीर्ते गरेको ठहर्छ र प्र.नरमदाले प्र.सानु देवीलाललाई रू.४२५०। को पास गरिदिएको राजीनामा सद्दे साँचो व्यवहारको ठहर्छ दोहरा राजीनामा गरेको ठहर्दैन भन्नेसमेत ०२०।३।६।५ को पोखरा जिल्ला अदालतको फैसला ।

          १९.  उक्त इन्साफमा चित्त बुझेन भन्ने जि.मु.मनपति पौडेल जैशीकोसमेत पुनरावेदन।

          २०.  भक्तुले हिमवतीलाई २००३।१०।२३।४ मा गरिदिएको रू.४००। को राजीनामा उत्तर दक्षिण मनपतिको साँध भनी लेखिएको उक्त राजीनामा जि.मु.मनपति साक्षी बसेको नरमदाले १२ साल चैत्र १ गतेमा छोरी द्रोणकुमारीलाई गरिदिएको बकसपत्रमा मेरो हकको अचल खेत पाखो मध्ये भन्नेसमेत उल्लेख गरी लेखिदिएको बकसपत्रमा आफ्नो भएको खेत पाखा सम्पूूर्ण जग्गाको फाँटवारी खुलाएमा उक्त बकसपत्रमा वादी दावीका राजीनामा बमोजिमको जग्गाहरू उल्लेख भएको नदेखिएको ०१७ सालको सर्भे नापीमा मनपति हरिकलाले दर्ता गराएको देखिएको, देवीलालको हक भए निज देवीलालले आफ्नो नाउँमा नापी दर्ता गराउन अथवा झगडा जनाउन सक्नुपर्ने नसकेको वादीलाई कमाउन दिएको भनी प्रतिवादीले जिकिर लिए तापनि सो कमाउन दिएको निस्सा प्रमाण पेश दाखिल गर्न सकेको नदेखिएको जग्गामा भोग वादीकै देखिएको उक्त पेश भइरहेको राजीनामाहरूमा लगाएको ल्याप्चे सही कीर्ते हो भन्न नसकी सहिछापलाई स्वीकारै गरेको ०१६।१।१८।६ को रसिद भरपाईमा जम्मा ०१३।९।२ र ०१७।१।२१।३ को रसिद भरपाईमा रू. ८२९।२ भन्ने लेखिएको सोबमोजिम तिरोमा फरक हुनाको कारण अर्थात् यो यति जग्गा यस परिबन्धले घटी बढी हुन गएबाट तिरो फरक भएको भनी त्यस कुराको विवरण खुलाउन र सो २ थान रसिद बाहेक अरु सालको रसिद भरपाईहरू पेश दाखिल गर्न प्रतिवादीले नसकेको उक्त ०१७।१।१३।३ को रसिद भरपाईमा रू.९। को अंक सच्चिएको र ०१६।१।१८ को रसिदमा १३ को अंक सचिएकै देखिएकाले साँचो व्यवहारको हो भनी भन्न नमिल्ने भएकोले समेत वादीलाई राजीनामा गरिदिईसकेको जग्गा दोहरा पारी देवीलाललाई राजीनामा गरी दिएको ठहराएको शुरु इ.अ.पोखराको फैसलामा लेखिएको बुँदा प्रमाणसमेतबाट इन्साफ शुरु पोखरा इलाका अदालतको मनासिव छ भन्नेसमेत ०२३।१०।३।२ को डिभिजन बेञ्चको फैसला ।

          २१.  एक पटक मुद्दा फुल बेञ्चबाट दोहर्‍याई हेरी इन्साफ गरी दिनु भन्ने सर्वोच्च अदालतका नाउँमा हुकूमको प्रमांगी पाउँ भन्ने नरमदा पौडेलनीको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरी कानूनबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भन्ने मौसूफका विशेष जाहेरी विभाग राजदरवारबाट ०२६।५।४।४ मा लेखिआएको हुकूम प्रमांगी सहितको निवेदनपत्र ।

          २२.  बक्स भई आएको हुकूम प्रमांगीबमोजिम गनर्का निमित्त लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न फाँटमा बुझाई दिनु भन्ने ०२६।५।१०।३ को तत्कालिन माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको आदेश ।

          २३.  वादीको जग्गासमेत दावी भएको फिराद दायर हुँदा कोर्टफी ऐन, २०१७ लागू भएकोले कोर्टफी नलागेको भए पनि पछि कोर्टफी ऐन लागू भएका बखत माथिल्लो तहबाट इन्साफ गर्दा सो तहको कोर्टफी लिनुपर्ने देखिएको मुद्दा दोहर्‍याए वापत लाग्ने कोर्टफी थियो समेत खुलाई ऐनबमोजिम कायम गरी निवेदक नर्मदासँग लिनु । लक्षीमाले वादीलाई राजीनामा गरी दिएको छैन भनेकोले निजले गरिदिएको भनी वादीले दाखिल गरेको ०२।१०।२३ को राजीनामा लिखत सक्कल निजलाई सद्दे किर्तेमा देखाउनु सुनाउनु पर्ने भएकोले निजलाई ७ दिने म्याद दिई झिकाउनु । लक्षीमाले आमाबाट बक्स पाई हक भएको जग्गा टिकाराम तुल्सीप्राद दण्डपाणी समेतलाई अड्डैमा गई राजीनामा पास गरी दिएको छु भन्ने लक्षीमाको बयान भएकोले निज लक्षीमा हाजिर भएपछि सो पास भएको मिति पास गराएको अड्डा निजबाट खुलाई सो पास राजीनामाको नक्कल झिकाउनु । नर्मदाको सहिछाप जाँच गराउन निजको लिइएको ल्याप्चे नबुझिएको भनी विशेषज्ञहरूले राय व्यक्त गरी सहिछाप जाँच हुन सकेको नदेखिएकोले निज नर्मदालाई नै हाजिर गराउनु भनी निजको वारिसलाई तारेख तोकी हाजिर गराई रजिष्ट्रारको सामुन्ने निजको प्रष्ट ल्याप्चे सहिछाप लिई निजले गरी दिएको भनेको २००।२।१ को रू.१००। को राजीनामामा लागेको दा.बा.ल्याप्चे सहिछापसँग मिल्छ मिल्दैन विशेषहरूको वोर्डबाट जाँच गराई मिल्ने नमिल्ने के देखिन्छ कारणसहित खुलाई प्रतिवेदन लिनु र सो अंक पुगेपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२८।१।१७।६ को फुल बेञ्चको आदेश ।

          २४. यसमा निवेदक नरमदा पौडेलनीको वा.कृष्णभक्त विपक्षी वादी जि.मु.मनपति रोहवरमा रही २८।११।१० गते पेश भई निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठको र विपक्षी मनपतितर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहस सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी नरमदाका ससुरा कर्नाखरका दाज्यू भक्तुबाट मेरो श्रीमती हरिकलाका नाउँमा २००१ साल मार्ग १२ गते २००१ साल मार्ग १२ गते २००१ साल फाल्गुण ९ गते र प्रतिवादी नरमदा आसामी म साहू भई २०११ साल माघ २ गते एक, २०११ साल माघ ६ गते एक २०११ साल माघ ८ गते ०११ साल माघ ९ गते एक २०११ साल माघ १० गते २०११ साल माघ १५ गत २०११ साल माघ १८ गते २०११ साल माघ १५ गते २०११ साल माघ २९ गते २००० साल जेष्ठ १ गते र प्रतिवादी नरमदाको सासू देउरुपाबाट २००० साल जेष्ठ ४ गते एक प्र.नरमदाको नन्द लछीमाबाट २००२ साल माघ २३ गते समेत मिति मितिमा रू.१००। र १०० भन्दा मुनिका राजीनामा थान १६ गराई लिएको जग्गा भोग तिरो गरी आएको थिएँ सो जग्गा प्रतिवादी नरमदाले प्र.सानुदेव लाललाई बेदामे लिखत रू.४२५०। को खडा गरी पाससमेत गरिदिएको हुनाले सो जालसाजी दोहरा पास राजीनामा बदर गरी मेरो जग्गा सदर गरिपाउँ भन्ने विपक्षी वादी मनपति पौडेलको दावी देखिन्छ । मनपतिको जग्गा अधियामा कमाएको थियो र अधियाँ बाली बुझेको भनी मलाई सहिछाप गराई लिने गरेको थियो निज वादीलाई जग्गा राजीनामा दिएको हैन जालसाजी राजीनामा हुन् भन्नेसमेत प्रतिवादी नरमदाको जिकिर देखिन्छ ।

          २५. उक्त वादी प्रतिवादीका दावी जिकिरबाट विवादग्रस्त जग्गा वादी मनपति पौडेलको उक्त १००। र १००। देखि मुनिका १६ थान राजीनामाबाट हक ठहर्ने हो वा प्रतिवादी नरमदाले पास गरिदिएका राजीनामाबमोजिम प्रतिवादी सानु देवीलालको हक ठहर्ने के हो भन्ने कुराको नै निर्णय दिनुपर्ने हुन आयो । यस कुराको निर्णयतर्फ विचार गर्दा विवाद उठेको जग्गाको स्वामित्व दर्तावाला कर्नाखरकी बुहारी प्रतिवादी नरमदाको भई निजसमेतका राजीनामाबाट मेरो हक भएको भन्ने वादी मनपति, नरमदाले नै पास गरी राजीनामा दिएको भन्ने प्र.सानु देवीलाल र मैले प्र.सानु देवीलाललाई नै राजीनामा पास गरिदिएको भन्ने नरमदाले उल्लेख गरेको छ, वादी मनपति पौडेलले एउटै कित्ता जग्गा एउटै व्यक्तिबाट राजीनामा लिएको भनी धेरैजसो एउटै साल महिनाको १,२ दिनमात्र फरक पारेको समेत धेरै थान घरसारमा राजीनामा लिएको भन्ने वादीको भनाई छ । सो राजीनामाहरूमा भक्तुले हरिकलाका नाउँमा गरिदिएको भनेका राजीनामा थान २ नरमदाले वादी मनपतिका नाममा गरी दिएको भनेका राजीनामा थान ११ को कारणीमा लागेको ल्याप्चे सहिछाप नबुझिने र देउरुपाले २००० साल जेष्ठ १ गतेमा र ऐ.जेष्ठ ४ गतेमा गरी दिएको भनेको २ थान राजीनामा निजको अरु प्रष्ट ल्याप्चे सहिछाप लिएमा भिडाउन सुविधा हुने मनपतिलाई लछीमाले गरिदिएको भनेको २००२ साल माघ २३ गतेको राजीनामाको ल्याप्चे सहिछाप निज लछीमाको सहिछापसँग मिल्ने भनी रेखा विशेषज्ञले पटकपटक राय व्यक्त गरेको पाइन्छ । लछीमाले गरिदिएको भनेको राजीनामाको हकमा प्र.नरमदाका ससुराका नाममा दर्ता भएको जग्गा निज ससुरा मरी नरमदाको हक भएको लछीमा, नरमदाको अंशियार नभई नन्द भन्ने देखिएकी लछीमाले बकस पाएको जग्गा दण्डपाणी समेतलाई पास राजीनामा दिइसकेकी छु मनपतिलाई मैले राजीनामा दिएको छैन सो लिखतको जग्गामा मेरो हक छैन भनी लछीमाले बयान गरेको देखिएकाले राजीनामा किन्ने भनेकी लछीमाले आफ्नो हक भन्न नसकेको जग्गा निजका लिखतबाट वादीको हक पुग्छ भन्न नमिल्ने भएकोले सो लछीमाको लिखत पनि प्रमाण लाग्ने भएन माथि लेखिएका कारणीको ल्याप्चे सहिछापै नबुझिने भनी रेखा विशेषज्ञले राय व्यक्त गरेका राजीनामाका थान १३ का हकमा भक्तु मरिसकेको नरमदाको अदालतबाट लिइएको ल्याप्चे सहिछापमा पनि रेखा नबुझिने भन्ने देखिन आउँछ, नरमदाको अघिदेखि नै बुढी औंलाको रेखा नबुझिने थियो भने लेनदेन गर्दा सो व्यहोरा जनाई अर्को औंलाको प्रष्ट बुझिने सहिछाप गराइलिनुपर्ने वादी मनपतिको कानूनी कर्तव्य थियो सोबमोजिम गराइलिनु नसकेपछि त्यस्तो कारणीको ल्याप्चे सहिछाप नबुझिएका लिखतबाट प्रतिवादी नरमदाको सम्पत्तिमा हक छुट्छ र वादी मनपति पौडेलको हक पुग्छ भन्न मिल्दैन र सो ल्याप्चे सहिछाप नबुझिएका राजीनामा थान १३ तत्कालिन कागज जाँचको २०, २० (क) नम्बरले प्रमाणयुक्त मान्न मिलेन ।

          २६.  देउरुपाबाट २००० साल जेष्ठ १ गते रू.९०। मा खेत मुरी ।३।५ र ऐ.साल जेष्ठ ४ गते रू.१००। मा खेत मुरी ।६ राजीनामा लिएको भनेको लिखत थान २ को ल्याप्चे सहिछाप नबुझिने भनी रेखा विशेषज्ञले उल्लेख नगरी देउरुपाको प्रष्ट सहिछाप लिएमा भिडाउन सुविधा हुने भनी उल्लेख गरेको देऊरुपा मुद्दा पर्नभन्दा अगाडि मरिसकेकी सो लिखतहरू जालसाजी भने सबूद प्रमाण प्रतिवादीले पुर्‍याउन नसकेको हुनाले सो लिखत प्रमाण योग्य मान्नपर्ने देखिन आयो ।

          २७. तसर्थ वादी दावीमध्ये माथि लेखिएबमोजिम देउरुपाबाट २ थान राजीनामा लिएको जम्मा खेत मुरी ।९।५ वादीको हक पुग्ने र सोदेखिबाहेक अरुमा वादीले झुट्टा दावी गरेको ठहर्छ । देउरुपाले विक्री गरिसकेको खेलगा ९ नरमदाको हक नपुग्नेसमेत राजीनामा दिएको देखिएकोले प्र.सानुदेवीलालको रू.४२५०। को राजीनामा सो ।९।५ बाहेक अरु जग्गा ।५४।१५ को राजीनामा कायम हुन्छ वादी दावीबमोजिम दोहरा र जालसाजी भन्ने ठहर्दैन, तत्कालिन इलाका अदालत पोखरा र पोखरा जिल्ला अदालत तथा डिभिजन बेञ्चको समेत केही इन्साफ मिलेको देखिएन, तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

सर्वोच्च अदालत डिभिजन बेञ्चको २३।१०।३।२ को फैसलाले देहायबमोजिम गर्ने गरेकोमा हाल सोबमोजिम गर्नुपर्दैन देहायबमोजिम गर्नु भनी पर्वत तथा कास्की जिल्ला अदालतमा लेखी पठाउन कानूनबमोजिम लगत दिने १

देहायका मानिस के तत्कालिन पोखरा जि.अ.तको २०।३।६।५ को फैसला र २०।३।११।३ को पर्चाले देहायबमोजिम गर्ने गरेको लगत डिभिजन बेञ्चको फैसलाले काटिदिने गरेकोमा हाल सोबमोजिम गर्नुपर्दैन सोको डिभिजन बेञ्चको लगत काटी दिई तत्काल पोखरा जिल्ला अदालतको उक्त फैसला र पर्चाबमोजिमको लगत नै कायम गर्ने …….१

वादी जि.मु.मनपति पौडेलके देहायको कलममा देहायबमोजिम गर्ने गरेको कलम ……………….१

रु. ४२५०। को राजीनामा जालसाजी भनेमा तत्कालीन पोखरा जि.अ.को २०।३।६।५ को फैसलाले गर्ने गरेको रू.५२२।८७ र २०।३।११ को पर्चाले ऐ.मा छुट भएको भनी गर्ने गरेको रू.८।३८ समेतको कलम …………….१

रसिद जालसाजी गरे भनेमा कीर्ते कागजको २२ नं. बमोजिम तत्कालीन पोखरा जि.अ.को २०।३।६ को फैसलाले गर्ने गरेको रू.२।५० को कलम ……………….२

प्र.सानु देवीलालके जितेमा तत्कालीन पो.जि.अ.को २०।३।६ को फैसलाले गर्ने गरेको जितावरी रू.१। को कलम .२

देहायका मानिस के शुरु तत्कालीन इलाका अदालत पोखराको १९।६।८।२ को फैसलाले देहायबमोजिम गर्ने गरेको लगत कायम गर्ने गरी डिभिजन बेञ्चले गरेकोमा हाल सोबमोजिम गर्नुपर्दैन डिभिजन बेञ्चको फैसलाको लगत काटी शुरु इ.अ.पोखराले देहायका मनिस के गर्ने गरेको दण्ड जरीवानाको देहायको लगत काटिदिने गरेको तत्कालीन पोखरा जिल्ला अदालतको फैसलाबमोजिमको लगत नै कायम गर्ने ………………….२

प्रतिवादी नरमदा के दोहरा राजीनामा गरिदिएमा रसिद कीर्ते गरेमा भनी गर्ने गरेको दण्ड रू.२१२७।५० नलाग्ने हुँदा सो दण्डको शुरुको लगत काटिदिने सो दण्डमा निजको जेथा धन जमानी राखी अपील गरेको देखिएकोले सो रोका रहेको जेथा अपील अवस्था नाघेपछि फुकुवा गरी दिने भनी शुरुमा लेखी पठाउने गरेको कलम …………१

प्र.सानु देवीलालके रसिद कीर्ते गरेमा भनी गर्ने गरेको दण्ड रू.५। को कलम २ पिताम्बर पाध्याके झुट्टा वकेवापत भनी गरेको जरीवाना रू.१। को कलम …………………..३

निवेदक प्र.नरमदाके निजले मुद्दा दोहर्‍याएवापत राखेको कोर्टफी रू.१९। मा मनपतिको जग्गा कायम भएतर्फ रू.४। कटाई बाँकी रू.१५। विपक्षी वादी मनपतिबाट नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ (१) बमोजिम भरिपाउने हुँदा भरिपाउँ भनी वादीको जायजात देखाई ३ वर्षभित्र दर्खास्त परे कानूनको रीत पुर्‍याई वादी मनपतिबाट भराइदिने ……………………….३

 

प्र.न्या. रत्नबहादुर बिष्ट,

न्या. विश्वनाथ उपाध्याय

 

उक्त रायमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२८ साल फागुन १७ गते रोज ३ शुभम् ।