December 7, 1971
Created by nepalarchives

निर्णय नं. ६६२ – बन्धकी निखनाइपाउँ

निर्णय नं. ६६२     ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...

निर्णय नं. ६६२     ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्वर ११७

फैसला भएको मिति : ०२८।८।२१।३

निवेदक : सिन्धुपाल्चोक चौतारा बजार बस्ने बयानबहादुर प्रधान

विरुद्ध

विपक्षी   : ऐ.डाँडाथोक बस्ने मंसिरमाया तामाङ्गनी

मुद्दा : बन्धकी निखनाइपाउँ

(क) एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधारराजीनामा, दान बकस, मालपोत बाँकीमा सकारिनु ।

(ख) रीतपूर्वकको राजीनामा लिखत पेश हुन नआए शंका उठाउन उपयुक्त नदेखिने ।

          उक्त शंकाको विवेचना गरी हेर्दा एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार राजीनामा वा दान बकस अथवा मालपोत बाँकीमा सकारिनु बाहेक अरु कुनै आधार हुन सक्दैन । ०१७ सालको दर्तामा ५२ साल दर्ताकै सरह बन्धकी जनाएको पुरानै व्यहोरा कच गरी राखेको साविक जग्गावालाको हक छुटेको भन्ने नजनाएको र मैते भोटेले मेरो बाजे गजकेशर प्रधानलाई गरिदिएको भनी पेश गरेको १९५८ साल पुष वदी ९ रोज ६ को राजीनामा लिखतमा कारणीको सही नभई गुणन चिन्हसम्म लगाएको पाइयो । साविक मुलुकी ऐन कागज जाँचको २० नं.अनुसार १९४५ साल वैशाख वदि ३० रोज ६ देखि अघिकोमा सम्म सहिछाप नपरेको र कारणीले आफ्नो हस्ताक्षरले नलेखेको भए पनि पाटन भादगाउँमा श्रीवत्स लेखेको बाकु रहेछ भने सो कागज सदर हुने सो बाहेक अरुमा १९६१ साल वैशाख १ गतेदेखि अघिकोमा सही वा नाउँ लेखी वा छाप वा ल्याप्चे सही नपरे छाप लगाई वा यी चार थोकमा एक थोक पनि गरी सहिछाप नपरेको कागजबाट नालिस उजूर सुनिन नसक्ने हुनाले त्यस्तो कागज प्रमाणमा लिन नमिल्ने र अरु कानूनबमोजिम रीतपूर्वकको राजीनामा लिखत निवेदक प्रतिवादीले पेश गर्न नसकेको समेत हुँदा दर्ताको कच व्यहोरामा बन्धकी भन्ने प्रष्टै जनिइराखेको रीतपूर्वक राजीनामा लिखत पेश हुन नआएको यस्तो अवस्थामा निवेदक प्रतिवादीको हकमा उपरोक्त शंका उठाउनु उपयुक्त देखिन्न ।

(प्र.नं. १५)

फैसला

          प्र.न्या. रत्नबहादुर बिष्ट

          १.   मेरा बाबु मैते भोटेले अघि १९३२ साल श्रावण ८ गते रोज २ मा भोगबन्धकी थैली मोहरू ५०। मा चौतारा बजार बस्ने नारानकृष्ण प्रधानलाई भोगबन्धक दिएको रहेछ । १९५२ सालको सरपट महाजाँचमा ब्याज मारिखानु भन्ने ३२ साल श्रावण ८ गते रोज २ का तमसुकबमोजिम मोहरू ५०। को ब्याजमा निज मैते भोटेको किपट नारायणकृष्ण प्रधानलाई भोगबन्धकी गएको हाल निज साहूले खाएको जग्गाका दामासाहीले हाल तिरोभरोसमेत चढाई रुपैयाँ तिरेपछि साहूले छाडिदिनु पर्ने १११३ नं.खेत १११२ नं.का खेतदेखि अन्दाजी ७ गज पश्चिम दक्षिण देखिने बीचमा पाखाबारीमै जोरिएको सो पाखोबारीदेखि पश्चिम जोरिएको काँल्ले खेत सिं ।१५ को खेत नारायणकृष्णलाई बन्धकी दिएकोमा पूर्व बलबहादुर श्रेष्ठको खेत पश्चिम ऐ.कै बारी उत्तर भीर पाखो दक्षिण शमशेरबहादुरको खेत यति ४ किल्लाभित्रको धानको बीऊ पाथी ।९ जाने काँल्ले खेत भोगबन्धकी खाने साहू नारायणकृष्ण मरेपछि निजको छोरा उत्तरध्वजलाई थैली बुझाउन जाँदा सो जग्गा मेरो बाबु नारायणकृष्णले भोगबन्धकी दिएको शेखनारायणलाई लख बन्धकी दिएको हुँदा हाल निज शेखनारायणको छोरा बयानबहादुरले खाइआएको छ भनी भनेबाट निजलाई २०१९ साल चैत १ गते रोज ५ का दिन थैली बुझाउन जाँदा बुझि नदिएको हुनाले बाबु मैते भोटे ९१ सालमा परलोक भई बाबुको अरु छोराहरू र हकदारसमेत नभई म छोरीले बाबुको श्रीसम्पत्ति जग्गाजमीनहरू खाई चर्ची आएकोले निज बयानबहादुरले रू.५०। थैली बुझी नदिएबाट सो १११३ नं.को काँल्ले खेत निखनाइपाउँ भनी १९ साल चैत महिनामा सिं.पा.मालमा धरौटी लगी राखिसकेपछि सिं.पा.मालबाट जग्गा खाने विपक्षीलाई म्याद जारी गरी झिकाउँदामा १११३ नं.कांल्ले खेत वादीको बाबु मैते भोटेले पहिलाको बन्धकी साहू नारायणकृष्णको थैली तिरी निजको हक गराई निजले मेरो बाजे गजकेशर प्रधानलाई मो.रु. ८५। मा १९५८ साल पौष वदि ९ रोज ६ मा राजीनामा गरी दिएको हुँदा थैली बुझ्न नपर्ने भनी मालमा कागज गरेपछि बन्धकी राजीनामा भन्ने देखिँदा बन्धकी नै भए आजको ३५ दिनभित्र इलाका अदालतमा नालिस दिन जानु भनी सिं.पा.मालबाट २०२०।५।१०।२ मा सुनाई पर्चा खडा गरेकाले राजीनामा भनेको कागज देख्न सुन्न पाए नामाकरण राखी बयान गर्ने हुँदा थैली नबुझेमा विपक्षलाई सजाय गरी मैले सो मालमा धरौट राखेको थैली रू.५०। बुझाई १११३ नं.खेत विपक्षीले खाएको खण्डमा मेरो हक गराइपाउँ भन्नेसमेत ०२०।६।९।३ को मंसीरमाया तामाङ्गनीले इलाका अदालत सिन्धुपाल्चोकमा चढाएको फिरादपत्र ।

          २.  पूर्व बलबहादुरको हाल इन्द्रलालको खेत पश्चिम बलबहादुरको बारी उत्तर चन्द्रबहादुरको खेत दक्षिण शमशेरबहादुरको खेत यति ४ किल्लाभित्रको काँल्ले खेतलाई वादीले दावी गरेको सो काँल्ले खेत वादीका बाबु मैते भोटेले पहिलाका बन्धकी साहू नारायणकृष्णको थैली तिरो हक गराई लिएमध्ये उक्त खेत निजले मेरो बाजे गजकेशर प्रधानलाई रू.८५। मा धान बीउ ।१० जाने खेत काँचोफलाम धार्नी ९ तिरो बुझाउन पर्ने खेत १९५८।९।९।६ मा राजीनामा गरिदिई बाजे र बाबुका शेषपछि मैले भोगचलन तिरो गरी खाइआएको छु । दर्ता लगतमा बन्धकी भनी लेखेको भनी वादीले दावी गरेको सो १११३ नं.को काँल्ले खेत ५२ साल जाँचमा माटो मुरी ।३२।८ लागी दर्ता भई सबै खेत नारायणकृष्णलाई रू.५०। मा बन्धकी गएको भनी लेखिएको छ । सो खेतमध्येमै रानी तमाङ्नीको राजीनामाअनुसार हक हुने चौतराबजार बस्ने रुद्रप्रसाद श्रेष्ठका नाउँमा माटो ।२।१८ र यिनी वादीको ०९।७।१९ का राजीनामाबाट हक हुने सानी सिरुवारी बस्ने शमशेरबहादुर नेवारका नाउँमा माटो ।१२।१८ र बाँकी माटो ।१६।१२ मेरो नाउँमा किपट हरण भई रैकरमा दर्ता नामसारी हुँदा बण्डा लगाई दर्ता भएको छ । यो वादीले अघि मालमा गरेको उजूरी र हाल फिरादमा मुख्य वादी फरक गरी दावी गरेको हुँदा झुट्टा उजूर गरेमा सजाय गरी फुर्सत गरिपाउँ भन्नेसमेत ०२०।८।५।५ को प्रतिउत्तर पत्र ।

          ३.  मलाई कुर्नै कुरा थाह छैन यो काँल्ले खेत थाहा पाएदेखि मेरा बाबुले भोग गरेको थाहा छैन । वादी मंसिरमायाले मलाई थैली बुझाउन आएकोमा शेषनारायणलाई लख गई बयानबहादुरले भोगेको छ भनेको समेत होइन । सो लिखत विषयको कुनै लिखत कागज मसँग हाल छैन भन्नेसमेत ०२१।९।२८।२ को उत्तरध्वज प्रधानको बयान ।

          ४.  सो नं.११३ को काँल्ले खेत ।३२।८ मध्ये ।२।१८ को जग्गा मैले रू.७०१। दिई मैतेको छोरी मैरानी तामाङ्नी अर्थात यो वादी मंसिरमायाको बहिनीबाट ०१०।१२।१ मा घरसारमा राजीनामा गराई ०१०।१२।६ मा सिं.प.मालबाट रजिष्ट्रेशन पास गराइलिएको हुँ । सो राजीनामा गराइलिएदेखि सो जग्गा मैले नै भोगचलन गरिआएको थिएँ र २०१७ सालमा फलाम खानी रकम खारेज भई मालमा दर्ता हुँदा सो राजीनामा अनुसार सो जग्गा माटो मुरी ।२।१८ मा मेरो नाउँमा दर्ता हुन आएको हो । कसैको बन्धकी होइन । खास मैले राजीनामा गराई लिएको भन्ने रुद्रप्रसाद श्रेष्ठको ०२१ साल पुष २९ गते रोज ३ मा गरेको बयान ।

          ५.  सो १११३ नं.को माटो मुरी ।३२।८ मध्ये ।१२।१८ काँल्ले खेत वादी मंसिरमायासँग रू.३८४। मा ।०९।७।१९ ता घरसारमा राजीनामा गराई लिई ०९।०९।८ सिं.पा.मालमा रजिष्ट्रेशन पास गराई लिई सो सालदेखि राजीनामाको हैसियतले जग्गा मेरो मैले नै भोग तिरोभरो गरी भोगचलन गरिआएको थिएँ र ०१७ सालमा मेरो नाउँमा खेत माटो मुरी ।१२।१८ दर्ता भएको हो भन्नेसमेत ०२१ साल पुष २९ गते शेरबहादुर नेवारले गरेको बयान ।

          ६.  प्रतिवादीले लखबन्धकीमा खाएको भनेको जग्गा राजीनामाबाट खाएको भन्ने भई १९५८ पुष वदी ९ रोज ६ को राजीनामा प्रमाण दिएको सक्कल हेर्दा कारणीको ल्याप्चे लिखत सही नगरी गुणन चिन्ह लागेको देखिएको साविक मुलुकी ऐन कागज जाँचको २० नं.ले सो लिखत कानूनी मान्यता दिन नमिल्ने भई वादीलाई सुनाउन पर्ने अवस्था परेन । वादी दावीको काँल्ले खेतको दर्ता भीडाउँदा १७ सालको दर्ता भनी ३२।४।८ को तमसुकबमोजिम नारायणकृष्णले भोगबन्धकीमा पाएको व्यहोरा लेखी बयानबहादुर, रुद्रप्रसाद शमशेरबहादुरका नाममा ३ कित्ता गरी दर्ता भएको सिं.पा.मालबाट आएको दर्ता उतारबाट देखिएको र साहू नारायणकृष्णलाई भोगबन्धकी गएको भन्ने लगत फाँटबाट आएको ५२ सालको मोठ उतारबाट देखिएकोबाट सो जग्गा हालसम्म भोग गर्नेहरूले भोग या लखबन्धकीमा भोग गरिरहेको होलान् भन्न नमिल्ने अरु दर्तावाला रुद्रप्रसाद, शमशेरबहादुरले खाएको जग्गातर्फ उजूर पनि नपरेको निजहरू बुझ्दा राजीनामाबाट खाएको भनेको यही वादी मंसिरमायाले शमशेरबहादुरलाई गरिदिएको ०९।०७।०९ को घरसारमा ०९।०९।८ मा पास भएको राजीनामा हेर्दा पूर्व बयानबहादुरको खेत भन्ने लेखेको भई बयानबहादुरले हकभोगमा प्रतिवादीले नै किल्ला लेखिदिएको देखिएको र त्यसभन्दा अघि पनि बयानबहादुरले भोगचलन गरेको भन्ने कुरामा वादीले स्वीकारै गरी लख खाएको भनेको लख खाएको सबूद वादीले ल्याउन नसकेको बयानबहादुरले भोग गरेकोमा उजूर गरी आफ्नो हक गरी राख्न नसकी तत्काल प्रचलित ज.मि.को २१ नं.को म्याद २ बर्ष नाघिसकेपछि वादीले निखनाइपाउँ भनी बहाना गरी उजूर गरेको देखिएको धेरै वर्षअघिदेखि प्र.बयानबहादुर तर्फबाट भोगचलन भइरहेको जग्गा लखमा भोग गरेको भनी निखनाई दिन न्यायसंगत भएन । झुट्टा फिराद गरेको ठहर्छ भन्नेसमेत ०२१।१२।२२ को सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला ।

          ७.  इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी मंसिरमाया तमाङ्गनीको पुनरावेदनपत्र ।

          ८.  अर्थमन्त्रालयबाट आएको दर्ता उतारबाट भोगबन्धकी जनिएको देखिएको सोमध्येको जग्गा वादीको बहिनी मैरानीले रुद्रप्रसादलाई र वादीले समेत राजीनामा गरिदिएको देखिनाले अहिलेसम्म बन्धकी नै कायम रहिरहृयो होला भन्न नमिल्ने वादीले शमशेरबहादुरलाई गरिदिएको राजीनामामा बयानबहादुरको साँध भनी लेखिएबाट नै बन्धकी भन्ने देखिन नआउने हुँदा इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला ।

          ९.  इन्साफ जाँच गरिपाउँ भन्नेसमेत वादी मंसिरमायाको निवेदनमा व्यहोरा साँचो भए हदमुनि छिनिएका मुद्दाहरू एकपटक झिकी रुल नियमबमोजिम इन्साफ जाँच गरी कानूनबमोजिम गरिदिनु भन्नेसमेत बक्स भई आएको हुकूम प्रमांगीबमोजिम गर्न निमित्त डिभिजन बेञ्चमा पेश गर्नु भन्नेसमेत ०२४।९।३०।१ का माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

          १०.  प्रस्तुत मुद्दामा ब्याज मारी खानु भन्ने ३२ साल श्रावण ८ रोज २ का तमसुकबमोजिम मो.रु. ५०। मा ब्याजमा निज मैते भोटेको किपट नारायणकृष्ण श्रेष्ठलाई भोगबन्धक राखेको हाल निज साहूले खाएको जग्गाका दामासाहीले सो रकम तिरोभरोसमेत चलाई रुपैयाँ तिरेपछि साहूले जग्गा छाडिदिनुपर्ने भनी नं.१११३ को वडसमेत जम्मा ।३२।१८ को ५२ सालको मोठ उतार र सोही १११३ नं.को ।३२।१८ मध्ये बयानबहादुर प्रधानका नाउँमा ०१६।१२ भनी सिन्धुपाल्चोक मालबाट आएको दर्ता उतारमा ०१७ सालको दर्ता भनी लेखिएको देखिएको र १९५८ सालको राजीनामाले मेरो हक भएको भनी प्रतिवादीले जिकिर गरे पनि सोही ०१७ सालको दर्तामा बन्धकी जनाएकोले राजीनामा भन्न नहुने र बन्धकीको नाताले दर्ता भएकोलाई राजीनामा भन्न नहुने वादी मंसिरमायाको तर्फबाट प्र.बयानबहादुरले राजीनामामा लिएको अथवा हक टुटाई लिएको लिखत नदेखिएकोले समेत त्यस्तो जग्गालाई प्रमाणवेगर प्र.बयानबहादुरको हक गराई ठहराएको शुरु र अञ्चल अदालतको इन्साफ मिलेको भन्ने नभई मंसिरमाया तमाङ्नीले रू.५०। मा बन्धकी निखन्न पाउने ठहर्छ भन्नेसमेत ०२५।१०।३।५ को डिभिजन बेञ्चको फैसला ।

          ११.  वादी मंसिरमाया तमाङ्नीको र प्रतिवादी बयानबहादुर प्रधानको बन्धकी जग्गा निखनाइपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०२५।१०।३।५ को निर्णय दोहर्‍याइपाउँ भन्ने बयानबहादुर प्रधानको निवेदन पर्न आएकोमा वादीको लेखाइबमोजिम निज वादीको हकको जग्गा प्रतिवादीले बन्धकीसम्म खाएको भए ९१ सालमा मैते भोटे मरी सो साल देखि वादीको हक हुन आएको थियो भन्ने त्यती थोरै थैली भएको जग्गा खान दिनु सम्भव थिएन त्यसबाट पनि राजीनामा भएको जग्गा हुँदा ननिखनेको भन्ने देखिने, किपट उन्मूलन भई रैकरमा परिणत हुँदा पनि वादी र निजकी वैनी समेतले आफ्नो नाममा दर्ता गराउन सक्नु पर्ने नसकेको त्यसबाट पनि राजीनामा भन्ने देखिने ०१७ सालमा मालले दर्ता गर्दा गल्ती गरी ५२ सालको दर्तामा बन्धकी जनिएको सिर व्यहोरा उतार गरी लेखिदिएबाट सो आधारमा सम्म वादीले बन्धकी भनी उजूर गरेको देखिन्छ । वादीले शमशेरबहादुरलाई राजीनामा गरी दिंदा पूर्व बयानबहादुरको जग्गा भनी साथ लेखिएको बन्धकी साहू भए सोही कुरा लेखिनुपर्ने वा वादीको जग्गा भनी लेखिनु पर्ने सो दुवै कुरा नभएको वयानबहादुरको जग्गा भन्ने वाक्यांशले जग्गावाला भन्ने जनाएको प्रष्ट देखिएको त्यसबाट पनि राजीनामा गरी दिएको सिद्ध हुन आएको । निज प्रतिवादी बयानबहादुरले पेश गरेको तिरो तिरेको रसिदमा पनि मोही बयानबहादुर जग्गावाला भन्ने देखिने, वादीले शुरुउपर दिएको पुनरावेदनको दफा २ मा शमशेरबहादुरलाई राजीनामा गरिदिँदा पूर्व किल्लामा बयानबहादुरको खेत लेखेको भरबाट मुद्दा हार्नु न्यायोचित भएन भन्ने लेखेकोबाट पनि जग्गा बयानबहादुरको हकको भन्ने वादीले मानेको देखिन्छ । यदि दर्ताको सिर व्यहोरा मान्ने हो भने सो दर्तामा जोजति व्यक्ति दर्ता भएका छन् । सबै बन्धकीवाला हुन जाने हुँदा सो दर्ताको सिर व्यहोरा कुनै हालतमा पनि मान्य हुन आउँदैन र ५२ सालपछि दर्तावालाले निखनिसकेको जग्गा राजीनामा गरिदिएको देखिन्छ, तसर्थ उक्त उल्लिखित प्रमाण परिवन्धबाट स्वतः जग्गामा हक प्रतिवादीकै देखिँदा राजीनामा रीत वेरीततर्फ विचार गरिरहनुपर्ने अवस्था देखिँदैन ०१७ सालको दर्तालाई बन्धकी दर्ता भनी जग्गा बन्धकी ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिँदा दोहर्‍याउन आदेश बक्सनुर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधान धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइदिनु भन्ने हुकूम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२६।७।२९।६ को हुकूम प्रमांगी ।

          ११.  बक्स भई आएको हुकूम प्रमांगीबमोजिम गर्न निमित्त फुल बेञ्चमा लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय आएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि नं.७ न्या.स.०२१।४।१३ का हुकूम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभागमार्फत पठाइदिने भन्ने ०२६।८।१।१ को तत्कालिन माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेश ।

          १२.  यसमा तारेखमा रहेका पक्षहरू रोहबरमा रही ०२८।८।१०।६ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री मोतिकाजी स्थापितले र वादी तर्फबाट विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा नं.१११३ को काँल्ले खेत मुरी ।१५ मेरो बाबु मैते भोटेले नारायणकृष्णलाई रू.५०। मा ३२।४।८ मा भोगबन्धकी दिई निज साहूबाट सेखनारायणले लखबन्धकीमा लिएको सेख नारायण मरेपछि निजको छोरा प्रतिवादीले लखबन्धकीमै भोग गरी आएको भन्ने वादीको दावी भएकोमा मैले वादीको बाबु मैतेबाट नारायणकृष्णले भोगबन्धकीमा लिएको रहेछ तर निज मैत भोटेल नारायणकृष्णबाट भोगबन्धकी निखनीे मेरो बाजे गजकेशरलाई रू.८५।मा १९५८।९। ९।६ मा राजीनामा गरिदिई बाजे बाबुका शेषपछि मैले भोग गरिआएको भन्ने प्रतिवादीले जिकिर लिई बन्धकी या राजीनामा के हो भन्ने कुरामा मुख्य विवाद उठाएको देखिन्छ ।

          १३.  बन्धकी भन्ने आफ्नो दावीलाई पुष्टि गर्ने प्रमाण भनी वादी पक्षले आधार लिएको उक्त खेत खलाको दर्ता उतार हेर्दा १९५२ सालको दर्ताको कच व्यहोरामा ब्याज मारी खानु भन्ने ३२ साल श्रावण सुदी ८ रोज २ का तमसुकबमोजिम मोरु ५०। को ब्याजमा निज सेते भोटेको किपट नारायणकृष्ण श्रेष्ठलाई भोगबन्धकी राखेको हाल निज साहूले खाएको जग्गाको दामसाहीले सो रकम र तिरोभरोसमेत चलाई रुपैयाँ तिरेपछि साहूले जग्गा छाडिदिनुपर्ने भन्ने लेखी कच गरी १११३ नं.कांल्ले खेत सिं.भन्ने जनाई खेत मुरी ।१५ दर्ता भएको र १७ सालमा किपट खारेज भई माल दर्ता हुँदा उक्त १११३ नं.मा साविक खेत मुरी ।३२।१८ देखाई हाल जग्गा खानेको महलमा बयानबहादुर प्रधान ।१६।१२ रुद्रप्रसाद श्रेष्ठ ।२।१८ शमशेरबहादुर ।१२।१८ भन्ने लेखी बयानबहादुरको हस्ते तोरणबहादुर शमशेरबहादुरको हस्ते चन्द्रबहादुर र रुद्रप्रसादसमेतले १९।१।५।२ मा दर्खास्त दिई नम्बरीमा ५२ सालकै दर्तामा लेखिएसरह नारायणकृष्णलाई भोगबन्धक राखेको हाल निज साहूले खाएको रुपैयाँ तिरेपछि साहूले जग्गा छाडिदिनुपर्ने भन्नेसमेत व्यहोरा कच गरी सो खेत ।३२।१८ को देहायमा बयानबहादुर प्रधान ।१६।१२ रुद्रप्रसाद श्रेष्ठ ।२।१८ शमशेरबहादुर ।१२।१८ भन्ने जनाई दर्ता भइराखेको समेत देखिन्छ । उपरोक्त ०१९।१।५।२ को दर्खास्त र नम्वरीसमेतमा राजीनामाबाट पाई भोग गरेको भन्ने उल्लेख भएको छैन । बन्धकी निखन्नेमध्ये केही जग्गा शमशेरबहादुरलाई र केही जग्गा रुद्रप्रसादलाई वादी र वादीकी बहिनी समेतले राजीनामा दिएको हुनाले बन्धकी कायमै रहेको छैन भन्ने प्रतिवादीतर्फको जिकिर र न्यायिक समितिले पनि सोही तर्क उल्लेख गरेको हकमा ५२ सालको मोठ उतारबाट अरु जग्गा नारायणकृष्णलाई बन्धकी गएको नदेखिई सिर्फ ।१५ मात्र ब्याज मारी खाने भन्ने बन्धकी उल्लेख भएको देखिएकाले प्रतिवादी जिकिरको उक्त तर्क युक्तिसंगत देखिएन ।

          १४. उक्त दर्तामा लेखिएको शमशेरबहादुरलाई मैतेकी छोरी यै वादीले ०९।९।८।२ मा र रुद्रप्रसाद श्रेष्ठलाई मैतेकै छोरी मैनानी तामाङले ०१०।१२।६।६ मा राजीनामा रजिष्ट्रेशन पास गरिदिएका छन् । निजहरूको पनि राजीनामा भन्ने नजनाई ५२ सालको दर्ताबमोजिम बन्धकी भन्ने व्यहोरा कच गरी प्रतिवादी सरह एकै किसिमले दर्ता भएको छ । यस्तै उक्त नम्बरीमा नं.१११८ रविनाथ पाध्याको नाममा लेखिएको खेत मुरी ।६ निज रविनाथको बाबु तारानाथलाई निमा तामाङले २०००।१०।१९।३ मा नं.११०९ रोमबहादुर श्रेष्ठका नाममा लेखिएको खेत मुरी ।६।८ निज रामबहादुरलाई विवैसिंले २००५।८।९।४ मा राजीनामा रजिष्ट्रेशन पास गरिदिएको उक्त किताबहरूमा पनि राजीनामा भन्ने नजनाई ५२ सालको दर्तामा लेखिएबमोजिम बन्धकी भन्ने नै कच गरी दर्ता भएको समेत हुँदा ०१७ सालमा किपट खारेज भई नम्बरी हुँदा ५२ सालको दर्तामा लेखिएको व्यहोरा नकटाई सो सबै उद्धृत गरेको भए पनि वास्तवमा सो अनुसार बन्धकीनै कायम नभई राजीनामाबाटै प्रतिवादीसमेतका नाममा दर्ता हुन आएको प्रष्ट हुन्छ भन्नेसमेत निवेदन प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनु भएको उक्त जिकिरअनुसार प्रतिवादी बाहेक अरुहरू साहूको लिखत रजिष्ट्रेशन पास भइराखेको पनि प्रमाणमा पेश भइराखेकोले कसो हो भन्ने शंका उठेको छ ।

          १५. उक्त शंकाको विवेचना गरी हेर्दा एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार राजीनामा वा दान बकस अथवा मालपोत बाँकीमा सकारिनु बाहेक अरु कुनै आधार हुन सक्तैन । ०१७ सालको दर्तामा ५२ सालकै दर्तासरह बन्धकी जनाएको पुरानै व्यहोरा कच गरी राखेको साविक जग्गावालाको हक छुटेको भन्ने नजनाएको र मैते भोटेले मेरो बाजे गजकेशर प्रधानलाई गरिदिएको भनी पेश गरेको १९५८ साल पौष वदी ९ रोज ६ को राजीनामा लिखतमा कारणीको सही नभई गुणन चिन्हसम्म लगाएको पाइयो । साविक मुलुकी ऐन कागज जाँचको २० नं.अनुसार १९४५ साल बैशाख वदी ३० रोज ६ देखि अघिकोमा सम्म सहिछाप नपरेको र कारणीले आफ्नो हस्ताक्षरले नलेखेको भए पनि पाटन भादगाउँमा श्रीवत्स लेखेको बाकु रहेछ भन्ने सो कागज सदर हुने सो बाहेक अरुमा १९६१ साल बैशाख १ गते देखि अघिकोमा सही वा नाउँ लेखी वा छाप वा ल्याप्चे सही नपरे छाप लगाई वा यी ४ थोकमा एक थोक पनि गरी सहिछाप नपरेको कागजबाट नालिस उजूर सुनिन नसक्ने हुनाले त्यस्तो कागज प्रमाणमा लिन नमिल्ने र अरु कानूनबमोजिम रीतपूर्वकको राजीनामा लिखत निवेदक प्रतिवादीले पेश गर्न नसकेकोसमेत हुँदा दर्ताको कच व्यहोरामा बन्धकी भन्ने प्रष्टै जनिइराखेको रीतपूर्वक राजीनामा लिखत पेश हुन नआएको यस्तो अवस्थामा निवेदक प्रतिवादीको हकमा उपरोक्त शंका उठाउनु उपयुक्त देखिन्न ।

          १६.  वादीले शमशेरबहादुरलाई ०९।९।८।२ मा पास गरिदिएको राजीनामा पूर्व बयानबहादुर प्रधानको खेत भन्ने किल्ला लेखिएको भन्ने हकमा बयानबहादुरले भोग गरी राखेको जग्गा हुँदा किल्ला लेख्दा त्यस्तो लेखिन गएको हुन सक्छ । राजीनामा लिखतसमेतको अभावमा किल्लामा त्यस्तो लेखिएको भन्नेसम्म आधारले जग्गामा वादीको हक छुटेको हुँदैन ।

          १७. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट जग्गा बन्धकी नै कायम रहेको प्रमाणित हुन आएकोसमेत हुँदा वादीले बन्धकी निखन्न पाउने ठहराई ०२५।१०।३।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । निवेदक प्रतिवादी बयानबहादुरकै कार्टफी राखेको हुँदा मुद्दा दोहर्‍याएमा अरु सजाय गर्नु परेन दण्ड सजायको ४५ नं. बमोजिम गर्नु भनी थैली धरौट रहेको सिन्धुपाल्चोक माललाई लेखी पठाई दिनु भनी शुरु मिसिल सिन्धुपाल्चोक जिल्ला अदालतमा पठाई नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु ।

 

न्या. विश्वनाथ उपाध्याय,

न्या. झपटसिंह रावल

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२८ साल मार्ग २१ गते रोज ३ शुभम् ।