April 15, 1972
Created by nepalarchives

निर्णय नं. ६६० – लिखतपास कीर्ते जालसाजी

निर्णय नं. ६६०     ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत्...

निर्णय नं. ६६०     ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री झपटसिंह रावल

सम्वत् २०२६ सालको देवानी फुल बेञ्च नम्बर ५४

फैसला मिति : २०२८।२०।३ मा

निवेदक   : सिं.पा.ई.पैरेधाम गाउँ बस्ने लोकबहादुर थापा क्षेत्री

विरुद्ध

विपक्षी    : ऐ.बस्ने कलमबहादुर थापाक्षेत्री

मुद्दा : लिखतपास कीर्ते जालसाजी

(१) अंक अक्षरहरू सच्याई कीर्ते गरेको लिखत रजिष्ट्रेशन पास हुन नसक्ने ।

          तसर्थ त्यस्तो थैलीको र मितिको साल, महिना अंक अक्षरहरू ठाउँ ठाउँ सच्याई कीर्ते गरेको लिखतलाई कानूनको रीतपूर्वकको मानी डिभिजन बेञ्चको ठहरअनुसार थैली रू.१००१। कायम गरी पास गरिदिने भन्न नमिल्ने हुँदा उल्लिखित रजिष्ट्रेशन पास हुन नसक्ने ठहर्छ । थैलीको अंक रू.१००१। कायम गरिदिने ठहराएको ०२४।७।६।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु ।

(प्रकरण नं. १५)

निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त

विपक्ष वादी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ

फैसला

    प्र.न्या.रत्नबहादुर बिष्ट

    १.   अन्यायवालाले साहू मानबहादुर तिर्नसमेत भनी मसँग मो.रु. १९०१। कर्जा लिई निजका हकभोगको पैरे ढाड गाउँ बस्ने मानबहादुर थापा क्षेत्रीलाई रू.३०१। मा भोगबन्धकी दी निज मानबहादुरले भोग गरेको ५८० नं.को ढाडे खेत भोगचलन गरी खानु भनी २०१२।९।१४।५ मा भोगबन्धकी लेखिदिएको पास गरी नदिएकाले सजाय गरी सो तमसुक पास गराइपाउँ भन्नेसमेत १३।४।१०।४ को कलमबहादुर थापा क्षेत्रीको फिराद ।

    २.   २०१२।९।१४।५ मा रू.१९०१। कर्जा लिएको भन्ने वादी दावी विलकुल गलत हो । सो मितिमा वादीसँग मैले कर्जा लिएको छैन । वादी लेखाइमा नै साहू मानबहादुरलाई रू.३०१। मा बन्धकी दिएको भन्ने र सो रुपैयाँ तिरी लगत काटेको भन्नेसमेत लिखत भएकोबाट पनि वादी दावी लगत देखिएको छ सो लिखत देख्न पाएमा नाउँ राख्नेछु भन्नेसमेत लोकबहादुरको प्रतिउत्तर ।

    ३.   वादीलाई भोगबन्धकी लेखिदिएको होइन सो रू.१९०१। को लिखत सदर गराउन साहू मानबहादुर र यो वादी मिली जालसाजबाट मानबहादुर धनी भएको रु. ३०१। को तमसुक ०१३।२।११।५ मा दरपिठ गराएको हो । मानबहादुर दरपिठमा लागेको सहिछापसमेत कलमबहादुरले नै कीर्ते खडा गरेको नै हुनुपर्छ । मानबहादुर कलमबहादुर दाजुभाइ भएकोले जालसाजी दरपिठ गराएको हो । सहिछाप भिडाई मिले जालसाजी गराएको र नमिल्ने कीर्ते गरेको हुनुपर्छ भोगबन्धक रू.१९०१। को लिखतका हकमा शिरदेखि ४ हरफमा रू.१९०१ लेखेको दायाँपट्टिको पहिला शुरुको १ अंश अरु व्यहोरा बारको मसीभन्दा केही गाढा कालो भएको र दायाँ पुछारपट्टि १ को अंक सुन्नेदेखि बीचमा अरु कुनै अंक लेख्न हुने अन्तर पारी फरकमा १ को अंक लेखिएको अक्षरले बोलाएकोमा एक हजार नौं सय एक भन्ने लेखिएकोमा जा भन्ने अक्षर सचेको र दाहिनेपट्टि ठाडो ३ धर्को र माथी दोलक र एक सय अक्षर थपी हरफ मिलाई लेखिएको शुरुमा एक हजार एक १००१। लेखेकोमा नौ सय गराई शुरु दोस्रो सुन्नेको अङ्कमा सही गरी सच्याई अक्षर १ को र लाई नौ गरी बनाइएको हरफमा बन्धकी ३०१। को अड्ढमा पनि एकको अड्ढ सच्याएको १६००। लेखेकोमा पहिले ७००। लेखिएकोमा अंक ७ को अगाडि गाढा मसीले १ को अंक थपी ७ को अंकलाई गाढा मसीले ६ को अंक गराई सच्याई १६ को अंक मिलान गर्नलाई पछिको २ सुन्ने समेत सच्याउँदा मसी गाडा भएकोले १६००। अंक लेखिएको ठाउँठाउँ खुर्की प्वाल समेत पारेको १९०१। को अंक लेखेकोमा नौको अंक सच्ची गाढा भएको २०१२ को लेखेकोमा सुन्नालाई १ र २ लाई ३ बनाई २०१३ लेखेको १२ को अंक सच्चिएको लिखत जालसाजी हो मैले निज वादीलाई २००२ सालमा रू.१०१। लिएको भए पनि तिरिसकेको छु सही १०१। को मैले गरिदिएको तमसुकलाई नै माथि लेखिएबमोजिम सच्याई जालसाजी गराएका हुन् भन्नेसमेत प्र.लोकबहादुरको बयान ।

    ४.   निज लोकबहादुरसँग लेनदेन कुरा मिली निजले लेख्ने मानिसलाई लेखाएको हो लोकबहादुर मिली अगावै जालसाजी कुरा मिलाई जालसाज गरेको हो । झुट्टा उजूर बयान गरेकोमा निजलाई र लेख्नेसमेतले जालसाज भए सो लेख्ने समेतलाई सजाय गरी मेरो १९०१। को कागज पास गराइपाउँ भन्नेसमेत कलमबहादुरको बयान ।

    ५.  वादी औ लिखत साक्षीहरूले रु. १९०१। को तमसुक कीर्ते जालसाजी होइन भनी जिकिर गरेको भए पनि वादीको यो व्यवहोरालाई साँचो सरल व्यवहार भन्न नहुने विचारको परिणामबाट वादीले २००७ सालमा रू.१००१। को व्यवहारलाई १९०१। गरी सच्याई रजिष्ट्रेशन पाउनाको हेतु र भोग गर्ने मिति मिलाउने सिलसिलामा लिखतको १२।१३ हरफको साललाई समेत सच्याई वादीसमेतका लिखतको साक्षीहरूमै लिखत मिति औ ९००। सै को अंकसमेत कीर्ते कागजको १२ नं. बमोजिम कीर्ते गरेको र प्र.लोकबहादुरले पनि मानबहादुरको ह्नेडिक तिरेको भन्ने व्यवहार जालसाजी हो भनी झुट्टा जिकिर गरेको ठहर्छ भन्नेसमेत सिन्धुपाल्चोक इलाका अदालतको ०१७।३।२१ को फैसला ।

    ६.   उक्त फैसलामा चित्तबुझेन भन्नेसमेत वादी कलमबहादुरको र प्र.लोकबहादुरको पुनरावेदन ।

    ७.  कीर्ते गरेको होइन भन्ने भरपर्दो कानूनी पक्का सबूद केही अपीलमा दिन गुजार्न नसकेकोले कीर्ते गरेको होइन भन्ने वादीको अपील जिकिर मनासिव देखिँदैन । रू.१०१। को कारोवार भएकोलाई रू.१९०१। को अंक बनाई कीर्ते गरेको भन्ने प्रतिवादी अपीलबाट लोकबहादुरको अपील जिकिर भएको र शुरु सिन्धुपाल्चोक इ.अ.ले रू.१००१। को व्यवहारलाई रू.१९०१। गरी र मितिको साल २००७ लाई २०१२ र २००८ लाई २०१३ बनाएको देखिने भनी ठहर गरेको हुनाले त्यसतर्फ हेर्दा प्रतिवादी लोकबहादुरको बयानको ५ सवालमा रू.१००१। को लिखतलाई सच्याई रू.१९०१। बनाएको भन्ने र साल २००२ लाई सच्याई साल २०१२ बनाएको भन्ने उल्लेख गरे तापनि सोही बयानको ६ सवालमा २०२२ साल पौष १४।५ मा वादीसँग रू.१०१। कर्जा लिएको सोही लिखतमा सच्याई गरेको भन्ने जिकिर लिनुको साथै ९ सवालमा उक्त ५ सवालमा रू.१००१। लेखिए तापनि रू.१०१। को सम्म लिखत गरिदिएको हुँदा सोही रू.१०१। को तमसुकलाई नै सच्याई गरेको हो भन्ने जिकिर लिएको देखिएको छ । वादी कलमबहादुरको बयान हेर्दा प्र.लोकबहादुरले मसँग रू.१०१। कर्जा लिई २००२।९।१४ गते लिखत गरिदिएको छैन भन्ने इन्कारी जिकिर लिन सकेको देखिँदैन, सो कीर्ते गरी सच्याएको भनेको लिखतै हेर्दा रू.१९०१। भन्ने अंक २ ठाउँमा लेखिएको सो २ ठाउँकै अंकको १९०१। को चारै अंक सचिएको र सो अंक लेखिएको ठाउँको कागजमा सामान्य रुपले पानीले भिजे फूलेजस्तो केही फिका पहेंलो बान्की परी पछाडिपट्टिसम्म र गाडिएको देखिने र अक्षरेपीको अक्षर रहने ठाउँ सबै आगोले खाई प्वाल परेको समेत हुनाले शुरुको फैसला ठहर बमोजिमको रू.१००१ को अंकलाई रू.१९०१। बनाएको भए बीचमा ९ र ० मात्र विकृत हुनुपर्ने सो नभई समुचै चार अंक १९०१ माथि लेखिएबमोजिम सच्चिएको अवस्था हुनाले र मितिको हकमा पनि २००७ र २००८ सालको अंकलाई शुरुको फैसलाले ठहर गरेबमोजिम क्रमशः २०१२ र २०१३ गरी सच्याएको हो कि भन्न २००७ र २००८ मा कुनै लिखत भए गरेको छ भन्ने कुरा वादी प्रतिवादीसहित दुवै पक्षको लेख जिकिर नभएकोले र मितिको साल २०१२ पनि माथि अंक लेखिएको स्थान भएजस्तै कैफियत भएको देखिनाले समेत यस कुरामा शुरुको फैसलासँग सहमत भएन २००२।१०।१४।५ को रू.१०१। को लिखतलाई लेखिएबमोजिम कीर्ते गरी रू.१९०१। को अंक र मितिको साल २०१२ तथा २०१३ बनाई माघ महिनालाई पौष भन्नेसमेत गराई कीर्ते गरेको ठहर्छ, लिखतपास हुन सक्ने ठहर्दैन अरु शुरुको इन्साफ मनासिव भन्नेसमेत ०२१।७।१३।५ को तत्काल जिल्ला अदालत काठमाडौंको फैसला ।

    ८.   सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी कलमबहादुर थापा क्षेत्रीको पुनरावेदन।

    ९.   वादीले पास गरी पाउँ भनेको ०१२।९।१४।५ को भोगबन्धकी तमसुकलाई ०२।९।१४।५ मा गरिदिएको १०१। को तमसुकको मिति र रुपैयाँको अंकसमेत कीर्ते गरी रू.१९०१। बनाएको भन्ने प्रतिवादीको बयान जिकिर भएको सोही बयानको ५ सवालको जवाफमा १००१। लाई १९०१। बनाएको र ७००। लाई १६०० बनाएको भन्ने लेखेको देखिएकोले रू.१०१। को तमसुकमा अंक अक्षर कीर्ते गरेको भन्ने भनाई साँचो नदेखिएको र उक्त तमसुकमा ०५।८।२० को तमसुकी मानबहादुर थापाको रू.३०१। तिर्ने बोलीसमेत लेखिएको देखिएकोले ०२।९।१४।५ को तमसुकमा सच्ची बनाई कीर्ते गरेको भन्न पनि नमिलेको त्यसपछि अर्को यो यस मितिमा यस्तो तमसुक खडा भएको थियो र त्यसैमा यो यस्तो बनाएको भन्ने प्रतिवादीको जिकिर नदेखिएकोले मसुकमा लेखिएको १२।९।१४।५ को मिति कायम मान्नुपर्नेमा पनि पेट व्यहोरामा लेखिएको वाली लगाउने भनेको १२ सालको अंक र वारको अंक नसच्चिई शुद्ध देखिएको समेतबाट साल मिति केही फुले सच्चिएजस्तो देखिएकोलाई नै आधार मानी अघिको मितिलाई पछिको मिति बनाई सच्याएको भन्न मिल्दैन र लिखतको मिति १२।९।१४।५ मा नै भए गरेको भन्नुपर्ने देखिन्छ । सो समुचा लिखतलाई कीर्ते जालसाजी भन्ने प्रतिवादीको भनाई नभई रुपैयाँको अंक थपेको भन्ने जिकिर भएको र सो लिखत गरी दिएमा प्रतिवादी सावितै भएकोले ऐनको म्यादभित्र परेको प्रस्तुत नालिसबाट ऐनले पास गर्नुपर्ने र पास हुन सक्ने त्यस्तो लिखत लिए खाएको ठहरेको रुपैयाँमा रजिष्ट्रेशन पास गरी दिनैपर्ने र रुपैयाँको हकमा रुपैयाँको कुनै कुनै अंकमा पनि प्वाल पारिएको र एक हजारभन्दा बढीको सयलाई हजारको र समेत जोडी नौ सय भन्ने अक्षर घुसाएको देखिएको अर्को प्रतिमा पनि सो सयको अंकलाई बोलाउने अक्षर र थप लिए भनेको अंक अक्षरहरू पोलिएबाट नभएको अवस्थामा देखिएकोले रू.१९०१। नै लिए खाएको रहेछ भन्न नमिली प्रतिवादीका बयान जिकिरबमोजिम बन्धकी तमसुकको भोगबन्धकी तमसुकमा ९००। थपी १९०१। गराएको प्रष्ट देखिएकोले सो तमसुकको थैली रू.१००१। कायम गरी भोगबन्धकी तमसुक पास गरिदिनुपर्ने रू.९००। थपी कीर्ते गरेमा सम्म वादीलाई सजाय गर्नुपर्ने हुँदा साल मितिसमेत कीर्ते ठहराई पास नहुने भनी शुरुले र ०२ सालको रू.१०१। को तमसुकमा रू.१८००। थपेको भनी तत्कालिन काठमाडौं जिल्ला अदालतले समेत केही गल्ती इन्साफ गरेको ठहर्छ भन्ने ०२४।७।६।२ को डिभिजन बेञ्चको फैसला ।

    १०.  उक्त डिभिजन बेञ्चको निर्णय दोहर्‍याई पाउँ भन्ने प्रतिवादी लोकबहादुर थापा क्षेत्रीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा प्रस्तुत केशमा मुख्य रू.१९०१। को भोगबन्धकी तमसुक पास गरिदिएन पास गरिपाउँ भन्ने वादीको दावी भएको तमसुक हेर्दा रू.१००१। लाई १९०१। गराई अंक अक्षर सच्याउनेसमेत काम गरी कीर्ते गरेको प्रष्ट देखिन आएको र सर्वोच्च अदालतले पनि मानेकै देखियो । अब रू.१००१। को कायम थैलीमा लिखतपास हुन सक्ने नसक्ने के हो भन्नेतर्फ विचार गर्दा ऐनमा जति कुरा कीर्ते गरेको छ त्यति कुरामा मात्र सजाय गर्ने व्यवस्था भए पनि जानाजान कीर्ते गरेको कीर्ते देखिएको कागज पास गर्नुपर्छ भन्ने व्यवस्था नभर्ई तत्कालिन रजिष्ट्रेशनको ९ नं.मा ऐनले रजिष्ट्रेशन गर्नुपर्ने कागज गर्दा अड्डैबाट होस् भनी अड्डैमा कागज गरिदिने लिने दुवैथरीलाई लेखाउनु वा पहिले घरयासमा ऐनबमोजिम सहिछाप समेत गराई कागज गरी सो कागज लिई कागज भएका मितिले ६ महिना म्यादभित्र रजिष्ट्रेशन गरी दिने अड्डामा आई रजिष्ट्ररी गराउन अथवा रीतबमोजिम घरायसमा कागज लेखी सहिछाप गराउन मात्र बाँकी राखी सो कागज लिई रजिष्ट्ररी गरिदिने अड्डामा आई रजिष्टरी गराउन पनि हुन्छ अड्डैबाट गरिपाउँ भनेकोमा अड्डैबाट लेखिदिई र घरायसमा सहिछाप समेत गराई ल्याएको र सहिछाप गर्न बाँकी राखी ल्याएकोमा समेत रीत पुगे नपुगेको जाँची रीत नपुगेकोमा अर्को लेखी दिई रीत पुगेकोमा त्यसै कागजमा अड्डैको सामुन्ने लिने दिनेको र सनाखत गर्ने साक्षी समेतको सहिछाप गराई नम्बर नम्बरमा लेखिएका ऐनबमोजिम गर्नु घरायसमा गराएकोमा पनि अड्डाका सामुन्ने फेरि सहिछाप गर्नु गराउनुपर्छ भन्ने लेखिएको त्यस्तो कीर्ते तमसुकलाई रीतपूर्वकको तमसुक भन्न मिल्दैन तसर्थ रीतपूर्वकको शुद्ध तमसुकलाईसम्म पास गरिदिनु लिनुपर्ने कानूनी व्यवस्था देखिँदा कीर्ते तमसुक पास गरिदिने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहर्‍याउन आदेश बक्सन पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइदिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२६।४।८।४ को हुकूम प्रमांगी ।

          ११.  बक्स भई आएका हुकूम प्रमांगीबमेजिम गर्न निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न र यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभागमार्फत पठाइदिनु भन्ने ०२६।४।८।४ को तत्कालिन माननीय प्र.न्या. ज्यूको आदेश ।

          १२.  यसमा धनी मानबहादुर थापाक्षेत्री ऋणी लोकबहादुर थापाक्षेत्री भएको थैली रु. ३०१। को २००७।२।१९।५ मा सिन्धुपाल्चोक मालबाट रजिष्ट्रेशन पास भएको अड्डामा रहेको चाहिँ २००५।८।२०।२ को भोगबन्धकी तमसुकमा दरपीठ जनाएको छ छैन ? छ भने कुन मितिमा के व्यहोरा लेखी दरपीठ जनाएको र त्यसमा कसको सहिछाप परेको छ ? हेरी प्रष्ट जवाफ पठाइदिनु भनी सिन्धुपाल्चोक माललाई लेखिपठाई जवाफ दिनु, २००२२००७ सालको पात्रोहरू खोजी गरी दाखिल गर्न ल्याउनु भनी निवेदक प्रतिवादी पक्षलाई तारेख तोकी दाखिल गराउनु सो अंग पुगेपछि नियमबमोजिम पेशगर्नु भन्ने ०२८।१।२४।६ को फु.बे.को आदेश ।

          १३.  यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।९।१६।६ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले र वादी तर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले गर्नुभएको वहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ०२४।७।२६।२ को डिभिजनेबेञ्चबाट फैसला हुँदा वादी दावीको पास गराई पाउँ भन्ने लिखतमा मितिको साल महिनाको अंक अक्षर सच्याई कीर्ते गरेको नठहर्ने । लिखत ०१२।९।१४।५ कै कायम हुने र थैलीको अंकमा रू.१००१। लेखिएकोमा रू.९००। थपी रू.१९०१। गराई सच्याई कीर्ते गरेको देखिएकोले थैली रू.१००१। कायम गरी भोगबन्धकी पास गरी दिनुपर्ने समेत ठहर भएको रहेछ । उक्त डिभिजन बेञ्चले थैलीको अंक सच्याई कीर्ते गरेको ठहराएकोमा वादीतर्फका विद्वान अधिवक्ताले थैली अंक सच्याई कीर्ते गरेको होइन । थैली रू.१९०१। नै कायम हो भन्नेतर्फ कुनै उचित तर्क पेश गर्न पनि नसकेकाले त्यसतर्फ अरु विचार गरिरहनुपरेन । त्यस्तो अक्षर सच्याई कीर्ते गरेको लिखत रजिष्ट्रेशन पास हुन सक्ने नसक्ने के हो ? सो कुराको यस बेञ्चबाट निर्णय दिनुपर्ने भएको छ ।

          १४.  पास गराइपाउँ भन्ने वादी दावीको सक्कल लिखत २ प्रति मिसिल साथ पेश भइराखेको हेर्दा दुवैमा सालको मिति २०१२ मा आखिरीको २ को अंक र महिनाको अक्षर पौष समेत सच्याई बनाएको प्रष्टै देखिएको छ, २०११ साल माघ १४ गते रोज ५ मा खडा भएको लिखतलाई म्यादभित्रको पारी पास गराउन २०१२ साल पौष १४ गते रोज ५ गराई सच्याई कीर्ते गरेको भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको वहस जिकिर समेत भएकाले उक्त सचिएको अंक अक्षरहरूलाई ध्यान दिई हेर्दा मितिमा सालको अंक पहिले २०११ लेखिएकोमा आखिरीको १ को अंकलाई २ र महिनाको अक्षर माघ लेखिएकोलाई पुष गराएको देखिन आउँछ । व्यहोरामा यही २०१२ सालमा लगाउने २०१३ सालमा पाक्ने मकै वाली देखि भन्ने लेखिएकोमा २०१२ को आखिरी अंक १ लाई २ र २०१३ को आखिरी अंक २ लाई ३ गराएको र लागेको तिरो २०१३ सालदेखि जिं बहादुर तामाङमार्फत बुझाई भन्ने लेखिएकोमा आखिरी अंक यो २ लाई ३ गराएको देखिन्छ । पास गराउने म्याद नाघिसकेको लिखितलाई म्यादभित्रको गराउन माथि लेखिएबमोजिम विभिन्न साल महिनासमेतको अंक अक्षर सच्याई कीर्ते गरेको देखिन आयो ।

          १५.  तसर्थ त्यस्तो थैलीको र मितिको साल महिना अंक अक्षरहरू ठाउँ ठाउँ सच्याई कीर्ते गरेको लिखतलाई कानूनको रीतपूर्वकको मानी डिभिजन बेञ्चको ठहरअनुसार थैली रू.१००१। कायम गरी पास गरिदिने भन्न नमिल्ने हुँदा उल्लिखित रजिष्ट्रेशन पास हुन नसक्ने ठहर्छ । थैलीको अंक रू.१००१। कायम गरी पास गरी दिने ठहराएको ०२४।७।६।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी कलमबहादुर थापा के कीर्ते गरेतर्फ सजाय भइसकेको देखिँदा अरु केही गर्नु परेन लिखित पास गरिपाउँ भन्नेतर्फ झुट्टा दावी गरेमा शुरु सिं.पा.इ.अ.को ०१७।३।२१ को फैसलाले गर्ने गरेको दण्ड रू.५। र पुनरावेदन गरेमा तत्कालीन काठमाडौं जिल्ला अदालतको ०२१।७।१३ को फैसलाले उक्त दण्ड रू.५।५० डिभिजन बेञ्चको ०२४।७।६।२ को फैसलाले नलाग्ने गरेको लगत काटी उक्त कलमको पहिलेको लगत कायमै राख्नु भनी कानूनबमोजिम लगत दिनु ……………१

प्रतिवादी लोकबहादुरके लिखतपास गरिनदिएको भनी ०२४।७।६।२ को डिभिजन बेञ्चको फैसलाले गरेको जरिवाना रू.५। नलाग्ने हुँदा असुल भइसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरिदिनु भनी ऐ………………….२

वादी कलमबहादुर के डिभिजन बेञ्चको ०२४।७।६।२ को फैसलाले दावीको लिखत थैली रू.१००१। कायम गरी पास गरिदिनु भनी पूर्जी गरिदिने गरेकोमा उक्त लिखतपास हुन नसक्ने ठहरेकाले उक्त पूर्जी गरिरहनु पर्दैन……………….३

नियमबमोजिम मिसिल बुझाइदिनु ……………….४

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

न्या.झपटसिंह रावल,

न्या.वासुदेव शर्मा

 

इति सम्वत् २०२८ साल पुष २० गते रोज ३ शुभम् ।