निर्णय नं. ६५९ – जग्गा जालसाजी
निर्णय नं. ६५९ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२७ सालको दे.वि.नं. ७१२ फैसला मिति :...
निर्णय नं. ६५९ ने.का.प. २०२९
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०२७ सालको दे.वि.नं. ७१२
फैसला मिति : ०२८।४।३०।१
निवेदक : पाल्पा पिलुवा खाली वं.गा.पं.अन्तर्गत आँपचौर बस्ने भविस्वरा अर्यालनी समेत
विरुद्ध
विपक्षी : पाल्पा पूर्वखोला छपदि बस्ने मनिकर्ण अर्यालनी
मुद्दा : जग्गा जालसाजी
(१) कुनै व्यक्तिको नाम लेखी सहिछाप अर्कै मानिसले गरे–एक कुरामा गरेको सही छाप अर्कै कुरामा उपयोग गरे–त्यस्तो व्यक्ति वा व्यहोरा फरक परेको कीर्ते हुने ।
(२) कुनै व्यक्तिको नाम वा सहिछाप गरेको नभई केवल उसलाई असर पर्ने कागज खडा गरी त्यो कुराको कागज भए–जालसाजी हुने ।
(३) रजिष्ट्रेशनको २ नं. बमोजिम पास गर्नुपर्ने लिखत पास नगराएमा प्रमाण लिन नमिल्ने ।
यसमा निवेदकको वारेस गुरुप्रसाद सिटौलालाई रोहवरमा राखी निज तर्फबाट वहस गर्नु भएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको वहस सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा ललीपाटो भन्ने पाखो कित्ता १ समेत ३ कित्ता रैकर जग्गा मेरो एकाघरको सौता भविस्वराले ३ पुस्ताभित्रको हकदार छैन भनी झुट्टा व्यहोरा लेखी २०१९ साल जेष्ठ १ गतेका दिन राजीनामा रजिष्ट्रेशन पास गरे गराएकाले जालसाजी राजीनामा बदर वातिल गराई राजीनामाको थैली अंक ने.रू.५०००। मध्ये २५००। को जग्गा मेरो हक सदर गराई विपक्षहरूलाई कीर्ते कागजका २० नं.का ऐनबमोजिम सजाय गरी पाउँ भनी ०२० साल जेष्ठ ६ गते रोज २ मा यो फिराद दर्ता हुन आएको रहेछ उक्त राजीनामा गर्यो भन्ने जो कुरा हो त्यो देवानी वा फौज्दारी के मुद्दामा लाग्ने ऐनले सजाय हुने हो भनी विचार गर्दा कीर्ते कागजको महल अनुसार जालसाजी ठहरिन गएको जालसाजी ठहरे जति सबै बदर भई जालसाजी गर्नेलाई सजाय हुनेछ तर लेनदेन व्यवहार वा साहू आसामीका ऐनले भने आफ्नो हक नलाग्ने जग्गाको कागज गरेको भए हक नपुग्ने जति मात्र बदर हुने छ कीर्ते कागजका ३ नम्बरको ऐनमा जालसाजीको परिभाषा लेखी, लेखिए बाहेक भन्ने वाक्य रहेको छ । कीर्ते कागजका १ नम्बर अनुसार कुनै व्यक्तिको नाम लेखिन्छ र सही छाप भने अर्कै मानिसले गर्छ तथा एक कुरामा गरेको सहिछाप अर्को कुरामा उपयोग गरिन्छ भने त्यस्तो व्यक्ति वा व्यहोरा फरक पारेको कीर्ते हुन जान्छ, त्यो बाहेक कुनै व्यक्तिको नाम वा सहिछाप गरेको त होइन केवल उसलाई असर पर्ने गरी कुनै कागज खडा गरिन्छ र त्यो झुट्टो कुराको कागज भएको हो भने जालसाजी हुन्छ, जतिसुकै मानिसले गरे पनि झुट्टा कुरा गरेकोमा ऐन ऐनका सजाय तोकिएकै हुनाले यस्तो झुट्टा कुरा गर्नेलाई कीर्ते कागजको ३ नम्बरले जालसाजी गर्ने भनी तोकेको हो, जब नगरेको व्यवहार, नगरेको राजीनामा आदि गरेको हो भनी कागज खडा गर्छन् र त्यसको नतिजा अरुले भोग गर्नुपर्छ भने त्यो व्यवहार जालसाजी हुन जाँदा साहूले लिलाम गराउन खोजेको जग्गा अरुलाई दिएको भनेको वा अंशियारलाई अंश दिनु नपर्ने भनी देखाउने कुनै कागज खडा गरेको यस्ता व्यवहारहरू जालसाजी हुने भई कीर्ते कागजका ऐनभित्र पर्ने हुन्छ । आफ्नो हक नपुग्ने जग्गा राजीनामा गरेकोमा हक नपुग्नेले राजीनामा हुन जाने भई ठगिएको ऐनअनुसार मुद्दा चलेको छैन भने साहू आसामी वा लेनदेन व्यवहारको ऐनअन्तर्गत मुद्दा चल्छ, जालसाजी ठहरे पनि वादीको हकमा मात्र मुद्दा चल्ने र हकमा राजीनामा गरेकोमा पनि वादीको हक मात्र बदर हुने भई दुवै कुराको परिणाम एउटै हुन जाने जस्तो देखिए पनि कीर्ते कागजको ऐनले सजाय लागेको र लेनदेन व्यवहारको कीर्ते कागजको ऐनले सजाय लागेको र लेनदेन व्यवहारको ऐनले सजाय लागेकोलाई एउटै स्तरमा राख्न हुदैन । प्रस्तुत मुद्दामा राजीनामा गर्दा सौताको समेत हक लाग्नेलाई मेरो एकलौटी हकको भनी राजीनामा गरी लियो भन्ने दावी हुनाले माथि लेखिएबमोजिम कीर्ते कागजको ऐनअन्तर्गतको मुद्दा नभई तत्काल प्रचलित साहू आसामीको मुद्दा देखिन्छ । उक्त ऐनबमोजिम विदेश गएकोमा १ वर्षसम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर लाग्ने भएकोमा माइतीमा नै बसी आफ्नो घरमा आएको भनी फिरादमा लेखिएकोले विदेशमा गएको भन्ने कुरा नखोलिएको हुँदा उक्त ऐनबमोजिम उजूर गर्ने हक, म्याद भएको भन्ने झल्का परेको छ । उक्त ऐनले अंश नभई एकाघरसँग बसेकालाई मात्र लाग्ने हुनाले यिनीहरूको कस्तो सम्बन्ध हो भनी हेर्न परेको छ । वादीले अंश लिई लिखत खडा भइसकेको छ भनी ०६ सालको लिखत प्रतिवादीबाट पेश भएको रजिष्ट्रेशन को २ नं. बमोजिम रजिष्ट्रेशन पास गर्नुपर्ने नगराएकोले उक्त लिखतलाई प्रमाण लिन मिल्दैन । वादीले नित्यानन्द समेतलाई मनिकर्ण भविस्वराले पृथक पृथक लिखत गरेको भनी फिरादपत्रमा लेखेको र प्रतिवादीले पनि वादी छुटिसकेको हो भनी जिकिर गरेको हुँदा एकाघरसँग बसेको भन्ने देखिन आएन जहाँ एकाघरसँग नबसेको देखियो त्यहाँ साहू आसामीको ८ नम्बरबमोजिम हुने नभई उक्त साहू आसामीको ३८ नं. को हदम्यादभित्रको दावी देखिन आउँछ । उक्त राजीनामाको जग्गा वादीको हक छुटेको प्रतिवादीबाट ऐनबमोजिमको निस्सा पेश हुन नआएकोले दुवै सौता सौताको आधी आधी हक लाग्ने घर जग्गा भविस्वराले मात्र वादीलाई साक्षी राखी निजको मञ्जुरी बेगर राजीनामा गरेको देखिँदा मनिकर्णीको भाग आधी घर जग्गा बदर हुन्छ । त्यसमा परेको आधी थैली रू.२५०० खेमकुमारीले भविस्वराबाट ऐनबमोजिम गरी लिन पाउँछ । आधी बदर गर्ने ठहराएको लु.अं.अ.को फैसला मनासिव छ । तपसील बमोजिम गर्नु ।
(प्र.नं. ११)
निवेदक तर्फबाट : ठाकुरप्रसाद खरेल
विपक्ष तर्फबाट :
उल्लिखित मुद्दा :
फैसला
न्या. हेरम्बराज
१. प्र.भविस्वरा मेरी सौता हुन लोग्ने परलोक भएपछि मेल मिलाप हुन नसकेकोले माइतमा गई बसेको गैरी र कुमराङ भन्ने खेत विक्री गर्ने गरा भई १ कित्ता मैले र १ कित्ता सौता भविस्वराले राजीनामा गरी नित्यानन्दलाई दिएको हामी दुवै सौताको हक लाग्ने वटुवा भन्ने खेत कित्ता वदैलावारी भन्ने पाखो कित्ता १ ललिपाटो भन्ने पाखो कित्ता १ समेत ३ कित्ता ३ पुस्ता भित्रको हकदार छैन भनी मेरो अंश लाग्ने जग्गा भविस्वराले रु. ५०००। मा खेमकुमारीलाई जालसाजी राजीनामा गरी २०१९।२।१ मा पास गरेको रहेछ बैशाख ५ गते थाहा पाई कीर्ते कागजका २१ नं.को म्यादभित्र उजूर गर्न आएको छु जालसाजी राजिनामा गरेमा साजय गरी आधी मेरो हक लाग्ने जग्गा सदर थामी पाउँ भन्नेसमेत ०२०।२।६।२ को मनिकर्ण अर्यालनीको फिरादपत्र ।
२. लोग्ने २००० सालमा परलोक भएपछि वादी माइत गई बसेको २००६ साल चैत्र ३० गते अंशबण्डा गरी रू.३२५। र कुमराङ भन्ने खेत वादीलाई र खेत मुरी ।२।१० र पाखो बारी टुक्रा २ सम्म मलाई राखी बण्डा भएको वादीको अंश हक लाग्ने जग्गा बिक्री गरेको हो वादी दावाबाट फुर्सद पाउँ भन्नेसमेत भविस्वरा अर्यालनी र सो बमोजिम राजीनामा भएको र साक्षी बसेको हो भन्नेसमेत खिमकुमारी भन्ने वेनकुमारीसमेत अरु प्रतिवादीको प्रतिउत्तरपत्र ।
३. प्रतिवादीहरूले लिनु दिनु गरेको जग्गामा वादीको समेत हक भोग भए अंशतर्फ उजूर गरी अंशको हक कायम गराई ल्याएको बखत मात्र जालसाजीमा उजूर लाग्ने सो नभई जालसाजी तर्फ यो उजूर लाग्न नसक्ने हुँदा वादीको उजूर खारेज हुन्छ भन्नेसमेत २०२१।८।१४।१ को इलाका अदालत पाल्पाको फैसला ।
४. मेरो अंश मार्न आफ्नो वहिनीलाई सबै अंश खुवाउने जाल रची आपसमा आफू आफूको मिलोमतोबाट जालसाजी लिखत खडा गरी लिनु दिनु गरेको हुँदा सो लिखत बदर गरी न्याय पाउँ भन्नेसमेत मनिकर्ण अर्यालनीको पुनरावेदन ।
५. जालसाजीमा उजूर लाग्ने कानूनका म्याद भित्रको उजूरी भई अरु खारेज हुन पर्ने अवस्था पनि केही नदेखिएकोले वादीको उजूरी शुरुले खारेज गरेको बेमनासिव ठहर्छ वादी दावी ठहर्ने नठहर्ने के हो ठहर फैसला गरी दिनु भनी मिसिलशुरुमा पठाई दिनु भन्नेसमेत २०२१।१२।१९।५ को लुम्बिनी अञ्चल अदालतको आदेश ।
६. जालसाजीमा नालिस गर्न साविक कीर्ते कागजका २१ नं.मा हद म्याद नभई कीर्तेलाई मात्र २ बर्षको म्याद भएकोले जालसाजी तर्फ अ.बं.को महलले जहिलेसुकै पनि नालिस लाग्ने नै भएको र लुम्बिनी अञ्चल अदालतबाट भएको आदेश बदर गराउन नसकी बहालै रहेकोबाट वादीको हक अंश आधा लाग्ने जग्गा प्र.भविस्वराले प्र.खेमकुमारीलाई जालसाजबाट खरीद बिक्री गरेकोले उक्त ५०००। को राजीनामा मध्ये वादीको अंश मागको आधा २५००। बदर हुने ठहर्छ भन्नेसमेत २०२४।१।३।१ को पाल्पा जिल्ला अदालतको फैसला ।
७. २०१६ सालको कानून पत्रिकामा उल्लिखित फुल बेञ्चको निर्णय अनुसार २०१६ सालको घरायसी बण्डापत्र सदर कायम गरी सो बण्डापत्रबाट मेरो हक भोग हुन आएको २०२० सालमा मेरै नाउँमा नामसारी समेत गरिआएको ७ नं.फाराम पनि मैले नै भरी भोग तिरो गरी आएको सो जग्गाको २०१९ साल जेष्ठ १ गतेको राजीनामा सदर राखी हक इन्साफ पाउँ भन्नेसमेत खेमकुमारी अर्यालनी समेतको पुनरावेदन ।
८. भविस्वराले पेश गरेको घरसारको लिखत कानूनबमोजिम रजिष्ट्रेशन पास नभएको हुनाले त्यस्तो लिखतबाट अंशबण्डा भइसकेको भनी निर्णय दिन अंशबण्डाको ३० नम्बर प्रतिकूल हुन जाने भएकोले आधा लिखत बदर गर्ने गरी जालसाज ठहराएको इन्साफ शुरु लिखत बदर गर्ने गरी जालसाज ठहराएको इन्साफ शुरु जिल्ला अदालतको मनासिव ठहर्छ भन्नेसमेत २०२४।७।२२।४ को लुम्बिनी अञ्चल अदालतको फैसला ।
९. २०२५।१२।१२।३ मा बक्स भई आएका हु.प्र.बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी नियमबमोजिम पेश गर्नु भन्नेसमेत २०२५।१२।२१।५ को सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१०. गोश्वरा जग्गा सौताले बिक्री गरेकोमा लिखत बदर गरी आधी मेरो भागको जग्गा दिलाई पाउँ भन्ने वादी दावा भएकोमा यिनै फिरादी मणिकर्णले गंगादत्तलाई बिक्री गरेको ०७।१।९ मा पास भएको लिखतमा बाहुनका शेषपछि मेरो हकभोग अंश भएको भन्ने उल्लेख गरी अंश मुद्दाको प्र.मणिकर्ण अर्यालनी हकदार भनी साक्षी राखेको लिखत आएको र तत्काल प्रचलित साहू आसामीका ८ नं.भित्रको उजूर पनि नदेखिनाले हक बेहकको निर्णय दिई छिनेको शुरुको सदर गरेको अञ्चल अदालतको इन्साफ तर्फ फिरादीलाई छलफलमा राखी अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम झिकाई आएपछि वा अवधी नाघेपछि पेश गर्नु भन्ने २०२७।१०।१ को डिभिजन बेञ्चको आदेश ।
११. यसमा निवेदकको वारेस गुरुप्रसाद सिटौलालाई रोहवरमा राखी निजतर्फबाट वहस गर्नु भएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको वहस सुनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा ललिपाटो भन्ने पाखो कित्ता १ समेत ३ कित्ता रैकर जग्गा मेरा एकाघरको सौता भविस्वराले ३ पुस्ताभित्रको हकदार छैन भनी झुट्टा व्यहोरा लेखी २०१९ साल जेष्ठ १ गतेका दिन राजीनामा रजिष्ट्रेशन पास गरे गराएकाले जालसाजी राजीनामा बदर वातिल गराई राजीनामाको थैली अंक ने.रु. ५०००। मध्ये २५००। को जग्गा मेरो हक सदर गराई विपक्षीहरूलाई कीर्ते कागजका २० नं.का ऐनबमोजिम सजाय गरी पाउँ भनी ०२० साल जेष्ठ ६ गते रोज २ मा यो फिराद दर्ता हुन आएको रहेछ उक्त राजीनामा गर्यो भन्ने जो कुरा हो त्यो देवानी वा फौजदारी के मुद्दामा लाग्ने ऐनले सजाय हुने हो, भनी विचार गर्दा कीर्ते कागजका महल अनुसार जालसाजी ठहरिन गएको जालसाजी ठहरे जति सबै बदर भई जालसाल गर्नेलाई सजाय हुनेछ तर लेनदेन व्यवहार वा साहू आसामीका ऐनले भने आफ्नो हक नलाग्ने जग्गाको कागज गरेको भए हक नपुग्ने जतिमात्र बदर हुनेछ कीर्ते कागजका ३ नम्बरको ऐनमा जालसाजीको परिभाषा लेखी, लेखिएबाहेक भन्ने वाक्य रहेको छ । कीर्ते कागजका १ नम्बर अनुसार कुनै व्यक्तिको नाम लेखिन्छ र सहिछाप भने अर्कै मानिसले गर्छ तथा एक कुरामा गरेको सहिछाप अर्कै कुरामा उपयोग गरिन्छ भने त्यस्तो व्यक्ति वा व्यहोरा फरक पारेको कीर्ते हुन जान्छ, त्योबाहेक कुनै व्यक्तिको नाम वा सहिछाप गरेको त होइन केवल उसलाई असर पर्ने गरी कुनै कागज खडा गरिन्छ र त्यो झुट्टो कुराको कागज भएको हो भने जालसाजी हुन्छ जतिसुकै मानिसले गरे पनि झुठ्ठा कुरा गरेकोमा ऐन ऐनका सजाय तोकिएकै हुनाले यस्तो झुठ्ठा कुरा गर्नेलाई कीर्ते कागजका ३ नम्बरले जालसाजी गर्ने भनी तोकेको हो जब नगरेको व्यवहार, नगरेको राजीनामा आदि गरेको हो भनी कागज खडा गर्छन् र त्यस्को नतीजा अरुले भोग गर्नु पर्छ भने त्यो व्यवहार जालसाजी हुन जाँदा साहूले लिलाम गराउन खोजेको जग्गा अरुलाई दिएको भनेको वा अंशियारलाई अंश दिनु नपर्ने भनी देखाउने कुनै कागज खडा गरेको त्यस्ता व्यवहारहरू जालसाजी हुने भई कीर्ते कागजका ऐनभित्र पर्ने हुन्छ, आफ्नो हक नपुग्ने जग्गा राजीनामा गरेको हक नपुग्ने राजीनामा हुन जाने भई ठगीको ऐनअनुसार मुद्दा चलेको छैन भने साहू आसामी वा लेनदेन व्यवहारको ऐनअन्तर्गत मुद्दा चल्छ जालसाजी ठहरे पनि वादीको हकमा मात्र मुद्दा चल्ने र हकमा राजीनामा गरेकोमा पनि वादीको हक मात्र बदर हुने भई दुवै कुराको परिणाम एउटै हुन जाने जस्तो देखिए पनि कीर्ते कागजको ऐनले सजाय लागेको र लेनदेन व्यवहारको ऐनले सजाय लागेकोलाई एउटै स्तरमा राख्न हुदैन । प्रस्तुत मुद्दामा राजीनामा गर्दा सौताको समेत हक लाग्नेलाई मेरो एकलौटी हकको भनी राजीनामा गरी लियो भन्ने दावी हुनाले माथि लेखिएबमोजिम कीर्ते कागजका ऐन अन्तर्गतको मुद्दा नभई तत्काल प्रचलित साहू आसामीको मुद्दा देखिन्छ उक्त ऐनबमोजिम विदेश गएकोमा १ वर्षसम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर लाग्ने भएकोमा माइतीमा नै बसी आफ्नो घरमा आएको भनी फिरादमा लेखिएकोले विदेशमा गएको भन्ने कुरा नखोलेको हुँदा उक्त ऐनबमोजिम उजूर गर्ने हदम्याद गएको भन्ने झल्का परेको छ । उक्त ऐनले अंश नभई एकाघरसँग बसेकालाई मात्र लाग्ने हुनाले यिनीहरूको कस्तो सम्बन्ध हो भनी हेर्न परेको छ, वादीले अंश लिई लिखत खडा भइसकेको छ भनी ०६ सालको लिखत प्रतिवादीबाट पेश भएकोमा रजिष्ट्रेशनको २ नं. बमोजिम रजिष्ट्रेशन पास गराउनुपर्ने नगराएकोले उक्त लिखतलाई प्रमाण लिन मिल्दैन । वादीले नित्यानन्दसमेत लाई मनिकर्ण भविस्वाराले पृथक पृथक लिखत गरेको भनी फिरादपत्रमा लेखेको र प्रतिवादीले पनि वादी छुट्टिसकेको हो भनी जिकिर गरेको हुँदा एकाघरसँग बसेको भन्ने देखिन आएन । जहाँ एकाघरसँग नबसेको देखियो त्यहाँ साहू आसामीको ८ नम्बरबमोजिम हुने नभई उक्त साहू आसामीका ३८ नं.को हदम्याद भित्रैको दावी देखिन आउँछ । उक्त राजीनामाको जग्गा वादीको हक छुटेको प्रतिवादीबाट ऐनबमोजिमको निस्सा पेश हुन नआएकोले दुवै सौता सौताको आधी आधी हक लाग्ने घर जग्गा भविस्वराले मात्र वादीलाई साक्षी राखी निजको मञ्जुरी बेगर राजीनामा गरेको देखिँदा मनीकर्णको भाग आधी घर जग्गा बदर हुन्छ, त्यसमा परेको आधी थैली रू.२५००। खेमकुमारीले भविस्वराबाट ऐनबमोजिम गरी लिन पाउँछ । आधी बदर गर्ने ठहराएको लु.अं.अ.को फैसला मनासिव छ । तपसील बमोजिम गर्नु ।
तपसील
इलाका अदालत पाल्पाको ०२१ साल मार्ग १४ गतेको फैसलाले फिरादपत्र खारेज गरेको हुँदा वादी मनिकर्णलाई लागेको जरिवाना रू.१५।६३ को लगत लु.अं.को २०२१।१२।१९।५ को आदेशले काट्ने ठहराएको हुँदा इलाका अदालतको लगत काट्नु भनी लगत दिनु ………………..१
पाल्पा जिल्ला अदालतको २०२४।१।३ गतेको फैसलाले भविस्वरा र खेमकुमारीलाई जनही १५६।२५ का दरले जरिवाना गरेको र लु.अ.अ.को २०२४।७।२२।४ को फैसलाले १५।६२ को दरले थप गरेको जालसाजी तर्फको सजाय नलाग्ने हुनाले देहायका व्यक्तिले बुझाएको भए कानूनको रीत पुर्याई फिर्ता र नबुझाएको भए लगत काटी दिनु भनी नियमबमोजिम लगत दिनु ……………………..२
खेमकुमारी जम्मा जरिवाना रू.१७१।८७ भविस्वराको जम्मा जरिवाना रू.१७१।८७
मिसिल नियमबमोजिम बुझाइदिनु ………………………३
न्यायाधीश त्रैलोक्यराज अर्याल
उक्त रायमा म सहमत छु ।
इति सम्वत् २०२८ साल श्रावण ३० गते रोज १ शुभम् ।