निर्णय नं. ७४८ – जग्गा खिचोला
निर्णय नं. ७४८ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९...
निर्णय नं. ७४८ ने.का.प. २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ सालको दे.फु.नं. १६८
फैसला भएको मिति : २०३०।३।८।६
निवेदक : जि.कास्की पुराना कास्की भीरमुनि बस्ने गोविन्दप्रसाद अधिकारीसमेत
विरूद्ध
विपक्षी : ऐ.पुराना कास्की छिपछिपे पानी बस्ने टीकाराम त्रिपाठीसमेत
मुद्दा : जग्गा खिचोला
(१) शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने नदेखिने ।
उपरोक्त जिल्ला भित्रको झगडा परेको जग्गा मध्ये बीचमा भएको नं.नं.२९ को वान्नोदेखि पूर्वतर्फको जग्गाको हकमा घडेरीहरूसमेत भएको नक्साबाट देखिन्छ प्रतिवादी जिकिर अनुसार सन्धीको जग्गा भए त्यसरी घडेरीसमेत हुनुपर्ने थिएन । नं.नं.२९ को पर्खालदेखि पश्चिमको जग्गा पनि दर्ता भित्रको भए सो जग्गालाई बाहिर पारी सो नं.नं.२९ को वान्नो लगाउनु नपर्ने र जग्गा पनि पानीको आहाल बुटेन बाँझो चौरसमेत भएको देखिएकोले कसो हो भन्ने शंका उठेको हकमा सो नं.नं.२९ को वान्नो देखी पूर्व र पश्चिम तर्फको धेरै जनाका नाममा दर्ता भएको जग्गा हुनाले दर्तावाला मध्येका कसैले आफ्नो भागको जग्गा मलाई मात्र घेरी सो नं.नं.२९ को पर्खाल लगाएको पनि हुन सक्ने कुरा हो आहाल चाहिँ ९१ सालकै दर्खास्तको किल्ला गौंथली आहाल भएको र चौर बुटेनको हकमा दर्ताको भए पनि खर घाँस पाल्न जग्गा आवाद नगरी बाँझो राखेकोबाट त्यस्तो हुन सक्नेसमेत हुँदा ९१ सालमा दर्ता हुँदा दर्खास्तमा लेखाई राखेको ४ किल्लाभित्रै पर्ने नं.नं.४४ को भत्केको घडेरी नं.नं.५१ वान्नो नं.नं.११४।११५।११६ बासको झ्याङ्ग नं.नं.३० भिमप्रसादको घर आवादी पाखोसमेत भएको जग्गालाई उपरोक्त शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने देखिँदैन ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
फैसला
न्या. धनेन्द्रबहादुर सिंह
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।८।१२।१ मा हुकुमको प्रमांगी बक्स भई दोहोरिएकोबाट यसबेञ्च समक्ष पेस हुन आएको छ ।
२. मुद्दाको विवरण यसप्रकार छ : २५।४० साल अगावै प्राचिन कालका जाँचमा हाम्रा पुर्खा बाजेहरूको दर्ताको गोडा लगाई बाजेहरूका नाउँमा र सोही गोडा लागी ९१ सालका जाँचमा पूर्व भञ्ज्याङ थुम्की पश्चिम गौंथली आहाल उत्तर पानी ढलो दक्षिण थेप्चे ढुड्डो यति ४ किल्ला भित्रको पहेर पानी बाथले डाँडो भन्नेसमेतको पाखो जग्गामा म नन्दलालका बाबु धनपतिका नाउँमा बीजमाना ।।१।५ म दिलनाथको जेठा बाबु जयलालका नाउँमा बीजमाना ।।.।१।५, म चन्द्रकान्तको पिता हरिलालका नाउँमा ।१।५, म रामप्रसादका पिताज्यू रुद्रमानका नाउँमा बीजमाना ।।१।५, म मनहरिका पिता गोविन्दका नाउँमा बीजमाना ।.।१।५ म गोविन्दका पिता भागिरथका नाउँमा बीजमाना ।१।५ म पवनलालको दाजु नरपतिका नाउँमा बीजमाना ।।१।५ म पदमलालकै दाजु आत्मारामका नाउँमा बीजमाना ।.।१।५ म पदमलालका नाउँमा बीजमाना ।।१।५ म जयलालको पिता रविलालका नाउँमा बीजमाना ।।१।५ म विरस्पतिको पिता जगन्धरका नाउँमा बीजमाना ।.।१।५ म देवीप्रसादको पिता मनिरत्नका नाउँमा बीजमाना ।।१।५ म टिकारामको पिता शिवलालका नाउँमा बीजमाना ।।.।१।५ म वालारामको दाजु लिलेका नाउँमा बीजमाना ।।१।५ म सानु जयलालको पिता कलेका नाउँमा बीजमाना ।।१ म हरिप्रसादको पिता कञ्चनका नाउँमा बीजमाना ।।१ म सुदाखरका नाउँमा बीजमाना ।।१ मु.खड्गबहादुरका बाबु बलबहादुरका नाममा बीजमाना ।।१ समेत दर्ता भएकोले हाम्रा बाबु बाजेका पालादेखि उक्त ४ किल्ला भित्रका जग्गामा उत्तर तर्फको डाँडो भञ्ज्याङ भई वार वान्नु गर्नु नपर्ने भएकोले अरू तीनतर्फ वार वान्नुसमेत गरी सोही जग्गामा गोठ कटेरोसमेत बनाई बीज तिराका दामासाहीले भाइ अंशबाट सालसालै तिरो भरो गरी बाबु बाजे छँदा वहाँहरूले र वहाँहरूको शेषपछि हामीहरूले सुफत भोग गरी आएको उक्त नरपतिको दर्ता राजीनामाबाट र आत्मारामको दर्ता अपुतालीबाट समेत म पदमलालले लेखाई जग्गा तिरो दामासाहीको हिसावले अघि प्राचिन कालदेखि आफ्ना आफ्ना अंश भाग आवाद कमोद गरी कुनै जग्गामा मूलपानीसमेत बाट पानी घैया र कुनैमा मकै बाली लगाई सुफत खाई उक्त हाम्रो जग्गाको दक्षिणतर्फ मोतिलाललाई केही जग्गा राजीनामा दिई निजले घर बनाई बसेको छ, सो ४ किल्लामध्ये हाम्रो जग्गालाई मुदानबहादुरसमेतले हाम्रो दर्ता तिरा भित्रको खेतमा नम्बरी गरिपाउँ भनी निवेदन दिई मुद्दा परी उक्त ४ किल्ला भित्रको जग्गा हाम्रै ठहरी बिगत ०६ साल बैशाख २५ गते पोखरा मालबाट पर्चासमेत भई हामीले नै जितिपाएको उक्त हाम्रो जग्गाको पश्चिमपट्टिको जग्गामा गजाधरको र हामीहरूसमेतको जग्गा बाली मुद्दा पर्दा १ साल चैत्र १५ गते हाम्रै जग्गा कायम भई यस अड्डाबाट जिती पाएको उक्त हाम्रो जग्गा किन्न देउ भनी हामीहरूसँग विपक्षीहरूले बराबर भनेको हामीले नदिएको कारणसमेत बाट ठूलो दागा धरी रहेका थिए । त्यस्तैमा यही २१ साल श्रावण २१ गतेका दिन हमी घरमा नभई कामकाजमा रहेको अवस्था आफ्ना गाठ सामेलका ५०।६० जनाको हुल बल ल्याई उक्त जग्गाको पूर्व पश्चिम दक्षिण ३ दिशाको वान्नु पारखाल फाली बाली नोक्सानसमेत गरी दिएको र अबदेखि जग्गा चलन गर्न दिन्न म भनी जग्गामासमेत खिचोला गरेको हुँदा फिराद गर्न आएको छौं उक्त जग्गामा विपक्षहरूको दावा मेटाई हामीहरूको हक सदर थामी कानून बमोजिम सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको ०२१।६।१७को पदमलालसमेतको फिराद ।
३. मने दवाडी बाहुन वान्नादेखि पश्चिम मुलबाटोदेखि उत्तर ढोकाका मुखदेखि उत्तर पूर्व चिसापानी मुलेनढुङ्गा पानी हुने छिपटे वर वञ्धेकुवा दक्षिण यति ४ किल्ला भित्रको खुँडे भन्ने जग्गा हामी छिपछिपे पानी नालपानी मान्द्रै ढुङ्गासमेतका ९ गाउँको रैति तालुकदारहरूको सन्धिसर्पन तागो तगारो निकाससमेत पर्ने जग्गामा वादी मध्येको खिमलालको बाबु रकिलालसमेत जना ९ ले आवाद गर्न पाउँ भनी उजूरी विन्ती पत्र गरी सन्धीसर्पन हो दर्ता गर्न हुँदैन भन्नेसमेत व्यहोराको म धनबहादुर कार्कीको बाबु ज्ञानवीरले मुद्दा चलाउँदा उक्त किल्ला भित्रको जग्गा ९ गाउँको सन्धीसर्पन ठहरी ७४।१।१५ मा पोखरा मालबाट फैसला भएको मिसिल पोखरा मालमा छ जगाधर तेवारीले उक्त भित्रको जग्गा चापी आफ्ना किल्ला भित्र पारी दर्ता गरिपाउँ भनी पोखरा मालमा उजूरीको विन्तिपत्र दिँदा हर्कबहादुरको बाबु चन्द्रबहादुर हरिकृष्णसमेतले सन्धीसर्पन हो दर्ता गर्न हुँदैन भनी इन्कार भई लडभिड हुँदा ८०।९।२३ मा पोखरा मालबाट सन्धी नै कायम ठहरी फैसला भएको मिसिल पोखरा मालमा र छाप लगाई लिएको फैसलाको नक्कल हामीसँग छ वलबहादुरले उक्त किल्लाभित्रको जग्गा दर्ता गरी खाउ भनी निवेदन दिई निजको मञ्जूरी बमोजिम धेरै रैतीका नाउँमा दर्ता हुने गरी भई आएको सो म धनबहादुरको बाबु ज्ञानवीरसमेतको उजूरी परी पोखरा मालबाट नक्सा सरजमीन कारवाई हुँदा सन्धीसर्पन ठहरी पोखरामा माल अड्डाबाट ७।१।४ मा फैसला भएको मिसिल पोखरा मालमा छ कुलप्रसादले उक्त जग्गा दर्ता गरिपाउँ भनी दर्खास्त दिई दर्ता गर्ने उद्देश्य गरेमा म हर्षबहादुरसमेतको उजूरी परी सन्धी नै ठहरी पो.मा.बाट १२।१।९ मा उक्त मालबाट फैसला भई अपील तह चल्दै जाँदा सर्वोच्च अदालत सिंगल बेञ्चबाट शुरुकै इन्साफ सदर भई १३।८।७ मा अन्तिम फैसला भएको मिसिल पोखरा मालमा छ नन्द गिरीसमेतले हाम्रो जग्गाको वान्नु परखाल भत्काई दिएकाले परखालको बिगो भराई पाउँ भनी उक्त किल्ला भित्रको हाम्रो सन्धीको जग्गामा दावी गरी यसै अड्डामा फिराद गरेमा नन्द गिरीको उजूरी मदावी झुठ्ठा ठहरी सन्धी कायम रही यसै अड्डाबाट ०१८।१२।६ मा फैसला भए उपर अपील परेमा अपीलबाट समेत शुरुकै इन्साफ सदर भई आएको मिसिल यसै अड्डामा छ पटक पटक फैसला भई हामीसमेतका गाउँलेको सन्धीसर्पनको जग्गामा दावी लिई किल्ला काटी आफ्ना दर्ताको बाबु बाजेको बीजन ल्याई वान्नु परखाल फाली जग्गा खिचोला गरे भनी हामीउपर झुठ्ठै फिराद गरेको आफ्ना दार्ताको किल्ला राख्न नसकी गोल किल्ला राखिएका तर्फको विज एकातर्फलाई एकैगोल किल्ला पारी हाम्रो सन्धीका जग्गा दावी गरेको हो वादी दावीको प्रत्येक बीज दर्ताको जग्गा सन्धीसर्पन ठहरेको जग्गादेखि उत्तर पश्चिमपट्टि बेगल लगत छ भन्नेसमेत व्यहोराको हर्षबहादुरसमेत जना ७ को प्रतिवादी ।
४. ४० सालका जाँचमा म बलबहादुरको पिता जेठा वा चम्फसिंका नाउँमा दर्ता भएको डाँडादेखि दक्षिण मूल गल्लीदेखि उत्तर तुम्के खोला पश्चिम पहरे पानीसम्म भन्ने किल्ला रही ४० सालका जाँचमा दर्ता भई उक्त जग्गामा हाम्रा जिजुबाजेले घरबास गरी बस्नु भएकै बखत अघिदेखि नै कब्जा गरी केहीमा चौतर्फी वान्नु परखाल बारले घेरी घर बसी बसी केहीमा आवादी घरबास गरी र केहीमा सन्धी निकास गौचरसमेत राखी चलन वर्तन गरी आएको उक्त ४ किल्ला भित्रको पाखो जग्गा ९१ सालका जाँचमा बिज पाथी २ राखी हाम्रै भैयाद अंशियार मु.कृष्णराजका नाउँमा दर्ता भई बीजमाना ।।४ प्र.मध्येको धनबहादुरको दाजु दलबहादुरले कृष्णराजबाट छोडपत्र गरी लिँदा धनबहादुरको बाबु ज्यानवीर भाइको साक्षी भई दोहरा व्यहोराको कागज गरी लिएको बाँकी बीज पाथी ।१।४ कृष्णराज हामीसमेतका अंशियारा भैयादहरु सबैले हिस्सा बण्डा लगाई भोग तिरो गरी आएको वादीका लेख बमोजिम ४ किल्ला रही दर्ता भएकै छैन हाम्रो दर्ताको जग्गा लिन झुठ्ठा ४ किल्ला लेखी फिराद गरेको हो भन्नेसमेत व्यहोराको दलबहादुर र वलबहादुरसमेतको जना २ को प्रतिवादी ।
५. वादीहरूको दर्ता तिराको ४ किल्ला भित्रको जग्गामा कसैले सन्धीसर्पन भन्ने बलबहादुर र दलबहादुर हाम्रो हंसराजको नाउँमा दर्ता भई अंशबाट हक भएको भनी दावी गरेको रहेछ भन्ने देखिन आएकोलेसमेत यसमा वादीको ४ किल्लाभित्रको जग्गामा खिचोला गरेको ठहर्छ भन्नेसमेत शुरु जिल्ला अदालत काश्की पोखराको ०२४।३।४।२ को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने रघुनाथसमेत जना ४ को पुनरावेदन ।
७. वादी दावीमा ४ किल्ला मध्ये पूर्व भञ्ज्याङ उत्तर पानी ढलो दक्षिण च्याप्टे ढुड्डो र पश्चिम वादीले गौंथली आहाल भनेकोमा सोही च्याप्टे ढुड्डोबाट उक्त पानी ढलो डाँडासम्मै लगाएको वान्नो पर्खाल नक्सा नं.२९ को वान्नो पश्चिम किल्ला वादीहरूका दर्ता जग्गाको कायम हुन्छ सो बाहेक अरू पर्ति चरन वर्तनको जग्गासमेत पक्री वादीले बढी दावा गरेको र माथि लेखिएको वादीको विज दर्ताको जग्गासमेत सन्धीसर्पन भनी प्रतिवादीले केही खिचोला गरेकोसमेत ठहर्छ भन्ने ०२६।१।१७।३ को गण्डकी अञ्चल अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी वा.पदमलाल अधिकारीको र प्रतिवादी वा.रघुनाथ भाट्समेतको छुट्टाछुट्टै प्रतिवेदन ।
९. वादीहरूको दर्तामा ४ किल्ला नभएको वादी दावीको सबै जग्गा वादीहरूकै दर्ताको भए सो सब जग्गालाई घेरी पर्खाल लगाएको हुनुपर्नेमा दक्षिण किल्ला थेप्चे ढुङ्गाबाट सोझै उत्तर पानी ढलासम्म मात्र नक्सा नं.२९ को पर्खाल भएको नक्साबाट देखिएको सो पर्खाल वान्नोदेखि पश्चिम गौथली आहालसम्मको जग्गा आवादी पनि नभई वनबुटेन पर्ति चउर आहालसमेत भएको गाईवस्तुको चरन वर्तनको किसिमको नक्साको प्रकृतिबाट देखिन आएकोले सो नं.नं.२९ को पर्खालदेखि पश्चिमपट्टिको जग्गाको हकमा वादीहरूको दर्ताको रहेछ भन्न नमिल्ने र सो नं.नं.२९ को पर्खालदेखि पश्चिमपट्टिको जग्गाको हकमा वादीहरूको दर्ताको रहेछ भन्न नमिल्ने र सो नं.नं.२९ को पर्खालदेखि पूर्वतर्फको वादी दावीको पूर्व भञ्ज्याङ भन्ने किल्लासम्मको जग्गाको हकमा घडेरीहरूसमेत भइरहेको नक्साबाट देखिएको सन्धीसर्पनको जग्गा भए त्यस किसिम घडेरीसमेत हुनु नपर्ने र वादीहरूको दर्ताको जग्गा प्रतिवादीहरूले अन्यत्र देखाउन पनि नसकेकोले सो नं.नं.२९ को पर्खालदेखि पूर्वतर्फको जग्गा सन्धीसर्पन देखिन नआउनेसमेत हुँदा पूर्व भञ्ज्याङ उत्तर पानी ढलो, दक्षिण च्याप्टे ढुङ्गा र पश्चिम वादीले गौंथली आहाल भनेकोमा सोही च्याप्टे ढुङ्गाबाट उत्तर पानी ढला डाँडासम्मै लगाएको वान्नो पर्खाल नं.नं.२९ को वान्नो, वादीहरूको दर्ताको पश्चिम किल्ला कायम गरी सो बाहेक अरू पर्ति चरन वर्तनको जग्गामा वादीले बढी दावा गरेको र माथि लेखिएको वादीको विजन दर्ताको जग्गासमेत सन्धीसर्पन भनी प्रतिवादीले खिचोला गरेकोसमेत ठहराई गण्डकी अञ्चल अदालतले ०२६।१।१७।३ मा छिनेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत २०२७।११।१७।२ को डिभिजन बेञ्चको फैसला ।
१०. यस बेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले झगडा परेको जग्गा दर्ता गर्दा १९९१ सालमा मेरो पक्षहरूले दिएको दर्खास्तको ४ किल्ला भित्र झगडा परेको जग्गा सबै पर्छ नं.नं.२९ को वान्नोदेखि पश्चिम तर्फको जग्गामा नं.नं.३० भिमप्रसादको घर आवादी पाखो नं.नं.४४ भनेको घडेरी र बाँसको गाँजहरूसमेत भइरहेको त्यस्तो जग्गा प्रतिवादीहरूको सन्धीसर्पन कायम हुन सक्ने होइन मेरो पक्षहरूको दर्ता भित्रकै हुँदा दावी बमोजिम दर्ताको कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
११. झगडा परेको जग्गा वादी दावी बमोजिम वादीको दर्ताको या प्रतिवादी जिकिर बमोजिम सन्धीसर्पनको के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
१२. वादीले प्रमाण दिएको ९१ सालको दर्ता उतार हेर्दा त्यसमा ४ किल्ला खुलेको नदेखिए पनि सो दर्ता गर्न वादीहरूले दिएको भनेको दर्खास्तमा भञ्ज्याङ थुम्की पश्चिम थेप्चे ढुङ्गादेखि उत्तर गौंथली आहालिदेखि पूर्व पानी ढलादेखि दक्षिण भन्ने ४ किल्ला लेखिराखेको र सो ४ किल्ला भित्रको झगडा परेको सबै जग्गा पर्न आउने नक्साबाट देखिन्छ । दर्तामा ४ किल्ला नखुलाए पनि सो दर्ता गर्र्न दिएको दर्खास्तमा खुलाएको ४ किल्ला अमान्य भएको सबूद प्रतिवादी तर्फबाट कुनै आउन नसकेको र भविष्यमा यी प्रतिवादीहरूसँग झगडा पर्ला भनी धेरै बर्ष अघि ९१ सालमा दिएको दर्खास्तमा आफ्नो दर्ता जग्गादेखि बाहेकको किल्ला लेखिराखेको हुँदा होलान भन्ने कुरा सबूद प्रमाणको अभावमा कल्पना गर्न पनि नमिल्ने हुनाले उक्त ४ किल्ला कायमै मान्नु पर्ने देखिन्छ ।
१३. उपरोक्त जिल्ला भित्रको झगडा परेको जग्गा मध्ये बीचमा भएको नं.नं.२९ को वान्नोदेखि पूर्वतर्फको जग्गाको हकमा घडेरीहरूसमेत भएको नक्साबाट देखिन्छ प्रतिवादी जिकिर अनुसार सन्धीको जग्गा भए त्यसरी घडेरीसमेत हुनुपर्ने थिएन । नं.नं.२९ को पर्खालदेखि पश्चिमको जग्गा पनि दर्ता भित्रको भए सो जग्गालाई बाहिर पारी सो नं.नं.२९ को वान्नो लगाउनु नपर्ने र जग्गा पनि पानीको आहाल बुटेन बाँझो चौरसमेत भएको देखिएकोले कसो हो भन्ने शंका उठेको हकमा सो नं.नं.२९ को वान्नो देखी पूर्व र पश्चिम तर्फको धेरै जनाका नाममा दर्ता भएको जग्गा हुनाले दर्तावाला मध्येका कसैले आफ्नो भागको जग्गा मलाई मात्र घेरी सो नं.नं.२९ को पर्खाल लगाएको पनि हुन सक्ने कुरा हो आहाल चाहिँ ९१ सालकै दर्खास्तको किल्ला गौंथली आहाल भएको र चौर बुटेनको हकमा दर्ताको भए पनि खरघाँस पाल्न जग्गा आवाद नगरी बाँझो राखेकोबाट त्यस्तो हुनसक्नेसमेत हुँदा ९१ सालमा दर्ता हुँदा दर्खास्तमा लेखाई राखेको ४ किल्लाभित्रै पर्ने नं.नं.४४ को भत्केको घडेरी नं.नं.५१ वान्नो नं.नं.११४।११५।११६ बाँसको झ्याङ्ग नं.नं.३० भिमप्रसादको घर आवादी पाखो समेत भएको जग्गालाई उपरोक्त शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने देखिँदैन ।
१४. अर्को कुरा हाल आवादी दर्ता गरिपाउँ भनी दानबहादुर गजाधरहरूको विन्तिपत्र परी डोर खटिई गएकोमा भञ्ज्याङ थुम्की पश्चिम थेप्चे ढुङ्गादेखि उत्तर गौथली आहालदेखि पूर्व पानी ढलादेखि दक्षिण यति ४ किल्लाभित्रको पहरे पानी वाथले डाँडाभन्ने धनपति अधिकारीसमेत १९ जनाका नाउँमा दर्ता भएको जग्गा भित्रको जग्गामा विन्तिपत्र दिएकोले दर्ता हुन नसक्ने भन्ने मुचुल्का भई आई दर्ता गर्नु नपर्ने भनी विन्तिपत्र तामेलीमा राखिदिनेसमेत गरी पोखरा तहसिलबाट २००६।१।२।५ मा पर्चा भएको नक्कल मिसिलमा पेस भइराखेकोमा प्रतिवादी तर्फबाट कुनै विरोध आउन नसकेकोसमेत हुँदा त्यस्तो जग्गालाई सन्धीसर्पन ठहराउन मिल्ने देखिएन ।
१५. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट वादी दावीको भञ्ज्याङ थुम्की पश्चिम थेप्चेढुङ्गादेखि उत्तर गौथली आहालदेखि पूर्वपानी ढलादेखि दक्षिण यति ४ किल्ला भित्रको झगडा परेको सबै जग्गा वादीहरूको दर्ताको र सो सबै जग्गामा प्रतिवादीहरूले खिचोला गरेकोसमेत ठहर्छ, नं.नं.२९ को वान्नोदेखि पूर्वतर्फको जग्गामात्र वादीहरूको दर्ता कायम गरी सो नं.नं.२९ को पर्खालदेखि पश्चिम तर्फको झगडा परेको जग्गाको हकमा चरन वर्तनको सन्धीसर्पन कायम गरेको गण्डकी अञ्चल अदालतको सदर गरी ०२७।११।१७।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी देहायका मानिसके कास्की जिल्ला अदालतको ०२५।३।४।२ के फैसलाले लाग्ने गरेको देहाय बमोजिम जम्मा रू.२५०। को लगत कायमै राख्नु गण्डकी अञ्चल अदालतको ०२६।१।१७।३ को फैसलाले आधि रू.१२५ मात्र लाग्ने रू.१२५। नलाग्ने फिर्ता दिने गरेको लगत काटी दिनु भनी का.जि.अदालतमा लेखी पठाउन कानूनबमोजिम लगत दिनु .१
धनबहादुर कार्की क्षेत्री के रू.२७।७८, रघुनाथ रानाभाट् के रू.२७।७८, नेउटे सार्की के रू.२७।७८, सानुदलबहादुर खत्री के रू.२७।७८, बलबहादुर खत्री क्षेत्री के रू.२७।७७, ठूलो टिकाराम त्रिपाठी के रू.२७।७८, शमशेरबहादुर रानाभाट के रू.२७।७८, रामेश्वर वस्ताकोटी के रू.२७।७८, हर्षबहादुर थापा के रू.२७।७७
माथि देहायका मानिसकै गण्डकी अञ्चल अदालतको ०२६।१।१७।३ को फैसलाले गर्ने गरेको देहाय बमोजिम जरिवाना नलाग्ने हुँदा असूल भएको फिर्ता बाँकीको लगत कट्टा गरी दिनु भनी ऐ………………………२
नन्दलाल अधिकारीसमेत ७।८१, रामप्रसाद ऐ.७।८१, सानुमनहरि ऐ.७।८१, हरिप्रसाद ऐ.७।८१, जि.मु.मनहरि ७।८२, खिमलाल अधिकारी ७।८१, टिकाराम ऐ.७।८२, सानु जयलाल ७।८१, टिकानाथ अधिकारी के रू.७।८१, चन्द्रकान्त ऐ.७।८१, गोविन्दप्रसाद ऐ.ऐ.७।८१, खड्गबहादुर कार्की ७।८२, बृहस्पति अधिकारी ७।८१, देवीप्रसाद ऐ.७।८१, बालाराम बस्ताकोटी ७।८१, पदमलाल अधिकारी ७।८२
वादी देहाय मानिसकै निजहरूले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा ०२६।३।२३।१ मा गण्डकी अञ्चल अदालतमा दाखिल गरेको कोर्टफी रू.३३। प्रतिवादी धनबहादुर कार्की, रघुनाथ राना, नेउटे सार्की, सानुदलबहादुर खत्री, बलबहादुर खत्री, ठूलो टिकाराम त्रिपाठी, शमशेरबहादुर राना, रामेश्वर बस्ताकोटी, हर्षबहादुर थापाबाट बराबर दरले भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी कानूनबमोजिमलगत दिनु ……………………३
नन्दलाल अधिकारी १, हरिप्रसाद अधिकारी १, सानु मनहरि अधिकारी १, खिंलाल ऐ.१ देवीप्रसाद ऐ.१, बालाराम बस्ताकोटी १, चन्द्राकान्त अधिकारी १, जि.मु.खड्गबहादुर कार्की १, दिलनाथ अधिकारी १, मु मनहरि अधिकारी १ गोविन्दप्रसाद ऐ.१, विरस्पति ऐ.१, टिकाराम ऐ.१ सानु जयलाल ऐ.१, रामप्रसाद ऐ.१, पदमलाल ऐ.१
निवेदक वादी देहायका मानिसकै निजहरूले मुद्दा दोहर्याउँदा ०२९।१।१८।१ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.२२। प्रवादी धनबहादुर कार्की, रघुनाथ राना, नेउटे सार्की, सानुदलबहादुर खत्री, बलबहादुर खत्री, ठूलो टिकाराम त्रिपाठी, शमशेरबहादुर राना, रामेश्वर वस्ताकोटी, हर्षबहादुर थापाबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई बरावर दरले भराई दिनु भनी ऐ.ऐ………………..४
गोविन्दप्रसाद अधिकारी १, नन्दलाल अधिकारी १, रामप्रसाद अधिकारी १, हरिप्रसाद अधिकारी १, टिकाराम अधिकारी १, जि.मु.खड्गबहादुर कार्की १, जि.मु.मनहरि शर्मा १, दिलनाथ अधिकारी १ सानु मनहरि अधिकारी १, चन्द्रकान्त अधिकारी १, देवीप्रसाद अधिकारी १, वालाराम बस्ताकोटी १, पदमलाल अधिकारी १
नियमबमोजिम बुझाइदिनू …………………..५
न्या. प्रकाशबहादुर के.सी.
न्या. विश्वनाथ उपाध्याय
हामीहरूको सहमती छ ।
इति सम्वत् २०३० साल आषाढ ८ गते रोज ६ शुभम् ।