निर्णय नं. ७४७ – बहाल भराई घरबाट उठाई पाउँ
निर्णय नं. ७४७ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ७४७ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री मीनबहादुर थापा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको दे.फु.नं. १५०
फैसला भएको मिति : २०३०।३।११।२
निवेदक : का.जि. पाको पोखलड्याङ बस्ने अष्टनारायणकी श्रीमती जगतमाया मानन्धर्नीसमेत
विरूद्ध
विपक्षी : ऐ.बस्ने इन्द्रनारायण मानन्धर
मुद्दा : बहाल भराई घरबाट उठाई पाउँ
(१) तत्काल प्रचलित अपुतालीको ११ नं.–जसले सही संभार गर्छ उसैले अपुताली पाउने
बज्यै चिगडीको वादी इन्द्रनारायण आफ्नै छोरापट्टिको नाति र प्रतिवादी अष्टनारायण सौतेनी छोरापट्टिको नाति भन्ने देखिएकोले वादी तथा वादीतर्फका विद्वान अधिवक्ताको जिकिर अनुसार चिगडी मरेपछि निजको हकको सम्पत्ति स्वतः वादीको हक हुने हो कि भन्नलाई चिगडी र वादीसमेत एकाघर सगोलमा बसी आएका नभई चिगडी वादीको बाबु पञ्चनारायण प्रतिवादी अष्टनारायणसमेत सगोलमा मिली खान बस्नसमेत नसकी भिन्दा भिन्दै बस्न पर्दा भन्नेसमेत व्यहोरा पारी १९७४ सालमा बण्डापत्र भए गरेको र सो बण्डापत्र हुँदा यो झगडा परेको घर चिगडी र प्रतिवादी अष्टनारायणको भागमा आधि बण्डा परेको भन्ने तथ्यलाई वादीसमेतले मानी राखेकैले यसरी छुट्टी भिन्न भई बेग्लै बसेकी चिगडी मरेपछि उनकै छोरापट्टिको नाति भएको नाताले स्वतः वादीको हक हुन सक्ने देखिँदैन किनकि तत्काल प्रचलित अपुतालीको ११ नं.मा छोरा छोरीले सम्भार नगर्दा हकवाला दाजुभाइले आफूसित लगे वा उसैका घरमा गई सही सम्भार गरेको रहेछ भने त्यो मरी अपुताली पर्यो भने सही सम्भार गर्ने हकवाला दाजु भाइले पाउँछ सही सम्भार नगर्ने छोरा बुहारी हकवालाले पाउँदैन भन्ने लेखिएको छ त्यसकारण जसले सही सम्भार गरेको थियो उसैले पाउने प्रष्ट छ ।
(प्रकरण नं. १३)
(२) हदम्याद नाघी सकेकोमा असत्य कुराको भूमिका बनाई नालेस गरी दावी गर्नेलाई कानूनले कुनै मद्दत गर्न नसक्ने ।
तत्काल प्रचलित अपुतालीको २५ नं.मा जसको अपुताली परेको हो सो मरेको ३ बर्षभित्र खोजी नगरे माया मारेको ठहर्छ । म्याद नाघिसकेपछि नसुन्नु भन्ने कानूनी व्यवस्था छ । चिगडीको अपुतालीको घर अष्टनारानले भोग चलन गरी राखेकोमा आफ्नो हक लाग्ने भए उक्त ऐनको हदम्याद ३ बर्षभित्रै वादीले हक खोजी नालेस गर्नु पर्ने थियो सो नगरी उक्त ऐनको हदम्याद नाघिसकेपछि बहालमा बस्न दिएको भन्ने असत्य कुराको भूमिका बनाई नालेस गरी पछि अपुतालीको हकबाट दावी गर्ने वादीलाई कानूनले कुनै मद्दत गर्न सक्तैन मेरो ब्लक नं. १९६।१९७ र झगडा परेको नं.१९८ को घर मध्ये केही भाग मिलाई नयाँ बनाउनलाई झगडा परेको घर मेरो आफ्नै भनी उत्तर साँध लेखी ०१२ सालमा नक्सा पासको दर्खास्त दिई पास पूर्जिसमेत पाएको सो नक्सा पास गर्दा का.न.पा.ले म्याद टाँस गरेकोमा वादीले विरोध उजूर गर्न नसकेको भनी का.न.पा.को छापसमेत लागेको का.न.पा.गो.बाट भनी १२।८।७।३ को मिति राखी दिएको नक्सासमेत प्रतिवादी तर्फबाट हाल छलफलमा देखाइएकोमा सो नक्सा पासको सम्बन्धमा वादी तर्फबाट कुनै सन्तोषजनक विरोध दर्शाउन पनि नसकेकोसमेत हुँदा अपुतालीको नाताले प्रतिवादी अष्टनारायणले हक भोग गरी राखेको चिगडीको भागको घरमा ०१८ सालमा परेको यो नालेसबाट वादीको दावी लाग्न सक्ने देखिएन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर, अधिवक्ता नारायणमान श्रेष्ठ
विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा ०२६।४।२६।१ को डिभिजन बेञ्चबाट छिनिएकोमा दोहर्याई पाउँ भन्ने प्रतिवादीहरूको निवेदन परेको जाहेर हुँदा व्यहोरा साँचो भए डिभिजन बेञ्चले छिनेको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने ०२७।१२।१७।३ मा हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।
२. तथ्य यसप्रकार छ : पाको पोखल्ड्याङको ३ कवल पसल मूल ढोकासमेत भएको पश्चिम मोहडा १ नाले ४।। तले घरमा आधि अन्यायको र आधि मेरो बज्यू चिगडीको भागमा परी बज्यूकोग ज्यूवयूरा (“भाग ज्यूँता भर” भन्ने हुन सक्ने–संयोजकको टिप्पणीं) हामीले भोग गरेको बज्यू स्वर्गे भएपछि पनि मैले नै भोग गरी आएको र भोटाहिटीको पसल अन्यायसमेत ६ जनाको भाग भएको १ भाग खाने मरेको हुँदा सो र ३ भाग बाँकीमा अरूले पनि मलाई नै दिएको हुँदा अन्यायवालाले यो हामीहरूको घरमा बज्यूको भाग आधि भोग गर्ने तिमी आधि मेरो भोग छ तापनि तिमीलाई बस्न तिम्रो २।३ वटा घर छ यो घर पसल चाहिँ म बहाल तिर्छु बहाल ठेकी देउ तिमीलाई चाहिएको बखत छोडी दिन्छु भोटाहिटीको पसलको हकमा तिमै्र हक गरी छोडी दिन्छु भनी निज र इन्द्रलालसमेतले ०१४।५।१२ मा हक छोडी दिएको हुँदा मैले पनि सालको रू.३१७ बहाल ठेकी ०१४।५।१६ मा कवोलनामा कागज केही नगराई मुखको जमान कमानले बहालमा दिएको थिएँ २ सालको बहाल बाँकी राखेको र बीचमा ०१८ साल पौष कुनमा हो मेरो घर पसलसमेत आफू र छोराहरूको अंशबण्डा हुँदा सो घर पसल र हक छाडी दिइसकेको भोटाहिटी पसल पनि अंशबण्डामा परी अन्तरसाक्षीमा मेरो भाइ सत्तेनारानसमेत साक्षी राखेको ०१८ साल चैत्र ५ गते थाहा पाएकोले नालेस गर्न आएकोछु मेरो पोखल्ड्याङको घर पसल र भोटाहिटीको पसलसमेत बण्डामा हालेको बदर गिरी २ सालको बहाल रू.६३४। भराई पाको पोखल्ड्याङको घर पसलबाट उठाई पाउँ भन्ने वादी ।
३. बज्यै चिगडी उजीर पञ्चनारायण लक्ष्मीदास राजमानको छोरा रत्नदास र मसमेतको ७४ सालमा बण्डा हुँदा वादीको बाबु पञ्चनारायणलाई घर नपरी पाताल जग्गा परेको र बज्यै चिगडी काका लक्ष्मीदास कहाँ बस्नु भएको वहाँहरूको हेरविचार पालपोषण स्याहार संभार टहल चाकडी मैले नै गरेको ८४ सालमा काका लक्ष्मीदास परलोक भएपछि काजकृया मैले नै गरेको ९४ सालमा बज्यै चिगडीको ७७ बर्ष उमेर पुगी बूढी पासनी र ०६ साल वैशाख १९ गते परलोक हुँदा दागबत्ती काजकृया पनि मैले नै गरी अपुतालीको ११ नं.अन्तर्गत मेरो हक भई पाको पोखल्ड्याङ्को घर भोगी आएको छु भोटाहिटीको पसल महाराज जुद्धशमशेरको कालीगढ चिनियालालले बक्स पाएको लालमोहरमा हामी दर्तावालाको ज्यूताभरसम्मको हक गरिदिएको बण्डामा लेखी पास गर्न अड्डा नमानेकोले बण्डामा लेखेको छैन म पनि कुनै उनाउ मानिस नभई बज्यै चिगडीको नाति नै हुँ अपुतालीको २५ नं.मा अपुताली परेको ३ बर्षभित्र खोजी नगरे माया मारेको ठहर्छ भन्ने प्रष्टै लेखिएको छ चिगडीको अपुताली वादीले भोगी आएको र म बहालमा बसेकोसमेत होइन भन्ने अष्टनारायणको प्रतिवादी ।
४. बण्डापत्रमा म निअक्षरी हुँदा निजको बाबु छोराको हकमात्र होला भनी रही गरिदिएको हुँ इन्द्रनारायणको घर भाग पनि बाबु छोराको अंश भागमा परी बण्डा गरेको थाहै थिएन भन्नेसमेत सत्यनारायणको प्रतिवादी ।
५. ७४ सालमा बण्डा हुँदा चिडिर अष्टनारायणलाई पाको पोखलड्याङ्गको हाल झगडा परेको घर आधि आधि परेको हुँदा आँधिमा मेरो बाबु आमा र बज्यू हामीसमेत बसी भोग गरिआएको भोटाहिटीको पसलमा सो पसल तिमै्र गरी दिन्छु भनी विपक्षी अष्टनारायण र इन्द्रलालसमेतले ०१४।५।१२ मा कागज लेखिदिएको छ चिगडी मेरी सोमात्री बज्यैको म सहोदर नाति छँदाछँदै कसरी अपुताली पर्यो भन्छ बेमात्री नाति विपक्षीले पालनपोषण गरी मरेपछि काजकृया गरी खानु भन्ने बज्यैको हक टुटाएको कागज देखाउन सक्तैन सोम घरबाट निजलाई अड्डैबाट उठाई रोक्काको बहाल भराई भोटाहिटीको पसल पनि दावा खिचोला मेटाई मेरो घर पसल मेरै गरिपाउँ भन्नेसमेत वादीको हकबेहक तर्फको बयान ।
६. सिंगै घर अहिलेसम्म म बसेकोमा वादी खुद सावित छ ०१४ सालमा बहालमा राखेको भन्ने कबुलियत प्रमाण दिनसकेको छैन बज्यैसँग साथ सगोलमा बसी अघि देखि नै हेरविचार पालनपोषण र परलोक भएपछि काजकृया मैले नै गरी तिर्थ श्राद्धसमेत गरिआएको छु उक्त पाको पोखल्ड्याङको घरको दक्षिणतर्फको पछि मैले खरीद गरिलिएको घरसमेत बनाउन भनी नक्सा पासको १२ सालमा दर्खास्त गर्दा यो झगडा परेको घरसमेत जम्मै आफ्नै हक देखाई दर्खास्त गरेको सो घरदेखि उत्तरतर्फ पूर्वपट्टिको घरको छेडीमा दलान ढोका झिक्न मेरो छोरा रामप्रसादको नामबाट नक्सा पासको दर्खास्त गर्दासमेत सोही घरको साँध दिएको छ । त्यस बखत आफ्नो हक देखाई का.न.पं.मा उजूर गर्न सकेको छैन अपुतालीको ६।९।११।२५ नं.ले वादीको उजूर लाग्न नसक्ने हुँदा खारेज हुने भन्नेसमेत प्रतिवादीको हकबेहक तर्फको बयान ।
७. अपुतालीको ११ नं.मा सही संभार नगर्ने छोरा बुहारीले पाउँदैन सही संभार गर्ने हकवालाले पाउँछ भन्ने लेखिएको र प्र.अष्टनारायण चिगडीको सौतिनी नाति र निजले सही संभार गरेको भन्ने वादीमा नलेखे पनि ०६ सालमा परेको भन्ने देखिन आउने अपुतालीका तर्फबाट आएको भए अपुतालीको २५ नं.को म्याद ३ बर्षभित्रको यो वादी दावी नभई ०१८।१२।२० मा मात्र यो नालेस परेको भोहिटीको पसल ०१४।५।१२ मा प्र.अष्टनारायणले हक छाडेको भनी वादी तर्फबाट पेस हुन आएको कागज रजिष्ट्रेशन पास नभएकोले प्रमाण नलाग्नेसमेत हुँदा बण्डापत्र बदर गरी बहाल भराई घरबाट उठाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने का.जि.अ.को ०२२।४।१७ को फैसला ।
८. सो उपर चित्त बुझेन भन्ने वादी इन्द्रनारायणको पुनरावेदन परेकोमा दावीको घर बज्यै चिगडीको अंश भागको भन्ने देखिएको चिगडी जीवित छँदैदेखि ९६ सालको घर दर दर्ता गर्दागर्दै नै प्र.को नाउँमा दर्ता हुँदै आएकोमा चिगडीको र वादीसमेतको उजूर दावी नभएको र बज्यू चिगडी ०६ सालमा परलोक भएपछि अपुतालीबाट आफ्नो हक पुग्न आउने भए कब्जामा लिनु बहाल कबुलियत गराउनु अथवा अपुतालीको २५ नं.को म्याद ३ बर्षभित्र दावी गरी हक कायम गराइराख्नु पर्ने सो केही नभएको र प्र.अष्टनारायण उनाउ मानिस नभई मुल राजवीरको सन्तानभित्रको चिगडीको सौतेनी नाति भन्ने देखिन आएकोले भोग चलनबाट प्रतिवादीको हक पाको हुँदै गएको देखिएकोले इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने बागमती अञ्चल अदालतबाट ०२२।१०।२५।२ मा फैसला भएको ।
९. सो उपर पनि चित्त बुझेन भन्ने वादी इन्द्रनारायणको पुनरावेदन परेकोमा दावीको घर ०१८।९।६।४ को बण्डापत्रमा परेको प्रमाणित भएको छ । तत्कालिन अंशबण्डाको ३३ अपुतालीको १० ले परम्परागत हुने अंश बज्यै मरेपछि छोराको क्रमले बाबुको र बाबुपछि छोराको हुने व्यवस्था कानूनले गरेको छ । मर्ने चिगडीको छोराको क्रम रहेकै देखिनाले बिमात्री पट्टिको छोराले निजको अंश सिहार्न पाउने कानूनी व्यवस्था होइन छोरा वा लोग्नेको हाँगा नभएमा मात्र सौतिनी छोराले पाउने उक्त ऐनको मनसाय हो भाइको अपुताली परे पनि बिमात्रीतिरका भाइले पाउँदैन भन्ने अपुतालीको १२ नं.को मनसाय भएकोले सौतेनी नालको भाइ छोरा भन्दा अपुताली बेहोर्न एकनाल पट्टिका भाइ छोरालाई अधिकार कानूनले प्रदान गरेको छ । चिगडीको काजकृया गरे वापतमा निजका छोराका सन्तान वादी हकवाला देखिँदा क्रिया खर्च अपुतालीको १५ नं. बमोजिम प्रतिवादीले पाउने हो बज्यैको शेषपछि आफू नातिको हुन आउने सम्पत्ति यसै उपेक्षा गरी छोड्ने अवस्था केही देखिँदैन लिखत गराई छोडपत्र गराई लिएको पनि देखिँदैन इन्द्रनारायणको हक अंशमा आउने घर प्रतिवादीले रीत नपुर्याई हक नटुटाई चलन गरेकोमा वादीले अपुतालीमा माया मारेको भन्ने देखिन नआई सोही घरको हिस्सेदारले चलन गरेको परिबन्धबाट देखिन्छ चिगडीको भागकोसमेत घर हालसम्म सुपथ मैले भोगी आएको छु भन्ने अष्टनारायणको प्रतिउत्तरमा लेखेको छ अंशबण्डा भइसकेपछि अंशियारहरूसँगै बसेको साँध सिमाना लगाउन बाँकी भएको घर देखिन्छ । प्रतिवादी तर्फबाट पेस भएको १९७४ साल कार्तिक २६ गते रोज १ को चिगडीलाई सुम्पिइएको बण्डापत्रमा लेखिएको पश्चिम मोडहा १ नाल ४।। तले घरमा आधि अन्यायको र आधि मेरो बज्यै चिगडीको भागमा परेको भनी फिरादपत्रमा लेखिएको घर चिगडीको भागको जति जगतमायासमेतको बण्डापत्रमा लेखेको बदर हुन्छ र चिगडीको भागको घरबाट प्रतिवादी उठी जानुपर्छ, भोटाहिटी पसलको हकमा सो पसलबाट उठाई पाउँ भन्ने दावी नभएको र बण्डापत्रमा परेको नदेखिएकोले समेत वादीको दावी पुग्न सक्तैन बहालका हकमा बहाल लिने खाने गरी राखेको नभई घरको भाग छुट्याई दिनुपर्ने बाँकी नै देखिएकोले समेत वादीको बहाल भराई पाउँ भन्ने दावी पुग्न सक्तैन भन्ने ०२६।४।२६।१ को डिभिजन बेञ्चबाट फैसला भएको ।
१०. यस बेञ्च समक्ष निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न, विद्वान अधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठहरूले १९७४ सालमा वादीको बाबु र बज्यै चिगडीसमेत सबैको अंशबण्डा गरी भिन्दै भई बज्यै चिगडी प्रतिवादी अष्टनारायणकै सँग साथमा बसी निज अष्टनारयणले नै बाचुञ्जेल स्याहार संभार पालनपोषणसमेत गरेकोले चिगडी २००६ सालमा परलोक भएपछि तत्काल प्रचलित अपुतालीको ११ नं. बमोजिम चिगडीको अपुताली हाम्रो पक्ष अष्टनारायणकै हक भई पाको पोखलड्याङको घर पुरै अहिलेसम्म भोग गरिआएको साक्षीको बकपत्र र पटकपटक का.न.पा.बाट अरू घरको नक्सा पास हुँदा सो घर आफ्नै भनी साँध राखेकोसमेत बाट प्रष्ट भएको छ आफ्नो हक पुग्ने भए तत्काल प्रचलित अपुतालीको २५ नं.को म्याद ३–३ बर्षभित्र नालेस गरी आफ्नो हक कायम गराउन सक्नु पर्नेमा ०६ सालमा परेको अपुतालीमा ०१८ सालमा दावी लाग्न सक्ने होइन बहालमा बस्न गएको भनेको कवुलियत पेस गर्न नसकेकोसमेत हुँदा हाम्रो पक्षकै अहिलेसम्म हक भोग चलिराखेको सो घर हाम्रो पक्षकै कायम हुनुपर्छ भन्ने र, वादीतर्फका विद्वान अधिवक्ता श्री लवदे वभट्टले बज्यै मरेपछि निजको सम्पत्ति स्वतः छोरा भए छोरा, छोरा नभए नातिको हुन्छ । मेरो पक्ष निज चिगडीको छोराको छोरा नाति भएकोले त्यसरी हक हुन आउने सम्पत्तिमा मेरो पक्षले नालेस गरी हक कायम गराउनु पर्दैन त्यसकारण अपुतालीको २५ नं.को म्यादभित्र उजूर नगरेको भन्न मिल्दैन प्रतिवादी अष्टनारायण बेमात्री पट्टिको नाति भएकोले अपुतालीको ऐनले निजको हक पुग्न सक्ने होइन बज्यैको हक छुटाई आफ्नो हक गराएको कुनै लिखत सबूद दिन सकेको पनि छैन ऐनले स्वतः मेरो पक्षको हक हुने हुँदा झगडा परेको बज्यैको भागको आधि घर मेरो पक्षकै कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
११. यसमा वादी दावी मध्ये भोटाहिटीको पसलको हकमा प्रतिवादी अष्टनारायणसमेतको भाग निजसमेतले हक छोडी मलाई दिएको सो पसलसमेत आफू बाबु छोराहरूको बण्डापत्रमा पारेको बदर गरिपाउँ भन्ने वादीको दावी र सो पसल महाराज जुद्धशमशेरको कालिगढ चिनियाँलालले बक्स पाएको ललमोहरमा दर्तावालाको ज्यूताभरसम्मको हक गरी दिएको बण्डापत्रमा लेखी पास गर्न अड्डा नमानेकाले बण्डामा लेखेको छैन भन्ने प्रतिवादी जिकिर रहेछ वादी अनुसार सो पसल प्रतिवादीहरूको बण्डामा पारेको भए हकबेहकसमेतको अरू कुरा विचार गर्नु पर्ने हो प्रतिवादीहरूको १८।९।५ को बण्डापत्रमा सो पसल पारेकै नदेखिएकोले त्यसतर्फ अरू विचार गरिरहनु परेन ।
१२. अर्को पाको पोखल्ड्याङको घरको हकमा पहिले नालेशमा प्रतिवादीलाई बहालमा बस्न दिएको २ बर्षको बहाल नदिएकाले बहाल भराई घरबाट उठाई पाउँ भन्नेसम्म दावी भएकोमा पछि प्रतिवादी जिकिरबाट चिगडीको अपुतालीको हकबेहकको प्रश्न उठी यसै मुद्दाबाट हकबेहक तर्फ बयान गराई लाग्ने कोर्टफीसमेत लिई हकबेहक तर्फको निर्णय हुँदै आएकोले दावी बमोजिमको घर बण्डापत्रमा परेको बदर हुने नहुने बहाल भराई प्रतिवादीलाई घरबाट उठाई दिनुपर्ने नपर्ने यी कुराहरूको निर्णय गर्नुभन्दा पहिले चिगडीका अंश भागको घरमा वादीको हक लाग्ने हो होइन सो कुरा नै मुख्य रूपले विचार गर्नु पर्ने हुन आएको छ ।
१३. बज्यै चिगडीको वादी इन्द्रनारायण आफ्नै छोरापट्टिको नाति र प्रतिवादी अष्टनारायण सौतेनी छोरापट्टिको नाति भन्ने देखिएकोले वादी तथा वादीतर्फका विद्वान अधिवक्ताको जिकिर अनुसार चिगडी मरेपछि निजको हकको सम्पत्ति स्वतः वादीको हक हुने हो कि भन्नलाई चिगडी र वादीसमेत एकाघर सगोलमा बसी आएका नभई चिगडी वादीको बाबु पञ्चनारायण प्रतिवादी अष्टनारायणसमेत सगोलमा मिली खान बस्नसमेत नसकी भिन्दा भिन्दै बस्न पर्दा भन्नेसमेत व्यहोरा पारी १९७४ सालमा बण्डापत्र भए गरेको र सो बण्डापत्र हुँदा यो झगडा परेको घर चिगडी र प्रतिवादी अष्टनारायणको भागमा आधि बण्डा परेको भन्ने तथ्यलाई वादीसमेतले मानी राखेकैले यसरी छुट्टी भिन्न भई बेग्लै बसेकी चिगडी मरेपछि उनकै छोरापट्टिको नाति भएको नाताले स्वतः वादीको हक हुन सक्ने देखिँदैन किनकि तत्काल प्रचलित अपुतालीको ११ नं.मा छोरा छोरीले सम्भार नगर्दा हकवाला दाजुभाइले आफूसित लगे वा उसैका घरमा गई सही सम्भार गरेको रहेछ भने त्यो मरी अपुताली पर्यो भने सही सम्भार गर्ने हकवाला दाजु भाइले पाउँछ सही सम्भार नगर्ने छोरा बुहारी हकवालाले पाउँदैन भन्ने लेखिएको छ त्यसकारण जसले सही सम्भार गरेको थियो उसैले पाउने प्रष्ट छ ।
१४. चिगडीको सही संभार वादी वा प्रतिवादी कसले गरेको रहेछ भन्ने तर्फ बज्यै चिगडीलाई बाचुञ्जेल पालन पोषण ९४ सालमा बुढी पास्नी र २००६ सालमा मरेपछि काजकृयासमेत मैले गरेको भन्ने वादी र बज्यै चिगडी र मेरो भागमा यो झगडा परेको घर बण्डा परी बज्यै मैरै साथमा बसी बाँचुञ्जेल पालन पोषण सही संभार टहल चाकडी ९४ सालमा ७७ बर्ष पुगेकीले बुढी पास्नी मरेपछि काजकृयासमेत मैले नै गरेको भन्ने प्रतिवादी अष्टनारानको भनाई रहेछ यस कुराको लिखत सबूत दुबै पक्षबाट आउन नसकेकोले वादी प्रतिवादीको लेखाई र बुझिएका साक्षीहरूको वकाइको मूल्यांकन गरी निराकरण गर्नु पर्ने हुन आयो, तत्सम्बन्धमा हेर्दा उपरोक्त अपुतालीको ११ नं.मा उल्लेख भए अनुसार छुट्टी भिन्न भई बेगल बसेकी बज्यै चिगडीलाई आफूसितै लगी वा उनैको घरमा गई यस किसिमसँग आफूले सही संभार गरेको भन्ने विश्वास लायक परिबन्ध फिरादपत्र र हकबेहकको बयानसमेतमा वादीले प्रष्ट रूपले खुलाउन सकेको पाइँदैन । निजका साक्षीहरूमा १ जनाले थाहा छैन भनेको १ जनाले चिगडी र इन्द्रनारान सगोलमा एकै घरमा बसी इन्द्रनारानले पालन पोषण बुढी पास्नीसमेत गरेको भनेको १ जनाले चिगडी र इन्द्रनारान सँगैमा बसी पालनपोषण बुढी पास्नी इन्द्रनारानले गरेको भनेको १ जनाले घरमा को बसेको थियो याद भएन बुढी पास्नी इन्द्रनारानले गरेको भनेकोसमेत भई ति साक्षीहरूको बकाई एक मिलान नभएको र खास गरी चिगडी र प्रतिवादी अष्टनारानको भागमा एउटै घर बण्डा परी दुवै एउटै घरमा बसिआएको भन्ने कुरा बण्डापत्रबाटै समर्थित भइराखेको र प्रतिवादी अष्टनारानका ८ जना साक्षीले चिगडी र अष्टनारान एकैसाथमा बसी चिगडीको पालन पोषण बुढी पास्नी र मरेपछि काजकृयासमेत अष्टनारानले नै गरेको हो भनी किटानसाथ बकी लेखिदिएकासमेत हुँदा एउटै घर सँगसाथमा बस्ने प्रतिवादी अष्टनारानले नै चिगडीको सही संभार गरेको प्रमाणित हुन्छ ।
१५. चिगडी मरेपछि निजको भागको घरमा भोग कसको रहेछ भन्ने हकमा बज्यै स्वर्गे भएपछि बज्यैको भाग मैले भोग गरिआएको ०१४ सालदेखि प्रतिवादीलाई बहालमा बस्न दिएको भन्ने वादीको दावी भएको पाइन्छ तर चिगडी मरेपछि यो साल मितिमा आफूले हक कब्जा गरी यस किसिमले भोग गरेको भन्ने परिबन्ध खुलाउन र ०१४ सालदेखि प्रतिवादीलाई बहालमा बस्न दिएको लिखत सबूद दिन वादीले सकेको छैन वादीकै साक्षी रत्नभक्त १ जना प्रतिवादीका साक्षी इन्द्रलालसमेत ८ जनाले सो घरमा अघिदेखि प्रतिवादी अष्टनारायण नै बसिआएको भनी किटानसाथ लेखिदिएकोसमेत प्रमाणबाट ०१४ सालदेखि मात्र बहालमा बसेको नभई २००६ सालमा चिगडी मरेदेखि नै निजको भागको घरसमेत प्रतिवादी अष्टनारानले भोग गरी आएको भन्नमा कुनै शंका छैन ।
१६. तत्काल प्रचलित अपुतालीको २५ नं.मा जसको अपुताली परेको हो सो मरेको ३ बर्षभित्र खोजी नगरे माया मारेको ठहर्छ । म्याद नाघिसकेपछि नसुन्नु भन्ने कानूनी व्यवस्था छ । चिगडीको अपुतालीको घर अष्टनारानले भोग चलन गरी राखेकोमा आफ्नो हक लाग्ने भए उक्त ऐनको हदम्याद ३ बर्षभित्रै वादीले हक खोजी नालेस गर्नु पर्ने थियो सो नगरी उक्त ऐनको हदम्याद नाघिसकेपछि बहालमा बस्न दिएको भन्ने असत्य कुराको भूमिका बनाई नालेस गरी पछि अपुतालीको हकबाट दावी गर्ने वादीलाई कानूनले कुनै मद्दत गर्न सक्तैन मेरो ब्लक नं. १९६।१९७ र झगडा परेको नं.१९८ को घर मध्ये केही भाग मिलाई नयाँ बनाउनलाई झगडा परेको घर मेरो आफ्नै भनी उत्तर साँध लेखी ०१२ सालमा नक्सा पासको दर्खास्त दिई पास पूर्जिसमेत पाएको सो नक्सा पास गर्दा का.न.पा.ले म्याद टाँस गरेकोमा वादीले विरोध उजूर गर्न नसकेको भनी का.न.पा.को छापसमेत लागेको का.न.पा.गो.बाट भनी १२।८।७।३ को मिति राखी दिएको नक्सासमेत प्रतिवादी तर्फबाट हाल छलफलमा देखाइएकोमा सो नक्सा पासको सम्बन्धमा वादी तर्फबाट कुनै सन्तोषजनक विरोध दर्शाउन पनि नसकेकोसमेत हुँदा अपुतालीको नाताले प्रतिवादी अष्टनारायणले हक भोग गरी राखेको चिगडीको भागको घरमा ०१८ सालमा परेको यो नालेसबाट वादीको दावी लाग्न सक्ने देखिएन ।
१७. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट झगडा परेको चिगडीको भागको घरमा वादी दावी लग्न सक्ने नदेखिएकोले सो घर बण्डापत्रमा पारेको बदर गरी बहाल भराई घरबाट उठाई पाउँ भन्नेसमेत वादी दावी पुग्न सक्तैन वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको सदर गरी बागमती अञ्चल अदालतले ०२२।१०।२५।२ मा छिनेको इन्साफ मनासिव ठहर्छ । अंशबण्डा भई सकेपछि साँध सिमाना लगाउन बाँकी भएको घर देखिको भनी चिगडीको घर बण्डापत्रमा लेखेको बदर हुने र चिगडीको घरबाट प्रतिवादी उठी जानुपर्नेसमेत ठहराएको ०२६।४।२६।१ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन भोटाहिटीको पसल र बहाल भराई पाउँ भन्ने तर्फ उक्त डिभिजन बेञ्चले पनि वादी दावी पुग्न नसक्ने ठहराएको मनासिवै छ अरू तपसील बमोजिम गर्नु ।
तपसील
वादी इन्द्रनारायण मानन्धर के ०२६।४।२६।१ को डिभिजन बेञ्चको फैसलाले प्रतिवादी अष्टनारान मानन्धरबाट भराई दिने गरेको कार्टफी रू.१७०।२५ भराउनु नपर्ने हुँदा कानूनबमोजिम लगत कट्टा गरी दिनु सो रू.१७०।२५ मुद्दा दोहोर्याउँदा जगत माया मानन्धरनी कृष्णप्रसाद मानन्धर, हरिप्रसाद मानन्धरले ०२८।२।१३।५ मा सर्वोच्च अदालमा धरौट दाखिल गरेको कानूनबमोजिम निजहरूलाई नै फिर्ता दिनु भनी का.जि.अ.तहसील फाँटमा लगत दिनु…………..१
का.जि.पाको पोखल्ड्याङ बस्ने प्रतिवादी अष्टनारान मरी मुद्दा दोहोर्याउँदा निवेदन गर्ने प्रतिवादी अष्टनारान कि श्रीमती जगतमाया मानन्धरनी, छोरा कृष्णप्रसाद मानन्धर, छोरा हरिप्रसाद मानन्धरसमेतले मुद्दा दोहोर्याउँदा ०२८।२।१३।५ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.१३। ऐ.बस्ने वादी इन्द्रनारायण मानन्धरबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई बराबर दरले भराई दिनु भनी ऐ.ऐ………………२
०२६।४।२६।१ को डिभिजन बेञ्चले तत्कालिन बागमती अञ्चल अदालतका न्यायाधीश त्रैलोक्यराज अर्यालको इन्साफ केही उल्टिको रेकर्ड राख्ने गरेको लगत काटिदिनु भनी सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु………………३
नियमबमोजिम मिसिल बुझाई दिनु…………………४
न्या. मीनबहादुर थापा,
न्या. विश्वनाथ उपाध्याय
हामीहरूको सहमती छ ।
इति सम्वत् २०३० साल आषाढ ११ गते रोज २ शुभम् ।