निर्णय नं. ७४६ – हक कायम गरी जग्गा निखनाई पाउँ
निर्णय नं. ७४६ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ७४६ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२९ को दे.फु.नं. १७७
फैसला भएको मिति : २०३०।२।३०।३ मा
निवेदक : सिरहा प्र.पकरीया मौ.जगतपुर बस्ने विलटसिंह राजपुत
विरूद्ध
विपक्षी : जि.स.प्र.पक्री मौ.कोइलाडी बस्ने ललिटप्रसाद सिं राजपुत
मुद्दा : हक कायम गरी जग्गा निखनाई पाउँ
(क) प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउन पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौटी दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएको ।
(ख) प्रतिउत्तर परेकै मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने ।
उपरोक्त लेनदेन व्यवहारको १५ नं.मा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली अड्डामा ल्याई धरौट राख्नुपर्ने प्रष्ट उल्लेख भएको प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउनु पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौट दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएकोमा यस्तो थैलीमा मुख मिलिराखेकै कलममा उक्त लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परेको मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने र थैली धरौट राख्नु पर्ने दायित्व वादीकै हुनाले प्रतिउत्तर परेपछि वादी आफैंले थैली थाहा पाउने प्रयास गरी सो प्रतिउत्तर परेको ३५ दिनभित्रै थैली धरौट राख्न ल्याउनु पर्ने प्रष्ट हुन्छ यस्तै सिद्धान्त प्रतिपादित भई दे.फु.नं.२६२ वादी रत्नबहादुर सुनुवार विरूद्ध नरबहादुर पाण्डेको हकसफा मुद्दामा ०२२।१।२२।३ को फुल बेञ्चबाट र दे.फु.नं.७२ जयनारायण न्यौपाने विरूद्ध असलबहादुर तामाङ्गको थैली बुझाई पाउँ भन्ने मुद्दामा ०२५।३।१५।६ को फुल बेञ्चबाट निर्णय भइराखेको पनि छ ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : व.अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह, वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली
उल्लिखित मुद्दा : ( दे.फु.नं. २६२ रत्नबहादुर सुनुवार वि.नरबहादुर पाण्डे, हकसफा दे.फु. नं. ७२ जयनारायण न्यौपाने वि.असलबहादुर तामाङ्ग थैली बुझाईपाउँ)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भइआएको हुकुम प्रमांगी बमोजिम दोहरिएबाट पेस हुन आएको छ ।
२. मुद्दाको विवरण यसप्रकार छ : अनिरुद्रदेवीको म छैटौं पुस्ताको नाति हुँदा निजले जगतपुरको जग्गा विगाहा ७।३।।३ प्र.विलट सिंलाई बिक्री गरी ०२२।१०।२० मा पास गरी दिनु भएकोले थैली रू.१७३९५। बुझ्न लगाई हक कायम गरी जग्गा निखनाई पाउँ भन्नेसमेत वादी ।
३. वादी ६ पुस्ताभित्रको हकदार नहुँदा निखन्न नपाउने हुँदा मेरो लिखत दर्ता सदरै गरिपाउँ भन्नेसमेत विलट सिंको प्रतिवादी ।
४. वादी ६ पुस्ताभित्रको हकदार देखिन आएकोले वादीले धरौट राखेको थैली प्रतिवादीलाई बुझाई निखनाई दिने ठहर्छ भन्नेसमेत सिरहा जि.अ.को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा अञ्चल अदालतबाट निर्णय हुँदा थैली धरौट रहेकै र ६ पुस्ताभित्रको हकदार देखिन आएकोले इन्साफ सिरहा जि.अ.को मनासिव ठहर्छ भन्नेसमेत सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट भएको फैसला ।
६. उक्त अञ्चलअदालतको इन्साफमा चित्तबुझेन भन्ने प्र.को पुनरावेदन परेकोमा डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीको साक्षीको बकाईबाट जग्गा राजीनामा दिने अनिरुद्रदेवीको ७ पुस्ताको हकदार देखिनआएको हकदारले निखन्नपाउने वादीलाई कानूनी अधिकार प्राप्त भइरहेको हुँदा निखनाई दिने ठहराएको शुरुको सदर गरेको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको इन्साफ मनासिव भन्नेसमेत ०२८।२।१२ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
७. यस बेञ्च समक्ष निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले लेनदेन व्यवहार १६ नं.मा थैली थाहा नपाएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली धरौट राख्नु पर्ने प्रष्ट व्यवस्था छ सो म्यादभित्र वादीले थैली धरौट राखेको छैन त्यसतर्फ कुनै विवेचना नगरी डिभिजन बेञ्चले निखन्न पाउँने ठहराएको बदर हुनुपर्र्छ भन्नेसमेत र वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह तथा वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीहरूले थैली थाहा नपाई पहिले उजूरीसाथ थैली धरौट राख्न नसकेकोमा लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परी मुख मिलेकोमा ३५ दिनभित्र धरौट राख्नु पर्ने हो प्रतिउत्तर पर्ने बित्तिकै सो दायित्व उत्पन्न हुने होइन मुख मिले नमिलेको यकिन गरी अड्डाले सुनाउनु पर्छ अनि मुख मिलेकोमा सो ३५ दिनभित्र थैली धरौट राख्नुपर्ने दायित्व उत्पन्न हुन्छ अड्डाले सुनाएपछि ३५ दिनभित्र थैली धरौट राखेकोलाई म्याद नाघेको भन्न मिल्दैन । निखन्न पाउने ठहराएको डिभिजन बेञ्चको इन्साफ कायम रहनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
८. यसमा वादी दावीबमोजिम अनिरुद्रदेवीले प्र.विलट सिंलाई बिक्री गरेको जग्गा वादीले निखन्न पाउने नपाउने के हो भन्ने कुराको निर्णयको लागि वादीले म्यादभित्र थैली धरौट राखेको छ छैन भन्ने विवादग्रस्त प्रारम्भिक प्रश्न उपर नै सर्वप्रथम विचार गर्नु पर्ने हुन आएको छ ।
९. तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा लेनदेन व्यवहारको १६ नं.मा थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली अड्डामा ल्याई धरौट राख्नुपर्ने व्यवस्था भएको पाउँछौ । यस्तो निखन्ने सम्बन्धमा रजिष्ट्रेशनको ३५ नं.मा पहिले रजिष्ट्रेशन गर्ने अड्डामा थैली धरौट राखी निखनाई पाउन दर्खास्त गर्नु पर्ने र साहुले निखन्न दिन मञ्जुर नगरे रजिष्ट्रेशन भएको लिखत वा अड्डामा रहेको श्रेस्ताबाटै निखन्न दिनुपर्नेमा इन्कार गरेको देखिन आए रजिष्ट्रेशन गर्ने अड्डाबाटै निखनाई दिने, निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनुपर्ने कुरा देखिन आए ३५ दिनभित्र नालेस गर्नु भनी सुनाई दिनुपर्नेसमेत व्यवस्था भएको र सो अनुसार यो मुद्दाको वादीले पहिले सप्तरी मालमा दर्खास्त गरेकोमा तहतह फैसला हुँदै आई आखिर ०२६।३।२६।५ को डिभिजन बेञ्चबाट उक्त रजिष्ट्रेशनको ३५ नं. बमोजिम अदालतमा नालेस गर्नु भनी सुनाई दिनुपर्ने भन्ने फैसला भई सप्तरी मालबाट सुनाएपछि यो मुद्दा पर्न आएको देखिएकोले लेनदेन व्यवहारको १६ नं. बमोजिम म्यादभित्र थैली धरौट राखे नराखेको कुरा पहिले मालमा परेको उजूरी मिसिलमै हेर्नु पर्ने हुन आयो ।
१०. उक्त मिसिल हेर्दा के कति मोलमा बिक्री गरेको हो थाहा हुन नसकेको भनी पहिले उजूरीसाथ थैली धरौट नराखेकोमा प्रतिवादी विलट सिंको ०२३।१।०।१ को बयानबाट थैली खुल्न आएपछि ०२३।२।१० मा मालले सुनाई कागज गराई सो मितिले ३५ दिनभित्र ०२३।३।१० मा मात्र वादीले थैली धरौट राखेको रहेछ ।
उपरोक्त लेनदेन व्यवहारको १५ नं.मा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली अड्डामा ल्याई धरौट राख्नुपर्ने प्रष्ट उल्लेख भएको प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउनु पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौट दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएकोमा यस्तो थैलीमा मुख मिलिराखेकै कलममा उक्त लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परेको मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने र थैली धरौट राख्नु पर्ने दायित्व वादीकै हुनाले प्रतिउत्तर परेपछि वादी आफैंले थैली थाहा पाउने प्रयास गरी सो प्रतिउत्तर परेको ३५ दिनभित्रै थैली धरौट राख्न ल्याउनु पर्ने प्रष्ट हुन्छ यस्तै सिद्धान्त प्रतिपादित भई दे.फु.नं.२६२ वादी रत्नबहादुर सुनुवार विरूद्ध नरबहादुर पाण्डेको हकसफा मुद्दामा ०२२।१।२२।३ को फुल बेञ्चबाट र दे.फु.नं.७२ जयनारायण न्यौपाने विरूद्ध असलबहादुर तामाङ्गको थैली बुझाई पाउँ भन्ने मुद्दामा ०२५।३।१५।६ को फुल बेञ्चबाट निर्णय भइराखेको पनि छ ।
११. वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताहरूले नजीर देखाउनु भएको दे.फु.नं. ५६ गोविन्दप्रसाद मुडभरी विरूद्ध कालुमान शाक्यको हकसफा मुद्दामा चाहिँ वादीले नालेस गर्दा रू.४०००। बढीको लिखत गर्यो खुद लिए दिएको कति हो थैली थाहा नभएकोले ठेगान लगाई अंकको थाहा भएमा धरौट राख्नेछु भन्ने पहिले थैली धरौट नराखेको प्रतिवादी परेपछि मुख कसरी मिलेको हो सो पनि नदेखाएको भन्ने भई यो मुद्दाको वस्तुस्थितिसँग फरक हुनाले उक्त मुद्दामा ०२६।२।१७।६ को फुल बेञ्चबाट भएको फैसलाको नजीर यसमा लाग्नसक्ने देखिएन ।
१२. अतः माथि उल्लेख गरिएबमोजिम लेनदेन व्यवहारको १६ नं.ले तोकी दिएको म्याद प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको मितिले ३५ दिनभित्र वादीले थैली धरौट नराखेको र पछि मालले थैली सुनाई कागज गराई सो मितिले ३५ दिनभित्र थैली धरौट राखे–रखाएकोलाई कानूनी मान्न नमिल्नेसमेत हुनाले यस्तो थैली नै ऐनको म्यादभित्र धरौट नराखेकोमा निखन्न पाउने अवस्थै नआउने हुँदा अरू कुरा विचार गरिरहनु परेन । उक्त कारणबाट वादीको यो नालेसै खारेज हुने ठहर्छ निखनाई दिने गरेको शुरु सिराहा जिल्ला अदालत तथा सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको सदर गरी ०२८।२।१२।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी विलटसिं राजपुतको निजले राखेको देहायबमोजिम कोर्टफी वादी ललितप्रसादसिं राजपुतबाट भराइपाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्षभित्र दर्खास्तदिएमा दस्तूर केही नलिई भराइदिनु भनी कानूनबमोजिम लगत दिनू….१
पुनरावेदन गर्दा सिराहा जि.अ.मा ०२७।३।३०।३ मा राखेको रू.१०८।८७, ऐ.सगरमाथा अञ्चल अदालतमा ०२७।९।८।४ मा ऐ.१०८।८७, मुद्दा दोहोर्याउँदा ०२९।२।१।१ मा सर्वोच्च अदालतमा ऐ.७१।५८
सिराहा जिल्ला अदालतको ०२७।२।१८।१ को फैसलाले वादी ललितप्रसाद सिंले फिराद साथ दाखिल गरेको कोर्टफी रू.७२५।८० प्रतिवादी विलट सिंबाट भराई दिने गरेकोमा हाल पछि बुझिएकोबाट मुद्दा खारेज हुने ठहरेको भई सो कोर्टफी वादीलाई नै लाग्ने हुँदा प्रतिवादी विलट सिंबाट भराउने गरेको लगत काटी दिनु सो कोर्टफी रू.७२५।८० प्रतिवादी विलट सिंले पुनरावेदन गर्दा ०२७।३।३०।३ मा सिराहा जिल्ला अदालतमा धरौट दाखिल गरेको निज प्रतिवादी विलट सिंलाई नै कानूनबमोजिम फिर्ता दिनु भनी सिराहा जि.अ.लाई लेखी पठाउन ऐ…………………..२
वादी ललितप्रसाद सिं राजपुतले ०२३।३।१०।६ मा सप्तरी मालमा धरौट राखेको थैली रू.१७३९५। निज वादीलाई नै कानूनबमोजिम फिर्ता दिनु भनी उक्त माललाई लेखी पठाई दिनू………………….३
नियमबमोजिम मिसिल बुझाइदिनू………………….४
हामीहरूको सहमती छ ।
न्या.वासुदेव शर्मा,
न्या.विश्वनाथ उपाध्याय
इति सम्वत् २०३० साल ज्येष्ठ ३० गते रोज ३ शुभम् ।