निर्णय नं. ७४५ – जग्गा
निर्णय नं. ७४५ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय...
निर्णय नं. ७४५ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२७ सालको दे.फु.नं. १२३
फैसला भएको मिति : २०३०।२।१९।३
निवेदक : जि.बारा प्र.टोकरी मौजे बडाफर घर भई हाल रामशाहपथ डेरा गरी बस्ने वासुदेवप्रसाद उपाध्याय
विरूद्ध
विपक्षी : काठमाडौं पकनाजोल बस्ने गोपवालादेवी धितालसमेत
मुद्दा : जग्गा
(१) प्रमाण दिनसमेत नसकी कुनै विवादै नउठाएकोमा अदालतले ठहर गर्न नमिल्ने ।
०२५।८।२।१ को डिभिजन बेञ्चले निर्णय गर्दा रमेशचन्द्रलाई छुट्याएकै विगाहा २७७।। बाहेक अरू बाँकी जग्गामा अर्को बन्दोवस्त भएको देखिएकोसमेत भनी वादीसमेतले नभएको ०१५।१६।१० को चलानी पूर्जीको मान्यता नरहेको भन्ने मुख्य बुँदा उल्लेख गरेको हकमा प्रतिवादीहरूले आफ्नो प्रतिवादीमा वादीसमेतले पाएको दर्ता बहाली यो यस कारणबाट अमान्य भई सो दर्ता बहालीबाट पाएको जग्गामा वादीसमेतको हक टुटिसकेको छ भन्ने जिकिर लिन र त्यस कुराको प्रमाण दिनसमेत नसकी त्यसतर्फ कुनै विवादै नउठाएकोमा अदालतले वादीसमेतले पाएको दर्ता बहाली मान्य अमान्य कुन स्थितिमा छ भन्ने कुराको विवेचना गरी वादीसमेतले पाएको दर्ता बहाली अमान्य भएकै भनी ठहर गर्न नमिल्नेमा ठहर गरेको मिलेको देखिएन ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : अधिवक्ता गजेन्द्रबहादुर प्रधान
विपक्षी तर्फबाट : अधिवक्ता गणेशराज शर्मा
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुनआएको छ ।
२. मुद्दाको विवरण यसप्रकार छ : जि.वा.प्र.को बडाफरक्ने जग्गा विगाहा ६२५ बाट २७७।। टेकचन्द्रले पाएको बाँकी २७७।। मसमेतको सुकुम्वासी जवान ५१ ले १६ सालका बालीदेखि पोत बुझाई खानु भनी चलन पूर्जी गरिदिए अनुसार पूर्व बगर नदी उत्तर पश्चिम दक्षिण वन यति भित्र पर्ने मध्ये कि.नं.११५, ३४, ११० को जम्मा विगाहा ५।।।१ दर्ता गराई भोग गरी आएको कन्जरभेटरबाट मेरो जग्गा नापी हुँदा केही बढ हुन गएकोसमेत जग्गा माल जिम्मा लगाई हुन्डा लगाइदिनेसमेत भएकोले त्यस उपर मसमेतको उजूर परी कारवाई भइरहेको अवस्था विपक्षी गोपवालादेवीले दिएको निवेदनको आधारमा मेरो जग्गा दर्ता गरिदिनु भनी विपक्षी क्षेत्रविक्रम सवारी मन्त्रालयबाट निर्णय दिई पठाएबाट मालबाट गोपवालादेवीलाई बहाली दिएको २१।२।२ मा थाहा पाई नालेस गर्न आएको छु । मेरो जग्गा विगाहा ५।।।१ मलाई फिर्ता दिलाई मेरै हक सदर गरिपाउँ भन्नेसमेत वासुदेवप्रसादको फिरादपत्र ।
३. बडाफरको जग्गा विगाहा ६२५ हाल आवादी पाउँ भन्ने वादीसमेत ५१ जवानले निवेदन दिएकोमा कारवाई भएको सोही जग्गा पाउँ भन्ने रमेशचन्द्रसमेतले विन्तीपत्र चढाउँदा दिनु भन्ने हुकुम बक्सेको रहेछ । उक्त जग्गा सम्बन्धमा कारवाई हुँदा सो जग्गा विगाहा ६२५ मध्ये ७० विगाहा अनियमित रूपले आवाद गरिसकेको देखिएकोले कारवाई भइरहेको सो बाहेक विगाहा ५५५ मध्ये आधा २७७। रमेशचन्द्रसमेत लाई र आधा २७७।। वादीसमेत ५१ जवानले विगाहा ५९।१ दरले पाउने गरी बारा मालले चलन पूर्जी दिएकोमा वन सीमानाभित्र परेकोले दिन नमिल्ने भनी वादीसमेत ५१ जनाको चलन पूर्जी स्थगित गर्न मालले जिमिदारलाई आदेश दिएको छ अव्यवस्थित किसानले आवाद गरेको विगाहा ७० र त्यस्तै आवाद गरेको जग्गासमेत जम्मा जग्गा विगाहा १३१.४.४ पछि ठहरेबमोजिम हुने गरी आवाद गरिरहेको धर्मदेवसमेतको नाउँमा लम्बरी भएको जग्गा मध्ये अन्यत्र जग्गा भएको र विदेशीहरूले आवाद गरेको सरकारबाट झिक्ने व्यवस्था भई कारवाई हुँदा बाकेलालसमेत जवान ८ ले आवाद गरेको जग्गा विगाहा १७।३।। श्री ५ को सरकारको निर्णय बमोजिम मैले पाएको हुँ वादीको जग्गा लिएको होइन भन्नेसमेत गोपवालादेवीको प्रतिवादी ।
४. सचिव विष्णुमणि उपर नालेस दिनुपर्ने कारण फिरादमा उल्लेख नदेखिएको सरकारी कर्मचारीले कुनै हक हरण गरेको भए सो भएको ८ महिनाभित्र श्री ५ को सरकारको विरूद्ध नालेस दिनुपर्ने हदम्याद गुज्री त्यसपछि नालेस उजूर लाग्नै नसक्ने १९ सालमै विपक्षीलाई जग्गाबाट हटक गरेको र माल जिम्मा राखेको भन्ने विपक्षीको लेखाईबाट देखिएको सो बमोजिम हटक गरेको भए सो मितिबाट ८ महिना हदम्यादभित्र नालेस दिनुपर्नेमा सो केही नगरी बसेकोले निजको हदम्याद गुज्रेकोले नालेस खारेज हुनुपर्ने भन्ने र अरू प्र.गोपवालादेवी मिलनाको प्रतिवादी सचिव विष्णुमणि रक्षा सचिव श्री मे.ज.क्षेत्रविक्रम राणा बारा मालको हाकिम से.अ.विजुलीमान प्रधानसमेत तर्फबाट श्री ५ को सरकार ग.पिल तथा प.प्र.रामहरि तिमिल्सिनाको प्रतिउत्तरपत्र ।
५. सचिव विष्णुमणिले यो यस्तो अन्याय गर्नुभएको छ भनी फोडमा कुनै पनि देखाइएको देखिँदैन वहाँलाई ऐन बमोजिम सूचना दिएकोसमेत देखिन नआएकोले वहाँ उपर दावी लग्न नसकी अनुचित दावा गरेको देखिन्छ । अरूको हकमा पनि वादी दावी अनुसार वादी दावीको जग्गा १६ सालका बालीदेखि भोगचलन गर्न पाएको देखिए तापनि सो जग्गा प्र.गोपवालादेवीले पाएको नभई अव्यवस्थित किसानहरूको व्यवस्था गर्न कञ्जरभेटरले नापजाँच गरी छुट्याउँदा बडाफर मौजामा बाकेसा कलवार मोहन महतो कोइरी सारदा देली कनैया फैखाखो थारु सूर्यबहादुर श्रेष्ठ, नारायणप्रसाद राम औतार सा कानू विष्णुदत्त धामी खुशी चौधरी थारुसमेतको जग्गा विगाहा १७।३।।। अर्को आदेश नआएसम्म ठेक्का बन्दोवस्त गरी मालबाटै तहसील गर्ने गरी उक्त कञ्जरभेटरले लगत दिए बमोजिम बारा माल जिम्मा रहेको जग्गामात्र प्र.गोपवालादेवीले श्री ५ को सरकार सवारी मन्त्रालयका निर्णय बमोजिम पाएको देखिन आएको वादीले पाउँ भनेको जग्गा सोही जग्गा मध्येकै भए अरूका नाउँमा दर्ता लगत हुँदा वादीको नाउँमा पनि हुनुपर्ने सो केही देखिन आएन कानूनबमोजिम दर्तातर्फ उजूर नभई दर्ता कायम रहेको अवस्थामा प्रतिवादी गोपवालादेवीले पाएको जग्गामा अ.बं.८२ नं. बमोजिम वादीको दावा पुग्न नआउने भई यस वादीबाट निर्णय गर्न नमिल्ने हुँदा वादीको उजूर दावी खारेज हुने ठहर्छ भन्नेसमेत नारायणी अञ्चल अदालतको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा स.अ.डिभिजन बेञ्चबाट निर्णय हुँदा वादीले यो जिमिदार कायम भएको भन्न सकेको छैन कुनै श्रेस्तामा दर्ता भएको पनि छैन पोत बुझाएको भनेको पनि धरौटी रसिद देखिन्छ । प्रतिवादी गोपवालादेवीको श्री ५ को सरकारको सवारी मन्त्रालयको निर्णय र सो बमोजिम जिमिदार टेकचन्द्रको जिमिदार कचहरीबाट १ नं.फारममा श्रेस्तामा रैतान दर्ता गरिदिएको छ भनी २१ साल मार्ग १२ गते जग्गा दर्ता गरेको सबूद पेस भएको छ हाल आवादी जग्गामा १ नं.फाराममा दर्ता गर्ने रैती गोपवाला र आवाद गर्नु भन्नेसम्म चलन पूर्जी पाउने वादी देखियो लेखिएबमोजिम चलनीमात्र दिएको रैतीले हक गर्न पाउँदैन निजले पाएको चलनी पूर्जी पनि अर्को बन्दोवस्त हुने भई मान्यता रहेको नदेखिएकोले फिरादवालले जग्गामा हक देखाई उजूर गर्न पाउने देखिँदैन । कृषि डाइरेक्टर अफिसबाट आदेश भए बमोजिम बारा मालले नापी गरी पठाए पछि अरूको हकमा यकिन गर्ने भन्ने निर्णय भएकै कुरामा आफूले पाएको चलनी पूर्जीको मान्यता नभएको भनी उजूर गरेको देखिएन गोपवालालाई आवाद गर्न दिने भनी २०।२२।१४ मा श्री ५ को सरकारबाट निर्णय भएको मितिबाट यो उजूर परेको मिति नागरिक अधिकार ऐनको म्याद नघाई उजूर परेको हुँदा श्री ५ को सरकारको विरूद्ध मुद्दा चल्न सक्तैन भनी ना.अञ्चल अदालतबाट गरेको ठहर मनासिव छ । जग्गावालाको हक प्राप्त नभएको व्यक्तिले गरेको यो उजूर पुग्न सक्तैन भन्नेसमेत ०२५।८।२ मा स.अ.डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
७. यस बेञ्च समक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री गजेन्द्रबहादुर प्रधानले १५।१०।१६ मा बारा मालले पर्चा गरी मेरो पक्षसमेतलाई कानूनको रीतपूूर्वक दर्ता बहाली पूर्जी दिएको सो कायम रहेकोले जग्गामा मेरो पक्षको हक पक्का भएको छ, सो बहाली चलन पूर्जीबमोजिम पाई मेरो पक्षले आवाद गरेको जग्गा प्रतिवादी गोपवालालाई श्री ५ को सरकार सवारी मन्त्रालयले दिएको कानूनले सदर नहुने हुँदा सो बदर गरी दावीको जग्गामा मेरो पक्षको हक कायम हुनुपर्छ भन्नेसमेत र विपक्षी गोपवालादेवीतर्फबाट विद्वान अधिवक्ता श्री गणेशराज शर्माले वादीसमेतका ५१ जनाले पाएको जग्गा विगाहा २७७।। मध्येको छुट्टै हो मेरो पक्षले पाएको चाहिँ विगाहा १७।२।।। अव्यवस्थित रूपले आवाद गरेको विगाहा ७० मध्ये वाँकेलालसमेतको नाउँमा दर्ता हुन नसकी झिकिएको छुट्टै हो सो जग्गा वादीले आवाद गरेकोसमेत नभई निजको हक नपुग्ने हुँदा वादीको उजूर खारेज हुनुपर्छ भन्नेसमेत र विद्वान का.मु.सरकारी वरिष्ठ अधिवक्ता श्री जोगेन्द्रप्रसाद श्रीवास्तवले वादीले पाएको र प्रतिवादी गोपवालाले पाएको जग्गा छुट्टाछुट्टै हो वादीले आवाद गरेको निजको हकको जग्गा गोपवालालाई दिएको हौइन भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
८. यसमा वादी दावीको जग्गा श्री ५ को सरकार सवारी मन्त्रालयको निर्णय बमोजिम प्रतिवादी गोपवालालाई दिएको बदर हुने नहुने र वादीको जग्गा वादीहरूको हक लाग्ने नलाग्ने के हो विवादास्पद यी प्रश्नहरू उपर नै मुख्य रूपले विचार गर्नु पर्ने हुन आएको छ ।
९. सर्वप्रथम वादीसमेतले बारा मालबाट पाएको भनेको २०१५।१०।१६।५ को बहाली पूर्जी हेर्दा जि.बारा ठोकर्नी मौजे वडाफरको पूर्वतर्फ केही झिक्ने भई डकहाको प्रति बगरी नदी भएको उत्तर पश्चिम दक्षिणतर्फ वन जंगल भई माझमा खाली प्लट जग्गा विगाहा ६२५ मध्ये बिना इजाजत आवादी गरे भन्नेसमेत, ततर भगतको उजूर परी कारवाई भइरहेको विगाहा ७० कटाई बाँकी विगाहा ५५५ मा अघि विगाहा २७७।। हुकुम प्रमांगी बमोजिम रमेशचन्द्रसमेतले पाएको बाँकी विगाहा २७७।। मा एकजनाले विगाहा ५।.।२ का दरले असल कमसल मिलाई आवाद गरी ०१६ सालका बालीदेखि संसरह लाग्ने पोत रकम कलम जिम्दार मार्फत बुझाई आफ्नो जानी भोग चलन गर्नु भनी सोही ०१५।१०।१६।४ मा पर्चासमेत गरी वादीसमेतका ५१ जनालाई बहाली पूर्जी गरिदिएको मिसिलमा पेस भइराखेको उक्त मितिको दर्ता बहाली नक्कलबाट देखिन्छ ।
१०. प्रतिवादी गोपवालादेवीले चाहिँ अव्यवस्थित किसानको व्यवस्था गर्न खटी गएका का.मु.कञ्जरभेटर गोविन्द नरसिंले रैतीहरूको अव्यवस्थित रूपले आवाद गरेको ७० विगाहा नापी गरी छुट्याउँदा कायम हुन आएकोमा अरू जग्गा अन्य रैतीका नाममा दर्ता भई लाल साहू कलवार मोहन महतो कोइरी शारदादेवी मेखाखो थारु सूर्यबहादुर श्रेष्ठ, नारायणप्रसाद राम औतार साहू किसुन दत्त, धामी खुशी चौधरीसमेतले आवाद गरेको निजहरूको नाममा दर्ता हुन नसकी जगेडा हुन आएको जम्मा विगाहा १७।३।।। म पाउँ भनी निवेदन चढाएकोमा २१ सालका बालीदेखि आठासरह पोत तिर्ने गरी आवाद गर्न दिने भन्ने श्री ५ को सरकार सवारी मन्त्रालयको ०२०।१२।१४ को निर्णय बमोजिम उक्त जग्गा विगाहा १७।३।।। निजले पाएको रहेछ ।
११. ०२५।८।२।१ को डिभिजन बेञ्चले निर्णय गर्दा रमेशचन्द्रलाई छुट्याएकै विगाहा २७७।। बाहेक अरू बाँकी जग्गामा अर्को बन्दोवस्त भएको देखिएकोसमेत भनी वादीसमेतले नभएको ०१५।१६।१० को चलानी पूर्जीको मान्यता नरहेको भन्ने मुख्य बुँदा उल्लेख गरेको हकमा प्रतिवादीहरूले आफ्नो प्रतिवादीमा वादीसमेतले पाएको दर्ता बहाली यो यस कारणबाट अमान्य भई सो दर्ता बहालीबाट पाएको जग्गामा वादीसमेतको हक टुटिसकेको छ भन्ने जिकिर लिन र त्यस कुराको प्रमाण दिनसमेत नसकी त्यसतर्फ कुनै विवादै नउठाएकोमा अदालतले वादीसमेतले पाएको दर्ता बहाली मान्य अमान्य कुन स्थितिमा छ भन्ने कुराको विवेचना गरी वादीसमेतले पाएको दर्ता बहाली अमान्य भएकै भनी ठहर गर्न नमिल्नेमा ठहर गरेको मिलेको देखिएन ।
१२. मुख्य वादीसमेतले पाएको जग्गा र प्रतिवादी गोपवालादेवीले पाएको जग्गा एकै वा बेगल के हो भन्नेतर्फ एक कित्ताभित्रको प्लट जग्गा नापी हुँदा जम्मा विगाहा ६२५ भएकोमा अव्यवस्थित किसानहरूले आवाद गरेको विगाहा ७० कटाई बाँकी विगाहा ५५५ मा आधि विगाहा २७७।। रमेशचन्द्रसमेतले र आधि विगाहा २७७।। वादीसमेत ५१ जनाले पाएको देखिएकोबाट वादीसमेतले पाएको जग्गा र अव्यवस्थित किसानहरूले आवाद गरेको भन्नेको ७० विगाहासमेत एकै ठाउँमा छ्यासमिस रूपमा रहेको प्रष्ट हुन्छ वादीसमेतले दर्ता बहाली पाउँदा कित्ता कित्ता छुट्याई अलग ४ किल्ला राखी यो कित्ता यसलाई भनी दर्ता बहाली दिएको नभई जम्मा विगाहा २७७।। मा एक जनाले विगाहा ५।.।२ को दरले आवादी गर्ने गरी बहाली दिएको त्यसबाट वादीले यहाँनेरको यै जग्गा पाएको भन्ने छुट्टिन सक्तैन दर्ता बहाली अनुसार पाएको विगाहा ५।०।२ जसले जहाँनेर आवाद गर्यो सोही सो आवाद गर्नेको हक हुन सक्ने हो । वादीले पाएकै जग्गा प्रतिवादी गोपवालालले पाएको भन्ने कुरालाई दर्ता बहालीसमेतले प्रमाणित गर्दैन ।
१३. प्रतिवादी गोपवालादेवीले पाएको जग्गा मैले आवाद गरेको भन्ने वादीको मुख्य दावी भएकोले वादीले आवाद गरे नगरेको के रहेछ भन्नेतर्फ हेर्दा पहिले नालेस गर्दा आफैंले आवाद गरी हक भोग गरेको भन्ने दावी लिएकोमा पछि वाँकेलालसमेत मोहीलाई कमाउन दिएको भन्ने जिकिर उठाएको पाइन्छ । हुन त यो नालेस गर्नुभन्दा पहिले नै सो जग्गा हामीहरूका मोही बाँकेलाल मोहन कोइरीसमेतले कमाएको भन्नेसमेत जिकिर लिई श्री ५ महाराजाधिराजका हजूरमा निवेदन पत्र चढाएको भन्ने मिसिल सामेल रहेको ०२१।८।१९।६ को आय र कर अदालतको प्रतिवेदनबाट देखिन्छ तर सो निवदनपत्रमा २१।७।६।५ मा बक्स भएका हुकुम प्रमांगी बमोजिम सबै व्यहोरा खुलाई जाहेर हुँदा मिसिल सामेल राखी कानून बमोजिम गर्नु भन्ने वन कृषि भूमिसुधार मन्त्रालयका नाउँमा ०२१।८।२१।१ मा हुकुम प्रमांगी बक्स भएको देखिन आयो । का.मु.कञ्जरभेटरले बाँकेलालसमेतका नाउँमा नापी गरी निजहरूका नाममा दर्ता हुन नसकी माल जगेडामा रहेका जग्गा मालले ठेक्का बन्दोवस्त गरेकोमा सो ठेक्का लागेको जग्गाको सम्बन्धमा हामीले मालपोत तिरी आवाद गरेको जग्गा अवैधानिक तरिकाबाट हुँदा बन्दोवस्त गरेको जग्गा थामी पाउँ भन्ने वासुदेव, शान्तिदेवी, गोपालप्रसादसमेतको निवेदन परेकोमा कारवाई चली आखिर उनीहरूको हक दावी लाग्ने भन्ने निर्णय भएको देखिएन गोपवालादेवीलाई आवाद गर्न दिने भन्ने सवारी मन्त्रालयबाट भइआएका आदेश बमोजिम गर्न तुरुन्त लेखी पठाइदिनु भन्ने विभागीय मन्त्रीज्यूबाट ०२१।१।२५ मा टिप्पणीं सदर भएको रहेछ । कञ्जरभेटरले नापी गर्दा आफूले आवाद गरेको बाँकेलालसमेतका मोहीहरूलाई कमाउन दिएको आफ्नो जग्गा अव्यवस्थित किसानहरूले आवाद गरेको भित्र पारी निज मोहीहरूका नाउँमा नापी गरिदिएको भए सो र सो जग्गा मालले ठेक्का बन्दोवस्त गरेकोसमेत उपर कानूनले निर्देशन गरे बमोजिम म्यादभित्र अदलतमा नालेस उजूर गरी आफ्नो हक कायम गराउन सक्नुपर्ने नसकेको र आफूले आवाद गरेको जग्गा बाँकेलालसमेतलाई कमाउन दिएको सबूद प्रमाण यस मुद्दामा पनि कुनै देखाउन नसकेकाले सबूद प्रमाणको अभावसमेतको यस स्थितिमा बाँकेलालसमेतका नाउँको प्रतिवादी गोपवालादेवीले पाएको जग्गा वादीले नै आवाद गरेको भन्ने ठहराउन मिल्ने देखिएन ।
१४. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट बाँकेलालसमेतका नाउँमा नापी भएको निजहरूका नाउँमा दर्ता हुन नसकी माल जगेडामा रही श्री ५ को सरकार सवारी मन्त्रालयका आदेशबमोजिम गोपवालदेवीले पाएको वादी दावीको जग्गा वादीले आवाद गरेको भन्ने प्रमाणित हुन आएको बाँकेलालसमेतका नाउँमा नापी भएको जग्गा देखिएकोले सो जग्गामा वादीको हक दावी लाग्न सक्ने देखिएन बाँकेलालसमेतका नाउँमा दर्ता हुन नसकी श्री ५ को सरकारको स्वामित्वमा रहेको जग्गा श्री ५ को सरकार सवारी मन्त्रालयको निर्णय बमोजिम प्रतिवादी गोपवालालाई दिएकोमा वादीको नालेस दावी लाग्न नसक्नेसमेत हुँदा वादीको नालेस साविक अ.बं.१०६ हालको अ.बं.८२ नं. बमोजिम खारेज हुने ठहर्छ वादी दावी खारेज गर्ने गरेकोसम्म ०२५।२।१ को डिभिजन बेञ्चको मनासिव छ । कोर्टफी राखेकाले मुद्दा दोहर्याएमा निवेदक वादीलाई अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. धनेन्द्रबहादुर सिंह
न्या. झपटसिंह रावल,
न्या. चन्द्रप्रसाद प्रधान,
न्या. जयदेव भट्ट
हामीहरूको सहमती छ ।
इति सम्वत् २०३० साल जेष्ठ १९ गते रोज ६ शुभम् ।