July 3, 1973
Created by nepalarchives

निर्णय नं. ७४१ – लेनदेन

निर्णय नं. ७४१            ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत्...

निर्णय नं. ७४१            ने.का.प. २०३०

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

सम्वत् २०२९ सालको दे.फु.नं. १०५

फैसला भएको मिति : २०३०।३।१९।३

निवेदक : का.जि.नक्साल नाग पोखरी बस्ने रौद्र शमशेर थापा

विरूद्ध

विपक्षी : ऐ. जुद्धसडक बस्ने प्रतापबहादुर जोशी

मुद्दा : लेनदेन

(१)   तत्काल प्रचलित साहु आसामीको २ नं.तमसुक नामाकरण नगरी अरू नै नाम राखेको नभए पनि सापटी लिनु दिनु गरेको व्यहोरा पारी लिखत गरेकोछ भने त्यसतोलाई कर्जा लिनु दिनु गरेको नै मान्नु पर्ने ।

      साहु आसामी बनी कर्जा लिनु दिनु गरेको व्यवहारमा जस्तै तमसुक गरी रूपैयाँ लिए दिएको नभई मञ्जुरनामा लिखत गरी रूपैयाँ दिएको यस्तो व्यवहारलाई कर्जा दिए लिएको मान्न नमिल्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा तर्क उठाउनु भएको हकमा नयाँ मुलूकी ऐन लेनदेन व्यवहारको २ नं.मा तमसुक भन्नेसम्म उल्लेख भए पनि यो नयाँ मुलूकी ऐन लागू हुनु भन्दा अगाडिको व्यवहार भएको र तत्काल प्रचलित साहू आसामीको २ नं.मा तमसुक लिखतपत्र भन्ने उल्लेख भएकोले लिखतको तमसुक नामाकरण नगरी अरू नै नाम राखेको भए पनि वास्तवमा सापटी लिनु दिनु गरेको व्यहोरा पारी लिखत भए गरेको छ भने त्यसतालाई कर्जा लिनु दिनु गरेको नै मान्नु मर्ने र वादी दावीको ०११।८।७ को लिखतमा सापटी भन्ने बोली परी राखेकोसमेत हुँदा विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरमा सहमत हुन मिलेन ।

(प्रकरण नं. १३)

(२)   रूपैयाँ लिई सापटी लिए दिएको भराई पाउँ भन्ने दावीको व्यवहार साहु आसामीको २ नं.भित्र पर्न आउने हुनाले साहु आसामीको २ नं.कै हदम्याद लाग्ने ।

      हदम्यादको सम्बन्धमा तत्काल प्रचलित लेनदेन व्यवहारको २ नं.या ३८ नं.कुन ऐनको हदम्याद लाग्ने हो भन्ने कुरा विवादास्पद भएकोले त्यसतर्फ हेर्दा तत्काल प्रचलित साहू आसामीको १ नं.मा कर्जा लेनदेन गर्दा ऐनको रीत पुर्‍याई तमसुक खाता बहीसमेतको लिखतपत्र केही नगरी नगर्नु भन्ने र ऐ.२ नं.मा तमसुक लिखतपत्र भएका मितिले १० बर्षसम्म केही ब्याज असूल पनि नभएको भाका पत्रको कागज पनि नगराएको भराई माग्नालाई नालेस पनि नदिई त्यसै बसेको रहेछ भने त्यो आसामीको मोलाहिजामा रहेको ठहर्छ तमसुक लिखतपत्र भए पनि त्यस्तोमा म्याद नाघेपछि नालिस सुनिने छैन १० बर्षको बीचमा भाखापत्रको कागज गराएको वा ब्याज खाएको रहेछ भने सो मितिले फेरि १० बर्षको म्याद पाउँछ भन्नेसमेत उल्लेख भएको र ऐ.३८ नं.मा अरू भए गरेको २ बर्ष भित्र नालेस दिए लाग्छ म्याद नाघेपछि नसुन्नु भन्ने उल्लेख भएको पाइन्छ, उक्त साहु आसामीको २ नं.भित्र नपर्ने अरू किसिमको व्यवहार भए त्यस्तोमा ऐ.३८ नं.को २ बर्षको हदम्याद लाग्ने हो लिखतपत्र गरी रूपैयाँ सापटी लिए दिएको भराई पाउँ भन्ने दावीको यो व्यवहार उक्त साहुआसामीको २ नं.भित्रै पर्न आउने हुनाले यस्मा ऐ.३८ नं.को हदम्याद लाग्ने प्रश्न आउँदैन साहुआसामीको २ नं.कै हदम्याद लाग्ने प्रष्ट छ २०१२।६।१४।६ मा भाकापत्र भएको मितिले उक्त साहुआसामीको २ नं.को म्याद १० बर्ष भित्रै ०२२।४।१०।१ मा वादीको नालेस दर्ता भएकोले वादीको नालेस ऐनको हदम्यादभित्रै परेको देखिन्छ ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट

विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

उल्लिखित मुद्दा : (फौ.फु.नं. ५७ गोविन्दमान प्रधान विरूद्ध महेन्द्रविक्रम शाह, लेनदेन जालसाजी)

फैसला

     प्र.न्या.     रत्नबहादुर बिष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२९।१।२९ को हुकुम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यसबेञ्च समक्ष पेस हुन आएको छ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : विपक्षीले अफ्रिका र वि.वी.को फिल्म छुटाउनलाई म बाट भा.रू.१६८०। कर्जा लिई २०११ साल मार्ग ७ गते तमसुक गरी दिएको सावाँ ब्याज नबुझाएकाले धर पकड गर्दा २०१२।६।१४ भाकापत्र गरी दिएको उक्त भाका भित्र पनि रूपैयाँ नबुझाएकोले सावाँ र १० बर्षको ब्याजसमेत ने.रू.५३७६ निजबाट भराई पाउँ भन्ने वादी ।

      ३.    वादीको जवाँई देवेन्द्र शमशेरको विश्वज्योति सिनेमा भवनमा प्रदर्शन गर्न हिमालय फिल्म डिष्ट्रिव्युटर जुद्धसडकको नाममा आएको अफ्रिका र किसिमि विवी नामक फिल्म नेपाल बैंकबाट छुटाई निजकै जवाँईको विश्वज्योति सिनेमा हलमा प्रदर्शन गर्न देवेन्द्र शमशेरको भनाईबाट मेरो नाममा लिखत गरी ल्याएको हो सिनेमा प्रदर्शनबाट भएको शेयर रूपैयाँबाट वादीले पाउनु पर्ने सबै रूपैयाँ देवेन्द्र शमशेरले बुझाई सकेको कुरा देवेन्द्र शमशेरले मलाई ०१५।१०।३ मा वादीलाई दिने रूपैयाँ चुक्ति भइसकेको छ भनी लेखी दिएको पत्रबाट स्पष्ट हुन्छ वादी दावी झुठ्ठा हो भन्ने प्रतिवादी ।

      ४.    ११।८।७ को लिखतमा ब्याज दिने लिने भई लिनु दिनु भएको लेखिएको नभई मुनाफा लिने उल्लिखित वाक्यले व्यापार गर्न दिए लिएको प्रष्ट छ लिखत भएको मिति र भाखापत्र भएको मितिले २ बर्ष भित्र पुरानो मुलूकी ऐन साहु आसामीको ३८ नं. बमोजिम नालेस गर्नु पर्ने, म्याद नाघी आएको हुनाले फिराद खारेज हुने ठहर्छ भन्ने का.जि.अ.को ०२३।६।६ को फैसला ।

      ५.    सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ६.    साहु आसामीको ३८ नं.अनुसार म्याद नाघेको भनी शुरुले खारेज गरेको मनासिव देखिएन लिखत गरी दिएको कुरा प्रतिवादीले स्वीकार गरेको र वादीको ज्वाँई देवेन्द्र शमशेरलाई बुझाई सकेको भन्ने प्रतिवादीको जिकिर भए पनि लिखत व्यहोराबाट देवेन्द्र शमशेरको भनाई बमोजिम लिखत भएको भन्ने नदेखिएको वादीको कारोवारमा वादीको मञ्जूरी बेगर वादीलाई बुझाएको भन्ने कुरा कायम गर्न न्यायोचित नपर्नेसमेत हुँदा सावाँ र १० बर्षको ब्याजसमेत रू.५३७६। वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने बा.अञ्चल अदालतको ०२५।१०।११ को फैसला ।

      ७.    सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

      ८.    वादीको ज्वाँई भनेको देवेन्द्र शमशेरले अदालतबाट जारी भएको म्याद गुजारेको देखिन्छ ०११।८।७ को लिखतमा प्रतापबहादुर जोशी आगे रौद्र शमशेर थापासँग फिल्म छुटाउन रू.१६८०। सापटी लिएको साँचो हो सो फिल्म विश्वज्योतिमा चलाउने छु सो रूपैयाँ असूल नभएसम्म हाम्रो शेयर वापत पाउने रूपैयाँबाट कटाई लिनु केही गरी फिल्मको आम्दानीबाट रूपैयाँ असूल उपर हुन नसकेमा सो बाँकी रहन आएको रूपैयाँ चुक्ता गरीमात्र फिल्म फिर्ता लिने छु सो रकम भन्दा बढी आम्दानी भएमा नाफाको सयकडा ५० समेत दिने गरी मञ्जुरीनामाको कागज लेखी रौद्र शमशेरलाई दिएँ भन्ने उल्लेख भएको १२।६।१४ को भाखापत्रको कागज भनेको लिखतमा तमसुक लेखी कर्जा लिएको भारतीय नोट रू.१६८०। समला र लिखतको मितिदेखि ऐन बमोजिमको ब्याजसमेत १ महिना भित्र बुझाउने छु भनी लेखी दिएको देखिन्छ, सो लिखितका लिखतहरूबाट ०११।८।७ गते व्यवहार गर्दा फिल्म छुटाउन वापत वादीले रूपैयाँ दिएको र सो फिल्म देखाउँदा भएको मुनाफा सयकडा ५० वादीले लिने र फिल्म छुटाउन वापत गएको आफ्नो रूपैयाँ असूल नभएसम्म सो फिल्म वादीकै कब्जामा रहने कुरासमेत उल्लेख भएको हुनाले वादी आफूसमेत सम्मिलित भएको व्यापारमा प्रतिवादी मार्फत रूपैयाँ लगाएको भन्ने देखिन आउँछ त्यस्ता व्यवहारलाई कर्जा लिनु दिनु गरी तमसुक लेखी लिए दिएको भन्न मिल्दैन १२।६।१४ को भाकापत्रले अघिल्लो लिखत बदर गरी हरहिसावबाट ठहरिएको रूपैयाँको अर्को कपाली तमसुक भए गरेको भन्ने नभई रूपैयाँ १ महिना भित्र बुझाउन भन्ने अब धितो दिएको भाखापत्रसम्म देखिएको हुनाले यस्तो कारोवारमा तत्कालिन साहु आसामीको ३८ नं.को हदम्याद २ बर्ष भित्र दावी गर्नु पर्ने हुन आउँछ सो हदम्याद नघाई वादीले फिराद गरेको हुनाले खारेज गर्ने गरेको शुरु का.जि.अ.को मनासिव छ बा.अं.अ.को फैसला मिलेको देखिएन भन्ने ०२८।४।२७।५ को डिभिजन बेञ्चको  फैसला ।

      ९.    यस बेञ्च समक्ष निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले लिखतमा व्यापारमा सजिया हिस्सेदार भई काम गर्न रूपियाँ लिए दिएको उल्लेख नभई फिल्म छुटाउन सापटी दिए लिएको भन्ने उल्लेख छ कर्जा लिनु दिनु भएको कुरा १२।६।१४ को भाकापत्रले अरू प्रष्ट गर्छ रूपियाँ कसरी असूल गर्ने भन्ने सम्बन्धमा लेखिएको शर्तहरूको कुरालाई लिई व्यापार सम्बन्धी कारोवार भन्न मिल्दैन यस्तोमा साहु आसामीको ३७ नं.को २ बर्षको हदम्याद लाग्ने होइन म्यादभित्रकै नालेस हुँदा दावीबमोजिम सावाँ ब्याज भरी पाउनु पर्छ भन्नेसमेत र प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको विश्वज्योति सिनेमा हलमा फिल्म चलाई हाम्रो सेयर वापत पाउने रूपैयाँबाट सो रूपैयाँ कटाई लिनु भन्ने र सो रकम भन्दा बढी आम्दानी भएमा नाफाको सयकडा ५० समेत दिने लिनेसमेत शर्त राखी रूपैयाँ लिए दिएको यस्तो व्यवहारलाई साहु आसामी बनी रूपैयाँ कर्जा दिए लिएको भन्न मिल्दैन आफूसमेतले नाफाको हिस्सा लिने गरी पूँजी हालेकोबाट व्यापार सम्बन्धी कारोवार देखिन्छ कर्जा दिए लिएको भए तमसुक हुनु र साहु आसामीको रूपमा लिखत हुनुपर्छ र त्यसरी लिखत गरी लिनु दिनु गरेकोमा रूपैयाँले दिने फाइदा आसामीको ब्याज साहुको हुन्छ साहु आसामी बनी कर्जा लिनु दिनु गरेको व्यवहारमा जस्तै तमसुक गरी रूपैयाँ लिए दिएको नभई मञ्जुरनामा लिखत भएको छ र मुनाफाको हिस्सासमेत लिने शर्त रहेको छ भने कसरी कर्जा दिए लिएको मान्न सकिन्छ हदम्याद सम्बन्धमा नयाँ मुलूकी ऐन लागू भई सकेपछि नालेस दायर भएकोमा लेनदेन व्यवहारको २ नं.को पनि विचार गर्नु पर्छ त्यसमा लेखिएबमोजिम तमसुक भएकोसमेत नहुनाले तत्कालिन साहु आसामीको ३८ हालको लेनदेन व्यवहारको ४० नं. बमोजिम २ बर्षकै हदम्याद लाग्ने प्रस्टै छ हदम्याद नाघेको भनी डि.बे.ले खारेज गरेको कायम हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

      १०.    यस्मा वादीले प्रतिवादीबाट भराई पाउँ भनी दावी लिएको रूपैयाँ कर्जा लिनु दिनु गरेको या व्यापार सम्बन्धी कारोवारको के हो र कुन ऐनको हदम्याद लाग्ने हो वादीको नालेस ऐनको हदम्याद भित्र परेको छ छैन यी प्रश्नहरूको मूख्य निर्णय दिनुपर्ने हुन आएको छ ।

      ११.    सर्वप्रथम लिखत के कस्तो रहेछ भन्ने तर्फ हेर्दा २०११।८।७।२ को मूल लिखतमा अपि«mका र विवीको फिल्म छुटाउनलाई आजको मितिमा देसि नोट रू.१६८०। सापटी लिएको साँचो हो सो फिल्म विश्वज्योतिमा चलाउनेछु सो रूपैयाँ असूल नभएसम्म हाम्रो सेयरबाट पाउने रूपैयाँबाट कटाई लिनु, केही गरी सापटी रूपैयाँ फिल्मको आम्दानीबाट असूल उपर हुन नसकेमा सो फिल्म फिर्ता लिन बाँकी रहन आएको रूपैयाँ चुक्ता गरी बुझाईमात्र फिल्म फिर्ता लिने छु केही गरी माथि लेखिएको रकम भन्दा बढी आम्दानी भई नाफा हुन आएमा सयकडा ५० को दरले नाफासमेत दिने गरी यो मञ्जुरीनामाको कागज लेखी दिएँ भन्ने र ०१२।६।१४।६ को भाकापत्र भनेको कागजमा मैले तमसुक लेखी कर्जा लिएको नगदी कम्पनी भारतीय नोट रू.१६८०। को सावाँ व्याजमा मलाई पक्राउ गर्दा मेरो चित्त बुझ्यो सो मैले लिएको रूपैयाँको सावाँ र लिखतका मिति देखिको ऐन बमोजिमको ब्याजसमेत हरहिसाव गरी ठहरेबमोजिमको सावाँ ब्याज आजका एक महिना भित्रैमा पटक पटक बुझाउँदै रही एक महिना पुग्ना साथ बेमाख गर्ने छु भन्नेसमेत लेखिएको पाइन्छ ।

      १२.   २०११।८।७ गते रूपैयाँ लिनु दिनु गर्दा फिल्म छुटाउँन वापत वादीले रूपैयाँ दिएको र फिल्म देखाउँदा भएको मुनाफामा सयकडा ५० वादीले लिने र फिल्म छुटाउँदा वापत गए आफ्नो रूपैयाँ असूल नभएसम्म सो फिल्म वादीकै कब्जामा रहने कुरासमेत उल्लेख भएकोले वादी आफूसमेत सम्मिलित भएको व्यापारमा प्रतिवादी मार्फत रूपैयाँ लगाएको भनी २०२८।४।२७।५ को डिभिजन बेञ्चले व्यापार सम्बन्धी कारोवार ठहराएको रहेछ, २०११।८।७ को लिखितमा उपरोक्त उल्लेख भए बमोजिम जे जति कुरा उल्लेख भएको कुरा छ त्यो एउटा रूपैयाँ बुझाउने र रूपैयाँको मुनाफा दिने सम्बन्धी शर्तको कुरासम्म हो वास्तवमा कर्जा लिनु दिनु गरेको वा आफूसमेत सम्मिलित भएको व्यापारमा रूपैयाँ हालेको के हो भनी छुट्याउनालाई लिखतमा रूपैयाँ लिनु दिनुको कारण र व्यहोरा के लेखिएको छ सो नै मुख्य रूपले हेर्नु पर्ने हुन्छ उक्त ०११।८।७।२ को लिखतमा आफूसमेत सम्मिलित भएको व्यापारमा रूपैयाँ हालेको भन्ने कारण र व्यहोरा लेखिएको नभई फिल्म छुटाउनालाई सापटी लिएको भन्ने प्रस्ट उल्लेख भए गरेको र स्वयं प्रतिवादीले नै गरी दिएको ०१२।१४।६ को भाकापत्रले कर्जा लिएको भन्ने कुरा नै समर्थन गरिराखेको देखिन आएकोसमेत हुँदा यस्तो लिखत भई सापटी लिएको भन्ने व्यहोरा परिराखेको व्यवहारलाई रूपैयाँ बुझाउने र रूपैयाँको मुनाफा दिने सम्बन्धी शर्तमा लेखिएकोसम्म कुराले व्यापार सम्बन्धी कारोवारमा लगाएको भन्न मिल्ने देखिँदैन । फौ.फु.नं.५७ वादी गोविन्दमान प्रधान विरूद्ध महेन्द्र विक्रम शाहाको लेनदेन जालसाजी मुद्दामा ०२१।१२।१०।३ को फुल बेञ्चबाट निर्णय हुँदा साहु आसामीको १ नं. बमोजिम तमसुक खाता बहीसमेतको लिखतपत्र गरी साहु आसामी बनी सापटी लिनु दिनु गरेकोलाई कर्जा लेनदेनको व्यवहार मान्नु पर्ने भन्ने व्याख्या भइराखेको पनि छ ।

      १३.   साहु आसामी बनी कर्जा लिनु दिनु गरेको व्यवहारमा जस्तै तमसुक गरी रूपैयाँ लिए दिएको नभई मञ्जुरनामा लिखत गरी रूपैयाँ दिएको यस्तो व्यवहारलाई कर्जा दिए लिएको मान्न नमिल्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा तर्क उठाउनु भएको हकमा नयाँ मुलूकी ऐन लेनदेन व्यवहारको २ नं.मा तमसुक भन्नेसम्म उल्लेख भए पनि यो नयाँ मुलूकी ऐन लागू हुनु भन्दा अगाडिको व्यवहार भएको र तत्काल प्रचलित साहू आसामीको २ नं.मा तमसुक लिखतपत्र भन्ने उल्लेख भएकोले लिखतको तमसुक नामाकरण नगरी अरू नै नाम राखेको भए पनि वास्तवमा सापटी लिनु दिनु गरेको व्यहोरा पारी लिखत भए गरेको छ भने त्यसतालाई कर्जा लिनु दिनु गरेको नै मान्नु मर्ने र वादी दावीको ०११।८।७ को लिखतमा सापटी भन्ने बोली परी राखेकोसमेत हुँदा विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरमा सहमत हुन मिलेन ।

      १४.   हदम्यादको सम्बन्धमा तत्काल प्रचलित लेनदेन व्यवहारको २ नं.या ३८ नं.कुन ऐनको हदम्याद लाग्ने हो भन्ने कुरा विवादास्पद भएकोले त्यसतर्फ हेर्दा तत्काल प्रचलित साहू आसामीको १ नं.मा कर्जा लेनदेन गर्दा ऐनको रीत पुर्‍याई तमसुक खाता बहीसमेतको लिखतपत्र केही नगरी नगर्नु भन्ने र ऐ.२ नं.मा तमसुक लिखतपत्र भएका मितिले १० बर्षसम्म केही ब्याज असूल पनि नभएको भाका पत्रको कागज पनि नगराएको भराई माग्नालाई नालेस पनि नदिई त्यसै बसेको रहेछ भने त्यो आसामीको मोलाहिजामा रहेको ठहर्छ तमसुक लिखतपत्र भए पनि त्यस्तोमा म्याद नाघेपछि नालिस सुनिने छैन १० बर्षको बीचमा भाखापत्रको कागज गराएको वा ब्याज खाएको रहेछ भने सो मितिले फेरि १० बर्षको म्याद पाउँछ भन्नेसमेत उल्लेख भएको र ऐ.३८ नं.मा अरू भए गरेको २ बर्ष भित्र नालेस दिए लाग्छ म्याद नाघेपछि नसुन्नु भन्ने उल्लेख भएको पाइन्छ, उक्त साहु आसामीको २ नं.भित्र नपर्ने अरू किसिमको व्यवहार भए त्यस्तोमा ऐ.३८ नं.को २ बर्षको हदम्याद लाग्ने हो लिखतपत्र गरी रूपैयाँ सापटी लिए दिएको भराई पाउँ भन्ने दावीको यो व्यवहार उक्त साहु आसामीको २ नं.भित्रै पर्न आउने हुनाले यस्मा ऐ.३८ नं.को हदम्याद लाग्ने प्रश्न आउँदैन साहु आसामीको २ नं.कै हदम्याद लाग्ने प्रष्ट छ २०१२।६।१४।६ मा भाकापत्र भएको मितिले उक्त साहु आसामीको २ नं.को म्याद १० बर्ष भित्रै ०२२।४।१०।१ मा वादीको नालेस दर्ता भएकोले वादीको नालेस ऐनको हदम्यादभित्रै परेको देखिन्छ ।

      १५.   वादीले पाउने सबै रूपैयाँ वादीको ज्वाँई देवेन्द्र शमशेरले वादीलाई बुझाई सकेको भई तिर्न बाँकी नरहेको भन्ने प्रतिवादीको मुख्य जिकिर भएको र अदालतले निज देवेन्द्र शमशेरलाई म्याद पठाउँदा हाजिर नभएको भए पनि वादीको ज्वाँई देवेन्द्र शमशेरले सो रूपैयाँ वादीलाई बुझाई सकेको लिखत र सबूद प्रतिवादीले कुनै दिन नसकेको र यता लिखत खडै रहेकोले लिखित सबूदको अभावमा प्रतिवादीको उपरोक्त भनाई कानूनसंगत मान्न मिलेन ।

      १६.    अब वादीले के कति रूपैयाँ भरी पाउने हो भन्ने तर्फ २०११।८।७ को मूल लिखतमा ब्याज तिर्ने शर्त नरहेकोले तत्काल प्रचलित साहु आसामीको ५ हालको लेनदेन व्यवहारको ६ नं.अनुसार ब्याज नपाउने हो कि भन्ने शंका उठ्न सक्छ तर सो पछि ०१२।६।१४।६ मा प्रतिवादीले गरिदिएको भाकापत्रको लिखतमा लिखत भएको मिति देखिको ऐन बमोजिमको व्याजसमेत हरहिसाव गरी बुझाउन मञ्जूर गरेको देखिएकोले लिखतमा ब्याज तिर्ने शर्त नलेखिएको भन्न नमिल्ने हुँदा त्यसतर्फ अरू शंका गरिरहनु परेन ।

      १७.   तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट वा दावी बमोजिम सावाँ भा.रू.१६८०। त्यसको सयकडा १० ले हुने १० बर्षको ब्याज भा.रु. १६८०। को ने.रू.५३७६। वादीले प्रतिवादीबाट भरिपाउने ठहराई ०२५।१०।११।६ मा बागमती अञ्चल अदालतले छिनेको इन्साफ मनासिव ठहर्छ, व्यापार सम्बन्धी कारोवार भनी साहु आसामीको ३८ नं.को हदम्याद नाघेको ठहराई वादी खारेज गर्ने गरेको शुरु का.जि.अ.को सदर गरी ०२८।४।२७।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

वादी रौद्र शमशेर थापा क्षेत्री के बागमती अञ्चल अदालतको ०२५।१०।११।६ को फैसला ०२५।१०।२४।५ को लगतले प्रतिवादी प्रतापबहादुर जोशीबाट भराई दिने गरेको सावाँ ब्याज रू.५३७६। कोर्टफी र अरू दस्तुर गरी रू.दस्तुर गरी रू.२३५।७३ समेत जम्मा रू.५६११।७३ डिभिजन बेञ्चको ०२८।४।२७।५ को फैसलाले भराउनु नपर्ने लगत काटी दिने गरेकोमा सो अनुसार गर्नु पर्दैन वा.अं.अ.को फैसलाबमोजिम लगत कायमै राख्नु भनी का.जि.अ.तहसिल फाँटमा लगत दिनु……………………१

प्रतिवादी प्रतापबहादुर जोशी के निजले ०२५।१३।२९ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.३५।३६ डिभिजन बेञ्चको ०२८।४।२७।५ को फैसलाले फिर्ता दिने गरेको लगत काटी दिनु भनी ऐ………………..२

वादी रौद्र शमशेर थापा क्षेत्री के निजले राखेको देहाय बमोजिम कोर्टफी प्रतिवादी प्रतापबहादुर जोशीबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५(११) बमोजिम ३ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ……………….३

शुरु उपर पुनरावेदन गर्दा ०२३।१२।२५।६ मा का.श्रे.अ.त.मा बुझाएको रू.३५।२६ मुद्दा दोहर्‍याउँदा २०२९।४।१७।३ मा सर्वोच्च अदालतमा ऐ.२३।४३

डिभिजन बेञ्चको ०२८।४।२७।५ को फैसलाले तत्कालिन बागमती अञ्चल अदलतका न्यायाधीश घनानाथ उपाध्यायको इन्साफ उल्टीको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु………….४

नियमबमोजिम मिसिल बुझाई दिनु……………..५

 

न्या. वासुदेव शर्मा

न्या. चन्द्रप्रसाद प्रधान

 

हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०३० साल आषाढ १९ गते रोज ३ शुभम् ।