November 3, 1972
Created by nepalarchives

निर्णय नं. ७३८ – बाली भराई जग्गा निष्कासन गरिपाउँ

निर्णय नं. ७३८     ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७...

निर्णय नं. ७३८     ने.का.प. २०३०

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री झपटसिंह रावल

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

सम्वत् २०२७ सालको देवानी फु.नं. १४०

फैसला भएको मिति  : २०२९।७।१८।६

निवेदक : भ.पु.तेखाछे टोल बस्ने भक्तबहादुर भोले

विरूद्ध

विपक्षी : ऐ.तोमडी टोल बस्ने बद्री किजु

मुद्दा : बाली भराई जग्गा निष्कासन गरिपाउँ

(१)   जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने ।

      अब मोही निष्कासन हुने नहुने के हो भन्ने हकमा वादीले आफूले पाउने जतिमात्र दावी गरेको भए ऐनले तोके बमोजिम बाली नबुझाई बाँकी राखेमा मोहीलाई निष्कासन गर्न सकिने अवस्था आउने हो यस्मा त्यस किसिम वादीले आफूले पाउने जतिमात्र दावी गरेको नभई गहुँ बाली नपाउने भनी गहुँ बालीको बिगो दावी गरेको ठहराएको शुरु इन्साफ वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेकोसमेत बाट जग्गाधनी बनी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएको रहेछ भन्ने देखिन आएको छ । यस किसिम वादी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएकोमा मोहीको मात्र दोष हो भन्न नमिल्ने हुँदा यस्तो अवस्थामा मोहीलाई निष्कासन गर्नु न्यायसंगत हुँदैन जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने माथिको प्रकरणमा उल्लेख गरिएको दे.फु.नं.७९ कै मुद्दामा ०२६।६।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेकोसमेत हुँदा प्रतिवादीलाई जग्गाबाट निष्कासन गर्न मिल्ने देखिएन ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त

विपक्ष तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

उल्लिखित मुद्दा : ( दे.फु.नं. ७९, चिदिमैया विरूद्ध धनकुमारी, बाली निष्कासन)

फैसला

     न्या. धनेन्द्रबहादुर सिंह

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहोर्‍याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : मेरो नाममा भ.पु.मालमा दर्ता भएको वुपिंलाल मौजाको नं.४८७ को खेत रोपनी १।। को फ.चा.१।१७ गहुँ ।८।२ का दरले बुझाउने २००२।२।१६।२ मा कबुलियत गरी विपक्षीले कमाई आएको हाल नापीमा सिपाडोल पञ्चायत वार्ड नं.८ ख.मौजाको कि.नं.५२२ अवल रोपनी २ कायम भएको सो जग्गाको २२ सालको बाली नबुझाएकोले हाल ठहर रोपनी २ को भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ (क) अनुसार रोपनी १ को धान १।३ ले धान २।६ र गहुँ ।८।२ को बिगो रू.२२१।१२ भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्नेसमेत वादी ।

      ३.    रोपनि १।। को किसिम बमोजिम २२ सालको बाली वादीले नबुझेकोले नगदी रू.८५।७१ भ.पु.न.पं. मा म्यादभित्रै धरौट राखेको छु कानूनमा उल्लेख नभएको गहुँ बालीसमेतको दावी गरी वादीले फरेवी उजूर गरेको हो भन्नेसमेत प्रतिवादी ।

      ४.    प्रतिवादीले रोपनी १।। को मात्र बाली धरौट राखेको रहेछ हाल नापीको फिल्डबूकबाट जग्गा रोपनीको २ नं.देखिएकोले प्रतिवादीले सयकडा १० भन्दा घटी हुने गरी बाली धरौट राखेको सो अपुरो बाली वादीले बुझी लिन कर लागेन भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ अन्तर्गत वादीले प्रतिवादीबाट ०२२ सालको रोपनी २ को अवल किसिमबमोजिम धान बालीको रू.१८४। मात्र वादीले भरी पाउने र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ (क) अन्तर्गत जोताहाबाट निष्कासन गरी दिने ठहर्छ भन्ने भूमिसुधार विशेष अदालत ललितपुर भक्तपुरको ०२३।११।२८।१ को फैसला ।

      ५.    सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा ०२६।१२।१३।५ को डिभिजन बेञ्चबाट निर्णय हुँदा प्रतिवादीले साविक लगतबमोजिम रोपनी १।। को मात्र बाली बुझाउन पाउँछ भन्न नमिल्ने धरौट राख्दा पनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा ३ को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएबमोजिम आफूले बुझाउनु पर्ने कूतको सयकडा १० वा सो भन्दा कम हुने गरी धरौटी दाखिल गरेको देखिएकोले जग्गाबाट निष्कासन हुनेसमेत गरी भू.सु.वि.अ.ले ठहर गरेको मनासिव छ भन्ने ठहर भएको ।

      ६.    यस्मा साविक रोपनी १।। मात्रको यो हालको नापी बमोजिम रोपनी २ कै बाली भरी पाउने नपाउने के हो, निवेदक प्रतिवादी मोहीबाट निष्कासन हुने हो होइन, सो कुराको यस बेञ्चबाट निर्णय दिनुपर्ने हुन आएको छ ।

      ७.    निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले किसिमबमोजिम ठेकिएको कूत बुझाउने सम्बन्धमा भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ ले थप गरेको दफा ३३ को स्पष्टीकरणमा जेसुकै लेखिएको भए तापनि उक्त ऐन लागू भएको २०२२।१२।१० भन्दा अगावैको ०२२ सालको बालीका सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ अनुसार साविक रोपनी १।। मात्रको बुझाउनु पर्ने हुँदा घटी धरौट राखेको भन्न मिल्ने अवस्था नभएको र वादीले नपाउने गहुँ बालीको बिगो बढी दावी गरेकोमा, मोही निष्कासन हुन नसक्नेसमेत हुँदा हालको नापी बमोजिम रोपनी २ को बाली बिगो भराई मोही निष्कासन गर्ने गरेको डिभिजनको इन्साफ मिलेको छैन बदर हुनुपर्छ भन्नेसमेत र वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन लागू भइसकेपछि ०२२।१२।३० मा मात्र प्रतिवादीले धरौट राखेको हुँदा दफा ३३ को थप स्पष्टीकरण लागू नहुने अवस्था छैन हालको सर्भे नापी भई सकेपछि हालको नापी बमोजिम रोपनी २ कै वादीले धरौटी राख्नु पर्नेमा साविक रोपनी १।। मात्रको बुझाउनु पर्ने भन्ने जिकिर मनासिव छैन कानूनले गहुँ बालीसमेत पाउने हुँदा गहुँ बालीको बिगो बढी दावी गरेको भन्न मिल्दैन कानूनबमोजिम बाली नबुझाएकोमा मोही निष्कासन हुने नै हुँदा डिभिजन बेञ्चको इन्साफ कायम रहनु पर्छ भन्नेसमेत बहस गर्नुभयो ।

      ८.    गहुँ बालीसमेत भराई पाउँ भन्ने वादीको दावी भएकोमा गहुँ बाली भरी नपाउने ठहराएको शुरु भूमिसुधार विशेष अदालतको फैसला उपर वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेकोले त्यसतर्फ डिभिजन बेञ्चले केही नबोली शुरु इन्साफ कायमै रहेकोसमेत हुँदा त्यसमा यस बेञ्चबाट पनि विचार गरिरहनु परेन ।

      ९.    धान बालीको हकमा वादीले रोपनी १।। मात्रको या हालको नापीबमोजिम रोपनी २ कै पाउने नपाउने के हो भन्ने सम्बन्धमा हेर्दा २२।१२।१० देखि लागू भएको भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ ले थप गरेको दफा ३३ को स्पष्टीकरणमा यो दफाको तात्पर्यको लागि जग्गाको किसिमको आधारमा लिनु दिनु पर्ने कूत यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमअनुसार दिइने मोहियानी हकको प्रमाणपत्र वा जोताहाको अस्थायी निस्सामा लेखिएबमोजिम हुनेछ लेनदेन भइसकेकोमा बाहेक त्यस्तो कूत मूल ऐन प्रारम्भ भएकै मितिदेखि दिने लिने गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ प्रतिवादीले उक्त ऐन लागू भइसकेपछि २२।१२।३० मा मात्र बाली धरौट राखेको र सो धरौट राख्नु भन्दा अगावै २२।१०।९।७ मा जग्गाधनी बद्री काँजु मोही भक्तबहादुर मैले लेखी खडा भएको हालको नापीको फिल्डबूकमा रोपनी २ लेखिएकोसमेत देखियो, हालको सर्भे नापी भइसकेपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ को खण्ड (क) मा उल्लेख भएको किसिमबमोजिम दरले उक्त दफा ३३ को थप स्पष्टीकरणसमेत बमोजिम हाल नापीको ठहर रोपनी २ कै बाली प्रतिवादीले बुझाउनु पर्ने हो दे.फु.नं. ७९ वादी चिनिमैयाँ विरूद्ध धनकुमारीको बाली निष्कासन मुद्दामा पनि २२ सालकै बालीको दावी भएकोमा ०२६।६।१४।३ को फुल बेञ्चबाट निर्णय हुँदा हालको सर्भे नापी भइसकेपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ को प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) मा उल्लेख भएबमोजिम दरले हालको नापीबाट कायम भएको नाप ठहरबमोजिम जग्गाकै बाली भरी पाउने ठहर भइराखेको पनि छ त्यसकारण साविक रोपनी १।। मात्रको बाली बुझाउनु पर्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसँग सहमत हुन मिलेन ।

      १०.    अब मोही निष्कासन हुने नहुने के हो भन्ने हकमा वादीले आफूले पाउने जतिमात्र दावी गरेको भए ऐनले तोके बमोजिम बाली नबुझाई बाँकी राखेमा मोहीलाई निष्कासन गर्न सकिने अवस्था आउने हो यस्मा त्यस किसिम वादीले आफूले पाउने जतिमात्र दावी गरेको नभई गहुँ बाली नपाउने भनी गहुँ बालीको बिगो दावी गरेको ठहराएको शुरु इन्साफ वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेकोसमेत बाट जग्गाधनी बनी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएको रहेछ भन्ने देखिन आएको छ । यस किसिम वादी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएकोमा मोहीको मात्र दोष हो भन्न नमिल्ने हुँदा यस्तो अवस्थामा मोहीलाई निष्कासन गर्नु न्यायसंगत हुँदैन जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने माथिको प्रकरणमा उल्लेख गरिएको दे.फु.नं.७९ कै मुद्दामा ०२६।६।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेकोसमेत हुँदा प्रतिवादीलाई जग्गाबाट निष्कासन गर्न मिल्ने देखिएन ।

      ११.    तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट बालीको हकमा हालको नापी बमोजिम रोपनी २ कै भराउने गरेतर्फ ०२६।५।१३।५ को डिभिजन बेञ्चको मनासिव प्रतिवादीलाई मोहीबाट निष्कासन नहुनेसमेत ठहर्छ । प्रतिवादीलाई मोहीबाट निष्कासन गर्ने ठहराएकोसम्म २६।५।१३।५ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, डिभिजन बेञ्चको फैसलामा केही परिवर्तन भएकोले मुद्दा दोहर्‍याएमा निवेदक प्रतिवादीलाई केही गर्नु पर्दैन नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

न्या. झपटसिंह रावल,

न्या. चन्द्रप्रसाद प्रधान

 

हामीहरूको सहमती छ ।

 

 

इति सम्वत् २०२९ साल कार्तिक १८ गते रोज ६ शुभम् ।