March 23, 1973
Created by nepalarchives

निर्णय नं. ७३७ – पास बेगर किलास गारो बनायो भन्ने

निर्णय नं. ७३७     ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८...

निर्णय नं. ७३७     ने.का.प. २०३०

फुल बेञ्च

माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०२८ सालको देवानी फुल नम्बर १५३

फैसला भएको मिति : २०२९।१२।१०।६

निवेदक : का.जि.लगन टोल बस्ने लक्ष्मीदेवी राजभण्डारी

विरूद्ध

विपक्षी : ऐ.बस्ने टेकबहादुर राजभण्डारी

मुद्दा : पास बेगर किलास गारो बनायो भन्ने

(१)   तेरो मेरो हकबेहकको निर्णय हुन पर्ने प्रश्न उठकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिन पर्ने ।

      यसमा प्रतिवादीले नक्सा पास नगराई बनाएको भनेको गारो वादी दावी अनुसार वादीको किलास मिची नयाँ बनाएको हो वा प्रतिवादी जिकिर अनुसार आफ्नो पुरानै गारोलाई सच्याई मर्मत गरी बनाएको के हो भन्ने मूल प्रश्न उपर विचार गर्दा वादीको घर तर्फ ४ १/२ मिची नयाँ थपी बनाएको के हो भन्ने जुन ओभरसियरको नक्सा रिमार्कको मुख्य आधारमा सो गारो भत्काई दिने का.न.पं.मुद्दा फाँट तथा का.न.पं.सभाबाट निर्णय गरिएको छ त्यसमा साविकमा के कति थियो र हाल ४ १/२ मिची नयाँ थपी गारो उठाई बनाएको कसरी निश्चित गरिएको हो त्यसको आधार र कारण केही नखुलेकोले ओभरसियरको त्यस्तो किसिमको नक्सा रिमार्कसम्मलाई भर लिई त्यतिकैबाट हालै नयाँ थपी बनाएको भन्ने ठहर गर्न मिल्ने देखिएन मुख्य मेरो घरको पश्चिमपट्टिको किलासमा जबरजस्ती गारो उठाई लगेकाले सो भत्काई मेरो किलास कायम गरिपाउँ भन्ने वादी, फ्नै पुरानोमा सच्याई साविकै बमोजिम बेगल कौशी तलाको मात्र टालटुल गरी बनाएको हुँ अघि मुद्दा परी फैसला हुँदा पश्चिमपट्टि वादीको किलासै नठहरकोले वादीको किलास मिची गारो उठाएको होइन भन्ने प्रतिवादी भई सो गारो तेरो मेरो हकबेहकको निर्णय हुन पर्ने प्रश्न उठेको यस्तोमा नगर पञ्चयात ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिनपर्ने र सो गारो उठाउँदा वादीको किलास मिचे नमिचेको उसै मुद्दाबाट तहकिकात भई ठहरे बमोजिम हुनेसमेत हुँदा अदालतमा नालेस दिई हकबेहक छुट्याई लिनु भनी सुनाई दिने गरेकोसमेत बागमती अञ्चल अदालतको सदर गरी ०२८।५।३।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेको हुँदा निवेदक वादीलाई मुद्दा दोहर्‍याएमा अरू सजाय गर्न परेन, नियमबमोजिम मिसिल बुझाइदिनू ।

(प्र.नं. १२)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार वर्मा

फैसला

     न्या.  रङ्गनाथ उप्रेती

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनू भन्ने हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ ।

      २.    मुद्दाको विवरण यसप्रकार छ : मेरो घर पश्चिमपट्टिको मेरो किलासमा सँधियार टेकबहादुरले जबरजस्ती गारो उठाई लगेको हुँदा सो उठाई लगेको गारो भत्काई साविक बमोजिम कायम गराई पाउँ सो बनाउँदा नक्सा पास पनि गरेको छैन भन्नेसमेत लक्ष्मीदेवीको वादी ।

      ३.    वादी दावाको किलास का.दे.इ.अ.को ०१६।३।१९ को र ०१९।२।१२।६ का फैसला बमोजिम वादीका घरको पश्चिमपट्टिको जमीन तलादेखि माथि कौसी बुइँगल तलासम्मको गारो वादी लक्ष्मीदेवीको नठहरी मेरो हक भोगको ठहराई फैसला भएको हुँदा उक्त गारो मेरै हक भोगको हो पुरानो गारो सच्याई साविकै बमोजिम बुइँगल कौसी तल्लाको मात्र टालटुल गरी बनाएकोसम्म हुँ वादी दावी झुठ्ठा हो भन्नेसमेत टेकबादुरको प्रतिवादी ।

      ४.    ओभरसियरका नक्सा रिमार्कमा लेखिएबमोजिमको किलास गारो नक्सा पास बेगर बनाएको देखिएको हुनाले सो बनाएको ४ १/३ मोटाई ४ १/३ देखि ३ फुटसम्म उचाई १७।५ फुट लम्बाइको गाह्रो ३५ दिनभित्र भत्काउनु भनी प्रतिवादीलाई सुनाई दिने उक्त म्यादभित्र भत्काई का.न.पं.स्यानीटेसनलाई जनाउ दिने भन्ने का.न.पं.मुद्दा फाँटबाट फैसला भएको ।

      ५.    उक्त फैसलामा चित्त बुझेन भन्ने प्र.टेकबहादुरको का.न.पं.सभामा परेको पुनरावेदन ।

      ६.    ओभरसियरको नक्सा रिमार्कको नाप बमोजिम शुरु मुद्दा फाँटका फैसलामा लेखिएको बुँदा प्रमाणबाट समेत गारो भत्काई दिने गरेको इन्साफ शुरु मुद्दा फाँटको मनासिव ठहर्छ भन्ने का.न.पं.सभाको ०२४।५।१३।३ को फैसला ।

      ७.    सो उपर चित्त बुझेन भन्ने टेकबहादुरको बागमती अञ्चल अदालतमा परेको पुरनरावेदन ।

      ८.    लक्ष्मीदेवीको दावाको किलास गाह्रोमा तेरो मेरो पर्न आएको देखिन्छ । तेरो मेरो परी हकबेहक छुट्याउन पर्ने देखिन आएमा नगरपञ्चायत ऐन, (संशोधन सहित) २०१९ को दफा ४९ को उपदफा २ अनुसार अदालतबाट हकबेहक छुट्याई आएपछि कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनूपर्नेमा सो नगरी गारो भत्काउनु भनी प्रतिवादीलाई सुनाई दिने भनी का.न.पं.ले निर्णय गरेको मिलेको देखिएन ऐन बमोजिम अदालतमा नालेस दिई हकबेहक छुट्याई लिनु भनी सुनाई दिने र प्रतिवादीले नक्सा पास नगरी बनाएको भनेको गाह्रो तर्फमा पनि नगरपञ्चायत ऐन, २०१९ को दफा ४६ को उपदफा १ अनुसार साविकमा घटी बढी गरी बनाउन चाहेमा मात्र नक्सा पास गराउनु पर्ने साविकमा घटीबढी नगरी मर्मत गर्नालाई समेत नक्सा पास गराउनु नपर्ने देखिन आएको साविकमा घटीबढी पारी बनाएको भन्ने दर्ता भएकोसमेत नदेखिनाले त्यस्तो गारो भत्काउने आदेश दिने अधिकार नगरपञ्चायतलाई नगरपञ्चायत ऐनद्वारा दिएको नदेखिनाले नगरपञ्चायतबाट प्रतिवादीले बनाएको गारो भत्काउने गरी कानून विरूद्ध निर्णय गरेकोसमेत देखिनाले नगरपञ्चायतबाट भएको निर्णय बदर हुने ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको ०२६।९।७।२ को फैसला ।

      ९.    सो उपर चित्त बुझेन भन्ने वादी लक्ष्मीदेवीको पुनरावेदन ।

      १०.    गारो कसको हो नयाँ गारो उठाएको वा पुरानो गारो मर्मत गरेको के हो भत्काई दिनुपर्ने हो होइन भन्नेसमेत निर्णय गर्नु पर्ने विषय छ । गारो नभई बुइँगल तला खुला हुन नपर्ने हुँदा नयाँ गारो भन्ने ओभरसियरको प्रतिवेदन तथ्य देखिएन नयाँ गारो उठाएको भन्ने सबूद छैन पुरानो गारो मर्मत गरेको सिद्ध हुन्छ नगरपञ्चायत ऐन, २०१९ को दफा ४६ (१) ले पुरानो गारो मर्मत गर्नालाई नक्सा पास गर्नु पर्ने देखिँदैन वादी दावाको घर किलास गारो छिडीं देखि बुइँगलसम्मकै मेरो हो भन्ने प्रतिवादीको जिकिर भएकाले हकबेहक गर्नु पर्ने मुद्दा देखियो नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ (२) मा हकबेहक छुट्याउन अदालतमा जानु भनी सुनाउने व्यवस्था भएको दखिन्छ । नगरपञ्चायतले त्यसतर्फ निर्णय गर्ने कानूनी व्यवस्था भएको देखिएन नक्सा पास नगराई बनाएको ३५ दिनभित्र भत्काउनु भन्ने नगरपञ्चायत पुनरावेदन फाँटको फैसला बदर गरेको र मेरो गारो भन्ने वादी लक्ष्मीदेवीको दावा तर्फ ऐन बमोजिम अदालतमा नालेस दिई हकबेहक छुट्याई लिनू भनी सुनाइदिनू पर्ने ठहराएकोसमेत इन्साफ बागमती अञ्चल अदालतको मनासिव छ भन्ने ०२८।५।३।५ को डिभिजन बेञ्चको फैसला ।

      ११.    यस बेञ्चसमक्ष निवेदक वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्माले ओभरसियरको नक्सा रिमार्कसमेत बाट पुरानोलाई मर्मत गरी बनाएको मात्र नभई नयाँ थपी बनाएको भन्ने प्रष्टै देखन्छ । यस्तोमा हकबेहकमा सुनाइरहनु नपर्ने हुँदा नक्सा पाससमेत नगराई बनाएको गारो भत्काउनु भनी का.न.पं.मुद्दा फाँटले छिनेको कायमै हुनुपर्छ भन्नेसमेत र प्रतिवादीको वारेस श्री ढुण्डिनाथ उपाध्यायले अघि पटकपटक मुद्दा परी जिती राखेको यो किलास पुरानो हो भन्ने सिद्ध छ वादीको जग्गा मिची गारो उठाएको भए अदालतमा नालेस दिन जानु पर्छ । ठाडै गारे भत्काउने गरी का.न.पं.ले निर्णय दिन पाउने कानूनी अधिकार छैन डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्ने बहस गर्नुभयो ।

      १२.   यसमा प्रतिवादीले नक्सा पास नगराई बनाएको भनेको गारो वादी दावी अनुसार वादीको किलास मिची नयाँ बनाएको हो वा प्रतिवादी जिकिर अनुसार आफ्नो पुरानै गारोलाई सच्याई मर्मत गरी बनाएको के हो भन्ने मूल प्रश्न उपर विचार गर्दा वादीको घरतर्फ ४ १/२ मिची नयाँ थपी उठाई बनाएको भन्ने जुन ओभरसियरको नक्सा रिमार्कको मुख्य आधारमा सो गारो भत्काई दिने का.न.पं.मुद्दा फाँट तथा सभाबाट निर्णय गरिएको छ त्यसमा साविकमा के कति थियो र हाल ४ १/२ मिची नयाँ थपी गारो उठाई बनाएको कसरी निश्चित गरिएको हो त्यसको आधार कारण केही नखुलेकोले ओभरसियरको त्यस्तो किसिमको नक्सा रिमार्कसम्मलाई भरली त्यतिकैबाट हालै नयाँ थपी बनाएको भन्ने ठहर गर्न नमिल्ने देखिएन मुख्य मेरो घरको पश्चिमपट्टिको किलासमा जबरजस्ती गारो उठाई लगेकाले सो भत्काई मेरो किलास कायम गरिपाउँ भन्ने वादी आफ्नै पुरानोमा सच्याई साविकै बमोजिम बुइगल कौसी तलाको मात्र टालाटुल गरी बानाएको हुँ अघि मुद्दा परी फैसला हुँदा पश्चिमपट्टि वादीको किलासै नठहरेकोले वादीको किलास मिची गाह्रो उठाएको होइन भन्ने प्रतिवादी भई सो गाह्रो तेरो मेरो हकबेहकको निर्णय हुनपर्ने प्रश्न उठेको यस्तोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिनु पर्ने र सो गाह्रो उठाउँदा वादीको किलास मिचे नमिचेको उसै मुद्दाबाट तहकिकात भई ठहरे बमोजिम हुनेसमेत हुँदा अदालतमा नालेस दिई हकबेहक छुट्याई लिनु भनी सुनाई दिने गरेकासमेत बागमती अञ्चल अदालतको सदर गरी ०२८।५।३।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेको हुँदा निवेदक वादीलाई मुद्दा दोहर्‍याएमा अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाइदिनू ।

 

न्या. चन्द्रप्रसाद प्रधान

न्या. विश्वनाथ उपाध्याय

 

हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल चैत्र १० गते रोज ६ शुभम् ।