निर्णय नं. ७३५ – ठेक बाली
निर्णय नं. ७३५ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२६...
निर्णय नं. ७३५ ने.का.प. २०३०
फुल बेञ्च
माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२६ सालको दे.फु.नं. ८१
फैसला भएको मिति : २०२९।११।२३।३
निवेदक : वीरगञ्ज तेल गोदाम बस्ने सु.भुपालसिंह प्रधान
विरूद्ध
विपक्षी : जि.बारा कलैयाबजार बस्ने किर्तिमान नगरकोटी
मुद्दा : ठेक बाली
(१) ठेक्का पट्टामा लिई पाई भोग चलन गरी राखेकोमा कानूनी रीतबाट ठेक्कापट्टा तोडाउन सक्ने अथवा दुवै पक्षको मञ्जूरी भई तोडेको हुनु बेगर एक पक्षीय जग्गाधनीको आफू खुसीले जहिले पनि बदर गरी जग्गा झिक्न नसक्ने ।
उक्त ९५।११।७।७ को लिखत सद्दे ठहर्न आएको र सो लिखत बमोजिम प्रतिवादी भुपालसिंले ठेक्का पट्टामा लिई पाई भोग चलन गरी राखेकोमा बीचमा निजले ठेक्का पट्टामा लिखतको सर्त उल्लंघन गरी ठेक आयस्ता नबुझाई बाँकी राखेकोसमेत भए ठेक आयस्ता बिगो भराई ठेक्का पट्टा तोडी पाउँ भनी जग्गाधनी उपेन्द्रनाथ निलमणिले कानूनबमोजिम नालेस उजूर गरी कानूनी रीतबाट प्रतिवादी भुपाल सिंहले पाएको ठेक्का पट्टा तोडाउन सक्ने अथवा दुबै पक्षको मञ्जूरी भई ठेक्का पट्टा तोडेका हुनुबेगर प्रतिवादी भुपाल सिंहले पाएको ठेक्का पट्टाको लिखत एकपक्षीय जग्गाधनीको आफू खुसीले जहिले पनि बदर गरी जग्गा झिक्न सक्ने स्थिति नहुँदा भुपाल सिंहले पाएको उक्त ९५।१२।७।७ को ठेक्का पट्टाको लिखत कायमै रहेको मान्नुपर्ने र उक्त लिखत कायमै रहेको छँदाछँदै दोहरा पर्ने गरी बीचमा अरूलाई ठेक्का बन्दोबस्त गरी दिन नपाउनेसमेत उक्त ९५।११।७।७ को लिखतमा परेको स्थायी ठेक्का गरी थामी दिएको भन्ने बोलीले नै बन्देज गरी राखेकोसमेत हुनाले जग्गाधनी मध्येको एकजना मात्रले वादी किर्तिमानलाई ०९ साल आषाढमा अर्को लिखत गरी दिएको मान्यता दिन मिल्ने देखिँदैन ।
(प्र.नं. १३)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
फैसला
न्या. जयदेव भट्ट
१. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनू भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेस हुन आएको छ ।
२. मुद्दाको विवरण यसप्रकार छ : उपेन्द्रनाथको मधुरी वौडनपुरको जग्गा विगाहा १०१ मालतर्फको जिमिदारी नम्बरी जोत जिरायत वीरगञ्जको घरकोठी जग्गासमेतको आयस्ता बालीमा साल १ को कं.रू.३०२ बुझाउने गरी ०९ सालको बालीदेखि ०९।४।२४ मा पास गराई लिई भोग गरी आएको किर्तिमानलाई चलन दिएको बदर गरिपाउँ भन्ने भूपाल सिंहको बारा मालमा उजूर परी कारवाई भएको मुद्दामा भुपाल सिंहको हक नलाग्ने भए उपेन्द्रनाथले अमीनीमा नालेस गर्नु भनी ०१५।६।१ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएकोले भूपाल सिंहको हार भई मेरो ठेकदारी पास बहालै रहेकोमा भूपाल सिंह र रामलखन राम सुरथसमेत मिली रैती भड्काई २ कठ्ठा जग्गाको मोल कं.रू.१५ को माटा खुर्सानी खाई दिएकाले बिगो भराई मेरो ठेक्का पट्टा उपरको खिचोला छोडाई पाउँ भन्ने वादी ।
३. सो जग्गा जिमिदार उपेन्द्रनाथ निलमणिको नाउँमा बारबार दर्ता भई दुवै भाइले भुपाललाई दिई राखेको मुख्य व्यवहार गर्ने निलमणि छँदै उपेन्द्रनाथले मात्र दिन नहुने किर्तिमानलाई दिएको बदर गरिपाउँ भनी सु.भूपालले वीरगञ्ज गोश्वारामा निवेदन दिई कारवाई चलेकोमा भूपाल सिंहले पहिला पाएको निजले पाउन नसक्ने निजको हक नलाग्ने भए ३५ दिनभित्र उपेन्द्रनाथले अमीनीमा नालेस दिनू भनी रोक्का बालीसमेत म भूपाललाई फुकुवा दिने गरी डिभिजन बेञ्चबाट ०१५।६।१४।३ मा फैसला भएकोले किर्तिमानको हक नलाग्ने उपेन्द्रनाथले ठेक जिमिदारीको हकबेहकको नालेस गर्न नसकेकोले सरोकारको वादीले मैले जितें भनी झुक्याई हक नपुग्ने जग्गा जिमिदारी पक्री खुर्सानी भत्ताको बिगो दावी गरेको यो नालेस खारेज गरिपाउँ भन्नेसमेत भूपालसिंह रामलखनको प्रतिवादी, रामसुरुथले म्याद गुजारेको ।
४. पहिला पाउने भूपाल सिंहको बदर नगराई किर्तिमानलाई दिन नहुने भई तेरो मेरो भन्ने कुरा उठ्न आएको देखिएपछि अमीनीमा हकबेहक गरी आउनु भनी मालले सुनाउनु पर्नेमा जिमिदारीको हकबेहक गरी माल गोश्वाराले गरेको पर्चा फैसला बदर गरी दिएको छ भूपाल सिंहको पाउन नसक्ने निजको हक नलाग्ने जिमिदारी भए ३५ दिनभित्र उपेन्द्रनाथले अमीनीमा उजूर हकबेहक गरी लिनु भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१५।६।१४।३ मा किनारा भएको भूपाल सिंहले पाएको ९५।११।७ को लिखत कीर्ते हो भन्ने उपेन्द्रनाथको उजूर परेको सो लिखत कीर्ते नठहरी आजै फैसला भएकोले किर्तिमानको यो उजूर अ.बं.१०६ नं.ले खारेज हुने ठहर्छ भन्ने वीरगञ्ज इलाका अदालतको ०१७।१२।१५ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. उपेन्द्रनाथले भुपालसिंह उपर भूपालसिंले पाएको ठेक्का पट्टा कीर्ते भनी उजूर गरेको सो कीर्ते नठहरी फैसला भएकाले वादीको यो फिराद खारेज गर्ने गरेको इन्साफ सुरुको मनासिव ठहर्छ भन्ने वीरगञ्ज जिल्ला अदालतको फैसला ।
७. सो उपर पनि चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
८. उपेनद्रनाथले किर्तिमानसँग ०९ साल आषाढमा ठेक्का पट्टाको लिखत गरेको हो भन्ने कुरामा सावितै भएको र निलमणिले सो ठेक्कापट्टा गरेको देखिँदैन उपेन्द्रनाथले यो ठेककापट्टा गरिदिने वीरगञ्ज बजारको घर बगैंचा दिएको भनी लेखेकोमा त्यसतर्फ छुट्टै मुद्दा उठेको १३४२ नं.को मुद्दाबाट आज फैसला भएको छ, आजै फैसला भएको ८७४ नं.को ठेक कीर्ते मुद्दाबाट सद्दे ठहरिएको ९५।११।७ को लिखतले धनी र ठेकदारको बीचमा जग्गा कमाउने बहालमा बस्ने वा कामदार सरहको मात्र सम्बन्ध कायम रहने ठहर भएको हुनाले भूपालसिंहको मञ्जूरी नभए पनि उपेन्द्रनाथले आफ्नो खुस गर्न पाउने हुनाले उपेन्द्रनाथको आफ्नो हकको जतिमात्र भूपाल ंिसंहबाट ऐन बमोजिम ठेक छुटाएको मनासिव हुने हुनाले किर्तिमानलाई ऐनको रीत पुर्याई ठेकमा दिएको निजको हक भोगको किर्तिमानले भोग गर्न पाउँछ, वादी दावी नलाग्ने ठहराई जिल्ला अदालतले ठहर गरेको केही उल्टी ठहर्छ भन्ने ०२२।७।२२।१ को डिभिजन बेञ्चको फैसला ।
९. यस बेञ्चसमक्ष निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले १५ सालको डिभिजन बेञ्चको फैसला बमोजिम जग्गातर्फ उपेन्द्रनाथकै उजूर परेन ठेक कीर्ते मुद्दाबाट भूपालंिसंहको ठेक्कापट्टा कीर्ते नठहरेकोले पहिले भुपालसिंहलाई दिएको बदर नगराई किर्तिमानलाई दिएको सदर नहुने हुँदा वादीको दावी लाग्न सक्ने कुरै छैन डिभिजन बेञ्चले उपेन्द्रनाथको भागको किर्तीमानले भोग गर्न पाउने ठहराएको नमिलेकोसमेत हुँदा तत्कालिन इलाका र जिल्ला अदालतको खारेज गरेको कायम हुनुपर्छ भन्नेसमेत र वादीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले १५ सालको डिभिजन बेञ्चको फैसला बमोजिम भुपालसिंहको ठेक्का बदरतर्फ उपेन्द्रनाथको र ठेकबालीमा मेरो पक्षको उजूर परेको हो पहिले भुपालसिंलार्ई दिएको जग्गाधनीले जुनसुकै बखत पनि खोस्न सक्ने कुरालाई लिखतले बन्देज गरेको नहुँदा उपेनद्रनाथले मेरो पक्षलाई दिएको कायमै हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
१०. यसमा उपेनद्रनाथबाट वादीले पाएको भनेको ०९ साल आषाढको ठेक्कापट्टा कायम हुने नहुने के हो ? दावी बमोजिम जग्गाको बाली बिगोमा वादीको दावी लग्न सक्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने प्रश्न उपस्थित छ ।
११. यही जग्गा जिमिदारी जग्गाधनी उपेन्द्रनाथ निलमणिसमेतले मलाई ठेक्कापट्टामा लिई ९१।११।७।७ मा ठेक्कापट्टाको लिखत गरी दिएको भनी प्रतिवादी भुपालसिंले मुख्य जिकिर लिएको उक्त ९५।११।७।७ को ठेक्कापट्टाको लिखत भूपाल सिंहले कीर्ते खडा गरेको हुँदा बदर गरिपाउँ भन्ने वादी दावी लिई उपेन्द्रनाथले नालेस दिएको फौ.फु.नं.२८ को ठेक्का कीर्ते मुद्दामा पनि यो साथ पेस हुन आएकोमा उक्त लिखत कीर्ते नठहराएको डिभिजन बेञ्चको इन्साफ सदर भई आजै यस बेञ्चबाट समेत फैसला भएको र यो कुरा हो भनी जानी बुझी सहिछाप हालेपछि सो कागज तत्कालिन अदालती बन्दोबस्तको ३४ नं.ले सदर हुनेसमेत हुँदा उक्त ९५।११।७।७ को ठेक्कापट्टाको लिखत सदर कायम मान्नु पर्ने हुन आएको छ ।
१२. प्रतिवादी भूपालसिंलाई गरिदिएको उक्त ९५।११।७।७ को ठेक्कापट्टाको लिखतमा यति अवधी सम्मको लागिमात्र भन्ने उल्लेख गरी समय तोकी ठेक्कापट्टा दिएलिएको नभई ८५ साल कार्तिक सुदी १३ रोज १ को पट्टा बमोजिम तिमीलाई नै स्थायी ठेक्का गरी थामी दिएको भन्ने बोली उल्लेख भएको पाउँछौं त्यसरी जग्गाधनी र ठेक्का लिनेको बीचमा एउटा शर्त बाँधी सदाको लागि ठेक्का लिन दिन नपाउने कुनै कानूनले बन्देज लगाएको कुरा पनि होइन उपेन्द्र नाथले यो वादीलाई गरिदिएको भनेको २००९ साल आषाढको लिखतमा साविकका कारिन्दा भूपालसिंसँग माल विर्ताको नमबरी किताब स्याहा श्रेस्तासमेत लिई ८८ सालदेखि आजसम्म मेरो बिर्ता मालको आयस्ता बाली खान्गीसमेत फछ्र्यौट गरी लिई सो पनि बुझाउन ल्याउनु भुपालसिंले नदिए निजका नाउँमा नालेस उजूर गर्नु भन्ने उल्लेख भएकोबाट ९५।११।७।७ को लिखतबमोजिम प्रतिवादी भूपालसिंले भोगचलन गरिराखेको समेत प्रष्ट भएको छ ।
१३. उक्त ९५।११।७।७ को लिखत सद्दे ठहर्न आएको र सो लिखत बमोजिम प्रतिवादी भुपालसिंले ठेक्का पट्टामा लिई पाई भोग चलन गरी राखेकोमा बीचमा निजले ठेक्का पट्टामा लिखतको सर्त उल्लंघन गरी ठेक आयस्ता नबुझाई बाँकी राखेकोसमेत भए ठेक आयस्ता बिगो भराई ठेक्का पट्टा तोडी पाउँ भनी जग्गाधनी उपेन्द्रनाथ निलमणिले कानूनबमोजिम नालेस उजूर गरी कानूनी रीतबाट प्रतिवादी भुपाल सिंहले पाएको ठेक्का पट्टा तोडाउन सक्ने अथवा दुबै पक्षको मञ्जूरी भई ठेक्का पट्टा तोडेका हुनुबेगर प्रतिवादी भुपाल सिंहले पाएको ठेक्का पट्टाको लिखत एकपक्षीय जग्गाधनीको आफू खुसीले जहिले पनि बदर गरी जग्गा झिक्न सक्ने स्थिति नहुँदा भुपाल सिंहले पाएको उक्त ९५।१२।७।७ को ठेक्का पट्टाको लिखत कायमै रहेको मान्नुपर्ने र उक्त लिखत कायमै रहेको छँदाछँदै दोहरा पर्ने गरी बीचमा अरूलाई ठेक्का बन्दोबस्त गरी दिन नपाउनेसमेत उक्त ९५।११।७।७ को लिखतमा परेको स्थायी ठेक्का गरी थामी दिएको भन्ने बोलीले नै बन्देज गरी राखेकोसमेत हुनाले जग्गाधनी मध्येको एकजना मात्रले वादी किर्तिमानलाई ०९ साल आषाढमा अर्को लिखत गरी दिएको मान्यता दिन मिल्ने देखिँदैन ।
१४. तसर्थ उपरोक्त उल्लेख भए बमोजिमका कारणहरूबाट उपेनद्रनाथले वादीलाई गरिदिएको ०९ साल आषाढको लिखतलाई नै मान्यता दिन नमिल्ने भएपछि सो लिखतको आधारमा हक भएको जग्गाको बाली बिगो दिलाई पाउँ भन्ने तर्फ वादीको दावी लाग्न सक्ने कुरै भएन वादीको नालेस दावी खारेज हुने ठहराएको तत्कालिन वीरगन्ज इलाका अदालतको सदर गरी तत्कालिन वीरगन्ज जिल्ला अदालतले ०१९।३।४।२ मा छिनेको इन्साफ मनासिव ठहर्छ । उपेन्द्रनाथको आफ्नो हक जतिमात्र भूपालसिंबाट ठेक्का टुटाई किर्तिमानलाई ठेक्कामा दिएको उपेन्द्रनाथको हक भोगको किर्तिमानले भोग गर्न पाइने भन्नेसमेत ०२२।७।२२।१ को डिभिजन बेञ्चले ठहराएको इन्साफ मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नू ।
तपसील
वादी किर्तिमान नगरकोटी वीरगन्ज इलाका अदालत तथा वीरगन्ज जिल्ला अदालतको फैसलाले गर्ने गरेको जम्मा जरिवाना रू.१।८ मध्ये डिभिजन बेञ्चको ०२२।७।२२।१ को फैसलाले जम्मा रू.।२१मात्र लाग्ने कायम गरी रू.।८७ को हकमा नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा उक्त डिभिजन बेञ्चको फैसला बमोजिम लगत कट्टा गर्नु पर्दैन उक्त रू.८७ समेतको वीरगन्ज इ.अ.तथा जि.अ.को फैसला बमोजिम लगत कायम राख्नु भनी का.जि.अ.तहसिल फाँटमा लगत दिनू……………………..१
निवेदक प्र.भूपालसिंह प्रधान के निजले मुद्दा दोहर्याउँदा राखेको कोर्टफी रू.।१० दस पैसा वादी किर्तिमानबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ बर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनू भनी ऐ……….२
नियमबमोजिम मिसिल बुर्झादिनू………३
न्या. रङ्गनाथ उप्रती,
न्या. ब्रम्हदत्त तिवारी
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल फागुन २३ गते रोज ३ शुभम् ।