निर्णय नं. ७३४ – जालसाजी
निर्णय नं. ७३४ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ७३४ ने.का.प. २०३०
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२७ सालको फौ.फु.नं. ३६
फैसला भएको मिति : २०२९।६।१५।३
निवेदक : सल्यान वंगाड गैरी कटेरी बस्ने हर्कसिंह कुँवरको हकमा सकार गरी निवेदन गर्ने उजेली कुँवर्नी
विरूद्ध
विपक्षी : ऐ. बुडाखोला बस्ने जि.भोलाप्रसाद बडासमेत
मुद्दा : जालसाजी
(१) साक्षी सबूदसमेतको अभावमा दावी साँचो मान्न नमिल्ने ।
त्यसरी स्वयम वादी आफू मालमा गई दर्खास्त दिई मालबाट सर्जमिन बुझी ठहर गरी नामसारी भए गराएको कारवाई वादीको लेखाई अनुसार प्रतिवादी जि.भोलाप्रसाद नन्दलालहरूले मालको हाकिम कारिन्दासमेतलाई भोर्याई वादीलाई झुक्याई गर्न गराउन सक्ने अवस्थाको देखिँदैन मालको हाकिम कारिन्दासमेत मिली झुक्याई गराएको भनी मालका हाकिम कारिन्दाहरू उपरसमेतको कानूनबमोजिम वादीको उजूर नभएको र आफूले नसुनी नबुझी आफ्नो नाममा जग्गा नामसारी गराउन माल अड्डामा गई दिएको आफ्नो दर्खास्तसमेतमा वादीले अर्काको भनाईमा लागी त्यसै सहिछाप गरे होला भन्ने कुरा प्रतितलायक पनि नभएको वादी दावीबमोजिम झुक्याई सहिछाप गराएकै हो भन्ने कुराको वादीले १ जना साक्षीसम्म पनि गुजार्न नसकेकोसमेत हुँदा साक्षी सबूदसमेतको अभावमा वादी दावी साँचो मान्न मिलेन ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. मुद्दा प्रस्तुत न्यायिक समितिको शिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च पेस हुन आएको छ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : बाबु थुमां र जोते फते ३ भाइ ८७ सालमा भिन्न भई बेगल भएको जोखे कुँवरको भाग खेत रू.९०। लिई बाबु थुमांलाई दिई ४ खुवा थापा चौर खानती गाउँमा बसाई गएको ९८ सालको मोठमा खेत खला ५ को मुरी १५।१७ हाम्रो बाबु थुमांका नाउँमा दर्ता भएको बाबु मरेपछि म र भाइ जितबहादुुर छुट्टी भिन्न भई आधि आधी बण्डा गरी खाई आएको माहिला बाबु जोखे ०१६ सालमा परलोक भएपछि निजकी स्वास्नी गिमीले हाम्रो बाबु थुमांको नाउँको दर्ताको आधि खेत आफ्ना नाउँमा नामसारी गराई नन्दलाललाई राजीनामा पास गरी दिएकोमा छुट्टै नालेस परी राखेको छ जि.भोलाप्रसाद नन्दलालसमेतले जग्गा तिम्रो नाममा नामसारी गराई दिन्छौं भनी ०१७।८।३ गते सल्यान मालमा ल्याई कसलाई हो लेखाई मलाई नसुनाई दर्खास्त दिन लगाई नामसारी गर्ने हाकिम कारिन्दसमेत भोर्याई नामसारी श्रेस्ता गरेपछि सही गर भन्दा नामसारी श्रेस्ता र दर्खास्तमा मैले सहिछाप गरेको सो दर्खास्तमा आधि खेत गिमीको भागको भन्ने लेखी झुक्याई सहिछाप गराएकोसमेत पछि थाहा भयो मलाई झुक्याई जालसाज गरेमा सजाय गरी मालमा दिएको दर्खास्त बदर गरिपाउँ भन्नेसमेत वादी ।
३. जग्गा हटक मुद्दामा दिएको प्रतिवादीबमोजिम गिमीले म नन्दलाललाई राजीनामा गरी दिएको व्यवहार साँचो भई म जि.भोलाप्रसाद बेरामी भएको मौका यो वादीले पनि आफ्नो हक भए जति जग्गा आफ्ना नाममा ०१७।८।३ गते सल्यान मालमा नामसारी गराएछ वादीले कसलाई दर्खास्त लेखाएको मानिस सरजमीन राखी हकको प्रमाण के कति पेस गरी दावा गरायो हामीलाई थाहा छैन हामीले मालमा लगी झुक्याई जालसाज गरेकोसमेत होइन भन्ने प्रतिवादी ।
४. एकाका नाउँको जग्गा दर्तावालाको मञ्जूरी र आफ्नो हक भएको प्रमाण केही पेस नगरी गिमीका नाममा नामसारी भएको देखिएको र १८।८।३ मा हरसिंह कुँवरका नाममा बाँकी जग्गा नामसारी भएकोमा प्रतिवादी गिमीको नाममा नामसारी दा.खा.भई नन्दलाल बुडालाई बिक्री भएको बाहेक भन्ने व्यहोरा दर्खास्त परेको देखिनालेसमेत जालसाजबाट नामसारी गराएको ठहर्छ भन्ने इलाका अदालत सल्यानको ०१८।११।३०।३ को फैसला ।
५. सो उपर चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन परेकोमा गिमीको लेग्ने जोखेबाट वादीको बाबु थुमांले रू.९० मा निजको हक टुटाई लिएको प्रमाण वादी तर्फबाट गुज्रन नसकेको वादीले जोखेको स्वास्नी गिमीको भाग बाहेक गरी मेरो भाग नाउसारी गर्न पाउँ भनी सल्यान मालमा दर्खास्त दिई नामसारी भएको देखिनाले प्रतिवादीहरूले झुक्याई जालसाज गरेको ठहर्दैन शुरु इन्साफ गल्ती ठहर्छ भन्ने तत्कालिन जि.अ.सल्यानबाट ०२१।२।१२।२ मा फैसला भएको ।
६. सो उपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परी आएकोमा वादीले प्रमाण दिएको रू.९०। को ९५।१।१५।४ को राजीनामा सक्कल पेस गराई सद्दे कीर्तेमा सुनाउने डिभिजन बेञ्चबाट आदेश भई सक्कल खिची प्रतिवादीहरूलाई सुनाएकोमा ०२१।६।२६ गतेको मितिमा खडा गरेको कीर्ते हो भन्ने प्रतिवादीहरूको र सद्दे नै हो भन्ने वादीको बयान भएको ।
७. अड्डामा दिएको दर्खास्त प्रतिवादीले झुक्याई गराउन सक्ने अवस्था नभएको र अड्डाका कर्मचारी उपर उजूर पनि नपरेकोसमेत बाट जालसाज भन्ने दावी पुग्न सक्तैन इन्साफ तत्कालिन जिल्ला अदालतको मनासिव छ भन्ने ०२५।५।१५।६ को डि.बे.बाट फैसला भएको ।
८. यस्मा वादी दावीबमोजिम बाबु थुमांका नाउँमा दर्ता भएका खेत आफ्नो नाममा नामसारी दर्ता गरिपाउँ भनी वादी हरसिंह भनिएको हर्कसिंहले सल्यान मालमा दिएको दर्खास्त नामसारीसमेतमा वादीको झुक्याई सहिछाप गराई जालसाज गरेको हो होइन भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. बहसमा उपस्थित हुनु भएका प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले मालमा दिएको दर्खास्तसमेतमा मेरो पक्षहरूले झुक्याई सहिछाप गराउन सक्ने अवस्था नहुँदा वादी दावी नपुग्ने ठहराएको डिभिजन बेञ्चको इन्साफ कायम हुनुपर्छ भन्नेसमेत बहस गर्नु भयो ।
१०. वादीले दिएको नामसारी गरिपाउँ भन्ने दर्खास्त मिसिल हेर्दा दर्तावाला बाबु थुमां मरेकाले मेरा नाममा नामसारी गरिपाउँ भनी वादीले ०१७।८।३।१ मा दिएको दर्खास्तमा आधि कान्छी आमा गिमीका नाममा नामसारी दा.खा.भई नन्दलाल बुढालाई बिक्री भए बाहेक आधि मेरो हकको भन्ने बोली परेको र मालले सर्जमिन बुझेकोमा थुमांका दर्तामध्ये आधा गिमीको हक भए बाहेक आधि हरसिंगको भोग चलनमा छ भन्ने सर्जमिन मुचुल्का भएकोमा पनि वादीको सहिछाप परी दर्खास्त जिकिरबमोजिम वादीका नाममा नामसारी गरी दिने भन्ने मालले ठहर गरी नामसारी भए गरेको देखिन्छ ।
११. त्यसरी स्वयम वादी आफू मालमा गई दर्खास्त दिई मालबाट सर्जमिन बुझी ठहर गरी नामसारी भए गराएको कारवाई वादीको लेखाई अनुसार प्रतिवादी जि.भोलाप्रसाद नन्दलालहरूले मालको हाकिम कारिन्दासमेतलाई भोर्याई वादीलाई झुक्याई गर्न गराउन सक्ने अवस्थाको देखिँदैन मालको हाकिम कारिन्दासमेत मिली झुक्याई गराएको भनी मालका हाकिम कारिन्दाहरू उपरसमेतको कानूनबमोजिम वादीको उजूर नभएको र आफूले नसुनी नबुझी आफ्नो नाममा जग्गा नामसारी गराउन माल अड्डामा गई दिएको आफ्नो दर्खास्तसमेतमा वादीले अर्काको भनाईमा लागी त्यसै सहिछाप गरे होला भन्ने कुरा प्रतितलायक पनि नभएको वादी दावीबमोजिम झुक्याई सहिछाप गराएकै हो भन्ने कुराको वादीले १ जना साक्षीसम्म पनि गुजार्न नसकेकोसमेत हुँदा साक्षी सबूदसमेतको अभावमा वादी दावी साँचो मान्न मिलेन ।
१२. तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट जालसाज भन्ने वादी दावी पुग्न नसक्ने ठहराई ०२५।५।१५।६ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ । सल्यान बंगाडगेरी कटेटरी बस्ने वादी हर्कसिंह कुँवर मरेको भनी निवेदन दिई मुद्दा दाहोर्याउने हर्ककी स्वास्नी उजेली कुँवर्नीके मुद्दा दोहोर्याएमा डिभिजन बेञ्चको फैसलाले गरेको जरिवाना रू.।५० को अ.बं.२०४ नं.ले दशौंद रू.५ पाँच पैसा जरिवाना हुन्छ वारेस हुँदा असूल गर्ने कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या. धनेन्द्रबहादुरसिंह
न्या. विश्वनाथ उपाध्याय
हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल कार्तिक १५ गते रोज ३ शुभम् ।