September 11, 1979
Created by nepalarchives

निर्णय नं. १२९९ – उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी

निर्णय नं. १२९९   ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३४ सालको रिट नम्बर १११५ आदेश भएको...

निर्णय नं. १२९९   ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् ०३४ सालको रिट नम्बर १११५

आदेश भएको मिति : २०३६।५।२६।२ मा

निवेदिका : लमजुङ जिल्ला चसकु गा.पं.वार्ड नं. १ चिसकु बस्ने भिद्रिका पौडेल

विरूद्ध

विपक्षी : श्री शाखा अधिकृत जिल्ला कार्यालय भूमिसुधार लमजुङ बेँसिसहर

विषय : उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) बाली भराई जग्गाबाट निश्काशन गरिपाउँ भन्ने उजूरीमा अधिया बाली विपक्षीले जग्गाधनीलाई बुझाउने, निवेदिकाले बुझिलिने र मोहीको रेकर्ड राखी मोही कायम राख्ने भन्ने निष्कर्षमा पुगेर सो सम्बन्धमा कुनै कारण आधार समेत उल्लेख नै नगरी गरेको निर्णयकानूनको दृष्टिमा त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. ९)

निवेदीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय, विद्वान अधिवक्ता श्री नुतन थपलिया

उल्लिखित मुद्दा :

आदेश

          न्या. बासुदेव शर्मा : विपक्षी भूमिसुधार शाखाको ०३४।१०।२७।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई माग्न नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३४।१२।१ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धित संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछन् :

          २.  मेरो हक भोगको जग्गा कित्ता ४ विपक्षी जितबहादुरले कमाई आएको ०३२ सालको धान बाली नबुझाएकोले दिलाई भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्ने निवेदिकाको विपक्षी कार्यालयमा उजूर पर्दा धान चोरिएकोले जग्गाधनीका भाइ लक्ष्मीप्रसादलाई आधी धान दिई भरपाई माग्दा भोलि दिउँला भनी गरिएकोले चंखे सार्की समेत बुझी पाउँ र मेरो मोहियानी हक कायम गरिपाउँ भन्ने समेत विपक्षी जितबहादुरको प्रतिउत्तर परेको रहेछ । धान मुरी २२।४ मा धान मुरी ११।२ जग्गाधनीलाई विपक्षीले बुझाउने निवेदकले बुझी लिने कानून बमोजिम बाली कटनी मडनी गरेका र बाली बुझाएको प्रमाण विपक्षीले पेश गर्न नसकेबाट मोही विपक्षी जितबहादुरको मोही कायम राख्ने ठहराई विपक्ष भूमिसुधार शाखाबाट ०३४।१०।२७ मा निर्णय भएको रहेछ ।

          ३.  भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) बमोजिम निष्काशन गर्नुपर्नेमा नगरिएको निर्णय प्रत्यक्षतया कानूनको त्रुटिपूर्ण छ वादी र प्रतिवादीको जिकिरको मुख नमिलेको कुरामा मुलुकी ऐन अ.बं.१८४क. नं. बमोजिम प्रमाण बुझी निर्णय गर्ने अवस्थामा अ.बं.१८५, १८९ नं. भूमिसम्बन्धी ऐनको दफा २९(१) समेतलाई ध्यानमा राखी निष्काशन गर्नुपर्ने कारण समेत खुलाई बुँदा प्रयोग गरी निर्णय गर्नुपर्नेमा नगरी मोही कायमै राख्ने भनी गरिएको निर्णय कानूनसंगत छैन वादी दावी बमोजिम इन्साफ गरिएन आयस्ता बाली कायम गरिएको मिलेको छैन निवेदक काशिराम राजबंशी विरूद्ध भूमिप्रशासन कार्यालय समेत भएको उत्प्रेषणको निवेदनमा फुल बेञ्चबाट ०३३।९।२४।६ मा कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय नं. ९९५ ने.का.प. २०३३ पृष्ठ संख्या १७६ मा प्रकाशित छ उक्त नजीरलाई विपक्षी शाखा अधिकृतको निर्णय बदर गरिपाउँ ।

          ४.  विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको ०३४।१२।२।४ को आदेशानुसार प्राप्त हुन आएका विपक्षीहरूका लिखितजवाफ जिकिर यस प्रकारको रहेछन् :

          ५.  मुलुकी ऐन अ.बं.१८४ क.नं. प्रमाण बुझी निर्णय गर्ने अवस्था अ.बं.१८५, १८९ नं. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ को उपदफा (१) समेतलाई ध्यानमा राखी निर्णय गरिएन भन्ने भनाई कानूनपूर्ण देखिँदैन । किनभने भूमिसम्बन्धी ऐन नियम अन्तर्गत यस शाखामा परेको निवेदनमा भू.सं.ऐन बमोजिम निर्णय गरिन्छ र वादी दावीकै भनाई बमोजिम मोही निष्काशन गर्नुपर्ने कारण खुलाई निर्णय दिनु पर्छ भन्ने कानूनी बाध्यता देखिँदा मोहीले नै मोहियानी हक पाउने कानूनीपूर्ण कारणहरू खुलाई निर्णय पर्चामा उल्लेख गरिएकै छ दुबै थरबाट पेश हुन आएजति प्रमाण तथा साँधसँधियारको मुचुल्का समेतका सबूद प्रमाणका आधारमा भु.सं.ऐनको दफा २९ को उपदफा (३) अनुसार न्यायिक मन लगाएर निर्णय दिएको छ निवेदन खारेज गरी पाउन सबिनय अनुरोध गरिन्छ भन्नेसमेत शा.अ.जिल्ला कार्यालय भूमिसुधार शाखा लमजुङ ।

          ६.  बाली बुझाए तापनि रसिद पेश गर्न नसकेको कारणबाट जि. का.भू.सु.शाखा लमजुङले भू.सु.ऐन, ०२१ का दफा २९ को उपदफा (३) बमोजिम निर्णय गर्नुभएको हो निष्काशन नै गर्नु पर्छ भन्ने कानूनी बाध्यात्मक व्यवस्था होइन कुनै कानूनी त्रुटि छैन सरासर कानूनसंगत छ । उचित मनमा न्यायिक मनको समेत प्रयोग भएको छ तसर्थ विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जितबहादुर गुरूङ ।

          ७.  तारेखमा रहेका निवेदिका भद्रिका पौडेलको वारेस रेवन्तमान श्रेष्ठ र विपक्षी जितबहादुर गुरूङको वारेस लालबहादुर टुरालाई रोहवरमा राखी निवेदनतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विपक्षी जिल्ला कार्यालय भूमिसुधार शाखा लमजुङ तर्फबाट बहस निमित्त खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा विपक्षी जितबहादुर गुरूङतर्फका विद्वान अधिवक्ता श्री नुतन थपलिया समेतको बहस सुनी बुझ्दा प्रस्तुत मुद्दामा निवेदिकाको माग बमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।

          ८.  यसमा बाली भराई मोहीलाई निष्काशन गरिपाउँ भन्ने निवेदिकाको विपक्षी जिल्ला कार्यालय भूमिसुधार शाखा लमजुङ समक्ष उजूर परेकोमा अधिया बाली मोहीले जग्गाधनी निवेदिकालाई बुझाउँने निवेदकले बुझी लिने र मोही विपक्षी जितबहादुर गुरूङको रेकर्ड राखी मोहियानी कायम राख्ने भन्ने समेत उल्लेख भएकोमा उक्त निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको छ । त्यसतर्फ कानूनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९(१) मा दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजूर दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्न आदेश दिन सक्ने छ भन्ने र ऐ.को उपदफा (३) मा उपदफा (१) वा उपदफा (२) को खण्ड (ख) बमोजिमको अवस्थामा जग्गावालालाई मोहीबाट कूत समेत भराई दिन सक्नेछ भन्ने उल्लेख भएको  देखिन्छ।

          ९.  माथि उल्लेख भए बमोजिम ऐनको दफा २९(१) मा निष्काशन गर्न आदेश दिनसक्ने छ भन्ने वाक्यांश भएकोले यो तजबिजी अधिकार भए तापनि न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरीकाले गर्नुपर्ने न्यायिक निर्णय गर्ने अधिकारीले सबूद प्रमाणको मूल्याङ्कन गरी आधार देखाई कुनै निश्चित ठहरमा पुग्नु पर्छ आधार नै नदेखाई कुनै निश्चित निष्कर्षमा पुगिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरीकाले निर्णय गरेको भन्न नमिल्ने देखिँदा उपरोक्त बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्ने उजूरीमा अधिया बाली विपक्षीले जग्गाधनी निवेदिकालाई बुझाउने निवेदीकाले बुझी लिने र मोही जितबहादुर गुरूङको रेकर्ड राखी मोही कायमै राख्ने भन्ने निष्कर्षमा पुगेर सो सम्बन्धमा कुनै कारण आधार समेत उल्लेख नै नगरी निर्णय गरेको विपक्षी जिल्ला कार्यालय भूमिसुधार शाखा लमजुङको मिति ०३४।१०।२७ को निर्णय कानूनको दृष्टिमा त्रुटिपूर्ण देखिनुका साथै निवेदक काशिराम राजबंशी विपक्षी भूमिप्रशासन कार्यालय मोरङ समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट ०३३।९।२४ मा प्रतिपादित सिद्धान्त बमोजिम मोही जितबहादुरको रेकर्ड राखी मोही कायमै राख्ने भन्ने सम्म उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । त्यसतर्फ कानून बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी जिल्ला कार्यालय भूमिसुधार शाखा लमजुङका नाउँमा परमादेशको आदेश समेत दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि एक महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी जि. कार्यालय भूमिसुधार शाखा लमजुङमा पठाई नियम बमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् ०३५ साल भाद्र २६ गते रोज २ शुभम् ।