October 23, 1979
Created by nepalarchives

निर्णय नं. १२९८ – उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

निर्णय नं. १२९८     ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट निवेदन नं. ८०६...

निर्णय नं. १२९८     ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३४ सालको रिट निवेदन नं. ८०६

आदेश भएको मिति : २०३६।७।६।३ मा

निवेदक : का.जि. का.न.पं.वार्ड नं. १६ क्षेत्रपाटी बस्ने आजिम शाह

विरूद्ध

विपक्षी    : साझा केन्द्रीय सञ्चालक समिति केन्द्रीय कार्यालय पुल्चोक समेत

विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१)  निर्णय गर्दाको मिति भन्दा अघिको मिति देखि निवेदकलाई नोकरीबाट बरखास्त गर्ने गरेको अध्यक्ष साझा केन्द्रीय कार्यालयको निर्णय तथा सो निर्णय उपर पुनरावेदन पर्दा साझा केन्द्रीय सञ्चालक समितिको बैठकले बरखास्त गरेको समर्थन गरेको निर्णयहरू त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

आदेश

          न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३४।५।२३ मा दर्ता भएको रहेछ ।

          २.   तथ्य यस प्रकार छ : गत असोज ७ गते चेकबुकबाट एकपाना हराएको थाहा पाएपछि पनि बित्तीय नियन्त्रण विभागको एक अधिकृत भएर तपाईंंले पनि कुनै पर्याप्त कदम नउठाएकोले आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने भई संस्थाको अहित हुन गएकोबारे तपाईं उपर किन कारवाही नहुनु भनी लिखित स्पष्टीकरण मागिएकोमा तोकिएको समयावधि भित्र तपाईंले स्पष्टीकरण पेश नगर्नुभएकोले साझाकेन्द्रीय सञ्चालक समितिको ०३३।७।१६। को बैठकले चेक हराएको बारे कारवाही गर्न गराउन अध्यक्षलाई दिएको अधिकार प्रयोग गरी तपाईंलाई ०३३।७।२३ देखि नोकरीबाट बरखास्त गरिन्छ भन्ने मिति ०३३।८८ को र त्यस उपर पुनरावेदन गरेकोमा साझा केन्द्रीय सञ्चालक समितिको मिति ०३४ साल बैशाख १५ गते बसेको बैठकले तपाईंलाई बरखास्त गरेको समर्थन गरेको विषय अवगत गराएको छु भन्ने मिति ०३४।१।२२ को विपक्षी साझा केन्द्रीय कार्यालय पुल्चोकबाट निवेदकलाई लेखेको पत्र रहेछ ।

          ३.   रिट निवेदन जिकिर यस प्रकार छ : मलाई नोकरीबाट बरखास्त गर्ने गरी विपक्षी अध्यक्षले निर्णय गर्न पाउने अधिकार साझा कामदार प्रशासन नियमावली, ०३३ कुनै परिच्छेद तथा दफाले प्रदान गरेको देखिँदैन । क्षेत्राधिकार नाघी निर्णय गर्न नहुने कानूनी सिद्धान्त छ । मलाई साझा कामदार प्रशासन नियमावली, ०३३ को परिच्छेद २ को नियम १ को (ख) अनुसार संस्था प्रमुखले सञ्चालक समितिको पुर्वस्वीकृत लिई नियुक्ति गर्नुभएको हो विपक्ष अध्यक्षले गर्नुभएको होइन विपक्षी अध्यक्षज्यूले गर्नुभएको सजाय साझा कामदार प्रशासन नियमावली, ०३३ को परिच्छेद २ को नियम १ को (ख) को बर्खिलाप हुन गएको छ, सो उपरको पुनरावेदन सुन्ने अधिकारी समेत कानून विपरीत कानून बमोजिम प्रष्ट अधिकार नभएको प्रष्ट छ । सोही नियमको परिच्छेद ७ को नियमको उपनियम (५) को देहायमा उल्लिखित कुन अवस्थाको उल्लंघन भएको हो मलाई दिएको पत्रबाट देखिँदैन । मैले समयमै पेश गरेको प्रष्टीकरण दर्ता नगर्दैमा मेरो म्याद गएको भन्न अ.बं.१८ नं. ले समेत मिल्दैन । मबाट स्पष्टीकरण ०३३।८।६ गते मागियो ७ गते अधिराज्यभर विदा परेको थियो ८ गते स्पष्टीकरण पेश गरेकोलाई पेश नगरेको भनी खोट लगाउनु न्यायसंगत होइन पुनरावेदनमा लिएको जिकिरको ख्यालै राखिएन चेक जिम्मा लिने श्री रविन्द्रबहादुर विष्टजी वहाँलाई निर्देशन दिने र निगरानी राख्ने काम श्री नरेन्द्रमान जोशीको हो, व्यालेन्ससिट तयार गर्ने आम्दानी खर्चको हिसाब ठीक राख्ने काम मेरो हो । उपरोक्त नियम कानून विपरीत मेरो पदबाट मलाई बरखास्त गर्ने गरेको निर्णयहरू गैरकानूनी हुँदा उत्प्रेषणको आदेश जारी गरी बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन जिकिर ।

          ४.   विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।५।२७ को आदेश ।

          ५.  साझा केन्द्रीय कार्यालयको अध्यक्षको साथै साझा केन्द्रीय सञ्चालन समितिको पनि अध्यक्ष हुँ, चेकबुकबाट एक पाना चोरी गरी कीर्ते हस्ताक्षर मिलाई रू.३६,५३१। भुक्तानी लगेको बारेमा कारवाही गर्ने अधिकार सञ्चालक समितिले मलाई सुम्पेको छ, अधिकारको व्याख्या गर्ने अधिकार विपक्षीलाई छैन, कारवाही भन्नाले बरखासी गर्ने अधिकार दिएको होइन भन्ने जिकिर सम्बन्धमा सञ्चालकसमितिबाट पनि बर्खासी गरेको सदर भएपछि सञ्चालक समितिले अधिकार दिएको छैन भन्ने जिकिर युक्तिसंगत देखिँदैन साझा कामदार प्रशासन नियमावली, ०३३ को परिच्छेद ७ को नियम ५ को (च) मा आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेमा भन्ने छ नोकरीबाट बरखास्त कारण यही हो विपक्षीले तोकिएको समय भित्र स्पष्टीकरण दर्ता गर्न ल्याएको भए दर्ता हुन्थ्यो दर्ता गरी दिएन भन्ने जिकिर झुठ्ठा हो निजको बर्खासी कानून अनुरूप हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत साझा केन्द्रीय सञ्चालक समिति तथा साझाको केन्द्रीय कार्यालयको अध्यक्षकोतर्फबाट अध्यक्ष रणधीर सुब्बाको लिखितजवाफ ।

          ६.   निवेदनतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले निवेदकलाई सेवाबाट बरखास्त गर्ने अधिकार विपक्षी साझा केन्द्रीय कार्यालयको अध्यक्षलाई छैन सञ्चालक समितिले चेकबुक हराएको सम्बन्धमा कारवाही गर्ने अधिकार प्रत्यायोजन भएको हो, निवेदकसँग ०३३।८।६ गते स्पष्टीकरण मागियो ०३३।७।२३ देखि नोकरीबाट बरखास्त गरिन्छ भनी ०३३।८।८ मा पत्र दिएकोबाट पश्चातदर्शिरूपमा निर्णय भएको बदर हुनुपर्छ भन्ने समेत र विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले निवेदकलाई सेवाबाट बर्खास्त गरेको कानून अनुरूप छ भन्ने समेत बहस गर्नुभएको प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनु परेको छ ।

          ७.  यसमा निर्णयतर्फ हेर्दा निवेदकले बदर गरिपाउँ भनी जिकिर लिएको निर्णयमा गत असोज ७ गते चेकबुकबाट एक पाना हराएको थाहा पाए पछि पनि कुनै पर्याप्त कदम नउठाएकोले आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने भई संस्थाको अहित हुन गएको स्पष्टीकरण मागिएकोमा तोकिएको समयावधी भित्र पेश नगर्नुभएकोले साझा केन्द्रीय सञ्चालक समितिको ०३३।७।१६ को बैठकले चेक हराएको बारे कारवाही गर्ने गराउने अध्यक्षलाई दिएको अधिकार प्रयोग गरी तपाईंलाई ०३३।७।२३ देखि नोकरीबाट बर्खास्त गरिन्छ भन्ने मिति ०३३।८।८ को र सञ्चालक समितिको ०३४।१।१५ को बैठकले बर्खास्त गरेको समर्थन गरेको विषय अवगत गराएको छु भन्ने ०३४।१।२२ को पत्रबाट देखिन्छ ।

          ८.   विपक्षीतर्फका अधिवक्ताले निवेदकलाई सेवाबाट बरखास्त गरेको निर्णय भनी बेञ्च समक्ष देखाएको फाइल हेर्दा निवेदकले रिट निवेदन साथ पेश गरेको उपरोक्त उल्लेख भए बमोजिम व्यहोरा भएको पत्र देखिएको, सो पत्र प्याडमा लेखिएको र पेट व्यहोरामा तपाईलाई ०३३।७।२३ देखी नोकरीबाट बर्खास्त गरिन्छभन्ने उल्लेख भई पत्रको मिति लेखिने स्थानमा ८।८।०३३ भन्ने उल्लेख भएको देखिएको, सो मिति निर्णय मिति होइन निर्णय मिति ०३३।७।२३ नै हो भनी विपक्षीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनु भएको छ । निवेदकलाई दिएको सो बर्खासी पत्र कार्यालयबाट पत्र व्यवहार गर्ने प्याडमा लेखिएको देखिन्छ, सो पत्र तयार भएको मिति ०३३।८।८ समेत उल्लेख भई पत्र तयार भएपछि सोही मितिलाई निर्णय मिति भन्नु पर्ने हुन्छ । निवेदकसँग ०३३।८।६ मा स्पष्टीकरण मागिएको भन्ने निवेदन जिकिर भएको सो स्पष्टीकरण मागिएको होइन भन्न र निवेदकलाई ०३३।७।२३ देखि नोकरीबाट बर्खास्त गर्ने गरी ०३३।८।८ मा मात्र निर्णय गरेको होइन भनी लिखितजवाफमा कुनै खण्डन गरेको पनि पाइएन । यस अवस्थामा निर्णय गर्नु भन्दा अघिको मिति देखि पश्चातदर्शी असर पर्ने गरी ०३३।७।२३ देखि निवेदकलाई नोकरीबाट बर्खास्त गर्ने गरी मिति ०३३।८।८ मा विपक्षी अध्यक्ष साझा केन्द्रीय कार्यालयबाट त्रुटिपूर्ण निर्णय गरेको र सो त्रुटिपूर्ण निर्णय उपर पुनरावेदन परेकोमा पनि साझा केन्द्रीय सञ्चालक समितिबाट निर्णय समर्थन गर्ने गरी भएको ०३४।१।१५ को निर्णय समेत त्रुटिपूर्ण देखिन आयो ।

          ९.   सु.नन्दगोपाल राजभण्डारी विरूद्ध श्री ५ को सरकार मार्फत उपसचिव रूपलाल न्यौपाने खाद्य तथा कृषि मन्त्रालय समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने ०२९ सालको रि.फु.नं. ४१ को रिटमा निर्णयको मिति भन्दा पहिले देखि लागू हुने गरी निवेदकलाई बर्खास्त गर्ने श्री ५ को सरकारको मिति ०२७।१०।२।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्ने ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चले ०२९।२।५ गते गरेको निर्णय मनासिव ठहर्छ भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चबाट मिति ०२९।३।२४ मा निर्णय भई राखेको पाइन्छ ।

          १०.  अतः उपरोक्त उल्लेख भए बमोजिम निर्णय गर्दाको मिति भन्दा अघिको मिति अर्थात मिति ०३३।५।२३ देखि निवेदकलाई नोकरीबाट बर्खास्त गर्ने गरेको अध्यक्ष साझा केन्द्रीय कार्यालयको ०३३।८।८ को निर्णय तथा सो निर्णय उपर पुनरावेदन पर्दा साझा केन्द्रीय सञ्चालक समितिको ०३४।१।१५ को बैठकले बर्खास्त गरेको समर्थन गरेको निर्णयहरू त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३६ साल कार्तिक ६ गते रोज ३ शुभम् ।