निर्णय नं. १२९७ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. १२९७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नम्बर १८०८ आदेश...
निर्णय नं. १२९७ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३४ सालको रिट नम्बर १८०८
आदेश भएको मिति : २०३६।९।५।५ मा
निवेदक : जि. क.गा.पं.गोदावरी वार्ड नं. १ मौजे थुहवा बस्ने राजकुमारी कुर्मिनी
विरूद्ध
विपक्षी : ऐ.ऐ. बस्ने भगवानी कुर्मिनी, भूमिप्रशासक, भूमि प्र.कार्यालय कपिलवस्तू
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) जग्गा दर्ता गरिपाउँ भनी छुट्टाछुट्टै निवेदनपत्र दिएकोमा दुई उजूरीमा अलग–अलग विपक्षीलाई बुझी छुट्टाछुट्टै मिसिल खडा गरी निर्णय गर्नुपर्नेमा सो नगरी दुवै उजूरीको एकै मिसिल खडा गरी गरेको निर्णयमा अ.बं.१८५ तथा अ.बं.१८५(क) को त्रुटि देखिने ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ईच्छाहर्ष बज्राचार्य
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल, विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३४।३।२१।३ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मेरा नाउँको दर्ता सिर जग्गा बिगाहा ११–१६–० मैले भोगचलन गरी आएको मध्ये ०२६ सालको सर्भे नापीमा बिगाहा ०–१६–९ मा राजकुमारीले मेरो हो भनी खिचोला गरेको खिचोला मेटाई पाउँ भनी भगवानीको म समेत उपर क.ब.जि. अ.मा नालिस परी विपक्षीले तारिख छोडी ०३०।७।१९।१ मा क.ब.जि. अ.बाट डिसमिस फैसला भएकोले सो वा.नं.२ को कि.नं.८ को जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी मेरो निवेदन सो वार्ड नं. २ को कि.नं. ८ को र वार्ड नं. १ को कि.नं. ५७७।७६।५४३।६०७ र ५९९ को जग्गा मेरो हो भनी राजकुमारीले खिचोला बुझाई दिएकोले मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने भगवानीदेवीको निवेदन सो दुवै थरले मेरो भनी दावी गरेको ०–१६–९ मा दर्ता गर्न नमिल्ने ठहर्छ भन्नेसमेत विपक्षी कार्यालयको ०३२।३।८।१ को फैसला । त्यस उपर हामी दुवै थरको प्र.जि. अ.को कार्यालय कपिलवस्तूमा पुनरावेदन परेकोमा सो कार्यालयबाट पनि करीब ११ महीना चानचुन तारिखमा झुलाई सकेपछि यस कार्यालयबाट हेर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भनी ०३४।२।९ गते निर्णय गरेको यसरी जग्गाधनी दुवैको मेरा नाउँमा दर्ता हुनुपर्छ भन्ने राजकुमारीको निवेदन र मेरा नाउँमा दर्ता हुनुपर्छ भन्ने भगवानीको निवेदन छुट्टाछुट्टै परेपछि अ.बं.११० नम्बर र विशेष अदालत ऐनको दफा ४ बमोजिम मेरो निवेदनको नक्कल समेत पठाई विपक्षीका नाउँमा म्याद जारी गरी विपक्षीको निवेदनमा मेरो नाउँमा म्याद जाहेर गरी प्रतिवाद गर्ने मौका समेत दिनुपर्ने सो केही नदिई दुवैको उजूरी फिरादपत्रलाई वादी प्रतिवादी बनाई एउटै मिसिल कायम गरी निर्णय गरेको अ.बं.७२ नं. को प्रतिकूल पर्न गएको कानूनी त्रुटि देखिन आयो । विपक्षी कार्यालयले दुबै उजूरीमा दुवै जग्गाधनीले आफ्नो–आफ्नो जग्गा भनी उजूर दिएपछि दुवैको प्रतिवाद लिई दुवैको जग्गा मेरो भन्ने दावी भएपछि जग्गाधनीको हकमा तेरो मेरो पर्न आएको देखियो । त्यस्तो तेरो मेरो परेको मुद्दा कार्यालयले हेर्न नमिल्ने नाप जाँच ऐनको दफा ८ को १ बमोजिम अदालतमा पठाउन पर्ने आफैंले हेरी निर्णय गरेको पनि अनाधिकार निर्णय गरेको देखियो ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३६।२।९।४ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् :
४. तेरो मेरो सम्बन्धी मुद्दा जग्गामा नाप जाँच ऐनको दफा ८ (१) ले आफूले हेर्न नमिल्ने हुँदा अदालतमा पठाउनु पर्नेमा हेरेको मिलेन भनी निवेदकले मूल र नजीरको सहितको जिकिर लिनु भएको छ । तर एकपटक तेरो मेरोको सन्दर्भमा अदालतमा यसै जग्गाको विषयमा लिएर प्रवेश गरी मुद्दा हदम्यादको कारणबाट खारेज भई सकेपछि भू.सु.का.क.ब.मा पुनः कारवाई चालु गरेको र पुनः तेरो मेरोकोमा जान सुनाएन भनी जिकिर लिए तापनि एकपटक अदालतबाट अन्तिम फैसला भइसकेको कुरामा पुनः अदालतमा जानु भनी सुनाउनु पर्ने कुनै औचित्य नै अवशेष नरहेको र सुनाएको भए पनि अ.बं.८५ नं. को विद्यमानताले गर्दा निजलाई कुनै सहयोग हुन नसक्ने तथा यसबाट पटक–पटक एउटै कुराको पुनरावृत्ति भई रहनुको साथै उल्लिखित खारेजी फैसलाकै आधारमा प्रस्तुत निर्णय समेत भएको हुँदा निरर्थक मागतर्फ विचार हुनुपर्ने कुनै अवस्था छैन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भागवानी कुमिर्नी ।
५. भूमिप्रशासन कार्यालय कपिलवस्तूको लिखितजवाफ प्राप्त भएकोले छलफलको निमित्त सरकारी वकील खटाई पठाउन महान्यायाधिवक्ताको कार्यालयलाई लेखी मिसिल प्राप्त भइसकेको र पेशीको तारिख समेत तोकी सोको पनि जनाउँ दिई नियम बमोजिम गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३६।८।२३।१ को डिभिजन बेञ्चको आदेश ।
६. तारेखमा रहेका निवेदक राज कुर्मिनीको वारेस डिल्लीश्वरानन्द र विपक्षी भगवानी कुर्मिनीको वारेस दिनेश्वरप्रसाद सिंहलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्यको र विपक्षी भूमिसुधार कार्यालय कपिलवस्तूतर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विपक्षी भगवानी कुर्मिनीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
७. यसमा भोगचलन गरी आएको जग्गामा दर्ता गरिपाउँ भन्ने निवेदन भएकोमा राजकुमारीले खिचोला बुझाई दिएकोले मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने प्रतिवाद परेपछि दर्ता गर्न नमिल्ने ठहर्छ भनी विपक्षी कार्यालयले निर्णय गरे उपर दुवै थरको पुनरावेदन प्रमुख जिल्ला अधिकारी समक्ष परेकोमा उक्त पुनरावेदन हेर्न नमिल्ने भएकोले खारेज हुने ठहर्छ भनी निर्णय गरेकोमा दुवैको उजूरीलाई वादी प्रतिवादी बनाई एउटै मिसिल कायम गरी गरेको निर्णय कानूनी त्रुटि हुन गएकोले सो बदर गराई पाउँ भन्ने निवेदकको जिकिर भएको प्रस्तुत केशमा राजकुमारी कुर्मिनीले र भगवानी कुर्मिनीले विवादको जग्गा दर्ता गरिपाउँ भनी छुट्टाछुट्टै निवेदनपत्र दिएकोमा दुई उजूरीमा अलग–अलग विपक्षीलाई बुझी छुट्टाछुट्टै मिसिल खडा गरी निर्णय गर्नुपर्नेमा सो नगरी दुवै उजूरीको एकै मिसिल खडा गरी गरेको निर्णयमा अदालती बन्दोबस्त १८५ तथा अ.बं.१८५(क) को त्रुटि भएको देखिँदा विपक्षी भूमिप्रशासकको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । अब कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी भूमिसुधार कार्यालयका नाउँमा परमादेशको आदेशसमेत दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम फाइल बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३६ साल पौष ५ गते रोज ५ शुभम् ।