निर्णय नं. १२९६ – उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय नं. १२९६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर ९९८ आदेश भएको...
निर्णय नं. १२९६ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३५ सालको रिट नम्बर ९९८
आदेश भएको मिति : २०३६।७।८।५ मा
निवेदक : बागमती अञ्चल का.न.पं. वडा नं. २२ का जि. दुगंवहिल बस्ने नाति महर्जन
विरूद्ध
विपक्षी : काठमाडौं नगरपञ्चायत बैठक, काठमाडौं नगरपञ्चायत धर्मपथ समेत
विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
(१) नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) मा दफा ४८ को उपदफा (१) बमोजिम परेको उजूरबाट घर बनाउने जग्गामा तेरो मेरो हक बेहक छुटयाउन पर्ने देखिन आएमा अदालतबाट हक बेहक छुटयाई आएपछि मात्र नक्सा पासको कारवाही गर्नुपर्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली
आदेश
न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।९।११ मा दर्ता भएको रहेछ ।
२. तथ्य यस प्रकार छ : उत्तर नातीचा महर्जनको घर समेतको ४ किल्ला भित्रको का.जि. जुद्ध सडक नछेटोलको ब्लक नं. ६।३५८ को घर छाना भत्काई तला थपी नक्सा बमोजिम बनाउन पाउँ भन्ने समेत विपक्षी इच्छाहर्षको नक्सा दरखास्त, विपक्षीको घर देखि उत्तर पट्टीको मेरो किलास ६।। इन्च मिच्ने गरी नक्सा दरखास्त दिएको, ०२६।११।११।१ मा मुद्दा पर्दापर्दै न.पा.बेगर बनाई मेरो पाखा काट्ने गरी किलास मिची घर बनाई ल्याएको रोकी पाउँ भनी प्र.पं.ज्यूमा निवेदन दिएकोमा आवश्यक कारवाही गरी दिनु भन्ने आदेश भएको थियो, उजूरी दिइसकेपछि दिएको नक्सा दरखास्त खारेज गरिपाउँ भन्ने निवेदन नाति महर्जनको उजूरी र बनाउने भनेको घर म समेतको हक भन्ने समेत अष्टमानको सरजमीनमा उजूरी परेकोमा बनाउने घरमा हक बेहक पर्न आएकोले चित्त नबुझ्नेले अदालतमा नालिस गरी हक बेहक गर्न जानु भनी सुनाउने भन्ने ०२८।४।१० को नक्सा मुद्दा फाँटको पर्चा उपर विपक्षी इच्छाहर्षको पुनरावेदन परेकोमा अष्टमान समेतसँगको लिखत बदर मुद्दा वादी इच्छाहर्षले बनाउन नक्सा दरखास्त दिएको घर वादीको ठहरेको ओभरसियरको रिमार्क अनुसार गाह्रो इच्छाहर्षको घरसँग मिलान भई गएको भन्ने लेखिएकाले नक्सा पारित हुने ठहर्छ । हक बेहकमा पठाउने भन्ने शुरू नक्सा मुद्दा फाँटको पर्चा बदर हुने ठहर्छ भन्ने समेत विपक्षी काठमाडौं नगरपञ्चायत बैठकको मिति ०३५।८।७।४ को फैसला रहेछ ।
३. रिट निवेदन जिकिर यस प्रकार छ : मेरो उजूरीमा विपक्षीको घर देखि उत्तर पट्टि मेरो किलास ६ ईन्ची मिचिने गरी नक्सा दरखास्त गरे भन्ने समेत प्रष्ट लेखिएकोमा सो ६ इन्ची मिचिएकोमा हक बेहक गरी नक्सा पास गर्ने भनी ठहर फैसला भएको छ सो नगरपञ्चायत ऐन, ०१९ को दफा १७ को (ढ) र उक्त ऐनको दफा ४९ को विरूद्ध छ । अ.बं.३५ नं. ले बदरभागी छ । सो फैसलाले मेरो कानूनी हकमा आघात भएको छ, का.न.पं.बैठकको ०३५।८।७।४ को निर्णय उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ आज्ञा, आदेश वा पूर्जी जारी गरी मेरो मौलिकहक प्रचलन गराइपाउँ भन्नेसमेत निवेदन जिकिर ।
४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।९।१७ को आदेश ।
५. निवेदकको घर देखि दक्षिण तर्फ ६ इन्ची किलास मिच्ने गरी र पास भन्दा बढी घर नबनाएको हक बेहक गर्नपर्ने देखिन नआएकोले नक्सा पास गरी दिने फैसला गरिएको हो निवेदकको मौलिक हकमा आघात नपर्ने गरी गरेका फैसला बदर हुनुपर्ने कुनै हक बेहकको अवस्था विद्यमान नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी काठमाडौं नगरपञ्चायतको लिखितजवाफ ।
६. मेरो घरको उत्तर पट्टि निज नातिचाको किलास छैन विपक्षीको किलास नभएकोमा हक बेहक गर्नुपर्ने प्रश्नै आउँदैन । न.पं.ऐनको दफा ४७ मा हक पुगेको निस्सा दाखिल गर्नुपर्ने भन्ने लेखिएको विपक्षीले आफ्नो कुनै सबूद दिन नसकेको, बिना सबूद प्रमाणको उजूर कायम हुन्छ भन्ने कसैले घर बनाउन नपाउने हुन्छ । विपक्षीको कुनै संवैधानिक हक हनन नभएकोले निवेदन खारेज गरियोस भन्नेसमेत विपक्षी ईच्छाहर्ष बज्राचार्यको लिखितजवाफ ।
७. निवेदकतर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले निवेदकको ६ इन्ची किलास मिचिने गरी नक्सा दरखास्त दिएको भनी उजूर परी हक बेहकको प्रश्न उपस्थित भएको छ । अदालतमा गई हक बेहक गराई आउनु भनी सुनाउनु पर्नेमा नसुनाई नक्सा पास गरेको निर्णय त्रुटि छ बदर हुनु पर्ने भन्ने समेत र विपक्षी इच्छाहर्षले मेरो घरको उत्तर पट्टि निवेदकको किलासै नभएको हुँदा किलासमा हक बेहक गर्नुपर्ने अवस्था छैन रिट खारेज होस् भन्ने समेत र विपक्षी का.न.पं.तर्फका विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुलीले ओभरसियरका रिमार्क समेत अनुसार निवेदकको उजूरीको किलासमा हक बेहक गर्नुपर्ने नभएकोले नक्सा पास भएकोमा कुनै त्रुटि छैन भन्ने समेत बहस गर्नुभएको प्रस्तुत विषयमा निवेदकको माग अनुसारको आदेश जारी हुने हो होइन सो कुरामा निर्णय दिनु परेको छ ।
८. यसमा निर्णयतर्फ हेर्दा मेरो घरको छाना भत्काई तला थपी नक्सा बमोजिम बनाउन पाउँ भन्ने विपक्षी इच्छाहर्षको नक्सा दरखास्त र विपक्षीको घर देखि उत्तर पट्टि मेरो किलास र ६।। ईन्च मिचिने गरी नक्सा दरखास्त दिएको भन्ने समेत निवेदकको उजूर परेकोमा अष्टमानसँगको लिखतबदर मुद्दामा वादी इच्छाहर्षले बनाउन नक्सा दरखास्त दिएको घर वादीको ठहरेको ओभरसियरको रिमार्क अनुसार गाह्रो ईच्छाहर्षको घरसँग मिलान भई गएको भन्ने देखिएकाले नक्सा पारित हुने ठहर्छ । हक बेहकमा पठाउने भन्ने शुरू नक्सा मुद्दा फाँटको पर्चा बदर हुने ठहर्छ भन्ने समेत विपक्षी काठमाडौं नगरपञ्चायत बैठकबाट निर्णय फैसला भएको देखिन्छ ।
९. नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) मा दफा ४८ को उपदफा (१) बमोजिम परेको उजूरबाट घर बनाउने जग्गामा तेरो मेरो परी हक बेहक छुट्याउनु पर्ने देखिन आएमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाई गर्ने पर्चा गरी सम्बन्धीत व्यक्तिहरूलाई सो कुराको सूचना दिनु पर्छ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ ।
१०. विपक्षी ईच्छाहर्षले बनाउन पाउँ भनी दिएको नक्सा दरखास्तमा मेरो ६।। ईन्च किलास मिचिने गरी नक्सा दरखास्त दिएको भनी निवेदकले उजूर दिई तेरो मेरोको प्रश्न उपस्थित भएकोमा अष्टमानसँगको लिखत बदर मुद्दामा वादी इच्छाहर्षले बनाउने नक्सा दरखास्त दिएको घर वादीको ठहरेको ओभरसियरको रिमार्क अनुसार गाह्रो ईच्छाहर्षको घरसँग मिलान भई गएको भन्ने लेखिएकोले नक्सा पारित हुने ठहर्छ हक बेहकमा पठाउने भन्ने शुरू नक्सा मुद्दा फाँटको पर्चा बदर हुने ठहर्छ भन्दै निवेदक नाति महर्जनको हकमा किलास गाह्रो तर्फ तेरो मेरोको प्रश्नमा हक बेहक हुने गरी उक्त नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) को विरूद्ध विपक्षी काठमाडौं नगरपञ्चायत बैठकबाट मिति ०३५।८।७।४ मा त्रुटिपूर्ण निर्णय फैसला गरेको देखिन आयो ।
११. अतः उपरोक्त उल्लेख भए अनुसार विपक्षी काठमाडौं नगरपञ्चायत बैठकबाट मिति ०३५।८।७।४ मा निवेदक नाति महर्जनको हकमा भएको त्रुटिपूर्ण निर्णय फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । नियम बमोजिम गरी फाईल बुझाई दिनु ।
म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३६ साल कार्तिक ८ गते रोज ५ शुभम् ।