December 7, 1979
Created by nepalarchives

निर्णय नं. १२८६ – बण्डा बदर गरिपाउँ

निर्णय नं. १२८६ ने.का.प. २०३६ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५...

निर्णय नं. १२८६ ने.का.प. २०३६

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३५ सालको दे.फु.नं. २५

फैसला भएको मिति : २०३६।८।२१।६ मा

निवेदक : का.जि. का.न.पं. वडा न.२२ अन्तर्गत खिचापोखरी बस्ने माधव घले

विरूद्ध

विपक्षी : का.न.पं. वा.नं. २२ अन्तर्गत खिचापोखरी बस्ने रेवतीकुमारी घलेसमेत

मुद्दा : बण्डा बदर गरिपाउँ

(१)  अंशबण्डाको १६ नं. बमोजिम अविवाहिताले अरू अंशियारले पाउने अंशको आधा अंश पाउनेमा अरू अंशियारले पाउने सरह नै अंशबण्डा गरेको मिलेको नदेखिने ।

(प्रकरण नं. १३)

फैसला

          न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक वादी माधव घलेले चढाएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.   मुद्दाको विवरण यस प्रकार छ : आमा मच्क्षे भाउजू, सरिता दिदीसमेत संगै बस्न नसकी ०२८।४।२३ मा घरसारमा बण्डापत्र खडा गरी २४ गते पास गरी मानो छुट्टी बेगल बसेकी पास भई बेग्लै बसे पनि बण्डा गर्दा अंश पाउनेको अंशबण्डा गर्नुपर्छ भन्ने अंशबण्डाको २ नं. र उमेर पुगी विवाह नभएकी छोरीले आधा अंश पाउँछ भन्ने अंशबण्डाको १६ नं. मा व्यवस्था भएको, अंशबण्डा सो बमोजिम नभई घटी भएको, खिचापोखरीको घर आमा र भाउजू समेत जना ३ ले बराबरका दरले पाउने र अविवाहिता दिदी सरिताले मैले पाउनेमा आधा भाग पाउनेमा सरिता समेत ४ जनालाई बराबर भागबण्डा लगाएको बण्डापत्रबाट देखिएकै छ । यस्तो आमा रेवतीकुमारीलाई १ नाले घर बढी र छोरी सरितालाई फिरादी सरह नपाउने घटी बढी पारी व्यहोरा समेत जनाई गरेको ०२८।४।२४ को बण्डापत्र बदर गरिपाउँ भन्ने समेत ०२८।७।२२।२ को माधव घलेको फिराद ।

          ३.   रेवती बृद्ध र सरिता अविवाहिता भएकोले निजहरूलाई केही बढी भए पनि निजका शेषपछि म समेतका अंशियारले पाउने भन्ने लेखिएको घटी बढी पारी बढी भएको कानूनले बदर हुने भए मैले पाएको बण्डा घर मर्मत गरिसकेको मेरो भाग सदरै राखी रेवतीले बढी लिएको घरबाट भागबण्डा बमोजिम सरितालाई बढी देखिएको कट्टा गरी छुट्टाई पाउँ भन्ने समेत मच्छे घलेको प्रतिउत्तर रहेछ ।

          ४.   वादीले आफ्नो भागमा परेको घर धमाधम बिगार्नु बनाउनु गरी रहेको म रेवतीले आफ्नो निजी हकको बण्डा गर्नु नपर्ने घर पनि सबैलाई धर्म सम्झी भाग लगाई दिइसकेको कुरामा म बृद्ध रेवतीलाई र मेरो हेरचाह पालन पोषण टहल गरिरहने म सरितालाई दुःख दिने कुनियतमा लागी नालेस गर्नु हो निजका दावा अनुसार पास बण्डापत्र बदर वातिल गर्न हाम्रो मञ्जूर छैन भन्नेसमेत रेवतीकुमारी घले तथा सरिता घलेको संयुक्त प्रतिवादी रहेछ ।

          ५.  आमाको भाग बढी रहेकोलाई जिउनी उल्लेख भएको बण्डापत्रमा देखिन नआएको र विवाह नभएकी छोरी सरिताले छोरा सरह अंश लिएको बण्डापत्रबाटै देखिएको समेतबाट ऐनको प्रतिकूल बण्डापत्रलाई चित्त नबुझे अंशबण्डाको ३२ नं. बमोजिम चित्त नबुझेका कुरामा उजूर गर्न पाउने भई कानूनी व्यवस्था भएकोले कानूनले पाउने भन्दा बढी लेखिएको जति बण्डापत्रको कुरालाई सदर मान्न नसक्ने हुँदा दावी बमोजिमको घरको बण्डामा घटी बढी भए सम्म बण्डापत्र बदर हुने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३०।३।२५।२ को फैसला रहेछ ।

          ६.   अ.बं.२४ नं. बमोजिम बाहेक लिखतबदर हुन नसक्ने हो कि भन्न अंशबण्डामा चित्त नबुझेमा ३ महीना भित्र नालिस गर्न पाउने कानूनी व्यवस्था भएपछि अ.बं.२४ नं. बमोजिम मात्र बदर हुन सक्छ भन्न मिलेन, पुनः बण्डा गरिपाउँ भन्ने बाध्यता वादी पक्षलाई कुनै कानूनले गरेको समेत नहुँदा पुनरावेदन जिकिर पुग्न नसकी शुरूले लिखत बदर गर्ने जनाउ दिने गरी तपसीलमा उल्लेख भएको मनासिव र घटी बढी भई बण्डा गरेको सम्म बदर गरेको गल्ती ठहर्छ भन्नेसमेत बा.अं.अदालतको ०३१।११।१९ को फैसला रहेछ ।

          ७.  वादी दावी अनुसारको बण्डापत्र बदर भएपछि पुनः बण्डा नछुट्याएमा वादी प्रतिवादीहरू सगोलको स्थितिमा रहनजाने हुन्छ र अंशबण्डाको ३२ नं. को प्रयोजन विफल हुन जाने हुन्छ । अंशबण्डाको ३८ नं. बमोजिम अंशबण्डा घटी बढी भएकोमा अंशबण्डा बदर गरिपाउँ भन्ने दावी गर्ने होइन यस्तो स्थितिमा अंशमा दावी नभएको बण्डापत्र बदर सम्ममा निर्णय गर्न नमिल्ने हुँदा वादीको दावी अंशबण्डाको ३२ नं. अन्तर्गत पर्न आएको देखिएन अधुरो दावी भएको नालिस खारेज गर्नुपर्नेमा ठहर तहकिकात गरेको मिलेको नहुँदा सो फैसला बदर हुने ठहर्छ र प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३२।११।३।१ को फैसला ।

          ८.   मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदन गर्ने अनुमित पाई डिभिजन बेञ्चबाट निर्णय हुँदा आमा रेवतीकुमारीलाई १ नाले घर बढी र दिदी सरिता घलेलाई फिरादी सरह नै बराबर पाउने कुरा र भागबण्डा समेत गरी लिई सकेको हुनाले यस्तो घटी बढी पारी गरेको मिति ०२८।४।२४ को बण्डापत्र बदर गरिपाउँ भन्ने पुनरावेदन माधव घलेको फिराद दावी रहेछ उक्त ०२८।४।२४ को बण्डापत्र स्वेच्छाबाट गरेको होइन भन्ने निज वादी माधव घलेको फिराद लेखाईबाट देखिँदैन । मुलुकी ऐन अदालती बन्दोबस्तको ३४ नं. मा आफ्नो खुसीराजीले जानी बुझी सहिछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने समेतका कुराहरू उल्लेख भएको पाइन्छ । उपरोक्त ०२८।४।२४ को बण्डापत्र वादी माधव घलेले खुसीराजीले गरेको भन्ने कुरा वादी लेखाईबाट नै सिद्ध हुन आउँछ । मुलुकी ऐन अंशबण्डाको ३२ नं. मा अंशबण्डा गर्दा ऐन बमोजिम गरी दिनु पर्छ घटी बढी पार्न हुँदैन भन्नेसमेत वाक्य रहेको छ । अंशियारहरू सबैको मञ्जूरले खडा गरेको बण्डापत्रबाट आफ्नाफ्ना भागको सम्पत्तिकै बण्डा गरेको रहेछ भन्ने सिद्ध हुन्छ । यिनै अंशियारहरू आफूआफू बसी अंशबण्डा गरी लिखित खडा गरेकोमा घटी बढी पारी बण्डा गरी दिनु हुँदैनभनी अंशबण्डाको ३२ नं. मा परेको वाक्यले वादी माधव घलेलाई मद्दत गर्न नसक्ने हुँदा वादी दावी खारेज गर्ने गरेको म.क्षे.अदालतको मिति ०३४।२।२०।५ को इन्साफ मनासिव ठहर्छ भन्ने समेत ०३४।१२।२९ गते निर्णय भएको रहेछ ।

          ९.   उपरोक्त मुद्दा दोहोर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा अदालती बन्दोबस्तको २४ नं. को ऐनमा करकापबाट कागज गराउन नहुने समेत विषयलाई लिएर बनेको देखिन्छ । उक्त ऐनको विषय प्रस्तुत मुद्दाको विषयमा मिल्न नआउने हुँदा अदालती बन्दोबस्तको २४ नं. ऐनको अन्त्यमा रहेको आफ्नो खुसिराजीले जानी बुझी सहिछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने उल्लेख भएको वाक्यांशबाट छुट्टै विषयको अंशबण्डाको ३२ नं. ऐनमा भएको व्यवस्था अनुसार उजूर गर्न पाउने हकलाई असर पार्न सक्ने हुँदैन, छोराले पाउने अंश भाग भन्दा आमालाई बढी र छोराको भागको १/२ अंश पाउने छोरीलाई छोरा बराबर भाग गरी घटी बढी गरी अंशबण्डा गरेकोलाई आफ्नाफ्ना भागको सम्पत्तिको बण्डा गरेको भन्न मिल्ने हुँदैन अंशबण्डाको ३२ नं. ऐन बमोजिम गरेको वादी दावाको ठहर निर्णय नभई खारेज भएबाट उक्त अंशबण्डाको ३२ नं. ऐनको सर्वोच्च अदालतको फैसलामा त्रुटि हुन गएको देखिन आएको छ भन्ने समेत उल्लेख भएको रहेछ ।

          १०.  यसमा विपक्षी प्रतिवादी रेवती घले, सरिता घले तर्फबाट उपस्थिति विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव ढुङ्गानाले अंशबण्डामा यति घटी बढी भयो चिŒा बुझेन दिलाई पाउँ भन्ने दावा नभएको, बण्डापत्र सम्पूर्ण बदर गरिपाउँ भन्ने दावा गरेको हुँदा खुसिराजीले बण्डापत्र गर्ने व्यक्तिले नै त्यस्तो सम्पूर्ण बदर गरिपाउँ भन्ने दावा गर्न पाउने हकदैया छैन त्यसो हुँदा वादी दावा खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा आमा रेवतीकुमारी तथा विधुवा भाउजू मच्छे, म समेतजना ३ ले बराबरका दरले अंशबण्डा पाउने र अविवाहिता दिदी सरिताले हामीहरूले पाएको अर्थात म फिरादीको भाग भन्दा आधी मात्र पाउनु पर्नेमा आमा रेवतीलाई १ नाले घर बढी र दिदी सरिताले म फिरादी सरह नै बण्डा गरी लिएकी हुनाले त्यस्तो घटी बढी पारी खडा गरेको बण्डापत्र कानूनले सदर नहुने हुँदा उक्त ०२८।४।२४ मा रजिष्ट्रेशन पारित भएको अंशबण्डाको लिखत बदर वातिल गरिपाउँ भन्ने समेत निवेदक वादीको फिराद दावी भएको अ.बं.२४ नं. मा आफ्नो खुसिराजीले जानिबुझी सहिछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने उल्लेख भएको पाइन्छ । अंशबण्डाको ३२ नं. मा अंशबण्डा गर्दा ऐन बमोजिम गरी दिनु पर्छ, घटी बढी पार्न हुँदैन भन्ने समेत वाक्य रहेको छ । यिनै अंशियारहरू आफूआफू बसी अंशबण्डा गरी लिखत खडा गरेकोमा घटी बढी पारी बण्डा गरी दिन हुँदैन भनी अंशबण्डाको ३२ नं. मा परेको वाक्यले वादी माधव घलेलाई मद्दत गर्न नसक्ने हुँदा वादी दावी खारेज गर्ने गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

          ११.  उपरोक्त बण्डापत्र पारित भएको अवस्था प्रचलनमा रहेको अंशबण्डाको ३२ नं. मा अंशबण्डा गर्दा ऐन बमोजिम गरी दिनु पर्छ घटी बढी गर्न हुँदैन अंशमा चित्त नबुझे १६ वर्ष नाघेकोले बण्डापत्रको कागज भएका मितिले र १६ वर्ष मुनिकाले १६ वर्ष नाघेका मितिले ३ महीना भित्र नालिस नगरे लाग्न सक्तैनभन्ने उल्लेख भएबाट अंशबण्डा गरेकोमा घटी बढी हुन गई चित्त नबुझेमा चित्त नबुझ्ने अंशियारले सो बण्डापत्र भएको मितिले ३ महीना भित्र उजूर गर्न पाउने उक्त अंशबण्डाको ३२ नं. मा व्यवस्था भएको प्रष्टै देखिएको सो अनुसार अंशबण्डा घटी बढी भयो भन्ने वादी माधव घलेको बण्डापत्र पारित भएको मिति ०२८।४।२४ बाट ३ महीना भित्रै ०२८।७।२२ मा प्रस्तुत फिरादपत्र डायर भएको देखिएको र वादीहरूको बण्डापत्र पारित भएका बखत प्रचलित तत्कालिन अंशबण्डाको २ नं. मा यस महलमा अन्यथा लेखिएमा बाहेक यसै महलको १ नम्बर बमोजिम अंशबण्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नु पर्छ भन्ने र अंशबण्डाको नं. १६ मा पैंतीस वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोरा सरह छोराले पाउने अंशको आधी अंश पाउँछ भन्ने उल्लेख भएको देखियो, सो कानूनी व्यवस्थाबाट विवाह नभएकी वादीकी दिदी प्रतिवादी सरिताले वादीले पाएको अंश भागको आधा हिसाबले निज सरिताले अंश पाउने र अरू वादी र प्रतिवादी, वादीको आमा रेवतीकुमारी, भाउजू मच्छे घले समेत ३ जनाले बराबरका दरले अंश पाउने समेत देखिन्छ, तर वादी र प्रतिवादीहरूका बीच अंशबण्डा भई रजिष्ट्रेशन पारित भएको ०२८।४।२४ को बण्डापत्र हेर्दा निज अविवाहिता प्र.सरिता घलेको भागमा वादीले पाए सरहको बराबर भाग दिई अंशबण्डा गरेको र वादीकी आमा रेवतीकुमारी घलेको भागमा वादी र वादीकी भाउजू मच्छे घलेको भाग सरह अंश भाग दिई त्यसभन्दा पनि बढी १ नाले १ तले लम्बाई फिट २३ को घर कित्ता १ बढी अंश भाग दिई अंशबण्डा गरेको देखियो ।

          १२.  उक्त अंशबण्डाको १६ नं. ले निज अविवाहिता सरिता घले अरू अंशियारले पाएको अंशको आधा हिसाबले पाउनेलाई अरू अंशियारले पाएको सरह नै वादीले पाएको भाग बराबरको अंशबण्डा दिने पाउने गरेको र अंशबण्डाको २ नं. बमोजिम वादीले पाए सरह बराबर अंश पाउने निजकी आमा रेवतीकुमारीलाई वादी सरहका सबै अंशियारले पाए सरहको मात्र अंशबण्डा पाउनेमा सो भन्दा बढी १ नाले १ तले लम्बाई फिट २३ को घर कित्ता १ बढी अंश भाग पाउने गरी गरेको उक्त बण्डापत्र घटी बढी गरी गरेको बण्डापत्र भन्ने प्रष्ट हुन आएको छ ।

          १३.  अब उपरोक्त उल्लेखितानुसार घटी बढी गरी गरेको बण्डापत्रमा कति हदसम्मको बदर हुने हो भन्ने तर्फ विचार गर्दा, प्रतिवादी अविवाहिता सरिता घले वादीको दिदीले उक्त अंशबण्डाको १६ नं. ले वादीले पाएको अंश भागको आधाको हिसाबले अंश भाग मात्र पाउनेले वादीले पाए सरहकै बराबरको भागबण्डा लिने गरेको मध्ये आधा मात्र निजले पाउने भई बढी लिने गरेको निजले नपाउने आधा भागको निज सरिताको अंश भाग र वादी सरहको अंशियार निजको आमा रेवतीकुमारीले पनि वादी र निजको भाउजू प्र.मच्छे घलेले पाए सरहको हिसाबले मात्र बराबर हिसाबले अंश भाग पाउनेमा १ नाले १ तले लम्बाई फिट २३ को घर कित्ता १ बढी अंश दिने गरेको प्र.रेवतीकुमारीको उक्त अंश भागसम्म बदर हुने ठहर्छ । मुद्दा खारेज गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०३४।१२।२९ को निर्णय मिलेको देखिएन तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

तपसील

माथि इन्साफखण्डमा लेखिएबमोजिम डिभिजन बेञ्चको इन्साफ उल्टी भएकोले देहायको कलममा देहाए बमोजम गर्नु भनी का.जि. अ.त.मा कानून बमोजिम लगत दिनु ………………..१

माध्यमाञ्चल क्षेत्रीय अदालतको ०३२।११।३ को फैसला र ०३३।९।२२ को फैसला संशोधन आदेश बमोजिम देहायको कलममा देहाय बमोजिम गर्ने भनी लगत दिने गरेकोमा हाल सो बमोजिम गर्नु परेन व्यहोरा जनाई सो लगत कट्टा गरी दिने………..१

वादी माधव घलेले वादीले फिराद दर्ता गर्दा राखेको कोर्टफी रू.१० मा नालिस दस्तूर रू.१। कट्टा गरी बाँकी नलाग्ने कोर्टफी रू.९ फिर्ता पाउने हुँदा फिर्ता पाउँ भनी दर्खास्त परे फिर्ता दिनु भनी लगत दिने गरेको कलम ……………………१

प्रतिवादी रेवती घले, सरिता घले के का.जि. अ.को फैसलाले निज प्रतिवादीहरूबाट वादी माघव घलेलाई भराई दिने गरेको कोर्टफी रू.८।३७ प्रतिवादीहरूले बा.अं.अ.मा पुनरावेदन गर्दा धरौट राखेकोले अब सो धरौटी रकम वादीलाई भराउनु पर्ने हुँदा लगत काटी दिने र उक्त रकम प्रतिवादीहरूलाई नै निजहरूको दर्खास्त परेको बखत फर्ता दिनु भनी का.जि. अ.त.मा लगत दिने गरेको कलम ……………………. २

वादी माधव घले के म.क्षे.अ.उपर स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१।५० र मुद्दा फुल बेञ्चबाट दोहोर्‍याए वापत राखेको कोर्टफी रू.१ समेत जम्मा कोर्टफी रू.२।५० हार्ने प्रतिवादीबाट भरी पाउने हुँदा सो कोर्टफी भराई पाउँ भनी देहायका प्रतिवादीको जायजात देखाई नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५(११) को म्याद ३ वर्ष भित्र वादीको दरखास्त परे दस्तूर केही नलिई देहाएका प्रतिवादीबाट बराबरका दरले वादीलाई भराई दिने ………………..२

प्र.रेवतीकुमारी १, प्र.सरिता घले १, प्र.मच्छे घले १,

वादी माधव घले र प्रतिवादी रेवतीकुमारी, मच्छे घले, सरिता घले समेतको बीचमा ०२८।४।२४ मा रजिष्ट्रेशन पारित गरी भएको बण्डापत्र मध्ये सरिता घलेको अंशभागको अंशबण्डामध्ये आधा भाग र प्र.रेवतीकुमारी घलेको भागमा बढी राखेको १ नाले १ तले लम्बाई फिट २३ को घर कित्ता १ अंश भाग सम्म बदर भएको व्यहोरा जनाई दिनु भनी मालपोत कार्यालय काठमाडौंमा लेखी पठाई दिने ……………………३

 

हामीहरू सहमति छौं ।

 

प्र.न्या. नयनबहादुर खत्री

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३६ साल मार्ग २१ गते रोज ६ शुभम् ।