निर्णय नं. १२८५ – बिगो भराई चलन चलाई पाउँ
निर्णय नं. १२८५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको दे.पु.नं. १४१ फैसला भएको...
निर्णय नं. १२८५ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री घनानाथ पन्त
सम्वत् २०३५ सालको दे.पु.नं. १४१
फैसला भएको मिति : २०३६।७।२७।३ मा
पुनरावेदक : वीरबहादुरको मुद्दा सकार गर्ने श्रीमती अम्बिका कसजू
विरूद्ध
विपक्षी : ऐ.ऐ.को हाल का.जि. बांगेमुडा न्हौखा टोल बस्ने गुणकेशरी जोशी
मुद्दा : बिगो भराई चलन चलाई पाउँ
(१) जग्गामा झगडा परी हक नछुट्टी रहेको जग्गाको बालीको दावी नभई मोहियानी हक ठहरेको जग्गाको २०१२ साल देखि २०१७ सालको बालीको दावी गरी फिराद परेको देखिन आएको र मोहीले आफ्नो श्रमशक्ति नलगाएका अवस्थाको बाली वा त्यसको क्षतिपूर्ति जग्गाधनीबाट भराई लिन पाउने कानूनी व्यवस्था नहुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने वादी वीरबहादुरको मु.स.गर्ने अम्बीका कसजुको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।५।१६ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको मुद्दाको तथ्य निम्न अनुसार छ ।
२. ०१२ साल आषाढमा जम्मा २० माना मध्ये आधा मेरो फार्सा १० मानाको र मेरो मोहियानी १० माना समेतको तोरी बाली लुटपिट र १० माना मोहियानी पट्टि जग्गा खिचोला गरेमा मैले वादी दिएकोमा मेरो मोहियानी सदर भई ०१७।३।२८ मा मध्यमाञ्चल उच्च अदालतबाट फैसला भएको ०१२ साल देखिको ठासी स्वाश मकै माना बीउ माना ।।६ विष्णुमती माना ।.।२ को गडवोनी माना ।.।२ को समेत जम्मा ।१।२ को ०१२ साल देखि ०१७ साल तकको जम्मा बिगो रू.०९६।४ मध्ये सालको तिरो रू.१३।५० का दरले ६ सालको रू.८१ कट्टा गरी बाँकी रू.२०१५।४ भराई जग्गा चलन चलाई पाउँ भन्ने समेत वादीको फिराद ।
३. ०११ सालको बाली लुटेको नठहरी फैसला भएको वादी लेखबाट देखिन्छ । ०१७।४।१९ गते मकै, कोदो,भटमास, तोरी पाकेको हुँदैन दावी झुठ्ठा हो ०११ सालदेखि मैले भोगेको भन्ने ०१७।३।२८ को फैसला साक्षी भयो । ०१२ साल देखि ०१७ साल सम्म जग्गा कमोद नगरेको र बाली नबुझाएमा वादी सावित छ । फैसलाले मोहियानी हक वादीको ठहर्छ भन्नेले ०८।९।१०।११ साल सम्मको मोही ठहरियो त्यसपछि जग्गा कमोद नगर्ने बाली पनि नबुझाउने व्यक्ति जग्गाको मोही कसरी ठहर्छ उक्त जग्गा पूर्णबहादुरले कमाएको बाली तोरी आएको छ । दावी झुठ्ठा हो भन्नेसमेत प्रतिवादी ।
४. दावी साँचो नभए प्रतिवादी दर्ता गरी इन्कारी लिनु पर्नेमा प्रतिवादी नै नपरेकोले बिगो रू.२०१५। वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ वादीले ४ किल्ला नलेखिएको हुनाले चलन चलाउन मिल्दैन भन्ने समेत चरिकोट ईलाका अदालतको ०१८।९।६ को फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी गुणकेशरी जोशीनीको पुनरावेदन । इन्साफ तत्कालिन पूर्व २ नं. चरिकोट इलाका अदालतको मनासिव ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको ०२२।८।२६ को फैसला ।
६. सो फैसला कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी गुणकेशरीको निवेदनमा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिङ्गलबेञ्चको ०३३।४।२७ को आदेश ।
७. यिनै पक्ष विपक्षको जग्गा बाली लुटपिट मुद्दामा मध्यमाञ्चल उच्च अदालतबाट भएको ०१७।३।२८।२ को फैसला हेर्दा विपक्षी वादी झगडा परेको जग्गाको मोही ठहर भएको देखिएको विर्ता उन्मूलन ऐन, २०१६ लागू भइसकेपछि वादीले सो जग्गा (क) श्रेणीमा (ख) श्रेणीको विर्ता जग्गा के हो सो सम्बन्धमा उपर्युक्त अधिकारीकहाँ गई छुट्याउन सक्नेमा सो बमोजिम भए गरेको नदेखिएको उक्त लेखिए बमोजिम वादीले (क) श्रेणीको हो भने यसरी ? (ख) श्रेणीको भए यो यस्तो किसिमले गरी झगडा किनारा भएको सालसम्म वर्ष ६ को बाली समेत भराई चलन चलाई पाउँ भनी शर्त सहित अनिश्चित दावीबाट बाली भराउन नमिल्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ । शुरू तथा अञ्चल अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३६।५।२१ को फैसला ।
८. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी वीरबहादुरको मु.स.गर्ने अम्बिका कसजुको निवेदनमा उक्त जग्गा क.वा ख.जुन श्रेणीको जग्गा ठहरे पनि मोहियानी हकमा बाली भराउन मुद्दा चल्ने हुनाले कुनै पनि कानूनको आधार नदेखाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला गरेको सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रुटि देखिनाले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।५।१६ को आदेश ।
९. पुनरावेदीका तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले पुनरावेदक अञ्चल अदालतको फैसलाले मोही ठहर भइराखेको र सो मुद्दा पर्दाका अवस्थाको बालीमा दावी परेको मुद्दा बाली भराई पाउनु पर्नेमा बाली भरी नपाउने गरेको फैसला मिलेको छैन भन्ने समेत र विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले उच्च अदालतका फैसलाले पुनरावेदक मोही ठहर भएको त्यस प्रकार मोहीले जग्गाधनीबाट बाली भराई पाउँ भनी दावी गर्ने कानूनी व्यवस्था नभएकोले क्षेत्रीय अदालतको फैसला मिलेको छ भन्ने समेत बहस गर्नुभएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ।
१०. यसमा निर्णयतर्फ हेर्दा वादीले प्रमाण दिएको मध्यमाञ्चल उच्च अदालत सिङ्गलबेञ्चको ०१७।३।२८ को फैसलाले वादीको मोहियानी हक ठहर भएको देखिन्छ । तत्कालीन मुलुकी ऐन बाली झगडाको २० नं. को व्यवस्था हेर्दा जग्गामा झगडा पर्दा मामिला फैसला नभई हक नछुट्टिइरहेको बाली जतिमा सो मामिला छिनिएका १ वर्षभित्र नालेस नदिए लाग्न सक्दैन भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दा जग्गामा झगडा परी हक नछुट्टिइरहेको जग्गाको बालीको दावी नभई मोहियानी हक ठहरेको जग्गाको २०१२ सालदेखि २०१७ सालको बालीको दावी गरी फिराद परेको देखिन आएको र मोहीले आफ्नो श्रमशक्ति नलगाएका अवस्थाको बालीको त्यसको वा क्षतिपूर्ति जग्गाधनीबाट भराई लिन पाउने कानूनी व्यवस्था नहुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन वादी दावी लाग्न नसक्ने भई खारेज गर्ने गरेको हदम्याद मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । कोर्टफी लागी पुनरावेदन दर्ता भएको हुँदा केही गर्नुपरेन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
म सहमत छु ।
न्या. घनानाथ पन्त
इति सम्वत् २०३६ साल कार्तिक २७ गते रोज ३ शुभम् ।