October 26, 1979
Created by nepalarchives

निर्णय नं. १२८२ – लेनदेन

निर्णय नं. १२८२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको दे.पु.नं. १५२ फैसला भएको मिति...

निर्णय नं. १२८२ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३५ सालको दे.पु.नं. १५२

फैसला भएको मिति : २०३६।७।९।६ मा

पुनरावेदक : का.न.पं.वार्ड नं. १३ बस्ने मधुकर महर्जन

विरूद्ध

वादी :  ऐ.का.न.पं.वार्ड नं. २० पकनाजोल बस्ने बद्रीमाया श्रेष्ठ समेत

विषय : लेनदेन

(१)  रूपैंयाँ भराई पाउँ भनी लेनदेन व्यवहारको २ नं. बमोजिम फिराद गरेकोमा २ नं. को व्यवस्था हेर्दा सो नम्बर तमसुक भई लेनदेन व्यवहार भएको अवस्थामा मात्र लागू हुने देखिएकोले बैनाको रूपमा कागज गरी दिएकोमा उक्त २ नं. को हदम्याद लागू हुने नभई लेनदेन व्यवहारको ४० नं. को हदम्याद लागू हुने ।

(प्रकरण नं. १०)

फैसला

          न्या. विश्वनाथ उपाध्याय : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.   विपक्षीले हामीहरूलाई रोपनी १ को रू.२०,०००। का दरले १०।१० आना जग्गा ६ महीना भित्र बाँकी रूपैयाँ बुझी लिई राजीनामा गरी दिने गरी हामीहरूसँग रू.४,०००। का दरले जम्मा रू.८,०००। बैना लिई मिति २०२७।१०।२६ मा कागज गरी दिएको सो जग्गा श्री ५ को सरकारबाट अधिग्रहण भइसकेको जग्गा राजीनामा गरी दिउँला भनी ठगी गरेकोमा नालिस गर्दा लिखित भएकोले ठगी गरेको ठहर्दैन । साहु आसामी सरह गर्नु भनी का.जि. अ.र बागमती अञ्चल अदालतबाट समेत फैसला भएकोले सो फैसला अनुसार लेनदेनतर्फ नालिस गर्न आएका छौं । जम्मा रू.८,०००। प्रतिवादीबाट भराई पाउँ भन्ने समेत बद्रीमाया, जगतकुमारीको संयुक्त फिराद दावी ।

          ३.   ठगी गरे भनी अघि नालिस गरी फैसला भइसकेकोमा वादीहरू सावितै हुनुहुन्छ । वादीहरूको यो फिराद दावी मुलुकी ऐन, अ.बं.८५ नं. को प्रतिकूल हुनाले फिराद नै लाग्न नसक्ने, उसमा पनि वादीहरूको फिराद करार ऐन, २०२३ अनुरूप नभएकोले वादीहरूको फिराद खारेज गरिपाउँ भन्ने समेत मधुकर महर्जनको प्रतिउत्तर ।

          ४.   जग्गा राजीनामा गरी दिउँला भनी रू.८,०००। बैना लिई लिखत गरी दिएमा प्रतिवादी सावित भएकोले वादी दावी बमोजिम रू.८,०००। वादीहरूलाई प्रतिवादीले दिन तिर्न पर्ने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।

          ५.  उक्त फैसलामा चित्तबुझेन भन्नेसमेत प्र.को बा.अञ्चल अदालतमा परेको पुनरावेदन ।

          ६.   करारऐन अनुसार प्रस्तावद्वारा स्वीकृत गराई करार भएको नदेखिनाले करार भन्न नमिल्ने । धन दिने साहु र रूपैयाँ लिने जग्गा दिने आसामी भनिने भई साहू आसामी भई लिनु दिनु गरेको व्यवहार हुनाले लेनदेन व्यवहारको २ नं. को म्यादभित्र फिराद गर्न सक्ने नै देखिनाले का.जि. अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

          ७.  उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा चढाएको निवेदनमा बैना लिनु दिनु भई भरपाई भएको देखिएको, यस्तोमा २ वर्ष म्याद लाग्ने भन्ने ने.का.प.२०२२ फुल बेञ्च नि.नं. २७६ बाट प्रतिपादित सिद्धान्त भएको देखिँदा सो अनुरूप बा.अं.अ.को फैसला नभई कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिएको छभन्ने सिङ्गलबेञ्चको आदेश ।

          ८.   लिखतमा साहू आसामी भन्ने बोली शब्द उल्लेख नभए तापनि वादी दावीको लिखतको प्रकृतिबाट साहू आसामी रहेको र कर्जा ऋण लिए दिएको समेत देखिँदा केवल लिखतमा साहू आसामी भन्ने शब्द र ऋण भन्ने शब्द नरहेबाट साहू आसामी हैनन् ऋण लिनु दिनुभएको छैन भन्ने पुनरावेदकतर्फका अधिवक्ताको बहससँग सहमत हुन सकिएन । निर्णय नं. २७६ हेर्दा सिमेन्ट दिने वापत बैना रूपैयाँ लिएको भरपाई देखिने र निर्णय नं. ८०१ हेर्दा कारोबारको हिसाब गरी बाँकी ठहर्न आएको रूपैयाँ सम्बन्धी लिखत देखिई हाल वादीले दावी लिएको विषय सम्बन्धी लिखत देखि बेगल कारोबार सम्बन्धी लिखत देखिँदा उक्त नजीरहरू प्रस्तुत मुद्दामा लागू हुन सक्ने नदेखिनाले सिङ्गलबेञ्चले सर्वोच्च अदालतको २०२२ सालको निर्णय नं. २७६ को प्रतिपादित सिद्धान्तको आधारमा बागमती अञ्चल अदालतबाट भएको फैसलामा कानूनी त्रुटि देखाई पुनरावेदनको अनुमति प्रदान गरेको आदेशसँग सहमत हुनसकिएन । प्रतिवादी पुनरावेदकको पुनरावेन जिकिर पुग्न सक्तैन । बा.अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत २०३५।४।२२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ९.   उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ प्रतिवादीले चढाएको निवेदनमा जग्गा सुक्रिबिक्री गरी लिने शर्त गरी बैना वापत दिएको रूपैयाँको लिखतलाई कर्जा लेनदेन कारोबारको लिखत भनी ठहर गरी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले गरेको निर्णयले लेनदेन व्यवहारको ४० नं. र निर्णय नं. २७६ मा फुल बेञ्चबाट प्रतिपादित भएको सिद्धान्तको प्रत्यक्ष त्रुटि हुन गएकोले पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छभन्ने समेत डिभिजन बेञ्चको आदेश ।

          १०.  पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो । यसमा २०२७।१०।२६।३ को लिखत हेर्दा प्रतिवादीले वादीसँग जग्गा बिक्री गर्न भनी रू.८,०००। बैना वापत लिई शर्तनामाको लिखत गरी दिएको देखिन्छ । उक्त रूपैयाँ भराई पाउँ भनी वादी लेनदेन व्यवहारको २ नं. बमोजिम फिराद गर्न आएको पाइन्छ । उक्त २ नं. को व्यवस्था हेर्दा सो नम्बर तमसुक भई लेनदेन व्यवहार भएको अवस्थामा मात्र लागू हुने देखिन आउँछ । प्रस्तुत मुद्दामा लेनदेन भएको रू.८,०००। तमसुक गरी लेनदेन भएको नभई जग्गा बिक्री गर्न बैनाको रूपमा कागज गरी लिएको देखिनाले उक्त २ नं. को हदम्याद लागू हुने नभई लेनदेन व्यवहारको ४० नं. को हदम्याद लागू हुने देखिएकोले बागमती अञ्चल अदालतले लेनदेन व्यवहारको २ नं. लगाई गरेको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर हुने ठहर्छ । तपसील बमोजिम गर्नु ।

         

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म. क्षेत्रीय अदालतको फैसला बदर ठहरेकोले ०३२।३।१० को का.जि. अ.को फैसला र बागमती अञ्चल अदालतको ०३२।३।१० को फैसालले वादीलाई प्रतिवादीबाट भराउने गरेको देहायको रकम भराई सकेको भए फिर्ती र भराई नसकेको भए लगत कट्टा गरी दिनु भनी का.जि. अ.मा लगत दिनु…………….१

का.जिअ.त.ले भराउने गरेको बिगो रू.८,०००। र कोर्टफी ३६०।६५ समेत रू.८३६०।६५ र बा.अं.अ.ले भराउने गरेको कोर्टफी रू.६६०।६५ प्रतिवादीले देहायका अदालतमा राखेको कोर्टफी वादीहरूबाट बराबरका दरले प्रतिवादीले भरी पाउने हुँदा कानूनका म्यादभित्र प्रतिवादीको दर्खास्त दस्तूर केही नलिई भराई दिनु भनी का.जि. अ.त.मा लगत दिनु……………….२

वा.अं.अ.मा रू.३६०।६५, म.क्षे.अ.मा रू.६२।८०, स.अ.मा रू.५४।

नियमानुसार गरी मिसिल बुझाई दिनु……………….३

 

उक्त रायमा म सहमति छु ।

 

न्या. घनानाथ पन्त

 

इति सम्वत् २०३६ साल कार्तिक ९ गते रोज ६ शुभम् ।