August 13, 1979
Created by nepalarchives

निर्णय नं. १२७८ – उत्प्रेषण लगायत परमादेश जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. १२७८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०३५ सालको रिट नम्बर ७२८ आदेश भएको मिति...

निर्णय नं. १२७८ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् ०३५ सालको रिट नम्बर ७२८

आदेश भएको मिति : २०३६।४।२८।२ मा

निवेदक : का.जि. फर्पिङ स्वखेल गा.पं. वडा नं. ९ बस्ने रणबहादुरको छोरा धने विष्ट

विरूद्ध

विपक्षी : भूमिप्रशासक जिल्ला भूमिसुधार कार्यालय काठमाडौं समेत

विषय :   उत्प्रेषण लगायत परमादेश जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ

(१)  निवेदकले विपक्षीलाई रसिद गरिसकेको भए आफूले नै सकार गरेको तलबमा अन्यथा गर्न दिनु मनासिव नहुँदा भरपाई भएको लिखतहरूलाई तहकिकातमा नल्याई उपेक्षा गरी गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट :  विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

आदेश

          न्या. हेरम्बराज : विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

          २.   मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : वादी धने विष्ट र प्रतिवादी रामकुमार खत्री भएको जोत दर्ता गर्ने सम्बन्धमा सोखेल गा.पं. वडा नं. ७(क) कि.नं. ४८ को पा.पै.रोपनी ४० को जोताहा पद्मबहादुर खत्री भएको निज परलोक भइसकेको र छोरा स्वास्नी समेत परलोक भइसकेको हुँदा मेरो नाममा जोत दर्ता गरिपाउँ भन्ने धने विष्टको निवेदन सनाखत र पञ्चायत सिफारिशमा पद्मबहादुर परलोक भए तापनि निज सदोहर बुहारी र नातिले जग्गा कमाई घरमा बसोबास गरेको भन्ने र सरजमीन गर्न पठाउँदा बुहारी पार्वती खत्री र नाति रामकुमार खत्री हुन् भन्ने उल्लेख भई म्याद जारी गरी बुझ्दा सो व्यहोरा सत्य साँचो हुँदा त्यसमा सहोदर बुहारी र नाति छँदाछँदैमा कोही पनि छैन भनी ज.ध.मा नाममा मोही लगत कट्टा गरी जोताहा समेत राख्न औचित्यपूर्ण नहुने हुँदा प्रस्तुत निवेदनबाट कारवाही गर्न नपरी तामेलीमा राखी दिने भन्ने समेत जिल्ला कार्यालय भूमिसुधार कार्यालय काठमाडौंबाट ०३४।४।२७ मा निर्णय भएको रहेछ ।

          ३.   उक्त निर्णय बदर गरिपाउँ भनी लिइएको मुख्य जिकिर यस प्रकार छ : उक्त जग्गाको मोही पद्मबहादुर र ०२९ सालमा परलोक भएदेखि यता विपक्षीहरूले कहिल्यै जग्गा जोतेको छैन निवेदकले नै सो जग्गा जोती आएको छु भूमिसम्बन्धी ऐन, ०२१ को दफा १ (ग) मा बुहारी र नातिलाई मोहियानी हक नै तथा प्राप्ति हुने व्यवस्था गरेको पाइँदैन र ऐनको परिभाषा भित्र निज विपक्षीहरू पर्न आउँदैनन् ऐनले नै त्यस कुराको व्यवस्था गरेको छैन । कानूनले नै व्यवस्था नगरेको कुरा भूमिप्रशासन जिल्ला भूमिप्रशासन कार्यालय काठमाडौंबाट कानूनको विपरीत निर्णय गरेको प्रष्ट छ । मोही हुनलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४(१) बमोजिम जग्गा कमाएको कबुलियत हुनुपर्छ सो भन्न सकेको छैन, बाली बुझाएको रसिद पेश गरेको भनेकोमा निवेदकको जग्गाको बाली अन्यत्र व्यक्तिले बुझी भरपाई दिएको मान्यता नहुने र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २(ख)(ग) दफा २६(१) र दफा ३४(१) र सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत भएको हुनाले उक्त निर्णय बदर हुनुपर्छ भन्ने समेत उल्लेख छ ।

          ४.   विपक्षीहरूबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।६।३।३ को आदेश ।

          ५.  सो जग्गा मेरा ससुरा पद्मबहादुर र लोग्ने कृष्णले अघिदेखि कमाई घरबास गरी आएको सो जग्गाको सालको पोत तिरो रू.२०। तिरी बटुवाँलाई पनि स्थायी कबुलियत बमोजिम ०३३ सालसम्मको बाली वादीका बाबु सानु पद्मबहादुर विष्टलाई बुझाई भरपाई लिएको र ०३४ सालको बाली बुझाउन जाँदा वादीका दाजु सानु पद्मबहादुरले हाम्रो जग्गा बण्डा भई ४७ र ४८ किल्ला भयो मलाई ३० को रू.९। बुझाउ भरपाईलाई रू.११। बुझाउनु भनी भरपाई गरी दिए बमोजिम निवेदकलाई रू.११। बुझाएको र भए भाइ दाजुले दिए पछि मैले दिनु पर्दैन भनी नदिएको जग्गा अघिदेखि अहिलेसम्म १ कित्ता भएको र ०२९ साल देखि उक्त जग्गा हामीले कमायाको भनी निवेदकले भनेको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिम १ वर्ष मात्र कमाए पनि मोही हक कायम हुने भएकोले अधिकार प्राप्त अधिकारीले कानून बमोजिम गरेको निर्णयले निवेदनकको कुनै कानूनी हक हनन नभएकोले प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत पार्वती खत्रिनी र रामकुमार समेतको लिखितजवाफ ।

          ६.   भूमिप्रशासक जिल्ला कार्यालय ठाठमाडौंको नाउँको सूचना म्याद ०३५।८।९ गते बुझी सो म्यादभित्र लिखितजवाफ पेश भएको देखिएन ।

          ७.  यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो त्यसको निर्णय दिनुपर्ने हुन आएको छ ।

          ८.   प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले गर्नुभएको बहस समेत सुनी निवेदकको वा नरहरी घिमिरेलाई राहेवरमा राखी निर्णयतर्फ विचार गर्दा सोही मोही पद्मबहादुर परलोक भएपछि निजको स्वास्नी छोरा परलोक भएको हुँदा निजको नाउँको मोहियानी लगत कट्टी गरी जोत हक समेत मेरै नाउँमा राखी पाउँ भन्ने जग्गावाला धने विष्टको निवेदनमा निजको बुहारी र नाति छँदाछँदैमा कोही पनि छैन भनी जग्गाधनीका नाममा मोहियानी हक कायम राख्न नमिल्ने भनी निवेदनपत्रमा भू.सु.कार्यालय काठमाडौंले पर्चा गरेको रहेछ ।

          ९.   यस निवेदनको जवाफमा पद्मबहादुरकी बुहारी पार्वती खत्रीनी र छोरा रामकुमारले जवाफ दिँदा निवेदकलाई र निजको बाबु सानु पद्मबहादुरलाई कूत बुझाई आएको देखिन्छ भन्ने जवाफ दिएकोबाट यो निवेदकले मोहियानी विपक्षी रामकुमार समेतलाई रसिद गरिसकेको भए आफूले नै सकार गरेको तलबमा अन्यथा गर्न दिनु मनासिव नहुँदा त्यस्तो भरपाई भनेका लिखतहरूलाई तहकिकातमा नल्याई उपेक्षा गरी गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ अब ऐन बमोजिम गर्नु भनी भूमिप्रशासन कार्यालय काठमाडौंका नाममा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षीकहाँ महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३६ साल श्रावण २८ गते रोज २ शुभम् ।