September 6, 1979
Created by nepalarchives

निर्णय नं. १२७४ – उत्प्रेषण

निर्णय नं. १२७४      ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश स.श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रिट.नं. ११०३ आदेश भएको...

निर्णय नं. १२७४      ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश स.श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३५ सालको रिट.नं. ११०३

आदेश भएको मिति : २०३६।५।२१।५ मा

निवेदक : रामेछाप गैलु गा.पं. वार्ड नं. १ सिक्राल बस्ने झनकबहादुर खत्री

विरूद्ध

विपक्षी : श्री जिल्ला अदालत रामेछाप समेत

विषय : उत्प्रेषण

(१)  एकाको नाउँमा नापी दर्ता भइरहेको जग्गावालाको नाउँ कटाई अर्काको नाउँमा दर्ता गर्दा प्राकृतिक न्यायको सिद्धान्त अनुसार दर्तावालालाई बुझी कानून बमोजिम गर्नुपर्नेमा सो नबुझी दाखिल खारेज गरेको मालपोत कार्यालय रामेछापको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. ८ )

निवेदक तर्फबाट :  विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट :  विद्वान स.वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्याय

आदेश

          न्या. त्रैलोक्यराज अर्याल : विपक्षी जिल्ला अदालत रामेछापको मिति ०३५।५।१४ को पत्रको आधारमा विपक्षी मालपोत कार्यालयले मिति ०३५।६।४ मा मेरो हक भोग तिरोको जग्गा विपक्षी कोमलकुमारी बुडा क्षेत्रीको नाउँमा दर्ता गर्ने गरी गरेको निर्णय बदर गरिपाउँ भनी संविधानको धारा १६।७१ अनुसार प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

          २.   मुद्दाको तथ्य यस प्रकार छ : गैलु गा.पं. वडा नं. ६ सिक्राल बस्ने वादी कोमलकुमारी बुडाको र प्रतिवादी भुवानसिंह खत्रीसँगको जग्गा खिचोला मुद्दामा खिचोला गरेको ठहराएको पल्लमान बुडाको साँध तेश्रो मुलबाटोदेखि पूर्व भुवानसिंह खत्रीको साँध मूलबाटो देखि पश्चिम साउने पानी खोल्सा यमबहादुरको देखि उत्तर, कृष्णबहादुर बुडाको साँधदेखि दक्षिण यति ४ किल्ला भित्रको विजन पाथी ।१ मध्ये विजन माना ।।१ को गाडापानी खरबारी जग्गा हाल सर्वे नापीमा गैलु गा.पं.वार्ड नं. ६ कि.नं. १८० को र कि.नं. ४१, ४२, ४३, ४९, ५०, ५१, ४४, ४५, ३२, ४९, ५०, ५१ को झगडा र सन्धीसर्पन जनिएका जग्गाहरू मध्ये विपक्षीको छोरा झनकबहादुरको नाउँमा कि.नं. १८० को समेत नाम कट्टा गरी मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने वादी कोमलकुमारीको यस जिल्ला अदालतमा दरखास्त पर्न आएकोले यस अदालतको ०३३।७।१५ गतेको फैसला र जनकपुर अञ्चल अदालतको ०३५।३।२९ को फैसला अनुसार जग्गा वादी प्रो.कोमलकुमारीका नाउँमा दर्ता गरिदिनु हुन अनुरोध छ भन्ने विपक्षी जिल्ला अदालतले मालपोत कार्यालय रामेछापलाई ०३५।५।१४ मा लेखी पठाई मालपोत कार्यालयको ०३५।६।४ को निर्णयले गैलू गा.पं.वार्ड नं. ६ क कि.नं. १८० को मेरो हक भोग तिरोको जग्गा मेरा नाउँबाट लगत कट्टा गरी विपक्षी कोमलकुमारीका नाउँमा दर्ता गरी मेरो नाउँको जग्गाधनी दर्ता प्रमाणपूर्जामा लगत काटिएको व्यहोरा आफ्नो जग्गाधनी प्रमाणपूर्जाको नक्कल ०३५।१०।२२ मा सारी लिँदा थाहा भयो।

          ३.   म जग्गाधनीलाई कुनै जानकारी नै नदिई मेरो हक भोग दर्ता तिरोको जग्गा विपक्षी कोमलकुमारीको नाउँमा गरिदिने भन्ने मालपोत कार्यालयको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल छ । वादीले दावी गरेकोमा फैसलामा जे जति कुरा उल्लेख छ सो फैसला अनुसार मात्र लेखी पठाउन सकिनेमा जिल्ला अदालतले विपरीत गरी मेरो जग्गा कोमलकुमारीको नाममा दर्ता गरी दिनु भनी मालपोत कार्यालयलाई लेखेको छ । सो जग्गा झगडा परेको भए सर्वे नापीमा झगडा जनाएको हुनुपर्ने सो समेत छैन अर्को तर्फ विपक्ष कोमलकुमारी र भुवानसिंह खत्रीको उल्लिखित जग्गा खिचोला मुद्दा परेको छ । मसँग मुद्दा परेको छ भन्ने लेखाई नै छैन । मेरो नाउँ दर्ताको जग्गा वार्ड नं. ६(क) कि.नं. १८० को वार्ड नं. ६ कि.नं. १८० को पत्रको आधारमा मेरा नाउँमा दर्ताको अभिलेख तर्फ कुनै ध्यान नदिई मलाई नबुझी विपक्षी कोमलकुमारीको नाउँमा दर्ता गरिदिने गरेको मालपोत कार्यालयको निर्णयबाट मेरो नेपालको संविधानको धारा १०(१), ११(२)ङ र धारा १५ को मौलिक हकमा समेत आघात पुगेकोले विपक्षी जिल्ला अदालतको ०३५।५।१४ को पत्र र विपक्षी मालपोत कार्यालयको ०३५।६।४ को निर्णय र सो को आधारमा गरिएको काम कारवाही उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश जारी गरी बदर गराई पाउँ भन्ने रिट निवेदन ।

          ४.   विपक्षीहरूबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।११।९।४ को आदेश ।

             विपक्षी रिट निवेदकले वास्तविक व्यहोरा ढाकछोप गरी फितलो दावा जिकिर लिई रिट निवेदन गर्न आउनु भएको छ । रिटमा उल्लिखित जग्गाको सम्बन्धमा निजका पिता भुवान सिंहसँग जग्गा खिचोला मुद्दा चली रिट प्रकरणमा उल्लिखित ४ किल्ला भित्रको मेरो दर्ता हक भोगको जग्गामा विपक्षीका पिताले खिचोला गरेको ठहराई ०३३।७।१५ मा रामेछाप जिल्ला अदालतबाट भएको फैसला उपर ०३५।३।२९ मा शुरू जि. अ.को फैसला मनासिव ठहराई जनकपुर अञ्चल अदालतबाट भएको फैसला अन्तिम रूपमा कायमै छ । उक्त फैसलामा उल्लिखित मेरो ४ किल्ला भित्रको जग्गा नै विपक्षी रिट निवेदकका नाउँमा निजका पिता भुवानसिंहले सर्वे नापी हुँदाका बखत नपाई दिँदा उक्त गैलु गा.पं.वार्ड नं. ६(क) कि.नं. १८० समेत कि.नं. कायम हुन आएको हो । अदालतको फैसलाबाट मैले जिती पाएको सो फैसला विपक्षीले बदर गराउन नसकेकोबाट अदालतको मिति ०३५।५।१४ को पूर्जीबाट विपक्षीको नामबाट उक्त जग्गा मेरो नाममा मालपोत कार्यालयले दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा दिएको कानूनसंगत छ, रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको कोमलकुमारी वुडा क्षेत्रीको लिखितजवाफ रिट निवेदनमा उल्लिखित जग्गा प्र.भुवानसिंहले खिचोला ठहराई यस रामेछाप जिल्ला अदालतबाट ०३३।७।१५ मा भएको फैसला उपर पुनरावेदन पर्दा ०३५।३।२९ मा जनकपुर अञ्चल अदालतबाट समेत अन्तिम फैसला भएकोले सो जग्गा चलन चलाई पाउँ भन्ने वादी कोमलकुमारीको निवेदन पर्न आएको र फैसला कार्यन्वित गर्ने गराउने मुलुकी ऐन दण्ड सजायको ४४ नं. मा प्रष्ट कानूनी व्यवस्था हुँदा फैसला अनुरूप जिती पाएको जग्गा दर्ता गरिदिन मालपोत कार्यालयमा ०३५।५।१४ मा लेखी पठाएको हो । रिट निवेदकको हक हनन् हुने कुनै कार्यवाही भएको छैन । वादी कोमलकुमारी प्र.भुवानसिंहको जग्गा मुद्दा चल्दाचल्दै नापी भएको र रिट निवेदकले कुन आधारबाट हक प्राप्त भई नापीमा जग्गा दर्ता भयो सो खुलाउन सकेको देखिँदैन । निजको जग्गा एक व्यक्तिहरूले मुद्दा गरी हारजित फैसला गरेको भए अ.बं.८६ नं. र जग्गा मिच्नेको २८ नं. समेतको कानूनी आधार लिई कार्यवाही चलाउनु पर्नेमा सो पनि गरेको नदेखिएको र फैसला कार्यान्वित गर्ने सिलसिलामा विपक्षीलाई मौका दिइरहनु पर्ने कानूनी व्यवस्था नभएको तथा बुबासँग मुद्दा पर्दाकै अवस्थामा निजको नाउँमा जग्गा दर्ता नहुने हुँदा विपक्षीले कानून प्रतिकूल अदालतमा मुद्दा पर्दापर्दैको जग्गा दर्ता गराई गैह्र कानूनी काम गरेको स्वतःसिद्ध छ रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको रामेछाप जिल्ला अदालतको लिखितजवाफ ।

          ६.   यस अदालतको फैसला र जनकपुर अञ्चल अदालतको अन्तिम फैसला अनुसार रिट निवेदनमा उल्लिखित जग्गा वादी कोमलकुमारीको नाममा दर्ता गरिदिन अनुरोध छ भन्ने रामेछाप जिल्ला अदालतको ०३५।५।१४ को पत्रानुसार दण्ड सजायका ४४ नं. बमोजिम फैसला कार्यन्वयन गर्न लेखिएको देखिन आएकोले जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहित बमोजिम विपक्षीको नाममा दर्ता भएको कि.नं. १८० दाखिल खारेज गरिएको हो । रिट निवेदकले जग्गाधनी दर्ता प्रमाणपूर्जाको मात्र आधार लिएको र फैसला कार्यान्वयन गर्दा विपक्षीलाई प्रतिवाद गर्ने मौका दिनुपर्ने कानूनी व्यवस्था भएको देखिँदैन । रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यवहोराको मालपोत कार्यालय रामेछापको लिखितजवाफ ।

          ७.   तारिखमा रहेका निवेदक झनकबहादुर खत्री तथा विपक्षी कोमलकुमारी बुडा क्षेत्रीलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल र विपक्षी रामेछाप जिल्ला अदालत तथा मालपोत कार्यालयका तर्फबाट बहस निमित्त खटिनु भएका विद्वान सरकारी वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्यायको बहस सुनी मिसिल समेत अध्ययन गरी रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश जारी हुनुपर्ने हो होइन त्यसको निर्णय दिनु परेको छ । यसमा वादी कोमलकुमारी प्रतिवादी भुवान सिंह भएको जग्गा खिचोला मुद्दामा रामेछाप जिल्ला अदालतबाट भएको फैसला सदर गरी जनकपुर अदालतबाट भएको अन्तिम फैसलाले खिचोला गरेको ठहराएको ४ किल्ला भित्रको विजन पाथी १ मध्ये विजन माना ।।१ को गाडापानी खरपानी जग्गा विपक्षी भुवान सिंहको नाम भएको रिट निवेदनमा उल्लिखित कि.नं. का जग्गाहरू र निजका छोरा झनकबहादुरका नाउँमा रहेको कि.नं. १८० को समेत नाउँ कट्टा गरी मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने कोमलकुमारीको दरखास्त पर्न आएकोले जिल्ला अदालतबाट भएको ०३३।७।१५ र अञ्चल अदालतबाट भएको ०३५।३।२९ को फैसला अनुसार जग्गा वादी कोमलकुमारीको नाउँमा दर्ता गरी दिनु होला भनी रामेछाप जिल्ला अदालतबाट ०३५।५।१४ मा मालपोत कार्यालय रामेछापलाई पत्र लेखिएको र सो बमोजिम माल कार्यालयबाट जग्गा दाखिल खारेज गर्दा कि.नं. १८० को निवेदक झनकबहादुरको नाउँमा नापी दर्ता भएको जग्गासमेत नामसारी दाखिल दर्ता गरेको व्यहोरा लिखितजवाफ समेत देखिन आयो ।

          ८.   वादी कोमलकुमारी प्र.भुवनसिंह भएको जग्गा खिचोला मुद्दामा निवेदक झनकबहादुरलाई बुझी निरोपण भएको फैसला नक्कलबाट नदेखिएको र हाल सो मुद्दामा भएको फैसला बमोजिमको जग्गा कोमलकुमारीको नाउँमा दर्ता गरिदिनु भन्ने अदालतबाट भएका पत्रानुसार मालपोत कार्यालय रामेछापबाट पनि निज निवेदक झनकबहादुरलाई बुझी निरोपण गरेको भन्ने कुरा लिखितजवाफ समेतबाट देखिन आएन । एकाको नाउँमा नापी दर्ता भइरहेको जग्गा दर्तावालाको नाउँ कटाई अर्काको नाउँमा दर्ता गर्दा प्राकृतिक न्यायको सिद्धान्त अनुसार दर्तावालालाई बुझी कानून बमोजिम गर्नुपर्नेमा सो नबुझी दाखिल खारेज गरेको मालपोत कार्यालय रामेछापको ०३५।६।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदक झनकबहादुरलाई कानून बमोजिम बुझी कानूनबमोजिम फैसला गर्नु भनी रामेछाप मालपोत कार्यालयमा लेखी पठाई दिनु । विपक्षीको जानकारीको लागि यस आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई दिई नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३६ साल भाद्र २१ गते रोज ५ शुभम् ।