निर्णय नं. १२७२ – अंश
निर्णय नं. १२७२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको देवानी नम्बर १३२ फैसला भएको...
निर्णय नं. १२७२ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३४ सालको देवानी नम्बर १३२
फैसला भएको मिति : २०३६।३।१।५ मा
पुनरावेदक : रामजीभक्त कलवार जि. सुनसरी देवानजङ्ग गा.पं. वडा नं. २ बस्ने
विरूद्ध
विपक्षी : नारायणभक्त कलवार ऐ.ऐ.बस्ने
मुद्दा : अंश
(१) प्रतिवादीको जिकिर विचार नगरी रजिष्ट्रेशन पासभएको बण्डापत्र नभएको भन्ने आधारमा वादी प्रतिवादीहरूको बीच अंशबण्डा नभएको भनी पूर्वाञ्चल क्षेत्रीयअदालतले गरेको फैसलामा अ.बं. ४९ नं. को गम्भीर कानूनी त्रुटि भएको देखिन आउने ।
(प्रकरण नं. १७)
फैसला
न्या. विश्वनाथ उपाध्याय : उपरोक्त मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट २०३३।७।३।३ मा कानूनी त्रुटिपूर्ण फैसला गरेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदकको निवेदनमा पुनरावेदनको अनुमति दिने गरी श्री सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३४।९।१२।३ का आदेश बमोजिम पुनरावेदनमा दर्ता भई प्रस्तुत मुद्दा पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : बाबु रामप्रसाद भगतका ३ भाइ छोरा मध्ये जेठा म सुठी भगत माइला विपक्षी रामजी भगत कान्छो भगत नारायण भगत हो दाजु मुसुदी २६ सालमा परलोक हुनु भयो । निजको पत्नी सहित कोही छैनन् । हामी २ भाइ मात्र बाँकी रही २०२७ साल भाद्र महीनाको गते बारको सम्झना रहेन विपक्षीको मेरो परिवार समेतमा कलह भई एक ठाउँमा बस्न नसक्दा घरमा भएको हाँडा भाँडा ३ भाग लगाई २०२७।६।२४ गते भिन्न भई अलग बसे विपक्षी भएमा गई मैले पाउने आधा अंश दिनुहोस् भनी माग्दा अंशबण्डा गरी नदिई मेरो अंश खाने पचाउने उद्देश्य लिनु भएको बाबुले कमाएको र हामी दाजुभाइ समेतले आर्जन गरेको अचल सम्पत्ति सबै विपक्षी तथा छोराहरूका नाउँमा दर्ता राखी आएकोले जि. सुनसरी घुम्तीहाट देवानगञ्ज रामगञ्ज सीतावारी तथा चिन्दी गा.पं.अन्तर्गत समेतकै के कति जग्गा दर्ता छ मुख्य घरको व्यवहार गर्ने दाजु नै भएकोले मलाई थाहा छैन अचल सम्पत्ति र चौपायाको अंशबण्डाको २१ नं. बमोजिम तायदाती लिई अंशबण्डाको १४ नं. बमोजिम २ भाग मात्र लगाई सो २ भाग मध्ये १ भाग मलाई दिलाई पाउँ भन्ने वादी ।
३. वादी मेरो सहोदर भाइ हुन र १९९७ साल कार्तिकमा हो, तत्अवस्था अचल सम्पत्ति केही नभई जो जति भएको भाँडो वर्तन हातहातै बाँडी बुझी दिनु भई अंशबण्डा गरी बेग्ला बेग्लै घरद्वार बनाई कारोबार आदि गरी बसिआएका छौं । अंशबण्डाको कागज गराउनलाई अचल सम्पत्ति केही नभएकोले कागज गराउने अवस्था परेन मैले निकै परिश्रम मिहेनत गरेकोले मेरातर्फ केही उन्नति हुँदै रहेको र भाइ परिश्रम नगर्ने भएकोले उन्नति गर्न सकेन तापनि मैले कर्जाको रूपमा समेत मद्दत गर्दै आएको जस अनुसार १५ साल श्रावण १० गते कपाली तमसुक लेखी वादीले लिएको भा.रू.२२९। तिर्न सक्नु भएन र मैले पनि नालिस गरिँन । पुनः वादीले २५।९।२८ मा मबाट रू, ७७०। कर्जा लिई कपाली तमसुक लेखिदिएको लिखत स्थानीय देवानगञ्ज गा.पं.बाट मिति २०२५।१०।१४ गते हामी धनी ऋणी दुवैले निवेदन दिई प्रमाणित समेत भएको सो रकम वादीले दिएपछि सो लिखत चित्तल गरेको भरामत्री भगतको हक दर्ताको प्र.भोला भोलेनी मौजे देवानगञ्जको निजी जग्गा बिगाहा २ मध्ये दक्षिण तर्फबाट जग्गा बिगाहा ।।।.।। वादीले घरबास निमित्त मसँग मागेको समयमा मेरो मञ्जूरबाट घरबास गरी आएको नापीमा देवानगञ्ज गा.पं.वार्ड नं. २ कि.नं. १३ मा जग्गा बिगाहा ।।।.।। नक्सा भएकोमा फिल्डबुकको उक्त कित्ताको बयानमा वादीले यो कित्ता मेरो दाजु रामजी कलवारको नम्बरी हो घरबास गरी आएको हुँ भनी बयान गरी यही यो जग्गा मलाई लिखत गरी दिनुहोस् भन्दा रू.९९। मा घरसारी राजीनामा तमसुक गरी दिई दाखिल दर्ता समेत भएको हुँदा ६ महीनापछि रामबृक्षराम रौनियारलाई रू.२०५०। मा ०२७।१२।२७ गतेमा दृष्टिबन्धक लेखी दिएको छ मतदाता लिष्टमा घर संख्या २९ मा वादीको घर संख्या ३० मा मेरो परिवार लेखिएको माथि लेखिए बमोजिम ९७ साल कार्तिकमा अंशबण्डा भई अलग–अलग भएको भन्ने म प्रतिवादी तथा ०२७।६।४ गते भिन्न भई आफ्नो परिवार लिई अलग बसें भन्ने फिराद भएकोले मुख नमिलेको जस्तो देखिए पनि १५ सालको आम चुनावमा मतदाता घर संख्या अलग–अलग देखिएकोले त्यस भन्दा अघि नै अलग भई बसेकोमा दुई मत नहुनाले वादी दावीबाट अलग गरिपाउँ भन्ने प्रतिवादी ।
४. देखाएका कागज मेरो खुशी राजीबाट गराएको होइन अंशबण्डा सम्बन्धी कागज भनी सुनाई जालाजबाट सही गराएका हुन् जालसाज गरेमा सजाय गरिपाउँ भन्ने वादीको बयान ।
५. जालसाज जबरजस्तीबाट कागज गराएको होइन भन्ने प्रतिवादीको बयान ।
६. लिखतमा वादीले राजीखुशीबाट रूपैयाँ लिई सही गरेको हो सो लिखत मेरो हस्ताक्षरबाट लेखेको हो जालसाज भन्ने वादीको बयान झुठ्ठा भन्ने सुरजुगरामको बयान ।
७. लिखतमा म साक्षी बसेको हुँ रूपैयाँ लिई पढी बाँची सुनी वादीले सही गरेको हो भन्ने अब्दुल मियाँको बयान ।
८. बुझिएका सबूद प्रमाणबाट ०२७ साल आश्विन १४ गते वादी भिन्न भई बसेको भन्न मिलेन र तत्कालिन मुलुकी ऐन अंशबण्डाको ४९ नं. मा अंशबण्डा गर्दा जम्मा २ रोपनीसम्मको खेत पाखोमा १००। रूपैयाँसम्म मोलिने अचल सम्पत्ति घर बण्डा गर्दा रजिष्ट्रेशनको ऐनले रजिष्ट्रेशन पास गर्नु नपर्ने जतिको बण्डापत्र नगरीकन यति साक्षी राखी ऐन बमोजिम बण्डा गरेको सदर हुन्छ भन्ने समेत रजिष्ट्रेशनको ३ नं. मा अंश सम्बन्धमा अंशबण्डाको बण्डापत्र मध्ये दाखिल खारेज गर्नुपर्ने भन्ने अचल जग्गा र पक्की घर जतिको मात्र रजिष्ट्रेशन पास गर्नुपर्ने व्यवस्था भएको देखिनाले ९७ सालमा रू.१००। रूपैयाँ भन्दा बढी मोलिने चल सम्पत्ति र अचल सम्पत्ति थियो भन्ने सबूद वादीले दिन नसक्नु भएको र जुन रू.२२९। को कपाली तमसुक जालसाजी हो भन्ने हुन्छ यसमा कानून बमोजिम उजूरी गरी बदर गराउनु भएको सबूद पनि नपाइएको र प्रतिवादीकै कि.नं. १३ को जग्गा वादीले २०२७।५।२१ मा राजीनामा लिई भएको राजीनामाको नक्कलको नक्कल पेश भई मिसिल सामेल रहेको र सोही जग्गा वादीले रामवृक्षराम रौनियारलाई दृष्टिबन्धकी दिएको लिखत पारित मुद्दाको मिसिल प्रमाण आएको सबै देखिएको सबूद प्रमाणबाट वादीलाई प्रतिवादीले अंश दिन पर्ने ठर्हदैन । लिखत जालसाजी भन्ने तर्फ वादीले रू.२८।६३ जरिवाना असूल गर्ने भन्ने शुरू सुनसरी जिल्ला अदालतको २०३२।२।१९ को फैसला ।
९. प्रतिवादीले अंश दिनु नपर्ने ठहराएको ईन्साफमा चित्त बुझेन बदर गरी वादी दावी बमोजिम अंश पाउँ भन्ने वादीको पुनरावेदन ।
१०. अंश दिइसकेको छु भन्ने जिकिर लिनेले नै सो कुराको प्रमाण पुर्याउनुपर्छ भन्ने कानूनी सिद्धान्त प्रतिपादित भइसकेको छ । प्रतिवादी जिकिर अनुसार १९९७ साल कार्तिक चल सम्पत्तिको बण्डा भइसकेको भन्ने कुराको ऐन बमोजिमको प्रमाण पेश हुन सक्नु पर्ने सो पेश हुन नसकेको देखिँदैन तसर्थ प्रतिवादीको यो जिकिर पुग्न सक्ने देखियो । उक्त मितिपछि पनि ऐन बमोजिम अंशबण्डा भएको भन्ने प्रमाण आउन सकेको देखिँदैन प्रमाण निमित्त पेश भएको फिल्डबुक उतारमा दाजु रामजी भगतको नम्बरी भनी वादीले लेखाएको भए तापनि प्रतिवादी दाजुको नाउँमा दर्ता भई सो जग्गा यो वादीले घर बनाई सकेको भन्ने समेत अर्थ आउँछ र यस कागजको आधारमा अंशबण्डा भइसकेको भन्ने अर्थ गर्न मिल्दैन । २०१५।४।१०।६ को कागज सद्दे भए पनि सो कागज र २०२७।१२।२७ मा वादीले रामवृक्षराम रौनियारलाई गरी दिएको दृष्टिबन्धकको कागज वादी दावीले उक्त कागजहरूमा लेखिए बमोजिमको व्यवहार गरेको देखिन आए पनि ऐन बमोजिमको बण्डापत्रको कागज खडा गरी लिने दिने दुवै थरीको सही भई ऐनमा भएको व्यवस्था अनुसार सो कागज रजिष्ट्रेशन पारित भइसकेपछि मात्र अशंबण्डा भइसकेको भनी कानूनी मान्यता दिन मिल्ने हुनाले सो अनुसारको प्रमाण मिसिल साथ रहे भएको नदेखिएको र त्यस्तो प्रमाण छ भनी प्रतिवादीले जिकिर लिन समेत नकसेकोबाट वादी प्रतिवादी बीचमा अंशबण्डा भइसकेको ठहराउन नमिल्ने हुनाले वादीले दावी अनुसार अंश पाउने ठहर्छ, अशं दिनुपर्दैन भनी जिल्ला अदालतले गरेको इन्साफ गल्ती ठहर्छ ।
११. अब अंशबण्डा गरी दिनलाई मानो छुटिएको मिति कायम गर्ने तर्फ हेर्दा २७ साल आश्विन १४ गते म मानो छुट्टिएको भन्ने वादीको भनाई भएको र १९९७ साल कार्तिकमा नै चल सम्पत्ति लिई वादी अलग बसेको म प्रतिवादी जिकिर हुँदा दुवै पक्षको मुख नमिलेको हुँदा फिराद दायर भएको मिति २०२८।९।२०।३ मा म छुट्टिएको मिति कायम हुन सो भन्दा अघिल्ला दिन सम्मको दुवै पक्षबाट चल अचल श्रीसम्पत्ति सबैको ऐन बमोजिम तायदाती फाँट लिई ऐन बमोजिम गरी २ भागको १ भाग वादीको अंश छुट्ट्याई दिनु भनी हाजिर रहेका पक्ष विपक्षलाई तारिख तोकी शुरू सुनसरी जि. अ.मा पठाई दिनु भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३३।७।३।३ को फैसला ।
१२. वादीसँग १९९७ साल कार्तिकदेखि भिन्न बसेको छु भन्ने मेरो सत्य प्रतिवादी यो कुरा साक्षीहरूबाट पनि प्रमाणित भइरहेकोमा त्यस अवस्थामा पैत्रिक सम्पत्ति नभएबाट बण्डापत्रको कागज खडा गर्नु पर्ने अवस्थै आई परेन मेरो परिश्रमले सम्पत्ति आर्जन गरी आएकोले र समय समयमा विपक्षीलाई आर्थिक ऋण दिई सहयोग गर्दै आएको कागज मसँग छ । २०१५।४।१० मा भा.रू.२२९ मिति ०२५।९।२८ मा रू.६७०। को कागज मसँग छ । २०२५।१०।१४ मा दुवै जनाको मञ्जूरीबाट देवानगञ्ज गा.पं.मा कर्जा प्रमाणित गराएको पनि छु मेरो देवानगञ्जको ०–२–० कठ्ठा जग्गा मध्ये ०–०–१५½ धूर जग्गा मेरो राजीशुखीबाट निजलाई घर बनाई बस्न दिएको जुन कुरा फिल्डबुकमा पनि सो जग्गा लिखत गरी दिनु होस् भन्दा रू.९९। को थैलीमा घरसारमा राजीनामा गरी दिएको र सोही जग्गालाई विपक्षीले रामवृक्ष रौनियारलाई रू.२०५०। मा २०२७।१२।७ गते दृष्टिबन्धक गरी दिएका हुन मतदाता फाराममा परिवार अलग–अलग देखिएको हुँदा वादीलाई अंश दिनु नपर्ने भन्ने सिद्ध हुँदाहुँदै पनि मसँग तायदाती लिई अंश छुट्याई दिने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको हुँदा सो फैसला कानूनी त्रुटिपूर्ण छ । त्यसकारण पुनरावेदनको अनुमति पाउँ भन्ने समेत निवेदकको निवेदनपत्र ।
१३. यसमा २ भागको १ भाग अंश पाउँ भन्ने वादी १९९७ सालमा नै भिन्न भएकोले अंश दिनुपर्ने हैन भन्ने समेत प्रतिवादी भएको प्रस्तुत मुद्दामा ऐन बमोजिम बण्डापत्रको कागज पास भइसकेपछि भाग कानूनी मान्यता दिन मिल्ने सो अनुसारको प्रमाण मिसिल साथ नरहेको अंशबण्डा ठहराउन नमिल्ने हुँदा वादी दावी अनुसार अंश पाउने ठहर्छ भन्ने समेत २०३३।७।३।३ मा निर्णय गरेको रहेछ । २०००।७।१ गते अघि ९७ सालमा नै वादी प्रतिवादी छुट्टिई बेग्लै बसेको भन्ने प्रतिवादी भएपछि मानो छुट्टिएको कागज पासै हुनुपर्छ भन्ने कानूनी बाध्यता नभएकोमा बण्डापत्र पास नभएको भनी २०२८।९।२०।३ मा मानो छुट्टिएको कायम गरी प्रतिवादीबाट वादीले अंश पाउने ठहराई गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय प्रत्यक्षतः कानूनी त्रुटि देखिएबाट पुनरावेदनको अनुमति दिने भन्ने समेत डिभिजनको २०३४।९।१२।३ को आदेश बमोजिम पुनरावेदनमा दर्ता भई बेञ्च समक्ष पेश हुन आएको छ ।
१४. प्रस्तुत मुद्दामा निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले वादी प्रतिवादीहरूको बीच ९७ सालमै छुट्टिई भिन्न भएको त्यस अवस्थामा पैतृक सम्पत्ति केही नभएको कारणबाट बण्डापत्र खडा गर्नुपर्ने कुनै जरूरत नभएको बण्डापत्र अथवा मानो छुटिएको रजिष्ट्रेशन गराउनु पर्ने २००० साल कार्तिक देखि पछिलाई मात्र भएको त्यसकारण रजिष्ट्रेशन पास गराउनु पर्ने अवस्थै नभएको यदि वादी उसै टायममा छुटिएको नभए मेरो पक्षको प्रतिवादीमा उल्लेख गरिए बमोजिम वादीले पटक–पटक ऋण खाई तमसुक गरी दिनु नपर्ने र १५½ धूर जग्गामा घर बनाउन रू.९९। मा राजीनामा गरी दिएको सोही जग्गालाई रामवृक्ष रौनियारलाई रू.२०५०। मा राजीनामा गरी विपक्षीले दिएको यावत प्रमाणबाट वादी ९७ सालदेखि नै छुट्टिई बसेको हुँदा अंश दिनु नपर्नेमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट वादीलाई अंश दिलाउने गरी फैसला गरेको हुँदा सो फैसला बदर गरी शुरू जिल्ला अदालतको फैसलामा सदर हुनुपर्ने भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
१५. विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले बिना रजिष्ट्रेशन पारित गरी बण्डापत्र हुनु बेगर ९७ सालमा छुटिएको भन्ने मौखिक भनाईलाई आधार लिई गरेको जिकिर अनुसार छुटिएको कायम हुन नमिल्ने ९७ सालमा छुट्टिएको भए चल सम्पत्ति बुझेको कागज पेश हुनुपर्ने यो छ भन्न पुनरावेदकले नसकेको हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतले अंश दिलाउने ठहर गरेको जायज हुँदा वादीले एक भाग अंश पाउनु पर्ने हो भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
१६. प्रस्तुत मुद्दामा वादीलाई १ भाग अंश दिलाई दिने गरेको इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालतको ठीक बेठिक के रहेछ भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
१७. निर्णयतर्फ पुनरावेदकको वारेस दिनेश्वरप्रसाद र विपक्षी वादीलाई समेत रोहवरमा राखी दुवै पक्षका विद्वान अधिवक्ताहरूको बहस समेत सुनी विचार गर्दा यसमा १९९७ सालमै हामीहरूका बीचमा अंशबण्डा भइसकेको छ अचल सम्पत्ति केही पनि नभएको र चल सम्पत्ति पनि रू.१००। भन्दा कम भएकोले तत्काल प्रचलित मुलुकी ऐन अंशबण्डाको महलको ४९ नं. बमोजिम बण्डापत्र खडा गर्न र रजिष्ट्रेशन पारित गर्न आवश्यक नभएकोले नगरेको भन्ने प्रतिवादीको मुख्य जिकिर देखिन्छ । यस्तो स्थितिमा प्रतिवादीको उक्त जिकिरमा विचार नगरी रजिष्ट्रेशन पारित भएको बण्डापत्र नभएको भन्ने आधारमा मात्र वादी प्रतिवादीहरूको बीचमा अंशबण्डा नभएको भन्ने एकाएक निष्कर्षमा पुगेको उक्त अंशबण्डाको ४९ नं. को गम्भीर कानूनी त्रुटि भएको देखिन आउँछ, तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला बदर हुने हुँदा शुरू सुनसरी जिल्ला अदालतको मनासिव ठहर्छ । तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
तपसील
पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३३।७।३।३ को फैसला लगत कायम नरहने हुँदा देहाय बमोजिम गर्ने गरेको लगत काटी दिनु…………….१
उपरोक्त वादी प्रतिवादी दुवै पक्षबाट २०२८।९।२०।३ मा मानो छुट्टिएको मिति कायम हुने हुँदा सो अघिल्ला दिन तकको दुवै पक्षबाट चल अचल सम्पत्तिको तायदाती फाँट लिई २ भागको १ भाग वादीको अंश छुट्याई दिने भन्ने कलम ………………….१
अंश छुट्याउन वादीबाट रहेको कोर्टफी समेत भराई दिने गरेको कलम ………….१
पुनरावेदक प्रतिवादी रामजीभक्त कलवारबाट यस अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कार्टफी रू.२५। पच्चीस मिति २०३४।१०।४।३ मा यस अदालतमा दाखिल भई ऐ.७ गते ल.न.शाखाको जि. अ.त.मा दाखिल गरेको हाल नलाग्ने हुँदा पुनरावेदकलाई ऐन बमोजिम दर्ता फिर्ता गरी दिनु भनी का.जि. अ.त.मा बुझाई दिनु…………………२
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३५ साल आषाढ १ गते रोज ५ शुभम् ।