निर्णय नं. १२७१ – राजकाज अपराध
निर्णय नं. १२७१ ने.का.प.२०३६ डिभिजन बेञ्च माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको फौ.पु.नं. १३२।१४४ आदेश भएको मिति...
निर्णय नं. १२७१ ने.का.प.२०३६
डिभिजन बेञ्च
माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३४ सालको फौ.पु.नं. १३२।१४४
आदेश भएको मिति : २०३६।६।७।१ मा
पुनरावेदक : भ.पु.घर भई हाल नख्खुमा कैद बसेको माथवरसिंह बस्नेत ऐ.चाँगु गा.पं. वडा नं. २ घरभई ऐ.ऐ. कैदमाबसेको जानकीप्रसाद कुईकेल ल.पु.जि. ईमाडोल गा.पं. वडा नं. ३ घर भई हाल ऐ.ऐ.मा कैद बसेको ईश्वरकुमार घिमिरे
विरूद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : राजकाज अपराध
(१) पुनरावेदकलाई शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलले जन्मकैदको सजाय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोमा राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ उपदफा (१) अन्तर्गतको दावी नै नभएकोमा सो ऐन लगाई जन्मकैदको सजाय गरेको शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिने ।
(प्रकरण नं. २३)
पुनरावेदक तर्फबाट : विद्वान व.अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा म.क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न प्रकार छ :
२. प्रतिबन्धित नेपाली कांग्रेसका नेता भारत बनारस बसिरहेका विश्वेश्वरप्रसाद कोइराला गिरीजाप्रसाद कोइराला र अन्य व्यक्तिहरू समेत ध्वंसात्मक कार्य गर्न बसेका छन्, निजहरूको मेल मिलापका लागि अवैध हायण्ड ग्रिनेट प्रयोग गर्ने, यहाँको सुराक खबर भारतमा पठाउने माथवरसिं बस्नेत, जानकीप्रसाद शर्मा र अरू नचिनेका ३ जना समेत हाल डिल्लीबजारमा डेरा गरी बसेका छन्, पक्राउ गरी कारवाई गरिपाउँ भन्ने समेत ०३१।८।५ को प्रहरी प्रतिवेदन ।
३. जानकीप्रसाद र माथवर सिंको डेरा खानतलासी गर्दा केही चिठ्ठी, नेपाली कांग्रेसको संक्षिप्त ऐतिहासिक शीर्षकको किताब १ समेत फेला परेकोले पेश गरेका छौं भन्ने ०३१।८।६।५ को प्रहरी प्रतिवेदन ।
४. ईमाडोल बस्ने ईश्वरकुमार घिमिरेको घर गोठ कटेरामा खानतलासी गर्दा नं. ३६ एम.एम. २८४ एफको हैण्ड ग्रीनेड थान दुई बरामत भएको भन्ने समेत ०३१।८।६ को मुचुल्का ।
५. म र माथवर सिं भारत निर्वासित विश्वेश्वरप्रसाद कोइराला, गिरीजाप्रसाद कोइरालासँग भु.पू.एम.पी.जगन्नाथ आचार्य मार्फत साँठगाँठ राखी निज गिरिजाप्रसाद हायण्ड ग्रीनेड २ काठमाडौं ल्याएको हो, यसको मूल उद्देश्य नेपाल अधिराज्यको विभिन्न ठाउँमा तोडफोड बम विस्फोटन आदि गरी जनसाधारणमा असुरक्षाको भावना जनाई राष्ट्र विप्लव गरी प्रजातान्त्रिक संसदीय व्यवस्था ल्याउनको लागि ग्रीनेड ल्याई ईश्वरकुमारको घरमा लगी लुकाई राख्न दिएको हो भन्ने समेत जानकीप्रसादको प्रहरीमा भएको ०३१।८।७।६ को बयान कागज ।
६. म र जानकीप्रसाद शर्मा समेत भई भारत बनारस गई वि.पि.कोइराला, गिरिजाप्रसाद समेतलाई भेटी काठमाडौंमा ग्रीनेड लगी हान्ने कुरामा गिरीजाले भने बमोजिम एम.पी. जगन्नाथ मार्फत काठमाडौंमा ग्रीनेड ल्याई प्रहार गर्ने कुरामा सहमत भई ग्रीनेड ल्याई ईश्वरकुमारको घरमा लगी राखेको हो भन्ने समेत माथवरसिंह बस्नेतले प्रहरीमा गरेको ०३१।८।७।६ को बयान कागज ।
७. माथवरसिंहले प्रवेशिका परीक्षाको सर्टिफिकेट र मार्कसिट ल्याई दिए, निज माथवरसिं र जानकीले झोलाबाट एक पोका दिए, सो चीज कसैलाई नदेखाउनु, राम्रो लुकाई राख्नु ४ दिन पछि लिन आउँछु, खोली नहेर्नु भनेकोले घर गोठमा भटमास बोरामा छोपी लुकाई दिए, लिन नआई हेर्दा गोला रहेछ भन्ने जानकारी भयो, सो मैले राख्दा हैण्ड ग्रीनेड भन्ने थाहाथिएन भन्नेसमेत ईश्वरकुमार घिमिरेको प्रहरीमा भएको ०३१।८।७ को बयानकागज ।
८. गिरिजासँग भेटघाट भएको छैन, ग्रीनेड सम्बन्धी कुनै कुराकानी भएको छैन भन्ने समेत ऋषिकेश शाहको प्रहरीमा भएको बयान कागज ।
९. गिरिजाप्रसाद हालसम्म भारतमै भएकोले पक्राउमा परेका निज माथवरसिंह बस्नेत, जानकीप्रसाद शर्मा, ऋषिकेश शाह र ईश्वरकुमार घिमिरे समेत ४ जवान उपर राजकाज अपराध र सजाय ऐन, २०१९ को दफा ४ को देहायको दफा २ अन्तर्गत कारवाई भई सजाय हुनुपर्ने र गिरीजाप्रसाद कोइराला फेला नपरेकोले अदालतबाट समाव्हान जारी भई निज उपर सोही ऐनको दफा ४ को (१) अन्तर्गत कारवाही भई सजाय हुन पेश गरिएको छ भन्ने समेत डि.एस.पी.कार्यालय ललितपुरको प्रहरी प्रतिवेदन ।
१०. ०३१।७।२० गते कालीमाटी मोडमा बनारसमा गिरीजाले देखाएको मानिसले बरामत भएको ग्रीनेड २ ओटा जुटको झोलामा राखी माथि मूलासागहरू राखी ठीक पारिराखेको मेरो हातमा दिए जानकी र म फर्की डेरा डिल्लीबजार आई तरकारी झिकी भोलिपल्ट पाटन साधुरामको डेरामा राखेँ । २।३ दिन पछि ईश्वरकुमारलाई राख्न दिएको हुँ, ग्रीनेड भन्ने कुरा निजलाई थाहा थिएन, प्रतिबन्धित नेपाली कांग्रेसका गिरीजाप्रसाद कोइरालाले भारतबाट यसरी ग्रीनेडहरू पठाई नेपालमा क्रान्ति शुरूवात गर्ने आतङ्क मच्चाई भइराखेको व्यवस्थालाई खलल पारी राष्ट्रविलम्व गर्ने यो ग्रीनेड सञ्चालनको मुख्य उद्देश्य हो भनेको थियो, त्यसमा मेरो पनि सहमति भएर नै सो बमोजिम गर्ने गरी ग्रीनेड ल्याउने राख्ने काम गरेको हुँ, ऋषिकेशसँग ग्रीनेडको कुरा भएको छैन, प्रहरी बयानमा किन लेखियो, मलाई थाहा छैन भन्ने समेत अञ्चलाधिश कार्यालय बागमती अञ्चलाधिश समक्ष माथवरसिंह बस्नेतले गरेको बयान ।
११. गत आश्विन म बनारस जाँदा गिरीजाप्रसाद कोइरलासँग नेपालमा अहिले भएको पञ्चायती व्यवस्था उडाएर संसदीय व्यवस्था ल्याउनु पर्छ नेपालमा ग्रीनेड लिएर लानु भनी कुरा भएको थियो, मैले लिई आईंन, कार्तिक १ गते कालीमाटी जाउँ भनी म र माथवर सिंह जाँदा एकजना मानिससँग माथवरसिंहले ग्रीनेड राखिएको झोला लिएर मेरो डेरामा लग्यो माथवरसिंहले यो चिज कसैलाई नदेखाई राम्रोसँग राख्नु भनेर ईश्वरकुमारलाई दिए, नेपालमा प्रजातन्त्र छैन, नेपालमा भएको पञ्चायती व्यवस्था श्री ५ को सरकारलाई पल्टाई संसदीय व्यवस्था ल्याउन परेको छ ग्रीनेड लैजानु पर्ने भनी गिरीजाले भन्नु भएको थियो, यसले ग्रीनेडहरू आउँदा सो काममा आएको भन्ने मलाई विश्वास छ र सो काममा मेरो पनि सहमति भएकोले ग्रीनेडहरू राख्ने काममा लागेको हुँ भन्ने समेत जानकीप्रसाद शर्माले अञ्चलाधिशको कार्यालय बागमती अञ्चलमा गरेको बयान ।
१२. माथवर सिं र जानकी चिनाजान भएको ०३१।७।२३ गते प्रवेशिका र मार्कसिट ल्याई दिएको रहेछ मलाई दिए, अखवारले बेरी राखेको एउटा जानकीले पोका दिए कसैलाई नदेखाउनु राम्रोसँग राख्नु ४ दिन पछि हामी लिन आउँला भनी भनेकोले निसंकोच सो पोको लगी घर गोठको भटमासको कुन्यू भित्र राखेको थिएँ, लिन नआएकोले सन्देह भई माथवरसिंहलाई भन्न गएको बेला प्रहरीबाट खानतलासी भएको बखत म पनि माथवर सिंह नभेटेकोले फर्की आउँदा ग्रीनेड भन्ने त्यस बेला थाहा पाएँ भन्ने समेत ईश्वरकुमार घिमिरेले अञ्चलाधिशको कार्यालय बागमती अञ्चलमा गरेको बयान ।
१३. मसँग माथवर सिंह बस्नेतले ग्रीनेड सम्बन्धी कुरा गरेको होइन अपराधको अभियोग म उपर लाग्नु पर्ने होइन भन्ने ऋषिकेश शाहले अञ्चलाधिशको कार्यालय बागमती अञ्चलमा गरेको बयान । गिरीजाप्रसाद कोइरालाका नाउँमा जारी भएको ७० दिने म्याद निजको घर ढोकामा टाँसिएको ०३१।१०।७ को तामेली ।
१४. प्र.ऋषिकेश शाहको कसूर केही नदेखिएकोले निजले सम्मिलित भएको र सहयोग गरेको समेत ठहर्दैन । प्र.गिरिजाप्रसाद कोइराला फरार भएको र वादी श्री ५ को सरकार प्र.लिलानाथ दाहाल समेत भएको राजकाज अपराध मुद्दामा निजलाई जि. प्र.उ.नि.कार्यालय विराटनगर मार्फत पक्राउ पूर्जि जारी गरेको र अंश रोक्का गर्न समेत यस कार्यालयबाट लेखी गइरहेकोले फेरि सो अंश रोक्का गर्न नपर्ने पछि पक्राउ भई आएका बखत अ.बं.१९० नं. बमोजिम कारवाई गर्ने गरी हाल निजको हकमा मुल्तवी राख्ने । प्र.माथवरसिंह जानकीप्रसाद समेतले श्री ५ को सरकारलाई पल्टाउने मनसायले हातहतियार (ग्रीनेड) ल्याई जम्मा गरेको र प्र.ईश्वरकुमार घिमिरेले माथवर सिंह समेतलाई उपरोक्त कसूर गर्ने सुगम पारिदिने काम गरी सो अपराध गर्न मतलब भएको कुरा दबाएको समेत ठर्हछ, माथवर सिंह र जानकीप्रसाद शर्मालाई राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ को उपदफा (१) र (२) बमोजिम जन्म कैद र प्र.ईश्वरकुमार घिमिरेलाई सोही ऐनको दफा ५ बमोजिम तजबिजी कैद वर्ष ५ र रू.१०,०००। जरिवाना हुन्छ भन्ने समेत अञ्चलाधिश कार्यालय बागमती अञ्चलको ०३२।५।३१ को जाहेरी फैसला ।
१५. सो फैसलामा चित्त बुझेन हामीलाई सफाई दिई कैदबाट मुक्त गरिपाउँ भन्ने समेत प्र.माथवरसिंह बस्नेत, जानकीप्रसाद कुईकेल र ईश्वरकुमार घिमिरेको पुनरावेदन ।
१६. बागमती अञ्चलाधिशको ईन्साफ मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३३।१२।२२ को जाहेरी फैसला ।
१७. हामीलाई गरेको सजाय बदर हुनुपर्ने समेत प्रतिवादी माथवर सिंह र जानकीप्रसाद कुईकेलको संयुक्त पुनरावेदन ।
१८. राजकाज अपराध र सजाय ऐन, २०१९ को दफा ४ वा ५ को कुनै पनि कसूर मैले स्वीकार नै नगरेकोले सजाय हुन सक्दैन, सजायको फैसला बदर गरी रिहाई पाउँ भन्ने समेत ईश्वरकुमार घिमिरेको पुनरावेदन ।
१९. प्र.ईश्वरकुमारले कसूरमा सावित भई बयान गरेको देखिन्न । निजलाई माथवर सिंहले राख्न दिएको भनिएको ग्रीनेड जानी बुझी थाहा पाई राखेको वा निजले अपराध गर्ने विश्वसनीय प्रमाण पनि मिसिल अध्ययनबाट देखिँदैन सिर्फ तर्क र अनुमानको आधारमा निजलाई कसूरदार ठहराई बागमती अञ्चलाधिशले राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ५ बमोजिम गर्ने गरेको सजाय सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको देखिएन । प्र.माथवर सिंह समेत उपर राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ को उपदफा (२) अन्तर्गतको अपराधको अभियोग लगाई प्रहरी प्रतिवेदन परेको देखिन्छ । बागमती अञ्चलाधिशको फैसलाको सजाय खण्डमा उक्त दफा ४ को उपदफा (१) र (२) बमोजिम सजाय गर्ने ठहर गरिएको पाइन्छ । उक्त उपदफा (१) र (२) अन्तर्गतको अपराधहरूको प्रकृति र तत्सम्बन्धी सजायको व्यवस्थाहरू फरक–फरक छन् । यस स्थितिमा वादी दावी नै नभएको उपदफा (१) अन्तर्गतको कसूरदार ठहराउन मिल्दैन । उक्त उपदफा (२) अन्तर्गतको अपराध कायम गर्नको लागि पनि हातहतियार खरखजानाका अतिरिक्त मानिस पनि जम्मा गरेको हुनुपर्ने देखिन्छ तर मिसिलको अध्ययनबाट श्री ५ को सरकार पल्टाउने उद्देश्यले मानिस जम्मा गरेको पाइन्न दुईटा ग्रीनेडसम्म बरामद भएको देखिन्छ । साथै उक्त उपदफा (२) मा अधिकतम सजाय जन्म कैद तोकी न्यूनतम सजायको कुनै खास किटानीहरू नतोकिएको र न्यूनतम र अधिकतम सजायको सम्बन्धमा यस किसिमको व्यापक तजबिजी अधिकारको प्रयोग गर्दा अपराधको गम्भीरता ईत्यादि कुराहरू समेतको विचार गरी गर्नुपर्नेमा त्यसतर्फ उक्त फैसलाहरूमा कुनै विवेचना नगरी मुद्दाको तथ्य र परिस्थितिको सन्दर्भमा जन्मकैदको सजाय चर्को भई सजायतर्फ समेत ठहर मिलेको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम छलफल निमित्त सरकारी वकिल खटाई पठाई दिनु भनी महान्यायाधिवक्ताको कार्यालयमा सूचना दिने भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३६।३।२७ को आदेश ।
२०. पुनरावेदकहरूको तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र अधिवक्ता श्री हरिहर दाहालले राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ (१) र (२) अगल–अलग अपराधिक कार्य भई त्यसको निमित्त अलग–अलग सजायको व्वस्था छ । ४(१) मा तजबिजी सजायको व्यवस्था छैन । पञ्चायत व्यवस्था खूद श्री ५ को सरकार होइन पञ्चायती व्यवस्थाको सट्टा संसदीय व्यवस्थाको सरकार ल्याउन खोज्नु श्री ५ को सरकारलाई पल्टाउने मनसाय भएको भन्न मिल्दैन । पुनरावेदकहरूले सफाई पाउनु पर्छ भन्ने समेत र विपक्षी तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्रतिवादीहरू अपराधमा सावित भएको र ग्रीनेड समेत बरामद भएको हुँदा अपराधी होइन भन्न सकिने अवस्था छैन शुरूको ईन्साफ सदर हुनुपर्ने भन्ने समेत बहस गर्नुभयो ।
२१. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ ।
२२. यसमा निर्णयतर्फ हेर्दा गिरिजाप्रसाद कोईरालाहरूले भारतबाट ग्रीनेडहरू महत्वपूर्ण स्थानमा प्रयोग गरी देशमा आतङ्क मच्चाई भइरहेको व्यवस्था खलल पारी राष्ट्रविप्लव गर्ने यो ग्रीनेड सञ्चालनको मुख्य उद्देश्य हो र सोही उद्देश्यमा ग्रीनेड ल्याई राख्ने काम गरेको हो र मेरो पनि त्यसमा पूर्ण सहमति भएर नै सो बमोजिम गर्न ग्रीनेडहरू ल्याइने राख्ने काम गरेको हुँ भनी पुनरावेदक माथवर सिं नेपालमा प्रजातन्त्र छैन नेपालमा भएको पञ्चायती व्यवस्था र श्री ५ को सरकारलाई पल्टाई संसदीय व्यवस्था ल्याउन परेको छ । सो काममा ग्रीनेडहरू नेपालमा तिमीले जानु पर्ने भो भनी गिरिजाले भन्नु भएको थियो अहिले ग्रीनेड आउँदा खेरि सो काममा आएको भन्ने मलाई विश्वास छ र सो काममा मेरो पनि सहमति भएकोले सो ग्रीनेडहरू राख्ने काममा लागेको हुँ भन्ने समेत पुनरावेदक जानकीप्रसाद शर्मा कुईकेल र माथवर, जानकीहरू आई प्रवेशिकाको मार्कसिट ल्याई दिएको मलाई दिए अखबारमा बेरी राखेको एउटा पोको कसैलाई नदेखाउनु, राम्रोसँग राख्नु ४ दिनपछि लिन आउँला भनेकोले निसंकोच गोठको भटमासको कुन्यूभित्र राखेको थिएँ भनी पुनरावेदक ईश्वरकुमार घिमिरे समेतका प्रतिवादीहरू मुद्दा हेर्ने अधिकारी समक्ष सावित भई बयान गरेको, प्र.ईशवरकुमारको घर गोठ खानतलासी हुँदा नं. ३६ एम.एम.२४८ एफ.को हेण्ड ग्रीनेड थान २ दूई बरामत भएको ग्रीनेड ल्याई पोको पारी ईश्वरकुमारलाई राख्न दिएमा प्रतिवादीहरू माथवर सिंह र जानकीप्रसाद समेत सावितै भएको देखिएको र सो अपराध गरेको हैन सफाई पाउनु पर्ने भन्ने निज प्रतिवादीहरूको पुनरावेदन जिकिर उपयुक्त देखिएन । पुनरावेदक माथवर सिंह र जानकीप्रसाद तथा ईश्वरकुमारहरूको साविती बयान अनुसार निज पुनरावेदक प्रतिवादी माथवर सिंह र जानकीप्रसाद शर्माले राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ को उपदफा (२) अन्तर्गतको र पुनरावेदक प्र.ईश्वरकुमारले सोही ऐनको दफा ५ अन्तर्गतको अपराध गरेको भन्ने कुरा मिसिल प्रमाणबाट देखिन आयो ।
२३. सो अपराधको प्राकृति र अवस्था विचार गर्दा पुनरावेदक माथवर सिंह र जानकीप्रसादलाई राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ को उपदफा (१) र (२) अन्तर्गत भनी शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलले जन्मकैदको सजाय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले सदर गरेको देखिन्छ । तर उक्त राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ को उपदफा (१) अन्तर्गतको दावी नै नभएकोमा सो ऐन लगाई जन्मकैदको सजाय गरेको शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन । तसर्थ पुनरावेदक प्रतिवादी माथवर सिंह र जानकीप्रसाद शर्मालाई राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ को उपदफा (२) बमोजिम जनही १० दशवर्ष कैद र रू.१०००। एक हजार जरिवाना हुने ठहर्छ । पुनरावेदक ईश्वरकुमार घिमिरेलाई सोही ऐनको दफा ५ बमोजिम कैद वर्ष ५ गरेको मनासिव छ । जरिवानाको हकमा रू.५००। मात्र हुने ठहर्छ । तपसील बमोजिम गर्नू ।
तपसील
प्रतिवादी देहायका मानिस के शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलको मिति ०३२।५।३१ को फैसलाले जन्म कैदको सजाय गर्ने गरेको माथि लेखिए बमोजिम भई नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी का.जि. अ.मा लगत दिनु….१
प्र.माथवर सिंह बस्नेत १, प्र.जानकीप्रसाद शर्मा कुईकेल १
पुनरावेदक देहायका प्रतिवादीहरू के माथि ईन्साफ खण्डमा लेखिए बमोजिम राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ को उपदफा (२) अनुसार देहाय बमोजिम कैद र जरिवाना हुन्छ ०३१।९।२ देखि थुनामा हुँदा ऐन बमोजिम गर्नु भनी का.जि. अ.मा लगत दिनु…………….. २
असामी कैद ज.रू.
पुनरावेदक प्रतिवादी १० दश वर्ष १०००।
माथवर सिंह बस्नेत के
पुनरावेदक प्रतिवादी
जानकीप्रसाद शर्मा
कुईकेल के १० दश वर्ष १०००। (एक हजार)
पुनरावेदक प्रतिवादी ईश्वरकुमार घिमिरेको माथि ईन्साफ खण्डमा लेखिए बमोजिम शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलको ०३२।५।३१ को फैसलाले कैद वर्ष ५ (पाँच) र जरिवाना रू.१०,०००। (दश हजार) गर्ने गरेकोमा, जरिवाना तर्फ रू.५००। (पाँचसय मात्र हुन्छ, तसर्थ कैद वर्ष ५ (पाँच) र जरिवाना रू.५००। (पाँच सय) को लगत कायम गरी ऐन बमोजिम गर्नु, जरिवाना रू.१०,०००। दश हजारको लगत काटी दिनु भनी का.जि. अ.मा लगत दिनु……………..३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु …………………….४
म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३६ साल आश्विन ७ गते रोज १ शुभम् ।