निर्णय नं. १२६८ – घरबाट उठाई चलान चलाई पाउँ भन्ने
निर्णय नं. १२६८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र सम्वत् २०३५ सालको दे.पु.नं. ९७ फैसला भएको मिति...
निर्णय नं. १२६८ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
सम्वत् २०३५ सालको दे.पु.नं. ९७
फैसला भएको मिति : २०३६।५।२४।५ मा
पुनरावेदक : का.जि. कोहीटी बस्ने चन्द्रमान शाक्य
विरूद्ध
विपक्षी : ऐ.ऐ. बस्ने मानकाजी शाक्य
मुद्दा : घरबाट उठाई चलान चलाई पाउँ भन्ने
(१) घर बनाउनेको ९ नं. अन्तर्गत परेको मुद्दामा दानबकसको ५ नं. को हदम्याद कायम गरेको मिलेको नदेखिने ।
(प्रकरण नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शंकर घिमिरे
फैसला
न्या. हेरम्बराज : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।१।१५।४ मा भएको फैसलामा गम्भीर कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी चन्द्रमान शाक्यले चढाएको निवेदनपत्रमा पुनरावेदनको अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : अन्याय मध्येको मानकाजी र मेरो ठूलीआमा आधी आधी अंश खाने देवर भाउजू हुन् । ०२१।६।१०।६ मा काठमाडौं नगरपालिकाबाट भएको बण्डा मुचुल्का अनुसार पूर्व जनतकुमारीको घर पश्चिम धनमायाको घर उत्तर सडक दक्षिण कृष्णलालको घर यति ४ किल्लाभित्रको पूर्व पश्चिम उत्तर मोहडा २ नाले….तले पक्की झिंगटी छानाको घर लम्बा १ र सोही घरको दक्षिणमा फिट १०।५ चौडाई फिट १६।१० को घर कित्ता १ र सोही घरको दक्षिणमा जोडिएको उत्तर लङको ।।–।। नाले नाल २ को ४ तले पक्की झिंगटी लम्बाई फिट ९ मध्ये पश्चिमको लम्बा फिट ९ चौडाई फिट ५।२।४ को घर १ समेत घर कान्छीमायाको भागमा बण्डा परेको बण्डाबाट हक हुन आएको घर र उहाँको हक भोग दर्ताको अरू जग्गा जमीन समेत मेरो जो भएको श्रीसम्पत्ति मेरो शेषपछि खानु व्यहोर्नु भनी ०१३।६।१२।१ मा बकसपत्र दिनुभएको कान्छीमाया ०१३।८।१३ मा परलोक हुनु भएपछि मेरो हक हुन आएकोमा बकसपत्र जालसाजी भनी फिराद भई मेरो हक ठहरिएको घर अन्यायवालाले चलन छाडी बसिरहेको घर बनाउने कानून बमोजिम सूचना ०२८।४।२४ मा दिई घर छाडी नदिएबाट अ.बं.३६ नं. का आधार लिई नालिस गर्न आएको छु घरबाट उठाई चलन चलाई पाउँ भन्ने समेत वादी ।
३. बकसपत्रको नाताबाट मेरो र दाजु ज्ञानवीर समेतको अंशबण्डाको घरबाट उठाई चलन चलाई पाउँ भनी दावा लाग्न सक्ने कुरा होइन अ.बं.७३ नं. ले फिरादपत्र दिँदा उही मानिसका नाउँमा एकै पटक–पटकै नालिस दिए हुने मुद्दामा सो नगरी पहिले दिएको नालिस विचार गरी मात्र वादी दिन पाउँदैन भन्ने प्रष्ट उल्लेख गरेको छँदै विपक्षीको फिरादको घर मलाई चलन छाडी नदिएकोले यो फिराद गरेको छु जग्गाको हकमा भू.प्र.का.मा निवेदन गरी नामसारी गराउने छु भनी फिराद गरेको हुनाले खारेज हुन पर्ने प्रष्टै छ । चलन चलाई पाउँ भन्ने विषयमा दावा गरिएको घर निज विपक्षीको पुर्खौली अंश हकको र फार्छे समेतको घर नभई दानबकस अन्तर्गतको बकसपत्रबाट हक भएको भनी आफ्नै फिरादमा लेख्नु भएको छ भने दानबकस ऐनको ५ नं. ले आफूले दानबकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले दुई वर्षभित्र नालिस गर्नुपर्नेमा लाग्न सक्दैन भनी प्रष्ट किटानी उल्लेख भएको हुनाले सोही ऐनको परिधिभित्र बसी नालिस गर्नुपर्नेमा लाग्नै नसक्ने अ.बं.३६ को ऐन लगाई म्याद नाघी दायर गरेको यो नालिस खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर ।
४. वादीको घर २०११।६।१० मा का.न.पं.चेक फाँट मार्फत कान्छीमायाले बण्डा पाएको २०१३।५।२६ मा र का.दे.दो.बाट फैसला भएको अंश मुद्दाको प्रमाण मिसिलबाट देखिएको वादीलाई कान्छीमायाले बकसपत्र गरी दिएको बदर गरिपाउँ भनी यस मुद्दाको प्रतिवादीले दिएको जालसाजी मुद्दामा बकसपत्र सदर ठहरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएकोले बकसपत्र बमोजिम वादीको हक पुगेको देखिनाले वादी दावीको घर प्र.मानकाजीलाई उठाई घर चलन चलाई पाउँने भन्ने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।
५. काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझने भन्ने समेत प्र.मानकाजीको पुनरावेदन ।
६. जालसाज मुद्दा चुल्नु भन्दा अघिदेखि नै प्रतिवादी पुनरावेदक तर्फबाट विपक्ष वादीको भोग चलनमा छ र खिचोला भई राखेको लुटपिट मुद्दाको प्रमाण मिसिलबाट समेत देखिएको र जालसाजी मुद्दाको अन्तिम फैसला भएपछि पनि कानूनका म्यादभित्रको फिराद नभएकोले दानबकसको ५ नं. को हदम्यादभित्रको यो मुद्दामा विपक्ष वादीको नालिस दायर नभएकोले खारेज गर्नुपर्नेमा काठमाडौं जिल्ला अदालतको इन्साफ गर्नु गल्ती ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।
७. फिराद लेख्दा कान्छीमायाले २०१३।६।१२।१ मा शेषपछिको बकसपत्र गरी दिइसकेपछि २०१३।८।१३ मा मरेकोले हक पुग्न आउने वादीले प्रतिवादीलाई बराबर उठी जाउ भन्दा पनि चलन छाडी नदिएको भन्ने उल्लेख भएको पाइन्छ । २०१३।८।१३ मा बकसपत्र पाएपछि दानबकसमा हक पुग्न आउनेमा त्यसको २ वर्षभित्र प्रतिवादीलाई उठाई चलन चलाइपाउँ भन्ने २०२८।६।२५।२ मा परेको यो फिरादपत्र हदम्याद खिलाफ भएको देखिन्छ । यिनै पक्ष विपक्ष भएको बकसपत्र लिखत जालसाजी मुद्दा परी सर्वोच्च अदालतबाट लिखत सद्दे ठहरी अन्तिम फैसला भएको २०२८।६।२५।२ मा मात्र वादीको उक्त विवादास्पद घरमा हक स्थापित भएको र उक्त हक स्थापित नभएको मितिले फिराद गर्ने हदम्याद कायम गर्न पनि दानबकसको ५ नं. बमोजिम २ वर्षभित्र नालिस गर्नुपर्नेमा हदम्याद समेत खिलाप गरी फिराद परेको स्थितिमा यस्तो फिरादबाट इन्साफ गर्न नमिल्ने समेत भएको खारेज गर्ने गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।१।१५।४ मा फैसला भएको रहेछ ।
८. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको उक्त फैसला गम्भीर प्रत्यक्षतः कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी चढाएको निवेदनपत्रमा वादी यिनै विपक्षी काजीमान शाक्य र प्रतिवादी यिनै निवेदक चन्द्रमान शाक्य समेतका बीच चलेको बकसपत्र जालसाजी मुद्दा ०२२।५।२०।१ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला हुँदा यिनै निवेदक वादी चन्द्रमानले ठूलो आमा कान्छीमाया शाक्यबाट पाएको शेषपछिको बकसपत्र बदर हुन नसकी मानकाजी शाक्यको उजूरी दावी खारेज हुने ठहरी फैसला भएको भन्ने कुरा प्राप्त उपरोक्त बकसपत्र जालसाजी मुद्दाको प्रमाण मिसिलबाट देखिन्छ । उल्लिखित फैसला समेतले हक ठहरिएको घरमा निवेदक वादी चन्द्रमान शाक्यले प्रचलित मुलुकी ऐन घर बनाउनेको ९ नं. को आधार लिई सो घरबाट उठाई चलन चलाई पाउँ भन्ने प्रस्तुत मुद्दाको फिरादमा दावी गरेको फिरादलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।१।१५।४ मा फैसला हुँदा मुलुकी ऐन दानबकसको ५ नं. लगाई वादी दावी खारेज गरेको देखिन्छ ।
९. माथि उल्लेख गरे अनुसार सर्वोच्च अदालतको उपरोक्त फैसलाले निवेदक चन्द्रमान शाक्यको हक ठहरेको घरबाट उठाई चलन चलाई पाउँ भन्ने दावी भएको प्रस्तुत मुद्दामा मुलुकी ऐन दानबकसको ५ नं. प्रयोगमा आउने होइन सो दानबकसको ५ नं. लगाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट वादी दावी खारेज गर्ने गरेको निर्णयबाट उक्त घर बनाउनेको ९ नं. को समेत त्रुटि गरेको र प्रस्तुत विषयले सबैलाई असर पर्न जाने सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रुटि गरेको देखिन्छ । तसर्थ न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिएको छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०३५।४।२६।५ मा आदेश भएको रहेछ ।
१०. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको उक्त फैसला ठीक बेठिक के रहेछ त्यसको निर्णय गर्नुपर्ने हुन आएको छ ।
११. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक चन्द्रमानको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा र विपक्षी मानकाजी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शङ्कर घिमिरेले गर्नुभएको बहस समेत सुनी पुनरावेदक र विपक्षीको वा टङ्कराज वली समेतलाई रोहवरमा राखी निर्णयतर्फ विचार गर्दा यिनै पक्ष विपक्षी भएको बकसपत्र लिखत जालसाजी मुद्दा परी सर्वोच्च अदालतबाट लिखत सद्दे ठहरी अन्तिम फैसला भएको २०२८।६।२५।२ मा मात्र वादीको उक्त विवादास्पद घरमा हक स्थापित भएको र उक्त हक स्थापन नभएको मितिले फिराद गर्ने हदम्याद कायम गर्ने भनी दानबकसको ५ नं. बमोजिम २ वर्षभित्र नालिस गर्नुपर्नेमा हदम्याद समेत खिलाप गरी फिराद परेको स्थितिमा फिरादबाट इन्साफ गर्न नमिल्ने समेत भएकोले खारेज गर्ने गरी बागमती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने म.क्षे.अ.को फैसला भएको ।
१२. यसमा घर बनाउनेको ९ नं. अन्तर्गत परेको मुद्दामा दानबकसको ५ नं. को हदम्याद कायम गरेको मिलेको देखिएन, तसर्थ खारेज गर्ने गरेको म.क्षे.अ.को फैसला बदर गरिएको छ । कानून बमोजिम पुनः निर्णय गर्नु भनी पक्ष विपक्ष दुबैलाई तारिख तोकी सम्बन्धित मिसिल म.क्षे.अ.मा पठाई नियमानुसार गर्नु ।
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३६ साल भाद्र २४ गते रोज ५ शुभम् ।