August 24, 1979
Created by nepalarchives

निर्णय नं. १२६४ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १२६४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३४ सालको रि.नम्बर १२५७ आदेश भएको मिति...

निर्णय नं. १२६४ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३४ सालको रि.नम्बर १२५७

आदेश भएको मिति : २०३६।५।८।६ मा

निवेदक : जि. बारा भगवानपुर पटेखा वा.नं. २ भगवानपुर बस्ने शिवजी राउत कर्मी

विरूद्ध

विपक्षी : निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालत, कलैया समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)  उजूरी दावीमापाएको मतमध्ये ३ मत बदर गरिपाउँ भनी दावी नभएको कुराकेवल १ मतको कुरालाई लिई त्यसबाट निर्वाचनको परिणाम फरक पर्‍यो र त्यो बदर होस् भनी दावी लिएकोमा उजूरी भन्दा बढी निर्वाचन विशेष अदालतले निर्णय गरेको पाइन्छ । त्यसका अतिरिक्त पाएको ३ मत बदर गर्दा यो ऐनको त्रुटि भयो र यस कारणले बदर हुन्छ भनी उल्लेख नगरेकोले समेत अधिकारको अतिक्रमण भई दावी भन्दा बाहिर गई त्रुटिपूर्ण निर्णय गरेको देखिँदा निर्वाचन विशेष अदालत बारा जिल्ला अदालतकोनिर्णय उत्प्रेषणको आदेश जारी गरी बदर ठहर्ने।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट :  विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

आदेश

          न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि गरी विपक्षी निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालत, कलैयाको २०३६।१।२।१ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३६।१।२८।६ मा दर्ता भएको रहेछ ।

          २.   संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : भगवानपुर पटेखा गा.पं.को प्रधानपञ्चको उम्मेद्वारमा म बनारसी साह कानू र शिवजी राउत कुर्मी उम्मेद्वार भएको निर्वाचनमा बनारसीलाई सूर्य र शिवजीलाई गाई चुनाव चिन्ह प्राप्त भएको जम्मा मतदाताको संख्या ४५ थिए र मैले तेइस मत प्राप्त गरेको र विपक्षीले २२ मत प्राप्त गरेको मेरो कुनै बदर हुनुपर्ने अवस्था नभएकोमा १ मत बदर गरी पुनः मतगन्ती हवस भन्दा स्वीकार नगरी नमान्नु र टुक्रा कागजमा के लेखी गोला बनाई विपक्षीलाई गोला उठाउन दिए सो गोला मेरो निर्वाचित भएको भन्ने घोषणा गरे, निर्वाचन सम्बन्धि कागजातमा पहिले नै सही गरेको थिए । यसरी पक्षपात पूर्ण कार्यगरी म बहुमत पाएको र सदर हुनुपर्ने मत बदर गरी गोलाबाट निर्वाचित गराइएको शिवजी राउत कुर्मीको परिणाम बदर गरी दुवैले पाएको मत पुनः गन्ती गरी मेरो सम्पूर्ण मत सदर गरी बहुमत सदर गरी प्राप्त गर्ने भन्ने निर्वाचित भएको घोषणा गरिपाउँ भन्ने फिरादपत्र । उम्मेद्वारहरूले प्राप्त गरेको मत मध्ये बदर हुने मत बदर गर्दा उम्मेद्वारले विरोधपत्र दर्ता गराउन खोज्दा नगरी दिएको र मतदान अधिकृतले पक्षपात गैरकानूनी तरीकाले बदर नहुने मतलाई बदर गर्नुभयो भन्ने वादी दावी बमोजिम पक्षपात तथा गैरकानूनी तरीकाबाट निर्वाचन नभई कानूनको रीतपूर्वकको भएको हुँदा पुनः मतगन्ती हुन वा निर्वाचन बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको शिवजी राउत कुर्मीको प्रतिउत्तर । निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को उपदफा १९ ले यो उजूरीमा कारवाही नहुने हुँदा खारेज गरिपाउँ भन्ने मतदान अधिकृत जिल्ला कार्यालय बाराको ख.होमनाथ ज्ञवालीको प्रतिवेदन । स्वस्तिक छाप कुन किसिमले लागेको सदर मान्ने कुरा स्थानीय निर्वाचन कार्यविधि ऐनको दफा २२ मा उल्लेख गरेको पाइन्छ । यसमा सम्बन्धित पञ्चायतको लागि प्रयोग गरेको मत सङ्केत भएको हुनुपर्ने भन्ने र त्यसलाई निर्वाचन निर्देशिका, २०३५ को स्पष्टीकरणमा सङ्केत गरेकोमा छाप हुने घेरा नआए वा चिन्हको सम्पूर्ण भाग प्रष्ट नआए पनि छापको आकार सम्म स्पष्ट भएमा मत सदर मान्नु पर्दछ भन्ने उल्लेख छ र प्रधानपञ्चको लागि प्रयोग भई सदर भनिएको ४४ मत हेर्दा गाईको चिन्हमा स्वस्तिक छापको आकार प्रष्ट हुनुपर्नेमा ३ मतमा स्वस्तिक छापको कुनै सामान्य आधार सम्म पनि नभएको मतलाई पनि सदर मानिएको र सुर्जे चिन्हको छापको आकारै नभएको एक मतलाई सदर मानी गणना गरेको देखिँदा ती सदर नहुने मतहरूको गणनाबाट मात्र २२२२ मत हुन आउँछ, जस्तो सूर्य चिन्हमा लागेको चिन्ह, खाली कसैले नलिएको धानको बालामा लागेको कारणबाट बदर हुन्छ भन्ने मत सङ्केत गर्ने स्वस्तिक छापको आकारै नभएको पनि बदर स्पष्टै छ । त्यसरी हुने मत बदर नभएको कारण समेतबाट निर्वाचन परिणाममा फरक गर्न गएको ती बदर हुने मत बदर गर्दा गाई छापको स्वस्तिक नभएको ३ मत बदर र सूर्य चिन्हको १ मत बदर हुँदा गाईको चिन्हको १९ मत र सूर्य चिन्हको २१ मत सदर हुन आउँछ । जसबाट सूर्य चिन्हवाला सदर भएको कूल मतको पचास प्रतिशत भन्दा बढी मत प्राप्त भइरहेकोले निर्वाचन नतिजा घोषणा गर्दा सूर्य चिन्हलाई बिजय घोषणा गर्नुपर्नेमा गोला हाल्नै पर्ने अवस्था नभएको गोलाद्वारा बिजयको निर्णय बदर हुन्छ उपरोक्त उल्लिखित कारणबाट भइरहेको निर्वाचनमा सदर मतहरूबाट नै सूर्य चिन्हका उम्मेद्वार उजूरवाला बनारसी साहू कानू भगवानपुर पटेरवा गाउँ पञ्चायतको प्रधानपञ्च बिजयी हुने ठहर्छ भन्ने समेत निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालतले निर्णय गरेको रहेछ ।

          ३.   उजूर दावी अनुसार बदर हुन नपर्ने मत बदर गरे भएको भएमा स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, २०२५ को दफा २१(३) अन्तर्गत मौकैमा ऐन निदेर्शिका बमोजिम बदर हुनु नपर्ने मत बदर हुन गयो भन्ने कारण देखाई ऐन निदेर्शिकाका आधारमा दोहराई मत गन्ती गराई पाउँ भनी मतदान अधिकृत समक्ष निवेदन गर्न सक्नु पर्ने थियो । त्यस बखत विरोधसम्म नगर्ने चित्त बुझाई बस्ने उम्मेद्वारले मत बराबर भई गोलाद्वारा निर्वाचन परिणाम घोषणामा समेत मञ्जूर गरी मुचुल्कामा सही गरेपछि स्थानीय पञ्चायतको निर्वाचनका सम्बन्धमा २३ मत पाएकोमा बदर हुनु नपर्ने १ मत बदर गरी गोलाद्वारा विजयको निर्णय गरेको भन्ने उजूर गरी अदालतमा पुनः मत गन्ती गराउन पाउने होइन यो दृष्टिबाट विपक्षी बनारसी साह कानूको उजूरी नै लाग्न नपर्ने खारेज हुनुपर्ने हो ।

          ४.   विपक्षी बनारसीले २३ मत पाएकोमा बदर हुनु नपर्ने १ मत बदर गरी गोलाद्वारा बिजयको निर्णय गरेको भनी दावा लिएपछि र मैले प्रतिवाद गर्दा र मतदान अधिकृतले आफ्नो प्रतिवाद जिकिर गर्दा २ ठाउँमा मत सङ्केत गरेको भई स्थानीय पञ्चायत निर्वाचन कार्यविधि ऐन, २०२५ संशोधित सहितको दफा २२(२)(ख) अनुसार एउटा मतपत्र बदर गरी बाँकी मतपत्र गन्ती गर्दा दुबै उम्मेद्वारले २२।२२ मत पाएको हुँदा गोलाद्वारा म शिवजी राउत बिजयी घोषित भएको भनेपछि सो बदर गरेको एक मतपत्र बदर हुने होइन भन्ने सम्बन्धमा मात्र निर्णय दिनुपर्ने हुँदा वादी प्रतिवादीका बीच मुख नमिलेको बदर गरिएको १ मतपत्रका सम्बन्धमा सो मतपत्र निर्वाचन हुने पदको संख्या भन्दा बढी संख्यामा मत सङ्केत गरिएको देखिएकोले सो बदर हुने अवस्थाकै देखिएकोले भनी बदर हुने ठहर गरी सकेपछि विपक्षी बनारसीको उजूरी दावी नै नपुग्ने स्पष्ट भइसकेको छ । यस्तो अवस्थामा विपक्षी निर्वाचन विशेष अदालतले उजूरी दावी नै नभएको वादी प्रतिवादीका बीच कुनै विवाद नै नभएको सदर मतपत्रहरूका सम्बन्धमा सदर बदर छुट्याई निर्णय गर्न मिल्ने होइन । वादी दावी नै नभएको कुरामा अदालतले निर्णय दिन नमिल्ने भन्ने यस सम्मानित अदालतको फुल बेञ्चबाट २०३० ने.का.प.१६७, २०३१ ने.का.प.६२ समेतका कैयौं मुद्दामा सिद्धान्त प्रतिपादित गरेको समेत छ । विपक्षी निर्वाचन विशेष अदालतको प्रस्तुत फैसला उपरोक्त सिद्धान्त समेतको प्रतिकूल भई नेपालको संविधानको धारा ७३ को प्रत्यक्ष त्रुटि भएको छ ।

          ५.  विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३६।२।४।६ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन :

          ६.   उजूरीमा दुवैले पाएको मत पुनः गन्ती गरी मेरो सम्पूर्ण मत सदर गरिपाउँ भन्ने दावी उल्लेख भएबाट उजूरी बमोजिम दुवैले पाएको मत गन्ती गर्दा स्वस्तिक छाप नलागेको गाई चिन्हको ३ मत र सूर्य चिन्हको १ मत बदर भएको हुनाले निर्वाचन नियम अनुसार नै बदर हुने मतपत्र दावी अनुसार हेर्नु परी बदर भएको हो, जुन कुरा निर्वाचनमा प्रयोग नभएको मतपत्रहरूबाट जाहेर हुने नै हुँदा कानून नियमानुसार भएको फैसलामा त्रुटि नहुँदा रिट निवेदन लाग्न नसक्ने हुँदा खारेज गरी पाउन सम्मानित अदालतसँग अनुरोध गर्दछु भन्ने समेत निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालत कलैया ।

          ७.  रिट निवेदकलाई निर्वाचनमा बिजयी गराउन मतदान अधिकृतले निर्वाचन कार्यक्रम सम्बन्धी जति पनि मुचुल्का कागजहरू तैयार गरी मतदान शुरू हुनु भन्दा अगाडि नै सही गराएका थिए, मत गणना हुँदा विपक्षीको २२ मत मध्ये ३ मत बदर हुने मतलाई बदर नगरी मैले प्राप्त गरेको २३ मत मध्ये १ मत जसमा कसैले पनि नलिएको चुनाउ चिन्हमा पनि छाप लगाएको कारण बदर गरियो । यस प्रकार कसैले नलिएको चुनाउ चिन्हमा स्वस्तिक छाप लागेको कारणबाट सो मत बदर हुन्छ भन्ने मतसङ्केत गर्ने स्वस्तिकको आकारै नभएको निवेदकले प्राप्त गरेको २२ मध्ये ३ मत र मैले प्राप्त गरेको मत १ समेत न्यायिक दृष्टिले बदर हुने स्पष्ट भएको हुँदा सो अनुसार मेरो सदर हुन आउने मत संख्या २१ र निवेदकको सदर हुन आउने संख्या १९ हुँदा सदर भएको मूल मतसंख्याको पचास प्रतिशत भन्दा बढी मत मलाई नै प्राप्त भइरहेकोले निवेदकलाई नै बिजयी घोषणा गर्नुपर्नेमा गोला हाल्ने अवस्थै नभएकोमा पनि गोला हाली गरिएको निर्वाचन घोषणालाई बदर गरी मलाई बिजयी ठहर गरेको विशेष अदालतको इन्साफ बिलकूल कानूनसंगत छ भन्ने समेत बनारसी साह कानू ।

          ८.   तारेखमा रहेका निवेदक शिवजी राउत कुर्मीलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको र विपक्षी निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालततर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विपक्षी बनारसी साह कानू तर्फका विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरीको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

          ९.   यसमा बनारसी साह कानूले निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालत कलैया समक्ष उजूर दिँदा मैले २३ मत प्राप्त गरेको र विपक्षी निवेदकले जम्मा २२ मत प्राप्त गरेको भन्दै मेरो बदर हुनु नपर्ने १ मतलाई निर्वाचन अधिकृतले बदर करार गर्नुभएकोले शिवजीको निर्वाचन परिणाम बदर गरी म निर्वाचित भएको घोषित गरी पाउँ भनी उल्लेख गरेकोमा निर्वाचन विशेष अदालतले शिवजीले पाएको ३ मतलाई बदर गरेको पाइन्छ । उजूरी दावीमा शिवजीले पाएको मत मध्ये ३ मत बदर गरिपाउँ भनी दावी नभएको देखिन्छ तथा बनारसी साह कानूले केवल १ मतको कुरालाई लिई त्यसबाट निर्वाचनको परिणाम फरक पर्‍यो र त्यो बदर होस् भनी दावी भएकोमा उजूरी भन्दा बढी निर्वाचन विशेष अदालतले निर्णय गरेको पाइन्छ । त्यसमा अतिरिक्त शिवजीले पाएको ३ मत बदर गर्दा यो ऐनको त्रुटि भयो र यस कारणले बदर हुन्छ भनी उल्लेख नगरेकोले समेत अधिकारको अतिक्रमण गरी वादी दावी भन्दा बाहिर गई त्रुटिपूर्ण निर्णय गरेको देखिँदा निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालतको २०३६।१।२।१ को निर्णय उत्प्रेषणको आदेश जारीगरी बदर गरिदिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालय कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. घनानाथ पन्त

 

इति सम्वत् २०३६ साल भाद्र ८ गते रोज ६ शुभम् ।