निर्णय नं. १२६२ – उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय नं. १२६२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको रि.नं. ८०९ आदेश भएको मिति...
निर्णय नं. १२६२ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री घनानाथ पन्त
सम्वत् २०३५ सालको रि.नं. ८०९
आदेश भएको मिति : २०३६।५।१०।१ मा
निवेदक : जिल्ला कपिलवस्तु फूलिका वार्ड नं. ३ मौजा पकडी बस्ने टिकोरी लोनिया
विरूद्ध
विपक्षी : जिल्ला कार्यालय कपिलवस्तुका श्री प्रमुख जिल्ला अधिकारीज्यू समेत
विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
(१) नाताको आधारमा अपुताली घर जग्गा दावी गरेकोमा नातातर्फको विवाद उत्पन्न हुन आएपछि सो को निर्णय गर्न अदालत पठाउनु पर्नेमा सो नगरी आफैंले अनधिकृत क्षेत्राधिकार प्रयोग गरी हक वेहक छुट्याएकोमा जिल्ला कार्यालय कपिलवस्तूको निर्णय त्रुटिपूर्ण देखिएकोले सो आदेश उत्प्रेषणको आदेश द्वारा बदर हुने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।६।१६ मा दर्ता हुनआएको रहेछ ।
२. तथ्य यस प्रकार छ : जोखुको श्रीमती भेथानाका नाउँमा जग्गा घर दर्ता भएको निजहरूको हकवाला अंशियारहरू कोही नभएको भोथना परलोक भएपछि जोखु लोनियाले स्वास्नी भोथनाका नाउँको जग्गा मेरा नाउँमा दर्ता नाउँसारी गरिपाउँ भनी भू.प्र.का.कपिलवस्तूमा निवेदन दिएकोमा टिकोरी लोनिया भारतबाट आई म भोथनाको छोरा हुँ भोथनाको नाउँको जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी निवेदन दिई भू.प्र.का.उ.व.मा मुद्दा चलेको छ ०३३।७।१९ मा जोखु पनि परलोक भयो निज भोथनाको घर जग्गा धनमाल श्री ५ को सरकार लाग्ने सम्पत्ति प्र.पं.सँग टिकोरी मिली बाली समेत खाएकोले कानून बमोजिम सजाय गरी जग्गा धनमाल श्री ५ को सरकार लगाई पाउँ भन्ने सर्पराज मुसलमान धोवीको निवेदन परेकोमा रामहर्षको श्रीमती भोथना लेनिनको ०३३।५।८ गते स्वर्गीय भएको हुन् निज मेरो आमा हुन् र निजका नामको जग्गा घर समेत छ भन्ने समेत टिकोरीको बयान भएकोमा भोथना र जोखु लोनियाको छोरा टिकोरी लोनिया भन्ने सबूद पुग्न आएन भन्ने भोथना जोखुको अरू हकदार समेत भएको नदेखिँदा अपुताली पर्न आएको जग्गा घर अपुतालीको १७ नं. ले श्री ५ को सरकार लाग्छ धनमालमा कारवाही गरी बिगो समेत असूल गर्नु भनी स.स.अ.को का.क.व.मा पठाई दिने भन्ने समेत विपक्षी जिल्ला कार्यालय कपिलवस्तुको ०३५।१।२६ को आदेश रहेछ ।
३. रिट निवेदन जिकिर यस प्रकार छ : अपुतालीको १७ नं. मा हकदार नभएमा मरेको सूचना पञ्चायतलाई दिनुपर्ने पञ्चायतले सम्पत्तिको तायदाती खडा गरी अञ्चलाधिश कहाँ पठाउनु पर्छ अञ्चलाधिशले हकदारको नाउँमा ३ महिने म्याद पठाउनु पर्ने हकदार आए सम्पत्ति बुझाई दिने नआए श्री ५ को सरकारको हुन्छ भन्ने प्रकृया तोकेको छ र सो अधिकार अञ्चलाधिशमा निहित छ अपुतालीको १७ नं. स्थानीय प्रशासन ऐन, ०२८ को दफा ११(३) ले आफैं प्रत्यायोजन गर्न नसक्ने अधिकारको क्षेत्रात्मक त्रूटिपूर्ण हुँदा अ.बं.३५ नं. अपुताली १७ नं. तथा स्थानीय प्र.ऐन, ०२८ को दफा ११(३) ले बदरभागी छ नाता सम्बन्धमा विवाद उत्पन्न हुन आएकोमा अधिकारीज्यूलाई निर्णय गर्ने अधिकारै नभएकोमा नातातर्फ समेत ठहर गर्नुभएको अ.बं.३५ नं. ले निस्कृय छ उत्प्रेषणको आदेश जारी गरी श्री अधिकारीज्यूको निर्णय बदर गरी सो निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी समेत गरिपाउँ भन्ने समेत निवेदन जिकिर।
४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।७।६ को आदेशानुसार प्राप्त लिखितजवाफ निम्न अनुसार छ :
५. नाताकायम गर्नेबारे स्थानीयप्रशासन ऐनको दफा ८ ले प्र.जि. अ.लाई अधिकार प्रदान गरेकै छ तैपनि यहाँबाट नाता कायम गर्ने तर्फ निर्णय भएको छैन निवेदकले कुनै सबूद प्रमाण दाखिल गर्न सक्नु भएको छैन निजको निवेदन झुठ्ठा हो अञ्चलाधीज्यूलाई भएको अधिकारले आफू प्र.जि. अ.लाई प्रत्यायोजन गरेकोले अधिकारक्षेत्र भित्र रही निर्णय गरेको हो गैरकानूनी निर्णय भएको छैन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्र.जि. अ.जिल्ला कार्यालय कपिलवस्तू ।
६. विपक्षी सर्फराज मुसलमान धोविका नाउँको सूचना ०३५।९।२३ मा तामेल भएकोमा लिखितजवाफ नपठाई गुजारेको रहेछ ।
७. निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले नाता सम्बन्धमा विवाद उत्पन्न भएकोमा अधिकारीज्यूलाई निर्णय गर्ने अधिकार नभएको अपुतालीको १७ नं. कार्यविधि पूरा भएको छैन र सो अधिकार अञ्चलाधिशमा निहित छ अधिकारीज्यूको निर्णय बदर गरिपाउँ भन्नेसमेत र विपक्षी तर्फबाट वि.व.स.अधिवक्ता श्री केदारनाथ उपाध्यायले अपुतालीको १७ नं. अनुसारको मुद्दा भई हेरी निर्णय गरेको मिलेको छ भन्ने समेत बहस गर्नु भयो ।
८. प्रस्तुत विषयमा निवेदकमा माग अनुसारको आदेश जारी हुने हो होइन सो को निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा जोखु लोनियाको श्रीमती भोथना भएकोमा निजहरूको हकवाला अंशियार अरू कोही नभएको भोथना परलोक भएकोले निज भोथनाका नाउँको घर जग्गा मेरो नाउँमा दर्ता नाउँसारी गरिपाउँ भन्ने जोखुले र म भोथनाको छोरा हुँ भोथानाको नाउँको जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी टिकोरी लोनियाले निवेदन दिनु भू.प्र.का.क.व.मा मुद्दा चलेको छ ०३३।७।१९ मा जोखसु पनि परलोक भयो भोथनाको घर जग्गा धनमाल श्री ५ को सरकार लाग्नेमा प्र.पं.सँग टिकोरी मिली बाली समेत खाए सजाय गरी जग्गा धनमाल श्री ५ को सरकार लगाई पाउँ भन्ने सर्फराज मुसलमान धोबीको निवेदन रामहर्षको श्रीमती भोथना ०३३।५।८ मा स्वर्गीय भएको निज मेरो आमा हुन् भनी नातातर्फ विवाद उठाई निवेदक टिकोरी लोनियाले बयान गरेको देखिन्छ ।
१०. नाताको आधारमा अपुताली घर जग्गा दावी गर्दै नातातर्फ विवाद उत्पन्न भएको देखिन आएपछि नाता कायम गराउने तर्फ कानून बमोजिम अदालतबाट निर्णय गराई आउनू भनी सुनाई सो टुङ्गो लागि आएपछि मात्र अपुतालीतर्फ कानून बमोजिम गर्नुपर्नेमा भोथना र जोखुको छोरा टिकोरी लोनिया भन्ने सबूद पुग्न आएन भन्दै नातातर्फ हक बेहक हुने गरी अनधिकृत क्षेत्राधिकार ग्रहण गरी विपक्षी जिल्ला कार्यालय कपिलवस्तूले त्रुटिपूर्ण निर्णय आदेश गरेको देखिन आयो ।
११. अतः उपरोक्त उल्लेख भए बमोजिम विपक्षी जिल्ला कार्यालय कपिलवस्तूले गरेको ०३५।१।२६ को त्रुटिपूर्ण निर्णय आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ कानून बमोजिम गर्नु भनी यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. घनानाथ पन्त
इति सम्वत् ०३६ साल भाद्र १० गते रोज १ शुभम् ।