July 31, 1979
Created by nepalarchives

निर्णय नं. १२५७ – हातहतियार खरखजाना

निर्णय नं. १२५७    ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश स.श्री ईश्वरीराज मिश्र सम्वत् २०३५ सालको फौ.पु.नं. १०६ फैसला भएको मिति...

निर्णय नं. १२५७    ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश स.श्री ईश्वरीराज मिश्र

सम्वत् २०३५ सालको फौ.पु.नं. १०६

फैसला भएको मिति : २०३६।४।१५।३ मा

पुनरावेदक : सिराहा जिल्ला राधापुर हाल डुम्री गा.पं.वार्ड नं. ५ बस्ने जयदेव गाहीवार

विरूद्ध

विपक्षी/वादी :  श्री ५ को सरकार

मुद्दा : हातहतियार खरखजाना

(१)  हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ मा व्यवस्था भए अनुसार खानतलासी गर्न स्थानीय अञ्चलाधिशज्यूबाट कारण सहितको पर्चा खडा गरी खानतलासी गर्दा घर खानतलासी भएको देखिएन । खानतलासीको कार्य प्रमुख जिल्ला अधिकारीबाट अञ्चलाधिशको अधिकार प्रत्यायोजन बिना गरेको देखिएकोले उक्त कार्य अनधिकृत देखिन्छ ।

(प्रकरण नं. १४)

फैसला

          न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चका फैसला उपर प्रतिवादीको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३५।६।६ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :

          २.   जगदेव गोहीवारले बिना इजाजत हातहतियार राखेको भन्ने विशेष सूत्रबाट खबर आएकोले निजको घर ०२९।७।१० मा खानतलासी गर्दा ए.एस.टी.आर.ए.भन्ने माथि र तल ३०४१ यू.सी.लेखिएको २ नाले बन्दूकको घोडा सहितको कुँजी र खानतलासी मुचुल्का टोटा समेत यसै साथ कारवाही हुन पेश गरेको छु भन्ने समेत प्र.जि. अ.सिरहा र स.ई.को ०२९।७।१३ को संयुक्त प्रतिवेदन ।

          ३.   जगदेवले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) को कसूर गरेको देखिन आएकोले मुलुकी ऐन दण्ड जरिवानाको १० नं. को सिद्धान्त अनुसार हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० (२) बमोजिम र टोटा राखे तर्फ ऐ.ऐनको २० को उपदफा (३) बमोजिमको जरिवाना समेत खापी सजाय हुन अनुरोध छ भन्ने समेत ०२९।१०।६ को प्रहरी प्रतिवेदन ।

          ४.   मेरो घरको भान्साघरबाट बन्दूकको कुण्डा र टोटा बरामद भएको भन्ने सुनेको हुँ रामचन्द्र सिंह राजपूत र ह्दयसिंह राजपूतले कुन मिति समयमा हो कहाँबाट हो सो मेरो भान्साघरमा बरामद भएको बन्दूकको कुण्डा र टोटाहरू राखेको शंका लाग्छ मैले कुनै ठाउँबाट ल्याई राखेको खरीद बिक्री गरी लिएको होइन म बन्दूक बरामद भएको समय भारत सिमरीयामा घाट गङ्गा स्नान गर्न गएको हुँ भन्ने समेत जयदेव गोहीवारको ०३०।५।१७ को बयान ।

          ५.  ०२९।७।१० गते अं.१२ बजे प्र.जि. अ.र स.ई.तथा प्रहरीहरू समेत जयदेवको घर घेरा हाली प्र.जि. अ.ले मलाई बोलाई पठाएको गई भेटे जगदेवले २ नाले बन्दूक १, एक नाले बन्दूक १, पेस्तोल १ अरू खजाना पनि राखेको भन्ने सुराक छ खानतलासी गराई दिन पर्‍यो भनी मलाई र प्र.पं.लाई भन्नुभएबाट निजको घरमा हेर्दा भान्छाघरमा नूनको बोरा भित्र नम्बर बिगार्ने प्रयास गरिएको २ नाले टोटा बाल बन्दूकको कुण्डा र कोठाहरूबाट खाली टोटा तीन भरिएको टोटा १ फायर नभएको गोलीको टोटा १ छर्रा टोटा १ समेत बरामद भएको भन्ने समेत परशुराम गजुरेलको बयान ।

          ६.   २०२९।७।१० गते अं.१२ बजे जगदेवको घर प्रहरीले घेरा हाली मलाई बोलाउन पठाए गई भेटें जगदेवको घरमा बन्दूक पेस्तोल अरू खजाना पनि राखेको भन्ने सुराक छ खानतलासी गराई दिन पर्‍यो भनी मलाई समेत भनेबाट प्र.जि. अ.र प्रहरी स.ई.समेतको साथ भित्र पसी घरमा हेर्दा २ नाले टोटावाल बन्दूकको कुण्डा र खाली टोटा ३ भरिएको टोटा १, गोलीको टोटा १, छर्रा टोटा १ समेत बरामद भएको भन्ने समेत लक्ष्मणप्रसाद बरालको बयान ।

          ७.  जगदेवको बयान सुनेँ म र मेरा छोरा ह्दयनारायण सिंहले राखे रखाएको होइन, बन्दूकको कुण्डा र खजानाहरू निजको भान्साघरको कोठाबाट निस्केको निजसँग पेस्तोल एक नाले बन्दूक २ नाले बन्दूक समेत छ भन्ने कुरा सुनेको थिएँ निजको चाल चलन पनि ठीक छैन भन्ने समेत रामचन्द्र सिंह राजपूतको बयान ।

          ८.   जगदेवको बयान सुनें म र मेरा बाबु रामचन्द्र सिंहले राखेको रखाएको होइन बन्दूकको कुण्डा र खजानाहरू निजको भान्साघरको कोठाबाट निस्केको निजसँग पेस्तोल, एक नाले दुई नाले टोटावाल बन्दूक समेत छ भन्ने कुरा मैले सुनेको थिएँ निजको चाल चलन पनि ठीक छैन भन्ने समेत ह्दयनारायण सिंहको बयान ।

          ९.   बिना लाइसेन्स २ नाले बन्दूकको घोडा सहितको कुण्डा र टोटाहरू निजको जगदेव गोहीवारले राखेको ठहर्छ हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (२) बमोजिम दुई वर्ष कैद र रू.१२००। जरिवाना हुन्छ भन्ने समेत प्रमुख जिल्ला अधिकारीको कार्यालय सिराहाको ०३०।७।१७ को फैसला ।

          १०.  सो फैसलामा चित्त बुझेन भन्ने समेत जयदेव गोहीवारको पुनरावेदन पत्र । शुरू प्र.जि. अ.को इन्साफ मनासिव छ भन्नेसमेत पू.क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३३।५।३० को फैसला ।

          ११.  सो फैसलामा कानूनको त्रुटि हुँदा पुरावेदनको अनुमति पाउँ भन्ने समेत जयदेव गोहीवारको निवेदनपत्र परेकोमा हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ अन्तर्गत कारण सहितको पर्चा खडा गरी खानतलासी गर्ने गराउने र जुनसुकै हातहतियार वा खरखजाना उपर कब्जा गर्ने अधिकार अञ्चलाधिशलाई प्रदान भएको देखिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ११(३) को प्रतिबन्धात्मक वाक्यांश अन्तर्गत श्री ५ को सरकारले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४(१) अन्तर्गत अधिकार मात्र प्र.जि. अ.लाई प्रदान गरेको देखिन आउँछ, खानतलासी गर्ने अधिकारको प्रत्यायोजन भएको देखिन्न अनधिकृत खानतलासीलाई प्रमाण कायम गरी प्रतिवादीलाई सजाय गर्ने गरेको प्र.जि. अ.को फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

          १२.  प्रस्तुत मुद्दा मिति ०३५।१२।३० को पेशीको दिन पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ ले अञ्चलाधिशलाई पर्चा खडा गरी खानतलासी गर्न गराउन सक्ने व्यवस्था भएकोमा प्रमुख जिल्ला अधिकारीले गरेको अनधिकृत खानतलासीको आधारमा पुनरावदेकलाई सजाय गरेको मिलेन भन्ने समेत र श्री ५ को सरकार तर्फबाट बहस गर्न खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले सरकारी मुद्दा सम्बन्धी ऐन अन्तर्गत प्रहरीले खानतलासी गर्न मिल्ने भई सो खानतलासीको आधारमा पुनरावेदकलाई सजाय गरेको मिलेको छ भन्ने समेत बहस गर्नु भई आज निर्णय सुनाउने तारिख तोकिएको यस मुद्दामा प्रमुख जिल्ला अधिकारीले गरेको खानतलासी मुचुल्काको आधारमा पुनरावेदकलाई सजाय गरेको फैसला मिलेको छ छैन सो कुरामा निर्णय दिनु परेको छ ।

          १३.  यसमा निर्णयतर्फ हेर्दा सरकारी अधिवक्ताले सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ को दफा १७ अनुसार प्रहरीले खानतलासी लिन मिल्ने भनी बहसमा जिरह गर्नुभएको छ त्यस ऐन भन्दा पछि बनेको हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ मा कुनै स्थानीय अञ्चलाधिशले आफ्नो अधिकार र क्षेत्र भित्र बसोबास भएका कुनै व्यक्तिसँग बिना लाईसेन्स वा गैरकानूनी प्रयोजनको निमित्त कुनै हातहतियार वा खरखजाना राखिएको छ भन्ने भरपर्दो शंका लागेमा वा त्यस्तो व्यक्तिसँग सो हातहतियार वा खरखजाना राख्न दिनु सार्वजनिक शान्तिको निमित्त उचित हुने छैन भन्ने स्थानीय अञ्चलाधिशलाई विश्वास लागेमा कारण सहितको पर्चा खडा गरी सो पर्चाको आधारमा त्यस्तो व्यक्तिको घर जग्गामा वा अरू शंका लागेको ठाउँमा खानतलासी गर्न गराउन र लाईसेन्स भएको वा नभएको जुनसुकै हातहतियार वा खरखजाना उपर कब्जा गर्न सक्नेछ भन्ने समेत उल्लेख भएको हुनाले सो ऐन बमोजिम नै हुनु गर्नुपर्ने हुन आउँछ ।

          १४.  प्रस्तुत मुद्दामा उक्त हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ मा व्यवस्था भए अनुसार खानतलासी गर्न निमित्त स्थानीय अञ्चलाधिशबाट कारण सहितको पर्चा खडा गरी प्रतिवादी पुनरावेदक जयदेव गोहीवारको घर खानतलासी भएको देखिन आएन । सो खानतलासीको कार्य जिल्ला अधिकारीबाट भएको देखिन आएकोले उक्त खानतलासी अनधिकृत देखिन आयो सो खानतलासी गर्ने अधिकारी स्थानीय अञ्चलाधिशबाट स्थानीय प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन भएको छ भनी सरकारी अधिवक्ताले बहसमा भन्न पनि नसकेको र मिसिल संलग्न कागजबाट पनि देखिएन ।

          १५.  यस स्थितिमा माथि व्यक्त आधारहरूबाट अनधिकृत खानतलासी मुचुल्कालाई आधार बनाई प्रतिवादी पुनरावेदक जयदेव गोहीवारलाई सजाय गरेको शुरू प्रमुख जिल्ला अधिकारीको कार्यालय सिराहाको मिति ०३०।७।१७ को र सोही इन्साफ सदर गरी पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट भएको ०३३।५।३० को फैसला मिलेको देखिन आएन ।

          १६.  अतः उपरोक्त उल्लिखित अनधिकृत खानतलासी मुचुल्काको आधारमा पुनरावेदक प्रतिवादी जयदेव गोहीवारलाई हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० को उपदफा (२) बमोजिम दुई वर्ष कैद र रू.१२००। जरिवाना गरेको शुरू प्रमुख जिल्ला अधिकारीको कार्यालय सिरहाको फैसला र सो फैसला सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला मिलेको नदेखिएकोले पुनरावेदक प्रतिवादी जयदेव गोहीवारले सफाई पाउने ठर्हछ, तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक प्रतिवादी जयदेव गोहीवार के शुरू प्र.जि. अ.को कार्यालय सिरहाका ०३०।७।१७ का फैसलाले लाग्ने गरेको कैद वर्ष २ दुई र जरिवाना रू.१२००। एक हजार दुई सय यस अदालतबाट सफाई पाएकोले सो कैद जरिवाना नलाग्ने हुँदा असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटी दिनु भनी प्र.जि. अ.को कार्यालयको हाल जि. का.सिराहामा लेखीपठाउन का.जि. अ.मा लगत दिनु…१

पुनरावेदक प्र.जयदेव गोहीवार के शुरू उपर पुनरावेदन गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति ०३३।५।३० को फैसलाले गर्ने गरेको देहायको कैद र जरिवाना नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी ऐ.ऐ.मा लेखी पठाउन ऐ.ऐ……….

कैद महीना।२।१२। जरिवाना रू.१२०। देहायका साक्षीहरू के झुठ्ठा बकेका भनी शुरू प्र.जि. अ.को कार्यालय सि.०३०।७।१७ का फैसलाले रू.१। का दरले गर्ने गरेको जरिवाना हाल नलाग्नेहुँदा असूलभए फिर्ता नभएव्यहोराजनाई लगतकाटी दिनुभनी ऐ.ऐ.मा लेखी पठाउने ऐ.ऐ.३

जि. सि.प्र.रा.राधोपुर गा.पं.वार्ड नं. ७ बस्ने लालबहादुर क्षेत्री १, ऐ.ऐ.बस्ने वंशी साहुतेली १

पुनरावेदक प्रतिवादी जयदेव गोहीवारको निजले पू.क्षे.अ.उपर पुनरावेदन गर्दा सो क्षेत्रीय अदालतको फैसलाले लाग्ने गरेको कैद महीना २।२ को रू.१०८। र जरिवाना वापतको रू.१२०। सर्वोच्च अदालत निवेदन शाखाको ०३३।७।२६ को पत्रसाथ काठमाडौं जिल्ला अदालत तहसिल फाँटमा बुझाएको देखिँदा सो रूपैयाँ फिर्ता पाउँ भनी निज जयदेवको दरखास्त परे दस्तूर केही नलिई रू.१०८। धरौटीबाट र रू.१२२०। अड्डाका आम्दानीबाट फिर्ता दिनु भनी का.जि. अ.त मा लगत दिनु……………… ४

नियम बमोजिम गरी मिसिल बुझाई दिनु……………… ५

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३६ साल श्रावण १५ गते रोज ३ शुभम् ।