निर्णय नं. १२५५ – चेक कीर्ते गरी रूपैया झिकी खायो भन्ने
निर्णय नं. १२५५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको फौ.पु.नं. १०३ फैसला भएको मिति...
निर्णय नं. १२५५ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको फौ.पु.नं. १०३
फैसला भएको मिति : २०३६।२।१४।२ मा
पुनरावेदक : का.जि. ठमेल १५।१०७ बस्ने केशवप्रसाद घिमिरे
विरूद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : चेक कीर्ते गरी रूपैया झिकी खायो भन्ने
(१) विशेषज्ञ भनिएको व्यक्ति यथार्थमा हस्ताक्षर विशेषज्ञ हो वा होइन भन्ने सम्म पनि अदालतबाट यकिन गरिएको वा निजलाई अदालतमा साक्षी सरह उपस्थित गराई बुझिएको वा निजसँग जिरह गर्ने प्रतिवादीलाई मौका दिएको देखिन्न । यस स्थितिमा उक्त रायलाई प्रमाण लिनु प्रमाण ऐन, ०३१ को दफा २३ को उपदफा (७) को प्रतिकूल सम्झनुपर्ने हुन्छ ।
कानून बमोजिम ग्रहण गर्न नहुने प्रमाण ग्रहण गरी सो प्रमाणलाई आफ्नो ठहरको आधार बनाई फैसला गरेकोले प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले सो फैसला बदर हुने ।
(प्रकरण नं. ७)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराज भण्डारी
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लिखित मुद्दा :
फैसला
न्या. विश्वनाथ उपाध्याय : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. विफर उन्मूलन आयोजना केन्द्रिय कार्यालयको तत्कालीन मुखिया केशवप्रसाद घिमिरेले कार्यालयको नं. ५५२१४६ को खाली चेकमा खाता सञ्चालन गर्ने बेतीबहादुर, रामचन्द्रको कृत्रिम सही गरी गराई कृष्णप्रसाद श्रेष्ठको नामबाट कृत्रिम चेक तयार गरी नेपाल राष्ट्र बैङ्कबाट रू.१५२८। आफैंले भुक्तानी लिई खाई मासेका रहेछन् । विशेषज्ञको रायबाट चेकमा लेखिएको मिति अङ्क र लिपिहरू निज केशवप्रसाद कै भएको कारणबाट निज उपर भ्र.नि.ऐन, २०१७ को दफा ७(१) र दफा २९ अन्तर्गत कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोप पत्र ।
३. ततिम्बा सहितको २०३०।१।२२ को बयान देखाएको हेरेँ देखेँ बयान गराउँदा मेरो हस्ताक्षरबाट जवाफ लेखेको हो । ततिम्बा गराउँदा पिटेर जबरजस्ती लेखिए बमोजिम भनी लेखिएकोले सावित भई हस्ताक्षरले लेखिएको हो । मैले चेक कीर्ते गरी रूपैयाँ बैङ्कबाट झिकिलिए खाएको होइन कसले रूपैयाँ झिके थाहा छैन । विशेषज्ञले मेरो हस्ताक्षरसँग मिल्छ भनी किन राय दिए थाहा छैन भन्ने समेत केशवप्रसादले अदालतमा गरेको बयान ।
४. कृत्रिम दस्तखतबाट बदनियत चिताई निज प्र.केशवप्रसादले चेकबाट रूपैयाँ झिकी खाई आफूलाई गैह्र कानूनी फाइदा विफर उन्मूलन कार्यालयलाई हानी पुर्याएको ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको ०३३।३।७।१ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.केशवप्रसाद घिमिरेको पुनरावेदन ।
वादी दावी बमोजिम चेक कीर्ते गरी बैङ्कबाट रूपैयाँ झिकी लिए खाएमा प्रतिवादी केशवप्रसादले विशेष प्रहरीमा बयान गर्दा सावित भई बयानको जवाफ आफैंले लेखेमा साविती र अदालतमा बयान गर्दा भने कुटपिट गरी प्रहरीमा साविती लेखाएको भन्ने बयान लेखाईबाट देखिन्छ, तर चेकमा लेखिएको मिति र अङ्क अक्षरहरू निजै प्रतिवादी केशवप्रसादको हस्ताक्षरसँग मिल्छ भन्ने विशेषज्ञको जवाफबाट देखिएको समेतबाट केशवप्रसाद घिमिरेलाई कसूरदार ठहर्याएको इन्साफ बागमती विशेष अदालतको मनासिव छ भन्ने समेत ०३४।३।२८ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
६. उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा रेखा विशेषज्ञको प्रतिवेदनको आधारमा निवेदक केशवप्रसादलाई दोषी ठहराएको रहेछ, प्रमाण ऐन, ०३१ को दफा २३ ले व्यक्तिगत राय लिन हुने र ऐ.५२ दफाले उपस्थिति गराई वकाउन हुने भई पक्षले जिरह गर्ने मौका पाउँछ प्रस्तुत मुद्दामा रेखा संग्रहालयबाट लेखिआएको रेखा विशेषज्ञको प्रतिवेदनलाई प्रमाण मानेको देखिँदा उक्त ऐन बमोजिम बकाई पक्षलाई जिरह गर्ने मौका दिनुपर्ने नदिएको कारणले उक्त ऐनको त्रुटि भई सार्वजनिक महत्वको विषय हुँदा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजन बेञ्चको आदेश ।
७. पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी तथा विपक्षी वादी तर्फबाट खटिई उपस्थित हुनु भएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहस समेत सुनियो ।
८. यसमा चेक कीर्ते गरी बैङ्ककबाट रूपैयाँ झिकी लिए खाएमा प्रतिवादी केशवप्रसादले विशेष प्रहरी विभागमा आफैं बयान लेखी सावित भएको र चेकमा लेखिएको मिति र अङ्क अक्षरहरू निज प्रतिवादीले केशवप्रसादको हस्तासँग मिल्छ भन्ने विशेषज्ञको जवाफ देखिएको भन्ने समेतको आधारमा बागमती विशेष अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी पुनरावेदक केशवप्रसादलाई कसूरदार ठहराएको पाइन्छ ।
९. यस सम्बन्धमा मिसिलको अध्ययन गर्दा प्रतिवादी पुनरावेदकले विशेष प्रहरी विभागमा २०३० साल बैशाख २२ गते गरेको तम्तिम्वा बयान जबरजस्ती साथ गराएको भनी बागमती विशेष अदालतमा बयान देखिन्छ । निजले विशेष प्रहरी विभागमा गरेको भनिएको बयान हेर्दा २०३०।१।१२।३ मा निजले चेकको पैसा मैले लिए खाएको होइन भनी कसूरमा इन्कार गरी बयान गरेकोमा २०३०।१।२२ मा गरेको तम्तिम्बा बयानमा मैले सो चेकको रूपैयाँ लिए खाएको हो भनी सावित भई बयान गरेको पाइन्छ । सो अवधिभित्र निज केशवप्रसाद विशेष प्रहरी विभागको हिरासतमा थुनामा रहेको देखिन्छ । यसरी थुनामा रहेको व्यक्तिले ३०।१।१२ मा कसूरमा इन्कार गरी ०३०।१।२२ मा एकाएक आफ्नो स्वेच्छाले कसूरमा सावित भई बयान गर्नुपर्ने अरू कुनै तर्कसंगत कारण देखिँदैन । यस स्थितिमा ०३०।१।२२ को ततिम्बा बयान जबर जस्ती गरी गराएको भन्ने निजको जिकिर विचारणीय हुनआउँदछ । वस्तुतः उक्त साविती भनिएको बयान संकास्पद देखिएकोले प्रमाणको रूपमा ग्राह्य हुन सक्दैन ।
१०. प्रतिवादी पुनरावेदकलाई कसूरदार ठहराउन हस्ता विशेषज्ञ भनिएको व्यक्तिको राय पनि प्रमाणको रूपमा ग्रहण गरिएको छ । तर सो विशेषज्ञ भनिएको व्यक्ति यथार्थमा हस्ताक्षर विशेषज्ञ हो वा होइन भन्ने सम्म पनि अदालतबाट यकिन गरिएको वा निजलाई अदालतमा साक्षी सरह उपस्थित गराई बुझिएको वा निजसँग जिरह गर्ने प्रतिवादीलाई मौका दिइएको देखिन्न । यस स्थितिमा उक्त रायलाई प्रमाणमा लिनु प्रमाण ऐन, ०३१ को दफा २३ को उपदफा (७) को प्रतिकूल सम्झनु पर्ने हुन्छ । ०३३।३।७ मा निवेदकको विरूद्ध विशेष अदालतमा प्रतिवेदन परेको, सोही दिन निजको विशेष अदालतमा बयान भएको र सोही दिन विशेष अदालतले उपर्युक्त कुराहरू प्रमाणको रूपमा ग्रहण गरी फैसला समेत गरेकोले वस्तुतः प्रमाण ऐन, ०३१ को उपर्युक्त कानूनी व्यवस्थामा विशेष अदालतको ध्यान गएको देखिन्न । इन्साफमा असर पर्न सक्ने प्रमाण सम्बन्धी यस्तो महत्वपूर्ण कुरालाई मध्यमाञ्चल क्षेत्रीय अदालतले पनि वास्ता राखेको छैन । तसर्थ कानून बमोजिम ग्रहण गर्न नहुने प्रमाण ग्रहण गरी सो प्रमाणलाई आफ्नो ठहरको आधार बनाई बागमती विशेष अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतले फैसला गरेकोले प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले सो फैसलाहरू बदर हुने ठहर्छ । तपसील बमोजिम गर्ने ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम बागमती विशेष अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर भएकोले ०३३।३।७।१ को बागमती विशेष अदालतको फैसलाले गर्ने गरेको कैद वर्ष १। एक र मध्यमाञ्चल क्षेत्रीय अदालतले गर्ने गरेको थप कैद महीना १।६ दिन हाल गर्नु नपर्ने हुँदा उक्त लगत काटी दिनु भनी का.जि. अ.त.मा लगत दिनु……………………..१
बाँकी कैद ।१०।२६ दिनको धरौटी रू.०३३।३।९ मा स्याहा भएको देखिनाले फिर्ता नदिएको भए फिर्ता दिनु र उक्त कैद महीना ।१०।२६ को लगत कट्टा गरी दिनु भनी लगत दिनु ……………………..२
म.क्षे.अ.को ०३४।३।२८।३ को फैसलाले गर्ने गरेको थप कैद महीना ।१।६ को रू.५४। यस अदालतमा पुनरावेदन गर्दा दाखिल गरेको देखिएकोले उक्त रूपैयाँ समेत फिर्ता दिनु भनी का.ज.अ.त.मा लगत दिनु …………………३
नियमानुसार गरी मिसिल बुझाई दिनु ……………………. ४
उक्त रायमा म सहमत छु ।
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् ०३६ साल ज्येष्ठ १४ गते रोज २ शुभम् ।