February 27, 1986
Created by nepalarchives

निर्णय नं. २५६२ – केही सार्वजनिक अपराध

निर्णय नं. २५६२    ने.का.प. २०४२      अङ्क १२   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको...

निर्णय नं. २५६२    ने.का.प. २०४२      अङ्क १२

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको फौ.पु.नं. ४६०

मुद्दा : केही सार्वजनिक अपराध ।

 

पुनरावेदक/प्रतिवादी:जि.बांके ने.गं.न.पं. वडा नं.१४ बस्ने तेजराम अग्रवाल ।

ऐ.ऐ बस्ने दिनेश कुमार अग्रवाल ।

ऐ. परमपुर गा.पं. वार्ड नं.७ बस्ने अकवर अली इन्द्रीस मियाँ ।

विरुद्ध

विपक्षी/वादी: चमनलाल सेठीको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति:२०४२।११।१६।५ मा

     आकर्षित हुनै नसक्ने ऐनको प्रयोग गरी गरेको इन्साफ उल्टी हुने ।

(प्रकरण नं. २१)

पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह

विपक्षी तर्फबाट      :विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रिय क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदक प्रतिवादीहरूले दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । तेजरामको दुकानबाट मैले भा.रु. २,७७०।को माल किनेको थिएँ निजले माल तथा पैसा नदिएकोले रोकिएँ भनी मेरा भतिजा जगदिशले भनेकोले यिनको पैसा किन नदिएको भनी दिनेशलाई भन्दा दिनेशले भा.रु. १०००।लैजाउ अरु बाँकी रु. १७७०।भोलि लिनु भनेबाट भोलि ०३३।८।१ गते १० बजे निजको दुकानमा गई उक्त रुपियाँ माग्दा निज तेजराम र निजकै छोरा दिनेश र उसका दाजु समेतले मलाई बाहिरबाट पिट्दै आफ्नो घर दोकानभित्र लगी दोकान बन्द गरी लेखिराखेको कागजमा सही गर भनी भन्दा नगरेकोले मारपीट गर्दा मैले बचाउ बचाउ भनी कराउँदा आवाज सुनी विद्यार्थी तथा पुलीसहरू मौकामा तेजरामको घर पुगी मलाई बाहिर निकालेकोले उम्कीभागी दर्खास्त दिन आएको छु । निजहरूलाई पक्राउ गरी मेरो लिनु बाँकी भा.रु. १७७०।दिलाई मलाई लागेको चोटको केश फाराम गराई केही सार्वजनिक अपराध तथा सजायँ ऐन अन्तर्गत कारवाही गरिपाउँ भन्ने चमनलाल सेठीको जाहेरी दर्खास्त ।

२.    लेखिएको ०३३।८।१ गतेका दिन बजार बन्द थियो हामी घर बसेको अवस्था १०।११ बजे तल घण्टी बजेकोले आमा तल आई ढोका खोली हेर्दा हाम्रो इविवाला अनवर अलिमियां त्यसका साथमा नचीनेका भारतीय मानिस आएको देखी आमाले अनवरसँग पैसा माग्दा साथमा आउने भारतीयले र अनवरले आक्रमण गरेकोले आमालाई चोटपटक लागेको देखी मैले निजहरूलाई निकाली ढोका बन्द गरेको हुँ त्यसपछि तिनीहरूले बगरको केही गुण्डा बटुली दोकान अगाडि जम्मा भएको देखी प्रहरी आई पुकारा गर्दा ढोका खोलेको अवस्था गुण्डाहरू दोकान भित्र पसी हुलहुज्जत गरेका हुन् भन्ने समेत व्यहोराको दिनेशकुमारले गरेको  बयान । लेखिएको ०३३।८।१ गते दिनको १२ बजे दोकान घरको भित्र कोठामा सुतिरहेको अवस्था पुलीसले बोलाए भनी माहिला छोराले भन्दा साथ लागी आएको हुँ म ब्लड प्रेसरको रोगी हुँदा दिनमा सुत्ने गर्दथिएँ अरु कुरा मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको तेजराज अग्रवालको बयान ।

३.    दिनेशकुमार अग्रवालको पुलीस घा जाँच फाराम रहेछ ।

४.    ०३३।८।१ गते माल सामान किन्न भनी तेजरामको दुकानतिर गएको अवस्था जाहेरवालालाई भित्र लगी ढोका बन्द गरे त्यत्तिकैमा जाहेरवालाले बचाउ बचाउ भनी कराउन थाले र नमालुम कसरी जाहेरवालाले सिटकनी खोली टाउको बाहिर निकाले हामी २०।२५ जना भित्र गई निजलाई बाहिर निकाल्यौं र त्यसबखत पुलीसहरू पनि आइपुगी तेजराम समेतलाई पक्राउ गरी लगेका हुन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । जाहेरवाला चमनलाल सेठीको पुलीस केश फाराम रहेछ ।

५.    अभियुक्त तेजराम अग्रवाल १ दिनेशकुमार अग्रवाल १ समेतले केही सार्वजनिक अपराध र सजायँ ऐन संशोधनसहितको दफा २ को (३) अनुसार कसूर गरेकोले सोही ऐनको दफा ६ को उपदफा   (१) बमोजिम कारवाही भई सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

६.    ०२३।८।१ गते म दोकानको माथिल्लो कोठामा आराम गरिरहेको अवस्थामा छोरा कराएको सुनी तल आई हेर्दा केही मानिस र पुलीस समेत दोकान भित्र पसी मेरो छोरा र स्वास्नी समेतलाई केही मानिसहरूले कुटपीट गरी रहेका थिए प्रहरीले झगडा शान्त गरी म समेतलाई पक्राउ गरी लगेका हुन जाहेरवालालाई चिन्दिन केही व्यक्तिहरूको भनाइमा लागी झुठ्ठा उजूर गरेको हुन भन्ने तेजरामले जि.का.मा गरेको बयान ।

७.    लेखिएका दिन अनबर र १ जना भारतीय मानिस आई मेरो दोकानमा आई घण्टी बजाउँदा आमा तल आउनु भई ढोका खोल्दा ती दुईजना भित्र पसी आमासँग वादविवाद गरी आक्रमण गरेछन । आमाको पुकारा सुनी म तल आई निजहरूलाई बाहिर निकाल्न लाग्दा मलाई पनि पिटे यत्तिकैमा अरु मानिस जम्मा भई २०।२५ जनाको हुल दोकान भित्र पसी हुलहुज्जत गर्न थाले पुलीसहरू पनि आई बाबुलाई बोलाउ भनी भनेपछि मैले बाबुलाई बोलाई ल्याएको हुँ मेरो झगडियाको पक्षमा लागि सरजमीन गरेको आधारमा म समेत उपर अभियोग लगाएका हुन भन्ने समेत व्यहोराको दिनेशकुमार अग्रवालले जिल्ला कार्यालयमा गरेको बयान ।

८.    यसमा तेजमान अग्रवाल र दिनेशकुमार अग्रवालले केही सार्वजनिक अपराध तथा सजायँ ऐन, ०२७ को दफा २ को देहाय (झ) अनुसार कसूर गरेको देखिँदा प्र.दिनेशकुमारलाई सोही ऐनको दफा ६ को उपदफा (१) बमोजिम रु. ३००।तीनसय जरिवाना र ५ पाँच महिना कैद तथा प्र.तेजरामलाई सोही ऐनको दफा ६ को उपदफा (१) बमोजिम रु. ५००।जरिवाना र ९ नौ दिन कैद हुन्छ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय बाँकेको ०३३।।१० को फैसला ।

९.    सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको तेजराम दिनेशकुमार समेतले भेरी अञ्चल अदालतमा गरेको पुनरावेदन ।

१०.    शुरु दावी नै खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको भेरी अं.अदालतको ०३३।११।१३ को फैसला ।

११.    भेरी अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी श्री ५ को सरकारको मध्यमाञ्चल क्षेत्रियक्षे.अ.मा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएको ।

१२.   यसमा भेरी अञ्चल अदालतको फैसलामा शुरु जिल्ला कार्यालयको फैसला उल्टी हुने अवस्थामा अ.बं.२०२ नं.बमोजिम विपक्षीलाई सूचना दिई कारवाही गर्नु पर्ने सो बमोजिम नगरी भे.अं.अ.बाट गरेको  फैसला बदर हुने ठहर्छ कानुन बमोजिम कारवाही गरी निर्णय गर्नु भन्ने समेत व्यहोराको सु.पश्चिमान्चल क्षेत्रिय अदालतको ०३६।३।१८ को फैसला ।

१४.   घा जाँच फाराम एक्सरेबाट कुटपीट भएकै देखिएको र प्रहरीले मौकैमा पक्राउ गरेको देखिन आएको समेतका प्रमाणबाट शुरुले केही सार्वजनिक अपराध ऐन अन्तर्गत कसूर गरेको ठहराई गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको भेरी अ.अ.को ०३८।५।९ गतेको फैसला ।

१५.   सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र.तेजराम दिनेशकुमारको मध्यमाञ्चल क्षेत्रिय क्षे.अ.मा परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएको रहेछ ।

१६.    यसमा भेरी अं.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रिय क्षे.अदालतको ०४०।९।१५ को फैसला ।

१७.   सो फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्र.तेजराम दिनेशकुमारको यस अदालतमा परेको निवेदनमा प्रस्तुत मुद्दामा पसल भित्र भएको कुटपीटको वारदातलाई लिई सार्वजनिक अपराध तथा सजायँ ऐन, ०२७ को दफा २(झ) को परिधी भित्र पर्न सक्ने भन्न नमिल्ने हुँदा उक्त ऐनको दफा ६ प्रयोग गरी सजायँ गरेको त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको डिभिजन बेञ्जको आदेश ।

१८.   पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्माले गर्नु भएको बहस समेत सुनियो मुख्यत मध्यमाञ्चल क्षेत्रिय क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१९.    यसमा जाहेरवाला चमनलाल सेठीको र प्रतिवादी पुनरावेदक दिनेशकुमार र तेजराम अग्रवालका बीचमा घरायसी कारोवार लिनु दिनु भएकोमा र जाहेरवाला पुनरावेदक प्रतिवादीका घर दुकानमा गएको रुपैयाँ मागेको पिट्दै घर दुकानभित्र लगेको भन्ने समेत जाहेरवालाकै जाहेरीबाट प्रष्ट देखिन आएको पाइन्छ । पुनरावेदक दिनेशकुमार तेजरामका घरभित्र झगडा भएको र घर भित्रैबाट जाहेरवाला चमनलाललाई निकालेको हो भन्ने समेत सरजमीनको भनाई देखिन्छ ।

२०.   केही सार्वजनिक अपराध र सजायँ ऐन, ०२२ को दफा २(झ) मा हेर्दा कसैलाई हैरानी गर्ने वा सताउने हेतुले कहिँ बसिरहेको अवस्थामा वा बाटोघाटोमा हिंडीरहेको वा कुनै सवारीबाट गइरहेको अवस्थामा कुनै प्रकारले बाधा बिरोध छेकथुन (घेराउ) गर्ने वा हुलहुज्जत हातपात कुटपीट बिजाँई उपद्र्याँई गर्ने वा त्यस्तो व्यक्तिको साथमा भएको कुनै सम्पत्ति खोसी लिने वा नोक्सान गर्ने वा सवारीको साधनमा नोक्सान पुर्‍याउनेभन्ने समेतको व्यवस्था गरेको पाइन्छ ।

२१.   यस्तो स्थितिमा उक्त उल्लिखित कानुनी व्यवस्थानुसारका परिधि भित्रका कुरामा कुनै हानी नोक्सानी पुर्‍याएको र बाटोघाटोमा हिंडिरहेका वा कुनै सवारीबाट गइरहेको अवस्था समेतका कानुन निर्धारित अवस्था प्रस्तुत मुद्दामा विद्यमान भए मिलेको देखिन नआएको प्रष्ट देखिएकोमा त्यस्तो आकर्षित हुनै नसक्ने ऐनको प्रयोग गरी पुनरावेदक दिनेशकुमारलाई जरिवाना रु.३००।र कैद महिना ।५ र तेजराम अग्रवाललाई जरिवाना रु. ५००।र कैद दिन ।।९ नौ महिना गर्ने गरी शुरुले गरेको इन्साफ सदर गर्ने गरेको भेरी अञ्चल अदालतको इन्साफ मनासिव ठहराई गरेको मध्यमाञ्चल क्षेत्रियक्षेत्रीय अदालतको इन्साफमा कानुनी त्रुटिपूर्ण देखिन आएकोले सो निर्णय फैसला बदर भई उल्टी हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएका बमोजिम पुनरावेदक  प्रतिवादी देहायका मानिसहरूलाई देहायका अदालतहरूबाट गर्ने गरेको जरिवाना तथा कैद अब नलाग्ने भएकोले सो को सम्पूर्ण लगत काटी दिनु भनी शुरु बांके जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.मा लगत दिनु….१      पुनरावेदक प्र.दिनेशकुमार अग्रवालले शुरु बांके जिल्ला अदालतले गर्ने गरेको जरिवाना रु. ३००।र कैद महिना ।५ पाँच र भेरी अञ्चल अदालतले थप गर्ने गरेको जरिवाना रु.३०।र कैद दिन ।।१५ मध्यमाञ्चल क्षेत्रिय क्षेत्रीय अदालतले गर्ने गरेको जरिवाना रु. १५।र कैद दिन ।।७।३० सांढेसात दिन समेत जम्मा जरिवाना रु. ३४५।र जम्मा कैद ।५।२२।३० पाँच महिना सांढेवाइस दिनको कलम…..१

पुनरावेदक प्र.तेजराम अग्रवालके शुरु बाँके जि.अ.ले गर्ने गरेको जरिवाना रु. ५००। र कैद दिन ।.।९ र भेरी अञ्चल अदालतले गर्ने गरेको थप जरिवाना रु. ५०।र कैद घडी ।।।५४ र मध्यमाञ्चल क्षेत्रिय क्षे.अ.ले थप गर्ने गरेको जरिवाना रु. २५।र कैद घडी । । ।२७ को समेत जम्मा जरिवाना रु. ५७५। र कैद दिन १० दिन २१ भडीको कलम..१

पुनरावेदक प्र.दिनेश कुमार अग्रवाल के माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु बाँके जि.अ.को फैसलाले लागेको जरिवाना रु. ३००।र कैद महिना ।५ को हुने रु. २२५।समेत रु. ५२५।मिति ०३३।८।११ मा बाँके जि.अ.मा धरौट राखेको र भेरी अञ्चल अदालतले थप गरेको जरिवाना रु. १५।र कैद दिन ७।३० सांढे सात को रु. २२।५० समेत जम्मा रु. ३७।५० मध्यमाञ्चल क्षेत्रियक्षे.अ.मा धरौटी राखेको यस अदालतमा पुनरावेदन गर्दा मध्यमाञ्चल क्षेत्रियक्षे.अ.मा राखेको कैद दिन ७ को रु. १२।जरिवाना रु. १५।समेत उक्त उल्लिखित सबै जम्मा रु. ५६२।५० नलाग्ने हुँदा फिर्ता पाउँ भनी म्यादभित्र दर्खास्त परे कानुनको रीत पुर्‍याई पुनरावेदक प्र.दिनेशकुमारलाई फिर्ता दिनु भनी शुरु बांके जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…२

पुनरावेक प्रतिवादी तेजराम अग्रवाल के माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु बांके जि.अ.को फैसलाले निजलाई लागेको जरिवाना रु. ५००।र कैद दिन ।.।९ को धरौटी रु. १३।५० र भेरी अञ्चल अदालतको फैसलाले गर्ने गरेको जरिवाना रु. ५०।र कैद घडी । ।५४ के रु. ३।र म.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलाले लाग्ने गरेको थप रु. ३।र म.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलाले लाग्ने गरेको थप जरिवाना रु. २५।र कैद घडी ।.।.।२७ को रु. १।५० समेत जम्मा रु. ६०३।रुपैयाँ नलाग्ने हुँदा फिर्ता पाउँ भनी म्यादमा दर्खास्त परे कानुनको रीत पुर्‍याई पु.वे.तेजरामलाई फिर्ता खर्च लेखी दिनु भनी शुरु बाँके जि.अ.मा लेखि पठाउन का.जि.अ.मा लगत दिनु…..३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु………………………..१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४२ साल फाल्गुण १६ गते रोज ५ शुभम् ।